ग्रेटर सार्लोट नेप्लिज एशोसियसनको अध्यक्षमा खनाल निर्वाचित

नर्थ क्यारिलोना, ३० डिसेम्बर
ग्रेटर सार्लोट नेप्लिज एशोसियसन(जीसीएनए) नर्थ क्यारिलोनाको अध्यक्ष पदमा परमानन्द खनाल निर्विरोध निर्वाचित भएका  छन् ।

त्यस्तै उपाध्यक्षमा सुरज खनाल, महासचिवमा निराला अर्याल, सचिवमा सन्ध्या दाहाल, कोषाध्यक्षमा मनोज भट्टराई निर्वाचित भएका  छन् ।

यसैगरी सदस्यमा अशिमा सुवेदी, सञ्जय घिमिरे, केदार तिमिल्सेना, मनोज कार्की, रोशन पाण्डेय, अलिशा गिरी,सुमना अधिकारी, सविता अधिकारी, विभुषण बस्नेत आशिष लम्साल निर्वाचित भए ।

अध्यक्ष खनालले निर्वाचन प्रकृया पुरा गर्ने निर्वाचन समितिका साथै संस्थाको साधारण सभा सम्पन्न गर्ने सबैलाई धन्यवाद दिए ।

उनले जीसीएनएका सम्पूर्ण सदस्यहरुको साथ र सहयोगमा नेपालको भाषा, संस्कृति, परम्पराको जगेर्नाका साथै नेपालीहरुका बीचमा भातृत्व र सहकार्यको परम्परालाई मजबुत बनाउने प्रतिबद्धता गरे ।

 

 

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।

यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट भएको थियो ।

उक्त भेटपछाडि पनि सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री खरेलका अनुसार सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा छ । मन्त्री खरेलले अनलाइनखबरसँग भनेका छन्, ‘यही पुस तेस्रो वा चौथो सातामा राष्ट्रिय सभाको बैठक बस्ने गरी प्रक्रिया अगाडि बढ्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आश्वान गर्दा एक साताको समय दिने अभ्यास पनि छ ।

मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ । बिहीबार नै यो विषयमा मन्त्रिपरिषद्का छलफल हुन सक्ने पनि जनाइएको छ ।

गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन सरकार ढल्यो र २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्‍यो भने राष्ट्रिय सभाको अधिवेशन ३१ भदौमा अन्त्य गरेको हो ।

आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिँदैछ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘हल व्यवस्थापनको काम अन्तर्गत सिभिल वर्कको काम सकियो । अडियो सिस्टम र भिडियोको काम बाँकी छ । सिघ्र काम सकिनेछ ।’

उनका अनुसार राष्ट्रिय सभाको अधिवेशनका लागि विजनेशहरू पनि छन् । केही विधेयक र सरकारले ल्याएका अध्यादेशहरू रहेका छन् । त्यसका अलावा संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू समेत रहेका छन् । अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्तावग ल्याउन सक्दछन् ।

राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम समेत सञ्चालन हुने गरेको छ ।

सङ्घीय सरकारको निर्देशन संविधान विपरीत भएको भन्दै सांसद शाहीको आक्रोश

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश कुमार शाहीले सङ्घीय सरकारको अर्थ मन्त्रालयले पठाएको परिपत्रले संविधान र सङ्घीयतामाथि आक्रमण गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले केन्द्र सरकारले ‘मितव्ययिता’ को नाममा प्रदेशको एकल अधिकार खोस्ने प्रपञ्च रचेको आरोप समेत लगाए ।

सांसद शाहीले गत असोज ५ गतेको मन्त्रिपरिषद् निर्णयको हवाला दिँदै अर्थ मन्त्रालयले असोज ७ गते र कार्तिक १८ गते पठाएको पत्र संविधानको मर्म विपरीत रहेको जिकिर गरे ।

‘संविधानको धारा ५७, १६२, १७१, १९६, १९७ र २३१ तथा अनुसूची ६ ले प्रदेशलाई एकल अधिकार र स्वायत्तता प्रदान गरेको छ । तर, केन्द्रको पत्रले प्रदेश सभाले बनाएका ऐनहरूलाई कुल्चने र प्रदेशको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ ।’, उनले भने ।

उनले ऐनहरू संविधान मातहत हुने भए पनि केन्द्रको ठाडो निर्देशनले प्रदेशका ऐनहरूलाई निस्तेज पार्न खोज्नु आपत्तिजनक रहेको बताए ।

बैठकमा बोल्दै शाहीले केन्द्र सरकारको नियतमाथि प्रश्न उठाए। ऐनले केन्द्रमा अर्बौँका भ्रष्टाचार काण्डहरू भइरहँदा त्यसलाई नियन्त्रण गर्नुको साँटो प्रदेशले आवश्यकता अनुसार राख्ने कार्यालय सहयोगी र ड्राइभरमा आँखा गाडेको टिप्पणी गरे ।

‘केन्द्रमा अर्बौँका स्क्याण्डलहरू घटाउँदा अर्थतन्त्र व्यवस्थापन भइहाल्छ,’ शाहीले भने,‘जनताको श्रम र पसिनामाथि मस्ती गर्नेहरूले प्रदेशले आवश्यकतामा राख्ने सामान्य कर्मचारीलाई लिएर मितव्ययिताको पाठ सिकाउनु सङ्घीयता असफल बनाउने खेल हो ।’

सांसद शाहीले सभामुखमार्फत सुदूरपश्चिम प्रदेश सभा र सरकारसँग तीन बुँदे माग राखेका छन् ।

अर्थ मन्त्रालयको संविधान विपरीतको निर्देशन कार्यान्वयन नगर्न र प्रदेश सभाले निर्माण गरेको ऐन अनुसारका कामहरू सुचारु गर्न, प्रदेशको एकल अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने गरी पठाइएका दुवै पत्रहरू अविलम्ब फिर्ता लिन सङ्घीय सरकार र अर्थ मन्त्रालयलाई पत्राचार गर्न उनले राखेका माग हुन् ।

यस्तै प्रदेश सरकारलाई आफ्नो अधिकार प्रयोगमा दृढ रहन र हस्तक्षेप विरुद्ध सशक्त रूपमा उभिन निर्देशन दिनु पर्ने उनका माग हुन् ।

देश चुनावतर्फ गयो, अब के होला भन्ने अन्याेल छैन : प्रचण्ड

काठमाण्डाै-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिङ्गै देश चुनावको तयारीमा जुटेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा संयोजक दाहालले अब देशमा के होला भन्ने अन्याेल हटेको तथा सबै राजनीतिक दल र आमनागरिकलाई चुनावतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘अब देश अन्याेलमा छैन भन्ने हामी सबैलाई लागेको छ । म प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । सरकारले धेरै खालका जटिलता, चुनौती, समस्या, अप्ठयाराहरू झेल्दै चुनावकाे वातावरण बनाएकाे छ । देशलाई निकास दिने चुनाव नै हाे भन्ने सरकारले देखाएकाे छ ।

कार्यक्रममा संयोजक प्रचण्डले निजी क्षेत्रको संरक्षणविना देशलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको बताए ।

 

एन्फाको निर्वाचन माघ २८ गते हुने

काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन आगामी माघ २८ गते हुने भएको छ ।

एन्फा कार्यसमितिको बुधबार बसेको बैठकले निर्वाचनको मिति तय गरेको हो । चार वर्षमा हुने एन्फाको निर्वाचन ६ महिलाअघिनै हुन लागेको हो ।

पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमितिको बहुमत सदस्यले केही समय अगावै (अर्ली इलेक्सन) मा जाने निर्णय गरेको हो । यसअघि २०७९ असार ६ गते नेम्वाङ नेतृत्वको कमिटि एन्फामा निर्वाचित भएको थियो ।

बैठकमा एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चार वर्षे कार्यकाल सकिएपछि मात्र निर्वाचन गरिनु पर्ने प्रस्ताव राखेका थिए ।

तर, एन्फाले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आसन्न फिफा विश्वकपलाई लक्षित गरी अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो ।

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो ।

‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको हेर्ने हो । यसरी हेर्न सुरु गरिएको छ’ प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ ।

प्रवक्ता भट्टराई भन्छन्, ‘अध्ययनपश्चात २० गते नै हामी दलहरूलाई के–के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरूले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

आयोगले क्लस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता घोषणा भएको छ। बुधबार राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरेका हुन्। पार्टीको नाम राप्रपा रहने सहमति भएको छ। यसैगरी पार्टीको केन्द्रीय अध्यक्ष लिङ्देन रहेका छन् भने पार्टीको विधान,झण्डा र चुनाव चिन्ह साविकको कायम हुने सहमति भएको छ। राप्रपाका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने सहमति पत्रमा उल्लेख छ।

निर्वाचनको मिति नजिकिएसँगै दलहरूबीच एकताको लहर चलिरहेको बेला उनीहरूबीच पार्टी एकता घोषणा भएको हो। फागुन २१ प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

यसअघि उनीहरूबीच गत ९ गते पुसमा एकता गर्ने सहमति भएको थियो। २०७८ साल भएको पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए।

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

काठमाडौं- भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो।  १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो। १८ चैतबाट १५ भदौ  (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको हो ।

महासङ्घले मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रको मनोबल उच्च राख्न विभिन्न छलफल तथा अन्तर्क्रिया गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्री, प्रमुख राजनीतिक दल, निजी क्षेत्र र युवा पुस्ताको सहभागिता रहेको छ ।

एनभीए भलिबल : सेमिफाइनलमा न्यु डायमन्डले एपीएफ र पुलिसले आर्मीसँग खेल्ने

काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ समूह चरणका खेलहरू सकिएका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता बन्यो । पुलिसले पहिलो सेट २५–३, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जित्यो ।

यस्तै दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हासिल गर्यो । एभरेस्टले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–११ ले जित्यो ।

अब आउँदो शुक्रवार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र समूह ‘बी’ को उपविजेता नेपाल एपीएफ क्लब खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

प्रतियोगिताको पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा आजै बूढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर तथा कोशी प्रदेश र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टर खेल्दैछन् ।

एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

 

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा – मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झन्डै एक महिनापछि ६ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नेपाली कांग्रेसबाट शङ्कर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन्। यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा (माओवादी केन्द्र) बाट फकिरा महताे गृह, सञ्चार तथा कानून मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गएको मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यही दिन तीन जना मन्त्री नियुक्त गर्नुभएका यादवले मङ्सिर २९ गते दुई जना मन्त्री नियुक्त गर्दै विनाविभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी  तोकेका थिए ।

कास्की जिल्ला अदालत पुगेर रविले बुझे तारेख

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालत पुगेर बुधबार तारेख बुझेका छन्।

अदालतका सुचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धाको तारेख बुझेका हुन् ।

नख्खु कारागारबाट रिहा भएपछि यसअघि पुस ९ गते लामिछाने कास्की जिल्ला अदालत हाजिर भएर तारेख बुझेका थिए।

लामिछानेले प्रस्ताव गरे अनुसार बिगो बराबर धरौटी बुझाएर रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएपछि उनी धरौटी तिरेर नख्खु कारागारबाट रिहा भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो।

उक्त मुद्धा अदालतमा विचाराधीन छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा लामिछानेलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

सरकारी वकिलले अदालतमा मुद्धा जाहेर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी लामिछानेलाई धरौटीमा छाडेको थियो। त्यतिबेला लामिछानेले अदालतमा ६५ लाख रुपैया धरौटी राखेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

लामिछाने विरुद्ध पोखराको सुर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत अवैध तरिकाले गोर्खा मिडिया नेटवर्क मार्फत ग्यालेक्सी टेलिभिजनमा लगेको आरोप छ।

निर्वाचनका लागि ६ अर्ब ९ करोड स्वीकृत, खर्च प्रक्रिया अघि बढ्यो : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने निर्वाचनका लागि आवश्यक खर्च चालु आर्थिक वर्षको बजेटबाटै व्यवस्थापन हुने स्पष्ट पारेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले तयारी नपुगेका साना योजनाको बजेट रोक्का गरेर निर्वाचन खर्च जुटाइएको जानकारी दिए।

अर्थमन्त्री खनालका अनुसार चालु बजेटमा समेटिएका करिब ३ करोड रुपैयाँका ४ हजारजति तयारीविहीन योजनाको बजेट रोक्का गरिएको छ। जसबाट करिब १२० अर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन गरिएको हो।

उनले निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड रुपैयाँ स्वीकृत भइसकेको र खर्च हुने क्रममा रहेको बताए। साथै, म्यादी प्रहरीका लागि करिब १७ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै निर्वाचनका लागि आवश्यक उपकरण, मोटर तथा सवारीसाधनमा समेत २५-२६ अर्ब रुपैयाँ खर्च लाग्ने जानकारी दिए।

अर्थमन्त्री खनालले बजेटको पुनःप्राथमिकरणमार्फत निर्वाचन खर्च सहज रूपमा व्यवस्थापन गरिएको दाबी गरे।

 

‘हामी तीन भाइ’ चैत १३ देखि प्रदर्शन हुने प्रदर्शनमा आउने

काठमाडौं । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ १३ चैतदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा तीनजना अभिनेता विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट फिचर्ड छन् ।

फिल्मको शीर्ष भूमिकामा न्यौपानेसहित लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा लगायतको अभिनय छ ।

विकास चापागाइँ, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी, गोविन्द पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनको पनि अभिनय छ ।

प्रसिद्धी सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ छन् । कार्यकारी निर्माता विक्रम तामाङ हुन् । सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे हुन् ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

 

विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत

काठ्माण्डौ- नेपालको छिमेकी देश भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । उसले अबको तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुने समाचार संस्था एएफपीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ । आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । त्यस वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्त्वपूर्ण प्रगति हासिल गरेको थियो । अहिलेको सरकारी आर्थिक सूचकअनुसार ४१ खर्ब ८० अर्ब डलरको कूल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गरेको छ ।

भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२६ मा आइएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको छ । गएको अगस्टमा अमेरिकाले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि भारतले आफ्नो विकास गतिलाई कायम राखेको देखिन्छ ।

सरकारले यसलाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को सङ्केतका रूपमा व्याख्या गरेको छ । तर अन्य आर्थिक सूचकले चुनौती पनि देखाएका छन् । जनसङ्ख्याको दृष्टिले, भारत सन् २०२३ मा चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । सरकारी तथ्याङ्क अनुसार भारतका एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये झन्डै एक चौथाइ १० देखि २६ वर्ष उमेर समूहका छन् ।

यो युवा जनशक्तिलाई उत्पादनशील बनाउन र समावेशी तथा दिगो विकासका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्ने चुनौती छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष उपभोग करमा व्यापक कटौती र श्रम कानून सुधारको घोषणा गर्दै आर्थिक वृद्धिलाई समर्थन गर्ने कदम चाल्नुभएको छ । यसैबीच गएको नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ ।   -एजेन्सी

 

विदेशी सम्बन्धन कलेजहरूलाई शिक्षामन्त्री पुनको १० बुँदे निर्देशन

काठ्माण्डौ- शिक्षामन्त्री महावीर पुनले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूलाई १० बुँदे कडा निर्देशन जारी गरेका छन्। केही कलेजहरूले निर्देशिका उल्लङ्घन गरी विद्यार्थीलाई गुणस्तरीय सेवा नदिएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।

मन्त्री पुनका अनुसार मन्त्रालयको पुस १४ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार जारी निर्देशनमा विदेशी सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को पूर्ण पालना गर्नुपर्ने, डिसिप्लिन इन्चार्ज (डिआई) को व्यवस्था तत्काल हटाएर विद्यार्थी परामर्श कक्ष स्थापना गर्नुपर्ने उल्लेख छ।

निर्देशनका मुख्य बुँदाहरू:
– कलेजमा शुल्कको पूरा विवरण पारदर्शी रूपमा डिस्प्ले गर्ने र १५ दिनभित्र मन्त्रालयमा प्रमाणित प्रतिलिपि पेस गर्ने।
– कक्षा सञ्चालन तालिका, विद्यार्थी सङ्ख्या र दैनिक सिकाइ क्रियाकलाप सार्वजनिक गर्ने।
– अनुमति प्राप्त कार्यक्रम र स्थानमा मात्र पढाइ सञ्चालन गर्ने।
– वेबसाइटमा अर्को कलेजको कार्यक्रमको प्रचार नगर्ने।
– छात्रवृत्ति पारदर्शी रूपमा वितरण गर्ने र विवरण मन्त्रालयमा पेस गर्ने।
– योग्य शिक्षकबाट मात्र पढाउने।
– गुनासो तथा सुझाव पेटिका राख्ने र नियमित सम्बोधन गर्ने।

निर्देशनमा निर्देशिका र कवुलियतनामाका सर्त उल्लङ्घन गरेमा कलेजको अनुमति जुनसुकै बेला रद्द गर्न सकिने चेतावनी पनि दिइएको छ।

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुरः आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो।

निर्वाचन क्षेत्र नं १ बाट पूर्वमन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छ भने अन्य सिफारिस हुनेमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा भने आकाङ्क्षीहरूको सङ्ख्या उल्लेख्य देखिएको छ। पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तको नाम सिफारिस गरेको छ। त्यसैगरी लालबहादुर खड्का, हरिस ठकुल्ला र तोयराज जोशीको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ।

निर्वाचन क्षेत्र नं ३ बाट पाँच जना नेता चुनावी मैदानका लागि सिफारिसमा परेका छन्। जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन्। यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई पनि विशेष प्राथमिकता दिइएको छ।

नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्येबाट पार्टीको केन्द्रीय कार्यदलले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने छ। बैठकमा आकाङ्क्षीका रूपमा रहेका सबैको नाम सङ्कलन गरी पठाएका छौँ, अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ।

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन्  ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ ।

टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ ।

सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो । विश्वकपको ट्रफी टुर कार्यक्रमअन्तर्गत जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानले ट्रफी टुरको विस्तृत विवरण भने केही दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।  भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् ।

‘सुदूर सधै दूर’

धनगढी, १६ पुस ।
निर्वाचन आयोगमा नयाँ दलले बुझाएको समानुपातिकको बन्द सूचिको पुन्तुरो खुलेपछि जेनजी अगुवा रक्षा बमले त्यसप्रति असहमती जनाउदै लेखिन्, ‘सुदूर सधै दूर’ ।

‘हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौँ । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’ उनी अगाडि लेख्छिन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् ।’
निर्वाचन आयोगमा बुझाईएको प्रतिनिधि सभा तर्फको समानुपातिक बन्द सूचिको पुन्तुरो खुलेपछि नयाँ भनिएका दलभित्रको विवाद सतहमा आएको छ ।

रास्वपाले ‘प्राइमरी’ भोटिङकै धज्जी उडाउँदै समानुपातिक उम्मेदवार छानेको रास्वपा नेतृ तोशिमा कार्कीको आरोप छ । उनले अहिलेका पदाधिकारी निर्वाचित व्यक्ति नभएको र प्रत्यक्षमा लड्न डराएर तिनैले आफ्नो नाम समानुपातिकको सूचिमा राखेको कार्कीको आरोप छ ।

प्राईमरी ईलेक्सनमा अग्रपंक्तिमा रहेका बिजय जैरुले बन्द सूचिमा आफ्नो नाम समावेश नभएपछि सामाजिक सञ्जालमा लेखेका छन्, जब लोकतन्त्र कागजको पानामा मात्र मुस्कुराउछ, तब जमिन रुन थाल्छ, नेपाल को जय होस ।

उनी अर्को स्टाटसमा लेख्छन्, आज मेरो पालो भोलि तपाईंको तयार भएर बस्नु होला ।

हुन्, अन्यत्रका व्यक्तिको नाम थपेर सुदूरपश्चिमको भनेर प्रचार गरिदैछ ।

डडेल्धुराका बिजय जैरुको नाम काटेर टीका संग्रौला उर्फ ज्वालाको नाम सुदूर पश्चिमबाट समावेश गरिनु दुर्भाग्यपूर्ण हो । उनी सुदूरपश्चिमकी बुहारी हुन्, यसमा दुईमत छैन् । तर उनले सुदूरपश्चिम कति बुझेकी छन् ? यो भूगोलमा उनको योगदान कति छ ? त्यो महत्वपूर्ण कुरा हो । जैरुमाथि अन्याय हुदा संग्रौलाले बक्सिस पाउनु कसरी न्यायपूर्ण मान्न सकिन्छ ?

रास्वपामा बिलय भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय सुदूरपश्चिमका हुन्, त्यसमा दुई मत छैन् । जवकी उपाध्याय स्वयमले आफ्नो ठेगाना ललितपुर उल्लेख गरेका छन् । त्यसैले उनले सुदूर पश्चिमको प्रतिनिधित्व गरेको ठहर्दैन् ।
२०७८ को जनगणना अनुसार देशको कुलजनसंख्यामा सुदूरपश्चिमको हिस्सेदारी ९.२४ प्रतिशत छ । जनसंख्याको अनुपातमा ११० जनामा कम्तिमा १० जना समानुपातिकको बन्द सूचिमा समेट्नु पर्ने हो ।

कम्तिमा नयाँ दलहरुले काठमाण्डौंलाई थाँतथलो बनाएकालाई आफ्नो बन्द सूचिमा राख्नै हुदैनथ्यो । सुदूरपश्चिम कहिल्यै नटेकेका र यहाँका समस्याका बारेमा जानकारी नभएकाहरुलाई बन्द सूचिमा राखेर यही भूगोलमा बसेर राजनीति गरिरहेका आफ्ना ईमान्दार कार्यकर्तामाथि मात्र रास्वपाले अन्याय गरेको छैन् । सुदूरपश्चिम प्रति हेर्ने उसको दृष्टिकोण पनि यो बन्द सूचिले उजागर गरिदिएको छ ।

सुदूरपश्चिम काठमाण्डौंको उपनिवेश होईन् । राज्यसत्ता सञ्चालकहरुलाई यहाँको भोट चाहिने ? यहाँका नागरिक नचाहिने ? आखिर कहिलेसम्म ?

सुदूर पश्चिम उपेक्षित भएको न यो पहिलो पटक हो । न यो पहिलो घट्ना हो । सुदूरपश्चिमलाई काठमाण्डौं वेवास्ता गरिरहन्छ । सुदूर पश्चिम मौनताको संस्कृतिमा रमाउछ ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा सुदूरपश्चिमको उपस्थिति शुन्य भयो । हुन त मन्त्रीमण्डलमा भएको कुनै अमूक व्यक्तिलाई देखाएर, तिनलाई सुदूरपश्चिमको प्रतिनिधि दावी गर्नेहरु पनि छन्, होलान् ।

आन्दोलनको बलमा बनेको सरकारमा आन्दोलनकै नेतृत्व गर्नेहरुमध्ये कसैलाई सरकारमा सहभागी गराईनुपथ्र्यो । हुन्, रक्षा बमलाई रोक्न सुधन गुरुङ र हेमराज थापाहरु लागे । सत्तासंग समन्वय गरिरहेका कसैले मामा रोजे । कसैले काका । नतिजा, सुदूरपश्चिम नील भयो । यो निल हुनुको पछाडि स्वयम जेनजी अगुवाहरु पनि जिम्मेवार छन् ।

जेनजीपछि नयाँ दलप्रति जनविश्वास बढेको थियो । पुराना दलहरु प्रति जनताको बितृष्णा छ, ती दलप्रति आशा छैन्, त्यसकारण पुरानाप्रति अव गुनासो छैन् । जेनजी आन्दोलनले सत्ताच्यूत गरेका उनीहरुको व्यवहारले भन्छ, ‘हम तो सुध्रेंगे नही’ ।
दलहरु सच्चिएनन् । सच्चिन तयार भएनन् । जेनजी त्यसैको उपज थियो, जेनजी आन्दोलन । यो दुर्भाग्य हो कि, जेनजी आन्दोलनपछि उदय भएका युवाहरु र नयाँ दलले पनि पुरानै दललाई पछ्यायो ।

विगतमा मोरङको बजेट सुदूर पश्चिमको भन्दा बढि हुन्थ्यो । हिजो काँग्रेस, एमाले, माओवादीले जे गल्ती गरे, त्यही गल्ती नयाँ दलले पनि गर्ने हो भने नयाँ र पुरानाबीच के अन्तर रह्यो ?

समानुपातिक व्यवस्था जुन सोच र अवधारणामा ल्याईयो, त्यसको ठिक विपरित यसको कार्यान्वयन भयो । बिगतमा पनि । अहिले पनि ।

धन हुनेहरु । चन्दा दिनेहरु । पहूँच हुनेहरु । शक्तिकेन्द्रलाई रिझ्याउन सक्नेहरु । र, नेतृत्वकर्ताका आफन्तहरु । समानुपातिक प्रणालीको मापदण्डका आधार यिनै बने । नयाँहरुले पनि त्यही मापदण्ड अनुशरण गरे । बन्द सूचिमा समेटिएका नामहरु त्यसैको उदाहरण हो । कनयाँबाट कम्तिमा यस्तो अपेक्षा गरिएको थिएन् ।

नयाँ दलले समानुपातिक सूचिमा गरेको त्रुटी सच्याउनु पर्छ । यसैमा उसको हीत छ । हिजो परम्परागत दलहरुले सुदूरपश्चिममाथि गरेको व्यवहारलाई नयाँले निरन्तरता दिने हुन्, किन चाहिए नयाँ ?

११० जनामा चितवनबाट २१ मोरङबाट १५ गण्डकीबाट १०, सुनसरीबाट ९ जना समेटिदा सुदूरपश्चिमबाट दुई जनामात्र बन्द सूचिमा परेका छन् ।

सामाजिक सञ्जालमा मनोज बिष्ट लेख्छन्, यो भाग्य होइन, यो बेवास्ताको निरन्तरता हो। अब प्रश्न एउटै छ—हामी अझै कति समय नक्सामा मात्रै नेपाल हुने ?

जनसंख्याको अनुपातमा ११० जनामा सुदूरपश्चिमबाट कम्तिमा १० जना समानुपातिकको बन्द सूचिमा समेट्नु पर्ने होईन, सुशासनबीज्ञ तथा अर्थवीद डा. अंगराज तिमिल्सेना रास्वपालाई प्रश्न गर्छन् ।

अघि बढ्यो चार करोड मतपत्र छपाइको प्रक्रिया

काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पेस गरेसँगै निर्वाचन आयोगले चुनावको तयारीलाई तीव्र बनाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको प्रक्रिया अघि बढाएको हो ।

उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्च अधिकारी तथा सम्बन्धित शाखाका कर्मचारीको बैठक बसेर मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’बारे परामर्श गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा यही पुस १३ र १४ गते समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरिएको थियो । आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै समानुपातिक प्रणालीका सबै ११० स्थानमा उम्मेदवारी दिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ६४ दलले बन्दसूची बुझाएकामा ५८ दलले ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीसहित २२ दलले सबै ११० स्थानमा बन्दसूची पेस गरेका हुन् । केही दलले साझा निर्वाचन चिह्न कायम गरी आपसी सहमतिमा संयुक्त सूची बुझाएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले राष्ट्रिय जनगणना २०७८ अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा बन्दसूची पेस गरेका छन् । यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्दै सरकारले पुस ४ गते अध्यादेश जारी गरेको थियो ।

आयोगले प्राप्त बन्दसूचीमाथि १५ पुसदेखि छानबिन सुरु गर्ने जनाएको छ । छानबिनपछि सच्याउनुपर्ने वा अपुग विवरण भएमा पुस २१ गतेदेखि २७ गतेसम्म दललाई समय दिइनेछ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म संशोधित सूची जाँच गरिनेछ भने माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक हुने आयोगको कार्यतालिका छ ।

यसैबीच पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ ।

माघ ७ गते उजुरी दिने, माघ ८ गते नामावली प्रकाशन तथा माघ ९ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय भएको छ ।

समानुपातिक बन्दसूची पेस प्रक्रिया सम्पन्न भएसँगै आयोगले मतपत्र छपाइ, व्यवस्थापन र अन्य प्राविधिक तयारीलाई तीव्र बनाएको जनाएको छ ।

रास्वपा प्रवेश गर्ने तयारीमा एमाले नेता घिमिरे

बुटवल । विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने तयारी गरेका छन् । उनी बालेनको पक्षबाट रास्वपामा जान लागेका हुन् ।

बालेनको टिमले आफूलाई आग्रह गरेको घिमिरेले बताए । “लोकतन्त्र यसैको लागि आएको होला- अहिलेको परिस्थितिले भनेअनुसार गर्ने हो । तपाईंले सोचेजस्तै हो । तर छलफल हुँदैछ । कसरी के गर्ने भन्ने बाकी छ,” उनले भने ।

रुपन्देही- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुन् । उनी एमालेको केन्द्रीय सदस्यमा पराजित भएका थिए । यसअघि एमाले रुपन्देहीका सचिव चित्रबहादुर केसी पनि रास्वपा प्रवेश गरेका थिए ।

एनभिए कप : एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोलीको नेपाल पुलिस क्लब नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–२ को सेटमा स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलको सुरुवाती दसई सेट पुलिसले २५–२१, २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्दै २५–२२, २५–२१ को नतिजा निकाल्यो । निर्णायक तथा खन्तिम सेटमा पुलिसले १५–९ को जित हात पारेको हो ।

यसैगरी मङ्गलबार नै भएको पुरुषतर्फको खेलमा खिल्जी युवा क्लब ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

खिल्जीले ढोरपाटनमाथि २५–१५, २५–१९, २५–२३ को जित निकालेको हो । क्वार्टर फाइनलमा खिल्जीले विभागीय टोली आर्मीसँग खेल्ने छ । ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिता पुस १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिला आठ टोलीले भाग लिएका छन् ।

 

पूर्वराष्ट्रपति भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । लाजिम्पाटमा आज  प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम महिला राष्ट्रपति भण्डारीबिच समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो।

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रपति भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने घोषणा गरेपनि एमालेले तत्काल बन्देज लगाएपछि रोकिएकी छन्। उनको पार्टी सदस्यता एमालेले नवीकरण गरेको छैन। यसैगरी कांग्रेसबाट निर्वाचित यादव भने सामाजिक संघसंस्थाका कार्यक्रममा मात्र सहभागी हुँदै आएका छन्।

ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन

काठ्माण्डौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै काठमाडाैं महानगरका मेयर बालन शा लक्षित व्यंग्य गरेका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘राजनीतिक निकास र विचार गोष्ठी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उर्जामन्त्री बीच राजनीतिक सहकार्य गर्ने गरी भएको सहमति प्रति लक्षित गर्दै उनले भने- ‘चुनाव नहुँदै कोही प्रधानमन्त्री बनिसकेका छन्, मान्छेहरूले बनाइसके,’ ओलीले व्यंग्य गर्दै भने, ‘तर हामी चुनाव पर्खिरहेका छौं। चाहे फागुनमा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा, एमाले जनमतको प्रतीक्षामा छ।’

नयाँहरुको गठबन्धनप्रति आक्रामक देखिएका ओलीले एमालेलाई ‘सिंह’ र अन्य दलहरूको मोर्चालाई ‘स्याल’ को संज्ञा दिए। एमालेको विशाल जनलहर देखेर अन्य दलहरू तर्सिएको उनको भनाइ थियो।

