डेनमार्कको हिमालयन स्पोर्ट्स क्लब: युरोपमा नेपाली खेलकुदको साझा मञ्च बन्दै
कृष्ण धानुक ।
कोपेनहेगनमा रहेका नेपाली खेलप्रेमी तथा समुदायका लागि आउँदो जुलाई महिना विशेष बन्ने भएको छ। डेनमार्कमा नेपालीहरूमाझ स्थापित खेलकुद संस्था हिमालयन स्पोर्ट्स क्लब ले यसै वर्षको जुलाई २०२६ मा दुईवटा वृहत् खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने घोषणा गरेको छ।
क्लबले आगामी जुलाई ४ का दिन प्रथम युरोपेली ७-ए-साइड फुटबल प्रतियोगिता तथा जुलाई १८ र १९ का दिन सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको भव्य आयोजना गर्ने भएको छ। हाल डेनमार्कमा १० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेको अनुमान छ। जसले गर्दा यो प्रतियोगिता यहाँको नेपाली समुदायको बाक्लो उपस्थिति हुने आशा गरिएको छ।
डेनमार्क सहित सम्पूर्ण युरोपमा जुलाई महिनालाई सामान्यतया गर्मीयामको लामो बिदाको रूपमा लिइन्छ। यो समयमा स्कुल, कलेज र धेरैजसो कार्यक्षेत्रहरू बन्द हुने वा फुर्सदिला हुने गर्दछन्। लामो र चिसो महिना पछि आउने न्यानो मौसममा मानिसहरू घुमघाम र मनोरञ्जनका लागि विशेष समय निकाल्ने गर्छन्।
यसै फुर्सदको समयलाई सही र रचनात्मक तरिकाले सदुपयोग गर्दै हिमालयन स्पोर्ट्स क्लबले खेलकुदको माध्यमबाट समुदायलाई जोड्ने प्रयास गरेको छ। बिदाको समयमा खेलहरू सञ्चालन हुने भएकाले यस प्रतियोगितामा डेनमार्क बाहेक युरोपका अन्य देशहरू जस्तै: नर्वे, फिनल्याण्ड र बेलायतबाट पनि नेपाली टोली र खेलप्रेमीहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
फुटबल विश्वकप चलिरहेको हुनाले जुलाई ४ को फुटबल प्रतियोगिता र जुलाई १८-१९ को सातौँ सुपर सिक्स क्रिकेट क्रेजले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिनेछ। समर बिदाको माहोलमा परिवार र साथीभाइहरू मिलेर खेल हेर्न र रमाइलो गर्न यो एउटा उत्कृष्ट अवसर हुनेछ।
हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष दीपेन्द्र विष्टका अनुसार यी दुवै प्रतियोगिता सम्पन्न गर्नका लागि कुल लागत एक लाख डेनिस क्रोनर जति लाग्ने अनुमान गरिएको छ। विभिन्न व्यापारिक प्रतिष्ठानहरूको प्रायोजन, टिम दर्ता शुल्क, क्राउड फन्डिङ (सामुदायिक सहयोग) र विभिन्न फूड स्टलहरूबाट संकलन हुने रकमको सहयोगबाट यो प्रतियोगिता पूर्ण रूपमा सफल हुनेमा अध्यक्ष विष्ट निकै आशावादी हुनुहुन्छ।
यस ऐतिहासिक खेलकुद महोत्सवको मुख्य प्रायोजकहरूमा स्थानीय नेपाली व्यवसायहरू नेपाली भान्छा, सनसाइन बेकरी, फ्रेया सर्भिस एपिएस, एभरेष्ट नेपलिज स्ट्रिट फूड रहेका छन्।
यसका साथै मैदानमा खेलको मज्जा लिँदै दर्शक र खेलाडीहरूले स्वादिलो नेपाली परिकारहरूको स्वाद लिन पाउनेछन्। प्रतियोगिता अवधिभर रहने फूड स्टलहरूमा आमा किचन, एभरेष्ट नेपलिज स्ट्रिट फूड, हिमालयन रुरीज फूड टेक अवे हरूको सहभागिता रहनेछ।
डायस्पोरामा रहेर एउटा नेपाली स्पोर्ट्स क्लबले यति ठूलो स्तरको प्रतियोगिता आयोजना गर्न सक्नु सम्पूर्ण प्रवासी नेपालीहरूका लागि निकै खुसी र गर्वको कुरा हो। तर यो क्लब एकै दिनमा आजको यो प्रतिष्ठित स्थितिमा आइपुगेको पक्कै पनि होइन। यसको पछाडि थुप्रै साथीहरूको अथक मिहिनेत, त्याग र अमूल्य योगदान रहेको छ। हिमालयन स्पोर्ट्स क्लबको इतिहासको पाना पल्टाएर हेर्ने हो भने निकै रोचक तथ्यहरू फेला पर्दछन्।
शुरुवाती दिनहरूमा सीमित स्रोत-साधनका बीच डेनमार्कका विभिन्न खुल्ला मैदानबाट शुरु भएको यो यात्राले आज युरोपेली स्तरकै वृहत् प्रतियोगिता आयोजना गर्ने सामर्थ्य राख्नु आफैँमा प्रेरणादायी छ। क्लबलाई यो उचाइसम्म पुर्याउन प्रत्येक कालखण्डमा जोडिएका पुराना खेलाडी, सल्लाहकार र खेलप्रेमी साथीहरूको अथक मिहिनेत र समर्पण नै यसको बलियो जग हो।
सन् २००७ मा डेनमार्कमा अध्ययनका लागि आएका विवेक राना, दिपेन्द्र चुडाल, शुभाशीष ओझा, नबिन पौडेल लगायत केही साथीहरूको सानो समूहबाट हिमालयन स्पोर्ट्स क्लबको सुरुवात भएको थियो। सुरुमा यो पूर्ण रूपमा अनौपचारिक रूपमा गठन गरिएको थियो। विदेशमा अध्ययन गर्दै गर्दा पढाइसँगै काम र फुर्सदको समयलाई सकारात्मक र उपयोगी बनाउने उद्देश्य यस क्लबको मुख्य आधार थियो।
समयसँगै खेलकुद र सामाजिक गतिविधिमा रुचि राख्ने अन्य नेपाली विद्यार्थी तथा युवाहरू पनि यस समूहमा जोडिन थाले। आपसी सहकार्य, मित्रता र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने माध्यमका रूपमा क्लब विस्तार हुँदै गयो। नेपालको मूल परिचय नै हिमाल भएकाले सुरुआती दिनहरूमा अनौपचारिक रूपमा यसलाई ‘हिमालयन क्लब’ भन्न थालिएको थियो। पछि सन् २००९ मा आएर डेनमार्कको स्थानीय निकाय कोपेनहेगन कम्युनमा विवेक रानाको अध्यक्षतामा यस क्लबलाई आधिकारिक रूपमा दर्ता गरिएको थियो।
यससँगै क्लबले औपचारिक संरचना पायो र आफ्ना गतिविधिहरूलाई अझ व्यवस्थित रूपमा अघि बढाउन थाल्यो। दर्तापछि नयाँ सदस्यहरूको सहभागिता पनि बढ्दै गयो। जसले क्लबलाई अझ सशक्त र सक्रिय बनायो।
त्यही समयमा अर्कोतर्फ कृष्ण चन्द, दिपेन्द्र बिष्ट, शुभाशीष ओझा, विप्लव अग्रहरी, नीरज पौडेल सुवास क्षेत्री, अनिल कँडेल, भरत जि.सी. लगायतका साथीहरू फुर्सदको समय सदुपयोग गर्दै क्रिकेट खेल्ने गर्दथे। त्यो बेलाको क्रिकेट टिमको क्रिकेटप्रतिको उत्साह निकै उच्च थियो। उनीहरूको टिम बलियो मानिन्थ्यो र विभिन्न समुदायका टोलीहरू जस्तै बंगाली, भारतीय र पाकिस्तानी समूहसँग मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक खेलहरू खेल्दै राम्रो प्रदर्शन गरिरहेका थिए।
त्यसै अनुभव र उत्साहले उनीहरूलाई थप अगाडि बढ्न प्रेरित गर्यो। पछि डेनमार्क क्रिकेट एसोसिएसनमा टिम दर्ता गर्ने विषयमा छलफल हुँदा नेपाली टिमलाई एक औपचारिक प्रतियोगितामा सहभागी हुन सुझाव दिइयो। साथै, राम्रो प्रदर्शन गर्न सकेमा डिभिजन ३ मा खेल्ने अवसर पाउन सकिने जानकारी पनि दिइयो।
त्यसपछि नेपाली टिमले उक्त प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्यो। कडा प्रतिस्पर्धाका बीच उनीहरूले दोस्रो स्थान हासिल गर्न सफल भए। सो प्रतियोगितामा कृष्ण चन्दले उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द सिरिज’को उपाधि प्राप्त गरेका थिए।
त्यसपछि समयसँगै नेपाली टोलीले आफ्नो स्तर अझै माथि उठायो। प्राप्त सफलताले उत्साहित बनेका खेलाडीहरूले डेनमार्क क्रिकेट एसोसिएसन अन्तर्गत डिभिजन ३ क्रिकेट लिग खेल्ने अवसर प्राप्त गरेको थियो। त्यसपछि क्रिकेट टोलीको नामकरणका विषयमा व्यापक छलफलहरू भए। अन्ततः पहिले नै कोपेनहेगन कम्युनमा दर्ता भइसकेको ‘हिमालयन स्पोर्ट्स क्लब’ अन्तर्गत नै क्रिकेट विधालाई पनि समावेश गरी अघि बढ्नु सबैभन्दा उपयुक्त हुने निष्कर्षमा सम्पूर्ण साथीहरू एकमत भए। यही सर्वसम्मत निर्णयसँगै क्लबमा क्रिकेट टिमदर्ताको ऐतिहासिक प्रक्रिया सफलतापूर्वक अगाडि बढेको थियो। सन् २०१३ मा नेपाली क्रिकेट टिमलाई आधिकारिक रूपमा “हिमालयन स्पोर्ट्स क्लब” नामबाट डेनमार्क क्रिकेट एसोसिएसन (डीसीएफ)मा दर्ता गरियो। यसै यात्राको फलस्वरूप, हिमालयन स्पोर्ट्स क्लबको क्रिकेट टिमले सन् २०१४ देखि नै आधिकारिक रूपमा डेनिस क्रिकेट लिगको डिभिजन २ र डिभिजन ४ मा समेत व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्न थालेको थियो।
डेनमार्कमा क्रिकेट खेलका लागि सरकारी स्तरबाट खासै ठूलो लगानी वा विशेष सहयोग उपलब्ध भएको देखिँदैन। यस्तो अवस्थामा लिगमा टोली दर्ता गर्ने शुल्कदेखि लिएर खेलाडीहरूको जर्सी र खेलमा प्रयोग हुने क्रिकेट बल जस्ता आधारभूत सामग्रीहरूको खर्च समेत खेलाडी र क्लब आफैँले व्यक्तिगत रूपमा जोहो गर्दै आउनुपरेको यथार्थ छ।
सन् २०१५ तिर नेपालीहरू बिस्तारै कोपनहेगनमा आफ्नो अवस्थालाई अझ मजबुत बनाउँदै गएका थिए। त्यसै क्रममा उनीहरूबीच आपसी सम्बन्ध र सामाजिक गतिविधिहरू पनि झन् सक्रिय हुँदै गयो। फुर्सदको समयमा फुटबल, क्रिकेट, भलिबल र ब्याडमिन्टन जस्ता खेलहरू नियमित रूपमा खेलिन थालियो।
यी खेलहरूले नेपाली समुदायभित्र एकता, स्वास्थ्य र मनोरञ्जनलाई बढावा दिन महत्वपूर्ण भूमिका खेले। विशेष गरी खेलकुदमार्फत आपसी सम्बन्ध अझ मजबुत बन्दै गयो र समुदायमा सक्रिय जीवनशैली विकास हुँदै गयो।
सन् २०१७ मा शिव कार्की हिमालयन स्पोर्ट्स क्लबको अध्यक्षको रूपमा चयन हुनुभयो। शिव कार्कीको नेतृत्वमा क्लबले अझ संगठित रूपमा खेलकुद गतिविधिहरू विस्तार गर्न थाल्यो। सन् २०१८ मा सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सुरु गरियो, जुन टेनिस बल प्रयोग गरेर खेलिने प्रतियोगिता थियो। यो प्रतियोगिताले कोपेनहेगनमा रहेका नेपाली समुदायभित्र क्रिकेटप्रतिको उत्साहलाई अझ बढायो र धेरै खेलाडीहरूलाई सहभागिताको अवसर प्रदान गर्यो।
सुपर सिक्स क्रिकेट टुर्नामेन्टको मुख्य उद्देश्य केवल प्रतियोगिता गराउनु मात्र नभई नयाँ प्रतिभाशाली क्रिकेट खेलाडीहरूको पहिचान गर्नु पनि थियो। यसले खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने राम्रो प्लेटफर्म प्रदान गर्यो।
यो टुर्नामेन्ट अपेक्षा गरेजस्तै सफल रह्यो। खेलको स्तर राम्रो रह्यो, सहभागिता उत्साहजनक भयो र धेरै नयाँ प्रतिभाहरू बाहिर आए। यसले नेपाली समुदायभित्र क्रिकेटप्रतिको रुचि अझ बढायो र भविष्यका लागि बलियो खेलाडी उत्पादन गर्ने आधार तयार गर्यो।
डेनमार्क क्रिकेट एसोसिएसनले सन् २०१६ मा आमागरमा हिमालयन स्पोर्ट्स क्लबका लागि क्रिकेट मैदान उपलब्ध गराएको थियो। जुन सन् २०१८ सम्म पूर्ण रूपमा निःशुल्क थियो। तर, सन् २०१९ देखि एसोसिएसनले मैदान प्रयोग गरेबापत शुल्क लिन थालेको छ।
कुनै पनि क्लब स्वतःस्फूर्त रूपमा सञ्चालन हुनका लागि त्यसको आम्दानी नियमित हुनु आवश्यक हुन्छ। तर हिमालयन स्पोर्ट्स क्लबको आम्दानीको कुनै स्रोत थिएन। खेलाडी तथा शुभचिन्तकहरूबाट सङ्कलित सहयोग र आवश्यक परेको अवस्थामा क्लबका तत्कालीन पदाधिकारीहरूले आफ्नो व्यक्तिगत खर्चबाट क्लब सञ्चालन गर्दै आएका थिए र यो क्रम अझै पनि जारी नै छ।
क्रिकेटमा मात्र नभई फुटबलमा पनि हिमालयन स्पोर्ट्स क्लबले डेनमार्कमा आफूलाई सधैँ एउटा बलियो टिमको रूपमा स्थापित गर्दै आएको छ। क्लबको फुटबल टिमले डेनमार्क भित्र आयोजना हुने विभिन्न आन्तरिक प्रतियोगिताहरूमा मात्र नभएर छिमेकी देशहरू स्वीडेन र नर्वेमा हुने युरोपेली स्तरका प्रतिष्ठित टूर्नामेन्टहरूमा समेत सधैँ अब्बल प्रदर्शन गर्दै आफ्नो श्रेष्ठता प्रमाणित गर्दै आएको छ।
क्लबको नेतृत्व यात्राकै क्रममा, सन् २०२२ मा तत्कालीन अध्यक्ष शिव कार्कीले आफ्नो कार्यकाल पूरा गरी जिम्मेवारीबाट विश्राम लिएसँगै शुभाशीष ओझाले क्लबको नयाँ अध्यक्षका रूपमा कार्यभार सम्हाल्नुभएको थियो। त्यसैगरी, सन् २०२४ देखि भने दीपेन्द्र विष्टले क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ र उहाँकै नेतृत्वमा हाल क्लबका गतिविधिहरू अगाडि बढिरहेका छन्। अहिले क्रिकेट कोअर्डिनेटरको रूपमा कृष्ण चन्द र फुटबल कोअर्डिनेटरको रूपमा शिव कार्कीले जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।
