रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा रास्वपाबाट १६ जना महिला परेका छन् । एक सय ४८ जना पुरुष उम्मेदवार बनेका छन् ।

वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीको उम्मेदवार सूचीमा जम्मा ९.७५ प्रतिशत मात्रै महिला प्रतिनिधिले उम्मेदवारी पाए । जुन समतामूलक प्रतिनिधित्वका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको हक अनुरूप छैन ।

१६५ निर्वाचन क्षेत्रमा महिला र पुरुष गरी जम्मा ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएकोमा जम्मा ३९५ जना महिला उम्मेदवार छन् । जसमा १६० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो ।

आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुन: आदेश भयो । अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले अनलाइनखबरसँग भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’

उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए ।

गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालसहितविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा धेरै जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण (कारोबार स्वीकृति)गरेको अख्तियारको दाबी छ ।

त्यस्तै सोही मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिना मिना भएको अख्तियारको ठहर छ ।

भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दुर्घटना

काठमाडौं- भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ ।

बीबीसी हिन्दीका अनुसार वायुसेनाको उक्त विमान दुर्घटनाग्रस्त भएर पोखरीमा खसेको छ ।

तस्वीरहरूमा विमान पोखरीमा खसेको देखिन्छ र विमानको केही भाग पानीमुनि पनि छ ।

समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ ।

पीआरओ डिफेन्स विंग कमान्डर देबार्थो धरले दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताए ।

उनले भनेका छन्, ‘आज दिउँसो १२ बजे, दुई चालक दलका सदस्यहरू सहितको भारतीय वायुसेना विमान प्रशिक्षण अभियानमा थियो । यस क्रममा आपतकालीन अवतरण गर्नुपर्‍यो । चालक दलका दुवै सदस्य सुरक्षित छन् र कोर्ट अफ इन्क्वायरीका लागि आदेश दिइएको छ।’

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी- बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो ।

जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे ।

“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो”, प्रमुख जिल्ला अधिकारी पौडलले भने, “सुरक्षा योजना लागु गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । -रासस

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् ।

यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिममा दुई सय १० जनाको उम्मेदवारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी ७८ जनाको उम्मेदवारी परेको छ । यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ मा १९–१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ३ मा १७ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको अछाममा १७ जनाको उम्मेवारी परेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा ८ र निर्वाचन क्षेत्र नम्बर २ मा नौ जनाको उम्मेदवारी परेको छ । यस्तै, डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

लैङ्गिक अल्पसंख्यक समुदायबाट ६ जनाद्धारा प्रत्यक्ष उम्मेदवारी दर्ता

काठमाडौँ- लैङ्गिक अल्पसंख्यक समुदायबाट ‘समावेशी समाजवादी पार्टी’ तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बु, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट बिनोद लामाले उम्मेदवारी दिएका हुन् ।

यसै पार्टीबाट लैङ्गिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको जानकारी पार्टीका सल्लाहकार सुनिलबाबु पन्तले दिएका छन् ।

उज्यालो नेपाल पार्टीको १०८ स्थानमा उमेदवार

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति उज्यालो नेपाल पार्टीले १०८ स्थानमा उमेदवार उठाएको छ ।

कुलमान घिसिङ अध्यक्ष रहेको उक्त पार्टीले २५ देखि ३५ उमेर समूहमा २१ पुरुष र एक महिला गरी २२ जना उमेदवार बनाएको छ ।

३६ देखि ५० वर्ष उमेर समूहमा ४८ पुरुष र ४ महिला गरी ५२ जना र ५१ देखि ६५ वर्ष उमेर समूहमा ३० पुरुषलाई उमेदवार बनाएको छ ।

यस्तै ६६ वर्षमाथि तीन पुरुष र एक महिला चारजना उमेदवार बनाएको छ ।

भिभो एक्स–२००टी स्मार्टफोन सार्वजनिक हुँदै

काठ्माण्डौ- चिनियाँ मोबाइल ब्राण्ड भिभोले भारतीय बजारमा भिभो एक्स–२००टी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार जनवरी अन्तिम साता फोन सार्वजनिक गर्ने तयारी गरेको हो।

भिभोले एक्स–२०० सिरिज भारतीय बजारमा सन् २०२४ मा सार्वजनिक गरेको थियो। भिभो एक्स–२०० र एक्स–२०० प्रो बजारमा छ।

यो फोनमा ६.६७ इञ्चको डिस्प्ले जडान गरिएको छ।

फोनमा तीन वटा क्यामरा जडान गरिएको छ। जसमा मुख्य, टेलिफोटो र अल्ट्रावाइड तीनवटै लेन्स ५० मेगापिक्सलको छ।
ग्राहकले ६ हजार दुई सय एमएएच क्षमताको ब्याट्री पाउँछन्।

साथै, ९० वाटको फास्ट चार्चिङ र ४० वाटको वायरलेस चार्जिङ सुविधा दिइएको छ।

फोनको मूल्य ५० हजारभन्दा बढी भारू हुने अनुमान लगाइएको छ।

भिभो नेपालमा पनि चल्तीको ब्राण्ड हो। यहाँ भने ग्राहकले एक्स–३०० सिरिज मात्रै पाउँछन्।

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो :ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर लगाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् ।

गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।

आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राखे ।

‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन,’ उनले भने, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’

एन्फाको निर्वाचन स्थगित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम तत्कालका लागि निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले एक सूचना जारी गर्दै जानकारी दिएका हुन्।

‘उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकाले माघ ६ गतेदेखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ।

एन्फाले साधारणसभा र निर्वाचन आगामी माघ २८ गते झापामा गर्ने तयारी थालेको थियो। चार वर्षको कार्यकाल ६ महिना बाँकी छँदै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेको थियो। एन्फाको यो निर्णय विधान विपरित भएको भन्दै सर्वत्र विरोध भएको थियो भने निर्वाचन प्रक्रिया तत्काल रोक्न अदालतमा मुद्दा पनि दायर भएको थियो।

एन्फाको माघ २८ गतेका लागि तय भएको ‘अर्ली इलेक्सन’ रोक्न अमित खत्रीले दायर गरेको रिटमा गत पुस २८ नै अदालतले अन्तरिम आदेश दिएको थियो। अदालतले अन्तरिम आदेश दिँदादिँदै पनि एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो। गत माघ ३ गते अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि मनोनयन दर्ता गरिएको थियो।

‘अर्ली इलेक्सन’कै लागि बुधबार तय गरिएको ‘बी’ डिभिजन क्लबको निर्वाचनलाई पनि एन्फाले स्थगित गरेको छ। एन्फाले प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगित भएको जानकारी ‘बी’ डिभिजनका क्लबहरूलाई दिएको छ।

बैतडीमा १२ जनाको मनोनयन दर्ता

बैतडी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १० वटा राजनीतिक दल र दुई जना स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट भने चौथो पटक दामोदर भण्डारी दोहोरिएका छन् ।

नयाँ अनुहारमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले मनोनय दर्ता गराएका छन् । त्यसैगरी, जनता समाजवादीबाट आनसिंह भण्डारी, श्रमसंस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामबहादुर कुँवर, आम जनता पातर्टीबाट बिसनसिंह बोहराले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी, स्वतन्त्र उम्मेदवारका रुपमा तेजबहादुर चन्द र जयप्रकाश पन्तले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पन्त यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए भने चन्द नेपाली कांग्रेसमा रहेका थिए ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट प्रतिनिधि सभाका लागि मनोनय दर्ता गर्न उम्मेदवारहरु छलिया नृत्यसहित बाजागाजा बजाएर मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गढी पुगेका थिए । उम्मेदवारी दर्ता गर्न दिइएको समय तालिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्दले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । अन्य सबै उम्मेदवार आफैँ उपस्थित भएर मनोनयन दर्ता गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले वारिसमार्फत मनोनय दर्ता गरेका छ  ।

नेकपा एमालेका केन्द्री सदस्य एवम् पूर्व मन्त्री दामोदर भण्डारी चौथो पटक चुनावी मैदानमा देखिनुभएको छ । नेपाली कांग्रेसका बैतडी पार्टी सभापति एवम् नेपाल क्रिकेट सङ्घ ९क्यान० केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द पहिलो पटक चुनाव लड्दै छन् । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट पनि प्रतिनिधि सभामा पहिलो पटक निर्वाचनमा होमिएका छन् । भट्ट नेकपा एमालेबाट विभाजित भएको नेकपा समाजवादी हुँदै हालै प्रचण्ड र माधव नेपालबिच  एकता भएको नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारका रुपमा अघि सारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका भूपेन्द्र चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हरिमोहन भण्डारी यसअघि नेपाली काँग्रेसमा आबद्ध थिए । गत २०७९ को सुदूरपश्चि प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएका उनलाई पार्टीले कारबाही गरेको थियो । भण्डारी हालः राष्ट्रि स्वतन्त्र पार्टीमा आबद्ध छन् ।

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी, उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाण्डौ- प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीपछि भोलि बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । नाम फिर्ता लिन र दाबी विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

हिजो देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने उनको विश्वास छ ।

 

एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो

काठमाडौँ- नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक कारणले सुनचाँदीको मूल्य प्रभावित भइरहेको बताइएको छ ।

कञ्चनपुरमा ३ वटै क्षेत्रबाट ५५ उम्मेदवारी दर्ता

कञ्चनपुर, माघ ७ गते । आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रबाट ५५ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा ५५ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका नेता तारालामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नेता बिना मगर, नेपाली कांग्रे्रेसबाट गोपीप्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिल्ली शाहीसहितका १९ उम्मेदवारले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद, नेपाली कम्युनिष्ट पार्टीका नेता माधव पन्त, नेकपा एमालेका नेता बचन बहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तीर्थराज चटौतले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर–२ बाट १९ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट डा. दीपक प्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका नेता मानबहादुर सुनार, नेपाली काङ्ग्रेसका नेता हरिप्रसाद बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्ण बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा १७ जना गरी तीन वटै निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, तीन वटै निर्वाचन क्षेत्रमा ११ स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । निर्वाचन कार्यालयका अनुसार, बुधबार उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने तथा मनोनयन पत्र र उजरी उपर जाँचवुझ गरिने छ । उम्मेदवारहरुको अन्तिम नामावली भने बिहीबार प्रकाशित गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

बाजुरामा आठ जनाको उम्मेदवारी दर्ता

बाजुरा। बाजुरामा आठ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि यहाँ आठ जनाको उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मात्र रहेको बाजुरामा प्रतिनिधि सभा सदस्यका पदका लागि नेपाली कांग्रेस पार्टीबाट जनकराज गिरी, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाश बहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राप्रपाबाट केशर बहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भुपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी रस्वतन्त्रतर्फबाट उपेन्द्र शाही गरी आठ जनाले उम्मेदारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत संजिव पोखरेले बताए ।

बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन् । जम्मा पुरुष ४५ हजार ४२८ महिला ४२ हजार ४३१ र अन्य दुई गरी ८७ हजार ८६१ जना मतदाता रहेका छन् । निर्वाचनका लागि बाजुरामा ७७ स्टल ११८ केन्द्र रहेका छन् ।

अछाममा १६ जनाको उम्मेदवारी दर्ता

अछाम- अछाममा ८ राजनीतिक दलका १५ जना र एक स्वतन्त्र उम्मेदवार गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  अछाम १ मा नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति भरतकुमार स्वाँर, नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर रावल, नेकपा एमालेका दीपकबहादुर साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह र स्वतन्त्र भीमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।

अछाम २ मा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति पुष्पबहादुर शाह,नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादुर कुँवर, एमालेका यज्ञबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह, नेपाल मजदुर किसान पार्टीका झंकर शाही,नेकपा माओवादीका शेरबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपाने र उज्यालो पार्टीका राजेश रावलले उम्मेदवारी दर्ता गराएका छन्।

अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार फेरेको छ। अछाम क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका शरद्सिंह भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि बलबहादुर कुँवरलाई उम्मेदवार बनाएको हो। नेपाली कांग्रेसका महासमिति सदस्य रहेका कुँवर नेपाली कांग्रेस परित्याग गरी नेकपाबाट उम्मेदवार बनेका हुन्। कुँवर २०७० को सविधानसभा निर्वाचन र २०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।

काँग्रेसका निवर्तमान सभापति देउवा सहित कसकसले टिकट पाएनन् ?

काठमाडौँ, ७ माघ ।
नेपाली काँग्रेसले पुराना नेताहरुसंगै बिभिन्न भ्रष्टाचार काण्ड र घट्नामा मुछिएका नेताहरुलाई यस पटक टिकटबाट बञ्चित गरेको छ । काँग्रेसबाट टिकट पाउने अधिकांश नयाँ अनुहार छन् ।

नेपाली काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा नै यस पटक टिकटबाट बञ्चित भए ।

यस पटक काँग्रेसमा टिकटबाट बञ्चित हुनेहरुमा निवर्तमान सभापति, निवर्तमान कार्यबहाक सभापति, निवर्तमान उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष लगायतका पदाधिकारीहरु छन् ।

२०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा समेत गरी सात पटक जितेका देउवा २०६४ मा कञ्चनपुर र २०७० मा कैलालीबाट समेत निर्वाचित भएका थिए । निर्वाचनमा कहिल्यै पराजित नभएका देउवा यस पटक पनि निर्वाचन लड्न ईच्छुक थिए । सोमबार मध्यराति देउवाले निर्वाचन नलड्ने घोषणा गरे । र, डडेल्धुराबाट नैनसिंह महरले टिकट पाए ।

बर्तमान उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले पूर्व घोषणा अनुसार टिकट लिएनन् । सहमहामन्त्री डा. डिला संग्रौलाले टिकट पाएनन् । संग्रौलाले चुनाव लड्न चाहेको मोरङ ६ बाट डा. शेखर कोइरालाले टिकट पाएका छन् ।

निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका पुत्र पूर्व महामन्त्री सशांक कोईरालाले यस पटक टिकट पाएनन् ।

स्याङ्जा–२ बाट चुनाव लड्दै आएका गुरुङ र श्रेष्ठ दुबै जना टिकटबाट बञ्चित हुदा गुरुङले पनि आफूले नै चुनाव लड्न नचाहेर टिकट नलिएको बताएका छन् । २०७९ मा स्याङ्जा–२ बाट गुरुङले चुनाव जितेका थिए । काठमाडौँ–१ बाट चुनाव जित्दै आएका सिंहलाई पनि काँग्रेसले टिकट दिएन् ।

पूर्वसहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार र उमाकान्त चौधरी पनि यस पटक टिकटबाट बञ्चित भए । २०७९ मा चितवनमा रवि लामिछानेसंग पराजित पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठले पनि टिकट पाएनन् ।

२०७०, २०७४ र २०७९ गरी तीन पटक नवलपुर–१ बाट चुनाव जितेका डा. शशांक कोइरालाले पनि यस पटक टिकट पाएनन् ।

कतिपय नेताहरुले टिकट बाडिनुअघि नै उम्मेदवार नबन्ने घोषणा गरेका थिए । त्यसरी घोषणा गर्नेमा दार्चुलाका दिलेन्द्र प्रसाद बडु, सोलुखुम्बुका बलबहादुर केसी, उदयपुर–१ का डा. नारायण खड्का, काठमाडौँ–१० का राजेन्द्रकुमार केसी र सुर्खेत–२ का हृदयराम थानी थिए । उनीहरुले स्वेच्छाले टिकट नलिदा थुप्रै नेताहरु आकांक्षी हुदा हुदै पनि टिकटबाट बञ्चित भए । निवर्तमान कार्यबहाक सभापति पूर्ण बहादुर खड्काले नैतिकताको कारण देखाउदै टिकट लिएनन् ।

काँग्रेसले २०७९ मा कञ्चनपुर–३ बाट निर्वाचित रमेश लेखकलाई यस पटक टिकट दिएन् । जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखक आन्दोलनमा भएको क्षतिका कारण आलोचित थिए । सोही कारण उनी टिकटबाट बञ्चित भए । उनको निर्वाचन क्षेत्रमा हरि बोहोराले टिकट पाएका छन् ।

थापाले २०७४ मा कैलाली–५ मा पराजित डा. आरजु राणा यस पटक चुनाव लड्न चाहन्थिन् । उनले पनि टिकट पाईनन् । उनको निर्वाचन क्षेत्रमा नरनारायण शाह मनुले टिकट पाए ।

२०७९ सालको निर्वाचनमा तेह्रथुमबाट निर्वाचित सीता गुरुङ पनि यस पटक टिकटबाट बञ्चित भईन् । उनी देशभरीमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार थिईन् । सुजाता कोईरालाले पनि टिकट पाईनन् । उनी मोरङ–२ बाट चुनाव लड्न चाहन्थिन् । सो निर्वाचन क्षेत्रमा मिनेन्द्र रिजालले टिकट पाए ।

सिन्धुपाल्चोक–१ का मोहनबहादुर बस्नेत, कैलाली–१ का रामजनम चौधरी, ललितपुर–३ का मदनबहादुर अमात्य, संखुवासभामा दीपक खड्का, सिन्धुली–२ मा श्याम घिमिरे, भक्तपुर–२ मा दुर्लभ थापाले पनि टिकट पाएनन् । ईश्वरी न्यौपाने, डा. रण बहादुर रावल, चिनकाजी श्रेष्ठ, राजेन्द्र बजगाई पनि यस पटक टिकटबाट बञ्चित भए । अन्तिम समयमा ओखलढुंगामा रामहरि खतिवडाको समेत टिकट काटियो ।

यसअघि जितेको कैलाली क्षेत्र नम्बर ४ मा टिकट पाएका वीरबहादुर बलायरले उम्मेदवार नबन्ने बताएपछि उनको निर्वाचन क्षेत्रमा गोरख बिष्ट(आनन्द) ले टिकट पाए ।

त्यस्तै सर्वोच्च अदालतमा बिचाराधीन रहेको पार्टीको आधिकारिता विवाद टुंगो नलागेका कारण निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताको आधारमा टिकट नलिएको बताएका छन् । खड्का लडदै आएको सुर्खेत–१ मा उनका भाइ विष्णु खड्का उम्मेदवार बनेका छन् ।

गगनको क्षेत्रमा काँग्रेसका युवा नेता तिमिल्सेनाको उम्मेदवारी

धनगढी, ६ माघ ।
काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट सचिन तिमिल्सेनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यसअघि नेपाली काँग्रेसका तर्फबाट गगन थापाले जित्दै आएको काठमाण्डौं क्षेत्र नम्बर ४ मा युवा नेता तिमिल्सेनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

लगातार जित्दै आएको काठमाण्डौं ४ छोडेर थापाले सर्लाही रोजेपछि उनको ठाँउमा तिमिल्सेनाले उम्मेदवारी दिएका हुन् ।

सर्लाही ४ मा गगन थापाले दिए उम्मेदवारी

काठमाडौं,७ माघ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन्।

यसअघि काठमाण्डौं ४ बाट लगातार जित्दै आएका थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि सर्लाही ४ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

सर्लाही–४ मा कांग्रेस सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंहले पनि उम्मेदवारी दिएका छन्।

२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनदेखि नेपाली कांग्रेसबाट टिकट पाएर उम्मेदवार बन्दै आएका डा. सिंहले कांग्रेसबाट टिकट नपाएपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

डा. सिंह सोमबार मात्रै गत निर्वाचनमा उदाएको नयाँ दल रास्वपामा प्रवेश गरेका थिए। सर्लाही–४ बाट नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा पनि कांग्रेसका तत्कालीन महामन्त्री थापा सर्लाही–४ जाने चर्चा व्यापक चलेको थियो। कांग्रेसबाट टिकट नपाएपछि नेता सिंहले आफूलाई थापाले नै टिकट नदिएको आरोप लगाएका थिए ।

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थिए।

निर्वाचनमा सर्लाही–४ का अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन्। चौथो भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ पाएका थिए।

नेता सिंह प्रवेश गरेको पार्टी रास्वपाका उम्मेदवार धिरज ठाकुर ३१८ पाएर नवौं स्थानमा आएका थिए ।

दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा निर्वाचित

काठमाडौं,६ माघ। ओलम्पियन दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष समेत रहेका विष्ट पहिलो पटक डब्लुओएको कार्यसमितिमा निर्वाचित भएका हुन् ।

डब्लुओएको अनलाइन माध्यमबाट सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। निर्वाचनमार्फत स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक तथा चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

नेपाल ओलिम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै विष्टको निर्वाचनलाई सम्पूर्ण नेपाली खेलकुद क्षेत्रका लागि गर्वको विषय भएको बताएका छन्।

उनका अनुसार यो उपलब्धिले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय तहमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।

नेपाली राजनीतिमा “विदेशी दलाल” को हाउगुजी

टीका पौडेल ।

नेपाली राजनीति लामो समयदेखि संक्रमण, प्रयोग र संघर्षको चरणबाट गुज्रँदै आएको छ। निरंकुश राजतन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, सशस्त्र द्वन्द्व, गणतन्त्र, संघीयता हुँदै आजको अवस्थासम्म आइपुग्दा राजनीति केवल सत्ताको खेल मात्र नभई जनआकांक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक द्वन्द्व र शक्ति–सन्तुलनको जटिल संयोजन बनेको छ। तर पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको एउटा गम्भीर प्रवृत्ति भनेको आफ्नो असफलता, अकर्मण्यता र राजनीतिक दिवालियापनलाई “विदेशी दलाल” को हाउगुजी खडा गरेर ढाकछोप गर्ने प्रवृत्ति हो।

यो प्रवृत्ति सुरुमा मुख्यतः कम्युनिस्ट दलहरूमा देखिएको मानिन्थ्यो। तर समयक्रमसँगै यो आरोप–प्रत्यारोपको संस्कृति प्रजातान्त्रिक भनिएका दलहरू, नयाँ भनिएका वैकल्पिक राजनीतिक शक्तिहरू र स्वतन्त्र दाबी गर्ने समूहहरूसम्म फैलिएको छ। कसैलाई स्पष्ट रूपमा कुन देश, कुन संस्था वा कुन स्वार्थसँग जोडिएको हो भन्ने प्रमाण नदिई, केवल “विदेशी दलाल”, “बाह्य शक्तिको एजेन्ट”, “अन्तर्राष्ट्रिय षड्यन्त्रको मोहरा” जस्ता शब्द प्रयोग गरेर राजनीतिक लाभ लिने प्रयास बढ्दै गएको छ।

“विदेशी दलाल” भन्ने शब्द आफैंमा अत्यन्त भावनात्मक र संवेदनशील छ। नेपालको ऐतिहासिक पृष्ठभूमिमा विदेशी हस्तक्षेप, असमान सन्धि, भूराजनीतिक दबाब र परनिर्भरताको अनुभव भएकाले यो शब्दले जनमानसमा सहजै डर, आक्रोश र राष्ट्रवादी भावना जगाउँछ।

शीतयुद्धकालमा विश्व राजनीति दुई ध्रुवमा बाँडिएको थियो। त्यसबेला नेपालजस्ता साना राष्ट्रहरूमा कुनै पनि वैचारिक समूहलाई “अर्को ध्रुवको एजेन्ट” भन्ने आरोप लगाउनु सामान्य थियो। कम्युनिस्टहरूलाई विदेशी विचार आयात गरेको, पश्चिमी देशको कठपुतली भएको आरोप लगाइन्थ्यो भने कम्युनिस्टहरूले प्रजातान्त्रिक शक्तिलाई साम्राज्यवादको दलाल भनेर चित्रित गर्थे। त्यो समयको वैचारिक संघर्ष सापेक्ष रूपमा खुला र स्पष्ट थियो।

तर आजको सन्दर्भ फरक छ। विश्व बहुध्रुवीय बन्दै गएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध जटिल छन्, र नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै कुनै न कुनै रूपमा बाह्य सहयोगसँग गाँसिएको छ। यस्तो अवस्थामा “विदेशी दलाल” को आरोप केवल भावनात्मक नारा बनेर प्रयोग भइरहेको छ, जसको उद्देश्य विचार बहस होइन, चरित्र हत्या र राजनीतिक लाभ हो।

नेपालका कम्युनिस्ट दलहरूले इतिहासदेखि नै “राष्ट्रवाद” लाई आफ्नो प्रमुख राजनीतिक हतियार बनाउँदै आएका छन्। विदेशी हस्तक्षेपविरुद्ध संघर्ष गर्ने दाबी उनीहरूको मूल राजनीतिक पूँजी रहँदै आएको छ। तर व्यवहारमा हेर्दा उनीहरू स्वयं विभिन्न कालखण्डमा विदेशी शक्तिसँग वैचारिक, कूटनीतिक वा रणनीतिक सहकार्यमा संलग्न हुँदै आएका छन्।

सशस्त्र द्वन्द्वकालमा विदेशी भूमिमा बसेर रणनीति बनाइनु, शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय मध्यस्थताको भूमिका स्वीकार गर्नु, तथा सरकारमा पुगेपछि विदेशी सहायता र ऋणमा आधारित विकास मोडल अपनाउनु—यी सबै यथार्थ हुँदाहुँदै पनि, सत्ता बाहिर रहँदा वा आलोचनाको सामना गर्नुपर्दा “विदेशी दलाल” को आरोप सजिलै उछालिन्छ।

यसरी विदेशी विरोधको नारा सिद्धान्तभन्दा बढी सुविधाअनुसार प्रयोग हुने राजनीतिक अस्त्र बनेको छ। जनतालाई रोजगारी दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासन कायम गर्न असफल भएको यथार्थबाट ध्यान हटाउन विदेशी षड्यन्त्रको कथा निर्माण गरिन्छ।

पहिले कम्युनिस्टहरूले प्रयोग गरेको यो हाउगुजी अहिले नेपाली कांग्रेस लगायत अन्य प्रजातान्त्रिक दलहरूमा पनि देखिन थालेको छ। कुनै नयाँ राजनीतिक शक्ति उदायो भने त्यसलाई तुरुन्तै “कुनै न कुनै देशको प्रोजेक्ट” भनेर बदनाम गर्ने प्रयास हुन्छ।

विडम्बना के छ भने प्रजातन्त्र, बहुलवाद र खुला बहसको पक्षमा उभिनुपर्ने दलहरूले नै प्रमाणविहीन आरोप लगाएर लोकतान्त्रिक मूल्यको अपमान गरिरहेका छन्। नीति, कार्यक्रम र विचारको बहस गर्न नसक्दा चझष्लमष्लन कअबउभनयबत खोजिन्छ, र त्यो कअबउभनयबत प्रायः “विदेशी दलाल” हुन्छ।

यसले राजनीतिक प्रतिस्पर्धालाई अस्वस्थ बनाएको छ। बहस मुद्दामा होइन, आरोपमा सीमित हुन थालेको छ। जनताले पनि सत्य–असत्य छुट्याउन गाह्रो मान्न थालेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिक शक्तिहरू उदाएका छन्। यिनले पुराना दलहरूको असफलता, भ्रष्टाचार र अकर्मण्यताको आलोचना गर्दै नयाँ राजनीतिक संस्कृतिको वाचा गरेका छन्। तर यस्ता शक्तिहरूको उदयले पुराना दलहरूमा असुरक्षा पैदा गरेको छ।

त्यसको परिणामस्वरूप, नयाँ दल वा स्वतन्त्र नेतामाथि “विदेशीको समर्थनमा आएको”, “एनजिओ–आईएनजिओको पैसा खाएको”, “बाह्य शक्तिको डिजाइनमा खडा भएको” जस्ता आरोप लगाइन्छ। यस्ता आरोपको खासै प्रमाण हुँदैन, तर जनमानसमा शंका उत्पन्न गराउन पर्याप्त हुन्छ।

यो प्रवृत्तिले राजनीतिक नवप्रवर्तनलाई निरुत्साहित गर्छ। नयाँ विचार ल्याउने जो कोहीलाई देशद्रोहीको छायाँमा राख्ने प्रयास हुन्छ। दीर्घकालमा यसले लोकतन्त्रलाई कमजोर बनाउँछ।

यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—विदेशी सहयोग लिनु र विदेशी दलाल हुनु एउटै कुरा होरु नेपालको वर्तमान अवस्थालाई हेर्दा जवाफ स्पष्ट रूपमा “होइन” हो।

नेपाल जस्तो विकासोन्मुख देशले शिक्षा, स्वास्थ्य, पूर्वाधार, जलवायु परिवर्तन, विपद् व्यवस्थापन जस्ता क्षेत्रमा विदेशी सहयोग लिइरहेको छ। यो सहयोग पारदर्शी, राष्ट्रिय प्राथमिकताअनुसार र जनहितमा प्रयोग भएमा त्यसलाई दलाली भन्न मिल्दैन।विदेशी दलाली भनेको आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि राष्ट्रहित विपरीत निर्णय गर्नु हो। तर नेपाली राजनीतिमा यी दुईबीचको भिन्नता जानाजानी मेटाइन्छ, ताकि भावनात्मक राष्ट्रवाद बेच्न सजिलो होस्।

“विदेशी दलाल” को हाउगुजीले समाजमा गम्भीर असर पारिरहेको छ। नागरिकहरू निरन्तर शंकाको वातावरणमा बाँच्न बाध्य छन्। कसैलाई समर्थन गर्दा पनि “कतै यो पनि विदेशी एजेन्ट त होइनरु” भन्ने डर पैदा हुन्छ।यसले नागरिक चेतनालाई कमजोर बनाउँछ। विवेकपूर्ण निर्णयभन्दा भावनात्मक प्रतिक्रिया हावी हुन्छ। परिणामस्वरूप, असफल नेताहरू पनि राष्ट्रवादी नाराको आडमा पटक–पटक सत्तामा फर्किन सफल हुन्छन्।

मिडिया र सामाजिक सञ्जालले यो हाउगुजी फैलाउन ठूलो भूमिका खेलेका छन्। तथ्य जाँच नगरी सनसनीपूर्ण आरोपलाई समाचार बनाइन्छ। सामाजिक सञ्जालमा त झन् प्रमाणको आवश्यकता नै पर्दैन। एकपटक आरोप लागेपछि त्यसको खण्डनले खासै प्रभाव पार्दैन।यसले राजनीतिक संवादलाई विषाक्त बनाएको छ। विचारको प्रतिस्पर्धा होइन, चरित्र हत्या मुख्य एजेन्डा बन्दै गएको छ।

साँचो राष्ट्रवाद भनेको जनताको जीवनस्तर सुधार गर्नु, सुशासन कायम गर्नु, स्वाधीन निर्णय क्षमता बलियो बनाउनु हो। तर नेपाली राजनीतिमा राष्ट्रवादलाई भावनात्मक नारा बनाएर दुरुपयोग गरिएको छ।जब नेताहरू असफल हुन्छन्, तब राष्ट्रवादको झण्डा उचालिन्छ। विदेशी शत्रु देखाइन्छ, तर आन्तरिक कमजोरी स्वीकारिँदैन। यसले राष्ट्रिय आत्मविश्वास होइन, भ्रम र डर मात्र उत्पादन गर्छ।

यो प्रवृत्ति निरन्तर जारी रह्यो भने नेपाली लोकतन्त्र गम्भीर संकटमा पर्न सक्छ। राजनीतिक असफलताको आत्मालोचना गर्ने संस्कार हराउँछ। योग्य नेतृत्व उदाउन पाउँदैन। विदेश नीति पनि असन्तुलित र प्रतिक्रियात्मक बन्छ।
सबैभन्दा ठूलो खतरा भनेको जनतामा राजनीति प्रति वितृष्णा बढ्नु हो। जब सबै नेता “कसै न कसैको दलाल” देखिन्छन्, तब नागरिकहरू लोकतन्त्रप्रति नै निराश हुन्छन्।

नेपाली राजनीतिमा “विदेशी दलाल” को हाउगुजी कुनै नयाँ कुरा होइन, तर पछिल्ला वर्षहरूमा यसको प्रयोग अत्यन्तै गैरजिम्मेवार, व्यापक र खतरनाक रूपमा भइरहेको छ। यो हाउगुजीले राजनीतिक असफलता ढाकछोप गर्न, जनताको ध्यान वास्तविक समस्याबाट हटाउन र भावनात्मक राष्ट्रवाद बेच्न सजिलो बनाएको छ।

अब समय आएको छ—नेपाली राजनीतिले आत्मालोचना गर्न सिक्नुपर्छ। प्रमाणविहीन आरोप होइन, नीतिगत बहस र कार्यसम्पादनको मूल्याङ्कन हुनुपर्छ। विदेशी हस्तक्षेपको आलोचना आवश्यक छ, तर त्यसको आडमा आफ्नै असक्षमता लुकाउनु देश र लोकतन्त्र दुवैका लागि घातक हुन्छ।

यदि नेपाली राजनीति साँच्चै स्वाधीन, सक्षम र जनमुखी बनाउने हो भने, “विदेशी दलाल” को हाउगुजी होइन, जवाफदेहिता, पारदर्शिता र विचारको प्रतिस्पर्धा नै मुख्य आधार बन्नुपर्छ।

(अमेरिकाको कोलोराडो निवासी पौडेल ब्लड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष हुन् ।)

