अछाममा बालेनको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ

अछामः अछाममा बालेन शाहको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी चोरी गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्।

रायले अछामको साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२ दशमलव १७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा उमेशलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

बालेनको चुनावी अभियान टोलीका एक सदस्य अछाममा बेहोस, हेलिकप्टरबाट काठमाडौँ लगिँदै

अछामः अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्। उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। तर थप उपचारका लागि उनलाई काठमाडौँ लाने तयारी भइरहेको छ।

त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि अछाम मगाइएको छ। उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो। थप उपचारका लागि काठमाडौँ लान सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम उडेको छ।बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ।

नाउपा बिभाजनपछि परम्परागत दलहरुमा उत्साह (कैलाली-१)

धनगढी, १६ माघ ।

संगठित रुपमा लड्दा थारु समुदायका उम्मेदवारले कैलालीको क्षेत्र नम्बर १ मा लगातार तीन वटा निर्वाचनमा जीत हात पारे । तीनै पटक उम्मेदवार फरक थिए । पार्टी फरक थियो । मुद्दा एउटै थियो ।  त्यो थियो, थारु मुद्दा । त्यही मुद्दाले २०७० सालमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार जनकराज चौधरी ११२९४ ले बिजयी भए । शिक्षण पेशा छोडेर चुनाव लडेका चौधरीसंग राजनीतिको अनुभव थिएन् । तर पनि उनलाई चुनाव जित्न कठिन भएन् । किनकी उनलाई सिंगो थारु समुदायको साथ थियो ।

चौधरीसंग २१५४ मतान्तरले पराजित भएका काँग्रेसका रण बहादुर रावल ९,१४० मतमा खुम्चिए ।

सद्भावना पार्टीबाट उनीसंग चुनाव लडेका रेशम लाल चौधरीले जमानत जोगाउन सकेनन् । रेशम २६३८ मतमै सिमित भए ।

त्यसको दुई वर्षपछि २०७२ मा टीकापुर घट्ना भयो । फरार रहेकै अवस्थामा २०७४ मा क्षेत्र नम्बर १ बाट चुनाव लडेका रेशमले सबै उम्मेदवारको जमानत जफत गरिदिए ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट चुनाव लडेका रेशम ३४,३४१ मत ल्याएर बिजयी हुदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मदन कुमारी शाह १३,४०६ मतमा सिमित भएन् । दुबैबीच २०,९३५ मतको फराकिलो अन्तर रह्यो ।

टीकापुर घट्नामा अदालतबाट दोषी ठहर भएका रेशमले २०७९ मा चुनाव लड्न पाएनन् । उनको ठाँउमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उम्मेदवार बनेकी पत्नी रञ्जिता श्रेष्ठ ३०,४०४ मतले बिजयी भईन् । जवकी नेपाली काँग्रेसबाट उम्मेदवार रहेका चौधरी समुदायकै रामजनम चौधरीले १८,०८१ मत पाए ।
रञ्जिता १२३२३ मतको फराकिलो अन्तरले बिजयी हुदा एमालेले जमानत समेत जोगाउन सकेन् ।

एमालेका तपेन्द्र रावल ५,१९० मत खुम्चिए । रावलले पाएको यो मत चार वर्षअघि एमालेकी उम्मेदवार मदन कुमारी शाहले पाएको भन्दा ८ हजारले कम हो ।
यसरी तीन वटा चुनाव जितेको कैलाली क्षेत्र नम्बर १ मा त्यो बिरासत जोगाउन यतिबेला थारु समुदायलाई सकस छ ।

सधै निर्णायक रहेको थारु मत यस पटक बिभाजित छ । पूर्व नाउपाका छ जना नेता चुनावी मैदानमा छन् । त्यो पनि फरक फरक पार्टीबाट । जसका कारण परम्परागत दलहरु उत्साही देखिन्छन् । यद्यपि ती दलहरु अन्तर्घात, भेगीय टकराव, गुटगत राजनीतिबाट बाहिर निस्किन कठिन छ । नाउपा बिभाजनको उत्साहले ती दलका उम्मेदवारको उत्साह पनि स्थायी हुने देखिन्न ।

२०७९ सम्म एकढिक्का भएर थारु उम्मेदवार उम्मेदवारलाई जिताउन खटिएकाहरू यसपटक संगै छैनन् । उनीहरु एक अर्कालाई हराउन चुनावी प्रतिस्पर्धामा छन् ।
एकजुट भएर चुनाव लडेका कारण २०७९ मा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रञ्जिता भारी मतले बिजयी भईन् । प्रदेश सभामा लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले जीत हात पारे ।

त्यो बेलासम्म रेशम, रञ्जिता, रामलाल डंगौरा, प्रदीप चांैधरी, दामोदर पण्डित, कोमल ज्ञवाली, विमल कुमार डंगौरा, गणेश चौंधरी लगायतका नेताहरु संगै थिए । अहिले उनीहरु प्रतिस्पधाएमा छन् ।

पत्नीसंगको झगडामा छुट्टै पार्टी नागरिक उन्मुक्ति नेपाली खोलेर मनोनयन दर्ता गरेका रेशम उम्मेदवारी खारेज भएपछि फागु राम चौधरीलाई साथ दिईरहेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा हारेका फागु राम नै रेशमका आधिकारिक उम्मेदवार बताईन्छ ।

नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित रामलाल डगौरा राजीनामा दिएर नेपाल कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ को उम्मेदवार बनेका छन् ।

दामोदर पण्डितको नेतृत्वमा नाउपाको एक समूह चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिए वाफत टिकट पाएकी कोमल ज्ञवालीको मनोनयन दर्तामै रास्वपाका स्थानीय नेताहरु सहभागी भएनन् । उनले अवसर पाउदा अन्तिम समयमा रास्वपाका प्रदेश ईञ्चार्ज प्रकाश बिष्ट टिकटबाट बञ्चित भए । बिष्ट सहित रास्वपाका नेताहरुको असन्तुष्टि अझै मत्थर भईसकेको छैन् ।

त्यस्तै उज्यालो नेपाल पार्टीबाट उम्मेदवार क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नाउपाका कैलाली जिल्ला अध्यक्ष रहेका प्रदीप चौधरी । उनी मधेशी जनाधिकार फोरमबाट जानकी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फोरम काँग्रेसमा बिलयपछि काँग्रेसमा समाहित भएका उनी त्यसपछि नाउपाको राजनीतिमा संलग्न थिए । उनी चुनावअघि उज्यालो पार्टी छिरेका उनी चीम चुनाव चिन्ह सहित चुनावी मैदानमा छन् ।

यसैगरी हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट चुनाव लडेका विमल कुमार डंगौरा नाउपाको नगर कमिटिमा थिए ।

रेशमको उम्मेदवारी रद्द भएपछि क्षेत्र नम्बर १ मा १८ जना चुनावी मैदानमा छन् । थारुका नाममा राजनीति गर्दै आएका नाउपाका पूर्व छ जना नेता त उम्मेदवार छन् नै, त्यसबाहेक थारु समुदायका भगतराम डगौंरा थारु जनमत पार्टीबाट उम्मेदवार छन् । रुपा कुमारी चौधरीले आम जनता पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

रेशम संरक्षक र रञ्जिता अध्यक्ष रहेको नाउपाले २०७९ मा चार वटा स्थानीय तहको प्रमुख र तीन वटा उपप्रमुख पदमा जीत हात पारेको थियो । त्यस्तै प्रतिनिधि सभामा कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये ३ वटामा नाउपा बिजयी भयो । प्रदेश सभामा प्रत्यक्ष तर्फ पाँच वटा र समानुपातिक तर्फ दुई सीट जितेको नाउपा सुदूरपश्चिम प्रदेश सभामा चौथौ ठूलो शक्ति थियो ।

२०७८ फागुन १३ गते निर्वाचन आयोगमा दर्ता भएको नाउपा चार वर्षमै छिन्नभिन्न हुदा यस पटकको निर्वाचनमा त्यसको लाभ भने परम्परागत दलहरुलाई हुने देखिन्छ ।
दुई वटा निर्वाचनमा परम्परागत दलहरुलाई रक्षात्मक बनाएको नाउपा यतिबेला अस्तित्वमै छैन् । २०७४ मा अधिकांश उम्मेदवारहरुको जमानत जफत गरेका रेशमको यस पटक उम्मेदवारी रद्द भयो । रञ्जिता उम्मेदवार नै बनिनन् । रामलाल डगौंरालाई नेकपाबाट टिकट दिलाएकी रञ्जिता ताराको प्रचारमा छिन् ।

तर यस पटक न रेशमसंग उनकी पत्नी रञ्जिता छन् । नत रञ्जितासंग पूर्व चुनावी कमाण्डरहरु । नागरिक उन्मुक्तिका छ जना पूर्व नेताहरुनै यसपटक एक अर्कालाई चुनावमा हराउन मैदानमा होमिएका छन् । उनीहरुको यही बिभाजन यस पटक टीकापुरको चुनावी ईतिहास बदल्ने कारण हुने निश्चित छ ।

नाउपाको बिभाजनले थारु समुदायको मत बाडिदैछ । न उनीहरुको मत नाउपाका नाममा रास्वपाकी उम्मेदवार बनेकी ज्ञवालीले पाउने देखिन्छ । न त नेकपाबाट उम्मेदवार बनेका रामलालले नै थारुहरुको समग्र मत पाउने देखिन्छ ।

टिकट बितरणमा भएको कमजोरीले रास्वपालाई कमजोर बनाएको छ । प्रकाश बिष्टले टिकट पाएमा क्षेत्र नम्बर १ मा परम्परागत दलहरुका लागि रास्वपा चुनौती हुने देखिन्थ्यो । रास्वपालाई उसको आन्तरिक असन्तुष्टिले कमजोर बनाएको छ ।

जनतालाई लागिसकेको चुनाव उम्मेदवार बाहेकका नेतालाई भने अझै लागेको छैन् ।

काँग्रेसभित्रको गुटगत र भेगीय लडाई साम्य भईसकेको छैन् । त्यसको असर चुनावमा पर्ने निश्चित छ । हुन् त २०६४ पछि पहिलो पटक टीकापुर क्षेत्रका नेपाली काँग्रेसका नेताहरु रामजनम चौधरी, डा. रण बहादुर रावल, फकिर सिंह कडायत, जंग बहादुर साँउद, भरत कडायत, नवराज रावल लगायत अधिकांश नेताहरु मनोनयन दर्ताका क्रममा एक साथ सहभागी भए ।

तर उनीहरुको मन भने अझै मिलिसकेको छैन् । सबैलाई मिलाएर लैजान सके क्षेत्र नम्बर १ मा जनक चौधरीको उपस्थिति बलियो हुनेछ । त्यो संभावना कम छ । अझ टीकापुर बजार क्षेत्रको मत जातीय हिसावले बाडिए त्यसको लाभ नेकपा एमालेका उम्मेदवार द्धारिका प्रसाद न्यौपानेलाई हुनेछ ।

यद्यपि २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार तपेन्द्र रावलले पाएको ५९०० मतमा उनले कति मत थप्न सक्छन्, त्यसले उनको भाग्य निर्धारण गर्नेछ ।
यसपटक बौद्धिक छविका डा. जनकराज शाह प्रगतीशील लोकतान्त्रिक पार्टीको आँखा चुनावी चिन्ह लिएर उम्मेदवार बनेका छन् । थारु र पहाडी दुबै समुदायमा घुलमिल उनले पाउने मतले पनि चुनावी परिणामलाई असर गर्नेछ । त्यसमाथि राप्रपाका उम्मेदवार लोकेन्द्र कुँवरले पनि बजार क्षेत्रका मत काट्ने अनुमान गरिएको छ ।
क्षेत्र नम्बर १ अन्तर्गत टीकापुर नगरपालिका ९ वडा, जोशीपुर गाउँपालिकाका ७,  भजनीको २ र जानकी गाउँपालिकाका ५ गरी २३ वटा वडा रहेका छन् । १ लाख ८ हजार मतदातामध्ये ६० प्रतिशत मत खसेमा चुनाव जित्न २२ देखि २५ हजार मत ल्याउनुपर्नेछ ।

टीकापुरको बजार क्षेत्रमा पहाडी समुदायको बाहुल्यता छ । त्यसको वरीपरीको भूगोलमा थारु समुदायको बाहुल्यता छ । यस पटक टीकापुर वडा नम्बर १ को भोट निर्णायक हुने देखिन्छ । जहाँ पहाडी समुदायको बसोबास छ ।

१६ उम्मेदवारमध्ये जनक जोशीपुर क्षेत्रका एक्लो उम्मेदवार हुन् । जोशीपुर अर्का सिनियर नेता रामजनमको गृह क्षेत्र पनि हो । मधेशी जनाधिकार फोरममा संगै चुनाव जितेका जनक र रामजनम काँग्रेसमा भने फरक समूहमा छन् । सभापति गगन थापा समूहबाट टिकट पाएका जनकलाई देउवा समूहका रामजनमले साथ दिन्छन् कि दिदैनन्, त्यसले जोशीपुरको मात्र नभएर क्षेत्र नम्बर १ कै भोटलाई तलमाथि गर्ने देखिन्छ ।

थारु र पहाडी समुदायको भोट यस पटक एकलौटी रुपमा कुनै पनि उम्मेदवारलाई नखस्ने भएकोले उम्मेदवाहरुबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो ! गृह प्रशासनले बढायो सक्रियता

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न गृह प्रशासनले सक्रियता बढाएको छ । यही फागुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको हो । त्यसलाई रोक्न आयोगले स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिएसँगै आचारसंहिताको पालना भएको वा नभएको सूक्ष्म तवरमा नियाल्न सक्रियता अघि बढाएको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बिहीबार पत्राचार गरेको छ । निर्वाचन पूर्व र निर्वाचनको अवधिमा आचारसंहिता उल्लंघनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ । यस निर्वाचन आचारसंहिताका पालनाको अवस्था सूक्ष्म रूपमा नियाल्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृहमन्त्री ओमप्रकाश अर्यालसँगै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको थियो ।

यसैबीच आयोगले निर्वाचन आयोगले गत मंगलवार ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारीअनुरूप नियमित अनुगमन गरी प्रभावकारी रूपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउन निर्देशन जारी गरेको हो ।

आयोगले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि आयोगले जनाएको छ ।

यसअघि निर्वाचन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

प्रतिनिधिसभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरेको गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिसकेको छ । आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको छ । उम्मेदवार, राजनीतिक दलका नेताको आक्रोश तथा उत्तेजनात्मक अभिव्यक्तिलाई सुरक्षा अधिकारीहरूले सुरक्षाको चुनौतीको कारण मानेको छ ।

 

निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

काठमाडौं- निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा आचारसंहिता उल्लंघनका २१ घटना भएका छन् । यीमध्ये पाँच वटाको मात्रै जवाफ आएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले १० दिनमा २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटाको मात्रै जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार बाँकी जवाफका लागि ताकेता भइरहेको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न भनेर आयोगले यही ४ माघबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यसबीचमा आचारसंहिता उल्लंघनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लंघनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण लिने कार्य निर्वाचन आयोगले गर्दै आएको छ ।

प्रवक्ता भट्टराईका अनुसार निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकबाट पनि बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ ।

साथै, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका अन्य विषयमा हेर्नेगरी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषय हेर्ने कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

निर्वाचनका लागि भारत सरकारले दियो नेपाललाई २२० वटा गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो ।

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए। अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारी साधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए।

यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारी साधन नेपाललाई हस्तान्तरण गरेको थियो ।

राप्तीका तत्कालीन उपकूलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो।

अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा.बोम विसी, बायोमेडिकल इन्जिनियरहरू,अन्य कर्मचारी तथा हिमालयन मेडिटेक प्रालि र कम्पनीका सञ्चालकहरू अमर श्रेष्ठ र सन्जु राजकर्णिकारसमेतको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ। उनीहरूविरुद्ध प्रतिव्यक्ति ७ करोड ३१ लाख ८२ हजार ९८५ लाख विगो माग गरिएको छ।

सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन गर्दै खरिद गुरुयोजना र आवश्यकताको पहिचानबिनै सीटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाइएको,प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान त्रुटिपूर्णरूपमा तयार गरिएको तथा राष्ट्रियस्तरको बोलपत्रमा अन्तर्राष्ट्रिय प्रावधान घुसाइएको अख्तियारको दावी छ।

यस प्रक्रियाबाट सिटी स्क्यान मेसिन खरिद,प्रतितपत्र,भन्सार तथा बैंक शुल्कसमेत गरी ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भुक्तानी गरिएको र यसले प्रतिष्ठानलाई अतिरिक्त आर्थिक भार परेको अख्तियारको दाबी छ।

अख्तियारले सबै प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ अन्तर्गत कैद,बिगो बराबर जरिवाना र बिगो असुल उपरको सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्न रुपन्देही अदालतद्वारा अस्वीकार

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न गरिएको निवेदनलाई रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीको अभियोग यथावत् राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत निवेदन पेश गरेको थियो। तर, सो निवेदन कार्यान्वयन गर्न अदालतले नमानेको हो।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उक्त विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म निवेदन पेश नगर्नू भन्ने आदेश भएको छ। माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतमा परेको रिटको अन्तरिम आदेशसम्बन्धी विषयमा अन्तिम निर्णय आएपछि मात्र पेश गर्नू भन्ने आदेश दिएको उनले जानकारी दिए।

यससँगै, महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रयास हालका लागि रोकिएको छ।

पुस महिनामा देशभर गाडी दुर्घटनामा २ सय ३८ जनाको ज्यान गयो

काठमाण्डाै- गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।

पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

चुनावका बेला सेनाले ४ वटा मुकाम बनाएर हवाई गस्ती गर्ने

काठमाण्डाै – नेपाली सेनाले यस पटक चुनावलाई लक्षित गरेर हवाई गस्तीका लागि देशका चार वटा ठाउँमा सुरक्षा बेस स्थापना गर्ने भएको छ । चुनावका बेला सेनाले आफ्ना हवाई साधनहरू सुर्खेत, पोखरा, काठमाण्डाै, विराटनगर र इटहरीमा तैनाथ गर्ने भएको हो । त्यहाँ रहेका हेलिकोप्टरहरू आवश्यक परेको ठाउँमा जानेछन् ।

चुनावका लागि तय भएको एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै ७८ हजारभन्दा धेरै सैनिक चुनावको सुरक्षामा खटिने उल्लेख छ । मतदानका दिन हरेक मतदान केन्द्रमा सुरक्षाको तेस्रो घेरामा सेना रहनेछ ।

हामी अध्याँरो हटाउँछौं, उज्यालो ल्याउँछाैं: कुलमान

काठ्माण्डौ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको अध्याँरो हटाउन र विकासको काम गर्न आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।

आगामी निर्वाचनको प्रचारप्रसारका सिलसिलामा काठमाडौंको बसन्तपुर क्षेत्रमा घरदैलो तथा हेरिटेज वाकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने र उज्यालो ल्याउने शक्ति भएको दाबी गरे। उनले भने, ‘हामी अध्याँरोलाई हटाउँछौं। यो उज्यालो ल्याउने र काम गर्ने पार्टी हो, त्यसैले सबै मतदाताले उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास छ।’

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-७, ८ र ९ का उम्मेदवारसहित बसन्तपुर दरबार स्क्वायर क्षेत्रका विभिन्न मन्दिरहरूको दर्शन गर्दै उनले देशलाई समृद्ध बनाउन भगवानसँग शक्ति मागेको बताए।

उनले भने, ‘मैले पहिले पनि दर्शन गरेको थिएँ, तर आज विशेष रूपमा सबै मन्दिरमा पुगेर शक्ति र वर मागेको छु।’

देशभर पार्टीको चुनावी माहोल कस्तो छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा घिसिङले स्थिति उत्साहजनक रहेको बताए।

उनले देशभर १२१ स्थानमा आफ्नो पार्टीले उम्मेदवारी दिएको जानकारी दिँदै भने, ‘देशैभर अभियान सुरु भइसकेको छ। धेरै ठाउँमा हामी कडा प्रतिस्पर्धामा छौं र धेरै स्थानमा जित्छौं भन्ने विश्वास लिएका छौं।’

बिहीबार १७.५३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

वाणिज्य बैंकहरूको समग्र नाफा साढे ११ प्रतिशतले बढ्यो

काठमाण्डाै- चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा ११ दशमलव ५१ प्रतिशतले बढेको छ । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार नाफामा सुधार आएको हो ।

गएको आर्थिक वर्षको पहिलो ६ महिनामा २० वटा वाणिज्य बैंकले गरी कुल २७ अर्ब ४३ करोड ६९ लाख नाफा कमाएकामा यो वर्षको त्यही अवधिमा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ११ वटाको नाफा बढेको छ । ८ वटाको नाफा घटेको छ भने लक्ष्मी सनराइज बैंक घाटामा गएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिलको यो नाफा गएको वर्षको तुलनामा ४६ दशमलव ७१ प्रतिशतले बढेको हो ।

प्रतिशतका हिसाबले भने कुमारी बैंकले सबैभन्दा धेरै फड्को मारेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड ५७ लाख नाफा गरेको कुमारी बैंकले यसपालि ८ सय ८६ दशमलव ४३ प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ पुर्‍याएको हो ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले नाफामा १ सय ८३ दशमलव ०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १ सय ३२ दशमलव ०४ प्रतिशतले वृद्धि गरेका छन् ।

 

कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्‍याउने दाउमा

कञ्चनपुर- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ ।

राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन् ।

राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १ मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तारा लामा तामाङसँग पराजित भएकी थिइन् ।

नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना भने २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा छिन् ।

क्षेत्र नं १ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसँगको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा छन् । स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं १ मा प्रमुख तीन राजनीतिक दलबिच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी भिडन्त रोचक हुँदै छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा छन् । लगातार यहाँबाट चुनाव लड्दै आएका साउँद २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।

उनले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै निर्वाचित भएका थिए। यो पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्रलाई रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाएका छन् नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ । माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनावी भिडन्त हो ।

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं ३ आसन्न निर्वाचन चर्चाको केन्द्रमा छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिन्छ ।

पार्टी सङ्गठनका हिसाबले कञ्चनपुर क्षेत्र नं ३ नेपाली कांग्रेसका लागि मजबुद क्षेत्र मानिन्छ । यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी भए । तर हाल कांग्रेसभित्रको आन्तरिक कलह र विवाद भइरहँदा यहाँबाट कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट ल्याएका छन् । तर निर्वाचनमा बाजी मार्न भने निकै मेहनत गर्नुपर्ने स्थानीयको भनाइ छ ।

पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका बोहरालाई कांग्रेसको विरासत निर्वाचन जितेर जोगाउनुपर्ने चुनौती छ । उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा.दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ ।

भट्टले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए । २०७९ सालमा भने कांग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पारजित गर्दै विजयी भएका थिए ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिन्छन् । प्रदेशसभा सदस्य भइसकेका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ । यो क्षेत्रमा यो पटक नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुबिच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिए ।

“९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,” सचिव भट्टले भने, “विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय गराउने काम भइरहेको छ ।”

त्यसैगरी नेकपा (एमाले)का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको बताए । “पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,” उनले भने, “हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ ।” -रासस

मौसममा सुधार आएसँगै आन्तरिक उडान सुचारू

काठमाडौँ।आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ ।

काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो ।

निर्वाचन तयारीका विषयमा गृहमन्त्री र आयोगबीच छलफल

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगबीच छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे बिहीबार गृहमन्त्री अर्याल र आयोगका पदाधिकारीबीच छलफल भएको हो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत थिए ।

तीन दिनमा तहल्का मच्चाएको भाइरल एआई असिस्टेन्ट

काठमाडौँ । मात्र तीन दिनमा एउटा ओपन-सोर्स एआई असिस्टेन्टले इन्टरनेटमा तहल्का मच्चायो, विवादमा फस्यो र अन्ततः आफ्नो नाम बदलेर ‘मोल्टबोट’ को रूपमा पुनरागमन गर्‍यो । केवल कुराकानीमा मात्र सीमित नभई प्रयोगकर्ताको कम्प्युटरमै छिरेर काम गरिदिने प्रतिज्ञाका साथ आएको यो एआई टुल्सले प्रविधि क्षेत्रलाई निकै तरङ्गित बनाएको छ ।

यस छोटो अवधिमा क्रिप्टो स्क्यामरहरूको आक्रमण, अकाउन्ट ह्याक र एआई कम्पनी ‘एन्थ्रोपिक’ बाट नाम परिवर्तन गर्न आएको चेतावनी जस्ता रोचक घटनाक्रमहरू देखिए ।

अस्ट्रियाली विकासकर्ता पिटर स्टेनबर्गरले निर्माण गरेको यो एआई असिस्टेन्ट ‘सिरी’को वास्तविक विकल्पको रूपमा चर्चामा छ। यो केवल आवाजमा आधारित खेलौना नभई ह्वाट्सएप, टेलिग्राम, स्ल्याक र आईम्यासेज जस्ता एपहरूमा साथी जस्तै बसेर काम गर्ने सहयोगी हो ।

यसले पुराना कुराकानीहरू सम्झन्छ, कामको रिमाइन्डर पठाउँछ र अनुमति दिएमा कम्प्युटरका कमाण्डहरू चलाउने वा कार्यहरू स्वचालित समेत गरिदिन्छ। यो कुनै विशेष हार्डवेयरमा मात्र नभई क्लाउड, च्याटजीपीटी वा जेमिनाई जस्ता ठुला एआई मोडेलहरू प्रयोग गरेर सञ्चालन हुन्छ।

गिटहबमा सार्वजनिक भएको २४ घण्टाभित्रै ९ हजार स्टार पाएको यो प्रोजेक्ट ६० हजार स्टार पुग्दा नपुग्दै विवादमा तानियो। ‘क्लड’ (Clawd) नाम एन्थ्रोपिकको ‘क्लाउड’ (Claude) सँग मिलेको भन्दै ट्रेडमार्कको विवाद आएपछि स्टेनबर्गरले यसलाई ‘मोल्टबोट’ नामाकरण गरे।

नाम परिवर्तन गर्ने प्रक्रियामा बोटहरूले पुरानो युजरनेमहरू कब्जा गर्ने र क्रिप्टो स्क्याम चलाउने प्रयास गरे। यतिसम्म कि एआईलाई आफ्नो लोगो रिडिजाइन गर्न दिँदा झिङ्गे माछाको शरीरमा मानिसको अनुहार भएको अनौठो चित्र बनाएपछि यो इन्टरनेटमा ठुलो मिमसमेत बन्यो।

अराजकताका बिच पनि मोल्टबोटको प्रविधिले धेरैलाई प्रभावित पारेको छ। अधिकांश एआईका लागि वेबसाइट खोलेर प्रश्न सोध्नुपर्ने झन्झट हुन्छ, तर मोल्टबोट प्रयोगकर्ताले दैनिक प्रयोग गर्ने म्यासेजिङ एपभित्रै उपलब्ध हुन्छ।

यसले एआईलाई केवल च्याटबोट मात्र नभई वास्तविक व्यक्तिगत सहयोगीको रूपमा विकास गर्ने बाटो देखाएको छ। एन्ड्रि कार्पाथी जस्ता दिग्गज एआई अनुसन्धानकर्ताले समेत यसको प्रशंसा गरेका छन्।  -एजेन्सी

प्रचण्डको एकता प्रस्तावमा विप्लवको टिप्पणी : यो थोत्रो जालझेल र बासी हुइयाँ मात्र

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट एकताका नाममा राजनीतिक जालझेल भइरहेको टिप्पणी गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सबै माओवादी शक्तिहरूलाई एकताको प्रक्रियामा आउन गरेको आह्वानप्रति लक्षित गर्दै विप्लवले यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव विप्लवले कम्युनिष्ट आन्दोलन र एकताका सन्दर्भमा आफ्नो पार्टीको धारणा स्पष्ट पारेका छन् । उनले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुनेहरूले एकताको कुरा गर्नु ‘बासी र असफल हुइयाँ’ मात्र भएको दाबी गरे ।

प्रचण्डको एकता प्रस्तावलाई कटाक्ष गर्दै विप्लवले लेखेका छन्, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिष्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो ।’

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं- शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

जसमा २२ हजार दुई सय जनाले १० कित्ताका दरले दुई लाख २२ हजार कित्ता सेयर पाएका छन् । कम्पनीले वैदेशिक रोजगारका लागि निष्कासन गरेको आईपीओमा ७१ हजार ५७७ जनाले १० लाख पाँच हजार कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओको नतिजा सीडीएस र बिक्री प्रबन्धको वेबसाइटबाट हेर्न सकिनेछ ।

