कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बिष्ट (आनन्द) ? को हुन् ?

द एभरेष्ट पोष्ट
१० माघ २०८२ २:३९
कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बिष्ट (आनन्द) ? को हुन् ?

धनगढी, ९ माघ ।
लामो समय प्रवासमा पार्टीको संगठन विस्तारमा योगदान पु¥याएका गोरख बहादुर बिष्टलाई नेपाली काँग्रेसले कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाएको छ ।

प्रवासबाट देश, पार्टी र जनताका लागि पु¥याएको योगदानको मूल्यांकन गर्दै पार्टीले टिकट दिएकोमा बिष्ट पार्टीप्रति आभारी छन् । र, मतदाताले आफूलाई जिताउने उनको विश्वास छ ।

नेपाली काँग्रेस डोटीले यस पटक उनको नाम प्रतिनिधि सभाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो । यद्यपि उनले टिकट कैलाली क्षेत्र नम्बर ४ बाट पाए ।

पार्टीले टिकट दिदा उनी काठमाण्डौंमा थिए । मनोनयन दर्तामा स्वयम उपस्थित हुन संभव नभएपछि उनले वारेस मार्फत मनोनयन दर्ता गरे । मनोनयन दर्ताको भोलि पल्ट विहान जहाजमा धनगढी बिमानस्थल अवतरण गरेपछि उनले धर्तीलाई ढोगे । र, स्वागतका लागि आएका शुभेच्छुकहरुका साथमा गोदावरी धाम पुगेर आशिर्वाद लिए ।

कैलाली क्षेत्र नम्बर ४ का लागि उनी नयाँ हुन् । कतिपय मतदातालाई उनको पृष्ठभूमि र राजनैतिक योगदान र अनुभवका बारेमा जानकारी छैन् । चुनावी चर्चा अन्तर्गत आजको श्रृंखलामा हामीले बिष्टका बारेमा जानकारी दिदैछौ ।

२०२९ साल साउन १६ गते डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा जन्मिएका हुन् । उनी स्वर्गीय दान बहादुर बिष्ट र कमलादेवीका छोरा हुन् ।

महेन्द्र प्रावि गडसेरामा प्राथमिक तह पढेका उनले पञ्चोदय माविमाविबाट एसएलसी पास गरेका हुन् । भारतको देहरादुनबाट प्लस टु पढाई पुरा गरेपछि उनी शंकरदेव क्याम्पस काठमाण्डौंमा भर्ना भए । त्यहीबाट स्नातक र एमबीएको पढाई पुरा गरे । ।
२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलन हुदा उनी देहरादुनमा पढ्दै थिए । त्यहाँ उनी नेबिसंघको सचिव थिए । त्यहीबाट आन्दोलनमा सहभागी भएका उनी दूतावास घेर्न दिल्ली पुगे ।

शंकरदेव क्याम्पसमा अध्ययन रहदा पनि पनि नेबिसंघको राजनीतिमा सक्रिय रहे । १९९८ देखि कर्मथलो बनाएका बिष्टले आफ्नो ज्ञान, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धलाई देश, सुदूरपश्चिम र पार्टीको हितमा प्रयोग गर्दै आएका छन् ।

२००२ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनले अमेरिकामा राजाको कदमका विरुद्ध आन्दोलनको अगुवा गरे ।
जनताको ठूलो संघर्ष र बलिदानीबाट प्राप्त व्यवस्था गुम्ने चिन्ताले उनले राजा ज्ञानेन्द्रको कदमका बिरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरे । न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि प्रदर्शन गरे ।

उनकै नेतृत्वमा अमेरिकामा नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल दर्ता भयो । जसको उनी संस्थापक अध्यक्ष भए । उनले काउन्सिल मार्फत १८ वटा ¥याली निकाले । मुलुकमा प्रजातन्त्र पुनर्बहालीका लागि दवाव दिन १९० देशका राष्ट्राध्यक्षहरुलाई ज्ञापन पत्र बुझाए ।

उनको आह्वानमा अमेरिकाका बिभिन्न राज्यबाट आएका झण्डै एक हजार नेपालीले ह्वाईट हाउसअघि लोकतन्त्र पुनर्बहालीका लागि दवाव दिन प्रदर्शन गरेका थिए ।

२००५ मा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाले बिष्टलाई संयोजक तोकेर जनसम्पर्क समिति गठन गर्न निर्देशन दिए । उनको नेतृत्वमा १७ जनाको टीम बन्यो ।

उनलाई तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोईरालाले डोटीमा टिकट दिन चाहेका थिए । अन्त्यमा टिकट सिद्धराज ओझाले पाए । उनी पार्टीको निर्णय स्वीकार गर्दै ओझाको प्रचारमा डोटी खटिए ।

त्यसपछि ७०, ७४ र ७९ मा सम्पन्न निर्वाचनमा पनि उनी टिकटबाट बञ्चित भए । तर उनी पार्टीलाई जिताउन सधै सक्रिय रहे ।
तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोईरालाले बिष्टलाई ११ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि चयन गरेका थिए । त्यसबाहेक १२, १३ र १४ औं महाधिवेशनमा पनि अमेरिकाबाट महासमिति सदस्य भए ।

२०१४ मा टेक्सासमा सम्पन्न अधिबेशनबाट उनी अत्याधिक मतले नेपाली जनसम्पर्क समितिको सभापतिमा निर्वाचित भए । त्यसयता सभापति पदमा कार्यरत बिष्टले डिसेम्बरमा अमेरिकाका सबै शाखाहरुको निर्वाचन सम्पन्न गरे । यसमहिना अमेरिकाको नेतृत्व हस्तान्तरण गर्ने तयारीमा थिए । पार्टीले टिकट दिएर पठाएपछि उनी घरदैलो र भेटघाटमा व्यस्त छन् ।

नेपाली काँग्रेसले दिएको विश्वका बिभिन्न देशमा रहेका जनसम्पर्क समितिहरुसंग समन्वय गर्ने जिम्मेवारी समेत बिष्टले कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।

राजनीतिसंगै सामाजिक कार्यमा उत्तिकै सक्रिय बिष्ट प्रवासमा नेपालीको मर्दा पर्दाका साथी हुन् । कोभिड १९ मा मान्छेहरु घरबाहिर निस्किन डराउँथे । उनी खाद्य सामग्रीसंगै मास्क, सेनिटाईजर बोकेर घर घर पुर्याउँथे । भूकम्पमा पछि पुनःनिर्माण र राहतका लागि नेपालमा ठूलो सहयोग जुटाएर नेपाल पठाए ।

डोटीका स्थानीय तहलाई एम्बुलेन्स पठाए । बिष्ट नेपालमा बाढीपहिरो, बिपत्तिमा भने सहयोग पठाउदै आएका छन् ।

अढाई दशकभन्दा लामो समयदेखि अमेरिकामा रहेपनि मन र मुटुमा भने सधै आफ्नो गृह क्षेत्र सुदूरपश्चिम र नेपाल भएको बिष्ट बताउछन् ।

उनी हरेक वर्ष दुई देखि तीन पटक नेपाल आउदा सुदूरपश्चिम नटेकेर फर्केको कुनै समय छैन् । काठमाण्डौंबाट धनगढी पुगेपछि डोटी नटेकेर फर्किन कहिल्यै मनले दिएन् । प्रतिनिधि सभा र स्थानीय तहको हरेक निर्वाचनमा उनी डोटी पुगेकै छन् ।

चुनाव बाहेक अरु समयमा पनि डोटीका हरेक पालिकामा पुगेको छु । बिष्ट भन्छन्, मलाई पार्टीले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाएर पठायो । यो विश्वासका लागि पार्टीको नेतृत्वलाई धन्यवाद दिन चाहन्छु ।

मलाई कैलाली क्षेत्र नम्बर ४ को भूगोलको बारेमा जानकारी छ । यहाँको समस्या र नागरिकका समस्या र आवश्यकताका बारेमा मलाई जानकारी छ, बिष्ट भन्छन्, मेरो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धलाई ४ नम्बर क्षेत्रको समग्र विकासका लागि सदुपयोग गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस