विवाहका लागि पार्टनर खोजिदिने ‘लमी’एप सार्वजनिक

काठमाडौं । आजको व्यस्त र आधुनिक समयमा आफ्नो लागि उपयुक्त जीवनसाथी वा मित्र खोज्नु एउटा चुनौतीपूर्ण कार्य बनेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विशेष गरी नेपाली समुदायका लागि तयार पारिएको डेटिङसम्बन्धी एप ‘लमी’ सार्वजनिक भएको छ ।

यो केवल एक डेटिङ एप मात्र नभई नेपाली संस्कार र मूल्य–मान्यतालाई आधुनिक प्रविधिसँग जोड्ने एउटा भरपर्दो डिजिटल सेतु भएको कम्पनीले जनाएको छ ।

हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेको लमी एप एउटा यस्तो प्लेटफर्म हो जसले तपाईंलाई मित्रता, प्रेम सम्बन्ध (डेटिङ) वा विवाहका लागि उपयुक्त साथी खोज्न मद्दत गर्छ ।

यसले समान सोच, जीवनका लक्ष्य र सांस्कृतिक मूल्य भएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँछ । परम्परागत रूपमा गाउँघरमा ‘लमी’ले गर्ने जोडी मिलाउने कामलाई अहिले यो मोबाइल एपले थप सहज, सुरक्षित र आधुनिक बनाएको छ ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यहाँ प्रोफाइल प्रमाणीकरणको व्यवस्था गरिएको छ । प्रयोगकर्ताले आफ्नो पहिचान पुष्टि गर्न आवश्यक कागजात अपलोड गर्नुपर्ने हुन्छ, जसले गर्दा नक्कली प्रोफाइलको जोखिम न्यून हुने जनाइएको छ ।

तपाईंको रुचि, उमेर, धर्म, जात, शिक्षा र वैवाहिक अवस्था जस्ता मापदण्डका आधारमा उपयुक्त साथी खोज्न यसले मद्दत गर्छ । यसको उन्नत एल्गोरिदमले तपाईंको प्राथमिकता अनुसारका प्रोफाइलहरू मात्र देखाउने सुविधा पनि रहेको छ ।

यदि झुक्किएर कुनै प्रोफाइल ‘लेफ्ट स्वाइप’ भयो भने प्रिमियम प्रयोगकर्ताले त्यसलाई ‘रिविन्ड’ गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, मन परेका प्रोफाइललाई पछिका लागि ‘बुकमार्क’ गरेर सुरक्षित राख्न सकिन्छ । ‘लमी’ले आफ्ना प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्न विभिन्न प्रिमियम योजनाहरू पनि ल्याएको छ । यसका शुल्क एक हप्ताका लागि १९९, एक महिनाका लागि ६९९ र तिन महिनाका लागि १९ सय ९९ शुल्क लाग्ग्ने कम्पनीले जनाएको छ ।

“पहिलेको पुस्तामा विवाहका लागि मध्यस्थकर्ता अर्थात् ‘लमी’को ठूलो भूमिका हुन्थ्यो । तर, समय परिवर्तनसँगै अहिलेको पुस्ता अरूले रोजिदिएको भन्दा आफैँले बुझेर र रोजेको व्यक्तिसँग सम्बन्ध गाँस्न रुचाउँछन्,” एपका प्रबन्ध निर्देशक नबिन श्रेष्ठ भन्छन्, “यो एपले संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ ।”

सुरक्षा, गोपनीयता र नेपाली मौलिकतालाई उच्च प्राथमिकता दिने ‘लमी’ एपले आधुनिक डेटिङ अनुभवलाई सहज बनाएको छ । यदि तपाईं पनि आफ्नो लागि सही र अर्थपूर्ण सम्बन्धको खोजीमा हुनुहुन्छ भने, ‘लमी’ तपाईंको यात्राको सारथि बन्न सक्ने कम्पनीको भनाइ छ । यसलाई फोन नम्बर, इमेल वा सामाजिक सञ्जालमार्फत सजिलै लगइन गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साउदी अरबले ३३ नेपाली कैदीलाई आममाफी दियो

काठमाडौं : साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीक भएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरिएको हो।

आममाफी पाएका नेपालीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्राधिकरणले सात प्रदेशमा पठायो ५० हजार विद्युत् मिटर

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ५० हजार विद्युत् मिटर सात वटै प्रदेशमा पठाएको छ। प्राधिकरणमा उपल्बध भएका विद्युत् मिटरहरू प्रदेशहरूमा पठाइएको हो।

प्राधिकरणले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्न आग्रह गरेको छ।

सेवाग्राहीको सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको प्राधिकरणले जनाएको छ।

बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक

बैतडी: बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते अत्यधिक बर्षा हुने अनुमान गरेकाले दुई दिन ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी डा।डिजन भट्टराईले बताए ।

असार १६ र १७ गते बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरीका ग्रामीण कच्ची सडकमा गाडी चलाउन रोक लगाएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बर्षातको समयमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर दुईदिन ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको हो ।

नेपाल प्रवेश गरेको १२औँ दिनमा मनसुन देशभर फैलियो

काठमाण्डाै– यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको छ । औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन कोशी प्रदेशको पूर्व भू–भागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चोथै दिन असार ८ गते कोशी, मधेश र बागमती प्रदेशको सबै भू–भाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदशेको पूर्वी भू–भागको थोरै ठाउँसम्म फैलिएको थियो ।

सामान्यतया मनसुन नेपाल प्रवेश गरेपछि देशभर फैलिन १ हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो । अब भने देशका सबै भू–भागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरू भएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् असोजको तेस्रो हप्ता हो ।

 

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् ।

चाइना–नेपाल युथ फोरम २०२६ को भर्चुअल सत्रलाई सम्बोधन गर्दै उनले दुवै देशका युवासँग यसरी जोडिन पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखेका हुन् ।

नयाँ युगमा दुई देशबीच बलियो रणनीतिक साझेदारी निर्माण गर्न युवा पुस्तालाई सशक्त बनाउनु आवश्यक रहेको कुरामा जोड दिँदै राजदूत झाङले युवाहरू नै चीन–नेपाल सम्बन्धको मुख्य आधार भएको स्पष्ट पारे । राजदूत झाङले आपसी समझदारीलाई अझ बलियो र प्रगाढ बनाउन नेपाल र चीनका युवाले विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्न सक्ने बताए ।

नवप्रवर्तन र सबल नेतृत्वको विकासका लागि राष्ट्रिय सुशासनका क्षेत्रमा एकअर्काको अनुभव र सिकाइबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा दुवै देशलाई फाइदा हुने गरी आपसी हितका सहकार्यहरूमा सक्रिय रूपमा सहभागी हुन युवाहरूलाई आग्रहसमेत गरे ।

दलीय विद्यार्थी संगठनलाई संरचना उपभोग गर्न दिइएको छैन : त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो ।

‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न दिइएको छैन यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३/०३/१५ मा पत्राचार गरिएको छ,’ त्रिविको पत्रमा उल्लेख छ ।

त्रिविले सोमबार यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन निर्देशनसमेत दिएको थियो । सरकारले ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइ ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकास गर्ने भनेको छ ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय संगठन हटाउन लागिएको सरकारको भनाइ छ ।

स्वसिवयु सभापतिहरू मध्येबाट दुई जना त्रिवि सभाको सदस्य हुने व्यवस्था छ । त्रिविले दलीय संगठन हटाउने भनेपछि स्ववियु र विद्यार्थी संगठनले विरोध जनाइरहेका छन् ।

नेपाली जीवन-दर्शन मानवता र शान्तिबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् ।

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताएका हुन् ।

‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरूप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो’, उनले भने ।

राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दिर्भक हुँदै गएको बताए ।

‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ,’ उनले भने, ‘किनकी यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रूपान्तरणको सत्कार्यमा सक्रिय छन ।’

विष्णुप्रसाद पौडेललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

पौडेलकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो।

असार ८ गते सुर्खेतबाट पक्राउ परेका उनीमाथि पहिलोपटक ७ दिन र दोस्रोपटक ३ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ । यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न भनेको थियो।

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य हुने गरी कारबाही सिफारिस गरिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।

निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ। स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरणको सोधिएको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन्।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढ्न नसकेको तर्क गरे ।

ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आमजनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी गरे ।

“हामीले देशलाई अगाडि बढाउन खोज्यौँ । भुइँचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ । कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ । अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ । तर, त्यो कुरा सैह्य भएन,” ओलीले भने, “विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ ।”

अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

सेयर बजारमा उच्च गिरावट

काठमाडौं। सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक  १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको थियो। सो दिन  २ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक उच्च अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३६५ वटा स्क्रिप्सको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ३ अर्ब  २५ करोड ८७ लाख  ५८ हजार  १४ रुपैयाँमा खरिदबिक्री भए। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्नो रिभर्स लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढ्यो।

टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर सर्वाधिक १४.०३ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले १३ करोड  ३९ लाख बराबरको कारोबार गर्यो। टक्सार  पिखुवा हाइड्रोपावरले ११ करोडको कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ९ /९करोडको कारोबार गरे।
कारोबारमा आएकामध्ये ३५ वटा स्टक्सको मूल्य बढ्दा २३५ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।

विपद् पूर्वतयारी बलियो बनाउन ‘टेबलटप’ अभ्यास

कैलाली ।  सुदूरपश्चिममा हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै धनगढीमा ‘टेबलटप’ अभ्यास गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले विपद्को काल्पनिक परिदृश्यमा आधारित भई कसरी उद्धार र राहतका काम गर्ने भन्नेबारे व्यावहारिक अभ्यास गरेका हुन ।

अभ्यासका क्रममा सहभागीहरूले कुनै ठूलो विपद् आइलागेमा कसरी आपतकालीन सञ्चार गर्ने, खोज तथा उद्धारमा कसरी जुट्ने, घाइतेको उपचार र राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरेका थिए। साथै, अस्थायी आश्रयस्थलको व्यवस्थापन र अन्तर-निकाय समन्वय कसरी गर्ने भन्नेबारे पनि अभ्यास गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तेज प्रकाश जोशीले वास्तविक विपद्का बेला देखिन सक्ने चुनौतीहरूको पूर्वानुमान गर्न र विभिन्न निकायबीच आपसी तालमेल मिलाउन यस्ता अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यो अभ्यासबाट प्राप्त भएका सिकाइ र सुझावहरूले आगामी दिनमा सुदूरपश्चिम प्रदेशको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अझै व्यावहारिक र प्रभावकारी बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

सहभागीहरूले पनि यस्ता कार्यक्रमले विपद्का बेला तत्काल सही निर्णय लिन सक्ने क्षमता बढाउने धारणा राखेका थिए। युरोपेली आयोगको आर्थिक सहयोग तथा युएनडिपी नेपाल, युनिसेफ नेपाल, युएन वुमन र हेन्डिक्याप इन्टरनेसनलको प्राविधिक सहयोगमा रुडुक नेपालमार्फत सुपर-२ परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

मन्त्रालयका सचिव तेज प्रकाश जोशीको अध्यक्षतामा भएको छलफलमा सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघका विभिन्न अंगहरू, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र र सञ्चारकर्मीहरूको  उपस्थिति थियो।

अब ह्वाट्सएप प्रयोग गर्न फोन नम्बर नचाहिने

काठमाडौं। विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले अब अकाउन्टका लागि युजरनेम रोज्ने सुविधा ल्याएको छ । यो परिवर्तनको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो, जसले गर्दा प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा अरूसँग सम्पर्क गर्न सक्ने छन् । मेटा प्लेटफम्र्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्ताले आफ्नो युनिक युजरनेम रिजर्भ गर्न सक्ने जनाएको छ । कम्पनीले यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।

ह्वाट्सएपकी हेड अफ प्रोडक्ट एलिस न्यूटन–रेक्सका अनुसार, युजरनेम सुविधाले विशेष गरी नयाँ व्यक्तिसँग जोडिँदा वा कुनै समूह (ग्रुप) च्याटमा सहभागी हुँदा आफ्नो फोन नम्बर कसले देख्न पाउने भन्ने विषयमा प्रयोगकर्तालाई बढी नियन्त्रण दिनेछ । कम्पनीले यसलाई गोपनीयताको दृष्टिले ठूलो सुधार (अपग्रेड) भएको जनाएको छ ।

एलिस न्यूटन–रेक्सले भनिन्, ‘जब तपाईं कुनै नयाँ व्यक्तिसँग भेट्नु हुन्छ-चाहे त्यो सहपाठी होस्, छिमेकी होस् वा कुनै कार्यक्रममा भेटिएको व्यक्ति—त्यसलाई आफ्नो फोन नम्बर दिनु धेरैका लागि ठूलो निर्णय हुन सक्छ ।’ यो सुविधा सिग्नल जस्ता प्रतिस्पर्धी मेसेजिङ एपमा रहेको प्रणालीसँग मिल्दोजुल्दो छ, जहाँ फोन नम्बरको सट्टा युजरनेममार्फत कुराकानी सुरु गर्न सकिन्छ ।

तर ह्वाट्सएपका अनुसार यसको उद्देश्य सामाजिक सञ्जालको जस्तो प्रोफाइल बनाउनु नभई गोपनीयता सुरक्षित गर्नु हो । उदाहरणका लागि, ह्वाट्सएपमा कुनै युजरनेम डायरेक्टरी हुने छैन । त्यसैले कसैसँग सम्पर्क गर्नका लागि उसको ठ्याक्कै युजरनेम थाहा हुनुपर्नेछ ।

फेसबुक र इन्स्टाग्रामका युजरनेम पनि सुरक्षित
नक्कली पहिचान र अनलाइन ठगी रोक्न ह्वाट्सएपले हाल प्रयोगमा रहेका फेसबुक र इन्स्टाग्रामका युजरनेम सम्बन्धित प्रयोगकर्ताकै लागि सुरक्षित (रिजर्भ) राख्ने जनाएको छ । त्यस्तै, सार्वजनिक व्यक्तित्व, सेलिब्रिटी तथा सरकारी निकायसँग सम्बन्धित केही चर्चित युजरनेम स्थायी रूपमा सुरक्षित राखिनेछ, ताकि कसैले तिनको दुरुपयोग गर्न नसकोस् ।

