साउदी-नेपालबीच आज श्रम सम्झौता, मन्त्री भण्डारी साउदी प्रस्थान

काठमाडौँ- नेपाल र साउदी अरबबीच पहिलो पटक आइतबार साँझ साउदीको राजधानी रियादमा नेपाली श्रमिकको भर्नासँग सम्बन्धित श्रम सम्झौतामा हस्ताक्षर हुँदै छ ।

सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी अरब गएका छन् ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न एक दशकदेखि मस्यौदामा काम भइरहेको थियो । सम्झौतामा श्रममन्त्री भण्डारी र साउदीका समकक्षी मानव संशाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजहीले हस्ताक्षर गर्दै छन् । सन् २०१८ देखि अल राजीले मानव संशाधन मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् ।

गत जेठ अन्तिम साता जेनेभामा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी सम्झौतालाई बाँकी राखेर सामान्य श्रम सम्झौता गर्ने सहमति भएको थियो । घरेलु श्रमिकसम्बन्धी सम्झौताका लागि थप गृहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।

श्रम सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकलाई थप अवसर प्रदान गर्ने, मानव तस्करीबाट जोगाउन पारदर्शी भर्ना प्रक्रियालाई प्राथमिकता दिनेदेखि श्रमिक र रोजगारदाताको अधिकारलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम मापदण्डलाई प्राथमिकता दिई सम्झौता गर्न लागिएको जनाएको छ । सम्झौताले साउदीको श्रम कानुन अनुसार साउदीमा काम गर्ने नेपाली श्रमिकको तलबको सुरक्षा, दोहोरो करारपत्रको अन्त्य, अत्याधिक लागत खर्चको नियन्त्रण, म्यानपावर कम्पनीबाट हुने ठगीको अन्त्य, श्रमिकको न्यायको पहुचको बिषय लगायतको बिषयमा सम्बोधन गरिएको जनाएको छ ।

साउदीमा हाल चार लाख नेपाली कार्यरत छन् । त्यसमध्ये सबैभन्दा बढी निर्माण र सेवा क्षेत्रमा छन् । पछिल्लो १० वर्षमा साउदीमा मात्रै १३ लाख ५२ हजार ८ सय जनाले श्रम गरिसकेका छन् । जसमा १ लाख ११ हजार महिला श्रमिक छन् । आर्थिक वर्ष २०८१/८२ मा पुनः श्रम स्वीकृतिसहित एक लाख ५२ हजार जना गएका थिए । पछिल्लो दुई आर्थिक वर्षभित्र साउदी अरबमा ६ सय ८४ जनाको मुत्यु भएको श्रम मन्त्रालयको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा २०४ मत खस्यो, मतदान जारी

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा अहिलेसम्म २०४ जनाले मतदान गरेका छन् । दिउँसो पौने २ सम्म २०४ जनाले मतदान गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार ४६ जना प्रदेशसभा सदस्य र १५८ जना स्थानीय तहका सदस्यले मतदान गरेका हुन्। अहिले मतदान जारी रहेको छ।

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ जारी छ।

न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनवाइ भइरहेको हो। यसअघि माघ ८ गते न्यायाधीश डा.मनोजकुमार शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन रिट हेर्न नमिल्ने सूचीमा परेको थियो। रिट निवेदकले माग गरेको अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा उक्त दिन दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर, सुनुवाइ भएन।

यसअघि माघ ६ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमाथि कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो।

अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।  महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ।

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी हुन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको हो।

सरकारी विज्ञापन कारोबारसम्बन्धी समाचारप्रति नेपाल विज्ञापन संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं। सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यमहरूमा प्रकाशित समाचार र विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले माघ ९ गते जारी गरेको विज्ञप्तिमा कान्तिपुर दैनिक मा प्रकाशित “सरकारी विज्ञापनमा ३ अर्ब गायब” शीर्षकको समाचार र सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडिया लिमिटेडबाट जारी विज्ञप्तिले आम जनमानस र सरोकारवाला निकायहरूमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरिएको छ।

एउटा जिम्मेवार व्यावसायिक संस्थाको हैसियतले विज्ञापन बजारको पारदर्शिता र मर्यादासँग जोडिएका यस्ता समाचारले समग्र विज्ञापन क्षेत्रको छविमा नकारात्मक असर पारेको संघको ठहर छ।

विज्ञप्तिमा सञ्चार माध्यममा उल्लेख गरिएको “तीन अर्ब गायब” भन्ने विषयको कुनै ठोस तथ्याङ्क र कानुनी आधार नरहेको दाबी गरिएको छ। सार्वजनिक खरिद प्रक्रियामार्फत हुने सरकारी विज्ञापनको वितरण र भुक्तानी प्रक्रियालाई नै गलत ढंगले व्याख्या गर्दा समग्र विज्ञापन जगतको छविमा आँच पुगेको संघको भनाइ छ।

संघले सञ्चार गृहहरू आफैंमा विज्ञापन बजारका अभिन्न हिस्सा भएको उल्लेख गर्दै राज्यको चौथो अंगका रूपमा सञ्चार माध्यमले तथ्यका आधारमा गलत कार्य उजागर गर्नु महत्त्वपूर्ण दायित्व भए पनि, पुष्टि नभएका विषयमा अर्को सञ्चार गृह वा विज्ञापन एजेन्सीलाई लक्षित गरी भ्रम फैलाउनु व्यावसायिक मर्यादा र पत्रकारिताको मूल्यमान्यताविपरीत हुने स्पष्ट पारेको छ।

यस्ता भ्रामक समाचारले विज्ञापन चक्रमा संलग्न विज्ञापनदाता, एजेन्सी र सञ्चार माध्यमबीचको विश्वासको वातावरण कमजोर बनाउनुका साथै विज्ञापन पेशा–व्यवसाय नै धराशायी हुने जोखिम बढाएको संघको बुझाइ छ।

विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नेपाल विज्ञापन संघ सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा विज्ञापन कारोबार गर्दा एजेन्सीको रूपमा दर्ता मात्र नभई संगठनात्मक आबद्धता र मान्यता प्राप्त फर्म वा कम्पनीहरूसँग मात्र काम गर्न संघले पहिलेदेखि नै सञ्चार गृहहरूलाई आग्रह गर्दै आएको जनाइएको छ। अपुष्ट समाचारका कारण २५ अर्ब रुपैयाँभन्दा बढीको समग्र विज्ञापन पेशा–व्यवसायलाई अनावश्यक दोषारोपण गरिएको संघको भनाइ छ।

कुनै पनि निकायमा अनियमितता भएको खण्डमा त्यसको छानबिन गर्न संवैधानिक र कानुनी बाटो हुँदाहुँदै सञ्चार माध्यममार्फत एकपक्षीय र भ्रामक सूचना सम्प्रेषण हुनु खेदजनक भएको संघले उल्लेख गरेको छ।

संघले भ्रामक समाचारहरूको पछि नलाग्न र सत्य–तथ्य बुझेर मात्र सूचना तथा समाचार सम्प्रेषण गरी व्यावसायिक धर्म निर्वाह गर्न  विज्ञापनदाता, एजेन्सी सञ्चालक तथा सम्बन्धित सरोकारवालाहरूलाई अनुरोध समेत गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २३० मत खस्यो

बुटवल- राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको छ ।

प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७  मत खसको छ, भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ जम्मा १६३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

कैलाली क्षेत्र नं. १ चुनावी चर्चामा

कैलाली। हरेक निर्वाचनमा नयाँ उम्मेदवार जिताएर चक्मा दिने कैलाली जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा यस पटकको चुनाव पनि रोचक हुने भएको छ । विसं २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरमा जितेको यो क्षेत्रमा सो पार्टी विभाजन भएर चार टुक्रा भएपछि भने नतिजा के होला भन्ने चासो सबैमा बढेको छ ।

अघिल्लो निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत पाएर विजयी भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभएको थियो भने नेकपा (एमाले) का तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा विजयी भएको पार्टी चार टुक्रामा विभाजन हुनु, कांग्रेस र माओवादी अलग अलग भई चुनाव लड्नु, कांगे्रसमा महाधिवेशनले विवाद ल्याउनु, नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारको टिकट नागरिक उन्मुक्तिका नेताले पाउनु, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति चुनाव लड्ने भनिए पनि नयाँ उम्मेदवारलाई उठाउनुलगायतका विषयले यस क्षेत्रका मतदाता अन्योलमा छन् ।

प्रारम्भिक चरण हेर्दा पुरानो भोटका आधारमा नेकपा, कांगे्रस र उज्यालो नेपाल पार्टीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ तर पार्टीका घोषणापत्रमा युवाका मुद्दालाई कसरी समेटिन्छ, त्यो भने हेर्न बाँकी रहेको समाजसेवी जगदीश्वर पण्डितको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी रद्द भइसकेको छ । उहाँको पार्टीका मत कहाँ जान्छन् भनि अन्योल छ । उनकी पत्नी तथा नेपाली कम्युनिस्ट पार्टीका नेतृ रञ्जिता श्रेष्ठले नेकपाबाट रामलाल डगौरा थारूलाई उम्मेदवार बनाएर भोट मागिरहेका छन् । नेतृ श्रेष्ठले आफ्नो नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेकपामा मिलाइसकेका छन् ।

तत्कालीन नाउपाका संस्थापक केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका छन् । सोही पार्टीका अर्का नेता प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । एकै पार्टीका रेशम चौधरीसहित चार जना नेता खडा भएपछि यसको लाभ कांग्रेसले पाउने सम्भावना बढेको स्थानीय बताउँछन् । अघिल्लो निर्वाचनमा भोट बैङ्क भएका दलहरूमा किचलो देखिएपछि तेस्रो भएको दल एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने पनि प्रतिस्पर्धामा देखिएका छन् ।

दोहो¥याएर नजितेको इतिहास कैलाली–१ मा २०४८ सालदेखि हालसम्म कसैले दोहो¥यार चुनाव जितेको इतिहास छैन् ।

विसं २०४८ को आमनिर्वाचनमा कांगे्रसबाट गङ्गाबहादुर कुँवर, २०५१ को मध्यावधि निर्वाचनमा एमालेबाट हिमाञ्चलराज भट्टराई र २०५६ को आमनिर्वाचनमा कांग्रेसबाट सुशीला स्वाँर विजयी भएका थिए । त्यतिबेलाका विजेता तिनै जना अहिले दलभित्रकै राजनीतिक दृश्यबाटै हराएका छन् ।

विसं २०६४ मा भएको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार रूपा सोसी चौधरी विजयी भएका थिए भने २०७० को दोस्रो संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी विजयी भएका थियो ।

माओवादीबाट सहिदपुत्री रूपा २०७९ को निर्वाचनमा समानुपातिकबाट फेरि प्रतिनिधि सभा छिरेका थिए भने कांगे्रसबाट उम्मेदवार बनेका जनकराज प्रदेश सभा निर्वाचनमै पराजित भएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. केशरबहादुर कुँवर भन्छन्, “भोटमाथि कुठाराघात गर्ने ‘सेलिब्रेटी’ भन्दा राजनीतिक सिद्धान्त, भिजन र क्षमता भएको नेतृत्वले विश्वास जित्न सक्छ ।” -गोरखापत्र

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको जनाउँदै उनले तीन जनाले उम्मेदवारी फिर्ता लिएका बताए ।

महिला उम्मेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकी बिना मगर, आमजनता पार्टी (एकल चुनाव चिह्न) सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उम्मेदवारी दिएका प्रवक्ता भाटले बताए।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा क्षेत्र नं ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट (भट्ट) चुनावी मैदानमा छन् ।

यसैगरी, कैलाली निर्वाचन क्षेत्र नं १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उम्मेदवार छन् । क्षेत्र नं २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उम्मेदवारी परेको छ ।

कैलाली क्षेत्र नं ३ मा मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, क्षेत्र नं ५ मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर रहेका छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार रहेका छन् । यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

पूर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ । आइतबार राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।राति नै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ । शनिवार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । यो नेपाली सिनियर महिला क्रिकेटका लागि ऐतिहासिक जित पनि हो ।

सिनियर महिला क्रिकेट टोलीले टेस्ट खेल्ने राष्ट्रविरुद्ध जित हासिल गरेको यो पहिलो अवसर हो । तर, उमेर समूहमा भने यू–१९ महिला टोलीले टेस्ट खेल्ने टोलीलाई भने हराइसकेको छ । साथै यो जितले नेपालको सुपर सिक्समा छनोट हुने सम्भावना पनि जीवित भएको छ । यसअघि लगातार दुई खेल हारेर नेपाल कठिन मोडमा परेको थियो । यदि यो खेल हारेको भए नेपाल समूह चरणबाटै बाहिरिने खतरा स्थितिमा थियो । तर, नेपालले जित्न सफल भयो । सुपरसिक्समा पुग्न सोमबार हुने स्कटल्यान्डविरुद्धको खेलमा नेपालका लागि ठूलो अन्तरको जित आवश्यक छ ।

पूजाको अर्धशतक

जारी ग्लोबल छनोटमा पहिलो जित हासिल गराउन उपकप्तान पूजा महतोले अर्धशतक प्रहार गर्नुभयो । उहाँको सानदार ब्याटिङका कारण नेपालले जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य ४ विकेट गुमाएर १९.३ ओभरमा प्राप्त गरेको हो । प्लेयर अफ द म्याच पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित ५२ रनको अविजित पारी खेल्नुभयो ।

यस्तै, नेपालका लागि कप्तान इन्दु वर्माले २२ रन, ओपनर ब्याटर विन्दु रावलले १५ रन र सीता रानामगरले ११ रनको योगदान दिनुभयो । जिम्बावेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिनुभएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय २९ रनको योगफल बनाएको थियो । नेपालको तर्फबाट रिया शर्माले सर्वाधिक २ विकेट लिनुभयो भने कविता कुँवर, रुविना क्षेत्री, पूजा महतो र सीता रानामगरले एक–एक विकेट हासिल

 

गर्नुभयो ।

 

 

६ लाख ६३ हजार सदस्यलाई ओलीको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुने आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन्। पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बिचको हार जितको फैसला गर्ने उल्लेख छ ।

उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् । ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनेका छन् ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् । ‘ठुलो सङ्ख्यामा रहेका पार्टी सदस्यहरूलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने ‘यसबाट पार्टीका सङ्गठित सदस्यहरूले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ ।’

देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्‍याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।

डोटी एउटै वडाका भट्ट र बिष्टबीच कैलालीमा प्रतिस्पर्धा (चुनावी चर्चा कैलाली ४)

धनगढी, ११ माघ ।
नेकपा एमालेका नेता लेखराज भट्ट र नेपाली काँग्रेसका नेता गोरख बिष्ट ‘आनन्द’ कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा प्रतिस्पर्धी हुन् । माओवादी सशस्त्र संघर्षबाट खारिएर आएका नेता हुन्, भट्ट । जो, २०७९ अघि नेकपा बिभाजन हुनु अघि माओवादी केन्द्रमा थिए । बिभाजनपछि माओवादीमा फर्किएनन् । एमालेमै रहे । जेनजी आन्दोलनपछि भएको नेकपा एमालेको महाधिवेशनबाट उपमहासचिवमा सर्वाधिक मत ल्याएर बिजयी भए ।

चार पटक चुनाव लडेका भट्टको यो पाँचौ निर्वाचन हो । उनी दुई पटक पराजित भए । दुई पटक निर्वाचित । मुलुक शान्ति प्रकृयामा गएपछि तीन पटक मन्त्री भए ।

भट्ट नेकपा एमालेका तर्फबाट चुनावी अभियानमा छन् । उनी सुदूरपश्चिमबाट एमालेको पदाधिकारीमा निर्वाचित हुने एक्लो नेता हुन् । अर्थात उनी सुदूरपश्चिमको सबैभन्दा सिनियर नेता हुन् ।

भट्टलाई चुनौती दिदैछन्, नेपाली काँग्रेसका उम्मेदवार बिष्ट । बिष्ट र भट्टका बीचमा धेरै कुरामा असमानता छ । भट्ट बामपन्थी हुन् । बिष्ट लोकतान्त्रिक बिचारका अनुयायी । नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय बिष्ट हाल नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । प्रवासमा नेपाली काँग्रेसको संगठन विस्तारमा बिष्टको महत्वपूर्ण योगदान छ ।

भट्ट पाँचौ पटक चुनाव लड्दैछन् । बिष्ट पहिलो पटक । एबीएसम्मको अध्ययन गरेका बिष्ट अहिलेसम्म लाभको पदमा बसेका छैनन् । त्यस कारण उनको परीक्षण हुन बाँकी छ । यी सबै भिन्नताका बीच दुई जनाबीच एउटा कुरा भने समान छ । दुबैको पुख्र्यौली घर डोटी हो । त्यसमाथि गडसेरा । त्यतिमात्र होईन, दुबै जोरायलकै ५ नम्बर वडाका बासिन्दा हुन् ।

राजनीतिको उर्वर भूमि मानिने गडसेराबाटै नेपाली राजनीतिमा उदाएका थिए, सिद्धराज ओझा, टेक बहादुर चोखाल । अरु पनि थुप्रै जिल्लास्तरका नेता जन्माउने भूमि हो, गडसेरा ।

मन्त्रीहरु जन्माउने त्यही गडसेराका भट्ट र बिष्टबीच कैलाली क्षेत्र नम्बर ४ मा रोचक प्रतिस्पर्धा भईरहेको छ ।

भट्ट क्षेत्र नम्बर ४ का स्थायी बासिन्दा हुन् । बिष्टको परिवारको  क्षेत्र नम्बर ४ मा बसोबास छ । यहाँ उनका आफन्त, नातागोता र ईष्टमित्र पनि छन् । माओवादी, एमाले जुनसुकै पार्टीबाट उम्मेदवार हुदै आएपछि भट्टले यसअघिका निर्वाचनमा गडसेरी र डोट्यालहरुको मत पाउदै आएका छन् । यसपटक डोट्यालहरुको त्यो मत दुबैजनालाई बाडिनेछ । काँग्रेसभित्रको गुटगत कलह र डोट्याल सेन्टिमेटले भट्टलाई सहज हुदै आएपनि एमालेभित्रको लामो कलह उनका लागि सधै सकसपूर्ण हुदै आएको छ । बिगतमा भीम रावल पक्षधरहरुले उनलाई असहयोग गरेको आरोप लाग्थ्यो । भनिन्छ, रावल पक्षरहरु अझै पनि उनीसंग सकारात्मक छैनन् । त्यसमाथि एमालेका अर्का नेता दामोदर भण्डारी पक्षधहरुसंग उनको सम्बन्ध तिक्ततापूर्ण छ ।

भट्टलाई चुनावमा रोक्न सके केन्द्रमा हाईसञ्चो हुने र मन्त्री बन्न सहज हुने भण्डारीको मनोबिज्ञानले भट्टलाई असर गर्ने गरेको छ । त्यसमाथि भट्टलाई उनकै पूर्व सहयोद्धा हरी चौधरी उत्सवको उम्मेदवारीले चुनौती थपेको छ । चौधरीलाई भट्टको पकड क्षेत्र पनि थाह छ र कमजोरी पनि । बिगतका निर्वाचनमा तिनै चौधरी भट्टको मुख्य सहयोगीको भूमिका थिए । र, चुनावको मुखमा भट्टको साथ छोडेका छन्, उनकै सहोदर भाई गोकर्ण भट्टले । उनलाई त्यसले पनि झट्का दिएको छ । यद्दपि एमालेनेता भण्डारीसंग भाई गोकर्णको तिक्ततापूर्ण सम्बन्धले उनलाई चुनावमा असर गर्ने गरेको थियो । भाई नै आफूसंग नरहेकोले उनलाई भण्डारी पक्षधरहरुलाई कन्भिन्स गर्न भने केही सहज हुने देखिन्छ ।

उता बिष्टलाई भने काँग्रेसभित्रका थुप्रै गुट र असन्तुष्टहरुलाई मिलाउन सकस भईरहेको छ । यसअघि नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति बीर बहादुर बलायरले यो क्षेत्रमा भट्टलाई पराजित गरेका थिए । त्यसैले यसलाई काँग्रेसको बलियो क्षेत्रका रुपमा हेरिन्छ । आफ्नो निर्वाचनक्षेत्रमा पर्याप्त समय र बजेट दिन नसकेका कारण एकातिर बलायरप्रतिको मतदाताको असन्तुष्टि । अर्कोतिर बलायरको काँग्रेस प्रतिको असन्तुष्टि छ । यी दुईटै असन्तुष्टिलाई बिष्टले कसरी व्यवस्थापन गर्छन्, त्यसले पनि उनको हार–जीत निर्धारण हुनेछ ।

