आठौं राष्ट्रिय खुल्ला कराते माघ १६ र १७ मा

काठमाडौं- नेपाल सोतोकान कराते संघ (इसकेआई) ले आफ्नो स्थापनाको २८औं वर्ष पार गरेको अवसरमा ‘आठौं राष्ट्रिय खुल्ला कराते प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ।

प्रतियोगिता २०८२ माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका ४९ जिल्लाबाट छनोट गरिएका करिब ५०० जना खेलाडीहरू सहभागी हुनेछन्।

संघका अनुसार प्रतियोगिताले बालबालिकादेखि अनुभवी खेलाडीहरूसम्मलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

यसले नेपाली करातेको स्तरवृद्धि, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आधार तयार गर्ने विश्वास लिइएको छ।

नेपाल र चीनबीच सीमापार भुक्तानी सहज गरिने

काठमाडौँ  : नेपाल र चीनबीच सीमापार भुक्तानीलाई सहज गरिने भएको छ । यस विषयमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच छलफल भएको हो ।

‘अन्तर्राष्ट्रिय भुक्तानी बैंक’द्वारा चीनको थिआनचिनमा आयोजित बैकिङ सुपरिवेक्षणसम्बन्धी २०औं एसिया–प्रशान्त उच्चस्तरीय बैंठक’को अवसरका गभर्नरद्वयबीच भेटवार्ता भएको थियो । भेटमा गभर्नरद्वयबीच अन्तरदेशीय भुक्तानी सहजीकरण, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीलगायत विषयमा छलफल भएको थियो ।

भेटका क्रममा वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ, र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो । यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको राष्ट्र बैंकले बताएको छ ।

सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखेका थिए ।

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरे ।

भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत सहभागिता थियो ।

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।

बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बैंकमा खाता खोल्नका लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रूपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन्।

यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फत प्रदान गर्नुपर्नेछ। तत्पश्चात्, आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ। यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो। भविष्यमा यस्ता सेवालाई बैंकले अरू स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ।

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

महेन्द्रनगर- सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका छन् ।

पहाडी जिल्ला अछाममा दुई वटा क्षेत्र छन् भने बाँकी छ पहाडी जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेका छन् ।

प्रदेशमा प्रदेशस्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरुले काम गरिरहेका छन् । एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल मानिएका छन् भने यहाँ दुई हजार १९९ मतदान केन्द्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुदूरपश्चिमको ठूलो जिल्ला कैलाली हो । यहाँका १०८ मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

‘अतिसंवेदनशीन मतदानस्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध बढाइन्छ’, उनले भने, ‘हामीले जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षामा योजनासहित अघि बढेका छौँ ।’

कञ्चनपुरका १३२ मतदानस्थलमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कूल ७७ मतदानस्थल रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको छ ।

सुदूरपश्चिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने छ । यहाँ नेपाल प्रहरी मात्रै सात हजारभन्दा बढी परिचालन हुने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । स्वतन्त्र र राजनीतिक दलका गरी यहाँ १६ वटा प्रतिनिधिसभा सदस्यका लागि २०६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

म ‘पब्लिक डिबेट’का लागि तयार छु : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए।

उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छ। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’

भावी प्रधानमन्त्रीबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस चलिरहेको छ। एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

नेकपाले भावी प्रधानमन्त्री नतोकेपछि प्रचण्डले पब्लिक डिबेट’का लागि आफू तयार रहेको बताएका हुन्। एमाले अध्यक्ष ओली, कांग्रेस सभापति थापा पनि तयार नै देखिएपनि बालेनले अस्वीकार गर्दै आइरहेका छन्।

उनले देश अझै सङ्कटमुक्त नभएको भन्दै निर्वाचनलाई धाँधलीरहित बनाउन लाग्नुपर्ने बताए। उनले देश कसैको स्टन्टबाजीमा नचल्ने बताए।

बझाङको विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अवस्थाका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारी भुक्तानी लिएको पाइएको छ । नभएको कामलाई पनि भएको भनी देखाइएको र सामाजिक सुरक्षा कर, बहाल कर लगायतका शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम समेत विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुलेको अख्तियाको भनाइ छ ।

मुद्दा दायर गरिएकाहरूमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट रहेका छन् । उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।

उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चुनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।

अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठुलो सङ्कट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे ।

उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरू नै सत्तामा आउने गरेको भन्दै यस पटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरे ।

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी मागेका छन्। रास्वपावरिष्ठ नेता बालेन्द्र साहसँगै सुदूरपश्चिम पुगेका उनले डडेलधुरामा खिचिएको तस्बिर फेसबुकमा राखेर डोटेली भाषामा माफी मागेका हुन्।

‘डडेलधुराका मान्छेहरूलाई धेरैधेरै धन्यवाद। तपाईंको १३ हजार ४२ मतले अब यो देश बनाउन लाग्या छ। ठूला सपना देख्दा साना–साना गल्ती हुन सक्छन्, माफ गरिदिनु होला’, उनले भनेका छन् ।

सागरले डडेलधुराबाट गुल्मी गए पनि भेट हुने बताएका छन् । ‘तपाईंको माया कहिल्यै नभुलुँला। डडेलधुराबाट गुल्मी जान लागेको छु, फेरि छिट्टै भेटौँला’, उनले भनेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागरले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए। स्वतन्त्र उम्मेदवार उनले १३ हजार ४२ मतसहित देशभर चर्चा बटुलेका थिए । यस पटक उनी गृहजिल्ला गुल्मी–१ बाट उम्मेदवार छन् ।

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने

काठमाडौँ- भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसारणबारे जानकारी दिईएको हो । कन्तिपुरले विश्वकपका सबै खेलहरु नेपाली कमेन्ट्रीसहित कान्तिपुर म्याक्स–२ बाट तथा अङ्ग्रेजी कमेन्ट्रीसहित कान्तिपुर म्याक्सबाट गर्नेछ । प्रत्येक खेलको विज्ञसहित प्रि–म्याच र पोस्ट–म्याच कार्यक्रम सञ्चालन गरिने पनि बताईएको छ ।

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

सेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं- नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ४२ अंकले ओरालो लागेको नेप्से परिसूचक यसदिन ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा अडिएको छ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। यसदिन ३३४ स्क्रिप्सको २ करोड ३६ लाख  १८ हजार  १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख  ८९ हजार  १८५ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार  १४ अर्ब १६ करोड बराबरको सेयर कारोबार भएको थियो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा तीनवटा कम्पनीको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो। कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर १० प्रतिशतले बढ्दा मिथिला लघुवित्त वित्तीय संस्था,पिपुल्स पावर र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले ५४ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले ४९ करोड,युनाइटेड मोदी हाइड्रोपावरले ४८ करोड र रिभर फल्स पावरले ३० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १४१ वटा स्टक्सको मूल्य बढ्दा ११२ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन ८ समूहको उपसूचक बढ्दा पाँच समूहको उपसूचक नकारात्मक देखिए।

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताकाे छैटौँ स्थानमा उक्लिए

काठमाण्डाै – आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र २ स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् ।

टी–२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीहरू कुशल भुर्तेल २४औँ, राेहित पाैडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ स्थानमा छन् । यो वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा, दोस्रो स्थानमा पाकिस्तानका सइम अयुब र तेस्रो स्थानमा भारतका हार्दिक पान्ड्या छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ७५औँ, राेहित पाैडेल ७७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७९औँ स्थानमा छन् । याे वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा, दोस्रो स्थानमा इङ्ग्ल्यान्डका फिल साल्ट र तेस्रो स्थानमा भारतकै तिलक वर्मा यथावत् छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा नेपालका ललित राजवंशी ७५औँ, दीपेन्द्रसिंह ऐरी ७९औँ र सन्दीप लामिछाने ८३औँ स्थानमा छन् । याे वरीयताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती, दोस्रो स्थानमा अफगानिस्तानका राशिद खान र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा छन् ।

टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ । टी–२० वरीयतामा पाकिस्तान १ स्थान सुधार गर्दै छैटौँ स्थानमा आइपुग्दा वेस्ट इन्डिज १ स्थान तल झरेर सातौँ स्थानमा छ । यो वरीयताको शीर्ष तीनमा भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड यथावत् छन् ।

 

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

पाल्पा । ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन’ तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भनिन्, ‘जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।’

जनताले आफूहरूलाई जिताएर नै पठाएका हुन् तर बैठकमा केही कुरा राख्दा पुरुष जनप्रतिनिधिले सरकारले नै तिमीहरूलाई केही अधिकार दिएको छैन भनेर टारिदिने गरेको उनी बताउँछिन् । आफूहरू बजेट र कानुन पास गर्ने बेलामा ताली बजाउन मात्र साक्षीका रूपमा सहभागी हुने गरेको उनको गुनासो छ । कानुनमा दलित महिला प्रतिनिधि राख्नुपर्ने प्रावधानलाई पालना गरेको देखाउन मात्र आफूहरू राखिएको अनुभूति भइरहेको रणपालको बुझाइ छ ।

उनले दलित महिला जनप्रतिनिधि भएकै कारण दलितहरूको पक्षमा काम गर्न नपाएको बताइन्उ । संविधान र कानुनमा दलित र महिलाका लागि अनेकथरी व्यवस्था भए पनि व्यवहारमा त्यो लागू गर्न बजेट नहुने गरेको उनको भनाइ छ । अर्की दलित महिला सदस्य मञ्जु विकलाई तीन वर्षअघि धेरै काम गर्न सक्छु भन्ने लागेको थियो । काम गर्ने उत्साह पनि थियो तर तीन वर्षको उनको अनुभव भन्छ, ‘अवसरले मात्रै नपुग्दो रहेछ, जिम्मेवारी पनि दिइनुपर्दो रहेछ । उहाँ महिलालाई अवसरसँगै कार्यस्थलमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउँछिन् ।

तानसेन–६ की दलित महिला सदस्य सुस्मिता गहतराजको गुनासो उस्तै छ । वडा कार्यसमितिको बैठकमा आउने, टोलमा केही गतिविधि भए जानेबाहेक अरू त्यस्तो काम केही नभएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘वडाध्यक्षको जिम्मेवारी नै धेरै देखिन्छ । अध्यक्षले खटाएको काम गर्ने हो । कतै कार्यक्रम भए अध्यक्षले जानुस् भनेपछि जान्छु,सुरुमा त कार्यक्रममा जाँदा आफ्नै परिचय दिन पनि अप्ठ्यारो लाग्थ्यो ।’

दलित समुदायको प्रतिनिधित्व गरेर निर्वाचित भएकी तानसेन–१३ की दलित महिला सदस्य बसुन्धरा दमाइलाई वडामा के योजना आयो ? बजेट के कस्तो छ ? भनेर सोध्नेहरू पनि प्रशस्तै छन् तर बजेट छुट्याउने, योजना छुट्याउने ठाउँमा उनको पहुँच छैन । ‘भोट माग्ने, हामीलाई योजना नदिने भनेर गुनासो त गर्छन् तर हामी पनि जिम्मेवारी केही पाएनौँ भनेर गुनासो नै गरिरहेका छौँ’, उनले भनिन् । आफूले प्रतिनिधित्व गरेको वर्ग र समुदायका लागि केही गर्न नसकिएको उनको गुनासो छ । ‘अहिले गाउँमा जाँदा हरेकका गुनासो मात्रै सुन्नुपर्छ’, उनले भनिन्, ‘बैठकमा कुरा उठायो भने महिला दलितका लागि आउने अलिकति बजेट छुट्याउँछौँ । अरू किन चाहियो भन्छन्  ।’

तानसेन–७ की दलित महिला सदस्य मीना परियारले वडाध्यक्ष र अन्य सदस्यलाई दिएको मत एउटै भए पनि सदस्यहरूलाई खासै भूमिका नदिँदा आफूहरू ओझेलमा परेको बताइन् । उनी भन्छन्, ‘हामी आफैँले पनि आफ्नो जिम्मेवारी माग्न सकेका छैनौं, उनीहरूले तिम्रो जिम्मेवारी यो हो, यो काम गर भनेर भनेका छैनन् ।’ वडाध्यक्षले दिएका जिम्मेवारी भने आफूहरूले इमान्दारिताका साथ पूरा गर्दै आएको उनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्जुमा कार्यान्वयन, अनुगमन गर्ने, तथ्याङ्क अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा संलग्न हुने, वडाभित्रका विकास निर्माणको काम र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकताअनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्नुपर्छ तर पुरुष जनप्रतिनिधिले जिम्मेवारी नदिंदा कार्यपालिकाको कार्यमा महिला जनप्रतिनिधिहरू साक्षी मात्र बन्नु परेको हो ।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भने स्थानीय सरकारमा महिलाहरूको उपस्थिति मात्र नभई निर्णय प्रक्रियामा पनि सहभागी गराउने गरिएको दाबी गरे । योजना छनोटदेखि वडामा हुने हरेक क्रियाकलाप र बजेटबारे सबै सदस्यहरूलाई जानकारी गराउने गरेको तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । ‘कार्यवाहक दिँदा सबैलाई समानुपातिक किसिमले दिने गरेको छु, हामी कहाँ हुनुभएका तीनै जना महिला वडा सदस्य र पुरुष सदस्यलाई आलोपालो गरेर कार्यवाहकको जिम्मेवारी दिइन्छ । सबै सदस्यहरूसँग सल्लाह गरेर नै वडामा हुने गतिविधि सञ्चालन हुन्छन्,’ उनले भने ।

कानुनले दलित महिलाको सहभागिता सुनिश्चित गरे पनि अर्थपूर्ण सहभागिताको अभाव देखिएको मानवअधिकारकर्मी सन्तवीर बराल बताउँन् । राज्यको मूल प्रवाहमा समावेश गराउनका लागि सशक्तीकरण गर्ने, आफ्नो भूमिका तथा अधिकारको दाबी गर्न महिलाहरू नसकेको उनको भनाइ छ । कानुनले त अधिकार दिएको छ तर उनीहरूको क्षमता अभिवृद्धि गर्ने, उनीहरूको सशक्तीकरणमा कुनै पनि स्थानीय तहले ध्यान दिएको पाइँदैन । पालिकाका प्रमुख/अध्यक्ष, वडाध्यक्षहरूले उनलाई नीति निर्माण तहको छलफल गराउने, योजना निर्माणमा सहभागी गराउने तथा नेतृत्व विकास गर्ने कार्यक्रममा सहभागी गराउन सके दलित महिला प्रतिनिधिहरूले आफ्नो भूमिका कार्यान्वयनमा आएको अनुभूति गर्ने उनको भनाइ छ ।

‘अवसर पाए नेतृत्व गर्न सक्छौँ’

यहाँका महिला जनप्रतिनिधिले अवसर पाए प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरू सक्षम रहेकोसमेत बताउने गरेका छन् । ‘हामी महिला जनप्रतिनिधिहरू विषयबस्तु माथि सही निर्णय र कार्यान्वयन गर्न दक्ष र क्षमतावान छौँ  तर पनि पटक–पटक विषयगत समितिको संयोजक माग गर्दा पनि जिम्मेवारी नपाउँदा दुःख लागेको  छ’, तानसेन–२ की महिला सदस्य सविता भट्टराईले भनिन् । जिम्मेवारी दिएमा पुरुषले भन्दा राम्रो काम गरेर देखाउँथ्यो तर जिम्मेवारी नपाउँदा अन्याय भएको कार्यपालिका सदस्य मञ्जु विकको भनाइ छ ।

नगरपालिकाको ७३ जनाको जनप्रतिनिधिहरूको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना महिलाहरूको सङ्ख्या रहेको छ । चौध वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीत गरेको छ । यहाँ ३३ जना महिलामध्ये खस आर्यमा आठ जना, जनजातिमा आठ जना र दलित १७ जनाको प्रतिनिधित्व छ । यहाँँ ३३ जना महिला जनप्रतिनिधिमध्ये एक उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य रहेका छन् । छ जना कार्यपालिका सदस्यमध्ये, तीन जना दलित,  तीन जना ब्राम्हण, क्षेत्री रहेका छन् । छ जना महिला कार्यापालिका सदस्यहरू प्रायः कार्यपालिकाको बैठकमा उपस्थित हुने गरेका छन् । नगरका ३१ जना महिला जनप्रतिनिधिले भने वडामा कार्यवाहक प्रमुख तथा निमित्त प्रमुखको कुशलतापूर्वक जिम्मेवारी समाल्दै आएका छन् । हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा  वडाध्यक्षको उम्मेदवारी दिने सोचमा रहेको बताएका छन् ।

द एशिया फाउण्डेशनको सहयोगमा दलित महिला केन्द्र नेपालले प्रभावकारी र समावेशी स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत यहाँका महिला जनप्रतिनिधिलाई ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिदै आएकाले पनि यहाँँका महिलाहरू जिम्मेवारीप्रति सचेत हुँदै आएको पाइन्छ । नगरका विभिन्न वडामा ‘महिला जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी, भूमिका, काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँदै आएको  केन्द्रकी कार्यक्रम अधिकृत निर्मला शाहीले बताइन् ।  उनले भनिन्, ‘काम गर्ने सिलसिलामा आइपरेका समस्याका बारेमा नियमित प्रशिक्षणमार्फत आफ्नो जिम्मेवारी र भूमिका स्पष्ट पार्छौँ । यसले गर्दा कार्यसम्पादनमा सहजता हुँदै आएको छ र महिला जनप्रतिनिधिहरू आफ्नो जिम्मेवारीप्रति सजग हुनुहुन्छ ।’

महिला सदस्य सुनिता श्रेष्ठलाई निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन । श्रेष्ठ महिला जनप्रतिनिधिको भूमिका, जिम्मेवारी तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी भएपछि भने अहिले जिम्मेवारीप्रति सजग छिन् । ‘जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका बारेमा पूर्ण ज्ञान थिएन’, उनले भनिन्,’जब महिला जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसम्बन्धी प्रशिक्षणमा सहभागी भई ज्ञान पाएपछि निकै सहज भएको छ ।’ कुन विषय कहाँ उठाउने, कसरी उठाउने, योजना कसरी माग गर्ने, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, फरफारक गर्ने प्रक्रियाका बारेमा  अहिले धेरै कुरा थाहा भएको उनको भनाइ छ ।

खासगरी स्थानीय तहमा संविधानले नै अनिवार्य गरेको हुँदा महिलाको प्रभावशाली उपस्थिति रहेको छ । संविधानतः कुनै पनि राजनीतिक दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला हुनुपर्छ । यद्यपि, यसमा पनि दलहरूले प्रमुखमा महिलालाई कमै विश्वास गरेका छन् र अधिकांश उपप्रमुखमै खुम्च्याइएका छन् । तर, महिला जनप्रतिनिधिहरूको कार्यसम्पादन पुरुषको भन्दा कमजोर नभएको बरु उनीहरूले पुरुषलाई पनि उछिनिरहेको वस्तुगत यथार्थ हो । घरधन्दा सम्हाल्नुपर्ने, घरपरिवार हेर्नुपर्ने जिम्मेवारीका बाबजुद उनीहरू आफ्नो जिम्मेवारीमा खरो उत्रिरहेका छन् । -रासस

भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उनले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गरेका छन् ।

उनका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उनको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उनले जोड दिए ।

फ्लोरिडाका पूर्व सिनेटरसमेत रहेका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीतिहरू कंग्रेसका सहकर्मीहरूसमक्ष स्पष्ट पार्ने भूमिकामा छन् । पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उनको चुनौती बनेको छ ।

भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गरेका छन् । उनले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताए । “भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिकहरू भूमिमा तैनाथ छैनन्”, उनको भनाइ छ ।

यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यहरूले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐनअन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन ।

यसबिच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ । अमेरिकी अधिकारीहरूले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइरहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागहरूबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उनको हितमा हुने विश्वास व्यक्त गरेका छन् ।

ती मागहरूमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

रोड्रिगेजले मङ्गलबार दुवै पक्षबीच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताएका छन् । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दीहरू रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेका छन् ।

कूटनीतिक सम्बन्ध पुनःस्थापनातर्फ एक महत्त्वपूर्ण कदमस्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ । सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रियाहरू बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ ।

यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गरेका छन् । मदुरोलाई हटाइएपछि वासिङ्टन आएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिएकी थिइन्, जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ । -एजेन्सी

सुदूर अब दूर नाइँ : बालेन

डडेलधुरा- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सुदूरपश्चिमप्रति आत्मीय सन्देश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन्।

सुदूरपश्चिम भ्रमणकै क्रममा बुधबार बिहान डडेलधुरा पुगेका बालेनले फेसबुकमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’ भन्दै स्टाटस लेखेका छन्।

सुदूरपश्चिम भ्रमणका क्रममा बालेन बुधबार बिहान डडेलधुरा पुगेका थिए। यहाँ पार्टीका नेता तथा कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेपछि उनी बैतडी हुँदै दार्चुला पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि दार्चुलाबाट बझाङ जाने कार्यतालिका रहेको पार्टीले जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

विमान दुर्घटना : महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित पाँचजनाको मृत्यु

काठमाडौं : महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावरसहित पाँचजनाको विमान दुर्घटनामा परी मृत्यु भएको छ। बुधबार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा उनीसहित पाँचजनाको मृत्यु भएको हो।

बिहान करिब ८ बजे मुम्बईबाट उडेको चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ ।

विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुन् । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता हुन्।  उनका श्रीमती र दुई छोरा छन्।

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब तान्ने

 काठ्माण्डौ- नेपाल राष्ट्र बैंकले आज बजारबाट २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर अपेक्षित रुपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो ।

केन्द्रीय बैंकले आज निक्षेप संकल उपकरणमार्फत ६३ दिनका लागि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, यता कर्जा लगानी भने ५१ खर्ब २८ अर्ब रुपैयाँ हाराहारी मात्र हुन सकेको छ ।

समीक्षा अवधिमा जम्मा ७४.२४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ । तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन । जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ । बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो। लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन्।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए। निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ।

काठमाडौंबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए। -रासस

चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाण्डौ- निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवम् विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता गएको माघ ४ गतेदेखि लागू भएको हो । मतदान आउँदो फागुन २१ गतेका लागि तोकिएको छ ।

तीन लाख १८ हजार नाघ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ । बुधबार एकै दिन सुनको भाउ तोलाको नौ हजार पाँच सय र चाँदीको चार सय ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला तीन लाख नौ सय तीन सय रुपैयाँ रहेको थियो ।

बुधबार कायम भएको सुनको भाउ इतिहासकै उच्च हो ।

यता, मंगलबार प्रतितोला छ हजार आठ सय ७० रुपैयाँमामा कारोबार भएको असली चाँदीको भाउ बुधबार भारप् वृद्धि भएसँगै सात हजार तीन सय रुपैयाँ पुगेको छ । चाँँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

 

बाजुरामा वर्षासँगै भारी हिमपात

बाजुराः मङ्गलबवर रातिदेखि बाजुरामा वर्षासँगै भारी हिमपात भएको छ।

जिल्लाको बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ। हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ। वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए।

भारतमा निपाह भाइरसको प्रकोप : एशियाली विमानस्थलमा यात्रुहरूको जाँचमा कडाइ

एजेन्सी- भारतको पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसको प्रकोप देखिएसँगै एशियाली विमानस्थलहरूमा जाँच यात्रुहरूको जाँच शुरू भएको छ ।

थाइल्यान्डले पश्चिम बङ्गालबाट उडान भर्ने तीन वटा विमानस्थलमा यात्रुहरूको स्क्रीनिङ्ग शुरू गरेको बीबीसीले जनाएको छ । यस्तै नेपालले पनि काठमाण्डौको त्रिभुवन विमानस्थल र भारतसँगको अन्य भूमि सीमा विन्दुहरूमा यात्रुहरूको स्क्रीनिङ्ग शुरू गरेको छ ।

यस महिनाको शुरूमा पश्चिम बङ्गालमा पाँच जना स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका थिए जसमध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूसँग सम्पर्कमा रहेका एक सय जनाभन्दा धेरैलाई क्वारेण्टीनमा राखिएको छ ।

निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यो मुख्यतः ‘फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट मानिसमा सर्छ । यो भाइरसको ङ्क्रमण भएमा शुरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निपाहलाई कोभिड–१९ र जिका जस्ता रोगजनकहरूसँगै आफ्नो शीर्ष १० प्राथमिकता रोगहरूमा समावेश गरेको छ । निपाहले महामारी निम्त्याउन सक्ने डब्ल्यूएचओको चेतावनी छ ।

चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।’

कुनै सिद्धान्त र विचार नभएकाहरूले सामाजिक सञ्जालमा स्टन्टबाजी गरिरहेका छन् : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समूह)लाई नेकपामा समाहित गराउँदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई सबै एकताबद्ध भएर मात्रै रोक्न सकिने बताएका हुन्।

सिद्धान्त र विचारको खडेरी भएकाहरूले सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने काम गरेको उनको भनाइ छ । त्यस्तै प्रचण्डले भाद्र २३ र २४ को घटनापछि मुलुक गम्भीर संकटमा परेकाले सबै बामपन्थीहरूलाई एकैठाउँमा ल्याउने प्रयास गरिएको उल्लेख गरे।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प नरहेको उनको भनाइ छ । प्रचण्डले पहिलाका माओवादी घटकहरू ढिलोचाँडो एकै ठाउँमा आउने दावी गर्दै मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आह्वान समेत गरे।त्यस्तै मंगलबार नै ⁠चुरे भावर पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गराइएको छ ।

शुक्लाफाँटामा बढे जलपन्छी

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सिमसारसहित पुुरैनी तालमा जलपन्छी बढेका छन् । यसवर्ष गणना गर्दा गत वर्षको तुलनामा जलपन्छी बढेको पाइएको हो ।

निकुञ्ज कार्यालयका अनुसार यसवर्ष शुक्लाफाँटासहित आसपासका तालतलैयामा विभिन्न प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । सिकारी तालमा २० हजार ९४९, महाकाली नदीमा ६४५, रानीमा तालमा २२७, राधापुर फाँटामा २१२, रतनपुर फार्म ल्याण्डमा ६१८ वटा जलपन्छी अभिलेख गरिएको छ ।

यसैगरी, तारातालमा ४५०, कालीकिच तालमा ५३, पुरैनी तालमा एक हजार ५५४, नकैया सिमसारमा ४७१, टुप्पा तालमा ७०, गरभिजला तालमा १३०, बन्धा तालमा २८१ जलपन्छी अभिलेख गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । निकुञ्जमा रहेका सिमसार र निकुञ्ज आसपासका तालतलैया तथा खेतमा रहेको सिमसार क्षेत्रमा ८२ प्रजातिका जलपन्छी भेटिएका थिए ।

सिमसारमा सिलसिले हाँस एक हजार ५५२, कलहाँस १२१, मणितुण्डक १५९, चखेवाचखेवी २८९, नकटा १२४ वटा अभिलेख गरिएको छ । यसैैगरी, हरिहाँस २९५, सुनजुरे हाँस ९२३, कैलेटाउके हाँस ३३०, मालक हाँस एक हजार २०७, कालीजुरे हाँस ३२५ वटा अभिलेख गरिएको छ ।

यसैगरी, श्वेताँखीभौं ४५२, बेल्चाठूँडे हाँस ८६८, खडखडे हाँस तीन हजार १३४, सिन्दुरे हाँस एक हजार २७०, नादुन हाँस १७, हरियोटाउके हाँस एक हजार ५९२, सुइरोपुच्छ«े हाँस तीन हजार २४७ वटा अभिलेख गरिएको छ । निकुञ्ज क्षेत्रको सिमसारमा सबैभन्दा बढी चार हजार ७७७ वटा विजुलागैरी फेला परेको जनाइएको छ ।

हिउँदमा डुबुल्की चरा, कालीकण्ठ डुबुल्कीचरा, ध्वाँसे सिमकुखुरा, झिली, सिमकुखुरा, कुर्मा, बगाले सिमकुखुरा, मरुल, सारस, भुँडीफोर गरुड, घुङ्घीफोर गरुड, कालो गरुड, लोभीपापी गरुड, कृष्णकण्ठ गरुड लगायत विभिन्न प्रजातिका जलपन्छी अभिलेख गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण संघ, जेएसएल शुक्लाफाँटा, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचर, नेपाल पन्छीविद संघ, नेचरगाइड शुक्लाफाँटा, रानाथारु होमस्टे र कञ्चनपुर पन्छी संरक्षण समूहको संयुक्त सहकार्यमा जलपन्छी गणना गरिएको थियो ।

चराविद हठन चौधरी, पोखरा पन्छी समाजका मनशान्त घिमिरे, एनटीएनसीका देवराज जोशी, नेपाल पन्छी संरक्षणका हिरुलाल डङ्गौरासहितको टोलीले गणना गरेको थियो । सिकारी र पुरैनी तालमा विगतको तुलनामा यसवर्ष जलपन्छीको सङ्ख्या उल्लेख्य वृद्धि भएको पाइएको चराविद डङ्गौराले जानकारी दिए ।

६ महिनामा झन्डै ६ लाख युवा विदेशिए, ठगिने क्रम पनि बढ्दाे

काठमाण्डाै- पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । याे सङ्ख्यामा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् जसमा ४ हजार ८ सय ६६ जना ‘जीटुजी’ (सरकार–सरकार) मार्फत इजरायल, कोरिया र बेलायत गएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना र ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ । खाडी देश, मलेशिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देश पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेशियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियामा भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।

५ हजार ७ सय ठगीका उजुरी

नेपालीहरू विदेशिने क्रम बढेसँगै ठगिने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन् ।

विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५ सय ६८, प्रहरी शाखामा २ हजार ६ सय ३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५ सय ६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९० दशमलव १५ प्रतिशत व्यक्तिगत र ९ दशमलव ८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।

गएकाे आर्थिक वर्ष २०८१/८२ मा झन्डै ५ हजार वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षमा परेकाभन्दा धेरै उजुरी यस वर्षको ६ महिनामै परेकाे छ । रोजगारीमा जानेहरूको सङ्ख्या बढ्नु, युवाहरू युरोप रोजगारीकाे प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरू ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरू बताउँछन् ।

– न्युज एजेन्सी नेपाल

 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे ।

नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखिन्।

उनले भनिन्, “मतको दुरुपयोग नगर्नुहोला । सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु । अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ ।”

उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताइन्। सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले अघिल्लो सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसक्दा जेनजी आन्दोलन भएको यथार्थ प्रस्तुत गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

राजनीतिक अनिश्चितताकाबिच निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न लागेको सरकारलाई धन्यवाद दिँदै उनले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।

“जेनजी आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिएका छन्, बन्दीहरु बाहिरै छन्, नयाँ र पुराना राजनीतिक दलबाट तिक्ततापूर्ण अभिव्यक्ति आइरहेका छन्,” उनले भने, “निर्वाचन शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस्, लोकतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै जनभावनाअनुसारको अघि बढ्ने परिस्थिति होस् ।”

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिए । “पुराना दलहरुलाई यो निर्वाचनबाट ‘नामेट’ बनाउनुपर्छ भन्ने भाष्य सिर्जना गरेर केही नयाँ भनिएका राजनीतिक दल लागिरहेका छन्, यो मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक अधिकार र संविधान कसले ल्यायो ?”, उनले भने, “दलका केही पात्र खराब हुन सक्छन्, तर राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको छ, त्यसप्रति सम्पूर्ण नागरिक सचेत हुनुपर्छ ।”

कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद मिश्रले जेनजी आन्दोलनले सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताए ।

“यो आन्दोलनले सबै एक हौँ भन्ने भावना विस्तार र युवालाई एकजुट गरायो, तर कसैलाई शासनबाट लेखट्न वैचारिक र वैधानिक बाटोको सट्टा तोडफोड र आगजानी गर्ने खराब बाटोबाट देशका युवाहरु उद्यत हुन्छन् भन्ने चिन्ताले सताएको छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराए । मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उहाँले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताए।

सेयर बजारमा ४२ अंकको गिरावट

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेको थियो।

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा कमी आएको छ। ३३३ स्क्रिप्सको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन सोमबार १६ अर्ब ३५ मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सप्तकोशी डेभलपमेन्ट बैंक,धर्मखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावरको सेयर ८ प्रतिशत बढीले बढ्यो।

कारोबार रकमका आधारमा राधी खोला जलविद्युत अग्रस्थानमा रह्यो। सो कम्पनीले ५७ करोड ८५ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै एसवाइ प्यानल नेपालले ५७ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युतले ५१ करोड,नगदी ग्रुपले ३९ करोड र बन्दिपुर केवलकारले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२४ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका  छन्।

खोज्नुहोस