डा. विजयराज शर्मा : समाज जोड्ने ‘फेभिकल’
भनिन्छ, उमेर संख्या हो । ईच्छाशक्ति सबैथोक ।
उमेरले ७५ नाघेका डा. विजयराज शर्माको दैनिकी हेर्दा त्यस्तै लाग्छ । न सिकाईको क्रम रोकिएको छ । न सक्रियता ।
बाराको कलैया । बेलपाती माई मन्दिर । अघिल्तिर शर्माको परिवार । मिति २००६ साल कार्तिक २८ । उनी जन्मिएको ठेगाना र मिति । बुवा दामोदार प्रसाद उपाध्याय । आमा हेमकुमारी । बुवा वनपाले । आमा गृहणी । उपाध्याय दम्पत्तीका दुई सन्तान । जेठी दिदी । कान्छा उनी ।
वीरगञ्ज र कलैयाको बीचमा पर्सोनी । त्यही उनको मावली । नजिकै ठूली आमाको घर । बुवाआमा घर बाहिर । उनको बाल्यकाल मावलीमै बित्यो । त्यही बसेर पढे । हजुरआमालाई बडा आमा भन्थे । बडा आमा र माईजुका प्रिय उनी ।
मावलीबस्दा ठूली आमाको घर गईरहन्थे । भारतको पटनाबाट आउने आर्यब्रत अखवार पढ्थे । ठूलो बुवा ढुण्डीराज शर्मा डाक्टर बन्न प्रेरित गर्थे । सौम्य । अनुशासित । अध्ययनशील । ठूलो बुवाको संगतले यी गुण उनमा सरे । उनी बाल्यकालमा बरालिएनन् । आज्ञाकारी थिए । बद्मासी गरेनन् ।
आमाकी पाँच दिदी बहिनी । एक दाजु । ठूली दिदी तारादेवी शर्मा । राजनैतिक चेतपूर्ण । २००७ सालको आन्दोलनकी सहभागी । चलाईन्, बाल विवाहका विरुद्ध अभियान । मण्डपबाटै उठाईन्, १३ वर्षीया बालिका । र रोकिन्, ४५ वर्षीय पुरुषसंगको बिबाह । ठूली बालबालिकाका लागि स्कुल खोलिन् । त्यही स्कुलमा उनकी आमाले केही समय पढाईन् । ।
उनी स्कुल भर्ना भएपछि आमाले एबीसीडी सिकिन् । उनी सात कक्षामा उक्लिए । आमाले युएसएडको सहयोगमा हेटौडामा नर्सिङको पढाई शुरु गरिन् । त्यसपछि पट्ना गईन् । नर्सिङको थप पढाई गरिन् । २०२१ सालमा कलैयाको श्री ३ चन्द्र हाईस्कुलबाट एसएलसी प्रथम श्रेणीमा पास गरे । आमा वीरगञ्जको नारायणी अस्पतालमा जागीरे भईन् ।
उनी काठमाण्डौंमा त्रिचन्द्र कलेजमा आईएस्सीमा भर्ना भए । आमा सरुवा मिलाएर काठमाण्डौं पुगिन् । र, कान्ति बाल अस्पतालमा काम गर्न थालिन् ।
२०२३ सालमा प्रथम श्रेणीमा आईएस्सी पास भए । छात्रवृति पाएर मेकानिकल ईञ्जिनियरिङ पढ्न रुड्की पुगे । त्यो समय सिभिल ईञ्जिनियर बेरोजगार हुदै थिए । त्यसैले मेकानिकल ईञ्जिनियरिङ रोजे ।
१९७१ साल (२०२८) मा ईञ्जिनियरिङ पुरा गरेर काठमाण्डौं फर्किए । केही समय बेरोजगार भए । ईन्द्रमणी राजभण्डारीको नेको ईन्को वर्कशपमा साथी कृष्ण काम गर्थे । राजभण्डारीकै स्वामित्वमा नेपाल ईञ्जिनियरिङ एण्ड कन्सट्रक्सन कम्पनी सञ्चालन थियो । जसले निर्माणका क्षेत्रमा काम गथ्र्यो । कृष्ण मार्फत उनी त्यो कम्पनीमा जोडिए । पारिश्रमिक थियो, ४८० रुपैया ।
हवाई विभाग अन्तर्गत हवाई यातायात विकास आयोजनामा सञ्चालनमा थियो । आयोजनाले त्यो समय काठमाण्डौं, भैरहवा र बिराटनगरमा विमानस्थल निर्माण गरिरहेको थियो । कोरियन कम्पनी निर्माणमा संलग्न थियो । आयोजनासंगको सम्झौता अनुसार राजभण्डारीको कम्पनीले निर्माणका लागि हेभी ईक्युप्मेण्ट सप्लाई गर्थ्यो ।
निजी कम्पनीमा कति काम गर्ने ? उनले लोकसेवाको तयारी गरे । परीक्षा दिए । नतिजा कुरिरहेका थिए । सिंह दरवार जल्यो । संगै उत्तर पुस्तिका । नतिजा रोकियो । र रोकियो, उनको सरकारी जागीर खाने सपना ।
उनी रोकिएनन् । कारखाना निरीक्षकको परीक्षा दिए । अरुको नाम निस्कियो । उनको निस्किएन् । नियतिले उनलाई दोस्रो पटक रोक्यो । केही समय हवाई यातायातमा जागीर खाए ।
२०३२ सालमा बालाजुमा औद्योगिक क्षेत्र सेवा सञ्चालनमा आयो । कार्यकारी अध्यक्ष थिए, अजित नारायण सिंह थापा । उनले जागीरका लागि थापालाई भेटे । त्यसको केहीदिनपछि आठौं तहको वरिष्ठ ईञ्जिनियरका रुपमा उनी जागीरे भए ।
उनी नेपालको पश्चिम तराईका जिल्लाका ग्रामिण वस्तीमा औद्योगिक सर्वेक्षणका लागि खटिए । साथमा थिए, अर्थशास्त्री, जनकराज थापा, घरेलु उद्योग विभागका प्रतिनिधि । कञ्चनपुरको बेलौरी हुदै कैलालीको सत्तीसम्मका ग्रामिण वस्तीहरुको एक महिना लामो भ्रमण गरे । कही गोरु गाडा । कही पैदल यात्रा गरे ।
फर्केर काठमाण्डौंमा काममा व्यस्त भए । वीरगञ्जबाट आएका मलेरियाका अफिसर हरहर शर्माले बुवा सिकिस्त विरामी भएको खवर सुनाए । उनी कलैया पुगे । बुवा त विरामी भएकै रहेनछन् । उनलाई विहाका लागि झुक्याएर कलैया पु¥याइएको रहेछ ।
केहीदिन बुवासंगै बिताए । र, केटी हेर्न महोत्तरीको मनहरा गाउँ पुगे । प्रमिलाको परिवार उनलाई कुरिरहेका थियो । प्रमिला भारतको मुजफ्फरपुरमा मनोविज्ञानमा स्नातक गरिरहेकी थिईन् । हरहर शर्मा, जसले उनलाई झुक्याएर महोत्तरी पु¥याए, प्रमिलाका दाई थिए । परिवारले दुबै जनालाई भेट गराए । उनीहरुबीच वार्तालाप भयो । ईञ्जिनियर केटा । देख्नमा राम्रो । होचो कद । निलो सर्ट । प्रमिलाले बिलम्ब गरिनन् । ‘हुन्छ’ भनिन् ।
काठमाण्डौंबाट ल्याएको एकजोर लुगा । फोहोर भयो । बुवाको निलो सर्ट लगाए । र, केटी हेर्न गए । काठमाण्डौं फर्किनुअघि बुवालाई सर्ट दिए । प्रमिलाका आँखा भने निलो सर्ट लगाएको त्यो केटाको बाटो कुरीरहे । १९७३ मा उनीहरुको विहा भयो । र भयो, लामो पर्खाईको सुखद अन्त्य ।
विहापछि उनीहरु काठमाण्डौं बस्न थाले । तीन वर्षमा उनको नवौं तहमा बढुवा भयो । त्योसंगै नेपालगञ्ज औद्योगिक क्षेत्रको प्रमुख भए । नेपालगञ्जमा फलामका उपकरण बनाउने निजी कारखाना थिए । त्यहाँ सावुन र कटनका तौलियाका उद्योग पनि थिए ।
त्यसपछि बुटवल औद्योगिक क्षेत्रको प्रमुख भएर एक वर्ष काम गरे । त्यहीबेला एशियन ईन्स्टिच्यूट अफ टेक्नोलोजीमा मास्टर्स पढ्न थाईल्याण्ड गए । दुई वर्षमा मास्टर्सको पढाई सकेर १९८० काममा पुनः फर्किए । ।
यसैबीच उनको १० औं तहमा बढुवा भयो । दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाए । योजना र संभाव्यता अध्ययन विभाग उनको मातहतमा थियो । उनी उद्योग मन्त्रालयले बनाउने योजनाहरुको सल्लाहकारको भूमिकामा थिए । विश्व बैंक र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाहरुको समन्वय गर्थे । तिनै परियोजना मार्फत टोकियो, नेदरल्याण्ड्स, ढाका, अष्ट्रिया गए ।
२०४६ सालको आन्दोलनपछि बनेको सरकारमा सहाना प्रधान उद्योग मन्त्री थिईन् । प्रधानले बनाएको निर्यात नीति समितिमा उनी सदस्य भए ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा कागज उद्योग सञ्चालनमा थियो । उनी त्यसको कायममुकायम महाप्रबन्धक भए ।
त्यहीबेला उनलाई अमेरिका जाने अवसर प्राप्त भयो । उनका हातमा एकातिर अमेरिका ग्रिनकार्डको अवसर थियो । अर्कोतिर कामु महाप्रबन्धकको जिम्मेवारी ।
जेठान डा. शिव अर्यालमा थिए । तिनैले अप्लाई गरेको प्रमिलाको ईमिग्रेन्ट भीसाले उनलाई १९९१ जनवरीमा अमेरिका पु¥यायो।
कामु महाप्रबन्धक । सरकारलाई नीति बनाउन सल्लाह दिने हैसियत । चलेको प्राईभेट कन्सलटेन्सी । विदेश भ्रमणका तमाम अवसर । पद, प्रतिष्ठा, अवसर र लगानी सबै चटक्क छोडेर उनी डेनभर पुगे ।
अमेरिका पुगेपछि कहाँ बस्ने ? के गर्ने ? जेठान र साला थिए । माईती भएपछि त्यो चिन्तै भएन् । हातमा ग्रिनकार्ड । मनमा पीएचडीको हुटुहुटी । त्यसमाथि श्रीमतीको बलियो आड । प्रमिला भन्थिन्, तिमी पीएचडी पुरा गर । म काम गर्छु ।
नेपालमा जागीर दिन्थे । यता जागीरका लागि भौतारिए । थुप्रै ठाउँमा अप्लाई गरे । प्रमिलाले काम थालिन् । उनले १९९१ अगष्टमा युनिभर्सिटी अफ कोलोराडो बोल्डरमा अर्थशास्त्रमा पीएचडीको पढाई शुरु गरे । शुल्क तिर्न पैसा थिएन् । पहिलो वर्ष ऋण लिए । दोस्रो वर्ष युनिभर्सिटीमै काम पाए । ऋण लिनु परेन् । प्रमिला कमाउथिन् । उनी पढ्थे । १९९७ मा पीएचडी सके । उनले आफैसंग गरेको बाचा थियो, २००१ डिसेम्बरमा नेपाल फर्किने । २००१ डिसेम्बरमा नेपालको टिकट काटे । नेपालमा माओवादी युद्ध चर्किएको थियो । माओवादीले त्यही समय थुप्रै जिल्लामा आक्रमण गरे । त्यहीबेला दरवार हत्याकाण्ड भयो । आफन्तले सम्झाए, राजा सुरक्षित नहुने देशमा तिम्रो भविश्य के हुन्छ ?
नेपालका समाचारले आतंकित थिए । त्यसमाथि आफन्तको दवावमा परे । टिकट क्यान्सिल गरे । र, स्थायी रुपमा अमेरिका बस्ने निधो गरे । यो उनको जीवनको सबैभन्दा कठीन निर्णय थियो । जुन उनका लागि प्रियकर थिएन् । २००२ मा फेब्रुअरीमा आफूले नागरिकता लिए । चार महिनापछि आमालाई ग्रिनकार्ड दिलाए ।
आमाको धोको थियो, नेपालमै अन्तिम सास फेर्ने । बुवाको मृत्युपछि नेपालबाट ल्याएकी आमाको बसाई अबैध हुदा पनि उनले ग्रिनकार्ड दिलाएका थिएनन् । ग्रिनकार्ड लिएको त्यो दिन आमाको संकल्प र आफ्नो रहरको घाटी निमोठेको दिन थियो ।
पढाई नसकिदै युनिभर्सिटीमा फुल टाईम काम पाएका उनले त्यहाँ १६ वर्ष बिताए । स्नातक र मास्टर्सका विद्यार्थीलाई माईक्रो ईकोनोमिक्स पढाए । केही समय थप पढाउने ईच्छा थियो । ‘ब्याकपेन’बाट आजित भएपछि २०१७ मा अवकाश लिए ।
उनले पीएचडी गरेको हेर्ने पत्नीको रहर । त्यही रहरले डो¥याएर अमेरिका पुगे । पीएचडी सक्ने । १० वर्षमा नेपाल फर्किने अडान । सहमती जनाउदै प्रमिला भन्थिन्, मन नलागे स्वदेश फर्किउला । अमेरिका भासिएको ४२ वर्ष बिते । अमेरिकामा बसिरहन मन त थिएन् । नियति अर्कै थियो ।
नेपाल फर्किने योजनामा १९८३ मा गल्फुटारमा चार आना जग्गा लिए । घर बनाउने । ढुक्कले बस्ने । बुढेसकालका लागि साँचेको सपना। २०१२ मा नेपाल जादा थाह पाए, त्यो जग्गा अर्कैले बेचिदिएछ । मुद्दा लड्ने झञ्झटमा परेनन् । न जग्गा रह्यो । न सपना ।
अमेरिका आएपछि कतिपय मान्छे डिप्रेशनको शिकार हुन्छन् । नेपालमा के थिए ? को थिए ? उनको अनुभवले भन्छ, त्यहाँको पद र प्रतिष्ठाको धङधङी बोक्नेहरु अमेरिकामा दुःख पाउछन् । अमेरिकामा हरेक आप्रवासीको जीवन शुन्यबाट शुरु हुन्छ । जो शुन्यबाट शुरु गर्न मानसिक रुपमा तयार हुन सक्दैनन् । ती डिप्रेशनको शिकार हुन्छन् । उनमा त्यो धङधङी कहिल्यै भएन् ।
यद्यपि नेपाल सधै ‘मीस’ गरिरहे । कोलोराडो र नेपालका बीचमा धेरै समानता छन् । पहाड उस्तै । नदी उस्तै । तर उनलाई यहाँका नदी नालाले कहिले ‘कनेक्ट’ गर्न सकेनन् । कहिल्यै अपनत्व भएन । यो कलकल आवाजले कहिल्यै मन झंकृत भएन् । बरु गण्डकी, कर्णाली र कोशी सम्झिदा उनका आँखा रसाईरहन्छन् । ओहो नागरिकता लिएर अपनत्व महशुस हुन नसक्ने ? उनी घोत्लिन्छन् । सबैचीज नेपालमै छोडेर के पाए ? जीवनलाई सहज बनाईदिने सुबिधाबाट खुशी नमिल्दो रहेछ । यो उनको भोगाई हो ।
अवकाशपछि उनको दैनिकी फेरिएको छ । तर उनी फेरिएका छैनन् । विहान छ बजे उठ्छन् । देशदुनियाका खवर पढ्छन् । दिउँसो भ्याएसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । खाली समय पुस्तक पढ्छन् । राति १० बजे सुत्छन् ।
न जागीरे जीवनमा पदको लोभ गरे । ‘रिटायर्ड लाईफ’मा के को लोभ ? सामाजिक कार्यमा सक्रिय हुन उनलाई पद जरुरी लागेन् । रकी माउण्टेनको स्थापनामा योगदान पु¥याए । विधान बनाए । दर्ता प्रकृयामा संलग्न रहे । बोर्ड अफ डाईरेक्टर भए । नेतृत्वमा पुग्ने रहर पालेनन् ।
परिवार । समाज । सृजना । उनीसंगै छ । लेखनको हुटहुटीले ‘भास’ जन्मियो । लाग्छ, यो उनकै जीवनको उपन्यास हो । उनी नेतृत्व हत्याउने दौडमा सहभागी भएनन् । तर जिम्मेवारीबाट भागेनन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पुरस्कार समितिको सदस्यको भूमिका नमागेरै पाए । जसलाई ईमान्दारीपूर्वक निर्वाह गरिरहेका छन् ।
डाक्टर बन्ने दवावमा हुर्किए । आमाले उनमा देखेको डाक्टर बन्ने दिदी बिमलाले पुरा गरिन् । चीरफार र शल्यक्रिया अरुचि । डाक्टर बनेनन् ।
सुत्र भन्छ, एचटुओ बराबर पानी । समाज सुत्रले होईन् भावनाले चल्छ । संवेदना । संवेग । प्रेम । सहअस्तित्व । सम्मान । सहकार्य । समाजका लागि यी आवश्यक मन्त्र हुन् । उनी समाज बुझ्ने डाक्टर बने । शल्यक्रिया बिनै जसले गरिरहेको छ, समाजका रोगको निदान । जोडिरहेका छन्, समाजलाई फेभिकल झै ।
उनको जिन्दगी पनि अनौठो । पढे एउटा । बने अर्कै । उनी पढाईले मेकानिकल ईञ्जिनियर । अर्थशास्त्रमा विद्या वारिधी गरे । जीवन डो¥याए, सोसल ईञ्जिनियरिङमा ।
पढेर नसिकेका कुरा समाजले सिकाउछ । जुन कुरा कोर्समा हुदैनन्, ती समाजमा भेटिन्छन् । समाज ठूलो कि विश्वविद्यालय ? जसले समाज पढेन् । उसले केही पढेन । उत्तर काफि छ । गणितले भन्छ, दुईमा दुई थपे चार हुन्छ । माईनस र प्लस गणितमा खोज्नु । समाजको सुत्र बेग्लै छ । जोडेर होईन् छोडेर जाने कुरा महत्वपूर्ण हुन्छन् ।
उनी नेपाली समुदायका हरेक कार्यक्रममा पुग्छन् । बोलाउदा ठूलो पल्टिदैनन् । आसन र भाषणको भोक उनमा कहिल्यै भएन् । उनी सुन्छन्, धेरै । बोल्छन् कम । म नै जान्ने । म नै ठूलो । मैले जति कोही पढेकै छैन्, यस्तो भ्रममा बाँचेकाहरुले उनीबाट सिक्ने कुरा हुन् ।
शालिन । सौम्य । न लोभ । न घमण्ड । न चर्चाको भोक । न सम्मानको तिर्खा । न धनको लालसा । न आसनको आशक्ति । न भाषणको भागदौड । भ्याएसम्म सार्वजनिक कार्यक्रममा पुग्छन् । सुन्छन् बढि । बोल्छन् कम । जान्ने पल्टिदैनन् । फूर्ति लाउदैन् । मान्छेहरुको भीडमा अपवाद लाग्छन् । विवादभन्दा टाढा । राजनीतिभन्दा कोशौं दूर । समाजमा विवाद हुदा निरुपणका लागि उनी निर्णायक हुन्छन् । नेपाली घर र रकी माउण्टेनबीचको दूरी उनकै मध्यस्थतामा अन्त्य भयो । त्यही भएर नेपाली घरले उनलाई कम्युनिटी कोलाबरेशन कमिटी संयोजक बनायो ।
मान्छे सपना देख्छन् । योजना बनाउछन् । उनी परे अपवाद । जिन्दगीले जे दियो । त्यही स्वीकार गरे । सपना देखेनन् । जिन्दगीले जहाँ पु¥यायो । त्यसलाई स्वीकार गरे ।
न हृदयमा ईगो । न कसैप्रति बैरभाव । न ईर्ष्या । थाह नपाएको कुरामा संकोच छैन् थाह छैन भन्न संकोच । जानेको कुरामा घमण्ड । विश्वविद्यालयबाट प्राप्त भएको अर्थशास्त्रको पीएचडी उनका लागि भारी भएन् । कतिपय त्यही भारीमा थिचिन्छन् । त्यसैलाई सबैथोक ठान्छन् । समाजलाई ‘माईक्रो लेवल’ मा बुझेका उनले युनिभर्सिटीमा विद्यार्थीलाई पढाए, ‘माईक्रो ईकोनोमिक्स’ । सधै रहे अर्थशास्त्रको ‘अर्थ’ को मोहबाट दूर ।
विश्वविद्यालयका कोर्समा गणित पढे । तर जीवनलाई जोड घटाउ बनाएनन् । मुनाफा होईन्, सम्बन्ध बढाए । अल्झिएनन्, अल्फा बिटामा ।
रेष्टुरेण्ट र ग्याँस स्टेशनको संख्या, व्यवसायको फैलावटलाई सफलताको मानक मान्ने अमेरिकी समाजमा उनलाई त्यसको छु मतलव ।