टी-२० विश्वकप : भारतपछि नेपालको खेलका टिकट सबैभन्दा धेरै बिक्री

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाली क्रिकेट टोलीको खेलका लागि टिकटको ठूलो माग देखिएको छ।

मुम्बईको वाङखेडे स्टेडियममा हुने नेपालका चार खेलका टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको समाचार संस्था मिररले उल्लेख गरेको छ ।

टाइम्स अफ इन्डिया पत्रिकामा पनि प्रकाशित भएको समाचारमा उल्लेख भएको स्रोतका अनुसार भारतपछि नेपालका खेलका टिकट सबैभन्दा धेरै बिक्री भएका छन् । यसले नेपाली क्रिकेटको लोकप्रियता देखाएको समाचारमा उल्लेख छ।

यस प्रतियोगितामा वाङखेडे स्टेडियमलाई नेपालका लागि ‘होम भेन्यू’ बनाइएको छ। नेपालले यही मैदानमा चार खेल खेल्नेछ ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ भने फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डविरुद्ध खेल्ने छ।

त्यसअघि नेपालले दुई अभ्यास टी-२० खेल अनि दुई वार्म अप खेल पनि खेल्नेछ ।

दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी

काठ्माण्डौ- विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा आज सुनुवाइ हुँदैछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ जनाविरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ। त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरे बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको जनाएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग छ। २०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेल समेतले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एण्ड सीएस) विलिङ प्रणालीका लागि सम्झौता गरेका थिए।

जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन, वायरलेस ब्राडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अपडेट गर्नु रहेको थियो।

बाजुराका महिलालाई चेलत्यार दिने चटारो

बाजुरा । बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिन भ्याइनभ्याइ छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा विवाह गरेर घरमा रहेकी चेलीलाई माघ महिनाभरि चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ । त्यही प्रचलन अनुसार महिलालाई आफ्ना चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो परेको हो ।

प्रत्येक वर्षको माघ १ गतेदेखि अन्तिमसम्म स्थानीयले विवाह गरेर श्रीमान्को घर गएकी चेलीलाई चेलत्यार दिने प्रचलन कायमै रहँदै आएकाले यहाँका महिलालाई यतिबेला चेलत्यार दिने चटारो परेको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी सरिता खत्रीले बताए । उनले भने, “माइती घरदेखि विवाह गरेर पोइलीघर गएकी जुनसुकै छोरीलाई यो माघ महिनाभित्र अर्थात् माघ अन्तिमसम्म चेलीलाई उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडो) दिने चलन छ ।” आफ्नो माइती नभएका अर्थात् आमाबुवा, दाइ, भाउजू नभएका छोरीचेलीलाई भने यो महिना निकै खल्लो हुने गरेको खत्रीले बताए ।

बाजुरामा माघको महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात् त्यार दिने गर्छन् । माइतमा कोही नभएका दिदीबहिनीलाई माघ महिनाभरि बस्न मुस्किल हुन्छ । माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीतसमेत गाएरै बिताउने गर्छन् ।

माघ महिनाभरि छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ (सेलपुरी बनाएर चेलीलाई दिने काम) ल्याउलान् भन्ने पर्खाइमा हुन्छन् । माघ महिना चेलीहरूको माइती गाउँदेखि त्यार ल्याउने आशलाग्दो महिना हो । प्रायः यो महिनाभरि यहाँका धेरै महिला दिदीबहिनी माइती घरदेखि पाहुनाको पर्खाइमा बस्ने गर्छन् । उनीहरू बिहान बेलुकीसम्म कोही आउँछन् कि भन्ने आशमा बस्ने गर्छन् । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, बैतडी, डडेलधुरा तथा डोटीमा पनि छोरीलाई त्यार दिने अर्थात् ‘चेली त्यार’ दिने प्रचलन कायमै छ ।

छोरीलाई दिइने त्यारमा सेल, मास लगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्ता दिन पुग्ने गरी दिने चलन छ । माघ महिनाभर सुदूरपश्चिमका कैलाली, कञ्चनपुरबाहेक अन्य सबै जिल्लामा जताततै कोसेली बोकेर छोरीज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गर्छन् ।

माघ महिनाभित्र त्यार दिइसक्नु पर्छ । यदि यो महिनाभित्र त्यार दिन सकिएन भने फागुनको १/२ गतेसम्म पनि दिनुपर्ने हुन्छ । माघ महिनाभित्र त्यार दिन नसकेपछि फागुनमा त्यार दिँदा चोली र गुनियोसमेत दिनुपर्ने प्रचलन रहिआएको छ ।

बझाङबाट बाजुरातिर बालेन

काठमाडौँ- सुदूरपश्चिम क्षेत्रको चुनावी प्रचारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अहिले बझाङमा छन्। उनी आज बिहानदेखि नै बझाङका विभिन्न स्थानमा पुगेका छन्। अब केही समयपछि बाजुरा लाग्दैछन्। उनले सामाजिक सन्जालमा दिएको जानकारी अनुसार अब बाजुरा लाग्ने तयारी छ।

उनी आजै अछाम पनि पुग्ने कार्यक्रम छ। अछाम २ बाट उनका पूर्वस्वकीय सचिव भुपदेव शाह उम्मेदवार छन्। भुपदेवका अनुसार आज साफेबगरसहितका क्षेत्रमा बालेन पुग्नेछन्। आगामी फागुन २१ मा हुने आम निर्वाचनको तयारी स्वरूप बालेन देशव्यापी भ्रमणमा छन्।

यसअघि पूर्वी क्षेत्र पुगेका उनी अहिले सुदूरपश्चिममा छन्। उनी आगामी निर्वाचनमा झापा ५ मा भिड्दैछन्।

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

धनगढी । प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ । छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ । उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ ।

यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ । यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन् । चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ ।”

कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका सबै पालिकामा छाडा चौपायाको समस्या छ । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले करोडौँ खर्च गरिसकेका छन् तर समस्या अझै ज्युँका त्युँ छ ।

दिनभर जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा पुगेर कृषिबालीमा नोक्सान गर्ने गरेको किसानले बताएका छन् । बाली जोगाउन रातभर खेतमा जाग्राम बस्ने र दिनभर घरकै काममा व्यस्त रहने गरेका कारण चुनावप्रति खासै चासो नदिएको कैलारी गाउँपालिका–५ का कृषक बाँधुराम डङ्गौराले बताए । उनले रातभरि खेतमा बसेर बाली खान आएका चौपायालाई धपाउने गरेको उल्लेख गरे ।

चुनाव आएका बेला राजनीतिक दल र नेताले छाडा चौपाया समस्या समाधानसहित किसानलाई आवश्यक पर्ने कृषि सामग्री, मलखादलगायतबारे चिल्ला कुरा गर्ने तर जितेपछि समस्या नहेर्ने गरेको किसानको गुनासो छ । कृषिप्रधान देशमा किसान समस्यैसमस्याबाट गुज्रिँदै आएको भन्दै उनीहरूले दलका नेता, उम्मेदवारलाई किसानको समस्यालाई चुनावी एजेन्डामा समेट्न आग्रह गरेका छन् ।

सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० कायम भएको छ।

अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। तोलामा २०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सोही परिमाणको चाँदी ७ हजार ३०० रुपैयाँ मा खरिदबिक्री भएको थियो।

जसपा नेपालका आठ नेता निष्कासित

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले ८ जना नेतालाई निष्कासित गरेको छ। पार्टीको नीति विपरीत आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले उनीहरूलाई निष्कासित गरेको हो।

निष्कासितमा पर्नेहरूमा प्रदीप यादव, चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा. शिवजी यादव छन्।

‘आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हीत, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले तपसिलका व्यक्तिहरूलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको व्यहोरा जानकारी गराउँदछौं,’ संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

null

अन्तरिम सरकारले जनताको विश्वास जित्न सकेन : राष्ट्रियसभा सदस्यहरू

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरूले युवाहरूको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वाससमेत जित्न नसकेको बताएका हुन्। उनीहरूले नागरिक सरकारमा गएका मन्त्रीहरूले निर्वाचन अगावै राजीनामा दिएर सुशासनको एजेण्डलाई लत्याएको आरोपसमेत लगाए।

विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिए पनि सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले अर्कालाई नैतिक प्रश्न सोध्नेहरू जिम्मेवारीबाट भागेर जनताको विश्वासलाई तोड्ने काम भएको उल्लेख गरे।

त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भन्ने सरकारका मन्त्रीहरूले बीचैमा सरकार छाडेर निर्वाचनको दायित्वबाट भागेको आरोप लगाए। यस्ता मान्छेहरू निर्वाचित भएर आए सुशासनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ।

त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संविधानलाई जोगाउनका लागि निर्वाचन गराउन सरकार प्रतिवद्ध देखिएको भन्दै धन्यवाद दिए। उनले जेनजी आन्दोलनको अपेक्षा अनुसार वर्तमान सरकारसमेत अघि बढ्न नसकेको उल्लेख गरे।

त्यस्तै अन्य सदस्यहरूले निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएका थिए। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन पेस गरेका थिए। अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक माघ १९ गते सोमबार बोलाइएको छ।

आणविक योजना सार्वजनिक गर्ने किम जोङ उनको तयारी

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् ।

राज्य सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उनको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।

केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

विज्ञहरूका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीहरूले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबीचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीहरूले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडानक्रममै मार्गनिर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणालीहरू आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताए । उनले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजनाहरू’ घोषणा गर्ने महत्त्वपूर्ण मञ्च हुने स्पष्ट पारे ।

फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकताहरू निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी–एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकहरूका अनुसार यी गतिविधिहरू सम्मेलनअघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।

केसीएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुनेछ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडहरूलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

खोज्नुहोस