कैलाली क्षेत्र नम्बर ४ मा एमालेका भट्ट, काँग्रेसका बिष्ट र नेकपाका चौधरीबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । संगठन बिस्तारकै क्रममा रहेको रास्वपाले मनोनयन अघि हरी रेग्मीलाई दिएको टिकट रद्द गर्दै अचानक खेमराज कोईरालालाई आधिकारिक उम्मेदवार घोषणा गर्यो । धनगढीका रेग्मीलाई टिकट दिएकोमा स्थानीय कार्यकर्ताहरु शुरुदेखि नै बिरोधमा थिए । त्यसमाथि हठात कोईरालालाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि पार्टीभित्र खैलाबेला भएको छ । यसले रास्वपालाई भने प्रतिस्पर्धामै आउन पनि कठिन हुने देखिन्छ ।

२०६४ मा भट्टले यही क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार दीर्घराज भाटलाई पराजित गरे । २०७० मा भट्टलाई हराएर भाटले बदला लिए । २०७४ मा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई पराजित गरे । २०७९ मा भने उनी काँग्रेसका बीर बहादुर बलायरसंग पराजित भए । उनी बलायरसंग ३,४३८ मतको अन्तरले पराजित भएका थिए । बलायरले २६,१७१ मत पाउदा भट्टले २२,५३३ मत पाए ।

यसपटक नयाँ मतदाता पनि थपिएका छन् । र, उम्मेदवारहरु पनि उनी बाहेक अधिकांश नयाँ छन् । अहिले नै कसले बाजी मार्छ भन्न कठिन छ ।

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत

काठमाण्डाै- आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो ।

जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी पूजा महतोले ५२ रन बनाइन् । जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । जिम्बावेकी केलिस एनध्लोभुले नटआउट ५२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

यो जीतसँगै नेपालले प्रतियोगिताको ‘सुपर सिक्स’ मा पुग्ने झिनो सम्भावना कायम राखेको छ । यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

 

अमेरिकाले गर्‍यो नयाँ राष्ट्रिय रक्षा रणनीति सार्वजनिक, भन्यो- चीन अब सुरक्षा प्राथमिकतामा छैन

काठमाडौं- अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनको नयाँ राष्ट्रिय रक्षा रणनीति अनुसार चीन अब अमेरिकाको लागि सबैभन्दा ठूलो सुरक्षा प्राथमिकता रहेन। प्रत्येक चार वर्षमा जारी हुने यो दस्तावेजमा अमेरिकी भूभाग र पश्चिमी गोलार्धको सुरक्षा अब यसको सबैभन्दा ठूलो चिन्ताको विषय भएको उल्लेख छ।

अमेरिकाको सन्दर्भमा पश्चिमी गोलार्धले मुख्यतया उत्तर र दक्षिण अमेरिकाका महादेशहरूलाई जनाउँछ। ३४ पृष्ठको यो दस्तावेज शुक्रबार जारी गरिएको थियो। पेन्टागनको दस्तावेजमा अमेरिकाले लामो समयदेखि आफ्ना जनताको “ठोस हित” लाई बेवास्ता गर्दै आएको थपिएको छ । पेन्टागनले अमेरिकी सहयोगीहरूलाई “सीमित” सहयोग प्रदान गर्ने पनि बताएको छ।

यो दस्तावेजले गत वर्ष जारी गरिएको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिलाई पछ्याउँछ। यसमा युरोपले सांस्कृतिक पतन सामना गरिरहेको बताएको थियो। यसले रूसलाई अमेरिकाका लागि खतराको रूपमा पहिचान गरेको थिएन। त्यतिबेला रूसले उक्त दस्तावेज आफ्नो अडानसँग धेरै हदसम्म मेल खान्छ भन्यो। यसअघि २०२२ को राष्ट्रिय रक्षा रणनीतिले चीनबाट उत्पन्न हुने बहु-डोमेन खतरालाई शीर्ष रक्षा प्राथमिकताको रूपमा वर्णन गरेको थियो।

२०१८ मा जारी गरिएको उक्त दस्तावेजमा चीन र रुस जस्ता संशोधनवादी शक्तिहरूलाई अमेरिकी सुरक्षाका लागि मुख्य चुनौती भनिएको छ।

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका  नवप्रवेशीहरुले ‘शेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताए ।

सबै मुख्य दलबाट चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाण्डाै- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए पनि यस पटक दलहरूले चुनावअघि नै उम्मेदवार घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । कांग्रेसले २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार घोषणा गरेपछि झन्डै तीन दशकपछि यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

भर्खरै उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् ।

उपप्राध्यापक जगत् नेपाल चुनावअघि नै उम्मेदवार घोषणा गर्दा मतदातालाई मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भए पनि उम्मेदवारले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने चुनौती रहने बताउछन् । यस पटक रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरेपछि पुराना दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा गएका हुन् ।

 

आजदेखि शहीद सप्ताह शुरु : पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

काठमाण्डौ- शहीद सप्ताह शुरु भएको छ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाण्डौको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डङ्गोलले शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताए । शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गतेका दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।

त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १० देखि शहीद सप्ताह मनाउन थालिएको हो । शहीद धर्मभक्त माथेमालाई माघ १३ मा अनि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ मा शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो ।

विशेषगरी शास्त्री, माथेमा, श्रेष्ठ, चन्दको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ । १९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो ।

 

जिम्बाबेले नेपाललाई दियो १३० रनको लक्ष्य

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत जिम्बाबेले नेपाललाई १३० रनको लक्ष्य दिएको छ ।

शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो ।

जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पुजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।

महावीर पुनलाई साना दल र उम्मेदवारको सहयोग

बेनी । म्याग्दीको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन केन्द्रमा देखिन थालेका छन्। विभिन्न स्वतन्त्र र साना दलका उम्मेदवारले समर्थन जनाएपछि म्याग्दीमा चुनावी समीकरण नयाँ दिशातर्फ मोडिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले पार्टी निर्देशन र शुभेच्छुकको सुझावअनुसार उम्मेदवारी निष्क्रिय पार्दै महावीर पुनलाई सघाउने घोषणा गरेपछि चुनावी माहोल थप रोचक बनेको छ । पत्रकार सम्मेलनमा रोकासँगको संवादका क्रममा महावीरले गरेको “बल्ल बुद्धि आएछ” भन्ने टिप्पणीले माहोल हल्का भए पनि त्यसले उनी चुनावलाई कति सहज र आत्मविश्वासका साथ लिइरहेका छन् भन्ने सजिलै बुझ्न सकिन्छ ।

महावीर पुन भने औपचारिक मञ्चभन्दा चौतारी, सार्वजनिक स्थल र खुला संवादलाई प्राथमिकता दिइरहेका छन्। पिपलको रुखमुनी बसेर पत्रकार र सर्वसाधारणसँग आफ्ना अनुभव, असफलता र योजनाबारे खुलेर कुरा गर्ने शैलीले उनी अन्य दलिय राजनीतिभन्दा फरक देखिएका छन्।

मन्त्री पद छाड्नुको कारण स्पष्ट पार्दै पुनले आफू ‘धोकेबाज’ वा ‘भगौडा’ नभई काम गर्न नसक्ने ठाउँमा बस्न नचाहने व्यक्ति भएको जिकिर गरेका छन्। शिक्षा क्षेत्रमा सुधार, विश्वविद्यालयको नेतृत्व प्रणाली, प्राविधिक शिक्षाको बेथिति र विदेशमा रहेका नेपालीको मतदान अधिकार उनका मुख्य राजनीतिक मुद्दा बनेका छन्।

चुनावी अभियानकै क्रममा आत्मकथा पुस्तक बिक्री गर्दा आचारसंहिताको स्पष्टीकरण सोधिएपछि उनले असन्तोष व्यक्त गरे पनि त्यसलाई चुनावी मुद्दा नबनाएर वैकल्पिक उपायका लागि चुनावमा होमिएको बताएका छन् ।

म्याग्दीको विकास इतिहाससँग गहिरो सम्बन्ध रहेको भूगोलबाट पुन पुनः चुनावी मैदानमा फर्किएका छन्। जापानी समाजशास्त्री जिरो कावाकिताको ‘केजे मेथोड’ बाट प्रभावित विकास मोडेललाई व्यवहारमा उतारेका पुन आफूलाई नेता भन्दा पनि प्रयोगकर्ता र अभियन्ताका रूपमा प्रस्तुत गर्न चाहन्छन्।

१३ जनाको उम्मेदवारी रहेको म्याग्दीमा स्वतन्त्र उम्मेदवारको वरिपरि समर्थन थपिँदै जानु, चौतारीबाटै राजनीति हुनु र खुला संवादको अभ्यासले अन्य दलहरुको तुलनामा पुनको प्रचारप्रसार फरक देखिएको छ ।

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्ने मतदातामध्ये ३२ वडा रहेका क्षेत्र नम्बर १ मा एक लाख एक हजार ७२४ मतदाता छन् । जहाँ ५१ हजार ५८८ महिला मतदाता र ५० हजार १३६ पुरुष मतदाता छन् । क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाता एक हजार ४५२ जना बढी छन् । क्षेत्र नम्बर–१ बाट २ स्वतन्त्र महिला, २ महिला उम्मेदवार दलबाट चुनावमा उम्मेदवार छन् ।

क्षेत्र नम्बर–१ मा बेलौरी नगरपालिका, लालझाँडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका गरी चार स्थानीय तहका मतदाताले आगामी निर्वाचनमा मतदान गर्नेछन् । एक जना प्रतिनिधि सभा सदस्यका लागि ४ स्वतन्त्रसहित १५ दलीय नेताहरू चुनावी मैदानमा होमिएका छन् ।

११ वडा रहेका पुनर्वास नगरपालिकामा १८ हजार ७८८ महिला मतदाता र १७ हजार ७५० पुरुष मतदाता गरी जम्मा ३६ हजार ५३८ मतदाता छन् ।  पालिकाको वडा नम्बर ५ मा अत्यधिक मतदाता छन् । उक्त वडामा २ हजार ६७ पुरुष र २ हजार ३३३ महिला गरी ४ हजार पाँच सय मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर–१ अन्तर्गत १० वडा रहेका बेलौरी नगरपालिकामा महिला मतदाता १७ हजार ९९१ तथा पुरुष मतदाता १७ हजार ७११ जना रहेका छन् । बेलौरीको वडा नम्बर १० मा अत्यधिक ४ हजार ६६२ मतदाता छन् भने वडा नम्बर ७ मा सबैभन्दा कम अर्थात् २ हजार ३४३ मतदाता रहेका छन् ।

यसैगरी, निर्वाचन क्षेत्र–१ को बेलडाँडी गाउँपालिकामा सात हजार ५३९ पुरुष र सात हजार ७१४ महिला मतदाता छन् । ५ वडा रहेका गाउँपालिकाको वडा नम्बर २ मा अत्यधिक ४ हजार ५७८ मतदाता छन् भने वडा नम्बर ४ मा कम अर्थात् १ हजार ३४८ मतदाता छन् ।

त्यसैगरी, ६ वडा रहेका लालझाँडी गाउँपालिमा ७ हजार १३९ पुरुष र ७ हजार ९२ महिला गरी १४ हजार २३१ मतदाता छन् । लालझाडी गाउँपालिकाको वडा नम्बर ४ मा अत्यधिक ३ हजार १७४ मतदाता छन् भने वडा नम्बर ६ मा कम अर्थात् १ हजार ४१४ मतदाता छन् ।

आगामी निर्वाचनमा पनि पुनर्वास नगरपालिका घर भएका नेकपा एमोलका नेता तामाङ र नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर उम्मेदवार छन् । क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट बेलौरी वडा नम्बर १० घर भएका गोपीप्रसाद उपाध्याय उम्मेदवार छन् । नेता उपाध्याय पहिलो पटक निर्वाचनमा होमिएका हुन् ।

कसले मार्ला बाजी ?
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दौडमा यस पटक पुराना पार्टीहरू मात्रै छैनन् खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू मतदाताको ध्यान तान्नमा व्यस्त देखिएका छन् ।  ३२ वडा रहेका क्षेत्र नम्बर १ मा यसअघिका निर्वाचनबाट प्राप्त मत परिणामलाई केलाउँदा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरू निर्वाचित हुँदै आएका छन् ।

२०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट भारी मतका साथ बिना मगर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार ४३७ मतान्तरले पराजित गर्दै मगर विजयी भएका थिए । मगरले ३८ हजार चार सय ६७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्टले १९ हजार दुई सय १९ मत प्राप्त गरेका थिए ।

यसैगरी,विसं.२०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेतातारालामा तामाङ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार मगरलाई पाँच हजार ५४६ मतान्तरले पराजित गर्दे तामाङ विजयी भएका थिए । तामाङले २२ हजार ५३५ मत प्राप्त गरेका थिए मगरले १७ हजार ५७ मत पाएका थिए ।

क्षेत्र नम्बर –१ मा मतदाताको सङ्ख्यालाई केलाउँदा आगामी निर्वाचनमा पनि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीहरुबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

साथै, आगामी निर्वाचनमा मतदाताहरूले विकास प्रेमी उम्मेदवारलाई प्राथमिकता राखेको देखिन्छ । जसले गर्दा आगामी निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरू घरदैलो अभियानसँगै मत माग्नका लागि चोक चोकमा देखिन थालेका छन् ।

सुदूरपश्चिममा महिलाको उम्मेदवारी न्यून

धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा महिलाको उम्मेदवारी न्यून परेको छ । राजनीतिक चेत र क्षमता भएका थुप्रै महिला भए पनि ठुलासहित विभिन्न दलले अर्थपूर्ण अवसर नदिएपछि कमै महिलाले उम्मेदवार बन्ने मौका पाएका छन् । राज्यका हरेक निकायमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था संविधानमै छ । यो प्रदेशमा भने प्रतिनिधि सभा सदस्यका लागि ८.५७ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ वटा निर्वाचन क्षेत्रमा जम्मा २१० जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार १८ जना मात्रै छन् भने पुरुष उम्मेदवार १९२ जना (९१.४२ प्रतिशत) छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीबाट सबैभन्दा बढी ११ जना महिलाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. १ मा तीन, २ मा दुई, ३ मा दुई, ४ मा एक र ५ मा तीन महिलाको उम्मेदवारी परेको छ । यसै गरी कञ्चनपुर–१ मा चार, २ र ३ मा एक/एक गरी छ महिलाको उम्मेदवारी परेको छ । डोटीमा एक महिलाको उम्मेदवारी परेको छ । अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र दार्चुलामा महिला उम्मेदवारको सङ्ख्या शून्य छ ।

निर्वाचन कार्यालयका अनुसार कैलाली–१ मा मजदुर किसान पार्टीबाट सुनिता भण्डारी, आमजनता पार्टी (एकल चुनाव चिहन) बाट सुनिताकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवालीको उम्मेदवारी परेको छ । यसै गरी कैलाली–२ मा नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुनमगर र मितेरी पार्टी नेपालबाट सम्झना विष्ट थापाको उम्मेदवारी परेको छ । कैलाली–३ मा नेपाल मजदुर किसान पार्टीबाट जुनु महतारा शाही र मितेरी पार्टी नेपालबाट सुशीला थापामगरको उम्मेदवारी परेको छ । क्षेत्र नं. ४ मा नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल उम्मेदवार बनेकी छन् । क्षेत्र नं. ५ मा राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी, नेपाल मजदुर किसान पार्टीबाट तृष्ण पुनमगर र मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्कीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।

ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीबाट पुरुषले मात्रै मौका पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपालले भने महिलालाई एक/एक क्षेत्रमा उम्मेदवार बनाएका छन् । प्रदेशमा आठ प्रतिशत मात्रै महिला उम्मेदवार बन्नु चिन्ता र बहसको विषय रहेको महिला अधिकारकर्मीको बुझाइ छ । राजनीतिक दलहरूले महिलालाई असक्षम देख्ने परिपाटी अझै कायम रहेको महिला अधिकारकर्मी गीता चौधरीले बताए ।

देउवा समूह राष्ट्रिय भेलाको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने तयारी भइरहेको छ।

भेलामार्फत विशेष महाधिवेशनपछिको पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे नेता–कार्यकर्तालाई जानकारी गराइने जनाइएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेका छन् भने भेलाको मिति भने अझै तय भइसकेको छैन।

कैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ मा जनस्वास्थ्य अभियन्तालाई आनन्द चन्दलाई उम्मेदवार बनाएको छ ।

चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् ।

यो क्षेत्रमा कांग्रेसबाट नरनारायण शाह, नेकपाबाट प्रेम आले प्रतिस्पर्धामा छन् ।

पुर्खौली थलो बैतडी रहेका चन्दको परिवार कैलाली झरेको थियो । धनगढी उपमहानगरपालिका– ८ मा बासिन्दा चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापक थिए ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गरेका हुन् ।

अध्ययन तथा अनुसन्धानमा सक्रिय उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता समेत  हुन् ।

सूर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई दबाब साथै सघाउने कार्य गर्दै आएका छन् । चन्दले शनिबार देखि प्रचार सुरु गरेका छन् ।

हरिबोल गजुरेलसहित ७ जना नेता नेकपाबाट निष्कासित

काठमाण्डाै- नेपाली कम्युनिस्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरूलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज निकालेको विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।

नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्कासन गरेको छ ।

आइसीसी महिला टी-२० विश्वकप: नेपालले टस जितेर बलिङ गर्ने

काठमाडौं- आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले जिम्बावेविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्।

आज नेपालको प्लेइङ ११ मा १ परिवर्तन गरिएको छ। नेपालको टिममा काजल श्रेष्ठ बेन्चमा हुँदा उनको स्थानमा रोमा थापाले प्लेइङ ११ मा मौका बनाएकी छिन्।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

यो नेपालको तेस्रो खेल हो।

नेपालको प्लेइङ ११ः 
इन्दु बर्मा(कप्तान), पुजा महतो(उपकप्तान), बिन्दु रावल, सम्झना खड्का कविता जोशी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर, रिया शर्मा, रोमा थापा र सुमन विष्ट

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

महेन्द्रनगर- महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गको ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको छ। भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि शुक्रबार औपचारिक रूपमा उक्त चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखिएको हो।

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले विपिनले इजरायलमा देखाएको साहस र योगदानलाई स्मरण गर्नका लागि चोकको नाम विपिन राखिएको बताए। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेर शालीक स्थापना गर्ने निर्णय गरेको थियो।

सोही स्थानमा विपिनको शालीक निमार्ण गर्ने भीमदत्त नगरपालिका –३ का वडा अध्यक्ष गगन धामीले बताए। उनका अनुसार सालिक निमार्णका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ। “कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ, ”अध्यक्ष धामीले भने,“सोही अनुरूप आज विपिन चोक नामकरण गरिएको छ। केही समयपछि सालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ।”

यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस समेत गरेको वडाध्यक्ष धामीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए। उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए। हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो।

गत कार्त्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो।

२५ हजारभन्दा बढी सहयोग लिँदा बैंक खाता अनिवार्य

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ।

राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ।

यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ। राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन्।

सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उम्मेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो।

सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको हकसमेतमा लागू हुनेछ। दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि बैकिङ कारोवार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ।

निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो। -रासस

सुदूरपश्चिममा हिमपात : राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् ।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।”

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । -रासस

शुक्रबार भएको वर्षा र हिमपातले सुदूरपश्चिमका किसानलाई राहत

बैतडी। लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका जिल्लामा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ ।

महिनौदेखि वर्षा नहुँदा खडेरी परेर गहुँलगायत हिउँदे बाली सुक्न थालेको अवस्थामा वर्षा र हिमपात भएपछि कृषकले राहत महसुस गरेका हुन् । लामो समयपछि वर्षा भएपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको बैतडी सूर्नया गाउँका किसान देवसिंह ऐरीले जानकारी दिए।यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–४ का किसान धर्मराज भट्टले करिब छ–सात महिनापछि परेको वर्षा र हिमपातले बालीनाली सप्रिने आशा पलाएको बताए । उनका अनुसार यसले हिउँदे खेतीलाई ठुलो राहत पुर्याउने विश्वास गरिएको छ ।

बैतडी जिल्लाका अधिकांश भू–भागमा हिमपात भएको जनाइएको छ । सतबाँझ, खोड्पे, डोल्यामोड, अनारखोली, ग्वालेक, सिगासलगायतका क्षेत्रमा अधिक मात्रामा हिमपात भएको स्थानीयले बताएका छन् ।

शुक्रबार अपराह्नदेखि परेको वर्षा र हिमपातपछि किसानलाई खेतबारी खनजोत गर्न तथा आगामी बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । केन्द्रका अनुसार यसबाट हिउँदे बालीलाई ठुलो लाभ पुग्ने अपेक्षा गरिएको छ ।

यता, चिसो मौसममा पानीसँगै हिमपात भएपछि अत्यधिक चिसो बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

खोज्नुहोस