सरेको नाति

द एभरेष्ट पोष्ट
५ साउन २०८३ ११:४२
सरेको नाति

– बिर्ख गुरुङ

म नेपाली हुँ

तर कहाँको नेपाली ?

यो प्रश्नले मलाई हरपल काटिरहन्छ।

मेरो जन्म त यही माटोमा भयो, तर त्यो माटो सधैँ मेरो भएन।

सीमाना त कागजमा कोरियो,
तर मेरो जीवनको सीमाना कसले कोर्यो?

शरणार्थी।

यो शब्द सानो छ,
तर यसको भारी असह्य छ।

यो शब्दले मेरो पहिचान खोस्छ,
मेरो आत्मा थिच्छ,
र मेरा सपना कुल्चिन्छ।

मेरो बा, छोरा र मैले लगाउने पोशाक—
ढाका टोपी, दौरा र सुरुवाल।

मेरी आमा, छोरी र श्रीमतीले लगाउने पोशाक—
चौबन्दी चोली, गुन्यूचोली र फरिया।

अनि मैले खाने खाना—
ढिँडो, सिस्नु र गुन्द्रुक।

यी सबै हुँदाहुँदै पनि
उसले मलाई कहिल्यै नेपाली भनेन।

त्यति मात्र होइन,

ऊ मेरो नाम सोध्छ,
थर पनि सोध्छ।

गुरुङ अथवा नेपाली भन्ने थाहा पाएपछि
के–के बहाना बनाएर मेरो घरमा आउँछ,
अनि सकेजति धेरै तीनपाने तन्काउँछ।

यति हुँदा पनि
ऊ मलाई कहिल्यै नेपाली भन्दैन।

विडम्बना !

मलाई हेर्ने उसको नजर
अचेल फरक त भएको छ।

“तिमी त शरणार्थी हौ।”

यो स्वरले अझै पनि
मेरो अस्तित्वलाई टुक्र्याउँछ।

यी सबै भएपछि
पीडा त हुन्छ नै,

जब आफ्नै नेपालीले हेप्छन्।

जसलाई म आफ्नो भन्थेँ,
उसैले भन्छ—

“तिमी हाम्रो होइनौ।”

यो वाक्य केवल शब्द होइन,
यो एउटा घाउ हो—
जुन कहिल्यै निको हुँदैन।

हो,
मसँग देश छैन,
लालपुर्जा छैन,
सीमाना छैन।

तर मसँग
तिमीभन्दा ठूलो छाती छ।

तिमीभन्दा धेरै माया छ।

तिमीले बोकेको भन्दा
विशाल नेपालीपन छ।

मसँग अधिकार छैन,
तर सपना देख्न
छेक्न सक्छौ र ?

मसँग सपना छ—
तिमीभन्दा ठूलो,
दुरुस्तै नेपाली स्वाभिमानको सपना।

हो,
उसले मलाई कहिल्यै नेपाली भनेन।

शरणार्थी हुनु मेरो दोष होइन।

किन म सजाय भोगिरहेछु ?

किन मेरो पहिचान नै प्रश्नमा छ ?

किन आफ्नैले मलाई
हरेक दिन पराइ बनाउँछन् ?

जानीराख !

जसरी भृकुटीले
नेपालबाट मूर्ति र धार्मिक सामग्री
कोसेलीका रूपमा तिब्बत लगिन्
र बौद्ध ज्ञान फैलाउन सहयोग गरिन्,

उसरी नै
पौरखी मेरा बाउबाजे पनि
घना जङ्गललाई
खेतीयोग्य बनाउन
भूटान लगिएका हुन्।

तिनै बाजेका नाति
हामी
आफ्नो पालामा
पुर्ख्यौली देश फर्केका हौँ।

म अझै पनि आशामा बाँचिरहेको छु—

कहिल्यै त यो दिन
पक्कै आउनेछ,

जहाँ “शरणार्थी” शब्द हराएर
केवल “नेपाली” बाँकी रहनेछ।

मेरो पहिचान
म आफैँ बनाउँछु।

बाजेको पालामा गएको,
नातिको पालामा नेपाल सरेको।

शरणार्थी होइन,

सरेको नाति हुँ।

त्यसैले
हाम्रो पालामा सरेको,

शरणार्थी होइन,
सरेको नाति हुँ।

आजदेखि
सबैले चिनिराख्नू मलाई—

सरेको नाति।

सरेको नाति।

सरेको नाति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस