एनभीए भलिबल : सेमिफाइनलमा न्यु डायमन्डले एपीएफ र पुलिसले आर्मीसँग खेल्ने
काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ समूह चरणका खेलहरू सकिएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता बन्यो । पुलिसले पहिलो सेट २५–३, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जित्यो ।
यस्तै दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हासिल गर्यो । एभरेस्टले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–११ ले जित्यो ।
अब आउँदो शुक्रवार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र समूह ‘बी’ को उपविजेता नेपाल एपीएफ क्लब खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।
प्रतियोगिताको पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा आजै बूढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर तथा कोशी प्रदेश र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टर खेल्दैछन् ।
एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
