सूई घोप्ने । रगत निकाल्ने । यो सुनेरै डराउछन्, कतिपय । कमजोर भईन्छ । शरीरमा रगत कम हुन्छ । कतिपय यही डरले दिदैनन्, रगत ।
एक छन्, उनी । न डराउछन् । न पीर गर्छन् । बस्, रगत दिईरहन्छन् । तीन महिना कुर्छन् ।
सूई घोप्न पाखुरा तेर्स्याउँछन् । रगत दिन्छन् । उनलाई दुख्छ होला कि नाई ? उनी दुखाई सहन तयार भईरहन्छन् । उनको त्यही दुखाईले अरुको जीवन बचाईरहेको छ । जसको उनी हिसाव गर्दैनन् । बस्, रगत दिईरहन्छन् । उनी हुन्, दीपक उपाध्याय ।
उनी असल मित्र हुन् । साथी भनेपछि हुरुक्क हुन्छन् । सबैचिज छोडेर साथी रोज्छन् । उनका लागि साथीभन्दा पनि महत्व राख्ने कुरा हो, रक्तदान् ।
जब उनी रगतको अभावमा कोही छटपटाईरहेको् सुन्छन् । उनी सबैचिज छोडेर कुद्छन् । भरसक आफै रगत दिन्छन् । हरेक तीन महिनामा नबिराई रक्तदान गर्छन् । तीन महिना पहिले रक्तदान गर्न मिल्दैन, त्यस्तो अवस्थामा उनी रक्तदाता खोजेर रक्तसञ्चार केन्द्रमा पुग्छन् । बिरामीले आवश्यक पर्ने रगत नजुटाएसम्म चुप बस्दैनन् । तर एउटा बिरामीका लागि रगत जुटाउन नपाउदै अर्कोका लागि जुटाउन तयार रहनुपर्छ ।
उनी आफू मात्र रक्तदान गर्दैनन् । विद्यालय, ईन्स्टिच्यूटमा पुग्छन्, त्यहाँका विद्यार्थीहरुलाई रक्तदानको महत्वका बारेमा जानकारी दिन्छन् । आफ्नो अनुभव सुनाउछन् । ‘बचाऔँ कसैको ज्यान, आउनुस् गरौँ रक्तदान’ भन्दै रक्तदानका लागि अरुलाई पनि प्रेरित गर्छन् । रगतको चरम अभाव भएपछि पुषको पहिलो साता धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले रक्तदान कार्यक्रम आयोजना ग¥यो । वडा अध्यक्ष गजेन्द्र शाहीसंगै उनले रक्तदानका लागि सबैलाई आह्वान गरे । सुदूरपश्चिममै पहिलो पटक सर्बाधिक २७० जनाले रक्तदान गरे । जसमध्ये पहिलो पटक रक्तदान गर्ने ७५ प्रतिशतभन्दा बढि थिए ।

परिवारमा रक्तदान गर्ने उनी एक्लो होईनन्, दाई बिनोद र बहिनी सानुले उनलाई पछ्याएका छन् । रक्तदाताको परिवार । बिनोदले ९० पटक रक्तदान गरिसकेका छन् । सानुले २१ पटक । भाउजुले ७ पटक । र, उनकी पत्नी सुजाले ५ पटक ।

अस्पतालको शैयामा, घाईते, बिरामी र सुत्केरी । चिकित्सकले अत्याउछन्, तुरुन्त रगत लिएर आउ । अन्यथा जे पनि हुन सक्छ । बिरामीलाई त्यही छोडेर आफन्त रगत खोज्न निस्किन्छन् । उनीहरु रक्तसञ्चार केन्द्र जादैनन्, उपाध्यायलाई कल गर्छन् । रक्त सञ्चार गएपनि त्यहाँबाट कल गर्नुपर्ने उपाध्यायलाई नै हो । अनि सोझै उनैलाई कल लगाउछन् । हो, उनी आफैमा ब्लड बैंक हुन् ।
उनी छन् पनि त्यस्तै । जो समस्या लिएर आउछन् । उनी त्यसका लागि रगतको खोजीमा कुद्हिाल्छन् ।
बिरामी को हो ? बउनी जात सोध्दैनन् ? धर्म बुझ्दैनन् । पार्टी र आस्थासंग उनलाई के सरोकार ? बस्, विरामीको अवस्था सोध्छन् । र, सोच्छन्, बचाउन पाए हुन्थ्यो ।
यद्दपि उनको थर र भूगोललाई लिएर प्रश्न गर्नेहरु नभएका होईनन् ? उनको आस्थाको सोधीखोजी गर्नेहरु नभएका होईनन् । पहाड घर कहाँ हो ? थर के हो ? उनलाई छु मतलव त्यस्तालाई उनी मनमनै भन्छन्, तिमी मेरो भूगोल खोज । म हिडे, बिरामीका लागि रगत खोज्न ।
रगतको जात हुदैन् । बस्, समूह हुन्छ । समूह मिल्छ कि मिल्दैन्, त्यो हेर्छन् । र, उनी समूह मिल्ने मान्छेसंग रक्तदानका लागि आग्रह गर्छन् । जात हेर्ने फुर्सद उनलाई कहाँ ? त्यसका ठेकेदार त अरु छदैछन् ।
एक पटक सूईको दुखाई खेपेको मान्छे अर्को पटक सूई घोप्न परे आतिन्छ । तपाईलाई सूईले दुखाउदैन कि दुखाईले असर गर्न छोडिसक्यो ? उनको जवाफ थियो, केही क्षणको दुखाईले कसैको जीवन जोगिन्छ भने मेरो त्यो दुःखाईले अर्थ राख्दैन । जब बिरामी निको भएर घर जादै गरेको सुन्छु, म त त्यसै खुशी हुन्छु । र, दुखाई बिर्सिन्छु ।
हुन् पनि उनलाई दुःखाईसंग कहिल्यै डर भएन् । उनले रक्तदान गर्न थालेको तीन दशक भयो । २०५३ सालदेखि उनी हरेक तीन महिनामा रक्तदान गर्दै आएका छन् । योबीचमा उनलाई सञ्चो भएको होस, उनले रगत नदिएको होस, त्यस्तो कुनै समय छैन् । अरुलाई रक्तदानका लागि खोज्नुपर्छ । उनी त तीन महिनापुगेपछि आफै रक्तदान गर्न रक्त सञ्चार केन्द्र पुग्छन् ।
हो, उनी सुदूरपश्चिमको ब्लड बैंक हुन् । ब्लड बैंकमा रगतको अभाव हुदा उनैलाई सबैले गुहार्छन् । यही योगदानको कदर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले उनलाई एक वर्षअघि ‘रक्तदान सद्भावना दूत’ नियुक्त ग¥यो । र, सुदूरपश्चिमका दर्जनौ संस्थाले उनलाई नगद र कदर पत्र सहित सम्मान गरिसकेका छन् ।

उनी बुवाको किरियामा थिए । १५ दिनपनि उनलाई रगतका लागि आग्रह गर्ने कलले छोडेन् । उनी आफू रगत दिन असमर्थ थिए । अरुलाई कल गर्न उनलाई त्यहाँ अनुमती थिएन् । उनी एकातिर बुवा गुमाएको पीडामा थिए । अर्कोतिर रगतको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका बिरामीलाई सहयोग गर्न नपाउदा थप पीडामा थिए ।
उनी बुवाको काज किरिया सकिएकै दिनदेखि बिरामीका लागि रगतको जोहो गर्न निस्किसकेका थिए ।
उनलाई रक्तदान गर्न प्रेरित गर्ने बुवा थिए । एकदिन उनी अफिसको काम सकेर खाना खान घर आईपुगेका थिए । खाना खान बस्न नपाउदै अस्पतालबाट कल गरेका एक बिरामीका आफन्तले आग्रह गरे–दीपक सर मेरो सुत्केरी श्रीमतीलाई तत्काल रगत चाहिएको छ, आईदिनु प¥यो ।
उनले केही समय लाग्ने बताए । र, कल टुंग्याए ।
यो कुरा सुनिरहेका बुवाले भने, खाना त पछि खाए हुन्छ । रगत समयमै नपाए बिरामीको ज्यान गयो भने के हुन्छ । पहिले बिरामीलाई रगत दिएर आउ ।
उनले बुवाको बचन काट्न सकेनन् । उनी खाना छोडेर रक्तसञ्चार पुगे । रक्तदान गरेर । र, घर फर्किए । अनि खाना खाए ।
दुईदिनपछि उनलाई तिनै व्यक्तिको कल आयो । कल गर्नेले एकै सासमा भने, धन्यवाद दीपक सर । तपाईले रगत दिएर मेरो श्रीमतीको ज्यान जोगियो । आज अस्पतालले डिस्चार्ज गरेर हामी घर फर्किदैछौ ।
बुवा रहेनन् । बुवाको कुरा उनी सधै सम्झिरहन्छन् । त्यसदिनदेखि उनले कहिल्यै रगत दिन र खोज्न बिलम्ब गरेनन् ।
उनलाई एकदिन एउटा कल आयो । कल गर्नेले केही सोधेन । सोझै आफ्नो समस्या सुनाए, ‘हजुर, म बझाङबाट आएको हुँ । मेरी श्रीमतीलाई ३ पिन्ट रगत चाहिएको छ । यहाँ चिनेजानेको कोही छैन ।’ उनी त्यतिमै रोकिएनन्, भने–‘रगत निकाल्ने ठाउँले हजुरको नम्बर दिएको हो ।’
‘चिन्ता नगर्नुहोस् ।’,उनले आश्वस्त पार्दै भने । र, केहीछिनमै आवश्यक रक्त समूह सामाजिक सञ्जालमा पोस्ट गरे । केहीबेरमै ३ पिन्ट फ्रेस रगतको व्यवस्थापन भयो ।
एक सातापछि बझाङ फर्किदै गर्दा ती व्यक्तिले फोन गरेर सुनाए, तपाईले रगत खोजीदिएर मेरो श्रीमतीको ज्यान जोगियो । भगवानले तपाईको रक्षा गरुन् । तपाईलाई धन्यवाद ।
उनलाई त्यही आशिष लागेको छ । र त, यो उमेरमा पनि उनी रगत दिन सक्षम छन् । कहिलेकाही बिरामी हुने बाहेक स्वास्थ्यमा समस्या भोगेका छैनन् । सायद, भगवानले पनि भन्छन् होला, तिमी बिरामी भए, अरु बिरामीको के होला ?
रक्तदान मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको सबैभन्दा महान् सामाजिक कार्य हो । दुर्घटना, सुत्केरी अवस्था, शल्यक्रिया, क्यान्सर, थालासेमिया, रक्तअल्पता जस्ता रोगका बिरामीका लागि रगत जीवन र मृत्युबीचको पुल बन्छ । कृत्रिम रूपमा बनाउन नसकिने रगत मानवले मानवकै लागि दान गर्नुपर्ने अमूल्य उपहार हो । एक व्यक्तिले दान गरेको एक युनिट रगतबाट तीन जनासम्मको जीवन जोगिन सक्छ । रक्तदान गर्दैगर्दा उनले यो सन्देश पनि युवाहरुलाई दिईरहेका छन् ।
‘नायक त्यो होइन् जो जित्छ । नायक त्यो हो, जो जीवन दिन्छ् ।’ उनी सुदूरपश्चिमका त्यस्तै एक नायक हुन् । त्यसै भनिएको होईन्, रक्तदाता समाजका मौन नायक हुन् । यो पनि सत्य हो, रगत दिनेहरू इतिहासमा होइन, हृदयमा बस्छन् । उनले के कति जोडे, के कति कमाए ? मान्छे त्यसको हिसाव खोज्छन् । त्यसैलाई सफलताको मानक ठान्छन् । जसजसलाई उनले रगत दिएर बचाए । तिनको हृदयमा सधै रहीरहनेछन्, यो पैसाले बनाउन सकिने स्थान होईन, पैसाका पछि दगुर्नेहरुले यो बुझ्दैनन् ।





