बन्दुकको लडाई संगै लडेका पूर्व सहयोद्धा व्यालेटमा प्रतिद्वन्द्वी
धनगढी, ८ माघ ।
जनयुद्धका नाममा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षमा एउटै मोर्चामा संगै लडेका माओवादीका दुई पूर्व नेताहरु यतिबेला कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको निर्वाचनमा भने प्रतिद्वन्द्वी भएका छन् ।
हो, बन्दुकको लडाईसंगै लडेका माओवादीका पूर्व नेता लेखराज भट्ट र हरी चौधरी उत्सव व्यालेटको लडाई भने फरक फरक मोर्चामा लडिरहेका छन्, त्यो एकले अर्कालाई हराउने व्यालेटको मोर्चामा छन् ।
यद्दपि दुबै जना यतिबेला माओवादीबाट चुनावी मैदानमा होमिएका होईनन् । भट्ट नेकपा एमालेका तर्फबाट उम्मेदवार छन् । चौधरी भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार छन् ।
चौधरी पहिलो पटक प्रत्यक्ष तर्फ निर्वाचन लड्दैछन् । भट्ट भने पाँचौ पटक उम्मेदवार लड्दैछन् । उनी यही क्षेत्रबाट दुई पटक निर्बाचित भए भने दुई पटक पराजित ।
नेकपा एमाले र माओवादीबीचको एकीकरण भंग भएपछि भट्ट माओवादीमा फर्किएनन् । उनले ओलीलाई साथ दिए । र, एमाले रोजे । चौधरी भने एकता भंगभएपछि माओवादीमै फर्किए । र, प्रचण्डकै पछि लागे ।
चौधरीका पनि कमाण्डर थिए, भट्ट । लडाईमा एउटै मोर्चामा भएपनि भट्ट र चौधरीबीच केही मुद्दामा भने मतभिन्नता थियो । त्यो मतभेद शान्ति प्रकृयापछि पनि जारी रह्यो । भट्ट सेती महाकाली पक्षधर थिए । चौधरी थारुवान पक्षधर । सोही कारण दुबैबीच घृणा र प्रेमको सम्बन्ध रह्यो । कहिले पानी बाराबार । बोलचाल बन्द । एकले अर्कालाई कारबाही नै गर्ने र गराउने होडबाजी । त कहिल्यै चौधरीले दुधमा पानी मिसिए झै भट्टका बिचार र मुद्दामा मिसिएर साथ दिए ।
यद्दपि पार्टी बिभाजनका क्रममा भने दुबै जनाबीच सौहाद्र्ध सम्बन्ध थियो । बिभाजनपछि पनि उनीहरुका बीचमा राम्रो सम्बन्ध छ ।
भट्ट युद्धको समयमा सेती महाकालीको नेता हुदा चौधरी थारुवानको नेता थिए । तर चुनावमा भने दुबै जना आमने सामने भएका छन् । युद्धमा दुबै मिलेर राज्यसत्ता हराउन लागेका थिए । यतिबेला एक अर्कालाई हराउन लागेका छन् ।
१० वर्ष हसिया हथौडाका लागि एउटै मोर्चामा बन्दुकको लडाई लडेका दुबै जना व्यालेटको लडाईमा भने फरक फरक चिन्ह लिएर लडिरहेका छन् । भट्टको चुनाव चिन्ह सूर्य हो । चौधरी तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
पूर्व सहयोद्धाहरुबीचको प्रतिस्पर्धाले कैलाली क्षेत्र नम्बर ४ को चुनाव रोचक हुने भएको छ ।
