कैलालीमा श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ
कैलाली । कैलालीमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी १३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए ।
घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
