‘२०७० सालमा ढकियामा थिए । ढकिया, नमस्तेमा बिलय भयो । नमस्ते लिएर चुनाव लडे । नमस्ते, रुखमा बिलय भयो । रुखबाट चुनाव लडे । नागरिक उन्मुक्ति पार्टी खुल्यो । रुखबाट राजिनामा दिए । ढकियामा गए । अनि म त्यही ढकिया लिएर चुनाव लडे । र, जिते । ढकिया नेपाल कम्युनिष्ट पार्टीमा गएर बिलय भयो । अनि निर्णय लिए, अव चुनाव लड्दैन् ।’ पूर्व राज्यमन्त्री अरुण चौधरीले विरक्तिएर सुनाएको दुःख हो, यो । हुन् पनि एकबारको जुनी यसरी दल चहारेर बिताउनी न एक्लो हुन् । न पहिलो ।
२०७९ मा नाउपाबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी केही महिना पर्यटन राज्यमन्त्री पनि भए । तर त्यो मन्त्री पद पनि उनलाई नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरीको लडाईका कारण निल्नु न ओकेल्नु भयो ।
बिगतमा लालबीर चौधरी एमालेमा थिए । एमालेबाट चुनाव लडे । पराजित भए । टीकापुर घट्नापछि बर्दियाबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालबीर जितेपछि नागरिक उन्मुक्तिमा मिसिए । यसपटक टिकटको लोभमा छोरा रेशमलाई छोडेर बुहारी रञ्जिताका पछि लागेका लालबीर चौधरीले अन्तिममा टिकट नै पाएनन् ।
नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा मिसाएकी रञ्जिताले ढकिया छोडेर तारा रोजिन् । सूर्य हुदै ढकियाको बाटो भएर तारा छुन हिडेका लालबीर पनि कम्ता छैनन्, कहिले छोराका पछि लागेर बुहारीलाई अल्पमतमा पार्छन् । कहिले मन्त्री पाउने लोभमा छोरालाई छोड्छन् । कहिले सांसद बन्नका लागि बुहारीको फेर समात्छन् । लालबीरका दुःख पनि कम छैनन् । घर झगडाको शिकार हुने लालबीर पनि एक हुन् । अरुणले टिकट नै दावी गरेनन् । लालबीर आकांक्षी थिए, टिकट पाएनन् ।
टीकापुर घट्नाको रापमा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले २०७९ मा प्रदेश र स्थानीय तहको निर्वाचनमा कैलालीमा त अनपेक्षित नतिजा ल्यायो नै । लुम्बिनी हुदै मधेश प्रदेशमा समेत आफ्नो उपस्थिति जनायो । संरक्षक पति रेशम चौधरी र अध्यक्ष पत्नी रञ्जिताको टकरावले पाँच वर्षमै नागरिक उन्मुक्ति छिन्नभिन्न भयो । जसको फैलावटले परम्परागत दलहरु आतंकित थिए, पाँच वर्षमा नाउपा तिनै दलको काखमा समाहित हुन पुग्यो । त्यसले परम्परागत दलहरुलाई हाईसञ्चो हुने नै भयो ।
२०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका महासचिव ठाकुर सिंहले थारु यसपटक बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । नाउपाको महासचिव हुनु अघि उनी एमाले समर्थक थिए । रेशम र रञ्जिताको झगडाले ठाकुर बिरक्तिएर रास्वपामा मिसिए ।
धेरै आफ्नै कारणले र केही रेशम र रञ्जिताको झगडाले क्षति बेहोर्ने अर्को अभागी सावित भए, लक्ष्मण थारु । १० वर्षे सशस्त्र संघर्षमा रोशनका नामले चिनिने माओवादी कमाण्डर लक्ष्मण मुलुक शान्ति प्रकृयामा गएपछि भट्किए । टीएम डनद्धारा अपहरणमा परेको नाटक उनका लागि महंगो भयो । कहिले दीपक मनाङेको पछि लागे । कहिले गच्छचारको पछि । माओवादी युद्धमा उनीभन्दा जुनियर थारु नेताहरु सांसद र मन्त्री भए । उनी नभट्किएको भए आरसी चौधरीभन्दा पहिले थारु समुदायबाट मन्त्री हुन पाउने थिए । जो उनको भाग्यमै रहेनछ ।
आफूलाई सम्हाल्न नसक्दा एउटा नायकको अवसान कति निर्मम हुन्छ, त्यसको उदाहरण हुन्, लक्ष्मण । थारुलाई मधेशी अन्तर्गत राख्न खोजिएपछि उनले देश हल्लाए । भने, हामी मधेशी होईनौ । केही समय अखवारका पानाहरु लक्ष्मणमय भए । लाग्थ्यो, थारुहरुका नायक हुन् लक्ष्मण ।
पालैपालो थारु अगुवाहरु भटकिए । थारु आन्दोलनमा जो एकोहोरो लागिरहे, तिनलाई थारु मतदाताले नै पत्याएनन् । भानु राम चौधरी ती अभागी नेता हुन्, जसले थारु मुद्दा कहिल्यै छोडेनन्, तर थारु मतदाताको विश्वास फेरि पनि जित्न सकेनन् ।
नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष जस्तो महत्वपूर्ण पद छोडेर थारु आन्दोलनमा लागेका होरीलाल चौधरी ‘खानेबेला रीस उठ्ने अभागी’ सावित भए । एमालेबाट पद पाउने बेला थारु आन्दोलनमा लागे । न पद रह्यो, न पहिचान । यतिबेला उनी गुमनाम छन् ।
भानुराम र होरीलालहरु रेशम रञ्जिताको झगडा हुनु अघि नै ओझेलमा परिसकेका थिए । यद्यपि थारु आन्दोलन हाईज्याक गरेर चर्चामा आएका रेशमका अगाडि उनीहरु छायामा परे । जो थारु आन्दोलनका अगुवा थिए ।
‘नाम होस वा बदनाम होस, गुमनाम नहोस’ भन्ने मन्त्रलाई अनुशरण गरिरहेका रेशम र लक्ष्मणहरु चर्चामा सधै रहे । तर चर्चा बाहेक केही बाँकी रहेन् । न राजनीति गर्ने दल रह्यो । हुदा हुदा रेशमको त त्यही राजनीतिका कारण परिवार नै छिन्नभिन्न भयो ।
आफू जेलमा हुदा संरक्षक बसेर पत्नी रञ्जिताका नाममा नागरिक उन्मुक्ति पार्टी खोलेका रेशमको त्यो दल घरझगडाको मूल कारण बन्यो ।
समय अनुसार चल्न सक्ने डिल्ली चौधरीहरु संघीय सरकारमा मन्त्री हुदै मुख्यमन्त्री भए । गैर सरकारी संस्था बेस मार्फत कमैया मुक्ति आन्दोलनको अगुवाई गरेका डिल्लीका लागि त्यो आन्दोलन फलिफाप भयो । मुक्तिको दुई दशकपछि पनि कमैयाको पुनस्र्थापनाको मुद्दा सकिएको छैन् । तर त्यही आन्दोलनले चिनिएका डिल्ली चौधरी जस्ता अगुवाहरुले राजनीतिमा सबै पद पाईसके ।
सतिदेवीको अंग पतन भए झै नाउपा पनि त्यसैगरी पतन भयो । केही नेता रास्वपामा मिसिए । केही एमाले भए । केहीले नेकपा रोजे । कोही नाउपा नेपाल भए । जो पहिचानको मुद्दाका लागि सधै लडे । उनीहरु पहिचान बिहीन भएर यतिबेला बिभिन्न पार्टीमा एक थान पदका लागि भौतारिरहेका छन् । थारु मुद्दाको वास्ता कसैलाई ?
सुरेन्द्र चौधरी, ठाकुर थारु र लक्ष्मण थारुहरु घण्टीतिर । रञ्जिता र रामलालहरु तारातिर । प्रदीपहरु चीम बालेर उज्यालो खोज्दैछन् । अरुणहरु चौरस्तामा छन् । न पुरानो रुखको ओतमा जान सके । न ढकिया बोक्ने अवस्थामा रहे । न जातोका पछाडि जाने सोच बनाए ।
मुद्दा लागेर मुग्लान पसेकाहरु अझै फर्किन सकेका छैनन् । त्यही मुद्दाले जेलमा परेकाहरुको घरखेत लिलाम भएर उठिवास भयो । तर कतिपयलाई ठट्टा भएको छ ।
एक थान टिकटका लागि रास्वपामा मिसिएका लक्ष्मणले टिकट त पाए । उम्मेदवारी दिन पाएनन् । पत्नी रञ्जिताबाट अलग भएर नाउपा नेपाल गठन गरेका रेशमले त्यही न्याँ पार्टीबाट उम्मेदवारी दिए । त्यसमाथि उनका विरुद्ध आयोगमा उजुरी परेकोले त्यो उम्मेदवारी नै संकटमा छ । टीकापुर घट्नामा दोषी ठहर रेशमले उक्त घट्नामा आममाफी पाएका हुन् । सफाई होईन् । यही जिकिर गर्दै उजुरीकर्ताले उनको उम्मेदवारी बदर गरीपाउ भनी निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
टीकापुर घट्नापछि भूमिगत रहेर प्रचण्ड बहुमतले चुनाव जितेका रेशमले प्रतिनिधि सभा भित्र छिर्न पाएनन् । बरु शपथ लिन आत्मसमर्पण गर्दा जेलको हावा खाए ।
उनी सधै नयाँ फण्डामा विश्वास गर्छन् । यस पटक उनले टीकापुरलाई अलग जिल्ला बनाउने फण्डा शुरु गरेका छन् । थारु चेलीहरुलाई भारतीय राजदूत रञ्जित रेको खुट्टा धुन लगाएर शुरु भएको उनको विवादको श्रृंखला यतिमै टुंगिने छाँट देखिदैन् ।
अंश अंशमा बिभाजित भएर समग्र गुमाएका रेशमले अव गुमाउन बाँकी केही छैनन् । न बुवा साथमा छन् । न पत्नी । बस् छ त, उनलाई सधैभरी लखेटिरहने टीकापुर घट्नाको फैसला । महाभारतमा आफ्नै भाईहरुलाई अघिल्तिर देखेपछि कायल भएका अर्जुनलाई सम्झाउने त कृष्ण थिए, उनलाई त सम्झाउने पनि कोही छैनन् । हिजो आफैले टिकट दिएर मेयर बनाएका रामलाल डंगौरा उनलाई हराउन मैदानमा छन् । हिजो एउटै मोर्चामा संगै लडेका प्रदीप चौधरी र जनक चौधरीले चलाउने तीर के उनी रोक्न सक्लान् ?
डिल्ली चौधरीदेखि सुरेन्द्र चौधरीसम्म । ठाकुर थारुदेखि जनक चौधरीसम्म । जव आन्दोलन उत्कर्षमा थियो । सबै पार्टीका थारुहरु त्यसमा जोडिए । थपिए । उनीहरुलाई लाग्यो, हामी छुट्ने भयौ । ठाने, हामी छुट्यौ भने आन्दोलनको रापले डढाउने छ ।
जव आन्दोलन कमजोर भयो । तव उनीहरु मध्ये अधिकांश कि पुरानै घरमा फर्किए । कि नयाँ घरमा प्रवेश गरे ।
मुद्दाले होईन, उनीहरुलाई राजनैतिक स्वार्थले जोडेको थियो । यदि उनीहरु थारुका मुद्दामा ईमान्दार भएको भए वा थारुहरुको मुद्दाले जोडिएका भए, मधेशी होईनौ भन्दै थरुहट सेनाको परेड खेलाउने लक्ष्मण थारुहरु मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक) बाट चुनाव लड्ने दिन देख्नु पर्ने थिएन् ।
थारुको मुद्दाले मन्त्री भएकी रञ्जिता श्रेष्ठले नेकपामा त्यो आन्दोलनलाई समाहित गर्ने थिईनन् । रामजनम र जनक चौधरीहरु कहिल्यै काँग्रेस, कहिले फोरम र कहिल्यै थारुवादी हुदैनथे । सबैले यो मुद्दालाई सत्तामा पुग्ने भ¥याङ बनाए । सत्ता पुगेपछि भ¥याङ फालिदिए । जब सत्ता र भ¥याङ दुईटै रहेन् । तब फेरि उनीहरुलाई थारुका मुद्दाहरु बेस्सरी याद आउछ । अहिले रेशम र रञ्जिताहरुलाई ती मुद्दा बेस्सरी याद आईरहेका छन् । देशमा चुनाव जो हुदैछ ।
बलियो भएका बेला आफूमाथि लागेका मुद्दाहरु बिर्सिने । कमजोर हुदा ती मुद्दाहरु सम्झिनुको के अर्थ ? रेशमहरुको हकमा अदालतले गरेको फैसलामा केही भन्नु छैन् । तर सत्तामा पुगेपछि धेरैका मुद्दाहरु सल्टिएका छन् । आफ्नो पद जोगाउन न्यायधिवक्ताहरुले सरकारको आदेशमा थुप्रै अपराधमा संलग्न व्यक्तिहरुलाई उन्मुक्ति दिएर कलंकको टीका लगाउदै आएका छन् । यो नजिर अहिलेकाले पालना नगर्ने कुरै भएन् । हरेक सरकारका पालामा ति सरकारका ‘मालिकहरु’का सबै खत बात माफ भएकै छन् । यति बुद्धि रञ्जिताहरुलाई थिएन ? रेशमहरुमाथिका मुद्दा बाँकी राखिरहनु पर्ने कारण के थियो ? नियत वा बाध्यता ? बुझ्नेलाई ईशारा काफि छ ।
आफ्ना बलिया खुट्टा काटेर बैशाखी बोक्ने कस्तो अनौठौ रहर पाले रेशम र रञ्जिताहरुले ? त्यत्तिको राजनैतिक चेत भएका उनीहरुलाई कसले बुझाईदेओस ? आँखा फालेर चश्मा लगाउने रहर जो उनीहरुले पालेका छन् । ढकिया र जाँतो मासेर तारा, घण्टी, चीम, सूर्य, र रुखको सहारा खोज्नु रेशम र रञ्जिताहरुको राजनैतिक अवशान मात्र होईन, यो त थारुहरुको मुद्दाको अवशान पनि हो । यद्दपि जातीय राजनीतिबाट कसैको भलो हुदैन् । त्यो सोचेर उनीहरुले पछिल्लो बाटो भने रोजेका होईनन् । यदि त्यही सोचेर यो बाटो रोजेको भए ठिकै गरेछन्, भन्न सकिन्थ्यो ।
आज रेशम आफ्नै कारणले दुःखमा छन् । सत्तामा हुदा घरझगडा गरेर जग हसाए । घरभित्र मिलाउनु पर्ने झगडालाई गीत, गजल र शायरीहरु मार्फत सामाजिक सञ्जालमा पोखेपछि हुने यही हो, आज जे उनीहरुको पारिवारिक र राजनैतिक जीवनमा भएको छ ।