टीका पौडेल ।
नेपाली राजनीति लामो समयदेखि संक्रमण, प्रयोग र संघर्षको चरणबाट गुज्रँदै आएको छ। निरंकुश राजतन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, सशस्त्र द्वन्द्व, गणतन्त्र, संघीयता हुँदै आजको अवस्थासम्म आइपुग्दा राजनीति केवल सत्ताको खेल मात्र नभई जनआकांक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक द्वन्द्व र शक्ति–सन्तुलनको जटिल संयोजन बनेको छ। तर पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको एउटा गम्भीर प्रवृत्ति भनेको आफ्नो असफलता, अकर्मण्यता र राजनीतिक दिवालियापनलाई “विदेशी दलाल” को हाउगुजी खडा गरेर ढाकछोप गर्ने प्रवृत्ति हो।
यो प्रवृत्ति सुरुमा मुख्यतः कम्युनिस्ट दलहरूमा देखिएको मानिन्थ्यो। तर समयक्रमसँगै यो आरोप–प्रत्यारोपको संस्कृति प्रजातान्त्रिक भनिएका दलहरू, नयाँ भनिएका वैकल्पिक राजनीतिक शक्तिहरू र स्वतन्त्र दाबी गर्ने समूहहरूसम्म फैलिएको छ। कसैलाई स्पष्ट रूपमा कुन देश, कुन संस्था वा कुन स्वार्थसँग जोडिएको हो भन्ने प्रमाण नदिई, केवल “विदेशी दलाल”, “बाह्य शक्तिको एजेन्ट”, “अन्तर्राष्ट्रिय षड्यन्त्रको मोहरा” जस्ता शब्द प्रयोग गरेर राजनीतिक लाभ लिने प्रयास बढ्दै गएको छ।
“विदेशी दलाल” भन्ने शब्द आफैंमा अत्यन्त भावनात्मक र संवेदनशील छ। नेपालको ऐतिहासिक पृष्ठभूमिमा विदेशी हस्तक्षेप, असमान सन्धि, भूराजनीतिक दबाब र परनिर्भरताको अनुभव भएकाले यो शब्दले जनमानसमा सहजै डर, आक्रोश र राष्ट्रवादी भावना जगाउँछ।
शीतयुद्धकालमा विश्व राजनीति दुई ध्रुवमा बाँडिएको थियो। त्यसबेला नेपालजस्ता साना राष्ट्रहरूमा कुनै पनि वैचारिक समूहलाई “अर्को ध्रुवको एजेन्ट” भन्ने आरोप लगाउनु सामान्य थियो। कम्युनिस्टहरूलाई विदेशी विचार आयात गरेको, पश्चिमी देशको कठपुतली भएको आरोप लगाइन्थ्यो भने कम्युनिस्टहरूले प्रजातान्त्रिक शक्तिलाई साम्राज्यवादको दलाल भनेर चित्रित गर्थे। त्यो समयको वैचारिक संघर्ष सापेक्ष रूपमा खुला र स्पष्ट थियो।
तर आजको सन्दर्भ फरक छ। विश्व बहुध्रुवीय बन्दै गएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध जटिल छन्, र नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै कुनै न कुनै रूपमा बाह्य सहयोगसँग गाँसिएको छ। यस्तो अवस्थामा “विदेशी दलाल” को आरोप केवल भावनात्मक नारा बनेर प्रयोग भइरहेको छ, जसको उद्देश्य विचार बहस होइन, चरित्र हत्या र राजनीतिक लाभ हो।
नेपालका कम्युनिस्ट दलहरूले इतिहासदेखि नै “राष्ट्रवाद” लाई आफ्नो प्रमुख राजनीतिक हतियार बनाउँदै आएका छन्। विदेशी हस्तक्षेपविरुद्ध संघर्ष गर्ने दाबी उनीहरूको मूल राजनीतिक पूँजी रहँदै आएको छ। तर व्यवहारमा हेर्दा उनीहरू स्वयं विभिन्न कालखण्डमा विदेशी शक्तिसँग वैचारिक, कूटनीतिक वा रणनीतिक सहकार्यमा संलग्न हुँदै आएका छन्।
सशस्त्र द्वन्द्वकालमा विदेशी भूमिमा बसेर रणनीति बनाइनु, शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय मध्यस्थताको भूमिका स्वीकार गर्नु, तथा सरकारमा पुगेपछि विदेशी सहायता र ऋणमा आधारित विकास मोडल अपनाउनु—यी सबै यथार्थ हुँदाहुँदै पनि, सत्ता बाहिर रहँदा वा आलोचनाको सामना गर्नुपर्दा “विदेशी दलाल” को आरोप सजिलै उछालिन्छ।
यसरी विदेशी विरोधको नारा सिद्धान्तभन्दा बढी सुविधाअनुसार प्रयोग हुने राजनीतिक अस्त्र बनेको छ। जनतालाई रोजगारी दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासन कायम गर्न असफल भएको यथार्थबाट ध्यान हटाउन विदेशी षड्यन्त्रको कथा निर्माण गरिन्छ।
पहिले कम्युनिस्टहरूले प्रयोग गरेको यो हाउगुजी अहिले नेपाली कांग्रेस लगायत अन्य प्रजातान्त्रिक दलहरूमा पनि देखिन थालेको छ। कुनै नयाँ राजनीतिक शक्ति उदायो भने त्यसलाई तुरुन्तै “कुनै न कुनै देशको प्रोजेक्ट” भनेर बदनाम गर्ने प्रयास हुन्छ।
विडम्बना के छ भने प्रजातन्त्र, बहुलवाद र खुला बहसको पक्षमा उभिनुपर्ने दलहरूले नै प्रमाणविहीन आरोप लगाएर लोकतान्त्रिक मूल्यको अपमान गरिरहेका छन्। नीति, कार्यक्रम र विचारको बहस गर्न नसक्दा चझष्लमष्लन कअबउभनयबत खोजिन्छ, र त्यो कअबउभनयबत प्रायः “विदेशी दलाल” हुन्छ।
यसले राजनीतिक प्रतिस्पर्धालाई अस्वस्थ बनाएको छ। बहस मुद्दामा होइन, आरोपमा सीमित हुन थालेको छ। जनताले पनि सत्य–असत्य छुट्याउन गाह्रो मान्न थालेका छन्।
नेपालमा पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिक शक्तिहरू उदाएका छन्। यिनले पुराना दलहरूको असफलता, भ्रष्टाचार र अकर्मण्यताको आलोचना गर्दै नयाँ राजनीतिक संस्कृतिको वाचा गरेका छन्। तर यस्ता शक्तिहरूको उदयले पुराना दलहरूमा असुरक्षा पैदा गरेको छ।
त्यसको परिणामस्वरूप, नयाँ दल वा स्वतन्त्र नेतामाथि “विदेशीको समर्थनमा आएको”, “एनजिओ–आईएनजिओको पैसा खाएको”, “बाह्य शक्तिको डिजाइनमा खडा भएको” जस्ता आरोप लगाइन्छ। यस्ता आरोपको खासै प्रमाण हुँदैन, तर जनमानसमा शंका उत्पन्न गराउन पर्याप्त हुन्छ।
यो प्रवृत्तिले राजनीतिक नवप्रवर्तनलाई निरुत्साहित गर्छ। नयाँ विचार ल्याउने जो कोहीलाई देशद्रोहीको छायाँमा राख्ने प्रयास हुन्छ। दीर्घकालमा यसले लोकतन्त्रलाई कमजोर बनाउँछ।
यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—विदेशी सहयोग लिनु र विदेशी दलाल हुनु एउटै कुरा होरु नेपालको वर्तमान अवस्थालाई हेर्दा जवाफ स्पष्ट रूपमा “होइन” हो।
नेपाल जस्तो विकासोन्मुख देशले शिक्षा, स्वास्थ्य, पूर्वाधार, जलवायु परिवर्तन, विपद् व्यवस्थापन जस्ता क्षेत्रमा विदेशी सहयोग लिइरहेको छ। यो सहयोग पारदर्शी, राष्ट्रिय प्राथमिकताअनुसार र जनहितमा प्रयोग भएमा त्यसलाई दलाली भन्न मिल्दैन।विदेशी दलाली भनेको आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि राष्ट्रहित विपरीत निर्णय गर्नु हो। तर नेपाली राजनीतिमा यी दुईबीचको भिन्नता जानाजानी मेटाइन्छ, ताकि भावनात्मक राष्ट्रवाद बेच्न सजिलो होस्।
“विदेशी दलाल” को हाउगुजीले समाजमा गम्भीर असर पारिरहेको छ। नागरिकहरू निरन्तर शंकाको वातावरणमा बाँच्न बाध्य छन्। कसैलाई समर्थन गर्दा पनि “कतै यो पनि विदेशी एजेन्ट त होइनरु” भन्ने डर पैदा हुन्छ।यसले नागरिक चेतनालाई कमजोर बनाउँछ। विवेकपूर्ण निर्णयभन्दा भावनात्मक प्रतिक्रिया हावी हुन्छ। परिणामस्वरूप, असफल नेताहरू पनि राष्ट्रवादी नाराको आडमा पटक–पटक सत्तामा फर्किन सफल हुन्छन्।
मिडिया र सामाजिक सञ्जालले यो हाउगुजी फैलाउन ठूलो भूमिका खेलेका छन्। तथ्य जाँच नगरी सनसनीपूर्ण आरोपलाई समाचार बनाइन्छ। सामाजिक सञ्जालमा त झन् प्रमाणको आवश्यकता नै पर्दैन। एकपटक आरोप लागेपछि त्यसको खण्डनले खासै प्रभाव पार्दैन।यसले राजनीतिक संवादलाई विषाक्त बनाएको छ। विचारको प्रतिस्पर्धा होइन, चरित्र हत्या मुख्य एजेन्डा बन्दै गएको छ।
साँचो राष्ट्रवाद भनेको जनताको जीवनस्तर सुधार गर्नु, सुशासन कायम गर्नु, स्वाधीन निर्णय क्षमता बलियो बनाउनु हो। तर नेपाली राजनीतिमा राष्ट्रवादलाई भावनात्मक नारा बनाएर दुरुपयोग गरिएको छ।जब नेताहरू असफल हुन्छन्, तब राष्ट्रवादको झण्डा उचालिन्छ। विदेशी शत्रु देखाइन्छ, तर आन्तरिक कमजोरी स्वीकारिँदैन। यसले राष्ट्रिय आत्मविश्वास होइन, भ्रम र डर मात्र उत्पादन गर्छ।
यो प्रवृत्ति निरन्तर जारी रह्यो भने नेपाली लोकतन्त्र गम्भीर संकटमा पर्न सक्छ। राजनीतिक असफलताको आत्मालोचना गर्ने संस्कार हराउँछ। योग्य नेतृत्व उदाउन पाउँदैन। विदेश नीति पनि असन्तुलित र प्रतिक्रियात्मक बन्छ।
सबैभन्दा ठूलो खतरा भनेको जनतामा राजनीति प्रति वितृष्णा बढ्नु हो। जब सबै नेता “कसै न कसैको दलाल” देखिन्छन्, तब नागरिकहरू लोकतन्त्रप्रति नै निराश हुन्छन्।
नेपाली राजनीतिमा “विदेशी दलाल” को हाउगुजी कुनै नयाँ कुरा होइन, तर पछिल्ला वर्षहरूमा यसको प्रयोग अत्यन्तै गैरजिम्मेवार, व्यापक र खतरनाक रूपमा भइरहेको छ। यो हाउगुजीले राजनीतिक असफलता ढाकछोप गर्न, जनताको ध्यान वास्तविक समस्याबाट हटाउन र भावनात्मक राष्ट्रवाद बेच्न सजिलो बनाएको छ।
अब समय आएको छ—नेपाली राजनीतिले आत्मालोचना गर्न सिक्नुपर्छ। प्रमाणविहीन आरोप होइन, नीतिगत बहस र कार्यसम्पादनको मूल्याङ्कन हुनुपर्छ। विदेशी हस्तक्षेपको आलोचना आवश्यक छ, तर त्यसको आडमा आफ्नै असक्षमता लुकाउनु देश र लोकतन्त्र दुवैका लागि घातक हुन्छ।
यदि नेपाली राजनीति साँच्चै स्वाधीन, सक्षम र जनमुखी बनाउने हो भने, “विदेशी दलाल” को हाउगुजी होइन, जवाफदेहिता, पारदर्शिता र विचारको प्रतिस्पर्धा नै मुख्य आधार बन्नुपर्छ।
(अमेरिकाको कोलोराडो निवासी पौडेल ब्लड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष हुन् ।)