अघि बढ्यो चार करोड मतपत्र छपाइको प्रक्रिया

द एभरेष्ट पोष्ट
१५ पुष २०८२ २२:०७
अघि बढ्यो चार करोड मतपत्र छपाइको प्रक्रिया

काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पेस गरेसँगै निर्वाचन आयोगले चुनावको तयारीलाई तीव्र बनाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको प्रक्रिया अघि बढाएको हो ।

उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्च अधिकारी तथा सम्बन्धित शाखाका कर्मचारीको बैठक बसेर मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’बारे परामर्श गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा यही पुस १३ र १४ गते समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरिएको थियो । आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै समानुपातिक प्रणालीका सबै ११० स्थानमा उम्मेदवारी दिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ६४ दलले बन्दसूची बुझाएकामा ५८ दलले ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीसहित २२ दलले सबै ११० स्थानमा बन्दसूची पेस गरेका हुन् । केही दलले साझा निर्वाचन चिह्न कायम गरी आपसी सहमतिमा संयुक्त सूची बुझाएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले राष्ट्रिय जनगणना २०७८ अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा बन्दसूची पेस गरेका छन् । यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्दै सरकारले पुस ४ गते अध्यादेश जारी गरेको थियो ।

आयोगले प्राप्त बन्दसूचीमाथि १५ पुसदेखि छानबिन सुरु गर्ने जनाएको छ । छानबिनपछि सच्याउनुपर्ने वा अपुग विवरण भएमा पुस २१ गतेदेखि २७ गतेसम्म दललाई समय दिइनेछ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म संशोधित सूची जाँच गरिनेछ भने माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक हुने आयोगको कार्यतालिका छ ।

यसैबीच पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ ।

माघ ७ गते उजुरी दिने, माघ ८ गते नामावली प्रकाशन तथा माघ ९ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय भएको छ ।

समानुपातिक बन्दसूची पेस प्रक्रिया सम्पन्न भएसँगै आयोगले मतपत्र छपाइ, व्यवस्थापन र अन्य प्राविधिक तयारीलाई तीव्र बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस