ओशो, ओरेगन र स्मृतिगर्तमा विलिन रजनीशपुरम्
राजन कुईंकेल । ओरेगन, अमेरिका
ओशो । अर्थात् आचार्य रजनीश । बीसौं शताब्दीको पछिल्लो दुई दशकतिरका अत्यधिक चर्चित र विवादास्पद आध्यात्मिक व्यक्तित्व । सन् १९३१ मा भारत मध्य प्रदेश कुचवाडाको जैन परिवारमा जन्मिएर १९९० पुणेमा निधन हुँदा चन्द्रमोहन जैनबाट ओशोमा रुपान्तरित व्यक्ति । भारतका आध्यात्मिक गुरु, वक्ता र दार्शनिक आचार्य रजनीश, भगवान श्री रजनीश हुँदै ओशो नामले प्रसिद्ध भए । परम्परागत धर्मका अनुयायी गुरु मात्र नभई ध्यान, चेतना, स्वतन्त्रता, प्रेम र व्यक्तिगत रूपान्तरणका आधुनिक आध्यात्मिक शिक्षक उनको पहिचान बन्यो ।
व्यक्तिको स्वतन्त्रताका सन्दर्भमा अन्धविश्वासबाट मुक्त हुनुपर्छ । परम्परालाई केवल पुरानो भएकै कारण स्वीकार्नु हुँदैन । आफ्नै अनुभवबाट सत्य खोज्नुपर्छ भन्ने मान्यताधारी । धर्म, समाज, राजनीति र नैतिकताका धेरै स्थापित धारणाका आलोचक ओशो, प्रेमलाई स्वामित्व होइन, स्वतन्त्र अभिव्यक्ति मान्दथे । प्रेममा स्वतन्त्रता, सम्बन्धमा चेतना, ईष्र्या र नियन्त्रणबाट मुक्तिजस्ता विषय चर्चित र विवादास्पद दुबै बने । यौनसम्बन्धी विचारहरू त परम्परागत समाजका लागि असामान्य मात्र थिएन वाण नै थिए । ओशो एउटा यस्तो नयाँ मानिसको कल्पना गर्थे जोसँग पूर्वको ध्यान र आध्यात्मिकता तथा पश्चिमको विज्ञान र भौतिक प्रगति दुबैको मिलन होस् । ध्यान गर्ने, सिर्जनात्मक, स्वतन्त्र, जीवनलाई स्वीकार गर्ने विशेषतायुक्त मानिस तयार गर्ने उनको अभियान थियो ।
उनै ओशोले भगवान् रजनीशका रुपमा चिनिने समयमा अमेरिकाको ओरेगन राज्यमा स्थापना गरेको रजनीशपुरम् कम्युन (सामुदायिक बस्ती) ४० वर्षपछि कस्तो छ त ? वर्तमानमा वासिङ्गटन फेमिली रान्चका रुपमा रहेको यस स्थानको प्रत्यक्ष भ्रमणपछि यो आलेख तयार पारिएको छ । यस पटकको अमेरिका यात्रामा पंक्तिकारलाई १५ भन्दा बढी राज्य भ्रमण गर्ने अवसर मिल्यो । प्रशान्त महासागर तटसँगै जोडिएको पश्चिम(अमेरिकी राज्य ओरेगनमा अलिक बढी समय बिताए । यसक्रममा पूर्वीय चिन्तनधारामा विद्रोही चेतको पहिचान बनाएका र एक समय अमेरिकामै तहल्का मच्चाएका आध्यात्मिक गुरु ओशोको आश्रम अर्थात् कुनै समयको “रजनीशपुरम्” ओरेगनमै रहेको जानकारी पाएँ ।
कस्तो होला “भगवान रजनीश”ले आफू र अनुयायी सन्यासीहरुका लागि विकास गरेको कम्युन मनभरी कौतूहलता थियो । भ्रमणको उपयुक्त समय खोज्दै थियौं । यहि जुलाईको ८ अर्थात् २४ असार २०८२ बुधवारका दिन त्यो दिन जुर्यो । विहान ९ बजेतिर परमेश्वर पौडेल सर, बहिनी शर्मिला दाहाल, छोरी प्रियसा र अर्की बहिनी लक्ष्मीसहित हामी ओरेगनको अल्बानीबाट त्यता लाग्यौं । गाडीको चालक सिटमा शर्मिला बसिन् । जिपिएसले हाम्रो गन्तव्य वासिङ्गटन फेमिली रान्च अर्थात् पुरानो रजनीशपुरम् अल्बानीदेखि उत्तरपूर्वी दिशामा अंकित गर्यो । २०० माइल(३२१ किलोमिटर टाढा) को दूरी पार गर्न ४ घण्टा ११ मिनेट लाग्ने देखायो । बाटैभरी बीसौं शताब्दीको अन्त्यतिर ओशोले मच्चाएको तहल्का र उनी स्वयंले ब्यहोर्न परेको हैरानीबारे मनमा हुण्डरी मच्चिरह्यो ।
जति जति वास्को काउन्टी नजिक पुग्थ्यौं, यस्तो ठाउँ नै उनले किन रोजे होलान् भन्ने लाग्दै जान्थ्यो । काउन्टीको सीमा प्रवेश गरेसँगै वासिङ्गटन फेमिली रान्च नजिकिँदा यस्तो मरुभूमिमा उन्मुक्त स्वतन्त्रताको अभ्यास गर्न संसारभरका सन्यासी भेला भएको ? भन्ने प्रश्न झनै बलियो बन्दथ्यो । वासिङ्गटन फेमिली रान्चको प्रवेश गेटसँगै मरुभूमि माटोको गन्धले नराम्रो चिमोट्यो । ८० को दशकमा ओशो सन्यासीका कारण चर्चामा आएको सानो शहर एन्टेलोप प्रवेश मार्गलाई दायाँ छाड्दै तत्कालीन रजनीशपुरम् कम्युन स्थलतर्फ मोडियौं । आँखाले देख्नेसम्मको सबै क्षेत्र उजाड मरुभूमि छ । केही साना सल्लाका बुट्यान स्वागतका लागि उभिएझै लाग्दथे । बिछट्टै पुग्न मन लागेको गन्तव्य जिपिएसले छोट्याउँदै गर्दा ८० को दशकको त्यो पाँच वर्ष ओशाले ब्यहोरेका उतारचढाव आँखाभरी घुम्न थाल्यो ।
सन् १९६० देखि ७० को दशकमा भारतका विभिन्न शहरमा प्रवचन दिँदा युवा र बुद्धिजीवीबीच लोकप्रिय बनेका रजनीशले पुणेमा सन् १९७४ मा पहिलो आश्रम स्थापना गरेका थिए । सन् १९८१ सम्ममा त्यो ठूलो अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकसित भइसकेको थियो । अन्तर्राष्ट्रिय अनुयायीहरूको आगमन बढेसँगै भारतमा मात्र सीमित हुन नचाहेका उनी उपयुक्त देशको खोजिमा थिए । यसै सिलसिलामा स्वास्थ्य उपचारको समेत कारण देखाउँदै ओशो सन् १९८१ मा अमेरिका पुगे । १९८० को दशकमा अमेरिकाको सबैभन्दा चर्चित धार्मिक, राजनीतिक र कानुनी विवादमध्ये एक घटना बन्यो यो । त्यहाँ पाँच वर्षमा उनले जे गरे र ब्यहोरे त्यही विषय यस आलेखमा समेटिएको छ ।
रजनीशपुरम् स्थापना
भारतको पुणेमा सात वर्ष अन्तर्राष्ट्रिय स्तरको केन्द्र सञ्चालन पश्चात आचार्य रजनीश (त्यसबेला भगवान श्री रजनीश सम्बोधित) वैश्विक स्तरमा यस्तै खाले ध्यान केन्द्र चलाउन चाहन्थे । उपयुक्त स्थान खोज्नका लागि उनले आफ्ना अनुयायीहरु परिचालन गरेका थिए । पुणे ध्यान केन्द्र तथा आचार्यको सचिवालयकी प्रमुख मा योग लक्ष्मी र अर्की साधिका शिलाबीच यस कार्यमा क्रमशः प्रतिष्पर्धा देखियो । विस्तारै मा आनन्द शिलाको प्रभाव बढ्यो । अमेरिकाको जमिन खोज्ने र खरिदमा संलग्न हुन पुगिन् । सन् १९८१ मा ओशोका तर्फबाट मा शीलाले जग्गा खोज्ने र खरिद गर्ने कामको नेतृत्व गरिन् । १३ जुन १९८१ मा शीलाका पति जोन शेल्फर (जसलाई प्रेम जयनन्द पनि भनिन्थ्यो) ले खरिद सम्झौतामा हस्ताक्षर गरे । केही दिनपछि उक्त सम्पत्ति अमेरिकास्थित रजनीश फाउन्डेशनलाई हस्तान्तरण गरियो । ओरेगन राज्यको उत्तर(मध्य वास्को काउन्टीको एन्टेलोप गाउँनजिक बिग मड्डी रान्च (खेती र पशुपालनका लागि प्रयोग गरिने फार्म) ६४ हजार एकड (करिब २६ हजार हेक्टर) जमिन साढे ५७ लाख अमेरिकी डलरमा किनियो । पोर्टल्याण्डबाट दक्षिण-पूर्वमा रहेको यस स्थान करिब १३० माइल दूरीमा पर्दछ । विशाल र एकै टुक्राको जमिन, जनसंख्या अत्यन्त कम भएको दुर्गम क्षेत्र र मूल्य तुलनात्मक रूपमा सस्तो हुँदा यो जमीन खरिद गरिएको थियो । साथै आफ्नै आत्मनिर्भर समुदाय बसाउन यो पर्याप्त देखिएको थियो ।
चाहेजस्तै जमिन फेला परेपछि थोरै समयमै सन्न्यासीहरूले मरुभूमिझै सुख्खा र बाँझो जमिनलाई एउटा आधुनिक शहरमा बदले । यही विशाल मरुभूमिजस्तो क्षेत्रलाई पछि “राञ्चो रजनीश” र त्यसपछि “रजनीशपुरम” नाम दिइयो । हजारौं मानिस बस्न सक्ने गरी विभिन्न संरचना निर्माण गरिए । जहाँ आफ्नै विमानस्थल र धावनमार्ग, फायर डिपार्टमेन्ट (अग्नि विभाग), सपिङ मल, होटल, रेस्टुरेन्ट र डिस्कोथेक निर्माण गरिए । ओशोको प्रवचनका लागि हजारौं मानिस अटाउने “रजनीश मन्दिर” (एक विशाल हल) बनाइए । अत्याधुनिक आवासीय भवन, सडक, विद्युत्, ढल निकास र पानी शुद्धीकरण, खेतीपाती र सिँचाइ प्रणाली, अस्पताल, प्रशासनिक कार्यालय, बस सेवा र प्रहरी व्यवस्था जस्ता पूर्वाधार तयार पारिए । केही वर्षभित्रै हजारौँ मानिस बसोबास गर्न योग्य स्थल बनाइयो । यीमध्ये धेरै संरचना सन्यासीहरूको श्रम र फाउन्डेशनको लगानीबाट बनाइएका थिए ।
स्थानीय राजनीतिमा चासो, हस्तक्षेप र पतन
स्थानीय ओरेगनवासी (खासगरी स्थानीय एन्टेलोपका बासिन्दा) र अमेरिकी सरकारसँग रजनीशपुरम्को सम्बन्ध शुरुदेखि नै तनावपूर्ण रह्यो । रजनीशपुरम् स्थापना भएपछि स्थानीय किसान, चर्च समूह र वास्को काउन्टी प्रशासनसँग विवाद शुरु भयो । जसमा भूमि प्रयोग सम्बन्धी कानुनी विवाद, धार्मिक समुदायले नयाँ शहर स्थापना गर्न पाउने वा नपाउने प्रश्न, स्थानीय राजनीतिमा प्रभाव विस्तार गर्ने प्रयास, सांस्कृतिक र जीवनशैलीको ठूलो भिन्नता लगायत थिए । यी विषयमा राज्य सरकार र अदालतसम्म धेरै मुद्दा पुगे । विवाद सन् १९८५ मा उत्कर्षमा पुग्यो ।
सन् १९८१–८२ तिर रजनीशपुरम् निर्माण भइरहेका बेला नजिकैको सानो शहर एन्टेलोपमा करिब ४०–६० परिवार मात्र स्थायी बासिन्दा थिए । रजनीशका अनुयायीहरूले त्यहाँ घर तथा जग्गा किन्न थाले र धेरै जना बसाइँ सरे । कानुनी रूपमा बसोबास गरेपछि मतदाताका रूपमा दर्ता भए । स्थानीय बासिन्दाले रजनीशीहरूको प्रभाव रोक्न १९८२ मा एन्टेलोप शहरलाई नै विघटन गर्ने प्रस्ताव ल्याए । तर रजनीशीहरु बहुल हुँदा शहर विघटनको प्रस्ताव विफल भयो । बरु नगर परिषद् निर्वाचनमा रजनीशका समर्थकहरूले बहुमत पाए र अधिकांश सिट जिते ।
स्थानीय सरकार उनीहरूको नियन्त्रणमा गएसँगै शहरको प्रशासनिक निर्णयहरू उनीहरूले नै गर्न थाले । शहरको नाम परिवर्तन गरेर १९८४ मा रजनीश राखियो । सडकहरूको नाम भारतीय आध्यात्मिक व्यक्तित्वहरूको नामबाट राखिए । नगर प्रशासनमा समर्थकहरूको नियुक्ति, स्थानीय विद्यालयमा प्रभाव विस्तार, नगरका केही कर र सेवा शुल्क वृद्धिको स्थानीय पुराना बासिन्दाले विरोध गरे । रजनीशको सुरक्षा समूह पिस फोर्सले शहरमा गस्ती गर्न थालेपछि स्थानीयमा त्रास बढ्यो । एन्टेलोपमा राजनीतिक नियन्त्रणसँगै, रजनीशपुरम् स्वयंलाई आधुनिक शहर बनाउने अभियान थालियो । केही वर्षमै उजाड राञ्चलाई एउटा व्यवस्थित शहरजस्तो बस्तीमा रूपान्तरण गरिएको थियो ।
चुनावी परिणाम प्रभावित गर्न ओशोकी मुख्य सचिव मा आनन्द शीला र उनको टोलीले नजिकैको शहर द ड्याल्सका १० वटा रेस्टुरेन्टको सलाद बारमा साल्मोनेला नामक ब्याक्टेरिया मिसाएको आरोप लाग्यो । यसबाट ७५१ जना मानिस बिरामी परे । जुन पछि अनुसन्धानबाट पुष्टी पनि भयो । यो अमेरिकी इतिहासकै पहिलो र ठूलो जैविक आक्रमण मानिन्छ । शिलासहितका कम्युन नेतृत्वलाई टेलिफोन ट्यापिङ, विष प्रयोग र हत्या षड्यन्त्र, आर्थिक अनियमितता जस्ता आरोप लगाइए । धेरै घटनामा मुख्य भूमिका मा शीला र उनका निकट सहयोगीहरूको देखियो । मा आनन्द शीला र उनका केही सहयोगी सेप्टेम्बर १९८५ मा अमेरिका छोडेर भाग्नुपर्यो ।
ओशोले पत्रकार सम्मेलन गरी आफु ती घटनाबाट अलग रहेको भन्दै शीलामाथि धेरै गैरकानुनी गतिविधिको आरोप लगाए । तर, अनुसन्धानपछि ओशो स्वयं पनि अध्यागमनसम्बन्धी मुद्दामा पक्राउ परे । उनले आरोप स्वीकार्दै जरिवाना तिरे र अमेरिका छोड्न सहमत भए । विदेशी अनुयायीहरूलाई अमेरिकामा राख्नका लागि नक्कली विवाह गराएको आरोप उनीहरुमाथि लाग्यो । अन्ततः यो विवादले कम्युन नै अन्त्य गरिदियो । सन् १९८५ को अक्टोबरमा ओशोलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरियो । अमेरिका छोड्ने शर्त स्वीकार्दै अन्ततः उनी भारत फर्किए । आनन्द शीला लगायतका मुख्य नेतृत्वकर्ताहरू जेल परे । सन् १९८६ सम्ममा कम्युन पूर्ण रूपमा खाली गराइयो ।
कम्युन पतनको वर्षौंपछि केही महिला अनुयायीहरुले रजनीशपुरम् भित्र बालबालिकामाथि यौन दुव्र्यवहार भएको आरोपसमेत लगाएका छन् । केही भिडियो अन्तर्वार्ता, पुस्तक, समाचार र वृत्तचित्रहरुमा उनीहरुले यस्तो गम्भीर आरोप लगाउँदै घटनाको जिम्मेवारी लिन ओशो इन्टरनेशनल फाउण्डेशनसँग माग गरेका छन् । तर यस्तो आरोप र मुद्दा अदालतसम्म पुगेको वा त्यसमा दोष प्रमाणित भएको कुनै अभिलेख भेटिँदैन ।
रजनीशपुरम्को पतनपछि हालको अवस्था
रजनीशपुरम् पतनपछि फाउन्डेशन आर्थिक संकटमा प¥यो । सम्पत्ति दिवालियापन प्रक्रियामा गयो । १९८८ मा सरकारी प्रक्रियामार्फत बिक्रीको चरणमा पुग्यो । त्यो विशाल सम्पत्ति बैंक र सरकारको नियन्त्रणमा गयो । रजनीश कम्युन पतनको पाँच वर्षपछि सन् १९९१ मा अमेरिकी उद्योगपति डेनिस आर वासिंगटनको कम्पनी वासिंगटन कन्स्ट्रक्सनले ३६ लाख डलरमा यो जमीन किन्यो । सन् १९९६ मा वासिंगटनले उक्त सम्पत्ति अमेरिकी ईसाई युवा संस्थालाई दान दिए । धेरै वर्षको कानूनी प्रक्रिया र स्वामित्व परिमार्जनपछि, अहिले यो ठाउँ पूर्ण रूपमा परिवर्तन भएको छ ।
त्यहाँ निर्मित केही संरचना वाशिंगटन कमिटी क्रिश्चियन युथ क्याम्पले प्रयोग गरिरहेको छ । अहिले यो ठाउँलाई वाशिंगटन फ्यामिली ¥यान्च भनिन्छ । ४० वर्षअघि सन्यासीहरुले गुल्जार बनाएको मड्डी रान्च अहिले ओशोको आश्रम होइन, एउटा विशाल क्रिश्चियन युवा क्याम्प र रिसोर्टका रूपमा सञ्चालित छ । यहाँ हरेक वर्ष गर्मी महिनामा हजारौं स्कूल र कलेजका विद्यार्थीहरू शिविरका लागि आउँछन् । धार्मिक तथा नेतृत्व विकास कार्यक्रम, खेलकुद र मनोरञ्जन गतिविधि गराइन्छ ।
यहाँ पुग्दा यो पहाडमा कुनै जीवन नभई पुरानै उजाड मरुभूमिमा परिणत भएको महशूस हुन्छ । धेरै पुराना रजनीशकालीन भवनहरू भत्काइएका छन् । केही बाँकीलाई पनि नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको छ । धावनमार्ग, सडक जस्ता केही पूर्वाधार भने अझै अस्तित्वमा छन् । धावनमार्ग अहिले आकस्मिक वा निजी उडानका लागि प्रयोग हुन्छ । यी पूर्वाधारले ओशोका ९० भन्दा बढी रोल्स रोयस गाडी र सानो उपत्यकामा हुइँकिएर आउने साना विमानहरुको धमिलो सम्झना ब्युँताउँछ । ओशोले प्रवचन दिने र उत्सव मनाउने विशाल रजनीश हललाई आधुनिक इन्डोर स्पोट्र्स एरिनामा बदलिएको छ । त्यहाँ अहिले बास्केटबल कोर्ट, भलिबल कोर्ट र विभिन्न खेलकुद गतिविधि हुन्छन् ।
अनुयायीहरू बस्ने केही साना काठका घर (टिन्नी हाउस) र होटललाई अहिले क्याम्पमा आउने बालबालिका र पाहुनाहरू बस्ने आधुनिक लज र कोठाहरूमा रूपान्तरण गरिएको छ । सन्न्यासीहरू बस्ने टिन्नी हाउस त रजनीश टिन्नी हाउसका नाममा बिक्रीमा समेत राखिएका थिए । ओशोका विलासी रोल्स रोयस कारहरू रजनीशपुरम् पतन भएलगत्तै लिलामी गरेर बेचियो । १९८५ सम्ममा कम्युन व्यवहारतः समाप्त भयो र कानुनी रूपमा केही वर्षपछि नगरको मान्यता पनि खारेज गरियो । अमेरिका छोडेपछि ओशोले युरोप, नेपालसहितका विभिन्न २१ मुलुकमा बस्न चाहे तर कुनै न कुनै बहाना बनाएर त्यहाँबाट निक्लन बाध्य बनाइयो । अन्ततः सन् १९८७ मा भारत फर्किए र पुणे आश्रममा रहे । त्यही सन् १९९० को जनवरीमा उनको निधन भयो ।
रजनीशपुरम् निर्माण र पतनको घटना एउटा सपना झै लाग्दछ । सन् १९८५ सम्म रजनीशपुरम्का मुख्य लेखापालले ओरेगनमा करिब ६० मिलियन अमेरिकी डलर खर्च भएको बताएका थिए । इतिहासकार, समाजशास्त्री र धर्म अध्ययन गर्ने विद्वानहरूका लागि महत्वपूर्ण अध्ययनको विषय बनेको छ । केहीले यसलाई उजाड भूमिमा अत्यन्त छोटो समयमा आधुनिक समुदाय निर्माण गरिएको असाधारण सामाजिक प्रयोग मान्छन् । आलोचकहरूले भने नेतृत्व केन्द्रित नियन्त्रण, राजनीतिक हस्तक्षेप र गम्भीर आपराधिक गतिविधिहरूका कारण असफल भएको धार्मिक आन्दोलनका रूपमा हेर्छन् ।
समाचार र कथाहरु मात्र सुन्ने हामीहरु समेतलाई त्यो बेलाका संरचना निमिट्यान्न पारिएको र बाँकी पनि अवशेष झै रहेको देख्दा नोस्टाल्जिक बनाउँछ । अझ कम्युनमा सरिक भएका ओशो अनुयायी सन्यासी त्यो गुल्जार भूमि गुमनाममा परिणत भएको देख्दा कस्तो ठान्दा होलान् ? चारैतिर निर्जन र उजाड पहाडी थुम्काको बीच तल लमतन्न सुतेको उपत्यकाभरी फिँजारिएका कम्युनका चिटिक्क परेका हजारौं ती घरको त अवशेष पनि भेटिन्न । ओशो, रजनीशपुरम्का कुनै संकेतसम्म पाउन सकिन्न । बरु माथि डाँडाबाट ओरालो झर्दा पाखाका भित्ताहरुमा देखिने खानेपानीका सिमन्टे ट्याङ्कीहरु कम्युनकालमा सन्यासीहरुले गरेका श्रमदानको निशानी झै लाग्दथ्यो ।
सुनसान खोंचमा पुग्दा नमिठो निरवताले छोपेझै लाग्दछ । सबैजसो संरचनाका बाहिरी तुन्द्रुङ झुण्ड्याइएको “निजी सम्पत्ति प्रवेश निषेध” को साइनबोर्डले अजङ्गको भोटे कुकुरको त्रास फैलाउँछ । सवारी साधन पार्किङ गर्नेसम्म उपयुक्त स्थान पाउन गाह्रो छ । दिनको साढे १ बजेतिर त्यहाँ पुगेका हामी पनि केही तस्वीर र दृश्य कैद गरेर फर्कियौं । फर्कंदा बाटोभरी एउटै कुराले घोचिरह्यो, व्यक्तिहरुले गल्ती गरे पनि त्यति गुल्जार बनेको स्थान र इतिहासलाई किन नामेट पारिएको होला ? ती संरचनालाई जोगाएको भए त्यही समाजले अरु प्रयोजनमा प्रयोग गर्न सक्दथ्यो कि ? अनि चिमोटिरह्यो, नेतृत्वमा रहेका केही व्यक्तिका असीमित महत्वाकांक्षा, विवेकहीनता र सन्की स्वभावले भर्भराउँदा साझा सपनाहरुलाई कसरी डढाउँदो रहेछ भनेर ।
(रजनीशपुरम् अर्थात् ओरेगन वास्को काउन्टीस्थित वासिङ्गटन फेमिली रान्चको भ्रमणपछि)




.jpg)