स्पेन बन्यो विश्वकप बिजेता

न्यूयोर्क, १९ जुलाई । फिफा विश्वकप २०२६ को उपाधी स्पेनले जितेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनालाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै स्पेनले विश्वकप जितेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। स्पेनले अधिकांश समय खेलमा पकड जमाए पनि अर्जेन्टिनाको सुदृढ रक्षापङ्क्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न संघर्ष गर्नुपरेको थियो।

खेलको १०६औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका फेरान टोरेसले बायाँ खुट्टाले आकर्षक प्रहार गर्दै निर्णायक गोल गरे। त्यसपछि अर्जेन्टिनाले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन।

अर्जेन्टिनाले खेलको इन्जुरी समयमा मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएर खेल समाप्त गरेको थियो।

यस जितसँगै स्पेनले आफ्नो इतिहासमा दोस्रोपटक पुरुष विश्वकपको उपाधि जित्न सफल भएको छ। साथै स्पेन पुरुष र महिला दुवै विश्वकपको उपाधि एकै समयमा आफ्नो नाममा राख्ने पहिलो राष्ट्र बनेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको ४८ टोली सहभागी विश्वकपको यो पहिलो संस्करणमा कुल १०४ खेल खेलिए। प्रतियोगिताले सर्वाधिक ३०८ गोल भएको नयाँ कीर्तिमान पनि कायम गरेको छ।

रूकुम पश्चिममा ५ म्याग्नेच्युडको भूकम्प

काठमाडौं ।  रूकुम पश्चिममा भूकम्प गएको छ। आइतबार अपराह्न साढे ४ बजेतिर रूकुम पश्चिमको कोल भन्ने क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रले जनाएको छ।केन्द्रका अनुसार ५ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।

अर्थमन्त्री वाग्लेसँग छलफल सकाएर काठमाडौं फर्किए रवि दम्पती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट फर्किएका छन् । उनी पत्नी निकिता पौडेलसहित आइतबार (साउन ३) अपराह्न काठमाडौं फर्किएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

लामिछाने दम्पती र अर्थमन्त्री स्वर्णिम वाग्ले शनिबार (साउन २) उक्त रिसोर्टमा पुगेका थिए । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको अनुमान छ ।

अर्थमन्त्री वाग्ले पनि केही बेरपछि काठमाडौं फर्कने सुरक्षा स्रोतले जनाएको छ ।

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

जाकार्ता– पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् ।

सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो ।

उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन् । तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए ।

स्थानीय खोज तथा उद्धार अधिकारी मुहम्मद आरिफ अनवरका अनुसार डुङ्गा डुबेपछि उनीहरूले तैरिन सकिने सामग्रीको सहायताले आफूलाई बचाएका थिए ।

‘उनीहरूले प्लास्टिकका ठूला डिब्बा (जेरी क्यान) र कर्कका टुक्रालाई डोरीले बाँधेर अस्थायी तैरिने साधन बनाए र त्यसैमा बसे,’उनले एएफपीलाई बताए ।

शनिबार दिउँसो स्थानीय माछा मार्नेहरूले उनीहरूलाई उद्धार गरी रेडियोमार्फत अधिकारीलाई जानकारी गराएका थिए ।

धेरै दिनसम्म पर्याप्त खाना र पानीबिना समुद्रमा रहनुपरेकाले उनीहरू कमजोर र थकित अवस्थामा भेटिएका थिए । यद्यपि, इन्स्ट्यान्ट चाउचाउ र बिस्कुट खाएर आफूलाई जीवित राख्न सफल भएको आरिफले बताए ।

हराइरहेका अन्य यात्रुको खोजी जारी रहेको छ । खोजी अभियानमा पाँचवटा ठूला जहाज, एउटा निगरानी विमान र एउटा हेलिकप्टर परिचालन गरिएको छ ।

उद्धार अधिकारीका अनुसार डुङ्गाको आधिकारिक यात्रु सूचीमा ५० जनाको नाम भए पनि थप अनुसन्धानपछि डुङ्गामा ७८ जना सवार रहेको खुलेको छ ।

इन्डोनेसियामा डुङ्गाको आधिकारिक यात्रु विवरण र वास्तविक यात्रुको सङ्ख्याबीच फरक पर्नु सामान्य मानिन्छ । कमजोर सुरक्षा मापदण्ड र खराब मौसमका कारण यहाँ जलयात्रासम्बन्धी दुर्घटना भइरहन्छन् ।

यसअघि जनवरीमा पूर्वी इन्डोनेसियाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा तीन जना स्पेनी पर्यटकको मृत्यु भएको थियो भने एक बालक बेपत्ता भएका थिए । रासस

रास्वपाले सरकार चलाउने अधिकार पाएको हो, लोकतन्त्रमाथि खेल्ने होइन– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार चलाउने अधिकार पाए पनि संविधान र लोकतन्त्रमाथि खेलवाड गर्ने अधिकार नपाएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले संविधानमाथि खेलवाड गर्ने कुरा आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

‘रास्वपाले ५ वर्षका लागि सरकार सञ्चालनको म्याण्डेट पाएको छ । त्यहाँभित्र के हुन्छ चासोको विषय छैन, उसले ५ वर्ष सरकार चलाओस्,’ थापाले भने, ‘तर, प्रजातन्त्रमाथि खेलवाड गर्ने अधिकार पाएको होइन । संविधान र नागरिकको अधिकारको विषयमा खेलवाड गरिए कांग्रेसले विरोध गर्छ ।’

रास्वपा ठूलो पार्टी भए पनि देशलाई सम्हाल्ने शक्ति कांग्रेस भएको उनले बताए । ‘अहिले पनि सरकारले उत्ताउलो भएर काम गरेको छ, तर हामी उत्तेजनामा आएर प्रतिक्रिया जनाउन मिल्दैन । अहिले पनि सम्हाल्ने र देशलाई अर्को भड्खालोमा जान नदिने जिम्मेवारी कांगेसको हो,’ थापाले भने ।

उनले संविधान संशोधन हुनै हुँदैन भन्ने आफूहरूको धारणा नरहेको स्पष्ट गरे ।

किन बन्द भयो फेसबूक?

काठमाडौँ– करिब डेढ घण्टा अवरुद्ध बनेको मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ ।

नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुक चलेको थिएन । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको थिएन भने कतिपयले एपबाट चाहिँ खुलेको बताएका थिए । दिउँसो ३ बजेपछि भने दुबै सामाजिक सञ्जाल चल्न थालेको हो ।

सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलिएको थियो । अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने ‘डाउनडिटेक्टर’का अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका थिए ।

यस पटकको अवरोधमा एउटा रोचक ढाँचा देखिएको थियो । डाउनडिटेक्टरका अनुसार ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको थियो भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको थियो। धेरैजसो प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको तर डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको बताएका थिए ।

फेसबुक सञ्चालनमा आइसकेपछि मेटाले के भएको भनेर अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।

सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर ठप्प भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको ‘कन्फिगरेसन परिवर्तन’का कारण उक्त समस्या आएको बताएको थियो। त्यसपछि पनि मेटाका प्लेटफर्ममा समस्या देखिँदै आएको छ ।

बैतडीका कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक

बैतडी –  बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तीन दिनसम्म बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले अविरल वर्षा र मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्रका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।

प्रशासनले उक्त अवधिमा सम्भावित पहिरो, बाढी तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रु र सवारी चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ।
पक्की सडकमा समेत अत्यन्त सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले बताए ।

दार्चुलामा भीरबाट लडेका युवककाे धनगढी ल्याउदा बाटाेमै मृत्यु

दार्चुला: दार्चुलाको लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की (खनाल) को भिरबाट लडेर मृत्यु भएको छ।

दार्चुला प्रहरीका अनुसार  शनिबार बिहान स्थानीयवासीले रिठेगाढ खोलामा घाइते अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याएका थिए।  अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको  प्रहरीले बताएका थिए।

गोकुलेश्वर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर एम्बुलेन्समार्फत धनगढी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
घटनापछि गाउँमा शोक छाएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

आत्महत्या गर्न टेलिफोनको टावरमा चढेका युवकको जिउँदै उद्धार

काठमाडौं । मनपरेकी युवतीसँग विवाह गर्न नपाए आत्महत्या गर्छु भन्दै एक युवक टेलिफोनको टावरमा चढेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनले यस्तो तमासा देखाएका हुन् । उनी मलंगवा-९ स्थित नेपाल टेलिकमको रिपिटर टावरको माथिल्लो भागमा चढेको प्रहरीले जनाएको छ ।

प्रहरीले हुसैनलाई सम्झाएर सकुशल जमिनमा ओरालेको छ । उनी रातकै समयमा टावरमा चढेको हुनसक्ने अनुमान गरिएको छ ।

 

बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह

काठमाडौँ– कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारलाई निर्देशन दिएकी छन् ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।

सभापति बास्कोटाले सुधार गृहमा रहेका बालबालिकाहरूलाई कैदी बन्दी सरहकै खाना (सिदा) उपलब्ध गराइनु अनुपयुक्त भएको उल्लेख गर्दै उनीहरूको शारीरिक र मानसिक विकासका लागि छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्ने बताइन् ।

विशेष गरी रुपन्देही लगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरोकारका विषयमा समेत समितिको ध्यानाकर्षण भएको जानकारी दिइन्। उनकाअनुसार नागरिकता सम्बन्धी समस्या, उपसाहकोटको पहिरो पीडितको व्यवस्थापन र सप्तरी कारागारको स्थानान्तरण लगायतका विषयमा समितिले गृह मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गर्नेछ ।

अधिकारकर्मी बिनु यादव र निहारिका राजपूतले गृहमन्त्रीलाई भेट्न चाहेको विषयमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन् । सप्तरी कारागारमा भएको आत्मदहको प्रयास र क्षमताभन्दा बढी कैदी बन्दीको समस्यालाई प्रशासनले हाल नियन्त्रणमा लिएको भए पनि दीर्घकालीन समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

कलाकार दुर्गेश थापा र प्रियंका कार्की आवद्ध ‘मास्टर्नी’ गीतको विवादका सम्बन्धमा सभापतिले सम्बन्धित कलाकारले क्षमा याचना गरिसकेको र उक्त भिडियो आधिकारिक च्यानलबाट हटाइसकिएकाले यसमा थप प्रक्रिया आवश्यक नरहेको स्पष्ट पारिन् ।

न्यायिक प्रक्रिया र अनुसन्धानको पाटोलाई मजबुत बनाउने सन्दर्भमा सभापति बास्कोटाले जापान जस्ता देशको उदाहरण दिँदै नेपालमा पनि अभियोजन र प्रमाण संकलनको प्रक्रियालाई वैज्ञानिक र वस्तुपरक बनाउनुपर्नेमा जोड दिइन् ।

अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको संरक्षण र विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणले मात्रै न्याय सम्पादन प्रभावकारी हुने उनको तर्क छ । समितिले आगामी दिनमा बाल सुधार गृह सम्बन्धी प्रतिवेदनलाई सदनमा पेश गर्ने र सरकारलाई जिम्मेवार बनाउन आवश्यक निर्देशनहरू जारी गर्ने निर्णय समेत गरेको छ ।

तीन दशकको प्रतीक्षा पछि सुरु हुँदै गेटामा चिकित्सा शिक्षा

धनगढी:  सुदूरपश्चिमका हजारौँ विद्यार्थीका लागि चिकित्सक बन्ने सपना लामो समयसम्म एउटा अधुरो चाहना मात्र थियो। एमबीबीएस पढ्न चाहनेहरूले घर–परिवार, आर्थिक अवस्था र भौगोलिक कठिनाइसँग संघर्ष गर्दै देशका अन्य प्रदेश वा विदेशको बाटो रोज्नुपर्थ्यो। देशका सबै प्रदेशमा एमबीबीएस अध्ययनको अवसर विस्तार भइसक्दा पनि सुदूरपश्चिम भने त्यसबाट वञ्चित रह्यो।

कैलालीको गेटामा करिब ६ अर्ब ६४ करोड रुपैयाँको लागतमा अत्याधुनिक पूर्वाधार निर्माण भए पनि वर्षौँसम्म सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकको आशा निराशामा बदलिएको थियो। आधुनिक भवनहरू तयार भए, तर कक्षाकोठामा विद्यार्थी पुगेनन्। अस्पताल बन्यो, तर त्यसले कल्पना गरिएको शैक्षिक जीवन पाउन सकेन।

तर अहिले अवस्था फेरिन थालेको छ। सरकारले गेटा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राख्दै आवश्यक निर्णयहरू अघि बढाउन थालेपछि तीन दशकदेखि देखिएको सपना साकार हुने संकेत देखिएको छ।

असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिएको छ। विश्वविद्यालय सञ्चालनका लागि आवश्यक २ अर्ब ५३ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको सरकारले जनाएको छ। यससँगै गेटामा चिकित्सा शिक्षा औपचारिक रूपमा सुरु हुने आधार बलियो बनेको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तुल्सी देवकोटा लामो प्रतीक्षापछि अब विश्वविद्यालय सञ्चालनको आधार तयार हुँदै गएको बताउँछिन्।

उनका अनुसार, “सुदूरपश्चिमेली जनताको तीन दशक लामो सपना अब पूरा हुने चरणमा पुगेको छ। यहीँबाट दक्ष स्वास्थ्य जनशक्ति उत्पादन हुन थालेपछि यस क्षेत्रका धेरै पुस्ताले देखेको सपना साकार हुनेछ।”

गेटा विश्वविद्यालय स्थापनाका लागि लामो समयदेखि आन्दोलनको नेतृत्व गर्दै आएका लोकराज पाण्डे भने वास्तविक सफलता अध्ययन–अध्यापन सुरु भएपछि मात्रै प्राप्त हुने बताउँछन्।

उनले भने, “प्रारम्भिक चरणका काम भएका छन्। हाम्रो मुख्य उद्देश्य यहीँबाट चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन हुनु हो। सरकारले प्रक्रिया अघि बढाएको छ, त्यसैले हामी आशावादी छौँ।”

स्थानीयवासी भीम विश्वकर्माको अनुभवले पनि गेटाको यात्रालाई जीवनसँग जोडेर प्रस्तुत गर्छ।

“हाम्रो पुस्ताले राम्रो अस्पतालको माग गर्दै समय बितायो। छोराहरूले त्यसको प्रतीक्षा गरे। अब नातिहरूले यही विश्वविद्यालयमा पढ्ने आशा जागेको छ,” उनी भन्छन्।

कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दका अनुसार वर्तमान सरकारले गेटा विश्वविद्यालय सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक निर्णयहरू तीव्र रूपमा अघि बढाइरहेको छ।

पूर्वाधार तयार, अब शैक्षिक यात्राको पालो

आर्थिक वर्ष २०७०/७१ देखि गेटामा भौतिक संरचना निर्माण सुरु भएको थियो। हाल ५१ हेक्टर क्षेत्रफलमा फैलिएको परिसरमा ६ सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक अधिकांश पूर्वाधार तयार भइसकेका छन्।

तर संरचना तयार भइसकेपछि पनि कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान र कहिले विश्वविद्यालय बनाउने विषयमा सरकारी नीतिगत अन्योल कायम रह्यो। अन्ततः २०७९ माघमा सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्यो।

हालै सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेसँगै विश्वविद्यालय सञ्चालनले औपचारिक गति लिएको छ।

पहिलो वर्षमै एमबीबीएससहित चार कार्यक्रम

उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार विश्वविद्यालयलाई राष्ट्रिय स्तरको चिकित्सा शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित काम अघि बढाइनेछ। उनले विश्वविद्यालयको गुणस्तर, अस्पतालको स्तरोन्नति र अनुसन्धानलाई समान प्राथमिकतामा राखिने बताए।

“यो सुदूरपश्चिमको मात्र होइन, समग्र देशकै गौरवको आयोजना हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत यसको विश्वास र प्रतिष्ठा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

रजिष्ट्रार डा. भीमबहादुर चन्दका अनुसार पहिलो शैक्षिक सत्रमै एमबीबीएस (५०), बीएस्सी नर्सिङ (३०), बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (२०) र बी अप्टोमेट्री (२०) कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा हुँदैछ। चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको छ भने ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए।

उनका अनुसार आगामी चार वर्षभित्र स्नातक तहका कम्तीमा १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि एमडी/एमएससहित स्नातकोत्तर तहका कार्यक्रम विस्तार गर्ने योजना छ। अस्पताललाई पनि क्रमशः ७ देखि ८ सय शय्यासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

अब परीक्षा कार्यान्वयनको

गेटामा भवन बनेर वर्षौँसम्म सुनसान रहँदा सुदूरपश्चिमेली नागरिकले विकासका नाममा बनेका संरचना कसरी उपयोगविहीन हुन्छन् भन्ने पीडा भोगे। अहिले भने सरकारका निर्णय, नेतृत्व नियुक्ति र शैक्षिक तयारीले नयाँ आशा जगाएको छ।

मनसुनको प्रभाव बढ्यो, भारी वर्षाको सम्भावना

काठमाडौँ : देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।

हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइृतबार दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

विश्वकप फाइनल खेलमा रंगशाला वरपर ‘नो फ्लाई जोन’

बेडमिन्स्टर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन् । स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम छ ।

न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उनको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ ।

अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो ।

ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिता भएको दाबी गरेका छन् । प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता बढाएको उनको भनाइ छ ।

ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनलमा उपस्थित हुने जनाइएको छ ।

त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न पुग्ने भएका छन् ।

trump-infatino-1784442455.jpg

प्रतियोगिताको सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ ।

न्यु जर्सीस्थित रंगशालावरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उनी आउने समय रंगशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ ।

ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको सम्बन्धलाई थप प्रगाढ बनाएका छन् । उनले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा उल्लेख गर्दै आएका छन् ।

यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले चर्चा पाएको थियो । पछि उनले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरेका थिए । तर, फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो । रासस/एएफपी

ओशो, ओरेगन र स्मृतिगर्तमा विलिन रजनीशपुरम् 

राजन कुईंकेल । ओरेगन, अमेरिका
ओशो । अर्थात् आचार्य रजनीश । बीसौं शताब्दीको पछिल्लो दुई दशकतिरका अत्यधिक चर्चित र विवादास्पद आध्यात्मिक व्यक्तित्व । सन् १९३१ मा भारत मध्य प्रदेश कुचवाडाको जैन परिवारमा जन्मिएर १९९० पुणेमा निधन हुँदा चन्द्रमोहन जैनबाट ओशोमा रुपान्तरित व्यक्ति । भारतका आध्यात्मिक गुरु, वक्ता र दार्शनिक आचार्य रजनीश, भगवान श्री रजनीश हुँदै ओशो नामले प्रसिद्ध भए । परम्परागत धर्मका अनुयायी गुरु मात्र नभई ध्यान, चेतना, स्वतन्त्रता, प्रेम र व्यक्तिगत रूपान्तरणका आधुनिक आध्यात्मिक शिक्षक उनको पहिचान बन्यो ।

व्यक्तिको स्वतन्त्रताका सन्दर्भमा अन्धविश्वासबाट मुक्त हुनुपर्छ । परम्परालाई केवल पुरानो भएकै कारण स्वीकार्नु हुँदैन । आफ्नै अनुभवबाट सत्य खोज्नुपर्छ भन्ने मान्यताधारी । धर्म, समाज, राजनीति र नैतिकताका धेरै स्थापित धारणाका आलोचक ओशो, प्रेमलाई स्वामित्व होइन, स्वतन्त्र अभिव्यक्ति मान्दथे । प्रेममा स्वतन्त्रता, सम्बन्धमा चेतना, ईष्र्या र नियन्त्रणबाट मुक्तिजस्ता विषय चर्चित र विवादास्पद दुबै बने । यौनसम्बन्धी विचारहरू त परम्परागत समाजका लागि असामान्य मात्र थिएन वाण नै थिए । ओशो एउटा यस्तो नयाँ मानिसको कल्पना गर्थे जोसँग पूर्वको ध्यान र आध्यात्मिकता तथा पश्चिमको विज्ञान र भौतिक प्रगति दुबैको मिलन होस् । ध्यान गर्ने, सिर्जनात्मक, स्वतन्त्र, जीवनलाई स्वीकार गर्ने विशेषतायुक्त मानिस तयार गर्ने उनको अभियान थियो ।

उनै ओशोले भगवान् रजनीशका रुपमा चिनिने समयमा अमेरिकाको ओरेगन राज्यमा स्थापना गरेको रजनीशपुरम् कम्युन (सामुदायिक बस्ती) ४० वर्षपछि कस्तो छ त ? वर्तमानमा वासिङ्गटन फेमिली रान्चका रुपमा रहेको यस स्थानको प्रत्यक्ष भ्रमणपछि यो आलेख तयार पारिएको छ । यस पटकको अमेरिका यात्रामा पंक्तिकारलाई १५ भन्दा बढी राज्य भ्रमण गर्ने अवसर मिल्यो । प्रशान्त महासागर तटसँगै जोडिएको पश्चिम(अमेरिकी राज्य ओरेगनमा अलिक बढी समय बिताए । यसक्रममा पूर्वीय चिन्तनधारामा विद्रोही चेतको पहिचान बनाएका र एक समय अमेरिकामै तहल्का मच्चाएका आध्यात्मिक गुरु ओशोको आश्रम अर्थात् कुनै समयको “रजनीशपुरम्” ओरेगनमै रहेको जानकारी पाएँ ।

कस्तो होला “भगवान रजनीश”ले आफू र अनुयायी सन्यासीहरुका लागि विकास गरेको कम्युन मनभरी कौतूहलता थियो । भ्रमणको उपयुक्त समय खोज्दै थियौं । यहि जुलाईको ८ अर्थात् २४ असार २०८२ बुधवारका दिन त्यो दिन जुर्यो । विहान ९ बजेतिर परमेश्वर पौडेल सर, बहिनी शर्मिला दाहाल, छोरी प्रियसा र अर्की बहिनी लक्ष्मीसहित हामी ओरेगनको अल्बानीबाट त्यता लाग्यौं । गाडीको चालक सिटमा शर्मिला बसिन् । जिपिएसले हाम्रो गन्तव्य वासिङ्गटन फेमिली रान्च अर्थात् पुरानो रजनीशपुरम् अल्बानीदेखि उत्तरपूर्वी दिशामा अंकित गर्यो । २०० माइल(३२१ किलोमिटर टाढा) को दूरी पार गर्न ४ घण्टा ११ मिनेट लाग्ने देखायो । बाटैभरी बीसौं शताब्दीको अन्त्यतिर ओशोले मच्चाएको तहल्का र उनी स्वयंले ब्यहोर्न परेको हैरानीबारे मनमा हुण्डरी मच्चिरह्यो ।

जति जति वास्को काउन्टी नजिक पुग्थ्यौं, यस्तो ठाउँ नै उनले किन रोजे होलान् भन्ने लाग्दै जान्थ्यो । काउन्टीको सीमा प्रवेश गरेसँगै वासिङ्गटन फेमिली रान्च नजिकिँदा यस्तो मरुभूमिमा उन्मुक्त स्वतन्त्रताको अभ्यास गर्न संसारभरका सन्यासी भेला भएको ? भन्ने प्रश्न झनै बलियो बन्दथ्यो । वासिङ्गटन फेमिली रान्चको प्रवेश गेटसँगै मरुभूमि माटोको गन्धले नराम्रो चिमोट्यो । ८० को दशकमा ओशो सन्यासीका कारण चर्चामा आएको सानो शहर एन्टेलोप प्रवेश मार्गलाई दायाँ छाड्दै तत्कालीन रजनीशपुरम् कम्युन स्थलतर्फ मोडियौं । आँखाले देख्नेसम्मको सबै क्षेत्र उजाड मरुभूमि छ । केही साना सल्लाका बुट्यान स्वागतका लागि उभिएझै लाग्दथे । बिछट्टै पुग्न मन लागेको गन्तव्य जिपिएसले छोट्याउँदै गर्दा ८० को दशकको त्यो पाँच वर्ष ओशाले ब्यहोरेका उतारचढाव आँखाभरी घुम्न थाल्यो ।

सन् १९६० देखि ७० को दशकमा भारतका विभिन्न शहरमा प्रवचन दिँदा युवा र बुद्धिजीवीबीच लोकप्रिय बनेका रजनीशले पुणेमा सन् १९७४ मा पहिलो आश्रम स्थापना गरेका थिए । सन् १९८१ सम्ममा त्यो ठूलो अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकसित भइसकेको थियो । अन्तर्राष्ट्रिय अनुयायीहरूको आगमन बढेसँगै भारतमा मात्र सीमित हुन नचाहेका उनी उपयुक्त देशको खोजिमा थिए । यसै सिलसिलामा स्वास्थ्य उपचारको समेत कारण देखाउँदै ओशो सन् १९८१ मा अमेरिका पुगे । १९८० को दशकमा अमेरिकाको सबैभन्दा चर्चित धार्मिक, राजनीतिक र कानुनी विवादमध्ये एक घटना बन्यो यो । त्यहाँ पाँच वर्षमा उनले जे गरे र ब्यहोरे त्यही विषय यस आलेखमा समेटिएको छ ।

रजनीशपुरम् स्थापना

भारतको पुणेमा सात वर्ष अन्तर्राष्ट्रिय स्तरको केन्द्र सञ्चालन पश्चात आचार्य रजनीश (त्यसबेला भगवान श्री रजनीश सम्बोधित) वैश्विक स्तरमा यस्तै खाले ध्यान केन्द्र चलाउन चाहन्थे । उपयुक्त स्थान खोज्नका लागि उनले आफ्ना अनुयायीहरु परिचालन गरेका थिए । पुणे ध्यान केन्द्र तथा आचार्यको सचिवालयकी प्रमुख मा योग लक्ष्मी र अर्की साधिका शिलाबीच यस कार्यमा क्रमशः प्रतिष्पर्धा देखियो । विस्तारै मा आनन्द शिलाको प्रभाव बढ्यो । अमेरिकाको जमिन खोज्ने र खरिदमा संलग्न हुन पुगिन् । सन् १९८१ मा ओशोका तर्फबाट मा शीलाले जग्गा खोज्ने र खरिद गर्ने कामको नेतृत्व गरिन् । १३ जुन १९८१ मा शीलाका पति जोन शेल्फर (जसलाई प्रेम जयनन्द पनि भनिन्थ्यो) ले खरिद सम्झौतामा हस्ताक्षर गरे । केही दिनपछि उक्त सम्पत्ति अमेरिकास्थित रजनीश फाउन्डेशनलाई हस्तान्तरण गरियो । ओरेगन राज्यको उत्तर(मध्य वास्को काउन्टीको एन्टेलोप गाउँनजिक बिग मड्डी रान्च (खेती र पशुपालनका लागि प्रयोग गरिने फार्म) ६४ हजार एकड (करिब २६ हजार हेक्टर) जमिन साढे ५७ लाख अमेरिकी डलरमा किनियो । पोर्टल्याण्डबाट दक्षिण-पूर्वमा रहेको यस स्थान करिब १३० माइल दूरीमा पर्दछ । विशाल र एकै टुक्राको जमिन, जनसंख्या अत्यन्त कम भएको दुर्गम क्षेत्र र मूल्य तुलनात्मक रूपमा सस्तो हुँदा यो जमीन खरिद गरिएको थियो । साथै आफ्नै आत्मनिर्भर समुदाय बसाउन यो पर्याप्त देखिएको थियो ।
चाहेजस्तै जमिन फेला परेपछि थोरै समयमै सन्न्यासीहरूले मरुभूमिझै सुख्खा र बाँझो जमिनलाई एउटा आधुनिक शहरमा बदले । यही विशाल मरुभूमिजस्तो क्षेत्रलाई पछि “राञ्चो रजनीश” र त्यसपछि “रजनीशपुरम” नाम दिइयो । हजारौं मानिस बस्न सक्ने गरी विभिन्न संरचना निर्माण गरिए । जहाँ आफ्नै विमानस्थल र धावनमार्ग, फायर डिपार्टमेन्ट (अग्नि विभाग), सपिङ मल, होटल, रेस्टुरेन्ट र डिस्कोथेक निर्माण गरिए । ओशोको प्रवचनका लागि हजारौं मानिस अटाउने “रजनीश मन्दिर” (एक विशाल हल) बनाइए । अत्याधुनिक आवासीय भवन, सडक, विद्युत्, ढल निकास र पानी शुद्धीकरण, खेतीपाती र सिँचाइ प्रणाली, अस्पताल, प्रशासनिक कार्यालय, बस सेवा र प्रहरी व्यवस्था जस्ता पूर्वाधार तयार पारिए । केही वर्षभित्रै हजारौँ मानिस बसोबास गर्न योग्य स्थल बनाइयो । यीमध्ये धेरै संरचना सन्यासीहरूको श्रम र फाउन्डेशनको लगानीबाट बनाइएका थिए ।

स्थानीय राजनीतिमा चासो, हस्तक्षेप र पतन

स्थानीय ओरेगनवासी (खासगरी स्थानीय एन्टेलोपका बासिन्दा) र अमेरिकी सरकारसँग रजनीशपुरम्को सम्बन्ध शुरुदेखि नै तनावपूर्ण रह्यो । रजनीशपुरम् स्थापना भएपछि स्थानीय किसान, चर्च समूह र वास्को काउन्टी प्रशासनसँग विवाद शुरु भयो । जसमा भूमि प्रयोग सम्बन्धी कानुनी विवाद, धार्मिक समुदायले नयाँ शहर स्थापना गर्न पाउने वा नपाउने प्रश्न, स्थानीय राजनीतिमा प्रभाव विस्तार गर्ने प्रयास, सांस्कृतिक र जीवनशैलीको ठूलो भिन्नता लगायत थिए । यी विषयमा राज्य सरकार र अदालतसम्म धेरै मुद्दा पुगे । विवाद सन् १९८५ मा उत्कर्षमा पुग्यो ।

सन् १९८१–८२ तिर रजनीशपुरम् निर्माण भइरहेका बेला नजिकैको सानो शहर एन्टेलोपमा करिब ४०–६० परिवार मात्र स्थायी बासिन्दा थिए । रजनीशका अनुयायीहरूले त्यहाँ घर तथा जग्गा किन्न थाले र धेरै जना बसाइँ सरे । कानुनी रूपमा बसोबास गरेपछि मतदाताका रूपमा दर्ता भए । स्थानीय बासिन्दाले रजनीशीहरूको प्रभाव रोक्न १९८२ मा एन्टेलोप शहरलाई नै विघटन गर्ने प्रस्ताव ल्याए । तर रजनीशीहरु बहुल हुँदा शहर विघटनको प्रस्ताव विफल भयो । बरु नगर परिषद् निर्वाचनमा रजनीशका समर्थकहरूले बहुमत पाए र अधिकांश सिट जिते ।

स्थानीय सरकार उनीहरूको नियन्त्रणमा गएसँगै शहरको प्रशासनिक निर्णयहरू उनीहरूले नै गर्न थाले । शहरको नाम परिवर्तन गरेर १९८४ मा रजनीश राखियो । सडकहरूको नाम भारतीय आध्यात्मिक व्यक्तित्वहरूको नामबाट राखिए । नगर प्रशासनमा समर्थकहरूको नियुक्ति, स्थानीय विद्यालयमा प्रभाव विस्तार, नगरका केही कर र सेवा शुल्क वृद्धिको स्थानीय पुराना बासिन्दाले विरोध गरे । रजनीशको सुरक्षा समूह पिस फोर्सले शहरमा गस्ती गर्न थालेपछि स्थानीयमा त्रास बढ्यो । एन्टेलोपमा राजनीतिक नियन्त्रणसँगै, रजनीशपुरम् स्वयंलाई आधुनिक शहर बनाउने अभियान थालियो । केही वर्षमै उजाड राञ्चलाई एउटा व्यवस्थित शहरजस्तो बस्तीमा रूपान्तरण गरिएको थियो ।

चुनावी परिणाम प्रभावित गर्न ओशोकी मुख्य सचिव मा आनन्द शीला र उनको टोलीले नजिकैको शहर द ड्याल्सका १० वटा रेस्टुरेन्टको सलाद बारमा साल्मोनेला नामक ब्याक्टेरिया मिसाएको आरोप लाग्यो । यसबाट ७५१ जना मानिस बिरामी परे । जुन पछि अनुसन्धानबाट पुष्टी पनि भयो । यो अमेरिकी इतिहासकै पहिलो र ठूलो जैविक आक्रमण मानिन्छ । शिलासहितका कम्युन नेतृत्वलाई टेलिफोन ट्यापिङ, विष प्रयोग र हत्या षड्यन्त्र, आर्थिक अनियमितता जस्ता आरोप लगाइए । धेरै घटनामा मुख्य भूमिका मा शीला र उनका निकट सहयोगीहरूको देखियो । मा आनन्द शीला र उनका केही सहयोगी सेप्टेम्बर १९८५ मा अमेरिका छोडेर भाग्नुपर्यो ।

ओशोले पत्रकार सम्मेलन गरी आफु ती घटनाबाट अलग रहेको भन्दै शीलामाथि धेरै गैरकानुनी गतिविधिको आरोप लगाए । तर, अनुसन्धानपछि ओशो स्वयं पनि अध्यागमनसम्बन्धी मुद्दामा पक्राउ परे । उनले आरोप स्वीकार्दै जरिवाना तिरे र अमेरिका छोड्न सहमत भए । विदेशी अनुयायीहरूलाई अमेरिकामा राख्नका लागि नक्कली विवाह गराएको आरोप उनीहरुमाथि लाग्यो । अन्ततः यो विवादले कम्युन नै अन्त्य गरिदियो । सन् १९८५ को अक्टोबरमा ओशोलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरियो । अमेरिका छोड्ने शर्त स्वीकार्दै अन्ततः उनी भारत फर्किए । आनन्द शीला लगायतका मुख्य नेतृत्वकर्ताहरू जेल परे । सन् १९८६ सम्ममा कम्युन पूर्ण रूपमा खाली गराइयो ।

कम्युन पतनको वर्षौंपछि केही महिला अनुयायीहरुले रजनीशपुरम् भित्र बालबालिकामाथि यौन दुव्र्यवहार भएको आरोपसमेत लगाएका छन् । केही भिडियो अन्तर्वार्ता, पुस्तक, समाचार र वृत्तचित्रहरुमा उनीहरुले यस्तो गम्भीर आरोप लगाउँदै घटनाको जिम्मेवारी लिन ओशो इन्टरनेशनल फाउण्डेशनसँग माग गरेका छन् । तर यस्तो आरोप र मुद्दा अदालतसम्म पुगेको वा त्यसमा दोष प्रमाणित भएको कुनै अभिलेख भेटिँदैन ।

रजनीशपुरम्को पतनपछि हालको अवस्था 

रजनीशपुरम् पतनपछि फाउन्डेशन आर्थिक संकटमा प¥यो । सम्पत्ति दिवालियापन प्रक्रियामा गयो । १९८८ मा सरकारी प्रक्रियामार्फत बिक्रीको चरणमा पुग्यो । त्यो विशाल सम्पत्ति बैंक र सरकारको नियन्त्रणमा गयो । रजनीश कम्युन पतनको पाँच वर्षपछि सन् १९९१ मा अमेरिकी उद्योगपति डेनिस आर वासिंगटनको कम्पनी वासिंगटन कन्स्ट्रक्सनले ३६ लाख डलरमा यो जमीन किन्यो । सन् १९९६ मा वासिंगटनले उक्त सम्पत्ति अमेरिकी ईसाई युवा संस्थालाई दान दिए । धेरै वर्षको कानूनी प्रक्रिया र स्वामित्व परिमार्जनपछि, अहिले यो ठाउँ पूर्ण रूपमा परिवर्तन भएको छ ।

त्यहाँ निर्मित केही संरचना वाशिंगटन कमिटी क्रिश्चियन युथ क्याम्पले प्रयोग गरिरहेको छ । अहिले यो ठाउँलाई वाशिंगटन फ्यामिली ¥यान्च भनिन्छ । ४० वर्षअघि सन्यासीहरुले गुल्जार बनाएको मड्डी रान्च अहिले ओशोको आश्रम होइन, एउटा विशाल क्रिश्चियन युवा क्याम्प र रिसोर्टका रूपमा सञ्चालित छ । यहाँ हरेक वर्ष गर्मी महिनामा हजारौं स्कूल र कलेजका विद्यार्थीहरू शिविरका लागि आउँछन् । धार्मिक तथा नेतृत्व विकास कार्यक्रम, खेलकुद र मनोरञ्जन गतिविधि गराइन्छ ।
यहाँ पुग्दा यो पहाडमा कुनै जीवन नभई पुरानै उजाड मरुभूमिमा परिणत भएको महशूस हुन्छ । धेरै पुराना रजनीशकालीन भवनहरू भत्काइएका छन् । केही बाँकीलाई पनि नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको छ । धावनमार्ग, सडक जस्ता केही पूर्वाधार भने अझै अस्तित्वमा छन् । धावनमार्ग अहिले आकस्मिक वा निजी उडानका लागि प्रयोग हुन्छ । यी पूर्वाधारले ओशोका ९० भन्दा बढी रोल्स रोयस गाडी र सानो उपत्यकामा हुइँकिएर आउने साना विमानहरुको धमिलो सम्झना ब्युँताउँछ । ओशोले प्रवचन दिने र उत्सव मनाउने विशाल रजनीश हललाई आधुनिक इन्डोर स्पोट्र्स एरिनामा बदलिएको छ । त्यहाँ अहिले बास्केटबल कोर्ट, भलिबल कोर्ट र विभिन्न खेलकुद गतिविधि हुन्छन् ।

अनुयायीहरू बस्ने केही साना काठका घर (टिन्नी हाउस) र होटललाई अहिले क्याम्पमा आउने बालबालिका र पाहुनाहरू बस्ने आधुनिक लज र कोठाहरूमा रूपान्तरण गरिएको छ । सन्न्यासीहरू बस्ने टिन्नी हाउस त रजनीश टिन्नी हाउसका नाममा बिक्रीमा समेत राखिएका थिए । ओशोका विलासी रोल्स रोयस कारहरू रजनीशपुरम् पतन भएलगत्तै लिलामी गरेर बेचियो । १९८५ सम्ममा कम्युन व्यवहारतः समाप्त भयो र कानुनी रूपमा केही वर्षपछि नगरको मान्यता पनि खारेज गरियो । अमेरिका छोडेपछि ओशोले युरोप, नेपालसहितका विभिन्न २१ मुलुकमा बस्न चाहे तर कुनै न कुनै बहाना बनाएर त्यहाँबाट निक्लन बाध्य बनाइयो । अन्ततः सन् १९८७ मा भारत फर्किए र पुणे आश्रममा रहे । त्यही सन् १९९० को जनवरीमा उनको निधन भयो ।

रजनीशपुरम् निर्माण र पतनको घटना एउटा सपना झै लाग्दछ । सन् १९८५ सम्म रजनीशपुरम्का मुख्य लेखापालले ओरेगनमा करिब ६० मिलियन अमेरिकी डलर खर्च भएको बताएका थिए । इतिहासकार, समाजशास्त्री र धर्म अध्ययन गर्ने विद्वानहरूका लागि महत्वपूर्ण अध्ययनको विषय बनेको छ । केहीले यसलाई उजाड भूमिमा अत्यन्त छोटो समयमा आधुनिक समुदाय निर्माण गरिएको असाधारण सामाजिक प्रयोग मान्छन् । आलोचकहरूले भने नेतृत्व केन्द्रित नियन्त्रण, राजनीतिक हस्तक्षेप र गम्भीर आपराधिक गतिविधिहरूका कारण असफल भएको धार्मिक आन्दोलनका रूपमा हेर्छन् ।

समाचार र कथाहरु मात्र सुन्ने हामीहरु समेतलाई त्यो बेलाका संरचना निमिट्यान्न पारिएको र बाँकी पनि अवशेष झै रहेको देख्दा नोस्टाल्जिक बनाउँछ । अझ कम्युनमा सरिक भएका ओशो अनुयायी सन्यासी त्यो गुल्जार भूमि गुमनाममा परिणत भएको देख्दा कस्तो ठान्दा होलान् ? चारैतिर निर्जन र उजाड पहाडी थुम्काको बीच तल लमतन्न सुतेको उपत्यकाभरी फिँजारिएका कम्युनका चिटिक्क परेका हजारौं ती घरको त अवशेष पनि भेटिन्न । ओशो, रजनीशपुरम्का कुनै संकेतसम्म पाउन सकिन्न । बरु माथि डाँडाबाट ओरालो झर्दा पाखाका भित्ताहरुमा देखिने खानेपानीका सिमन्टे ट्याङ्कीहरु कम्युनकालमा सन्यासीहरुले गरेका श्रमदानको निशानी झै लाग्दथ्यो ।

सुनसान खोंचमा पुग्दा नमिठो निरवताले छोपेझै लाग्दछ । सबैजसो संरचनाका बाहिरी तुन्द्रुङ झुण्ड्याइएको “निजी सम्पत्ति प्रवेश निषेध” को साइनबोर्डले अजङ्गको भोटे कुकुरको त्रास फैलाउँछ । सवारी साधन पार्किङ गर्नेसम्म उपयुक्त स्थान पाउन गाह्रो छ । दिनको साढे १ बजेतिर त्यहाँ पुगेका हामी पनि केही तस्वीर र दृश्य कैद गरेर फर्कियौं । फर्कंदा बाटोभरी एउटै कुराले घोचिरह्यो, व्यक्तिहरुले गल्ती गरे पनि त्यति गुल्जार बनेको स्थान र इतिहासलाई किन नामेट पारिएको होला ? ती संरचनालाई जोगाएको भए त्यही समाजले अरु प्रयोजनमा प्रयोग गर्न सक्दथ्यो कि ? अनि चिमोटिरह्यो, नेतृत्वमा रहेका केही व्यक्तिका असीमित महत्वाकांक्षा, विवेकहीनता र सन्की स्वभावले भर्भराउँदा साझा सपनाहरुलाई कसरी डढाउँदो रहेछ भनेर ।

(रजनीशपुरम् अर्थात् ओरेगन वास्को काउन्टीस्थित वासिङ्गटन फेमिली रान्चको भ्रमणपछि)

मेस्सी, म्याराडोना कि पेले – को हुन् हालसम्मकै महान् फुटबल खेलाडी? यस्तो छ बहस

ब्राजिल, १८ जुलाई ।

लिओनेल मेस्सी आफ्नो करिअरको तेस्रो विश्वकप फाइनलको तयारीमा जुटिरहँदा एउटा चिरपरिचित प्रश्न फेरि दोहोरिएको छ ? के यी आर्जेन्टिनी सुपरस्टार अहिलेसम्मकै महान्‌ फुटबलर हुन् ? उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई पनि उछिनेका हुन् ।

उनान्चालिस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्।

विश्लेषकहरूका अनुसार युवावस्थाजस्तो विस्फोटक गति नरहे पनि आफ्नो खेल बुझाइ, सही स्थानको छनोट र उत्कृष्ट निर्णय क्षमतामार्फत् उनी खेलको दिशा बदल्ने क्षमता राख्छन् र मैदानभित्र प्रायः प्रशिक्षकजस्तै भूमिका उनले निर्वाह गरिरहेका हुन्छन्।

त्यसको अर्थ उनले आफ्ना सबै प्रतिद्वन्द्वीहरूलाई साँच्चै उछिने भन्ने हो त?

मेस्सीको पक्षमा तर्क

मेस्सीलाई फुटबल इतिहासकै महान् खेलाडी मान्नेहरू प्रायः उनका दुई विशेषतामा जोड दिन्छन्, लामो अवधिसम्मको उत्कृष्टता र लगातारको शानदार प्रदर्शन।

धेरै महान् खेलाडीहरूको उत्कृष्ट समय तुलनात्मक रूपमा छोटो रह्यो। तर मेस्सी लगभग दुई दशकसम्म विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीहरूमध्ये एकका रूपमा छन्।

यस अवधिमा उनले कीर्तिमानी आठ पटक बालन डोर पुरस्कार जितेका छन्। साथै स्पेन र फ्रान्समा लीग उपाधि, च्याम्पिअन्स लिगको उपाधि, एउटा कोपा अमेरिका तथा सन् २०२२ को कतार विश्वकपको उपाधि पनि जितेका छन्। गोल र ‘असिस्ट’ दुवैमा उनले असाधारण कीर्तिमान बनाएका छन्।

उनका समर्थकहरू युरोपमा बार्सिलोनाको प्रभुत्वदेखि अन्तर्राष्ट्रिय फुटबलमा आर्जेन्टिनाको पुनरुत्थानसम्मका उदाहरण दिएर त्यसलाई भिन्दाभिन्दै परिवेशमा समेत सफल हुने उनको क्षमताका रूपमा प्रस्तुत गर्छन्।

मेस्सीका समर्थकहरूका अनुसार प्रतिभा, निरन्तरता र लामो समयसम्म कायम उच्चस्तरीय क्षमताको बेजोड तालमेलले उनलाई अरूभन्दा भिन्न बनाएको छ।

बार्सिलोनामा छँदा उनीसँगै खेलेका फ्रान्सका पूर्स्ट्राइकर थिएरी आन्री पनि मेस्सीको प्रतिस्पर्धात्मक मानसिकतालाई असाधारण ठान्छन्।

स्पेनी पत्रिका ‘मार्का’सँगको अन्तर्वार्तामा उनले बार्सिलोनामा सँगै प्रशिक्षण गरेका दिनहरू सम्झँदै भनेका छन्, मेस्सीले आफूमाथि अन्याय भएको महसुस गर्नासाथ उनको व्यवहार पूर्ण रूपमा बदलिन्थ्यो।

“बीस्टलाई नजिस्क्याइयोस्,” उनले अन्तर्वार्ताको बिट मार्ने क्रममा भनेका छन्। त्यसो भनिरहँदा उनले ‘फाउल’ नदिइएको ठानेका अवस्थामा आर्जेन्टिनाले त्यसको केहीबेरमै केही गोल गरेर प्रतिक्रिया जनाएको परिस्थितिहरूको स्मरण गरेका छन्।

म्याराडोनाको छाया

म्याराडोना र मेस्सीको तस्बिर अङ्कित टिसर्टमा प्रशंसकहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,म्याराडोना र मेस्सी आर्जेन्टिनाका महान्‌ खेलाडीमा गनिन्छन्

आर्जेन्टिनामा यस्तो तुलना पेले वा अन्य अन्तर्राष्ट्रिय खेलाडीभन्दा बढी डिएगो म्याराडोनासँग हुने गरेको छ। कप्तानका रूपमा म्याराडोनाले सन् १९८६ मा आर्जेन्टिनालाई विश्वकप जिताएका थिए।

उनको प्रभाव फुटबलमा मात्रै सीमित थिएन। धेरै आर्जेन्टिनीका लागि उनी राष्ट्रिय पहिचानका प्रतीक बनेका थिए।

“म्याराडोना आर्जेन्टिनाका राजा थिए। राजा चुनिदैन, उसले केवल देशको प्रतिनिधित्व गर्छ,” मेस्सीका प्रमुख जीवनीकारमध्ये एक तथा स्पेनी पत्रकार गिल्येम बलगेले बीबीसी न्यूज ब्रजिलसँग भने।

वर्षौँसम्म पनि कतिपय आर्जेन्टिनीहरूले मेस्सीको प्रतिभाको प्रशंसा त गरे तर म्याराडोनालाई अधिक वास्तविक राष्ट्रिय प्रतीक ठाने।

सन् २०२० मा दिवंगत भएका म्याराडोना गरिबीमा हुर्केबढेका थिए। उनी खुलेर सत्ताको आलोचना गर्थे, राजनीतिमा संलग्न हुन्थे र उनको विद्रोही तथा चमत्कारी व्यक्तित्वले धेरै मानिसलाई आकर्षित गरेको थियो।

यसको विपरीत मेस्सीको बाटो बिल्कुल अलग रह्यो। मैदानबाहिर उनी शान्त र सङ्कोच मान्ने स्वभावका छन्, राजनीतिक विषयमा बोल्नबाट जोगिन्छन् र लगभग पूर्णरूपमा फुटबलमै केन्द्रित रहन्छन्। उनी आफ्नो करिअरको अधिकांश समय खेलसँग असम्बन्धित चर्चाबाट परै रहेका छन्।

मेस्सीले बदलेको सोच

सन् २०२१ मा आर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेस्सीप्रतिको मानिसहरूको धारणा परिवर्तन हुन थाल्यो। उक्त जितले ठूलो अन्तर्राष्ट्रिय उपाधिको २८ वर्षदेखिको प्रतीक्षा समाप्त गरिदिएको थियो।

उक्त परिवर्तन सन् २०२२ को विश्वकपमा अझ सघन बन्यो, जहाँ मेस्सीको प्रदर्शनले आर्जेन्टिनालाई तेस्रो विश्व उपाधि दिलायो।

त्यस प्रतियोगितामा मेस्सीले आफ्नो व्यक्तित्वको अझ भावुक र आक्रामक पक्ष पनि झल्काए। उनले यस्तो नेतृत्वकौशल देखाए जो धेरै समर्थकहरूले पहिले केवल म्याराडोनासँग मात्रै भएको ठान्थे।

“उनले आफ्नो व्यक्तित्वका नयाँ पक्षहरू देखाए। मानिसहरूले उनलाई टोलीका सेनापतिका रूपमा हेर्न थाले,” बलगे भन्छन्।

ती क्षणहरूले धेरै आर्जेन्टिनीका लागि मेस्सी र उनका पूर्ववर्ती म्याराडोनाबीचको भावनात्मक दूरी कम गरिदिए। यद्यपि यो बहस अझै पूर्ण रूपमा भने नटुङ्गिएको बलगे ठान्छन्।

“आज मेस्सीले फुटबलरका रूपमा म्याराडोनालाई उछिनेका छन्। तर आर्जेन्टिनामा सधैँ त्यस्ता मानिसहरू रहिरहनेछन् जो म्याराडोनाले उनीहरूको राम्रो प्रतिनिधित्व गर्छन् भन्ने भावना छ,” उनी भन्छन्।

पेलेको पक्षमा तर्क

हात मिलाइरहेका डिएगो म्याराडोना (बायाँ) र पेले (दायाँ)

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ब्रजिलका पेले र आर्जेन्टिनाका डिएगो म्याराडोनालाई फुटबल इतिहासकै महानतम खेलाडीहरूमध्ये मानिन्छ

मेस्सीले म्याराडोनालाई मात्र नभई ब्रजिलका महान्‌ खेलाडी पेलेलाई पनि उछिनेका केही विश्लेषकहरूको तर्क छ। सन् २०२२ मा दिवङ्गत भएका उनलाई प्रायः “फुटबलका राजा” भनेर चिनिन्छ।

पेले तीनवटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन्। उनले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सघाएका थिए।

सन् २०१८ मा ब्रजिलको पत्रिका ‘फोल्या डे एस. पाउलो’सँगको अन्तर्वार्तामा पेलेले म्याराडोना मेस्सीभन्दा “धेरै राम्रा खेलाडी” भएको तर्क गरेका थिए। त्यसमा उनले मेस्सी आफ्नो बायाँ खुट्टामा अधिक निर्भर रहेका र अन्य केही महान् फुटबल खेलाडीहरूको जस्तो पूर्ण खेल क्षमता नभएको बताएका छन्।

“[फ्रान्ज] बेकनबावर र [योहान] क्रोएफ पनि राम्रा छन्,” पेलेले सन् १९७० को दशकमा शिखरमा रहेका जर्मनी र डच खेलाडीको नाम लिँदै भनेका थिए।

ब्रजिलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोस्टओको विचार भने फरक थियो। सन् २०२१ मा उनले मेस्सीले म्याराडोनालाई पछि पारेका तर अझै पनि महान् ब्रजिलिअन खेलाडीभन्दा तलै रहेका तर्क गरेका थिए।

“पेलेपछि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन्,” उनले भनेका छन्, “उनी म्याराडोनाभन्दा अधिक पूर्ण छन् र उनको करिअर पनि लामो रह्यो। पेले र मेस्सीको शारीरिक क्षमतामा फरक छ। पेले बलिया थिए र अझ उत्कृष्ट एथ्लिट थिए।”

पेले स्वयंले भने आफ्नो खेलकौशलको मेस्सीसँग तुलना गर्न नमिल्ने तर्क गरेका थिए।

“राम्रोसँग हेड गर्ने र दायाँबायाँ दुवै खुट्टाले राम्रो प्रहार गर्ने खेलाडी र केवल एउटा खुट्टाले मात्र प्रहार गर्ने, एउटा दक्षता भएको र राम्रोसँग हेड गर्न नसक्ने खेलाडीबीच कसरी तुलना गर्न सकिन्छ?,” उनले उक्त पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्।

“पेलेसँग दाँजिन खेलाडीले बायाँ खुट्टाले राम्रो खेल्नुपर्छ, दायाँ खुट्टाले पनि राम्रो प्रहार गर्नुपर्छ र हेडमार्फत् गोल गर्न सक्नुपर्छ।”

आँकडाभन्दा पर

तीन खेलाडीका तथ्याङ्कहरूको तुलना

उक्त विमतिले एउटा ठूलो समस्या उजागर गर्छ। आँकडाहरूले नै महानता निर्धारण गर्ने भए यो बहस उहिल्यै टुङ्गिसकेको हुन्थ्यो।

विभिन्न श्रेणीमा मेस्सीका व्यक्तिगत र समूहगत उपलब्धिहरू अतुलनीय छन्।

तथापि फुटबलका महानतम खेलाडीबीचको तुलनाबारे किन बहस भइरहन्छ भन्ने कुरालाई सङख्याहरूले मात्रै अर्थ्याउन सक्दैनन्।

यो बहस एउटा साधारण तथ्यका कारण जटिल बनेको छ, त्यो के भने पेले, म्याराडोना र मेस्सीले निकै फरक समयमा खेले।

पेलेले सन् १९५८ मा पहिलोपटक विश्वकप जित्दा फुटबलमा आधुनिक खेलविज्ञान, विश्वव्यापी टेलिभिजन प्रसारण र उन्नत प्रविधि थिएन।

म्याराडोनाको समय अर्थात् सन् १९८० को दशकसम्म आइपुग्दा फुटबल विश्वव्यापी आकर्षणको खेल बनिसकेको थियो तर अर्बौँ डलरको उद्योग बन्नबाट निकै पर थियो।

मेस्सीले आफ्नो लगभग सम्पूर्ण करिअर यस्तो माहोलमा बिताएका छन्, जसमा प्रदर्शनको विश्लेषण, अत्याधुनिक चिकित्सा सुविधा र सञ्चारमाध्यमको निरन्तरको उपस्थितिले प्रमुख भूमिका खेल्छन्। हरेक खेललाई विश्वभरका प्रशिक्षक, विश्लेषक र प्रशंसकहरूले तत्क्षणमा विश्लेषण गर्छन्।

यसले गर्दा विभिन्न पुस्ताका खेलाडीहरूबीच तुलना गर्नु झन् कठिन हुँदै गएको छ।

मेस्सीलाई “प्रतिभाशाली” भन्न रुचाउने ब्रजिलका पूर्वस्ट्राइकर रोनाल्डो महानतम खेलाडीको पहिचान गर्ने कुरा छनौटको मापदण्डमा भर पर्ने धारणा राख्छन्।

“मापदण्डबिना कसरी तय गर्न सकिन्छ?” उनले भने।

पेले, म्याराडोना र मेस्सीको करिअर बिल्कुलै भिन्न संसारमा विकसित भयो।

पेलेले फुटबललाई विश्वव्यापी खेल बनाउन महत्त्वपूर्ण भूमिका खेले।

म्याराडोना आर्जेन्टिनी इतिहासको उथलपुथलपूर्ण समयमा खेलकुद, राजनीति र संस्कृतिका प्रतीक बने।

मेस्सीले विश्वव्यापीकरण, खेल विज्ञान र सञ्चारमाध्यमको निरन्तरको उपस्थितिद्वारा प्रभावित युगमा आफ्नो विरासत बनाए।

यी तीनै जनाले यस्तो खेलमा प्रतिस्पर्धा गरे, जुन गहिरो रूपमा परिवर्तन हुँदै गुज्रिएको छ। उनीहरूले पूर्ण रूपमा फरक परिस्थिति, खेलतालिका, चुनौती र अपेक्षाहरू सामना गरे।

अन्ततः तपाईँ के कुरालाई अधिक महत्त्व दिनुहुन्छ भन्ने कुरामा तपाईँको धारणा निर्भर हुन्छ : प्रतिभा, उपलब्धि, प्रभाव, दीर्घकालीन सफलता वा सांस्कृतिक प्रभाव।

अनि यही कारणले गर्दा यो बहस टुङ्गिने सम्भावना कम छ र फुटबलका महानतम खेलाडीबारेको चर्चा पुस्तौँसम्म निरन्तर चलिरहने छ।

जुलिया ग्रान्की

बीबीसीबाट ।

विश्वकपको तेस्रो स्थान इङ्ग्ल्यान्डलाई, फाइनलअघि ‘गोल्डन बुट’को प्रतिस्पर्धा रोचक मोडमा

न्यूयोर्क, १८ जुलाई ।
विश्वकप २०२६ मा फ्रान्सलाई जित्दै तेस्रो स्थान प्राप्त गरेको इङ्ग्ल्यान्डले सन् १९६६ यता पुरुष फुटबलमा पहिलो ठूलो उपाधि हात पारेको छ।

शनिवार राति अर्थात् नेपाली समयअनुसार आइतवार बिहान भएको खेलमा इङ्ल्यान्डका जूड वेलिङ्गमले ९८औँ मिनेटमा खेलको अन्तिम गोल गर्दै नतिजा ६-४ गराए।

जसक्रममा उनले विश्वकपमा आफ्नो सात गोल पुर्‍याएका थिए जुन कुनै एउटै विश्वकपमा इङ्ग्ल्यान्डका खेलाडीले बनाएको हालसम्मकै सर्वाधिक गोल हो।

सोही खेलमा २ गोल गरेका फ्रान्सका किलिअन एम्बाप्पेले विश्वकपका खेलहरू हालसम्मकै सर्वाधिक गोल सङ्ख्या २२ पुर्‍याएका छन्। उनलाई पछ्याउने क्रममा २१ गोलसाथ आर्जेन्टिनाका लिओनेल मेस्सी छन्।

‘गोल्डन बूट’को प्रतिस्पर्धाका लागि समेत एम्बाप्पेले यस विश्वकपका लागि कुल १० गोल पुर्‍याएर अहिलेसम्म ८ गोल जोडेका मेस्सीभन्दा आफूलाई अग्रपङ्तिमा राखेका छन्। यद्यपि मेस्सीको आर्जेन्टिनाले स्पेनसँग हुने फाइनल खेल्न बाँकी छ।

अघिल्लो विश्वकपको विजेता आर्जेन्टिन यसपालि पनि विश्वकपको फाइनलमा पुगेको छ। इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको लिओनेल मेस्सीको टोलीले अब फाइनलमा स्पेनसँग खेल्ने छ।

साठी वर्षपछि फेरि एक पटक विश्वकपको फाइनलमा पुग्ने इङ्ग्ल्यान्डको आशा भने पूरा हुन सकेन। पहिलो हाफमा कुनै गोल हुन नसकेको खेलमा दोस्रो हाफको आरम्भमै इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले ५५औँ मिनेटमा पहिलो गोल गरेका थिए।

तर खेलका अन्तिम क्षणहरूमा आर्जेन्टिनाले सशक्त प्रतिवाद गर्दै दुई गोल गरेको थियो। एन्जो फेर्नान्डेजले ८५औँ मिनेटमा अनि लाउतारो मार्तिनेजले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै आर्जेन्टिनालाई जिताए।

यसअघि जारी विश्वकपको पहिलो सेमिफाइनलमा स्पेनले सानदार प्रदर्शन गर्दै उपाधिको दाबेदार मानिएको फ्रान्सलाई २-० ले पराजित गरिदिएको थियो।

फाइनल खेल नेपाली समयानुसार अब आइतवार मध्यरातपछि हुने छ।

आर्जेन्टिनाले यसअघि तीन पटक विश्वकप उपाधि जितिसकेको छ। उसले सन् १९७८, सन् १९८६ र सन् २०२२ मा उपाधि जितेको थियो।

सन् २०१०मा पहिलो पटक विश्वकप जितेको स्पेनका निम्ति चाहिँ यो उपाधिको निम्ति दोस्रो प्रतिस्पर्धा हुने छ।

यसपालि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका हुन्।

बीबीसीबाट ।

अमेरिकाद्वारा इरानमाथि लगातार सातौँ रात हमला, दुवै पक्ष के भन्छन् ?

जुलाई १८
राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविराम सम्झौता सकिएको घोषणा गरेपछि अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात आक्रमणहरू गरेको जनाएको छ।

इरानका “निगरानी केन्द्रहरू, सैनिक बन्दोबस्तीका पूर्वाधार, भूमिगत अस्त्र भण्डारण केन्द्रहरू र नौसैनिक सामर्थ्यहरू”लाई निशाना बनाइएको अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जला एक्समा जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।

इरानको रेभलूशनरी गार्ड्स कोर आईआरजीसीले होर्मुज जलमार्ग पार गर्ने क्रममा दुई वटा तेल ट्याङ्करमा विस्फोट भएको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्डले चाहिँ उक्त दाबीलाई झूटो भन्दै खारेज गरेको छ।

रातिको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका इरानका १० वटा क्षेप्यास्त्रलाई निस्तेज पारिदिएको जोर्डनको सेनाले जनाएको छ। उसका अनुसार ती क्षेप्यास्त्र प्रहारबाट कुनै मानवीय अथवा भौतिक क्षति भएको छैन।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार घण्टौँसम्मको हमलापछि शुक्रवार राति २ः३० (बीएसटी) तिर आक्रमणहरू रोकिएका थिए।

“हमलामा अमेरिकी सेनाले लडाकु विमानहरू, ड्रोन र युद्धपोतहरू लगायतको प्रयोग गर्‍यो,” उसको विज्ञप्तिमा भनिएको छ।

जलमार्गमा आवतजावत ठप्प

होर्मुज जलमार्ग

तस्बिर स्रोत,Reuters

इरानी सरकारी समाचार एजेन्सी फार्सले “होर्मुज जलमार्गको दक्षिणमा धराप बिच्छाइएको मार्गबाट गुज्रिरहेका बेला दुई वटा तेल ट्याङ्करहरूमा विस्फोट भएर आगो लागेको” जनाएको छ।

“आईआरजीसीका धेरैजसो दाबीहरू जस्तै यो पनि गलत छ,” पछि अमेरिकी केन्द्रीय कमान्डले एक्समा पोस्ट गरेको थियो।

अमेरिकी र इरानी सेनाबीच जारी आक्रमण-प्रत्याक्रमणको शृङ्खलाबीच होर्मुज जलमार्ग भएर हुने पानीजहाजहरूको आवतजावत ठप्पप्रायः रहेको छ।

सामान्यतया विश्वको कुल तेल र एलपीजी आपूर्तिको करिब पाँचौँ हिस्सा उक्त महत्त्वपूर्ण जलमार्ग पार भएर जाने गर्छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार केश्म टापुको मध्य शहर यज्द र जलमार्गनजिकैको बन्दर अब्बास बन्दरगाहमा विस्फोटको आवाज सुनिएको छ।

शुक्रवार इरानी सेनाले खाडी क्षेत्रमा रहेका धेरै अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ।

खास गरी कुवेत, बाहरेन र जोर्डनमा अनि पहिलो पटक सिरियामा पनि आक्रमण गरिएको तेहरानले जनाएको छ। यद्यपि अमेरिकाले ती दाबीहरूलाई खारेज गरेको छ।

यसअघि कुवेतका अधिकारीहरूले इरानी ड्रोन हमलामा परी आफ्ना धेरै सैनिकहरू घाइते भएको तथा एउटा विद्युत्‌ केन्द्र र पानी प्रशोधन केन्द्रमा क्षति पुगेको बताएका थिए।

अमेरिकी सैनिकहरू घाइते

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई प्राप्त जानकारीअनुसार गत साता जोर्डनस्थित दुई वटा सैन्य अखडाहरूमा भएको इरानी आक्रमणमा परी अमेरिकी सेनाका धेरै जवानहरू घाइते भएका छन्।

अमेरिकी सेनाले इरानका पुल, रेल्वे स्टेशन र विमानस्थलजस्ता गैरसैनिक संरचनामा आक्रमण गरेको भन्ने तेहरानको दाबीलाई वाशिङ्टनले अस्वीकार गरेको छ।

प्रभावित क्षेत्र होर्मोजगन प्रान्तका अधिकारीहरूले अमेरिकी आक्रमणमा परी सात जनाको ज्यान गएको बताएका छन्।

बीबीसी भेरिफाई र बीबीसी पर्सिअनले गारिभेह पुलमा भएको क्षति देखिने फूटेजको पुष्टि गरेका छन्। रात्रिकालीन भिडिओ फूटेजमा पुलमा आगोको मुस्लो देखिएको थियो।

दिउँसोका तस्बिरहरूमा सडकको एउटा खण्ड भाँचिएको र क्षतिग्रस्त पुलको वरिपरि भग्नावशेष छरिएको देखिएको थियो।

ह्वाइट हाउसका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार अमेरिकाले “सैनिक बन्दोबस्तीका पूर्वाधारलगायत संरचनाहरूमा मात्रै प्रहार गरेको छ।”

शान्तिवार्ता विफल भएयता अमेरिकाले इरानमाथि लगातार रात्रिकालीन आक्रमणहरू गरिरहेको शुक्रवार एक साता पुगेको छ।

होर्मुज जलमार्गको भविष्य सम्बन्धमा देखिएको जारी तनावले स्थायी युद्धविराम सुनिश्चित गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताइन्छ।

बीबीसीबाट ।

बिपी राजमार्ग र कान्ति लोकपथ बाढीपहिरोले बन्द

काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।

रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।

यसैगरी ललितपुरको भट्टेडाँडा आसपास खसेको पहिरोले कान्तिलोकपथ पनि बन्द भएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।

नारायणगढ-मुग्लिन र मुग्लिन-काठमाडौं सडकखण्डमा यो समाचार तयार पार्दासम्म कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

 

एमबाप्पे बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए ।

जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।

 

जिप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

बैतडी, २ साउन । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।

सञ्चार प्रविधिको दुरुपयोगमा पत्रकार कति दोषी ?

विचार : धर्मेन्द्र झा – समयसँगै भित्रिएको प्रविधिगत विकासले निम्त्याएको/निम्तिएको चुनौतीलाई पन्छाएर अगाडि बढ्न सकिने वर्तमानको अवस्था छैन। प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चारप्रविधि क्षेत्रको चुनौती। प्रविधिगत विकासका आयामलाई प्रत्येक अवस्थामा चुनौती मानिनु हुँदैन, होइन पनि। तर कुनै पनि व्यक्ति वा समूहले आफ्ना निहित स्वार्थलाई सर्वोपरि मानेर अरूलाई नकारात्मक असर पर्ने गरी प्रयोग गर्ने मनसाय राख्छ वा प्रयोग गर्छ भने त्यसले निश्चित रूपमा चुनौती निम्त्याउँछ। यस अवस्थाबाट अर्थात् यस्तो चुनौतीबाट वर्तमान प्रभावित छैन वा हुँदैन भनेर भन्न सकिने अवस्था छैन।

पछिल्ला केही समयमा, खासगरी मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरमा रोजेको आत्मदाहको बाटो, त्यसपछिको उनको मृत्यु र नेपालीको मृत्युपछि उत्पन्न अप्रिय अवस्थाका सन्दर्भमा भइरहेको मिडियाको उपयोग (दुरुपयोग ?) लाई उदाहरणका रूपमा लिन सकिन्छ। प्रविधिको सदुपयोगले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउँछ भन्ने अपेक्षा र विश्वास गरिन्छ, तर यो कुरा निश्चय पनि यसको प्रयोगको विधि र नियतमा भर पर्छ। खासमा सञ्चारमाध्यमले आमसर्वसाधारणलाई सत्य–तथ्य पस्किन्छन् भन्ने मान्यता राखिन्छ तर जब यही मिडियाले पस्केका विषयवस्तु (कन्टेन्ट)ले भ्रम सिर्जना गर्छ र आमव्यक्तिलाई सही सूचना प्राप्त गर्नबाट वञ्चित गर्छ भने मिडियाकर्मका बारेमा गम्भीरतापूर्वक सोच्नु जरूरी हुन्छ।

गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यम जसरी विभाजित भएर पक्ष र विपक्षमा बाँडिएका छन् उदेकलाग्दो छ। एकथरी जसरी पनि सरकारलाई जिम्मेवार बनाउन चाहन्छन्, मानौं सरकारलाई गलाउने तिनले एक उपयुक्त अस्त्र प्राप्त गरेका छन्। यो पक्षले पुराना सामग्रीलाई पनि नयाँ जस्तै बनाएर पस्किने प्रयत्न गरेका छन् भने अर्को पक्ष जसरी भए पनि सरकारको बचाउ गर्नुपर्छ भन्ने मनस्थितिमा छ। यो पक्षले सरकारको बचाउ गर्दै एक किसिमले गणेशको मृत्युलाई नै स्वाभाविक प्रमाणित गर्ने प्रयत्न गरेर हदैसम्मको घृणित कार्य गर्न खोजेको देखिन्छ।

स्वीकार गर्नैपर्छ, यो वाक्युद्धमा परम्परागत मिडियाभन्दा पनि न्यूमिडिया अर्थात् डिजिटल प्लेटफर्महरू ‘उपयोग’ भइरहेका छन्। अवस्था कस्तो उत्पन्न भएको छ भने सरकार समर्थितले सम्पादकीय प्रक्रियामा विश्वास गरेर पत्रकारिता गर्ने परम्परावादी मिडिया (अपवाद यहाँ पनि छन्)लाई अस्वीकार गर्ने र असान्दर्भिक मान्ने प्रयत्न गरिरहेका छन् अनि सम्पादकीय प्रक्रियामा खासै सक्रियता नदेखाउने नागरिक पत्रकारिताकेन्द्रित डिजिटल मिडियालाई नै सबैथोक मान्ने प्रयास गरिरहेका छन्। हुन पनि गत फागुनमा सम्पन्न निर्वाचनमा पछिल्लो प्रकारकै मनस्थिति भएकाहरूको प्रभावकारिता बढी भएको मूल्यांकन गरिएको थियो।

निर्वाचनलाई लोकतन्त्र थप मजबुत बनाउने, सामाजिक सद्भाव र वैचारिक सहअस्तित्वलाई गहिरो बनाउने अवसर मानिन्छ। गएको निर्वाचनका सन्दर्भमा सूचनाप्रविधिको विकास एक बलियो चुनौतीका रूपमा उपस्थित भएको स्वीकार गरिएको थियो। निर्वाचनमा परम्परागत प्रचार–प्रसारसँगै डिजिटल प्लेटफर्म र अनलाइन स्पेसको प्रयोग अत्यधिक बढेको थियो। यही बढ्दो डिजिटल प्रयोगसँगै केही गम्भीर चुनौती पनि सतहमा देखिएका थिए। गणेश नेपाली प्रकरणमा पनि त्यस्तै प्रवृत्ति देखिएको छ भनियो भने असंगत हुने छैन।

आम व्यक्तिलाई सही सूचना सम्प्रेषण गर्ने भन्दा पनि निहित स्वार्थका लागि मिडियाको ‘प्रयोग’ गरेर आम व्यक्तिलाई भ्रमित बनाउने प्रयत्न हुँदैछ। यस कार्यमा सूचनाप्रविधिको प्रयोग गरिंदैछ र डिजिटल स्पेसलाई माध्यम बनाइँदैछ। फेक खबर, डीप फेक भिडियो, घृणा फैलाउने सामग्री अहिले कुनै पनि व्यक्तिको मोबाइलमै आइपुग्न सक्छन्।

विचारणीय छ, विगतको निर्वाचन वा अहिलेको गणेश नेपाली आत्मदाहपछिको मृत्यु प्रकरण त उदाहरण मात्र हुन्, तर खासमा वर्तमानको कुनै पनि सन्दर्भमा आफ्नो मोबाइलसम्म अनपेक्षित, अनिच्छित र अवाञ्छित रूपमा आइपुगेका सूचनालाई पुष्टि गरेर मात्र प्रयोग गर्ने वा नगर्ने अतिरिक्त मानसिक दबाबमा छन् आम व्यक्ति। निश्चय पनि अप्रमाणित कुराको आधारमा धारणा बनाउनु उचित हुँदैन।

इन्टरनेटमा आधारित माध्यमको प्रयोग गरेर स्वार्थ समूहले फैलाएको ‘प्रोपोगण्डा’को उपस्थितिमा आम व्यक्ति दिग्भ्रमित हुनसक्ने अवस्थामा छन् र उनीहरू उचित निर्णय लिने क्रममा अत्यन्तै सकसपूर्ण अवस्थाको सामना गर्न बाध्य छन्।

प्रविधिको प्रयोग नराम्रो होइन तर दुरुपयोग भने नराम्रो हो। यो आलेख तयार गर्ने सन्दर्भमा पनि एआई (कृत्रिम बौद्धिकता)लगायत सूचनाप्रविधि सम्बद्ध संयन्त्रहरूको सहयोग लिने प्रयत्न गरिएको छ। केही प्रश्न सोधेर उत्तर खोज्ने र सही विश्लेषण्को प्रयत्न भएको छ। उद्देश्य आम व्यक्तिको हितरक्षा हो। यसलाई नकारात्मक मान्न नसकिएला, तर यही संयन्त्रलाई प्रयोग गरेर कसैले गलत सूचनामा आधारित विश्लेषण प्रस्तुत गरेर सूचनाग्राहीलाई आफ्नो स्वार्थअनुकूल प्रभावित गर्ने उद्देश्य राख्दछ भने निश्चय पनि त्यो गलत हो।

पछिल्ला वर्षहरूमा कुनै पनि विषय र सन्दर्भलाई प्रभावित गर्न सक्ने गरी डिजिटल स्पेसमा मिथ्या सूचना, दुराशययुक्त सूचना र अफवाहहरूको बाढीको अवस्था रहेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन। कतिपय अवस्थामा झुटा भिडियो, फोटो सम्पादन, एआई मार्फत बनाइएका नक्कली आवाज, भ्रामक तथ्याङ्क आदिको प्रयोग गरी आम व्यक्तिलाई भ्रमित पार्ने प्रयास भइरहेको देखिन्छ। यसले आम व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ, उनीहरूलाई अन्योलमा पार्छ र गलत निर्णय लिन प्रेरित गर्न सक्छ।

गएको निर्वाचनमा ‘एल्गोरिदम’को निकै बढी प्रयोग भएको विश्लेषण गरिएको छ। भन्नेले त निर्वाचनका सन्दर्भमा योजनाबद्ध ढंगले नै एल्गोरिदमको प्रयोग भएको थियो पनि भन्छन्, तर प्रमाणित त कसरी गर्न सकिएला खै ? खासमा एल्गोरिदमद्वारा सिर्जित हुने ‘इको चेम्बर’ डिजिटल प्लेटफर्मको महत्वपूर्ण चुनौती हो। सामाजिक सञ्जालले प्रयोगकर्तालाई उनीहरूले रुचाएका वा पहिले हेरेका वा प्रयोग गरेका जस्तै सामग्री बारम्बार देखाउँछ। यसले व्यक्ति एउटै विचारधारामा सीमित हुने र फरक दृष्टिकोण सुन्न नचाहने अवस्था सिर्जना गर्छ। यस अवस्थामा स्वस्थ बहस र सहिष्णु संवादको संस्कृति कमजोर हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन।

वर्तमानमा, डिजिटल स्पेस असुरक्षित बन्दै गएको आकलन गरिएको छ। जानकारहरूका अनुसार व्यक्तिगत डाटा चोरी, गोपनीयता उल्लङ्घन, ट्रोलिङ, साइबर दुर्व्यवहार र घृणात्मक अभिव्यक्ति जस्ता समस्या पछिल्ला समयमा बढेका छन्। यस्तो वातावरणमा आम व्यक्तिले मानसिक दबाब महसुस गर्न सक्छन्। लगातार नकारात्मक सन्देश, उत्तेजक सामग्री र भय पैदा गर्ने सूचनाले तनाव र असुरक्षा बढाउनु स्वाभाविक हो। अहिलेको गणेश नेपालीको मृत्युका सन्दर्भमा पनि यो प्रवृत्ति हाबी हुन खोजेको छ भन्नु असङ्गत हुँदैन। एआई प्रविधि स्वयंमा सकारात्मक सम्भावना बोकेको साधन हो, तर हाल एआईको नकारात्मक प्रयोग बढी हुन थालेको आशङ्का छ। उदाहरणका लागि, एआई मार्फत नक्कली भिडियो वा अडियो बनाएर व्यक्तिको छवि बिगार्ने प्रयास, गलत उद्धरण फैलाउने वा सामाजिक विभाजन बढाउने सामग्री उत्पादन गर्ने जस्ता गतिविधि हुनसक्छन्। निश्चय पनि यसबाट आम व्यक्तिको सही सूचना प्राप्त गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित हुने अवस्थाको सिर्जना हुन्छ।

लोकतन्त्रको आत्मा भनेको स्वतन्त्र, सूचित र विवेकी नागरिक हुन्। व्यक्ति भ्रमित भए, मानसिक दबाबमा परे वा गलत सूचनाबाट प्रभावित भए भने समाजको दिशा नै बदलिन सक्छ र अवाञ्छितहरूले स्वार्थसिद्ध गर्न सक्ने सम्भावना बढ्छ। त्यसैले डिजिटल स्पेसमा फैलिने मिथ्या तथा दुराशययुक्त सूचनालाई नियन्त्रण गर्नु आवश्यक छ। यसका लागि राज्य, राजनीतिक दल, सञ्चारमाध्यम, प्रविधि कम्पनी र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ।

पत्रकारितामा पछिल्ला वर्षमा देखिएका फरकपनाबारे बुटवललाई कार्यक्षेत्र मानेर पत्रकारिता गरिरहेका अग्रज पत्रकार डीआर घिमिरे भन्छन्- सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत ‘भाइरल’ सामग्री बनाउन सके केही मात्रामा भए पनि आम्दानी गर्न सकिन्छ भन्ने धारणा व्यापक छ। केहीले यसबाट आर्थिक लाभ पनि हासिल गरेका छन्, तर भाइरल हुने प्रतिस्पर्धामा पत्रकारिताका आधारभूत सिद्धान्त, तथ्य परीक्षण, सन्तुलन र सम्पादकीय उत्तरदायित्वलाई उपेक्षा गर्ने प्रवृत्ति भने बढ्दै गएको पाइन्छ।

घिमिरेका अनुसार पत्रकारितामा ‘भाइरल’ हुनुलाई प्रभावको वास्तविक मापन मान्न सकिंदैन। सबैभन्दा धेरै हेरिने वा पढिने सामग्री नै सबैभन्दा उपयोगी, सत्य वा सामाजिक रूपमा जिम्मेवार हुन्छ भन्न सकिंदैन।प्रायः रिस, डर, आक्रोश, आश्चर्य, करुणा वा घृणा उत्पन्न गर्ने सामग्री नै तीव्र रूपमा भाइरल हुने गर्छन्। दुर्घटनाका भिडियो, राजनीतिक आरोप–प्रत्यारोप, रोदन वा भावुक दृश्य तथा धार्मिक तनाव जस्ता सामग्री धेरै हरिने र शेयर गरिने प्रवृत्ति छ।

निश्चय पनि आजको पत्रकारिता तीव्र सङ्क्रमणको चरणमा छ भनियो भने असंगत ठहर्दैन। एक समय थियो जब सम्पादक, समाचार कक्ष र संस्थागत मिडियाले सार्वजनिक सूचना प्रवाहको नियन्त्रण गर्थे। त्यतिबेला तथ्य परीक्षण, सम्पादकीय उत्तरदायित्व र नैतिक मापदण्ड पत्रकारिताको आधार मानिन्थ्यो, तर डिजिटल प्रविधि, स्मार्टफोन र सामाजिक सञ्जाल मार्फत गरिने पत्रकारिताका सन्दर्भमा त सूचना उत्पादनको संरचना नै बदलिएको छ भन्दा फरक पर्दैन। आज कुनै ठूलो मिडिया संस्था नभए पनि एक जना व्यक्तिले मोबाइल र इन्टरनेटको भरमा लाखौं मानिसमाथि प्रभाव जमाउन सक्छ। यस अर्थमा व्यक्ति स्वयम् ‘मिडिया’ बन्न पुगेको छ।

आजको सन्दर्भमा एउटा बहसमा भने मिडियाकर्मीहरू सहभागी हुनैपर्ने भएको छ, त्यो के भने एउटा पत्रकारको परिचय बनाएकाको सामाजिक सञ्जालमा हुने उपस्थितिलाई कसरी मूल्यांकन गर्ने ? उनी पत्रकार हुन् कि आम व्यक्ति, कि दुवै ? एउटा कुरा त स्वीकार्नैपर्छ, अहिले सामाजिक सञ्जाल मार्फत सतहमा देखिएको वाक्युद्धमा यस्तै दोहोरो परिचयका आधारमा उन्मुक्ति खोज्नेहरूकै उपस्थिति बढी छ।

पत्रकारले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल (फेसबुक, एक्स) जस्ता एकाउन्ट प्रयोग गर्दा पत्रकारिताको मर्यादा कायम राख्नुपर्छ कि पर्दैन ? पत्रकारले सेयर गर्ने स्टाटस वा विचारले उसको मिडियाको तटस्थतामा प्रश्न उठ्छ कि उठ्दैन ? केही यस्ता प्रश्न छन् जसको उत्तरको उपस्थितिमा मात्र व्यावसायिक र नागरिक पत्रकार बीचको भेदबारे कुनै स्पष्ट धारणा बनाउन सकिन्छ र अहिलेको वास्तविक दोषी को हो भन्ने किटान गर्न सकिन्छ।

संवाद अझै जारी छ, विश्वासको मत लिएर अघि बढ्छु : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता गठबन्धनका विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताएका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) का चार मन्त्रीलाई हटाएपछि एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परिसकेका छन्।

एकातर्फ अल्पमतको सरकार, अर्कोतर्फ बजेट असफल भएपछि मुख्यमन्त्री शाह अहिले नैतिक संकटमा परेका छन्। बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उनलाई राजीनामा दिन सुझाव दिइसकेको छ।

अब मुख्यमन्त्री शाहले के गर्छन् त? आफूले संवैधानिक रूपमा पाएको अवधिभित्रै विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतहरू बताउँछन्।

अन्य दलहरूसँग पनि छलफल जारी रहेकाले अहिले मुख्यमन्त्री राजीनामा दिने पक्षमा नरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो ।
सुदूरपश्चिममा कांग्रेस दोस्रो ठूलो दल हो। १८ जना सांसद रहेको कांग्रेसले ११ जना सांसद रहेको एमालेसँग सहकार्य गरेर सरकार चलाइरहेको थियो। अहिले सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिएपछि २२ सांसद रहेको सबैभन्दा ठूलो दल नेकपाले पनि सरकारको नेतृत्वबारे छलफल गर्ने निर्णय गरिसकेको छ।

अब सुदूरपश्चिममा कांग्रेस–नेकपा वा एमाले–नेकपाको गठबन्धन हुने सम्भावना अधिक छ। तर, सत्ता गठबन्धन पूर्ण रूपमा नटुटेको अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिन पनि दुवै दलका केही नेताहरू लागिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएपछि यस विषयमा टुंगो लाग्ने बताइएको छ।

‘एमालेले समर्थन फिर्ता लिएपछि पनि मलाई एक महिनाको अवधि संविधानले दिएको छ। म त्योअनुसार संवाद र छलफलमा छु, ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा पनि विभिन्न विषयमा छलफल भइरहेको छ। ती सबै कुराको टुंगो चाँडै लाग्नेछ। मलाई विश्वास छ, मैले सबैको विश्वास पाउने छु। ’

असार १ गते सरकारले ल्याएको बजेट हिजोसम्म पारित हुन नसकेपछि प्रदेशमा अहिले बजेट शून्यता सुरु भएको छ। कर उठाउन समस्या नभए पनि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको छ। यो अवस्था धेरै लम्बिन नदिन पनि मुख्यमन्त्री शाहले सबैसँग छलफल गरिरहेको बताएका छन्।

नेपालमा कम्युनिष्ट पार्टीहरूको घटदो साख

टीका पौडेल ।

नेपालको राजनीतिक यात्रामा कम्युनिस्ट आन्दोलनको इतिहास पनि निकै लामो, जटिल र उतारचढावपूर्ण रहेको छ। विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि सामाजिक न्याय, आर्थिक समानता, वर्गीय विभेदको अन्त्य र श्रमिक तथा किसानको अधिकारका पक्षमा विभिन्न आन्दोलनहरू सञ्चालन भए। विभिन्न कालखण्डमा कम्युनिस्ट आन्दोलनले जनताको उल्लेखनीय समर्थन पनि प्राप्त गर्‍यो। विशेष गरी २०४६ सालपछि बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै कम्युनिस्ट शक्तिहरू संसदीय राजनीतिमा प्रभावशाली रूपमा स्थापित भए भने सशस्त्र द्वन्द्वपछि माओवादी शक्ति पनि मूलधारको राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीतिमा कम्युनिस्टहरूको प्रभाव अझ व्यापक बन्यो। केही समयसम्म त नेपालको राजनीतिक शक्ति सन्तुलनमा कम्युनिस्ट दलहरू सबैभन्दा प्रभावशाली शक्तिका रूपमा देखिए।

तर कुनै पनि राजनीतिक शक्तिको सफलता केवल चुनावी परिणामबाट मात्र मापन हुँदैन। त्यसलाई दीर्घकालसम्म टिकाइराख्न वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, नेतृत्वको विश्वसनीयता र जनताप्रतिको उत्तरदायित्व आवश्यक हुन्छ। नेपालका कम्युनिस्ट दलहरूको सबैभन्दा ठूलो चुनौती यही पक्षमा देखिँदै आएको छ। एउटै विचारधाराबाट प्रेरित भनिएका दलहरू पटक–पटक विभाजित भए, पुनः एकीकृत भए र फेरि विभाजनतर्फ गए। यस्तो क्रमले केवल संगठनलाई मात्र कमजोर बनाएन, आम जनतामा पनि राजनीतिक अस्थिरताको भावना बढायो। एउटै उद्देश्यका लागि स्थापना भएका दलहरू नेतृत्व, शक्ति सन्तुलन र व्यक्तिगत मतभेदका कारण पटक–पटक टुक्रिँदा वैचारिकभन्दा पनि व्यक्तिकेन्द्रित राजनीति हावी भएको आलोचना हुँदै आएको छ।

नेपालका अधिकांश कम्युनिस्ट दलहरूको अर्को चुनौती नेतृत्व परिवर्तनको प्रक्रियासँग पनि जोडिएको देखिन्छ। लामो समयसम्म एउटै नेतृत्वमा पार्टी सञ्चालन हुँदा नयाँ पुस्तालाई अवसर सीमित हुने, आन्तरिक बहस कमजोर बन्ने र निर्णय प्रक्रिया केही व्यक्तिमा केन्द्रित हुने अवस्था सिर्जना हुन सक्छ। धेरै विश्लेषकहरूले यही कारणले कम्युनिस्ट दलहरूमा पुस्तान्तरण अपेक्षाकृत सुस्त भएको र त्यसले युवापुस्तामा आकर्षण घटाएको तर्क पनि प्रस्तुत गरेका छन्। यद्यपि यसबारे फरक–फरक दृष्टिकोण पनि छन्, किनकि केही कम्युनिस्ट दलहरूले पछिल्ला वर्षहरूमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रयास गरेका उदाहरणहरू पनि देखिन्छन्।

विश्व राजनीतिको परिवर्तनले पनि नेपालका कम्युनिस्ट दलहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गरेको छ। शीतयुद्धको अन्त्य, सोभियत संघको विघटन, पूर्वी युरोपका समाजवादी शासनहरूको परिवर्तन तथा चीन र भियतनामजस्ता देशहरूले अपनाएको बजारमुखी आर्थिक नीतिले परम्परागत कम्युनिस्ट विचारधाराको व्यावहारिक प्रयोगबारे नयाँ बहस सिर्जना गर्‍यो। आज विश्वका धेरै कम्युनिस्ट वा वामपन्थी दलहरूले पनि पूर्ण रूपमा पुरानो आर्थिक मोडेललाई अवलम्बन नगरी लोकतान्त्रिक अभ्यास, खुला बजार र सामाजिक सुरक्षाबीच सन्तुलन खोज्ने प्रयास गरिरहेका छन्। नेपालका कम्युनिस्ट दलहरू पनि यही अन्तर्राष्ट्रिय परिवेशबाट अलग छैनन्।

अर्को महत्वपूर्ण पक्ष नेतृत्वको जीवनशैली र जनअपेक्षाबीचको दूरी हो। कम्युनिस्ट विचारधाराले समानता, सादगी र श्रमिक वर्गको पक्षधरतालाई महत्व दिन्छ। तर समयसँगै केही नेताहरूको जीवनशैली, आर्थिक अवस्था वा राजनीतिक व्यवहारबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका छन्। आलोचकहरूले यसलाई सिद्धान्त र व्यवहारबीचको अन्तरका रूपमा व्याख्या गर्ने गरेका छन्। अर्कोतर्फ समर्थकहरूले भने लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी दलका नेताहरूलाई व्यक्तिगत आर्थिक सफलताका आधारमा मात्र मूल्याङ्कन गर्नु उचित नहुने तर्क पनि गर्छन्। यद्यपि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूप्रति जनताको अपेक्षा स्वाभाविक रूपमा उच्च हुने भएकाले पारदर्शिता, जवाफदेहिता र नैतिक आचरणप्रति उनीहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता भने सबै दलका लागि समान रूपमा लागू हुन्छ।

पछिल्ला केही निर्वाचनहरूको परिणाम हेर्दा पनि नेपाली मतदाता पहिलेको तुलनामा बढी परिवर्तनमुखी भएको देखिन्छ। कुनै समय बलियो जनाधार भएका दलहरूले पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको अवस्था देखिएको छ भने नयाँ दलहरूले उल्लेखनीय सफलता पाएका उदाहरणहरू पनि छन्। यसले नेपाली मतदाता स्थायी रूपमा कुनै एक दलको पक्षमा मात्र नउभिई समय, परिस्थिति, नेतृत्व, नीति र कार्यसम्पादनका आधारमा आफ्नो निर्णय परिवर्तन गर्न तयार रहेको संकेत गर्छ। लोकतन्त्रमा यही मतदाताको स्वतन्त्र निर्णय नै सबैभन्दा ठूलो शक्ति हो।

यसका साथै आजको युवा पुस्ताको राजनीतिक सोच पनि विगतको भन्दा फरक हुँदै गएको छ। उनीहरू वैचारिक नाराभन्दा पनि रोजगारी, सुशासन, गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण र अवसरको समान पहुँचलाई बढी महत्व दिन थालेका छन्। उनीहरूले राजनीतिक दललाई उसको ऐतिहासिक योगदानका आधारमा मात्र होइन, वर्तमान कार्यसम्पादन र भविष्यको स्पष्ट योजनाका आधारमा पनि मूल्याङ्कन गर्ने प्रवृत्ति देखाएका छन्। त्यसैले चाहे कम्युनिस्ट दल हुन्, लोकतान्त्रिक दल हुन् वा नयाँ राजनीतिक शक्ति, सबैले आफ्नो राजनीतिक एजेन्डालाई बदलिँदो सामाजिक र आर्थिक यथार्थसँग मेल खाने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ।

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। सामाजिक न्याय, श्रमिक अधिकार, भूमिसुधार, समावेशिता, संघीयता तथा विभिन्न राजनीतिक आन्दोलनमा वामपन्थी शक्तिहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहिआएको छ। तर इतिहासको योगदान मात्र भविष्यको सफलताको ग्यारेन्टी बन्न सक्दैन। लोकतन्त्रमा प्रत्येक चुनाव नयाँ परीक्षा हो, प्रत्येक पुस्ताको आफ्नै अपेक्षा हुन्छ र प्रत्येक राजनीतिक दलले आफ्नो सान्दर्भिकता निरन्तर प्रमाणित गर्नुपर्छ। यही कारणले नेपालको कम्युनिस्ट आन्दोलन पनि आगामी दिनमा आत्मसमीक्षा, संगठनात्मक सुधार, नेतृत्वको नवीकरण र बदलिँदो जनअपेक्षाअनुसार नीति परिमार्जन गर्न सफल भयो भने पुनः सशक्त बन्न सक्छ, अन्यथा प्रतिस्पर्धी लोकतान्त्रिक राजनीतिमा उसको प्रभाव क्रमशः कमजोर हुन सक्ने सम्भावनाबारे राजनीतिक विश्लेषकहरूबीच बहस जारी रहनेछ।

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरः चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए। त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ।

लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए। सबैको लक्षणका आधारमा उपचार गरिएको थियो। लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ। यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन्। गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर गर्दै रोगको निगरानी र समुदायस्तरको सचेतना अभियानलाई प्रभावकारी बनाइएको उनले बताए।

उनका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको छ। रोगका लक्षण, सङ्क्रमणबाट बच्ने उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्य अघि बढाइएको छ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कमा असर गर्ने गम्भीर भाइरल रोग हो। यो लामखुट्टे विशेषगरी धानखेत, पानी जम्ने स्थान, फोहरले भरिएका नाली, दलदले क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानको आसपास बढी पाइन्छ। सङ्क्रमित सुँगुर वा जलचर चराको रगत चुसिसकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्छ। “यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन”, निरीक्षक भट्टले भने।

भट्टका अनुसार अधिकांश सङ्क्रमितमा कुनै विशेष लक्षण नदेखिन पनि सक्छ। सङ्क्रमण गम्भीर बनेमा उच्च ज्वरो आउने, असह्य टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने, शरीरमा झट्का लाग्ने, बेहोस हुने, मानसिक अवस्था परिवर्तन हुने तथा मस्तिष्कमा सुन्निने समस्या देखिन सक्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको असर बढी गम्भीर हुने र समयमै उपचार नपाए स्थायी अपाङ्गता वा मृत्युको जोखिमसमेत रहने उनले बताए।

यस रोगको भाइरस नष्ट गर्ने विशेष औषधि हालसम्म उपलब्ध नभएकाले बिरामीको अवस्थाअनुसार ज्वरो नियन्त्रण, सास फेर्न सहयोग गर्ने तथा अन्य सहायक उपचार गरिने उनले बताए। स्नायु प्रणालीसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरे।

स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार कञ्चनपुरको कृषि प्रणाली र भौगोलिक अवस्था जापनिज इन्सेफ्लाइटिस सार्ने क्युलेक्स जातका लामखुट्टेका लागि अनुकूल छ। धानखेती, वर्षायाममा पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानका कारण मनसुनमा लामखुट्टेको सङ्ख्या बढ्ने र सङ्क्रमणको जोखिम पनि उच्च रहने उनले बताए।

स्वास्थ्यकर्मी धामीका अनुसार रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै झुल प्रयोग गर्ने, बिहान र साँझ पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । यस्तै, लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, पशुचौपाया राख्ने स्थान सफा राख्ने तथा सरकारले सञ्चालन गर्ने जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे।

सन् १९७१ मा जापानमा पहिलो पटक पहिचान गरिएकाले यस रोगको नाम जापनिज इन्सेफ्लाइटिस राखिएको हो। नेपालमा भने पहिलोपटक सन् १९७८ मा रूपन्देहीमा भारतबाट आएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो। हाल नेपालका २४ जिल्ला यस रोगबाट प्रभावित जिल्लाका रूपमा सूचीकृत छन् भने करिब ४० जिल्लामा विभिन्न समयमा छिटपुट सङ्क्रमणका घटना सार्वजनिक भएका छन्।

जलवायु परिवर्तन, मनसुन र लामखुट्टेको बढ्दो प्रजननका कारण कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको उल्लेख गर्दै औलो निरीक्षक भट्टले ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने वा स्नायु प्रणालीसँग सम्बन्धित असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभएको छ।

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार

बेइजिङ । अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको तथा करोडौँ अमेरिकी मतदाताको विवरण प्राप्त गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप  चीनले अस्वीकार गरेको छ ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बिहीबार सीएनएनलाई दिएको प्रतिक्रियामा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको बताएका छन् ।

‘अमेरिकी निर्वाचन अमेरिकाको आन्तरिक विषय हो। यसको परिणाम अमेरिकी जनताको मतबाट निर्धारण हुन्छ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कहिल्यै हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन’ प्रवक्ताले भने ।

यसअघि पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत पश्चिमी मुलुकहरूले लगाएका निर्वाचन हस्तक्षेप तथा राजनीतिक प्रभाव पार्ने आरोपहरू चीनले पटक–पटक अस्वीकार गर्दै आएको छ । यस विषयमा थप प्रतिक्रिया लिन सीएनएनले चीनको परराष्ट्र मन्त्रालयसँग पनि सम्पर्क गरेको जनाएको छ ।

आज अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री शाहको राजीनामा माग्ने

धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने  भएको छ।
अहिले संसदीय दलको कार्यालयमा नेकपा संसदीय दलको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री शाहको राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन्।

`सरकारले बहुमत गुमाइसकेको छ। अब  मुख्यमन्त्रीको राजीनामा माग्ने कुरा भएको छ,´बैठकमा सहभागी एक सांसदले भने। तर, औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए।
त्यस्तै, सरकार कामचलाउ भइसकेकाले ठूला निर्णय नगर्न आग्रह गर्ने तथा नेकपाले मुख्यमन्त्रीमा दाबी गर्दै अन्य दलसँग पनि छलफल गर्ने निर्णय हुने बताइएको छ।

बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सह-इञ्चार्ज दीर्घबहादुर  सोडारी र पार्टी अध्यक्ष हरि चौधरी पनि सहभागी छन्।
केन्द्रमा काँग्रेस–एमालेबीच संघीय गठबन्धनबारे अन्तिम निष्कर्ष ननिस्किएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल गरिरहेको छ।

सुदूरपश्चिममा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ।
यहाँ नेकपाका २२ सांसद (निलम्बित सदस्य र सभामुखसहित) छन्। सबैभन्दा ठूलो दल भएको दाबी गर्दै नेकपाले अहिले काँग्रेससँग बजेट मात्र पारित गरेर अघि बढ्न नसकिने बताइसकेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाशबहादुर देउवा अमेरिका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन

फिर्ता लिएको थियो, त्यसपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।

अहिले बजेट पारित हुने सम्भावना टर्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशको सहारा लिने चर्चा छ।
यही बेला बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सुदूरपश्चिममा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न, कैलालीमा शतप्रतिशत

धनगढी : देशभर सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ। कृषि विभागका अनुसार हालसम्म सुदूरपश्चिममा ८७ प्रतिशत धान रोपाइँ सकिएको छ, जुन अन्य सबै प्रदेशभन्दा उच्च हो।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार कैलाली जिल्लामा असार २५ गते नै शतप्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। उनका अनुसार अनुकूल वर्षा र समयमै खेतमा पानी उपलब्ध भएकाले यस वर्ष रोपाइँ समयमै सकिएको हो।

कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। पहाडी जिल्लाका केही उच्च भेगमा भने रोपाइँका काम अन्तिम चरणमा रहेका छन्।

देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि रहेको कृषि विभागले जनाएको छ। विभागका अनुसार प्रदेशमा समयमै वर्षा भएकाले रोपाइँले गति लिएको हो।

सम्बन्धित निकायका अनुसार मौसम अनुकूल रहे र बाढी–पहिरोजस्ता प्राकृतिक विपद् नआए बाँकी रहेका क्षेत्रमा पनि चाँडै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमा यस वर्ष प्रि-मनसुनमा परेको पानीका कारण छिटो रोपाई भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी बिष्टले बताएका छन्।

खोज्नुहोस