मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

द एभरेष्ट पोष्ट
१६ पुष २०८२ १४:५५
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा – मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झन्डै एक महिनापछि ६ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नेपाली कांग्रेसबाट शङ्कर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन्। यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा (माओवादी केन्द्र) बाट फकिरा महताे गृह, सञ्चार तथा कानून मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गएको मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यही दिन तीन जना मन्त्री नियुक्त गर्नुभएका यादवले मङ्सिर २९ गते दुई जना मन्त्री नियुक्त गर्दै विनाविभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी  तोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस