सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको कडाइ

काठमाण्डौ- निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग थप पेचिलो बन्दै गएको छ । सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरुको प्रयोग, उम्मेदवारको मानमर्दन हुने गरी नाराबाजी, भ्रामक भिडियो तथा तस्बिर प्रसारणजस्ता गतिविधि बढ्दै गएका छन् ।

यस्तै, उम्मेदवारी दर्ताका क्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने र तडकभडक गर्न नहुने निर्वाचन आचारसंहिता धेरै दल र उम्मेदवारले उल्लङ्घन गरेको पाइएको छ । प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग, दलका झण्डा–ब्यानरसँगै तस्बिर तथा भिडियो सार्वजनिक हुनु, कतिपय दल र उम्मेदवारले प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसको दुरुपयोग भएको भन्दै आलोचना पनि भइरहेको छ ।

यसैलाई मध्य नजर गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम माथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावका बेला प्रवाह हुने मिथ्या, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने बताएका छन् ।

२०७९ सालको निर्वाचनमा गरिएको पहललाई यसपटक अझ प्रभावकारी बनाइने उनको भनाइ छ । एआईलगायत प्रविधिको प्रयोग गरेर विपक्षीको चरित्र हत्या र नागरिकमाझ भ्रम फैलाउने प्रयासलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

निर्वाचन आयोगका अनुसार पछिल्लो एक हप्तामा आठ वटा हानिकारक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरीको साइबर ब्यूरो र आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।

आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँग सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गलत, भ्रामक तथा गालीगलौजयुक्त अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर असर पार्ने भएकाले त्यसको नियन्त्रणका लागि पहल भइरहेको छ ।

यसका लागि आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्ध्दन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको उनले जानकारी दिए । यस्तै चुनावकाबेला डिजिटल माध्यमको दुरुपयोग रोक्न गृह मन्त्रालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रभावकारी रूपमा परिचालन गर्न पत्राचार गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो साइबर ब्यूरोको कार्यालय पुगेर अनुगमन तथा निर्देशन दिएका छन् । ब्यूरोलाई निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिको निगरानी, विश्लेषण र आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने कार्यादेश दिइएको छ ।

आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण

जाजरकोट- निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई स्पष्टीकरण सोधेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मनोनयन दर्ता गर्ने क्रममा बस्नेतले जाजरकोटमा पैसा बाँडेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले बस्नेतलाई स्पष्टीकरण सोधेको हो ।

पाँच सय रुपैयाँका नोट बाँडिरहेको श्रव्यदृश्य सामग्रीसहित उजुरीका आधारमा आयोगले बस्नेतलाई आचारसंहिता उल्लंघन किन गरेको हो ? भन्दै तीन दिनभित्र कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

त्यसको जवाफ बस्नेतले आयोगलाई बुझाइसकेका छन्।  बस्नेतले आयोगलाई दिएको जवाफमा भनेका छन् कि,’अन्य पार्टीका प्रतिनिधिहरू मनोनयनका क्रममा दमाहा बाजा लिएर आएका थिए र खुसियाली मनाउने तथा शुभकार्यमा दमाहा बजाउने यो जिल्लाको परम्परा हो। मुख्य मानिसले उनीहरूलाई स्वेच्छाले केही दान दिने प्रचलन छ,नदिँदा उनीहरू रिसाउँछन् र अशुभ मानिन्छ। सोही सामाजिक मान्यताअनुसार केही रकम दिएको हुँ। मतदाता प्रभावित पार्न दिएको होइन।’

स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल

काठ्माणडौ- महत्वपूर्ण खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणबाटै बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह ‘बी’ को आफ्नो अन्तिम तथा महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेन।

१४० रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा अलआउट भयो।

नेपालका लागि विन्दू रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

बलिङमा स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन्।

सुपर-६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।

अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन बनाए।

बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो।

समूहमा यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको नेपालले जिम्बावेलाई भने हराएको थियो। नेपालका लागि स्कटल्यान्डलाई हराए मात्र शीर्ष तीनमा परेर सुपर-६ मा पुग्ने सम्भावना थियो।

यससँगै यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी वुमन्स टी-२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन। दश टोलीबीच जारी यो छनोटबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्।

राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल कांग्रेस, एमाले तेस्रो

काठमाडौं- संघीय संसदको माथिल्लो सदनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १८ पदका आइतबार (माघ ११) भएको निर्वाचनमा कांग्रेसका ९ जना निर्वाचित भएसँगै ठूलो दल बनेको हो । विघटित प्रतिनिधिसभामा ठूलो दल बनेको कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको हो ।

नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगको गठबन्धन गरेको कांग्रेस आफूलाई माथिल्लो सदनमा ठूलो दल बन्न सफल भएको हो । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ठूलो दल थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ भने बाँकी ५६ जना निर्वाचनबाट दलीय प्रतिनिधित्व हुने गर्छ । जसअनुसार आइतबार भएको निर्वाचनको परिणामपछि राष्ट्रिय सभामा कांग्रेस ठूलो दल बन्दा नेकपा दोस्रो र एमाले तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।

नेकपा १८ सिटसहित दोस्रो, ११ सिटसहित एमाले तेस्रो दल बनेकाे छ ।

आइतबार भएको निर्वाचनमा कांग्रेस ९, एमालेका ८ र लोसपाका १ जना निर्वाचित भएका हुन् । कांग्रेसबाट सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, रन्जित कर्ण, गीतादेवी देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्बहादुर खाती निर्वाचित भएका हुन् ।

यस्तै, एमालेबाट रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखाकुमारी झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमार झाँक्री, मीनासिंह रखान र लिलाकुमारी भण्डारी विजयी भएका हुन् ।

यसैगरी लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

रामकुमारी झांक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झांक्री निर्वाचित भएकी छिन् । झांक्रीले ६३०३  मतभार प्राप्त गरी विजयी भएकी हुन् ।

नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् ।

जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा दुई सय २० मत खस्यो

धनगढी । दुई जना प्रदेश सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज भएको निर्वाचनमा २२० मत खसेको छ ।

जम्मा २२४ मत रहेकोमा दुई प्रदेश सभा सदस्य र दुई पालिकाका जनप्रतिनिधिले निर्वाचनमा भाग लिएनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा सदस्यबाट ५१ मत रहेकोमा ४९ र १७३ मत रहेको स्थानीय तहबाट १७१ मत खसेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखा कठरिया भोट हाल्न नआएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनले मतगणना आजै सकेर नतिजा सार्वजनिक गर्ने उल्लेख गरे ।

एक महिला र एक अन्य गरी दुई सदस्य चयनका लागि चार जनाको उम्मेदवारी रहेको छ ।

राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मत खस्यो

काठमाण्डाै – आज भएको राष्ट्रियसभा सदस्य चुनावमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । सातै प्रदेशमा गरि ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार कोशीमा ३ सय ४५ जना, मधेशमा ३ सय ४१ जना, बाग्मतीमा ३ सय १८ जना, गण्डकीमा २ सय २३ जना, लुम्बिनीमा २ सय ८६ जना, कर्णालीमा १ सय १९ जना र सुदूरपश्चिममा २ सय २० जनाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । आज विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित जनप्रतिनिधिहरू मतदानमा सहभागी भएनन् ।

सबै प्रदेशमा आजै मतगणना हुने आयोगले जनाएको छ ।

लुम्बिनीमा अपाङ्गतर्फ नेपाली कांग्रेसका घिमिरे विजयी

दाङ- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट अपाङ्गता कोटातर्फ नेपाली कांग्रेसका उम्मेदवार वासुदेव घिमिरे (जङ्गली) निर्वाचित भएका छन्। निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई  पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन्। मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका घिमिरेले उल्लेख्य मतान्तरसहित जीत हाँसिल गरेका छन्।

उनले  ६ हजार ३२२ मत  प्राप्त गर्दा  विकले १ हजार ६०१ मत प्राप्त गरे।

सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनमा एमालेकी भण्डारी निर्वाचित

कैलाली- राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् ।

उनले ‌३९९४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत १६७५ मतमा रोकिइन् । खुल्ला तर्फको गणना जारी छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा छ ।

कांग्रेस-एमाले गठबन्धनका कारण उनको पनि जित निश्चित छ ।

गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए ।

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । मतदानमा सहभागी नभएका पालिका तर्फका तीनैजना मतदाता सत्ता गठबन्धनका हुन् ।

सोम पोर्तेल राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् ।

कांग्रेस एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । महिलातर्फ एमाले उम्मेदवार राेश्‍नी मेचे निर्वाचित भएकी थिइन् । यहाँ प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै  स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।

गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।

गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी हुन् ।

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको थियो ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थीत आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ। देशभर स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समेत समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी गराउने काम केन्द्रले गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए।

उनले निर्वाचन क्षेत्रमा देखापर्ने समस्यालाई समाधान गर्ने काम समेत केन्द्रको समन्वयबाट हुने बताए। भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा अनुभवी व्यक्तिहरूलाई समावेश गरेकाले प्रभावकारी रूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले निर्वाचनका सन्दर्भमा आयोगमा धेरै उजुरीहरू आएको भन्दै त्यसमाथि सुक्ष्म ढंगल अध्ययन भइरहेको जानकारी दिए।

कर्णालीमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

सुर्खेत । कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् ।

नेकपाका दुवै उम्मेदवार पराजित भए ।  आइतबार बिहानदेखि सुरु भएको मतदानमा ९६.४६ मत खसेको थियो । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।

प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् । स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

खसेको मतमध्ये एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् । यस्तै कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

यस्तै पराजित भएका नेकपाका उम्मेदवार महिलातर्फ अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् भने बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभामा कोशीबाट मेचे निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।

एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।

रोशनीको यो राजनीतिक फड्कोको मुख्य कडी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम हो । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने उनी एक्ली महिला हुन् ।

झापा मेचीनगर-१२ (साविक धाइजन-३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए ।

नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुने छिन् । झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछ । यो समुदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ ।

पार्टीको प्रतिनिधि बन्न योग्यता नपुगे पनि उनको प्राज्ञिक योग्यता भने उच्च छ । २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक पनि गरेकी छन् । उनी अधिवक्तासमेत हुन् ।

सुदूरपश्चिम भ्रमणमा निस्किँदै बालेन, कैलाली २ बाट चुनावी अभियान सुरू गर्ने

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले सोमबार बालेन आफ्नो क्षेत्रमा आउने पुष्टि गरे। ‘उहाँ (बालेन) हाम्रो क्षेत्रबाटै सुदूरपश्चिमको भ्रमण गर्दै हुनुहुन्छ। मेरो क्षेत्रमा आयोजना हुने कार्यक्रममा पनि उहाँ सरिक बन्नुहुन्छ,’ उनले भने।

बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। झापामा उम्मेदवारी दिएपछि पूर्वी पहाडी जिल्लाको चुनावी अभियानमा उनी सहभागीसमेत बनेका थिए।  -अन्नपूर्ण

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा सकियो मतदान, १३ जना अनुपस्थित

दाङ- लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा मतदान सम्पन्न भएको छ। २९९ मतदातामध्ये २८६ मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिए।

लुम्बिनी प्रदेश सभाका ८३ मतदाता मध्ये ७८ जना र स्थानीय तहका २१६ मध्ये २०८ जना गरी २८६ मत खसेको हो। लुम्बिनी प्रदेश सभाका राप्रपाका ४ प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका एकजना गरी ५ जना अनुपस्थित रहे भने स्थानीय तहका ८ जना गरी १३ मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए।

अबको केही बेरमा मतदानस्थल घोराहीस्थित कर्मचारी मिलन केन्द्रमै मतगणनाको व्यवस्था मिलाइएको छ। साढे ५ बजेसम्म अन्तिम नतिजा आउने गरी काम गरिने मुख्य निर्वाचन अधिकृत पण्डितले बताए।

राष्ट्रिय सभा निर्वाचन : मधेशमा खसेन २२ मत

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रसभाको निर्वाचन सम्पन्न भएको छ । चारजना राष्ट्रिय सभा सदस्यको लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

पालिका प्रमुख र उपप्रमुख तर्फ २६४ मध्ये २४२ मत खसेको छ । २२ मत खसेन ।

प्रदेश सभामा सय मध्ये ९९ मत खसेको छ । मतगणनाको लागि सर्वदलीय बैठक चल्दै छ ।

कर्णालीमा ९६.४६ मत मात्रै खस्यो, ७ जनाले गरेनन् मतदान

सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । जस अन्तर्गत कर्णालीमा ९६.४६ मत मात्रै खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीलाई बताए ।

उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् ।

स्थानीय तहतर्फ १५८ मतदाता संख्यामध्ये १५२ मत मात्रै खसेको उनले बताए । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा एक अन्य र एक महिला पदका लागि राष्ट्रिय सभा निर्वाचन भएको छ । जस अन्तर्गत कांग्रेस–एमाले गठबन्धन छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा छ ।कांग्रेसबाट अन्यतर्फ ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिं रखाल उम्मेदवार छन् ।

नेकपाबाट अन्यतर्फ बुद्धिप्रसाद शर्मा र महिला कलस्टरमा अन्जु महतरा उम्मेदवार छन् । आजै मतगणना गरिने छ ।

रेशम चौधरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै उम्मेदवारी रद्द गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोधेको हो। अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो।

सुदूरपश्चिममा प्रकाश देउवा र गोपाल हमालसहित ४ जनाले गरेनन् मतदान

कैलाली । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४ जना सहभागी नभएकाे खुलेकाे छ । दुई पदका लागि गरिएकाे निर्वाचनमा २२४ मतदाताहरु मध्ये प्रदेश सभाका दुई जना र स्थानीय तहका दुई जना मतदानमा सहभागी भएनन् ।

कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्टले मतदान बहिस्कार गरे भने धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमती देबी कठरियाले मतदान गरेनन् ।

धनगढीका हमाल स्वतन्त्र मेयर हुन् भने जोशिपुरकी चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) की उपाध्यक्ष हुन् ।

खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसी, एक महिला कोटाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) की लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारी दिएका छन् ।

कांग्रेस-एमाले गठबन्धनले खाती र भण्डारीको जीत निश्चित भइसकेको छ । मतदान सकेर मत गणना सुरु हुँदै छ ।

गण्डकीमा २२३ मत खस्यो

काठ्माण्डौ- राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ। कुल २२९ मतमध्ये ६ जना अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ।

गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १७० जना मतदाता रहेका थिए। जसमध्ये प्रदेशसभा सदस्यतर्फ २७ पुरुष र २० महिला गरेर ५७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ। प्रदेश सभातर्फ दुई सदस्य अनुपस्थित रहे।

त्यस्तै, स्थानीय तहतर्फ १०२ पुरुष र ६४ महिला गरेर कुल १६६ जनाले मतदान गरेको कार्यालयको अभिलेखमा उल्लेख छ।

राष्ट्रिय सभामा गण्डकीमा दुई सदस्यका लागि निर्वाचन भएको हो। गण्डकीमा खुल्लातर्फ १ र महिला क्लष्टरमा १ गरी दुई सदस्यका लागि निर्वाचन भएको हो। जसका लागि यहाँ कांग्रेस–एमालेले गठबन्धन गरेका छन्। उनीहरूले खुल्लातर्फ कांग्रेसका डा.जगत तिमिल्सिना र महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई उम्मेदवारका रूपमा खडा गरेका छन्।

यहाँ नेकपाले कपिल लामा र गोमा घिमिरे लुईटेल (रुची)लाई तथा राष्ट्रिय जनमोर्चाले शंकर बराल र लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको छ।

प्रदेश निर्वाचन कार्यालयले केहीबेरमै मतगणना सुरु गर्ने र अपराह्न ५ बजेसम्ममा मतपरिणाम आइसक्ने जनाएको छ।

बाग्मतीमा २२९ मत खस्याे

हेटौंडा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा २२९ मतदाताले मतदान गरे ।

जम्मा ३३४ मतदाता रहेको यस प्रदेशका प्रदेशसभा सदस्यमध्ये ८९ जना मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनाको तयारी भइरहेको र केही समयमै परिणाम आउने उक्त कार्यालयले जनाएको छ ।

सेयर बजारमा हरियाली, परिसूचक ५७ अंकले बढ्दा करिब १४ अर्ब माथिको कारोबार

काठ्माण्डौ- साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २.१२ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।  सेयर बजारमा हरियाली कायम भएको दिन सेन्सेटिभ इन्डेक्स पनि ८.०५ अंकले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा करिब १४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।  सेयर बजार उच्च अंकले बढेको दिन सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फिनल्यान्डका वैज्ञानिकहरू तारविनै हावामा बिजुली प्रवाह गराउन सफल

एजेन्सी- फिनल्यान्डका वैज्ञानिकहरूले तारविना हावामा बिजुली प्रवाह गर्न सफल भएका छन् । हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीले तारको प्रयोग नगरि हावामार्फत नै बिजुली प्रवाह गर्न सफल भएका अमेरिकी सञ्चारमाध्यम टाइम म्यागजिनले जनाएको छ ।

वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरङ्ग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनबाट यो उपलब्धि हासिल गरेका हुन् । यस प्रविधिमा उच्च तीव्रताका ध्वनि तरङ्गले हावामा अदृश्य मार्ग निर्माण गर्छन् जसलाई ’अकुस्टिक वायर’ भनिन्छ । यी मार्गमार्फत विद्युतीय झिल्काहरू कुनै भौतिक सम्पर्कविना नै सुरक्षित रूपमा प्रवाह हुन्छन् ।

यो प्रयोग प्रारम्भिक चरणमा रहे पनि यसले भविष्यमा घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै परिवर्तन गर्ने सम्भावना देखाएको छ । यो प्रविधि व्यावहारिक रूपमा विस्तार हुन सक्यो भने बिजुलीको प्रवाहका लागि प्लग, तार र परम्परागत विद्युतीय जडानको आवश्यकता नै अन्त्य हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।

तर यस प्रविधिको व्यावसायिक उपयोग गर्न अझै धेरै चुनौतीहरू पार गर्नुपर्ने छ । ऊर्जा प्रवाहको दूरी र क्षमता बढाउनु, सुरक्षा सुनिश्चित गर्नु र लागत घटाउनु प्रमुख चुनौती हुन् ।

वायरलेस बिजुली प्रवाहले तार र केबलको जटिलता अन्त्य गर्ने, विद्युतीय दुर्घटनाको जोखिम घटाउने र स्थापना खर्च कम गर्ने सम्भावना छ । विशेषगरी चिकित्सा क्षेत्र, औद्योगिक स्वचालन र दुर्गम क्षेत्रमा रहेका उपकरणहरूका लागि यो प्रविधि अत्यन्त उपयोगी साबित हुनसक्ने विज्ञहरू बताउँछन् ।

 

चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा

काठमाण्डाै- निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीहरूका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ ।

आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका लागि जनही २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको हो । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि १५ दिन अवधिको बीमा गरेको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयमा काम गर्ने र चुनावका बेला काजमा आउने कर्मचारीहरूका लागि ९० दिन अवधिको बिमा गरेको आयोगले जनाएको छ ।


बाजुराका अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको श्री सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरूलाई चिसोभन्दा पनि पढाइप्रतिको चाहना बढी देखिएको छ ।

अभिभावकविहीन बालबालिकालाई संरक्षण र शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिसोका बाबजुद पनि पढाइ नछुटाउने प्रयासमा जुटेका छन् । हिमाली भेगको उचाइमा अवस्थित विद्यालयमा हिउँद याम अत्यन्त चिसो हुने गर्छ । आकाशमा सामान्य बादल लाग्दा पनि चिसो बढ्ने र पानी परेपछि हिमपात सुरु हुने गरेको विद्यालयका शिक्षकले जनाएका छन् ।

यस विद्यालयमा प्रायः अनाथ, भोटे जनजाति तथा गरिब–विपन्न परिवारका बालबालिकाहरू अध्ययन गर्छन् । हिउँदमा नियमित रूपमा हुने हिमपातका कारण पठनपाठनमा कठिनाइ भए पनि विद्यार्थीहरूको उत्साह कम भएको छैन ।

विद्यालयका कक्षा छात्र कार्मा बोहराका अनुसार अन्य विद्यालयको तुलनामा यहाँ पढाइलाई बढी प्राथमिकता दिइन्छ । “शिक्षकहरूले हाम्रो पढाइलाई निरन्तरता दिन शनिबार पनि कक्षा लिनुहुन्छ,” उनले भने ।

बोहराले थपे, “म विद्यालयमै बस्छु । यहाँ खाने–बस्ने सबै व्यवस्था छ । अहिले बाक्लो हिमपातका कारण विद्यालय वरिपरि हिउँ जमेको छ । हिउँ लामो समय नपग्लिने हुँदा चिसोमा पढ्न गाह्रो हुन्छ । तर चिसोभन्दा पनि हामीलाई पढाइको माया बढी छ । आगो बालेर भए पनि कक्षाकोठामै बसेर पढ्छौँ । बाक्लो लुगा भएको भए अझ सहज हुन्थ्यो ।”

विद्यालयका अधिकांश विद्यार्थी अनाथ, दलित तथा जनजाति समुदायका हुन् । जिल्लाभर यस्तै प्रकृतिको आवासीय विद्यालय यही मात्र भएकाले विभिन्न ठाउँबाट अनाथ बालबालिका यहाँ आउने गरेका छन् । तर विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले चिसो मौसममा न्यानो लुगा अभावले समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताए ।

“हिउँदमा घाम लागेको दिनमा पनि यहाँ निकै चिसो हुन्छ । अहिले परेको हिमपातले विद्यालय पूरै ढाकिएको छ । यस्तो अवस्थामा बालबालिकालाई चिसोबाट जोगाउन चुनौती भएको छ,” रावतले भने ।

हाल विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्द्वपीडित र दलित तथा ४० जना भोट समुदायका गरी जम्मा ६६ जना बालबालिका अध्ययनरत छन् । उनीहरूका लागि न्यानो लुगाकपडाको अत्यन्त आवश्यकता रहेको प्रधानाध्यापक रावतले उल्लेख गरे । “यदि कतैबाट न्यानो लुगा सहयोग प्राप्त भए बालबालिकालाई ठूलो राहत हुने थियो,” उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङका अनुसार जिल्लामै सम्भवतः यही एक मात्र आवासीय विद्यालय हो । “हामीले आफ्नै पहलमा विद्यालय सञ्चालन गरेका हौँ। विभिन्न ठाउँबाट अनाथ तथा टुहुरा बालबालिका यहाँ आउँछन् । तर आर्थिक अवस्था कमजोर हुँदा उनीहरूलाई राखेर पढाउन कठिनाइ भइरहेको छ,” उनले बताए। -गोरखापत्र

सुदूरपश्चिममा शान्तिपूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

धनगढी । दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ ।

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहानदेखि निर्वाचन भइरहेको हो । यसप्रदेशमा ५१ प्रदेश सभा सदस्य र १७३ स्थानीय तहका जनप्रतिनिधि गरी २२४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा एक जना प्रदेश सभा सदस्य निलम्बनमा परेको र अर्का एक प्रदेश सभा सदस्यले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्नका लागि राजीनामा दिएकाले ५१ जनालेमात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, प्रदेशमा रहेको ८८ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यस प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सहकार्य गरेर उम्मेदवार उठाएका छन् । एमालेबाट कैलालीका लीला भण्डारी र नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खातीको उम्मेदवारी छ । यस प्रदेशमा कांग्रेस, एमालेबाट जितेका जनप्रतिनिधि बढी रहेकाले दुवै जनाको जित सुनिश्चित छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले रोजी बस्नेत सुनार र टीकाराम जैसीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले भोट हाल्ने व्यवस्था छ ।

खोज्नुहोस