कैलालीका पाँच निर्वाचन क्षेत्रबाट ७८ जनाको उम्मेदवारी, महिला संख्या न्यून

कैलाली : प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीका पाँच निर्वाचन क्षेत्रबाट ७८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन दर्ता प्रक्रिया सकिँदै गर्दा पाँच क्षेत्रमा पहिले निर्वाचित भइसकेका नेताहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट गरी विगतमा संसद्‍मा पुगिसकेका उम्मेदवारहरू यसपटक पनि चुनावमा होमिएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबै पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । जस अनुसार क्षेत्र नं १ बाट ६ जना स्वतन्त्र उम्मेदवारसहित १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये महिला उम्मेदवार ३ जना मात्र छन् ।

क्षेत्र नं २ मा ३ जना स्वतन्त्र गरि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा पनि २ जना मात्रै महिला उम्मेदवार रहेका छन् । क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । पार्टीबाट ११ जनाको उम्मेदवारी परेको यो क्षेत्रमा पनि २ जना मात्रै महिला उम्मेदवार छन् ।

यस्तै क्षेत्र नं ४ मा १ जना स्वतन्त्र उम्मेदवारसहित १७ जनाले मनोनयन दर्ता गराए । जसमा महिला १ जना मात्रै छन् । यता क्षेत्र नं ५ मा ३ जना स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवार ३ जना रहेका छन् ।

कैलाली क्षेत्र नं ५ मा नेपाली कांग्रेसबाट नरनारायण शाह, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम आलेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ रास्वपाबाट आनन्दबहादुर चन्द, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, प्यारेलाल राना र जनकराज पाठक स्वतन्त्रबाट, राप्रपाबाट रोशन शाही लगायतले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता विवरण हेर्दा महिला उम्मेदवारको संख्या न्यून देखिएको छ । केही दलबाट महिलाले उम्मेदवारी दर्ता गराए पनि समग्रमा पुरुष उम्मेदवारकै वर्चस्व छ । पाँच वटै निर्वाचन क्षेत्र गरी जम्मा ११ जना महिलाको उम्मेदवारी परेको छ । राजनीतिक क्षेत्रमा समावेशिताको कुरा पटक–पटक उठे पनि प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति अझै कमजोर रहेको आजको मनोनयन दर्ताले देखाएको छ ।

मनोनयन दर्ता सूचीमा प्रमुख दलहरूका साथै केही साना दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि देखिन्छ । दलहरूले यसपटक पनि जित सुनिश्चित गर्ने उद्देश्यले पहिल्यै परीक्षण भइसकेका, संगठनमा पकड भएका र मतदातामाझ परिचित अनुहारलाई अघि सारेका छन् । दलभित्र नयाँ नेतृत्व विकासको चर्चा भए पनि प्रत्यक्ष निर्वाचनमा कैलालीमा त्यसको प्रभाव नगन्य देखिएको छ ।

सुदूरपश्चिमका पूर्व मन्त्री शाहले बाजुराबाट गराए उम्मेदवारी दर्ता

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रकाशबहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उनले मंगलबार बाजुरा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गरेका हुन्।

शाह २०७४ को निर्वाचनमा सुदूरपश्चिममा मन्त्री बनेका थिए।

शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा, ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७ सय १४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै ५ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १९ गते २ हजार ७ सय १९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ बैंकको डिबेन्चर २०८९ सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार ८ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय ३९ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै ६ महिनायताकै धेरै हो । यसअघि गएको साउन १८ गते १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो ।

दार्चुलामा कांग्रेसका जोशीको उम्मेदवारी दर्ता

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीको मनोनयन दर्ता भएको छ ।

जोशीले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा दार्चुलाबाट निवर्तमान सांसद दिलेन्द्रप्रसाद बडू, समानुपातिक उम्मेदवार करवीर कार्की, जिल्ला सभापति ललितसिंह बोहोरालगायतका कांग्रेस नेता र कार्यकर्ताको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा काम गरेको अनुभव संगालेका जोशीलाई सभापति गगन थापाले दार्चुलाको उम्मेदवार बनाएका थिए । संयुक्त राष्ट्रसंघको विभिन्न राजनीतिक मिसन, मानवअधिकार, कानुन र द्वन्द्व व्यवस्थापनमा भूमिका खेलेको अनुभव जोशीसँग छ ।

कैलाली- २ मा रास्वपाका खनालको उम्मेदवारी दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केपी खनालले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गारएका छन् ।

खनालले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा रास्वपाका नेता, कार्यकर्ता, स्थानीय समर्थक तथा जनताको उपस्थिति रहेको थियो ।

मनोनयन दर्तापछि खनालले चुनावी अभियानमा जनताको विश्वास, सुशासन र परिवर्तन मुख्य एजेन्डा रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर २ का हरेक घरमा पुगेर जनताको पीडा, समस्या र आवश्यकताबारे प्रत्यक्ष संवाद गर्ने योजना रहेको बताए । ‘जनताको सेवा नै हाम्रो धर्म हो । मैले यहाँको हरेक आवाज संसदसम्म पुर्‍याउनेछु । इमानदार र उत्तरदायी नेतृत्वमार्फत मात्र देशको विकास र समृद्धि सम्भव छ,’ उनले भने ।

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज  पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

खोज्नुहोस