लिट्मसद्वारा इलेक्ट्रीशियन लक्षित सीप सुधार कार्यक्रम सुरु

द एभरेष्ट पोष्ट
८ माघ २०८२ १७:१५
लिट्मसद्वारा इलेक्ट्रीशियन लक्षित सीप सुधार कार्यक्रम सुरु

काठमाडौँ- लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूको दक्षता र सुरक्षालाई प्राथमिकता दिँदै सीप सुधार कार्यक्रम (KSA) को सुरुवात गरेको छ। शिक्षा, दक्षता र सुरक्षा भन्ने नारासहित सुरु गरिएको यो कार्यक्रमको पहिलो चरण काठमाडौँमा सञ्चालन गर्न लागिएको हो। कम्पनीले यस कार्यक्रमलाई भविष्यमा देशभर नै विस्तार गर्ने जनाएको छ।
लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनहरूलाई लक्षित गरी तयार गरिएको कार्यक्रममार्फत प्राविधिक सीप सुदृढ गर्दै सुरक्षित विद्युत अभ्यास प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। कम्पनीका अनुसार यसले सुरक्षित वायरिङ, गुणस्तरीय विद्युत स्थापना र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ।

बीस दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्ष समेटिएको छ। तालिममा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणालीलगायत आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन्।

कार्यक्रम RTECSसँग आबद्ध बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र विद्यालयका प्रधानाध्यापक सुशीलकुमार श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

कार्यक्रममा बोल्दै निर्देशक गुप्ताले तालिम केवल सीप अभिवृद्धिमै सीमित नभई समाज र ग्राहकप्रतिको कम्पनीको जिम्मेवारीको हिस्सा भएको बताए। उनले शिक्षा र सीप विकासमार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापनालाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल श्रेष्ठले प्रतिष्ठित उद्योगसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमले इलेक्ट्रीशियनहरूको व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

नेपालकै अग्रणी तार, केबल र कन्डक्टर उत्पादक कम्पनी लिट्मसले यस कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति विकासमा योगदान पु¥याउने र विद्युत सुरक्षाका मापदण्डलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस