ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ २०:४२
ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

डेनभर (कोलोराडो)

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को दोस्रो वार्षिक साधारण सभा हालै कोलोराडोमा सम्पन्न भएको छ ।
मे २५ मा कोलोराडोस्थित नेपाली घरमा सम्पन्न सभाले तीन बुँदे घोषणापत्र सर्वसम्मत रूपमा पारित गरेको छ।

संस्थाका अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा समाजसेवी तथा हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा समाजसेवी तथा इन्जिनियर रोहिणी शर्मा, सल्लाहकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मी, अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठ, रेसम घर्ती, शिव काफ्ले लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका कार्यकारी उपाध्यक्ष टिका पौडेल, उपाध्यक्षहरू बिरोचन नेपाल, विजयदेव अधिकारी, लिला श्रेष्ठ, झमक निरौला, सहकोषाध्यक्ष गंगा थापा, महासचिव सतिश चन्द्र गुप्ता तथा केन्द्रीय सदस्य थानिरत्न कँडेल लगायतको सहभागिता रहेको थियो।

पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि नारायण श्रेष्ठले बीडीएले गर्दै आएको कार्य विश्वकै उत्कृष्ट सामाजिक सेवामध्येको एक भएको उल्लेख गर्दै निःस्वार्थ रूपमा मानव जीवन बचाउने व्यक्तिहरूलाई सम्मान गर्न विशेष पुरस्कार स्थापना गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले उक्त पुरस्कारका लागि वार्षिक एक हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा समेत गरेका थिए।

उक्त घोषणापछि अध्यक्ष महेश्वर पन्तले संस्थाका तर्फबाट तीन बुँदे घोषणापत्र प्रस्तुत गरेका थिए। जसअनुसार आगामी वार्षिक साधारण सभासम्म आजीवन सदस्य संख्या २५ सय पुर्‍याउने, थप १० राज्यमा राज्य समिति गठन गर्ने तथा संस्थालाई विशेष योगदान गर्ने व्यक्तिहरूलाई समेट्ने गरी ‘पायोनियर सदस्यता’ थप गर्ने प्रस्ताव पारित गरिएको हो। साथै संस्थामा अब पाँच प्रकारका सदस्यता श्रेणी रहने र आर्थिक सहयोग विस्तारका लागि ‘स्टिम मेम्बरशिप’ व्यवस्था लागू गर्ने निर्णय समेत गरिएको छ।

सभाले बीडीए बोर्ड अफ ट्रस्टी गठनसम्बन्धी प्रस्तावलाई पनि सर्वसम्मत रूपमा पारित गरेको थियो। बैठकमा ‘म्याच अप फण्ड’ को व्यवस्था तथा संस्थाको नाममा “नेपाल” जोड्ने विषयमा समेत छलफल भएको थियो।

समाजसेवी रोहिणी शर्माले बिडिएले गर्दै आएको कार्य अत्यन्त प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ सक्रिय रूपमा संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रत्यक्ष रूपमा मानव जीवन बचाउने कार्य भगवानको कार्यसरह भएको उल्लेख गर्दै उनले सामाजिक सेवामा समय दिन चाहेको धारणा राखिन्।

अनेसास बोर्ड अफ ट्रस्टी सभापति तथा बिडिए सल्लाहकार पदम विश्वकर्माले अनेसास र बिडिएबीचको सहकार्य आगामी दिनमा अझ सशक्त बन्ने विश्वास व्यक्त गरे। त्यस्तै, सल्लाहकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मीले बिडिएको उद्देश्य र कार्यप्रगतिको चर्चा गर्दै सबैलाई संस्थासँग आबद्ध हुन आग्रह गरे।

उद्घाटन समारोहमा अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारी, नेपाली घरका कार्यवाहक अध्यक्ष गंगा चम्लागाईं तथा एनआरएनए कोलोराडोका अध्यक्ष निमा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न च्याप्टर अध्यक्ष तथा क्षेत्रीय उपाध्यक्षहरूले आफ्नो क्षेत्रको रक्तदान अभियान तथा संस्थागत गतिविधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सह(कोषाध्यक्ष गंगा थापाले पछिल्लो छ महिनामा सदस्यता विस्तारमार्फत १६ हजार अमेरिकी डलरभन्दा बढी संकलन भएको जानकारी गराइन् भने महासचिव सतिश चन्द्र गुप्ताले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभामा उपस्थित हुन नसकेका न्यूयोर्क च्याप्टर अध्यक्ष कृष्ण आचार्य, फ्लोरिडा अध्यक्ष तेज कार्की, म्यासाचुसेट्स अध्यक्ष राम थापा, न्यू ह्याम्पसायर टिम तथा सचिव तारा खराल न्यौपानेले भिडियो सन्देशमार्फत शुभकामना तथा प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा एनआरएनए कोलोराडो अध्यक्ष निमा शेर्पाले आजीवन सदस्यता ग्रहण गरेका थिए। प्रमुख अतिथिबाट नयाँ तथा वर्तमान आजीवन सदस्यहरूलाई संस्थाको पिन प्रदान गरिएको थियो।

कार्यक्रम संयोजक तथा बिडिए कोलोराडो स्टेट कमिटी अध्यक्ष नवराज मरासिनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यकारी उपाध्यक्ष टिका पौडेलले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम सञ्चालन संस्थाका पूर्व कोषाध्यक्ष श्रीराम लुइँटेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस