जाँचबुझ आयोगको प्रगति विवरण सदनमा सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले मुलुकका विभिन्न समसामयिक समस्याहरूका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको विशेष समयमा बोल्दै सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै सो घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रगति विवरण सदनमा सार्वजनिक गर्न माग गरेकी छन्।

सांसद गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि नागरिकले ज्यान गुमाउनुपरेको भन्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्। त्यसैगरी, सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी र उदयपुर लगायतका जिल्लाहरूमा हात्तीको आतङ्कले जनजीवन कष्टकर बनेको तर्फ सदनको ध्यान खिचेका छन्।

स्वास्थ्य र राहतका विषयमा बोल्दै सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेला जस्ता सरुवा रोगको प्रकोप बढिरहेकाले तत्काल नियन्त्रणका उपाय र स्वास्थ्य सेवा पुर्‍याउन माग गरेकी छन्। सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितहरूले अझै पर्याप्त राहत र पुनर्निर्माणको सुविधा नपाएको गुनासो गर्दै उनीहरूको कष्टकर जीवनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै, सांसद शारदादेवी भट्टले सडक दुर्घटना न्यूनीकरणका लागि मदिरा सेवन गरी सवारी चलाउने र ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई थप कठोर कानुनी सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन्।

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : स्वास्थ्यमन्त्री

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।

मंगलबार बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् ।

अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बिमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ ।

मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन्।

सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन् । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताइन् ।

उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताइन् । उनले सहिद परिवारहरुले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् ।

मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । रासस

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग बढाउन बलियो कानुनी तथा नीतिगत आधार तयार गर्नेतिर सरकार लागेको बताएका छन् । सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न यस्तो व्यवस्था आवश्यक भएको उनले बताए ।

मंगलबार सम्पन्न हरित ऊर्जा र कार्बन अर्थतन्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनमा मन्त्री सिन्हाले संविधानले हरेक नागरिकलाई दिएको स्वच्छ वातावरणको हक र दिगो विकास लक्ष्य भेट्न पनि यस्ता नीति चाहिने बताए।

विद्युतीय उपकरण र सवारीसाधनमा दिइएको सहुलियत, सन् २०३५ सम्म सौर्य ऊर्जाको जडित क्षमता ५०० मेगावाट पुर्‍याउने लक्ष्य तथा हालै बनेको इथानोल मिश्रणसम्बन्धी कार्यविधि यसैको उदाहरण भएको उनको भनाइ थियो ।  -रासस

धनगढीमा बालेनको क्रेज: समर्थकको थेगिनसक्नु भीडका कारण कार्यालय छिर्नै सकेनन्, सिधै कञ्चनपुर प्रस्थान

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमणले धनगढीमा नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ। चुनावी प्रचारप्रसारका क्रममा बर्दिया हुँदै मंगलबार धनगढी आइपुगेका बालेनलाई स्वागत गर्न यति ठूलो जनसागर उर्लियो कि उनी आफ्नै पार्टीको सम्पर्क कार्यालयभित्र समेत छिर्न सकेनन्।

कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्द बहादुर चन्दलगायतका नेताहरू भित्रै पर्खिरहेका थिए। तर, कार्यालय बाहिर समर्थकहरूको अत्याधिक भीड र ‘बालेन सरकार’ को पक्षमा लागेको नाराबाजीका कारण उनी भित्र पस्ने अवस्था नै बनेन। भीड नियन्त्रणबाहिर जान थालेपछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका छन्।

बालेन आजै कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका छ। त्यहाँ उनले झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्नेछन्।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रव्यापी अभियानमा होमिएका बालेनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि चुनावी कार्यक्रममा सहभागी हुने योजना बनाएका छन्।

कैलालीमा बालेन : उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा यतिबेला सुदूरपश्चिमको कैलालीमा व्यस्त छन्। उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्।

बालेनले कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन्।

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ ।

निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।

बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए ।

त्यस्तै अर्का रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनलाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

त्यस्तै भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको छ । अर्को एक स्पष्टीकरण शिक्षक सरुवाको विषयमा रहेको आयोगले जनाएको छ ।

डडेलधुरामा प्रहरीका नाममा सुसाइड नोट लेख्दै एक महिलाले गरिन् आत्महत्या

डडेलधुरा। जिल्ला प्रहरी कार्यालय डडेलधुरापरिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिर  आत्महत्या गरेकी छन् ।

भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारीचालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गरेकी हुन् । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारीचालक प्रहरीलाई पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४, खलङ्गामा शुक्रबार उनी मृत फेला परेकी हुन् । उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेको बुझिएको छ ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले लेखेकी छन्, “मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस् ।” उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। नोटमा लेखिएको छ, “मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपियाँ मेरो छोरालाई दिनू । कसैले पढाइदेलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकिनँ, छोरा माफ गरिदिनू । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ।” परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए । शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आइतबार बिहान शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल लगिएको छ । मृतक गिरीका कान्छा ससुराले जाहेरी दिएपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको हो । उनका अनुसार मृतक गिरीका १० र सात वर्षका दुई छोरा छन् ।

चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेका छन्  । बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाएका छन्। मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिएका हो ।

नेता शाहले लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा २ का  उम्मेदवार केपी खनाल लगायत रास्वपा नेताहरुसँग केहीबेर त्यहाँको समस्याका बारेमा जानकारी लिएपछि सुखड पुगेका थिए ।

सुखड चोकममा स्वागत र अभिनन्दका लागि रास्वपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको समूह रहे पनि शाह सिधै सुखड बजारमा रहेको पार्टी कार्यालय प्रवेश गरेका थिए । पछिपछि  शाहलाई हेर्न र भेट्नका लागि युवाहरुको भिड पार्टी कार्यालय पुगेको थियो ।

सुरक्षाकर्मीको सुरक्षाभित्र केहीबेर शाहले कार्यालयमा क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीसँग कुराकानी गरे । भेटघाट र कुराकानीका क्रममा क्षेत्र नम्बर ३ को समस्याका बारेमा उम्मेदवार जोशीले जानकारी गराएका थिए । उनले पर्यटन, कृर्षीका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायत विषयमा जानकारी गराएको बताए ।

छोटो समय कुराकानीपछि कार्यालयबाट निस्कनु भएका शाह भिडमा नरोकिकन गाडीमा बसेका थिए । समर्थकले नाराबाजी गर्दै बजार परिक्रमापछि सबैलाई हात हल्याउदै शाह निस्किएका थिए । बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुगेका उनको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढीसम्म भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।

उच्च प्रशासनिक खर्च नेपालको विकासमा बाधक

टीका पौडेल ।

कुनै पनि मुलुकको आर्थिक प्रगति, सामाजिक रूपान्तरण र दीर्घकालीन समृद्धिको आधार त्यसको बजेट संरचना, खर्चको प्राथमिकता र राज्य सञ्चालनको कार्यक्षमतामा निर्भर हुन्छ। बजेट केवल आम्दानी र खर्चको लेखाजोखा मात्र होइन, यो राज्यको नीति, प्राथमिकता र राजनीतिक इच्छाशक्तिको दर्पण हो। नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सीमित स्रोतलाई कसरी उपयोग गर्ने भन्ने प्रश्न झनै संवेदनशील र निर्णायक हुन्छ। तर विडम्बनापूर्ण रूपमा, नेपालमा राज्यको ठूलो हिस्सा प्रशासनिक खर्चमै सकिने प्रवृत्ति दीर्घकालदेखि निरन्तर बढ्दो क्रममा छ, जसले विकास, उत्पादनशीलता र नागरिकको जीवनस्तरमा नकारात्मक असर पारिरहेको छ।

नेपालको हालको बजेट संरचनाले देखाउँछ कि कुल बजेटको करिब ७७ प्रतिशत हिस्सा प्रशासनिक तथा चालु खर्चमा जान्छ भने विकास खर्चको हिस्सा करिब २३ प्रतिशतमा सीमित छ। अझ चिन्ताजनक पक्ष के छ भने, यो सीमित विकास बजेट समेत पूर्ण रूपमा खर्च हुन नसक्ने अवस्था छ। यस्तो अवस्था केवल आर्थिक कमजोरीको परिणाम मात्र होइन, राज्य सञ्चालनको संरचनागत असक्षमता, राजनीतिक स्वार्थ, नीतिगत अस्पष्टता र सामाजिक चेतनाको अभावसँग गहिरो रूपमा गाँसिएको छ।

प्रशासनिक खर्च के हो र किन बढ्दै गएको छ ?

प्रशासनिक खर्च भन्नाले सरकार सञ्चालन गर्न आवश्यक कर्मचारी तलब, भत्ता, पेन्सन, कार्यालय सञ्चालन, सवारी साधन, भवन मर्मत, सुरक्षा निकायको खर्च, राजनीतिक पदाधिकारीका सुविधा लगायतका चालु खर्चहरूलाई जनाउँछ। यी खर्चहरू राज्य सञ्चालनका लागि अपरिहार्य भए पनि, जब यिनको हिस्सा असन्तुलित रूपमा बढ्दै जान्छ, तब यसले विकास खर्चलाई खुम्च्याउँछ।

नेपालमा प्रशासनिक खर्च बढ्नुका प्रमुख कारणहरूमा कर्मचारी संख्या वृद्धि, संघीय संरचनापछि दोहोरो र तिहरो संरचना, राजनीतिक नियुक्तिको प्रवृत्ति, सेवा सुविधा वृद्धि, अनुत्पादक कार्यालय विस्तार, र जवाफदेहिताको कमजोर प्रणाली प्रमुख हुन्। संघीयताको कार्यान्वयनपछि संघ, प्रदेश र स्थानीय तहमा समान प्रकृतिका मन्त्रालय, निकाय र कर्मचारी संरचना बने, तर तिनको कार्यक्षमता र परिणाममुखी मूल्यांकन हुन सकेन।

संघीय संरचना र खर्चको विस्फोट

संघीयता स्वयं समस्या होइन, तर नेपालमा लागू गरिएको संघीय संरचना खर्चमुखी र परिणामविहीन बन्न पुगेको छ। प्रदेश सरकारहरूका संरचना, मन्त्रालय, सवारी साधन, कर्मचारी व्यवस्थापन, सभामुखदेखि मन्त्रीसम्मका सुविधा सबै मिलेर प्रशासनिक खर्चमा अभूतपूर्व वृद्धि भएको छ। तर त्यसअनुसार सेवा प्रवाह, पूर्वाधार विकास वा जनताको जीवनस्तरमा उल्लेखनीय सुधार देखिएको छैन।

स्थानीय तहमा समेत विकासभन्दा प्रशासनिक संरचना विस्तारमा बढी ध्यान दिइएको देखिन्छ। कार्यालय भवन, गाडी, सुविधा र कर्मचारी व्यवस्थापनमा ठूलो बजेट खर्च हुँदा वास्तविक विकास आयोजनाहरू ओझेलमा परेका छन्।

राजनीतिक संस्कृति र बजेट दुरुपयोग

नेपालको राजनीतिक संस्कृति बजेटलाई विकासको साधनभन्दा शक्ति सन्तुलन र स्वार्थ पूर्तिको उपकरणका रूपमा प्रयोग गर्ने दिशातर्फ उन्मुख देखिन्छ। सत्ता टिकाउने, कार्यकर्ता व्यवस्थापन गर्ने, गठबन्धन सन्तुलन मिलाउने र पहुँचवालालाई लाभ दिने उद्देश्यले प्रशासनिक खर्च बढाउने प्रवृत्ति मौलाएको छ।

राजनीतिक दलहरू सत्तामा पुग्दा राज्यको खर्च घटाउने भन्दा आफ्ना समर्थक समेट्ने, नयाँ निकाय खोल्ने र पद सिर्जना गर्ने दिशामा केन्द्रित हुन्छन्। यसले प्रशासनिक बोझ थप्दै जान्छ, तर विकासमा ठोस योगदान हुँदैन।

सामाजिक संरचना र चेतनाको प्रभाव

नेपालको सामाजिक संरचना अझै पनि राज्यमा निर्भर रहने मानसिकताबाट मुक्त हुन सकेको छैन। रोजगार, सेवा र अवसरको मुख्य स्रोत राज्य नै हो भन्ने सोचले सरकारी संरचना फुलाउँदै लैजाने दबाब सिर्जना गरेको छ। निजी क्षेत्र, उद्यमशीलता र उत्पादनशील क्षेत्रमा राज्यको भूमिका सीमित हुनुपर्ने सैद्धान्तिक मान्यता व्यवहारमा लागू हुन सकेको छैन।

नागरिक तहमा पनि करको सदुपयोग, बजेट प्राथमिकता र खर्चको प्रभावकारिताबारे सशक्त बहस र दबाब कमजोर छ। जबसम्म नागरिक सचेत र संगठित रूपमा प्रश्न उठाउँदैनन्, तबसम्म राज्य खर्चको ढाँचा परिवर्तन हुन गाह्रो हुन्छ।

विकास खर्च किन प्रभावकारी हुन सकेन ?

विकास खर्च कम हुनु मात्र समस्या होइन, भएको विकास बजेट समेत खर्च हुन नसक्नु झनै गम्भीर समस्या हो। यसको कारणहरूमा कमजोर योजना, ढिलो निर्णय प्रक्रिया, राजनीतिक हस्तक्षेप, ठेक्का प्रणालीको विकृति, भ्रष्टाचार, र प्राविधिक क्षमताको अभाव प्रमुख छन्।

अक्सर विकास बजेट अन्तिम त्रैमासमा हतार–हतार खर्च गरिन्छ, जसले गुणस्तर र दिगोपनामा प्रश्न उठाउँछ। दीर्घकालीन योजना भन्दा पनि तत्कालीन राजनीतिक लाभ हेरेर आयोजना छनोट गरिन्छ, जसले विकासलाई दिशाहीन बनाएको छ।

छिमेकी मुलुकहरूसँग तुलना

चीन र भारतजस्ता छिमेकी मुलुकहरूले आफ्नो बजेटको ठूलो हिस्सा विकास र पूँजीगत खर्चमा केन्द्रित गरेका छन्। चीनले करिब ६३ प्रतिशत र भारतले करिब ७३ प्रतिशत बजेट विकास खर्चमा लगानी गर्नुको परिणामस्वरूप ती मुलुकहरूले पूर्वाधार, उद्योग, प्रविधि र मानव विकासमा उल्लेखनीय फड्को मारेका छन्।

यी मुलुकहरूले प्रशासनिक खर्चलाई सीमित राख्दै, परिणाममुखी शासन प्रणाली र कडा अनुशासन लागू गरेका छन्। नेपालले पनि यस्ता अभ्यासबाट सिक्नुपर्ने आवश्यकता छ।

उच्च प्रशासनिक खर्चका दीर्घकालीन असरहरू

उच्च प्रशासनिक खर्चले राज्यलाई दीर्घकालमा ऋणमा धकेल्छ, विकास गति सुस्त बनाउँछ, बेरोजगारी बढाउँछ र सामाजिक असन्तोष सिर्जना गर्छ। उत्पादनशील क्षेत्रमा लगानी नहुँदा अर्थतन्त्र आयातमुखी र परनिर्भर बन्छ। युवाहरू रोजगारीका लागि विदेश पलायन हुन बाध्य हुन्छन्, जसले सामाजिक संरचना कमजोर बनाउँछ।

सुधारका सम्भावित मार्गहरू

नेपालले प्रशासनिक खर्च घटाउन संरचनागत सुधार, कर्मचारी व्यवस्थापनमा पुनरावलोकन, डिजिटल शासन प्रणाली, परिणाममुखी बजेट प्रणाली, र राजनीतिक इच्छाशक्तिको विकास गर्न आवश्यक छ। संघीय संरचनालाई कार्यक्षमता र लागत–प्रभावकारिताका आधारमा पुनःसंरचना गर्न सकिन्छ।

विकास खर्चलाई प्राथमिकता दिन दीर्घकालीन राष्ट्रिय योजना, पारदर्शी आयोजना छनोट, कडा अनुगमन र नागरिक सहभागिता आवश्यक छ।

निष्कर्ष

उच्च प्रशासनिक खर्च नेपालको प्रगतिमा केवल आर्थिक बाधा मात्र होइन, यो राजनीतिक, सामाजिक र संरचनागत समस्याको संयुक्त परिणाम हो। जबसम्म राज्य सञ्चालनको दर्शन विकासमुखी, परिणाममुखी र नागरिककेन्द्रित बन्दैन, तबसम्म बजेटको आकार बढे पनि समृद्धि टाढै रहनेछ।

नेपालले अब खर्च बढाउने होइन, खर्चको गुणस्तर सुधार्ने दिशामा सोच्नुपर्छ। प्रशासनिक खर्च नियन्त्रण गर्दै विकास, उत्पादन र मानव पूँजीमा लगानी बढाउनु नै दिगो समृद्धिको एकमात्र मार्ग हो। राज्यको सफलता ठूलो सरकारमा होइन, प्रभावकारी सरकारमा निहित हुन्छ।अब आउने सरकारले यो कुरालाई ध्यान दिएर आफ्नू मूल आर्थिक सुधारको मन्त्र बनाउनु जरूरी छ ।

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव आज बेलुकापछि पूर्वतर्फ सर्नेछ ।

भोलि काठमाण्डौ उपत्यकासहित मधेश र कोशीमा पनि हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराई भागमा भने सामान्य मात्रै प्रभाव रहने मौसमविद् अधिकारीले बताउनुभयो ।

गएको शुक्रवार र शनिवार दुई दिन पश्चिम नेपालमा वर्षासँगै उच्च क्षेत्रमा हिमपात भएको थियो । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा हुने भए पनि ठूलो झरी पर्ने छैन ।

मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो । घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।

मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनः स्थापना’ गर्न आग्रह गरे । उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दै छौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।”

सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो । गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो ।

गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बिचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् ।

सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र नपुरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न,प्रत्यक्ष तर्फको छपाई शुरु

काठमाडौँ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

ढकारीमा दुई किशोरी हत्या प्रकरण: एक वर्षदेखि न्यायको प्रतीक्षा, एक अभियुक्त फरार

अछाम — ढकारी गाउँपालिका–८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको निर्मम हत्या भएको एक वर्ष बितेको छ । घटनामा संलग्न एक किशोर गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा फरार भएपछि पीडित परिवारको पीडा झन् बढेको छ । जिल्ला प्रहरी अछामका अनुसार अभियुक्त दुवै किशोर १८ वर्षमूनिका भएकाले उनीहरूलाई बाल न्याय ऐनअनुसार सुधार गृह डोटीमा राखिएको थियो । तर भदौ २४ गते डोटीस्थित बालसुधार गृहबाट एक किशोर फरार भएका छन् ।

गत वर्ष घटनापछि अछाम प्रहरीले प्रेम सम्बन्ध, यौन प्रस्ताव अस्वीकार र घटना लुकाउन नमानेकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार घटनामा संलग्न दुई किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत अछामबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता भएरनभएको, प्राविधिक र पोस्टमार्टम रिपोर्टका निष्कर्षबारे अन्य जिज्ञासाको जवाफ अझै खुल्न बाँकी छ।

जिल्ला अदालत अछामका स्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार आइतबार उक्त घटनाको पेसी तोकिएको थियो । तर सरकारी वकिल सरुवा भएर नयाँ आएकाले घटनाको फाइल अध्ययन गर्नुपर्ने कारण देखाउँदै पेसी स्थगित गरिएको छ । ‘बालसुधार गृह डोटीबाट एक जना जेन्जी आन्दोलनका बेला फरार भएको खबर आएको छ । सम्भवतः अर्को पेसीमा फैसला हुन सक्छ,’ स्रेस्तेदार कुञ्जेडाले भने ।

मृतक सरस्वतीका बुवा उदयराम खड्काले एक वर्ष बित्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । ‘एक वर्षदेखि रातदिन रोइरहेको छु । हत्यारा नै फरार भएको सुन्दा झन् छटपटी भएको छ,’ उनले भने,‘एक वर्ष बित्यो अहिलेसम्म पनि न्यायको टुंगो लागेको छैन । मेरी नातिनी र छोरीको हत्यारालाई जन्मकैद हुनै पर्छ ।’ दोषीलाई कडा सजाय नदिए यस्ता घटना फेरि दोहोरिन सक्ने डर रहेको उनले बताए ।

प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती दुई किशोरहरूसँग करिब एक वर्षदेखि फोन सम्पर्क र भेटघाटमा थिए । घटनाको दुई दिनअघि नै चारै जनाबीच जंगलमा भेट्ने योजना बनेको थियो । माघी तिहार मनाउन गाउँ आएका ती किशोरहरू निर्धारित समयभन्दा अगाडि नै जंगलमा पुगेर खोलाको किनारमा कुरेर बसेका थिए। चारै जना भेट भएपछि उनीहरूबीच सामान्य कुराकानी, गीत, भिडियो सेयर र प्रेमसम्बन्धका विषयमा संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुराकानीकै क्रममा ती किशोरहरूले मायाको चिनो भन्दै दोपट्टा मागेका थिए । इशरा दोपट्टा दिन तयार भए पनि सरस्वतीले अस्वीकार गरेपछि घटनास्थलमै विवाद सुरु भएको देखिन्छ। प्रहरीका अनुसार विवादको मूल कारण शारीरिक सम्बन्ध राख्न सरस्वतिले स्पष्ट रुपमा असहमति राख्नु थियो ।

बाख्रा फर्काउने क्रममा ती किशोरहरूले सरस्वतीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । तर सरस्वतिले विवाह गरेपछि मात्र शारीरिक सम्बन्ध राख्ने अडान लिएकी थिइन् । किशोरहरूले आफूहरूको उमेर कम भएको र केही वर्षपछि विवाह गर्ने आश्वासन दिँदै सम्बन्ध राख्न दबाब दिएको बयान प्रहरीमा दिएका छन् । सरस्वतिले उक्त प्रस्ताव अस्वीकार गर्दै खोलातर्फ लागेपछि आक्रोशमा एक किशोरले नजिकै रहेको ठूलो ढुंगाले सरस्वतीको टाउकोमा प्रहार गरेको प्रहरीको निष्कर्ष छ । पहिलो प्रहारमै सरस्वतिको घटनास्थलमै मृत्यु भए पनि त्यसबेला अन्य दुई जनालाई मृत्यु भइसकेको जानकारी नभएको प्रहरीको भनाइ छ ।

हत्या भएको थाहा पाएपछि घटनालाई दुर्घटना जस्तो देखाउन सरस्वतिको शव रहेको स्थानमा माथिबाट ठूला ढुंगा खसालिएको अनुसन्धानमा खुलेको छ । यस क्रममा खोलाको माथिल्लो भागबाट ढुंगा अडेस लगाएर खसालिएको र घटनास्थल कृतिम बनाइएको प्रहरीले जनाएको छ ।

सरस्वतीको मृत्यु देखेपछि इशरा घटनास्थलमा पुगेकी थिइन् । साथीको मृत्यु देख्दा इशराले ती किशोरहरूलाई दोष लगाउँदै घटना सबैलाई बताउने भन्दै रोइकराई गर्दै घरतर्फ जान खोजेकी थिइन् । तर इशराले घटना लुकाउन नमानेपछि उनलाई पनि मारिएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार एक किशोरले इशरालाई पछाडिबाट धकेलेर ढुंगाले निधारमा प्रहार गरेका थिए भने अर्को किशोरले ढलेकी इशराको अनुहारमा पटक–पटक ढुंगा प्रहार गरी हत्या गरेर घटनास्थल छाडेका थिए ।

Uप्रहरी अनुसन्धानले यो घटना आकस्मिक विवाद मात्र नभई सहमति बिना शारीरिक सम्बन्ध राख्न खोज्दा भएको जघन्य हिंसा भएको निष्कर्ष निकालेको छ । अस्वीकार सहन नसक्ने मानसिकता, आक्रोश र घटना लुकाउने प्रयासकै क्रममा दुई किशोरीको ज्यान गएको प्रहरीको ठहर छ ।

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।

धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् । केही दिनअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापालक्षित अभिव्यक्ति दिएका थिए ।

निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरूको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ ।

त्यही सन्दर्भमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका थिए । त्यसमा बालेनले ओली र थापाप्रति लक्षित गर्दै असहिष्णु अभिव्यक्ति दिएका थिए ।

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चा मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ उनले भनेका थिए ।

संसदीय समितिबाट चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो ।

चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत उद्योगको रुपमा बिकास गर्न तथा स्वदेशी चलचित्रको बिकास, विस्तार, प्रवर्द्धन र नियमन गर्न नयाँ बन्ने कानुनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चलचित्र क्षेत्रलाई समयानूकल बनाउन विधेयकले धेरै बिषय समेटेको उनको भनाइ छ ।

२०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

विधेयकमा चलचित्र बिकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न संस्थाका रुपमा बिकसित गर्नेदेखि नियम, जवाफदेहीता लगाएतमा समेत जोड दिइएको छ ।

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।

उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख गरिएको छ ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न पनि माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्मको जरिवाना र उम्मेदवारी दर्ता नै खारेज हुनसक्ने उल्लेख छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

काठ्माण्डौ – साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भूटानलाई हराएको छ ।

थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–१ गोलले हरायो । आजै हुने भारत र पाकिस्तानबीचको लिग चरणको अन्तिम खेलको नतिजाले नेपाल दोस्रो वा तेस्रो हुने भन्ने टुङ्गो लाग्नेछ ।

नेपाली पुरुष टोलीले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेल्दा चौथो खेलमा माल्दिभ्ससँग २–१ गोलले पराजित भएको थियो । यस्तै नेपालले पाँचौँ खेलमा बङ्गलादेशलाई ४–१ गोलले हराएको थियो ।

साफ फुटसल च्याम्पियनशिपमा पुरुषतर्फको उपाधि माल्दिभ्सले जितेको छ। लिग चरणको शीर्ष स्थानमा रहँदै माल्दिभ्स विजेता बनेको हो ।

यस्तै प्रतियोगिताको महिलातर्फ नेपाली टोली चौथो भएको छ । महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो ।

 

कैलाली, कञ्चनपुरसहित ९ वटा जिल्ला डढेलाेकाे उच्च जाेखिममा

काठमाण्डाै- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ ।

कार्ययोजनाअनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरि ९ वटा जिल्ला उच्च जोखिममा रहेका छन् । त्यस्तै अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखालगायत विभिन्न १३ वटा जिल्ला मध्यम जोखिममा छन् ।

कार्ययोजनामा वन डढेलोका सम्भावित प्रभावहरू, वन डढेलोबाट प्रभावित हुने जिल्लाहरू, कार्ययोजनाको उद्देश्य, रणनीतिहरूलगायत समेटिएको छ । त्यस्तै प्राथमिकताका क्षेत्रहरू, वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री/उपकरणहरू र बजेट व्यवस्थापनको विषय समेटिएको छ ।

प्राधिकरणकाअनुसार नेपालमा भएका डढेलोका घटनामध्ये ६४ प्रतिशत मानिसले जानजान लगाएको पाइन्छ । त्यस्तै ३२ प्रतिशत मानवीय लापर्बाहीका कारण घटना हुने गरेका छन् । चार प्रतिशत घटनाको कारण खुलेको छैन ।

गृह मन्त्रालयका अनुसार पछिल्लो ६ वर्षमा देशभर डढेलोका १९ हजार ५ सय ९३ वटा घटना भएकोमा ५ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

 

दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

काठमाडौं- आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू-२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो ।

चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू-२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । साथै, यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेका छ । उक्त खेलका लागि चिनियाँ टोली २०२६ जनवरी २९ मा नेपाल आइपुग्ने जानकारी तयारी गरिएको छ । एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

यस खेलका लागि नेपाली राष्ट्रिय यू-२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेवसाइट बाट गरिनेछ ।

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  निर्वाचनका लागि सञ्चारमाध्यमले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिए ।
उनले नागरिकलाई यतिबेला सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यमलले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, “सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउनुहुन अनुरोध गर्छु ।”
डिटिल प्लेटर्फम कृत्रिम बुद्धिमता (एआई)जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए ।
खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी सञ्चारमाध्यमले नागरिक समक्ष सत्य र आधिकारिक समाचार सम्प्रेषणमा बढी जिम्मेवार हुनुपर्ने बताए ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्‍याउन सञ्चारमाध्यमले अहम भूमिका खेल्नुपर्ने बताइन् ।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए । रासस

सुनको मूल्य इतिहासमै पहिलो पटक ५ हजार डलर नाघ्यो

काठ्माण्डौ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ५ हजार अमेरिकी डलर नाघेको छ । विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

सुनको भाउ सन् २०२५ मा एक वर्षमै ६४ प्रतिशतले बढेको थियो । यो सन् १९७९ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो । ग्रीनल्यान्डलाई लिएर अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) बीच बढ्दो तनावले पनि सुनको मूल्य बढाउन भूमिका खेलिरहेको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजारको चिन्ता बढाएको छ । गएको शनिवार ट्रम्पले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १ सय प्रतिशत कर लगाउने धम्की दिएको थिए ।

सुन र अन्य बहुमूल्य धातुहरूलाई ‘सुरक्षित’ लगानी मानिन्छ जसमा लगानीकर्ताहरूले अनिश्चितताको समयमा लगानी गर्छन् ।

यस्तै शुक्रवार चाँदीको मूल्य पनि इतिहासमा पहिलो पटक प्रतिऔंस १ सय डलर नाघेको छ । गएको वर्ष चाँदीको मूल्य झन्डै १ सय ५० प्रतिशतले बढेको थियो ।

बढ्दो विश्वव्यापी तनावका कारण यस वर्ष सुनको मूल्य ६ हजार डलरसम्म पुग्नसक्ने विश्लेषकहरूको अनुमान छ ।

 

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाण्डाै-  नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताले पारदर्शी भर्ना प्रक्रिया, तलब तथा सेवा सुविधा सुनिश्चितता, म्यानपावर ठगी नियन्त्रण र श्रमिकको न्यायमा पहुँच जस्ता विषय समेटेको छ । सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साउदीमा श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५ सय ५७ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए । नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ ।

यसअघि नेपालले कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस्, युनाइटेड अरब इमिरेट्स (यूएई), इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ओमनसँग मस्यौदामा सहमति भइसकेको छ ।

कञ्चनपुर–२ मा महिला मतदाता धेरै, उम्मेदवार एक मात्र

कञ्चनपुर- आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मकरुपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन् । उक्त निर्वाचन क्षेत्रमा पुरुषभन्दा दुई हजार ६८३ महिला मतदाता बढी छन् । सो निर्वाचन क्षेत्रमा ५६ हजार १२८ महिला मतदाता छन् ।

महिला मतदाता अत्यधिक रहेपनि महिला उम्मेदवार भने एक जना मात्रै बनेका छन् । सो निर्वाचन क्षेत्रमा १८ पुरुष उम्मेवार हुनुहुन्छ भने एक पार्टीले मात्रै महिलालाई उम्मेदवार बनाएको छ ।

महिला उम्मेदवारतर्फ बेदकोट नगरपालिका–६ का प्रेमवती राना छन् । राना नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका हुन् । अन्य दलहरुले भने महिलालाई उम्मेदवार नै नबनाएका हुन् । जसले महिलामाथि अझै पनि विभेद कायमै रहेकाले यसमा दलहरु सच्चिनुपर्ने महिला मतदाताहरु बताउँछन् ।

बेदकोटका स्थानीय मतदाता शान्ती पुजाराले महिलाहरुलाई अवसरबाट बन्चित गराउने जस्ता कार्यले समाज विकासमा बाधक बन्ने बताए । महिलाहरुलाई अवसर दिनुपर्ने उनले माग गरे ।

क्षेत्र नम्बर २ अन्तर्गत कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाको वडा नम्बर ८ बाहेकका अन्य वडाहरु समावेश गरिएका छन् । ९ वडा रहेका कृष्णपुर नगरपालिकामा २२ हजार ४५ महिला मतदाता तथा २० हजार ७५० पुरुष मतदाता गरी ४२ हजार ७९६ मतदाता छन् । कृष्णपुर नगरपालिकामा पुरुषभन्दा एक हजार २९५ महिला मतदाता छन् । कृष्णपुर नगरपालिकाको वडा नम्बर २ मा अत्यधिक मतदाता छन् । उक्त वडामा सात हजार १८४ मतदाता छन् भने वडा नम्बर ३ मा कम अर्थात् दुई हजार २९९ मतदाता छन् ।

त्यसैगरी, १२ वडा रहेका शुक्लाफाँटा नगरपालिकामा १७ हजार ६०८ महिला मतदाता र १६ हजार ८३२ पुरुष गरी ३४ हजार ४४० जना मतदाता छन् । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ११ मा अत्यधिक चार हजार ४१० मतदाता छन् भने वडा नम्बर ३ मा कम अर्थात एक हजार ४६४ मतदाता छन् ।  शुक्लाफाँटामा पुरुषभन्दा सात सय ७६ बढी महिला मतदाता छन् । साथै १० वडा रहेका बेदकोट नगरपालिकाको वडा नम्बर ८ बाहेकका अन्य वडाहरु पनि यसै क्षेत्रमा समावेश गरिएका छन् । बेदकोटमा ३२ हजार ३३८ मतदाता छन् ।

कसले मार्ला बाजी
क्षेत्र नम्बर २ मा यस अघिका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी हुँदै आएका छन् । विसं। २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता नरबहादुर धामी ३३ हजार ३२० मतसहित विजयी भएका थिए । नेपाली कांग्रेशका उम्मेदवार एनपी साउदले आठ हजार कम अर्थात् २४ हजार ८९३ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका नेता साउदले हारको बदला लिएका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवार धामीलाई छ हजार ४५५ मतान्तरले पराजित गर्दे साउद विजयी भएका थिए ।

आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हारको बदला लिने तयारीमा देखिनुभएको छ भने नेता साउद अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छन् ।

तर मतदाताहरु भने यस क्षेत्रको विकास गर्न सक्ने नेतालाई आगामी निर्वाचनमा मत खसाल्ने पक्षमा रहेको बताउछन् । जसले आगामी निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । आगामी निर्वाचनमा नेकपा एमालेबाट बचनबहादुर सिंह उम्मेदवार बनेका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट माधवप्रसाद मन्त, राष्टिय स्वतन्त्र पार्टीबाट दिपक राज बोहरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तिर्जराज चटौत उम्मेदवार छन् ।

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

कञ्चनपुर- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् ।

सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारमध्ये सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । साउद यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवार अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता भीमबहादुर रावल चुनावी मैदानमा छन् । सो पार्टीबाटै कैलाली क्षेत्र नं ५ मा प्रेम आले र कञ्चनपुर क्षेत्र नं १ मा बीना मगर चुनावी दौडमा छन् । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन् ।

नेकपाले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार पूर्व राज्यमन्त्री हुन् ।

नेकपा (एमाले) बाट पनि पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का नेता गणेशसिंह ठगुन्ना र बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुन् । कैलाली निर्वाचन क्षेत्र नं ४ मा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट उम्मेदवार छन् । कैलाली–३ का उम्मेदवार गौरीशङ्कर चौधरी पनि पूर्व सङ्घीय मन्त्री भइसकेका छन् ।

एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाइएको छ ।

उनका अनुसार एमालेले प्रदेशभर चुनावी सभा तथा भेलाहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना उम्मेदवार चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । -रासस

कैलालीमा श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

कैलाली । कैलालीमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी १३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए ।

घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर ३ मा काँग्रेसलाई लेखककै भर

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय राजनीतिमा स्थापित पूर्व गृहमन्त्री रमेश लेखक यसपटक टिकटबाट बञ्चित भए । जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकलाई सोही घट्नासंग जोडेर नेपाली काँग्रेसले टिकट नदिएको बताईन्छ । लेखकको अनुपस्थितिले यो पटक फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा केही पुराना र केही नयाँ अनुहार चर्चामा छन् ।

२०७४ मा लेखकलाई झिनो मतले पराजित गरेका नेकपा एमालेका उम्मेदवार डा. दीपक भट्टले २०७९ मा टिकट पाएनन् । एमालेका तर्फबाट निरुदेवी पाल तिनै लेखकसंग फराकिलो मतान्तरले पराजित भईन् ।

२०५१, ५६ र ७९ मा जितेर ह्याट्रिक गरेका लेखक निवर्तमान सभापति शेर बहादुर देउवाका विश्वास पात्र हुन् । विशेष महाधिवेशनमार्फत गगन थापा काँग्रेसको नेतृत्वमा आएपछि लेखक टिकट पाउनेको सूचीमा अटाएनन् । त्यसको लाभ यसपटक नेकपा एमालेका उम्मेदवारलाई हुने अनुमान गर्नेहरु नभएका होईनन् । यद्दपि जेनजी आन्दोलनपछि परिवर्तन भएको मतदाताको मनोबिज्ञानले निर्वाचनको परिणाम अनपेक्षित हुने आंकलन गरिएको छ ।

लेखक उम्मेदवार भए काँग्रेसका लागि सुदूरपश्चिममै यो सबै भन्दा सुरक्षित सीट हुन्थ्यो । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण आलोचित भएपनि उनको जित कसैले रोक्नसक्दैनथ्यो । कञ्चनपुरको विकास, खासगरी क्षेत्र नम्बर ३ को विकासमा उनको योगदान उल्लेखनीय छ । उनी ३ नम्बर क्षेत्रका मतदाताका माझमा सबैभन्दा घुलमिल भएका नेता हुन् ।

नेपाली काँग्रेसका पूर्व सभापति हरी बोहरा पहिलो पटक चुनावी मैदानमा छन् । लेखकको टिकट खोसिदा उनले त्यो अवसर पाए । नेपाली काँग्रेसका पुराना नेता भएपनि उनी मतदातामाझ उनी घुलमिल छैनन् ।

२०७९ मा लेखक १२ हजार ७५ मतको फराकिलो अन्तरले बिजयी भएका थिए । लेखकले ३० हजार ५२३ मत पाउँदा एमालेकी उम्मेदवार पालले १८ हजार ४४८ मात्र मत पाएकी थिईन् । त्यस निर्वाचनमा ५४१५७ मत खसेको थियो ।

लेखकले २०५१, २०५६, २०७९ मा जिते । २०७४ सालको आम निर्वाचनमा भट्टले लेखकलाई २५८ मतको झिनो अन्तरले पराजित गरेका थिए । भट्टले २६ हजार ३६४ मत ल्याउँदा लेखकले २६ हजार १०६ मत पाएका थिए ।

क्षेत्र नम्बर ३ काँग्रेसको पकड भएको क्षेत्रका रुपमा चिनिन्छ । लेखकले झै काँग्रेसको सबैमत पाएमा बोहरा जित्नेछन् । तर काँग्रेसका सबैमतादाको मत यस पटक काँग्रेसकै उम्मेदवारले पाउने अवस्था छैन् । किनकी लेखक उम्मेदवार छैनन् । नत प्रचार प्रचारमा देखिएका छन् । स्थानहद फुकुवा भएपछि काठमाण्डौं झरेका लेखकको क्रेज उस्तै देखिन्छ । उनको सक्रियताले बोहराको जित निकाल्नेछ । निस्क्रियताले हार । काँग्रेस एकढिक्कामा भएमा र लेखकले बोहराका लागि चुनावअबधिभरी घरदैलो गरेमा बोहरालाई चुनाव जित्न सहज हुनेछ ।

भट्ट एमालेका बलिया उम्मेदवार हुन् । एक पटक चुनाव जितिसकेका भट्टले मतदाताको मनोविज्ञान बुझेका छन् । बौद्धिक छविका भट्ट विकासका सवालमा सचेत छन् । गेटा मेडिकल कलेज, महेन्द्रनगर विमानस्थल र सुख्खा बन्दरगाहका मुद्दामा उनी निरन्तर बोलिरहेका छन् ।

परम्परागत दलहरु नेपाली काँग्रेस, एमाले र नेकपाका लागि यस पटक रास्वपा चुनौती बनेको छ । रास्वपाले पाउने भोटले पनि चुनावी परिणाम तलमाथि गर्नेछ ।

रास्वपाका उम्मेदवार ज्ञानेन्द्र महता स्थानीय हुन् । उनी महेन्द्रनगर बजारका बासिन्दा हुन् । र, उनको पुख्र्यौली घर बैतडी हो । महेन्द्रनगरका मतदाताबीच चुनावका समयमा भेगीय बिभाजन हुने गरेको छ । त्यसको केही लाभ महतालाई हुनेछ ।

यद्दपि लेखकको अनुपस्थितिले सबैभन्दा फाईदा एमालेका उम्मेदवार भट्टलाई हुने देखिन्छ । भट्ट र लेखक नजिकका नातेदार हुन् । दुबैको पुख्र्यौली घर बैतडी हो । मतदाता र आफन्त पनि एउटै हुन् । त्यसकारण यसअघि बाडिएका भोटहरु यसपटक भट्टले एकलौटी पाए जित्नेछन् ।

तर क्षेत्र नम्बर ३ को निर्वाचनमा दोधारा चाँदनीको मत निर्णायक छ । उज्यालो नेपाल पार्टीका उम्मेदवार भीम कुमाल र नेकपाका उम्मेदवार मान बहादुर सुनार दुबै जना दोधारा चाँदनीका बासिन्दा हुन् । कुमालले सुनारको मत कति काट्छन्, भन्न सकिन्न । कुमालले धेरै मत ल्याएमा त्यसको असर सुनारलाई हुनेछ । हो, दोधारा चाँदनीका जनताको मुडमा क्षेत्र नम्बर ३ को नतिजा आउनेछ । जबजब दोधारा चाँदनीको उम्मेदवार हुन्छन्, त्यहाँका मतादाताले पार्टी नहेरी आफ्नो भूगोलको उम्मेदवारलाई मतदान गर्ने गरेको पाईन्छ । यदि त्यही मुड दोधारा चाँदनीका मतदाताको यसपटक रहीरहे, सुनारको बलियो उपस्थिति हुनेछ ।

सुनार २०५१ सालदेखि चुनाव लड्दै आएका छन् । २०५१ मा स्वतन्त्र लड्दा सुनारले ५७६९ मत पाएका थिए ।

२०७४ मा माओवादी केन्द्रका तर्फबाट क्षेत्रनम्बर ३ (ख) मा चुनाव लडेका मानबहादुर सुनार १३ हजार ७ सय मतसहित निर्वाचित भएका छन् । जुनसुकै पार्टीमा रहेपनि उनका केही पकेटका भोट छन्, जो सधै उनका पक्षमा खस्छन् । त्यसमाथि नेकपाका मतदाताले एकलौटी रुपमा मत हालेमा चुनावको परिणाम उनको पक्षमा नआउला भन्न सकिन्न ।

कञ्चनपुरको क्षेत्र नम्बर ३ अन्तर्गत भीमदत्त नगरपालिका र दोधारा नगरपालिका २९ र बेदकोट नगरपालिकाको एउटा वडा समेत गरी ३० वटा वडा पर्छन् । जहाँ एक लाख ३ हजार ८७ मतदाता छन् । जहाँ एक महिला सहित १७ जना चुनावी मैदानमा छन् ।

अहिलेसम्म चर्चाका आधारमा भट्ट अगाडि देखिन्छन् । दोस्रोमा सुनार छन् । तेस्रोमा बोहरा । र, चौथौमा महता । राप्रपाका पूर्ण बहादुर चन्द पाँचौ नम्बरमा देखिन्छन् । तर पेटिकामा मत नखसेसम्म कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन् । किनकी चुनाव आउन अझै एक महिनाबढि समय बाँकी छ । यो अबधिमा कसले कति मिहिनेत गर्छ, त्यसैले नतिजा निर्धारण   गर्नेछ ।

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो आदेश दिएको हो । महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले यो अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला आदेशमा भनिएको छ ।

यसअघि माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गएको पुस ३० गतेको निर्णयको सक्कलप्रति झिकाउने आदेश गरेको थियोे ।

सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेसँगै सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो । यो निर्णयविरुद्ध नेपाल बार एसोसिएसन, विभिन्न मानव अधिकारवादी सङ्घसंस्था र नागरिक समाजले विरोध गर्दै आएका छन् ।

 

खोज्नुहोस