अच्युतको आवाजमा मन्त्रमुग्ध कोलोराडो
कोलोराडो (अमेरिका)
अमेरिकाको कोलोराडोमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रुपमा मनाईएको छ ।
ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडो र कोलोराडो नेपाली कम्युनिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालका चर्चित रेडियोकर्मी तथा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे र मदन पुरस्कार विजेता महाकाव्यकार डा. नवराज लम्सालको विशेष उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. नवराज लम्सालले आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यसपछि अमेरिकामै जन्मिएका तथा हुर्किरहेका नेपाली मूलका बालबालिकाले भानुभक्तका रचना र रामायणका अंश वाचन गर्दै नेपाली भाषा र संस्कृतिप्रतिको लगाव प्रस्तुत गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण चर्चित रेडियोकर्मी तथा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको साहित्यिक प्रस्तुति रह्यो। उनले रेडियो कार्यक्रम सञ्चालनको विशिष्ट शैलीमा नेपाल तथा विदेशका विभिन्न स्रष्टाका कविता, गजल, लघुकथा र साहित्यिक रचनाहरू प्रस्तुत गर्दै सहभागीलाई करिब दुई घण्टा मन्त्रमुग्ध बनाए।
बुलबुल र श्रुती संवेग जस्ता लोकप्रिय साहित्यिक कार्यक्रममार्फत साहित्यका पारखीहरुको मन जित्न सफल घिमिरेले विभिन्न स्रष्टाका दुई दर्जन रचना बाचन गरिरहदा हलमा उपस्थित दर्शकहरु एकटकले उनलाई सुनिरहे । उनको प्रस्तुतिमा बाँसुरीवादक सर्वजित राई र किबोर्डवादक गणेश गजमेरले सांगीतिक साथ दिएका थिए।
न भाषण । न वक्ताहरुको लम्बेतान सूचि । सहभागीहरु सुन्न आएका थिए, घिमिरे र लम्साललाई । आफ्नो आवाज मार्फत संसारभरीका नेपालीभाषीहरुको मन जित्न सफल लम्साल र घिमिरेलाई सुन्न भेला भएका अतिथिहरुले समेत लामो भाषण गरेनन् । भानु जयन्तिको सन्दर्भ पारेर आयोजित कार्यक्रममा लम्साल र घिमिरेको आवाजको जादु यस्तो चल्यो, उनीहरु बोले, बाँकी सबै सुनिरहे ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. ज्ञानेन्द्र गदाल, समाजसेवी नारायण श्रेष्ठलगायतका वक्ताले यस्ता स्तरिय साहित्यिक कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायबीच भाषा र संस्कृतिप्रतिको अपनत्व अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनीहरूले एकै मञ्चमा नेपाली साहित्यका दुई प्रतिष्ठित व्यक्तित्वलाई सहभागी गराएर सफल कार्यक्रम आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरेका थिए।
ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका अध्यक्ष चुडा बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तोताहरू तथा कलाकारलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान ग्रहणपछि बोल्दै प्रमुख अतिथि डा. नवराज लम्सालले अमेरिकामा नेपाली भाषा र साहित्यप्रति देखिएको उत्साह प्रेरणादायी रहेको बताए।
लम्सालले अमेरिकामै जन्मिएको नयाँ पुस्ताले भानुभक्तका रचना र रामायण वाचन गरेको दृश्यले आफू अत्यन्त भावुक भएको बताए।
उनले नेपाली भाषा, पहिचान, संस्कृति र परम्परालाई विदेशमा समेत जोगाइराख्न समुदायले गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।
मदन पुरस्कार बिजेता डा. लम्सालले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै संस्कृतको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली भाषालाई जनस्तरसम्म पुर्याएका कारण आचार्यलाई २१३ वर्षपछि सबैले स्मरण गरिरहेको बताए ।
उनले रेडियोको युग धर्मराईरहदा घिमिरेले रेडियोका स्रोताहरुलाई आफ्ना लोकप्रिय कार्यक्रम मार्फत रेडियोमा जोडिरहेको बताए ।
लम्सालले आफू महाकवि तथा पुस्तकको लेखक मात्र भएको र घिमिरे पुस्तकालय भएको बताए ।
त्यस्तै घिमिरेले नेपाली भाषा र साहित्यको संरक्षणमा प्रवासी नेपाली समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता साहित्यिक भेटघाटले पुस्तान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन मणि खालिङ राईले गरेका थिए। समापनका क्रममा अध्यक्ष चुडा बरालले नेपाल तथा अमेरिकाका विभिन्न राज्यबाट उपस्थित भई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबै अतिथि, कलाकार, स्वयंसेवक र सहभागीप्रति आभार व्यक्त गरे।
कार्यक्रमको स्वागत मन्तव्य ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका संस्थापक सदस्य तथा सल्लाहकार केदार खतिवडाले दिएका थिए। उनले भानुभक्त आचार्यको साहित्यिक योगदान र नेपाली भाषाको विकासमा उनको ऐतिहासिक भूमिकाबारे चर्चा गरेका थिए।
कोलोराडोको अरोरामा शनिबार आयोजित कार्यक्रममा कोलोराडोका विभिन्न नेपाली संघ–संस्था, साहित्यप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा नेपालीभाषी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।


