संयुक्त राष्ट्रसङ्घले वित्तीय सङ्कटको सामना गरिरहेको छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् । सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै उनले वित्तीय नियममा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको सामना गर्न आग्रह गर्नुभएको अल जजिराले जनाएको छ ।

गुटेरेसले आउँदो जुलाईसम्ममा राष्ट्रसङ्घको नगद भण्डारण समाप्त हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि आर्थिक सहयोग कटौती गर्न थालेपछि यो अपिल आएको हो । संयुक्त राष्ट्रसङ्घको मुख्य बजेटमा २२ प्रतिशत योगदान गर्दै आएको अमेरिकाले कटौती गर्न थालेको छ ।

गुटेरेसका अनुसार सन् २०२५ को अन्त्यमा सदस्य राष्ट्रहरूले एक अर्ब ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी छ । आर्थिक दबाब बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घले सन् २०२६ का लागि तीन अर्ब ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गएको वर्षभन्दा ७ प्रतिशत कम हो । -एजेन्सी 

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।

सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।

संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।

महावीर पुनको प्रचार: वाचा गर्दैन–सकेको गर्छु, भोट नदिने भए नदेऊ

काठ्माण्डौ- पूर्व मन्त्री महावीर पुनले चुनाव जित्नका लागि मात्रै आफू कुनै वाचा नगर्ने भन्दै म्याग्दीमा गाउँ गाउँ पुगेर भोट मागिरहेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलको समर्थन पनि छ।

अहिले उनी म्याग्दीका गाउँ गाउँ पुगेर भोट मागेका भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन्। जसमा उनी आफ्नै चिरपरिचित शैलीमै उत्रिएर भोट मागिरहेका छन्। जसमा आफू चुनाव जित्न कुनै वाचा नगर्ने पनि भनिरहेका छन्।

‘म केही वाचा गर्दैन है, तपाईँहरूलाई मन पर्दैन भने भोट नदेऊ। म केही वाचा गर्दैन–तर सकेको कुरा गर्छु,’ शनिवार सार्वजनिक एक भिडिओमा पुनले भनिरहेका छन्।

आफूले अहिलेसम्म आफ्नो फाइदाका लागि काम नगरेको पनि उनले दाबी गरे। ‘मलाई अरूजस्तो तुलना नगर। मलाई विश्वास लाग्छ भने, यो मान्छेले गर्न सक्छ भन्ने लाग्छ भने भोट नदेऊ,’ उनले भने,‘म फटाहा जस्तो लाग्छु भने भोट नदेऊ।’

आफू चुनावमा उठेको कुरा जानकारी गराउन मात्रै गाउँ गाउँ पुगिरहेको उनले सुनाए। ‘म सांसद बने पनि काम गर्छु, नबने पनि काम गर्छु। तर, बन्यो भने सजिलो हुन्छ,’ पुनले भने।

गाउँको समस्या अहिले लेखेर राख्ने र पछि सांसद भएपछि पूरा गर्ने उनले बताए। भिडिओहरूमा उनलाई ठेट कुरा सोधिरहेका सुनिन्छन्। जसको जवाफमा उनी भन्छन्,‘मेरो ठेट कुरा के हो भने, मैले बदमासी गर्दैन। सकेको मद्दत गर्छु, त्यो अहिलेको सानोतिनो कुरा सुन्ने होइन।’ जनताले प्रस्ताव राख्न पाइने भए पनि, आफू अहिले नै वाचा नगर्ने उनी भनिरहेका छन्।

‘प्रस्ताव राख्दा म सुन्छु। पहिलेका सरकारहरूलाई पनि प्रस्ताव राख्नुभएकै होला। कसले सुन्यो?,’ उनी मतदातासँग प्रश्न सोध्छन् । त्यही नसुनेर रिस उठेर आफू चुनाव लड्न आएको उनले बताए। ‘म त्यस्तो झुटो बोलेर, पैसा खुवाएर भोट माग्ने मान्छे होइन,’ उनले भनेका छन्।

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

काठमाण्डौ – नेपालले झन्डै ५ वर्ष अघि देशको नक्सामा अद्यावधिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका बासिन्दा आउँदो फागुन २१ गतेको चुनावमा पनि नसमेटिने भएका छन् । नेपालले २०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको भए पनि त्यहाँका बासिन्दाले अझै मतदानमा सहभागी हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नक्सामा थपिएका बस्तीका बासिन्दाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र बनाएका छैनन् । यी कागजात बिना मतदानमा सहभागी हुन पाइँदैन । भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रका बासिन्दाले भारतीय नागरिकता र रासन कार्ड लिएका पाइएको ब्यास गाउँपालिकाले जनाएको छ ।

भारतीय सेनाको प्रत्यक्ष निगरानीमा रहेको त्यस क्षेत्रमा नेपालीहरू सजिलै आवातजावात गर्न पाउँदैनन् । निर्वाचन आयोगले कालापानी क्षेत्रका नजिक पर्ने छाङ्गरू र टिङ्करमा दुई वटा मतदान केन्द्र तोकेको थियो तर ती क्षेत्रका बासिन्दा जाडो यामम जिल्ला सदरमुकाम खलङ्गामा बस्ने भएकाले अस्थायी मतदान केन्द्र पनि खलङ्गामै सारिएको छ ।

नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने यी क्षेत्र नेपालको भू–भाग रहेको दाबी गर्दै आएको छ । सन् १९६० मा भएको भारत–चीन युद्धपछि यो क्षेत्रमा भारतीय सेनाको उपस्थिति रहेको छ ।

 

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ । -रासस

अमेरिकाले सन् २०२६ का लागि ६५ हजार मौसमी कामदार भिसा थप्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच-२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने भएको छ।

फेडरल रजिस्टरमा प्रकाशित सूचना अनुसार, अमेरिकी कामदारको अभावका कारण गम्भीर आर्थिक संकटको जोखिममा रहेका रोजगारदाताहरूलाई यी भिसा उपलब्ध गराइनेछ।

यो कदमले निर्माण, हस्पिटालिटी (होटल तथा सत्कार), ल्याण्डस्केपिङ र सीफुड प्रोसेसिङ जस्ता व्यवसायका लागि प्रत्येक वर्ष उपलब्ध हुने ६६ हजार भिसाको संख्यालाई झण्डै दोब्बर बनाउने समाचार संस्था रोयटर्सले जनाएको छ । यी क्षेत्रका अमेरिकी रोजगारदाताहरूलाई कामदार पाउन गाह्रो भइरहेको कुरालाई यस निर्णयले स्वीकार गरेको छ।

रिपब्लिकन नेता ट्रम्पले सन् २०२५ मा ह्वाइट हाउस फर्किएलगत्तै अध्यागमन विरुद्ध व्यापक कारबाही सुरु गरेका थिए। उनले कानुनी हैसियत नभएका आप्रवासीहरूलाई अपराधी र समुदायका लागि बोझको रूपमा चित्रण गर्दै आएका छन्। उनको प्रशासनले व्यापक यात्रा प्रतिबन्ध तथा शरणार्थी र शरण सम्बन्धी मुद्दाहरूको पुनरावलोकन गर्दै कानुनी अध्यागमनका कतिपय स्वरूपहरूमा पनि कडाइ गरेको छ।

भिसाको संख्या पूर्व राष्ट्रपति जो बाइडेन र ट्रम्पको अघिल्लो कार्यकाल (२०१७-२०२१) मा पनि थप गरिएको थियो।

होटल लगायत मौसमी व्यवसायका रोजगारदाताहरूले थप भिसाका लागि माग गर्दै आएका थिए। ट्रम्पको आक्रामक अध्यागमन कारबाहीका कारण कतिपय निर्माण व्यवसायीहरूले कामदारको अभाव भएको गुनासो गरेका छन्।

अध्यागमनको संख्या घटाउनुपर्छ भन्ने समूहहरूले भने यी भिसाको विरोध गरेका छन्। उनीहरूका अनुसार, यो निर्णयले अमेरिकी कामदारहरूको पारिश्रमिक घटाउने काम गर्छ।

यसैबीच, ट्रम्पले ‘एच-वानबी’ कार्यक्रम मार्फत कामदार भित्र्याउन प्राविधिक कम्पनीहरूलाई कठिन बनाइदिएका छन्। उनले यसमा १ लाख डलर शुल्क थपिदिएका छन्, जसका कारण कानुनी चुनौती समेत सिर्जना भएको छ।

थप ‘एच-२बी’ भिसा उपलब्ध गराउने सम्बन्धी अस्थायी नियम मंगलबार फेडरल रजिस्टरमा औपचारिक रूपमा प्रकाशित हुने सूचनामा उल्लेख छ।

 

आरिफको अर्धशतक : नेपालले मुम्बईलाई दियो १८४ रनको लक्ष्य

काठ्माण्डौ- नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको जारी दोस्रो अभ्यास खेलमा मुम्बई एमसीएलाई १८४ रनको लक्ष्य दिएको छ।

शनिबार मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनी ४२ बलमा ६६ रन बनाउँदै नटआउट रहे। नेपालका ओपनर आशिफ शेख २५ रन र अर्का ओपनर लोकेश बम १५ रन बनाएर आउट भए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि मुम्बई एमसीए प्रेसिडेन्ट-११ लाई पहिलो अभ्यास खेलमा ७ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट सुविधा र रोजगारी खोज्दै तराई झर्ने बढे

कञ्चनपुर सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि रोजगारी र सुविधा खोज्दै तराई झर्ने क्रम बढेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । यस्तै अवस्था अरु क्षेत्रमा पनि देखिन्छ ।

शुक्लाफाँटा नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । शाखा प्रमुख लोगराज भट्टका अनुसार बसाइँ सरेर आउनेमध्ये धेरैजसो सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् ।

त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा धेरैजसो पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता निकै कम रहेको छ । नगरपालिकाबाट पनि अन्त बसाइँ सरेर जानेहरू छन् । तर बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर छ ।

पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐर बताउछन् । अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्ने, खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उनको भनाइ छ । -रासस

पूजाको कप्तानीमा नेपालले राइजिङ स्टार्स खेल्ने

काठमाण्डौ – थाइल्याण्डमा अर्को महिना हुने एसीसी एसिया कप राइजिङ स्टार्समा नेपाली महिला क्रिकेट टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा खेल्ने टोलीको घोषणा गरेको हो ।

नियमित कप्तान इन्दु बर्मा चोटका कारण मैदान बाहिर रहेपछि पूजाले कप्तानको जिम्मेवारी पाएकी हुन् । आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत गएको हप्ता स्कटल्याण्डसँगको खेलमा इन्दु घाइते भएकी थिइन् । पूजा राष्ट्रिय टोलीकी नियमित उप–कप्तान हुन् ।

नेपाली टोलीले आउँदो फागुन १ देखि १० गते अर्थात् (फेब्रुअरी १३ देखि २२ तारिख) सम्म चल्ने राइजिङ स्टार्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ८ टोली सहभागि हुनेछन् । समूह ‘ए’ मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् । बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

नेपालले फागुन १ गते पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । त्यस्तै फागुन ३ गते युएई र ५ गते भारत ‘ए’ सँग खेल्नेछ ।

 

निर्वाचन आचारसंहिता पालना गराउन आयोगले सक्रियता बढायो

 

काठमाण्डौ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पालना र उल्लघङ्न गर्नेलाई कारवाही गर्न सक्रियता बढाएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

गएको माघ ४ गतेदेखि लागू भएको आचारसंहिताको पूर्ण पालना गर्न/गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा अहिलेसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रबद्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ ।  इकाइले पत्ता लगाएका कूल ३ सय २ हानीकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

आचारसंहिताविपरितका कुनै पनि गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ ।

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुरानो ढर्राको अन्त्य भई नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएको दाबी गरेका छन्। गुटबन्दी, भागबण्डा र ‘अँध्यारो कोठा’ का सम्झौताबाट मुक्त कांग्रेस निर्माण गर्ने उद्घोष गर्दै उनले पार्टीभित्र अब सबैको समान हक र सम्मान हुने बताएका हुन्।

शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आफू आज जुन जिम्मेवारीमा आइपुगेको छु, त्यो स्थानमा उभिन पाउने अधिकार सबै कांग्रेसजनसँग बराबर रहेको बताए । ‘म जहाँ छु, त्यहाँ उभिन पाउने हक तपाईंहरू सबैको हो’, उनले भने । थापाले यस पटक सहज मानिएको काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ बाट चुनाव लड्ने निर्णय सोचेरै गरेको स्पष्ट पारे ।

पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको उल्लेख गर्दै उनले भने, ‘देशको नेतृत्व गर्ने हो भने मधेसलाई गम्ल्याङ अँगालो हाल्नु पर्छ  ।’ उनले मधेसका मुद्दालाई आफ्नै मुद्दा बनाउने र मधेस–काठमाडौंबीच सेतु बन्ने उद्देश्यले आफू सर्लाही गएको बताए ।

‘म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइन । उनले चेतनाको राजनीति गर्ने, उत्तेजनाको होइन भन्ने स्पष्ट सन्देश दिएका छन् । ‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताए ।

अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन

‘तपाईंहरू मेरो लागि नेता–कार्यकर्ता होइन, आमा–बुबा, दाजुभाइ, दिदीबहिनी जस्तै हुनुहुन्छ’, उनले भने । काठमाडौंले आफूलाई विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म धारिलो बनाएको उनको भनाइ थियो । सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन सम्पन्न हुने घोषणा गरे । नयाँ अधिवेशनपछि उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत वडाबाटै हुने उनको भनाइ छ । ‘अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन’, उनले स्पष्ट पारे ।

थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भएको दाबी गरे । ‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, उनले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ ।’

सभापति थापाले अब कांग्रेसमा कुनै पनि ‘अँध्यारो कोठा’ को राजनीति नहुने बताए। ‘पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन’, उनले भने ।

थापाका अनुसार नयाँ कांग्रेस भनेको केवल चुनाव जित्ने मात्र होइन, नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने कांग्रेस हो । अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्‍याउन उनले आह्वान गरे । ‘यो कांग्रेसले देश सम्हाल्छ’, भन्दै उनले भने, ‘अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस हो ।’

कञ्चनपुरमा निर्वाचनका लागि दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् । प्रत्येक स्थायी निर्वाचन केन्द्रमा छ जनाका दरले कमर्चारी खटाइने छ । प्रत्येक निर्वाचन केन्द्रमा एकजना मदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने व्यवस्था मिलाइएको छ ।

अस्थायी निर्वाचन केन्द्रमा भने तीन जना कर्मचारीलाई खटाइने छ । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एकजना कार्यालय सहयोगीलाई खटाइने छ ।

निर्वाचनमा निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक र संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने व्यवस्था रहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा स्वयमसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्ने छन् ।

केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको कार्य अगाडि बढाइने निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकासबहादुर भण्डारीले बताए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कूल तीन सय ६० मतदान केन्द्र रहेका छन् । विगतको भन्दा यस निर्वाचनमा मतदाताको चापलाई मध्यनजगर गरी १४ वटा मतदान केन्द्र थप गरिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र राख्ने व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । -रासस

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ ।  हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।

अमेरिकाको मिनियापोलिसमा हजारौं मानिसहरू किन निस्किए सडकमा?

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा हजारौं मानिसहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन्।

मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरूले गोली हानेर दुई अमेरिकी नागरिकको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ।

शुक्रबार भने अन्य दिनको तुलनामा प्रदर्शनकारीहरूको संख्या ठूलो रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

शुक्रबार मिनियापोलिसका विद्यालयबाट कक्षा बहिस्कार गरेर विद्यार्थीहरू पनि प्रदर्शनमा सहभागी भएका थिए।

यसकारण शुक्रबारको पदर्शनमा हजारौं मानिसहरूको सहभागिता थियो।

उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा मिनेसोटा राज्यमा परिचालन भएका आप्रवासन अधिकारीहरूलाई फिर्ता गर्न माग गरेका छन्।

रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्पले आप्रवासन अभियान अन्तर्गत मिनियापोलिसमा मात्रै त्यससँग सम्बन्धित ३ हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरेको थियो।

यो संख्या त्यहाँको प्रहरी बलभन्दा बढी हो।

आइसिईका सुरक्षाकर्मीहरू  पूर्ण रूपमा सशस्त्र र रणनीतिक पोसाकमा सडक गस्ती गरिरहेका संघीय अधिकारीको उपस्थितिले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

चिसो तापक्रमको बाबजुद मिनियापोलिसको डाउनटाउन क्षेत्रमा भएको प्रदर्शनमा बालबालिका भएका परिवार, वृद्ध दम्पती र युवा अभियानीहरू सहभागी थिए ।

प्रदर्शनकारीहरूले आईसीईको कारबाहीलाई ‘नागरिकमाथिको दमन’ भन्दै विरोध गरेका छन्।

प्रदर्शनमा सहभागी कातिया कागानले आफ्ना अभिभावक रुसबाट अमेरिका आएर सुरक्षित र राम्रो जीवन खोजेको बताउँदै अहिले आफू त्यही ‘अमेरिकी सपनाको रक्षा’ गर्न सडकमा उत्रिएको बताइन्।

६५ वर्षीया ध्यान प्रशिक्षक किमले संघीय कारबाहीलाई “सरकारकै तर्फबाट गरिएको फासीवादी आक्रमण” भनेकी छन्।

यसैबीच, दुई अमेरिकी नागरिक एलेक्स प्रेट्टी र रेनी गुडको संघीय अधिकारीद्वारा गोली हानी हत्या गरिएको स्थान नजिकै करिब ५० शिक्षक र विद्यालय कर्मचारीले पनि मार्च निकाले।

चर्चित रक गायक ब्रुस स्प्रिङ्स्टिनले समेत प्रदर्शनलाई समर्थन जनाउँदै मिनियापोलिसमा आयोजित राहत कार्यक्रममा प्रस्तुति दिए ।

विरोध प्रदर्शन मिनेसोटामा मात्र सीमित रहेन।

आयोजकका अनुसार ४६ राज्यका २५० भन्दा बढी स्थानमा ‘काम छैन, कक्षा छैन, किनमेल छैन — आईसीईलाई पैसा नदेऊ’ भन्ने नारासहित प्रदर्शन गरिएको छ। न्यूयोर्क, लस एन्जलस, शिकागो र वाशिङ्टनजस्ता सहरहरूमा पनि ठूला प्रदर्शन भए।

यस घटनाले संघीय सरकारभित्र पनि असर पारेको छ।

मिनियापोलिसस्थित एफबीआई फिल्ड अफिसका कार्यवाहक प्रमुख जाराड स्मिथलाई पदबाट हटाएर वासिङ्टन सरुवा गरिएको छ। यही कार्यालयले गोलीकाण्ड र चर्चभित्र भएको प्रदर्शनसम्बन्धी अनुसन्धान गरिरहेको थियो।

उक्त चर्च प्रदर्शनका क्रममा संघीय कानुन उल्लंघन गरेको आरोपमा पूर्व सीएनएन एंकर डन लेमनलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ। लेमनले दोष अस्वीकार गर्दै यसलाई “प्रेस स्वतन्त्रतामाथिको आक्रमण” भनेका छन् ।

न्युयोर्क टाइम्सले उद्धृत गरेको आन्तरिक आईसीई मेमोअनुसार संघीय अधिकारीलाई वारेन्टबिनै पक्राउ गर्न अझ व्यापक अधिकार दिइएको छ, जसले आप्रवासीविरुद्ध छापा झनै तीव्र बनाउने आशंका बढाएको छ ।

यसबीच, ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति जनसमर्थन घट्दै गएको देखिएको छ ।

रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणले ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिप्रति समर्थन सबैभन्दा न्यून स्तरमा पुगेको देखाएको छ ।

मिनेसोटाका डेमोक्र्याटिक गभर्नर टिम वाल्जले संघीय बल फिर्ता नगरेसम्म नागरिकको सुरक्षा सुनिश्चित नहुने भन्दै कडा आपत्ति जनाएका छन्।

उता, कोलोराडो, एरिजोना, क्यालिफोर्निया र न्युयोर्कका थुप्रै विद्यालयमा शिक्षक र विद्यार्थीको व्यापक अनुपस्थितिका कारण कक्षा नै रद्द गरिएको छ । देशव्यापी आन्दोलनले अमेरिकी आप्रवासन नीतिमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ ।

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ। पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ।

उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्दछ। विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ। तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन्।

त्यसमा डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुकाको संक्रमण, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमाब्लास्टोमाइकोसिस तथा अन्य डिप माइकोसेस समावेश छन्। प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका उपेक्षित उष्णप्रदेशीय रोग स्रोत व्यक्ति हेमराज जोशीका अनुसार यी रोगले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी व्यक्तिलाई असर गरिरहेको तथ्यांक छ।

“सुदूरपश्चिम प्रदेशमा पनि यी रोगको संक्रमण क्रमशः बढ्दै गएको छ”, उनले भने, “मुख्यतः सरसफाइको कमी, रोगबाहक कीटाणु, घरपालुवा जनावर तथा पशुसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बढी जोखिममा पर्ने गरेका छन्।”

उनका अनुसार गरिबीको रेखामुनि रहेका समुदाय यी रोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्। रोगका कारण उहाँहरू थप आर्थिक संकटमा पर्ने र गरिबीको चक्रमा फस्ने अवस्था सिर्जना भइरहेको छ। साथै यी रोग अझै पनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिने गरेको पाइएको उनको भनाइ छ।

प्रदेशमा सर्पदंशका घटना पनि उल्लेख्य रूपमा देखिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ५१२ जनामा सर्पदंश देखिएकामा ९१ जनालाई विषालु सर्पले टोकेको थियो। आर्थिक वर्ष २०८१/८२ मा सर्पदंशका घटना बढेर ८२७ पुगेका थिए। त्यसमध्ये ४६ जनालाई विषालु सर्पले डसेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५८७ जनामा सर्पदंश देखिएकामा १७ जनालाई विषालु सर्पले टोकेको तथ्यांक छ।

यसैगरी जनावरको टोकाइबाट हुने संक्रमण पनि चुनौती बनेको छ। प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा चार हजार ६४८ जनालाई जनावरले टोकेको थियो भने २०८१/८२ मा यो संख्या बढेर ११ हजार ५७२ पुगेको थियो। चालु आर्थिक वर्षमा हालसम्म पाँच हजार ५५३ जना जनावरको टोकाइबाट प्रभावित भएका छन्।

कुकुरको टोकाइका घटना झन् बढी देखिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा कुकुरको टोकाइबाट नौ हजार ९८१ जना पीडित भएका थिए। आव २०८१/८२ मा यो संख्या बढेर १५ हजार २१२ पुगेको छ। चालु आर्थिक वर्षमा हालसम्म आठ हजार २९६ जना कुकुरको टोकाइबाट प्रभावित भएका छन्।

जोशीका अनुसार डेंगु संक्रमण पनि सुदूरपश्चिममा जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ३४९, २०८१/८२ मा तीन हजार ३१६ जना तथा चालु आर्थिक वर्षमा हालसम्म एक हजार १८ जना डेंगुबाट प्रभावित भएका छन्।

फोकल पर्सन जोशीका अनुसार यी रोगहरू विश्वव्यापी स्वास्थ्य एजेण्डामा सीमित रूपमा मात्रै समेटिने, अध्ययन–अनुसन्धान न्यून हुने तथा स्रोतसाधनको अभाव रहने भएकाले ‘उपेक्षित’ श्रेणीमा परेका हुन्। “केही रोग जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएका छन् भने केही निवारण, रोकथाम तथा नियन्त्रणको रणनीतिमा छन्”, उनले भनदे।

नेपालले सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रिय स्तरबाट जनस्वास्थ्य समस्याका रूपमा निवारण गरेको घोषणा गरेको थियो भने ट्रकोमालाई सन् २०१८ मा निवारण गरेको छ। कालाजारलाई सन् २०२६ भित्र तथा हात्तीपाइले र रेबिजलाई सन् २०३० भित्र नियन्त्रण गर्ने लक्ष्य लिइएको छ।

हालको तथ्यांकअनुसार कालाजारका बिरामी पछिल्ला दुई दशकमा करिब ९० प्रतिशतले घटेका छन्। यद्यपि नयाँ क्षेत्रबाट कालाजारका ‘केस’ देखिन थालेकाले प्राप्त उपलब्धिको दीगोपनामा चुनौती थपिएको छ। कालिकोटमा कालाजारको दर उच्च रहेको छ भने पाल्पा, कैलाली, मकवानपुर, बाँके, दैलेख, बर्दिया र प्युठानमा पनि बिरामीको संख्या उल्लेख्य छ।

कुष्ठरोगको अवस्था हेर्दा आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय स्तरमा ‘प्रिभ्यालेन्स’ दर प्रति १० हजार जनसंख्यामा शून्य दशमलव ८८ रहेको छ। सो अवधिमा दुई हजार ४०९ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका छन्। सोह« जिल्लामा अझै पनि कुष्ठरोगका केस निवारणको सीमाभन्दा माथि रहेको तथ्यांकले देखाएको छ।

हात्तीपाइलेका ६४ एन्डेमिक जिल्लामध्ये ५७ जिल्लामा आम औषधि सेवन कार्यक्रम सम्पन्न भई संक्रमण प्रसारसम्बन्धी अध्ययनपछि कार्यक्रम बन्द गरिएको छ। हालसम्म चार लाख ४७ हजार ८८६ जनामा हात्तीपाइलेका कारण शारीरिक समस्या (हाइड्रोसिल तथा खुट्टामा समस्या) देखिएको तथ्यांक छ।

डेंगु नियन्त्रणका लागि शहरी तथा अर्धशहरी क्षेत्रमा एडिस प्रजातिका लामखुट्टेको प्रजनन रोक्न बहुक्षेत्रीय सहकार्य सुरु गरिएको भए पनि सबै क्षेत्रबाट प्रभावकारी सहभागिता सुनिश्चित गर्न अझै चुनौती रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्रबहादुर बमं बताउछन्।

यसैबीच विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस प्रत्येक वर्ष जनवरी ३० मा मनाइँदै आएको छ। सन् २०२१ मे ३१ मा विश्व स्वास्थ्य सम्मेलनले उक्त दिवसलाई औपचारिक मान्यता दिएको हो। यस अवसरमा आज सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नारासहित जनचेतना जगाउनका लागि सरोकारवालाहरुका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम आयोजना गरेको छ।

सुदूरपश्चिम प्रदेश: चुनावी सरगर्मी बढ्दै

कैलाली: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ।

राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्यासी पार्टीको पुरानो बिरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्यासी र स्वतन्त्र प्रत्यासीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन्। धेरै प्रत्यासीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आसयका सामग्रीको प्रयोग बढाएको देखिन्छ । कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन्।

निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभावी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ। स्थानीय चेतराज ओझाले भन्नुभयो, “सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दा मतदातामा सही सूचना प्रवाह भइरहेको छैन, यस्तो प्रवृत्तिलाई नियमन गर्न जरुरी छ, अनि मात्र स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ।”

जेनजीको आन्दोलनपछिको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनको प्रचारप्रसार शैली भने फेरिएको छ। उम्मेदवारहरूले सूचना प्रविधिका विभिन्न माध्यमलाई मुख्य प्रचार सामग्री बनाएका छन्। पूरै कार्यकाल पूरा नगरी बीचमै हुन लागेको यो निर्वाचनलाई लिएर कतिपय मतदाता निराश देखिन्छन्। धनगढीका मतदाता भोजराज पाण्डेयले भने, “अस्थिरता देखिनुमा दलहरू बढी जिम्मेवार देखिन्छन्, यसले गर्दा जनतमा निराशा छ, तर पनि निर्वाचनलाई सम्पन्न गरेर अस्थिरता टार्न दलहरूनै बढी जिम्मेवार हुनुपर्छ।”

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, कैलाली निर्वाचन क्षेत्र ४ र ५, अछाम क्षेत्र–१ कञ्चनपुर २ र ३ लाई बढी चासोका साथ हेरिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा विजयी हुँदै आएको डडेल्लधुरा क्षेत्र सर्वाधिक चासोको केन्द्र बनेको छ।

यो निर्वाचनमा देउवा चुनावी प्रतिस्पर्धी छैनन् देउवा प्रत्यासी नहुँदा कांग्रेसको विरासत जोगाउन चुनौती थपिएको छ। यहाँ कांग्रेसले युवा नेता एवं नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई चुनावी मैदानमा उतारेको छ।

सो क्षेत्रमा रास्वपाका डा. तारा जोशी, नेकपा (एमाले) का चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल, राप्रपाका गोविन्द खडायत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगरलगायत १३ जना प्रतिस्पर्धी छन्। निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक विजयी हुँदै आएको कञ्चनपुर–३ मा आउने चुनावमा कांग्रेसले पूर्वपार्टी सभापति हरि बोहरालाई प्रत्यासी बनाएको छ।

लेखक प्रत्यासी नहुँदा सो क्षेत्रमा मतदातामा चासो बढेको हो। सो क्षेत्रमा नेकपा (एमाले) का दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महतासहित १७ जना प्रत्यासी छन्। कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउद प्रत्यासी छन्।

तीन वर्षअघिको चुनावमा विजयी भएका साउदसँग नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा, राप्रपाका तीर्थराज चटौतसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन्। कैलाली क्षेत्र–४ मा नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट प्रत्यासी हुँदा चासो देखिएको हो।

अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर विजयी भएको यो क्षेत्रमा आउने चुनावमा उनी प्रत्यासी छैनन्। कांग्रेसले आनन्द विष्टलाई प्रत्यासी बनाएको छ । यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हरिराम चौधरी, रास्वपाले खेमराज कोइराला, राप्रपाले कमल रजवार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्टलगायत १६ प्रतिस्पर्धी छन्।

अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल प्रत्यासी छन्। उनीसँग नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा (एमाले) का दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावललगायत उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। सो क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुवँर विजयी भएका थिए।

प्रदेशको राजधानी सहर धनगढी (कैलाली निर्वाचन क्षेत्र–५) मा अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका डिल्लीराज पन्त अहिले प्रतिस्पर्धी छैनन्। कांग्रेसले यो क्षेत्रमा युवा नेता एवं प्रदेशका महामन्त्री नरनारायण शाहलाई प्रत्यासी बनाएको छ।

नेकपा एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउदसहित १५ जना प्रतिस्पर्धामा छन्। पूर्वमन्त्रीसमेत रहनुभएका आले यसअघिको निर्वाचनमा डोटीबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी भएका थिए।

कैलाली क्षेत्र–५ (धनगढी) सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको चुनावप्रति बढी चासो बढेको हो। प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन्।

अमेरिकामा ख्याति कमाएका भूगोलवीद प्रा.डा. तुलसी जोशीको निधन

धनगढी, १७ माघ ।
अमेरिकामा ख्याति कमाएका सुदूरपश्चिमका भूगोलवीद प्रा.डा. तुलसी जोशीको निधन भएको छ ।

जोशीकी पत्नी मार्लिनले शुक्रवार विहान ८७ वर्षको उमेरमा उनको मृत्यु भएको पुष्टि गरेकी हुन् । वेष्ट भर्जिनियास्थित निवासमा जोशीको निधन भएको हो ।

वि.स. १९९५ मा बझाङको व्यासी गाँउ पञ्चायत (हालः छविस पाथिभेरा गाँउपालिका) को तामाखानीमा भानुभक्त जोशी र महालक्ष्मी जोशीको जेठो सन्तानका रुपमा जन्मिएका जोशी ६४ वर्षअघि (सन १९६२) मा छात्रवृतिमा अमेरिका पढ्न गएका थिए । बझाङी राजा जयपृथ्वी बहादुर सिंहपछि अमेरिका जाने जोशी दोस्रो सुदूरपश्चिमेली थिए ।

सत्यवादीमावि भोपुरमा माध्यमिक तहको पढाई सकेर काठमाण्डौंबाट एसएलसी दिएका जोशी त्रिचन्द्र कलेजमा अध्ययनका क्रममा छात्रवृति पाएर अमेरिका पढ्न गएका थिए ।

अमेरिकामा भूगोलमा विद्यावारिधी गरेका जोशीले पुरै जीवन प्राध्यापनमा विताए । प्राध्यापनसंगै नेपाली विद्यार्थीहरुलाई छात्रवृति दिएर उनले ठूलो गुन लगाएका छन् । त्यसबाहेक सुदूरपश्चिमको शिक्षा क्षेत्रमा समेत जोशीले ठूलो सहयोग गरेका छन् ।

डा. जोशीले झण्डै एक करोड रुपैया दान गरेपछि धननगढी उपमहानगरपालिका—४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यामिक विद्यालयको नाम तुलसीराम राष्ट्रिय माध्यामिक विद्यालय राखिएको छ ।

जोशीले बझाङको शान्तिमावि चौघान पाटामा बुवा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्चमाविमा आमा महालक्ष्मी जोशीका नाममा १२ १२ लाख रुपैयाको अक्षयकोष स्थापनाका लागि १२/१२ लाख रुपैया दिएका छन् ।

आफ्नो पारिश्रमिकबाट छात्रवृतिमा दुई करोड रुपैया सहयोग गरेका उनले बिभिन्न कलेज तथा युनिभर्सिटिका तर्फबाट नेपाली विद्यार्थीहरुलाई १० करोडभन्दा बढिको छात्रवृति दिलाएका छन् ।

प्रा.डा. जोशीको योगदानको कदर गर्दै अमेरिकाको वेष्ट भर्जिनिया राज्यको फेयरमण्ट राज्य विश्वविद्यालयमा उनको सम्मानमा उनी र उनकी पत्नीको नामबाट अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयको नामाकरण गरिएको छ ।

वेष्ट भर्जिनिया राज्यको फेयरमण्ट राज्य विश्वविद्यालयले सोही विश्वविद्यालयमा प्रा.डा. तुलसी जोशी र उनकी श्रीमती मर्लिनको नाममा ‘तुलसी एण्ड मर्लिन जोशी अफिस फर एजुकेशनल पाथवेज फर इन्टरनेशनल सेन्टर्स एण्ड स्टुडेन्टस्’ को नाम दिएको   हो ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनको धनगढीमा अभिनन्दनसंगै रथ यात्रा गरिएको थियो ।

र, यो पनि ।

अमेरिकामा ख्याती कमाएका सुदूरपश्चिमका भूगोलविद्

 

 

 

सधैं चुनावी एजेण्डा बनिरहेको सेती अस्पताल

धनगढी : जब चुनाव नजिकिन्छ, यो क्षेत्रका सबै उम्मेदवारहरुले सेती प्रादेशिक अस्पताल स्तरोन्नतिको एजेण्डा बनाउँछन् । तर चुनाव जितेर गइसकेपछि सबै बिर्सन्छन् ।

यसपालीको निर्वाचन नजिकिँदै गर्दा पनि केही उम्मेदवारले सेती प्रादेशिक अस्पताल स्तरोन्नति आफ्नो प्रमुख प्राथमिकता रहेको बताउन थालिसकेका छन् ।

मनोनयन दर्ताकै क्रममा कैलाली ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आलेले आफ्नो पहिलो एजेण्डा नै सेती प्रादेशिक अस्पताल स्तरोन्नति भएको बताइसकेका छन् । बिहीबार कैलालीको गौरीगंगा २ की अनिता शाही धनगढीको सेती प्रादेशिक अस्पतालमा भेटिइन् । दुई वर्षदेखि श्रीमानको मृगौला डायलाइसिस गराइरहेको उनले सुनाइन् । ‘श्रीमानलाई साताको दुई पटक डायलाइसिस गर्नुपर्ने बाध्यता छ, तर पालो पाउन निकै सास्ती हुने गरेको छ,’ उनले भनिन् ।

उसो त अनिताका श्रीमानलाई डायलाइसिस गर्न थालेको ३ वर्ष भयो । सेतीमा पालो नपाउने अवस्था भएपछि एक वर्ष धनगढीकै निजी अस्पतालमा डायइलाइसिस गराएकी थिइन् । नाम दर्ता गराएको आठ महिनापछि मात्रै सेतीमा पालो पाइन् । ‘एक वर्ष प्राइभेटमा उपचार गर्दा तीन लाख भन्दा बढी खर्च भयो । सुरुदेखि नै सेतीमा उपचार गर्न पाएको भए राम्रो हुन्थ्यो तर पालो नै पाइएन,’ अनिता भन्छिन् ।

यो समस्या अनिता मात्रै होइन डायलाइसिस गराउने पर्ने हरेक विरामीले भोगिरहेको समस्या हो । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्यधिक चापचाप बढी, स्रोतसाधनको अभाव भएकाले समस्या भइरहेको बताउँछन् । श्रेष्ठका अनुसार अहिले अस्पतालमा डायलाइसिस गर्नुपर्ने दुई सय बिरामी छन् । तर उपकरण भने २१ वटा मात्रै छन् ।

सेती अस्पतालको यो अभाव डायलाइसिसमा मात्रै होइन, सबैतिर छ । शय्या अभावका कारण बिरामीहरु समस्यामा देखिन्छन् । सेतीको यो समस्या वर्षौदेखिकै हो । यसअघि २०७४ मा पनि यो क्षेत्रका कांग्रेस उम्मेदवार आरजु राणा देउवा र एमालेका नारदमूनि रानाले पनि आफ्नो प्रमुख एजेन्डा नै सेती अस्पतालको स्तरोन्नतिलाई बनाएका थिए ।

वार्षिक एक लाख जना बढी बिरामीको चाप खेपिरहेको सेती प्रादेशिक अस्पताल ५० शय्या मात्र अनुमति भएको सुदूरपश्चिमको एकमात्र रेफरल अस्पताल हो । यो अस्पताललाई एमाले उम्मेदवार रानाले तीन सय शय्या बनाउने घोषणा गरेका थिए। एमालेका रानाको घोषणालाई उछिनेर कांग्रेस उम्मेदवार राणाले पाँच सय शय्या बनाउने घोषणा गरेकी थिइन् । निर्वाचन एमालेका रानाले जिते । तर उनी सेती स्तरोन्नतिको चुनावी एजेण्डा बिर्सिए ।

०७९ को निर्वाचनमा पनि केही उम्मेदवारले यही सेती अस्पतालको एजेण्डालाई प्रमुख बनाएनन् । एमालेबाट उनै राना चुनावी मैदानमा आए । तर उनले अघिल्लो चुनाव जस्तो सेतीको एजेण्डालाई प्राथमिकतामा राखेनन्। रानासँगको प्रतिस्पर्धामा थिए, कांग्रेस उम्मेदवार डिल्लीराज पन्त । पन्तले पनि प्रमुख एजेन्डामा सेतीलाई राखेका थिएनन् ।

विस १९९७ मा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल २०४० सालमा स्तरोन्नति गरिएको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश तहमा पनि सरकार बनेपछि यो अस्पताल प्रदेश सरकार मातहत ल्याइएको छ।

बिरामीका अपेक्षा यही अस्पतालमा छन्, तर अस्पताल जहिल्यै आवश्यक स्रोतसाधन अभावमा छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे स्वयं दिक्दारी व्यक्त गर्छन् । ‘बिरामीका अपेक्षाहरू असीमित छन्, विपन्न र गरिब विरामीलाई यही अस्पतालको भरोसा हो,’ उनले भने । डा. पाण्डेले सम्बन्धित निकायका अधिकारीसमक्ष रोइकराई गरेर सेवाहरू सञ्चालन गरिरहनुपरेको बताए।

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ ।

पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ ।

उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्दछ । विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् ।

त्यसमा डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुकाको संक्रमण, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमाब्लास्टोमाइकोसिस तथा अन्य डिप माइकोसेस समावेश छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका उपेक्षित उष्णप्रदेशीय रोग स्रोत व्यक्ति हेमराज जोशीका अनुसार यी रोगले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी व्यक्तिलाई असर गरिरहेको तथ्यांक छ ।

“सुदूरपश्चिम प्रदेशमा पनि यी रोगको संक्रमण क्रमशः बढ्दै गएको छ”, उनले भने, “मुख्यतः सरसफाइको कमी, रोगबाहक कीटाणु, घरपालुवा जनावर तथा पशुसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।”

उहाँका अनुसार गरिबीको रेखामुनि रहेका समुदाय यी रोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । रोगका कारण उनीहरु थप आर्थिक संकटमा पर्ने र गरिबीको चक्रमा फस्ने अवस्था सिर्जना भइरहेको छ । साथै यी रोग अझै पनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिने गरेको पाइएको उनको भनाइ छ ।

प्रदेशमा सर्पदंशका घटना पनि उल्लेख्य रूपमा देखिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ५१२ जनामा सर्पदंश देखिएकामा ९१ जनालाई विषालु सर्पले टोकेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा सर्पदंशका घटना बढेर ८२७ पुगेका थिए । त्यसमध्ये ४६ जनालाई विषालु सर्पले डसेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५८७ जनामा सर्पदंश देखिएकामा १७ जनालाई विषालु सर्पले टोकेको तथ्यांक छ ।

यसैगरी जनावरको टोकाइबाट हुने संक्रमण पनि चुनौती बनेको छ । प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा चार हजार ६४८ जनालाई जनावरले टोकेको थियो भने २०८१/८२ मा यो संख्या बढेर ११ हजार ५७२ पुगेको थियो । चालु आर्थिक वर्षमा हालसम्म पाँच हजार ५५३ जना जनावरको टोकाइबाट प्रभावित भएका छन् ।

कुकुरको टोकाइका घटना झन् बढी देखिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा कुकुरको टोकाइबाट नौ हजार ९८१ जना पीडित भएका थिए । आव २०८१/८२ मा यो संख्या बढेर १५ हजार २१२ पुगेको छ । चालु आर्थिक वर्षमा हालसम्म आठ हजार २९६ जना कुकुरको टोकाइबाट प्रभावित भएका छन् ।

जोशीका अनुसार डेंगु संक्रमण पनि सुदूरपश्चिममा जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ३४९, २०८१/८२ मा तीन हजार ३१६ जना तथा चालु आर्थिक वर्षमा हालसम्म एक हजार १८ जना डेंगुबाट प्रभावित भएका छन् ।

फोकल पर्सन जोशीका अनुसार यी रोगहरू विश्वव्यापी स्वास्थ्य एजेण्डामा सीमित रूपमा मात्रै समेटिने, अध्ययन–अनुसन्धान न्यून हुने तथा स्रोतसाधनको अभाव रहने भएकाले ‘उपेक्षित’ श्रेणीमा परेका हुन् । “केही रोग जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएका छन् भने केही निवारण, रोकथाम तथा नियन्त्रणको रणनीतिमा छन्”, उनले भने ।

नेपालले सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रिय स्तरबाट जनस्वास्थ्य समस्याका रूपमा निवारण गरेको घोषणा गरेको थियो भने ट्रकोमालाई सन् २०१८ मा निवारण गरेको छ । कालाजारलाई सन् २०२६ भित्र तथा हात्तीपाइले र रेबिजलाई सन् २०३० भित्र नियन्त्रण गर्ने लक्ष्य लिइएको छ ।

हालको तथ्यांकअनुसार कालाजारका बिरामी पछिल्ला दुई दशकमा करिब ९० प्रतिशतले घटेका छन् । यद्यपि नयाँ क्षेत्रबाट कालाजारका ‘केस’ देखिन थालेकाले प्राप्त उपलब्धिको दीगोपनामा चुनौती थपिएको छ ।

कालिकोटमा कालाजारको दर उच्च रहेको छ भने पाल्पा, कैलाली, मकवानपुर, बाँके, दैलेख, बर्दिया र प्युठानमा पनि बिरामीको संख्या उल्लेख्य छ ।

कुष्ठरोगको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय स्तरमा ‘प्रिभ्यालेन्स’ दर प्रति १० हजार जनसंख्यामा शून्य दशमलव ८८ रहेको छ । सो अवधिमा दुई हजार ४०९ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका छन् । सोह« जिल्लामा अझै पनि कुष्ठरोगका केस निवारणको सीमाभन्दा माथि रहेको तथ्यांकले देखाएको छ ।

हात्तीपाइलेका ६४ एन्डेमिक जिल्लामध्ये ५७ जिल्लामा आम औषधि सेवन कार्यक्रम सम्पन्न भई संक्रमण प्रसारसम्बन्धी अध्ययनपछि कार्यक्रम बन्द गरिएको छ ।

हालसम्म चार लाख ४७ हजार ८८६ जनामा हात्तीपाइलेका कारण शारीरिक समस्या (हाइड्रोसिल तथा खुट्टामा समस्या) देखिएको तथ्यांक छ ।

डेंगु नियन्त्रणका लागि शहरी तथा अर्धशहरी क्षेत्रमा एडिस प्रजातिका लामखुट्टेको प्रजनन रोक्न बहुक्षेत्रीय सहकार्य सुरु गरिएको भए पनि सबै क्षेत्रबाट प्रभावकारी सहभागिता सुनिश्चित गर्न अझै चुनौती रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले बताए ।

यसैबिच विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस प्रत्येक वर्ष जनवरी ३० मा मनाइँदै आएको छ । सन् २०२१ मे ३१ मा विश्व स्वास्थ्य सम्मेलनले उक्त दिवसलाई औपचारिक मान्यता दिएको हो ।

यस अवसरमा आज सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नारासहित जनचेतना जगाउनका लागि सरोकारवालाहरुका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम आयोजना गरेको छ । रासस

सुदूरपश्चिमका १६ क्षेत्रमा बालेन्द्र : बोलेनन्, घण्टी बजाए, फर्किए

धनगढी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार अछामका मंगलसेन, कमलबजार र विनायकमा घण्टी बजाउँदै सुदूरपश्चिम भ्रमण सकेका छन् ।

शुक्रबार दिउँसो अछामको विनायकमा घण्टी बजाएसँगै उनले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा पुग्ने अभियान पूरा गरेका हुन् ।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन शाहले कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्र पुगेका थिए । दोस्रो दिन उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेपछि सोही राति बझाङ गएका थिए । तेस्रो दिन बझाङबाट बाजुरा हुँदै अछाम–१ को साँफेबगर पुगेका शाह त्यसपछि डोटी पुगेका थिए । चौथो दिन भने उनले अछाम–२ का विभिन्न स्थानमा समय बिताए ।

अछाम–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनका स्वकीय सचिव भूपदेव शाहको निर्वाचन क्षेत्रमा पर्ने मंगलसेन, कमलबजार र विनायकमा शाहले पाँच–पाँच मिनेट मात्रै समय दिएका छन् । शाहले कुनै स्थानमा सार्वजनिक सम्बोधन नगरी पार्टी कार्यालयमा घण्टी बजाउने र गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्दै अर्को गन्तव्यतर्फ लाग्ने शैली अपनाएका छन् ।

भाषण नगर्ने, कसैसँग दोहोरो संवाद नगर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा छोटो समय मात्रै बिताउने गरेका छन् । यसअघि पनि उनले एक निर्वाचन क्षेत्रमा औसतमा १० देखि १५ मिनेट मात्रै समय दिने गरेका थिए ।

कमलबजारमा शाह पुग्ने खबरपछि समर्थकहरूले स्वागतको तयारी गरेका थिए । तर उनले त्यहाँ कुनै सम्बोधन नगरी घण्टी मात्रै बजाएर फर्किएपछि केही स्थानीय र समर्थकले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

तर शाहनिकटहरुका अनुसार उनको अभियान रणनीति नै भाषणभन्दा प्रतीकात्मक उपस्थितिमा आधारित छ । घण्टी बजाउने, मौन बस्ने र छोटो समयमै स्थान परिवर्तन गर्ने शैलीमार्फत उनले परम्परागत राजनीतिक संस्कृतिमाथि प्रश्न उठाउन खोजेको उनका समर्थकहरुको तर्क छ ।

अर्थ मन्त्रालयको बजेट खर्च खुम्चियो

काठमाडौं अर्थ मन्त्रालयको बजेट खर्च खुम्चिएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन् । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा कम हो ।

गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो । अर्थ मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ । पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ ।

यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ ।

यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको हो । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ । आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रमको खर्च शून्य देखिन्छ ।

भन्सार विभागले ४.६६ प्रतिशत र आन्तरिक राजस्वको ४.७५ प्रतिशतमात्र बजेट खर्च भएको तथ्यांक छ ।

बाँदरबाट मान्छे जोगाउनु मेरो चुनावी एजेण्डा हो : देवविक्रम राई

काठमाडौ । प्रतिनिधिसभा सदस्य चुनावमा खोटाङबाट नेकपा एमालेका उम्मेदवार रहेका देवविक्रम राईले बाँदरबाट मान्छे जोगाउनु आजको मुख्य समस्या रहेको बताएका छन् ।

शुक्रबार बिहान राजधानीमा पत्रकारहरुसँग राईले आफ्नो मुख्य चुनावी एजेण्डा नै बाँदरबाट मान्छे जोगाउने रहेको बताए । ‘मान्छे मरेर बाँदरलाई बचाउन सकिन्नँ, मेरो उम्मेदवारी एकप्रकारले बाँदर भर्सेस मान्छेको लडाइँ पनि हो,’ उनले भने ।

बाँदर आतंककै कारण किसानहरु पलायन हुने प्रवृत्ति बढेको तर्क गर्न उनले आफ्नै अनुभव सुनाएका थिए । ‘म आफै किसान हुँ, मैले लगाएको फलफुल बाँदरले नष्ट गरेर हैरान छु,’ राईले भने, ‘बाँदर तह लगाउन कानुनले दिदैन, त्यसो भएपछि कि मान्छे भोकले मर्नुपर्यो कि गाउँ छोडेर हिड्नुपर्यो ।’

पहाडमा बाँझो जमिन बढ्दै जाने, रोजगारीको खोजीमा युवाहरु शहर र विदेश पुग्ने प्रवृत्तिमा बाँदर आतंक एउटा कारण रहेको उनले बताए । ‘बाँदर तह लगाउने र मान्छे बचाउने कामका लागि जंगली जनावरबारे कानुनमा काम गर्नुपर्छ, सांसद जितेर त्यो काम गर्छु,’ उनले भने ।

खेती सप्रिँदा मात्रै पनि अहिलेको बसाइँसराईँ धेरै हदसम्म रोकिने विश्लेषण उनले गरे । ‘पहाड रित्तिँदो छ, बसाइसराइ रोक्नु मेरो अर्को एजेण्डा हो,’ एमाले खोटाङका अध्यक्ष राईले भने, ‘तर बाँदर आतंक नरोकिएसम्म  बसाइसराइ पनि रोकिने स्थिति छैन ।’

प्रचण्डको विश्लेषण- नेकपा एक नम्बर पार्टी बन्नसक्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा थालेको भ्रष्टाचार विरोधी अभियान अधुरै रहेको बताएका छन्।

रुकुम पूर्व–काठमाडौं सम्पर्कको कार्यक्रममा बोल्दै सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका निम्ति सुरु गरेको अभियान पनि अधुरै रहेको बताए।

उनले भने, ‘हामीले विकासको एउटा नयाँ मोडेल दिन सकिएन भने हाम्रो यात्रा, सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपना अधुरै हुने खतरा छ। त्यसकारण हामी समुदायमा आधारित समाजवादको मोडेल खडा गर्नु छ।’

विभिन्न जिल्ला र क्षेत्रबाट उम्मेदवार सिफारिस भए पनि देशको राजनीतिक परिस्थिति, पार्टी र आन्दोलनको आवश्यकताको आधारमा आफूले पूर्वी रुकुम रोजेको बताए।

उनले थपे, ‘पूर्वी रुकुमका हाम्रा सबै नेता कार्यकर्ता कमरेडहरूको पनि भावना र चाहना मैले नजिकबाट हेरेको थिएँ। त्यहाँका जनताको चाहनालाई पनि मैले आत्मसात् गरेर नै पूर्वी रुकुम नै जाने निर्णय गरेँ। मैले सुरुमा भनेँ पूर्वी रुकुम जानु भनेको अन्यत्र गएजस्तो मात्रै होइन भन्ने मेरो बुझाइ छ। पूर्वी रुकुम नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका हो।’

उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव भए नेकपा पहिलो पार्टी बन्नसक्ने बताए।

उनले भने, ‘देशमा निर्वाचनको माहोलमा बन्दै गइरहेको छ। एकसरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको थिए। नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ नयाँ भन्नेको हावा चलेकै छ। तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना छ।’

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएरै छाड्छु : प्रेम आले

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नं.५ का उम्मेदवार प्रेमबहादुर आलले धनगढी विमानस्थललाई कुनै पनि हालतमा क्षेत्रीय विमानस्थल बनाएर छाड्ने बताएका छन् । आज धनगढी उपमहानगरपालिका– १ को निर्वाचन परिचालन सचिवालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘यो क्षेत्रीय विमानस्थल बन्यो भने कुनै समस्या पर्दा अन्य देशमा सिधै उडान भर्न सकिन्छ । यसले पर्यटन प्रवर्धनमा पनि ठूलो टेवा पु¥याउँछ । विदेशी पर्यटक यहाँ सिधै आउन सक्छन् । यसलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।’

त्यस्तै,उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिमा आफूले जोड दिने बताए । उनले भने ‘सेती प्रादेशिक अस्पतालको स्तरोन्नति अझै हुन सकेको छैन् । यसलाई अत्याधुनिक स्तरोन्नतिका लागि लाग्ने छु ।’

पूर्वमन्त्री समेत रहेका आलेले गेटा मेडिकल कलेजलाई कम्तीमा ५ सय बेडको स्वीकृति गराएर एमबीबीएस पढाइ हुने गरि अगाडि बढाउनले प्रतिवद्धता व्यक्त गरे । बिगतमा राम्रो काम गरेकै कारण डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको बताउँदै यस पटक कैलाली ५ का जनताको साथ पाउने विश्वास व्यक्त गरे ।

बिगतमा आफूले बोलेका कुराहरु पूरा गर्दै आएको बताउँदै उनले भने ‘मैले बोलेका कुरा गर्छु कि गर्दैन भनेर बुझेर चुनावमा लाग्नु होला ।’ आलेले कैलाली क्षेत्र नं. ५ मा आफ्ना चुनावी गतिविधिलाई तीब्र बनाउदै लगेका छन् । सबै वडामा निर्वाचन परिचालन सचिवालय स्थापना तथा तयारी बैठक लगभग सम्पन्न गरिसकेका छन् ।

डोटीबाट पटकपटक निर्वाचन जितेका आले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली झरेका हुन । आलेले डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

निर्वाचन आचारसंहितामा सर्वोच्चको कडाइ

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहिता लागू भइसकेको बताउँदै नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रियामाथि रोक लगाएको छ ।  सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले नियुक्तीसम्बन्धी प्रक्रिया अघि नबढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका नाममा अन्तरिम आदेश दिएको छ ।

महाप्रबन्धक नियुक्ति प्रक्रिया रोक्न माग राखेर चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा फागुन २१ हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको भन्दै अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।  पर्यटन मन्त्रालयले महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न भन्दै सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा क्याप्टेन कुलबहादुर लिम्बूलाई विज्ञ सदस्यमा र मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख रहेका सहसचिवलाई सदस्य सचिवको काम गर्ने गरी तोकिएको थियो ।

समितिले गत माघ ४ गते १० जनाको नाम ‘सर्टलिस्ट’ गरिसकेको छ । ‘सर्ट लिस्ट’मा परेका आवेदकसँग अन्तर्वार्ता तथा प्रस्तुतीकरणसमेत लिई प्रक्रिया अघि बढेको अवस्थामा निर्वाचन आचारसंहिताका कारण रोकिएको हो ।

क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । क्यानडाले जर्जियामा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने अमेरिकामा बेचिने सबै क्यानडाली विमानमा उच्च कर लगाइने उल्लेख गर्नुभएको छ । उहाँले बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी पनि गर्नुभएको छ ।

उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार अहिले अमेरिकामा दर्ता भएर सञ्चालनमा रहेका झन्डै १ सय ५० ग्लोबल एक्सप्रेस विमान छन् । यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनका बेला अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदानको आरोप लगाउँदै शुल्क लगाएको थियो । तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानडाली कम्पनीले अमेरिकी उद्योगलाई क्षति नपुर्‍याएको ठहर गरेको थियो ।

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारू समुदायको डोली–चन्डोल बोक्ने परम्परा

कञ्चनपुर।  सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना थारू समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरू बताउछन् । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारू समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गर्दछ । परम्परागत रूप्मा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुलाहा, दुलही बोक्ने साधनमात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ ।

नेपाल राना थारू समाजका केन्द्रीय सदस्य रामशाह रानाका अनुसार बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिन्छ । “डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने गरिन्छ भने बाँसकै छतरी बनाइन्छ”, उनले भने, “डोलीभित्र चारपाई ९डोरीले बुनिएको खटिया० राखी चारैतिर रङ्गीबिरङ्गी कपडाले सजाइन्छ । पहिले कछनीको कपडाको प्रयोग बढी हुन्थ्यो ।”

दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिन्छ । बाँसका डण्डालाई चारैतिर बाँधेर बिचमा छतरी राखिन्छ र कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइन्छ । चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने गर्दछ । उनी भन्छन्, “जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँछ ।”

विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष संस्कार गरिन्छ । दिदीबहिनीले हल्दी ९बेसार० कुटेर बेहुलाको शरीरमा दल्ने चलन छ, जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारू समुदायमा छ । त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिन्छ । सो अवसरमा बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको राना बताउछन् ।

दुलहालाई चन्डोलमा बसाल्नुअघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने गरिन्छ । चन्डोलभित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उनका भाइलाई पनि बसाइन्छ, जसलाई ‘सौविल्ला’ भनिन्छ । दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको हो । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फुपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने गर्दछन्, जसलाई राना थारू भाषामा ‘न्यौछार’ गर्ने भनिन्छ ।

डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा छ । दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाएपछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइदिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन छ । राना थारू अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । “अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ”, उनले भने, “आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएका छन् ।”

पहिले दुलहालाई भिनाजु र बहिनीज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्‍याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्‍याउने चलन थियो । रतन भन्छन्, “गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण नै उत्सवमय हुने गर्दथ्यो, तर अहिले यो दृश्य बिरलै देख्न पाइन्छ ।”

हाल घरभन्दा केही परसम्ममात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिन्छ । राना अगुवा रानाले भने, “त्यसपछि बस, कार वा अन्य सवारी साधन प्रयोग गरेर गन्तव्यमा पुर्‍याइन्छ ।”

राना थारू समुदायका अगुवा बालसुग्रिव रानाले डोली–चन्डोल बोक्ने चलन हराउँदै गएको प्रति गहिरो चिन्ता व्यक्त गरे । “पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गर्दथ्यो”, उनले भने, “अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएका छन् ।” उनका अनुसार आधुनिक सवारी साधनको प्रयोगले सहजता त दिएको छ तर समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेका छन् ।

परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको छ । यसले राना थारू समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको राना थारू संस्कृतिविद्हरूको भनाइ छ ।

स्थानीय अगुवाहरुले आधुनिकतालाई पूर्ण रूप्मा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन् । डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताए ।

“राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सामात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु अत्यन्त आवश्यक छ”, उनि भन्छन् । रासस

लालपुर्जा दिनेलाई भोट

बझाङ  । बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।

पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा भोट माग्न आउने उम्मेदारहरूसँग  लालपुर्जाको माग गरेका हुन् ।

आफुहरूले सात पुस्तादेखि बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको स्थानीय हर्कबहादुर बोहराले बताए । ‘‘न त भूमिहीनको सूचीमा समावेश हुन सकेका छौ । न त जग्गाधनीको अधिकार पाएका नै छौँ ।’’ उनले भने, “पटक–पटक सरकारी कार्यालय धायौँ तर समस्या समाधान भएन । अब आश्वासनले पेट भरिँदैन, जसले लालपुर्जा दिन्छ उसैलाई फागुन २१ मा भोट दिन्छौँ ।”

लालपुर्जा नहुँदा बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी स्वामित्व अभावकै कारण अवसरबाट वञ्चित हुँदै आएका छन् ।

बड्डीज्यावनका बासिन्दाले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उनहरूले अब नाराभन्दा काम महत्त्वपूर्ण भएकाले लालपुर्जा सुनिश्चित गर्ने स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय सामूहिक रूपमा गरिएको स्थानीय शङ्कर बोहराले बताए ।

सरकारले विभिन्न समयमा भूमिहीन दलित तथा सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन गरे पनि ती आयोगहरूले सक्रिय भएकार कामहरू गर्न नसम्दा समस्या भएको छ । २०७६ चैत ९ गते तत्कालीन सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग सरकार परिवर्तनसँगै आयोग खारेज भएको थियो । अदालतले आयोग खारेजी बदर गरी ब्युँताएपछि आयोगले पुनः काम सुरु गरेको छ, फेरि भूमिसम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोग बझाङका जिल्ला अध्यक्ष प्रयागराज जोशीले बताए ।

यस विषयमा नेकपा एमालेका उम्मेदवार ऐन महरले लालपुर्जाको समस्या समाधानलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । उनले बड्डीज्यावनका स्थानीयवासी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाइने बताए । अन्य उम्मेदावरहरूले पनि उक्त गाउँको समस्या बुझि आवश्यक सहयोग गर्ने बताएका छन् ।

बुङ्गल नगरपालिका–६, बड्डी ज्यावन क्षेत्रमा करिब १५० भन्दा बढी मतदाता रहेका छन् । सो क्षेत्रका स्थानीयहरू लामो समयदेखि गुठीको जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

खोज्नुहोस