‘एमालेको विशाल आकार देखेपछि उनीहरू एक्लै भिड्न डराउँछन्। अनि तिमी र म मिलौँ भन्छन्,’ ओलीले भने, ‘कुकुर, बाख्रा र स्यालहरू जति नै मिलेर मोर्चाबन्दी गरे पनि सिंहसँग लड्न सक्दैनन्। लोकतन्त्रमा जसले जति घेराबन्दी गरे पनि अन्त्यमा उत्कृष्ट खेलाडीले नै जित्छ।’

अध्यक्ष ओलीले एमालेको ११ औं महाधिवेशनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएको दाबी गरे।

उनले महाधिवेशनबाट एमाले नेतृत्व सर्वसम्मत र जनअनुमोदित भएर आएको भन्दै पार्टी भित्रको लोकतन्त्र सुदृढ रहेको जिकिर गरे। -नागरिक

युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् ।

जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको कार्कीको भनाइ छ ।

‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएकी हुन् ।

राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको उनले बताइन् ।

आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।

शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छिन् ।

बालेन, कुलमान र रविबीच सहमती

काठमाडौँ, १४ पुस ।
अन्ततः रवि लामिछाने, काठमाण्डौंका मेयर बालेन साह र ऊर्जामन्त्री कुलमान घिसिङ एकै ठाउँमा उभिएका छन् । मेयर बालेनपछि कुलमानपनि रास्वपामा मिसिएका छन् ।

तीनजनाबीच भएको सहमती अनुसार कुलमान अव रास्वपामा उपसभापति बन्ने छन् ।

सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र घिसिङबीच भएको वार्तामा तीनैजनाबीच रास्वपा मार्फत राजनीति गर्ने सहमती भएको हो ।

समानुपातिक सूचिमा दिईने संख्यामा सहमती नजुट्दा वार्ता लम्बिएको थियो । रास्वपाले कुलमानलाई १० प्रतिशत दिने प्रस्ताव गरेको थियो । कुलमानले ३० प्रतिशत मागेका थिए । अन्ततः कुलमानले १७ प्रतिशतमा चित्त बुझाए । र, उनीहरुबीच सहमती भयो । सहमती अनुसार समानुपातिक सूचिमा कुलमानका १८ जनाको नाम समावेश हुनेछ ।

 

Kathmandu to Host Nepal’s First Poetry Film Festival in 2026

KATHMANDU, Nepal — The Himalayan Literature Festival & Writers Workshop (HLF–WWK) has announced the launch of Nepal’s first-ever Poetry Film Festival, to be held as part of HLF–WWK 2026 from 29 May to 5 June 2026 at Hotel Malla, Kathmandu.

Dedicated exclusively to films rooted in literature and poetry, the Poetry Film Festival will showcase lyrical, narrative, and experimental works in which language, rhythm, and imagination shape the cinematic form. The initiative marks a significant expansion of the festival’s long-standing commitment to cross-disciplinary artistic dialogue.

The festival has opened a global call for submissions, inviting filmmakers, writers, artists, and directors to submit works with a strong literary or poetic foundation. Eligible categories include short poetry films, literary adaptations and adapted screenplays, biographical or documentary films on poets and writers, and feature-length films grounded in literary or poetic traditions. Interdisciplinary and experimental works that bridge poetry, prose, cinema, performance, and visual art are particularly encouraged.

Selected films will be screened during HLF–WWK 2026 in collaboration with cultural and educational institutions in Nepal and abroad. The jury panel will comprise Irish filmmaker Peter Salisbury, Hollywood composer Chad Cannon, and British director Stephan Bookas. An award will be presented to the Best Film of the festival.

The submission deadline is 15 March 2026.

Commenting on the initiative, Srijana Bhandari, Director of the Himalayan Literature Festival, said, “As the festival enters a new phase of growth, HLF–WWK remains committed to fostering dialogue across languages, nations, and art forms. The Poetry Film Festival extends this vision into cinema.”

Amar Akash, Nepal Coordinator of the festival and film critic, noted that the new platform “will not only honor literature but also establish a new tradition of reimagining poetry on screen and expanding it through cinema.”

Now in its second edition, the Himalayan Literature Festival & Writers Workshop continues to serve as an international platform for writers, poets, scholars, artists, and thinkers, promoting literary exchange and cultural dialogue across South Asia and the world.

For submissions and further information:
[email protected]
https://hlf.whitelotusbookshop.com/

खोज्नुहोस