न्यूटन–रेक्सले भनिन्, ‘यदि मानिसहरूले ह्वाट्सएपमा आफूलाई अझ सुरक्षित महसुस गर्न थाले, आफ्नो फोन नम्बर निजी राख्न सके र चाहेको अवस्थामा नयाँ व्यक्तिसँग विश्वासका साथ सम्पर्क गर्न सके भने हामी यसलाई सफल मान्नेछौं ।’ ह्वहाट्सएपले आफ्नो ब्लगमा उदाहरण दिँदै लेखेको छ, ‘मानौं तपाईं आफ्नो बच्चाको फुटबल टोलीका अभिभावकहरूको समूहमा सहभागी हुन चाहनु हुन्छ, तर अहिलेसम्म नचिनेका व्यक्तिलाई आफ्नो फोन नम्बर दिन चाहनु हुन्न ।’ यही आवश्यकतालाई ध्यानमा राखेर कम्पनीले युजरनेम सुविधा ल्याएको हो ।

विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ता भएकाले एउटै नाम धेरै जनाको हुन सक्छ । त्यसैले सबैलाई आफूले चाहेको युजरनेम छनोट गर्ने अवसर दिन पहिले नै रिजर्भ गर्ने व्यवस्था गरिएको हो । यदि आफूले चाहेको युजरनेम उपलब्ध नभएमा, ह्वाट्सएपले युजरनेम जनरेटर पनि उपलब्ध गराएको छ, जसले उपयुक्त युजरनेम सुझाव दिन्छ । कन्टेन्ट क्रिएटर, साना व्यवसाय तथा संस्थाहरूका लागि फेसबुक वा इन्स्टाग्राममा प्रयोग भइरहेको युजरनेम नै व्हाट्सएपमा पनि प्रयोग गर्ने विकल्प दिइएको छ ।

युजरनेम फिचरका मुख्य विशेषता
युजरनेम फोन नम्बरको विकल्प हुनेछ, जसबाट अरूले तपाईंलाई खोज्न र सन्देश पठाउन सक्ने छन् ।
प्रत्येक युजरनेमसँग वैकल्पिक ४ अङ्कको सुरक्षा कोड पनि रहनेछ ।
यो कोड सक्रिय गरेमा पहिलो पटक सम्पर्क गर्ने व्यक्तिले तपाईंको युजरनेमसँगै उक्त सुरक्षा कोड पनि थाहा पाउनु पर्नेछ ।
ह्वाट्सएपमा कुनै सार्वजनिक युजरनेम डायरेक्टरी वा सुझाव प्रणाली हुने छैन ।
पहिलो पटक कसैलाई सन्देश पठाउँदा, यदि युजरनेम प्रयोग गरिएको छ भने, प्राप्तकर्ताले तपाईंको फोन नम्बर देख्ने छैन ।
कसलाई सुरक्षा कोड आवश्यक पर्दैन ?
तलका व्यक्तिहरूलाई तपाईंको युजरनेम वा सुरक्षा कोड आवश्यक पर्दैन—
जसले पहिलेदेखि तपाईंको फोन नम्बर सुरक्षित (सेभ) गरेका छन् ।
जससँग तपाईं पहिले नै च्याट गरिसक्नु भएको छ ।
जो तपाईंको साझा (ज्वाइन्ट) ग्रुपमा छन् ।
जसले तपाईंको क्युआर कोड स्क्यान गरिसकेका छन् ।
जसलाई तपाईंले पहिले नै सन्देश पठाइसक्नु भएको छ ।

युजरनेम कसरी बनाउने ?
युजरनेम बनाउन मोबाइलमा ह्वाट्सएपको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ ।
यसका लागि :
सेटिङ अकाउण्ट युजर नेममा जानुहोस् ।
४ अङ्कको सुरक्षा कोड प्रयोगकर्ताले आफैं रोज्न सक्दैनन् । यो कोड ह्वाट्सएपले स्वतः तयार गर्छ । चाहनु हुन्छ भने ‘गेट अ डिफरेन्ट कि’ विकल्प प्रयोग गरेर नयाँ कोड बनाउन सकिन्छ ।
युजरनेम र सुरक्षा कोड प्रयोग गर्नु पूर्ण रूपमा वैकल्पिक हो । तपाईंले जुनसुकै बेला युजरनेम वा सुरक्षा कोड थप्न, परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ ।
यदि तपाईंको ह्वहाट्सएप खाता १८ वर्षभन्दा कम उमेर देखिने मेटा अकाउन्टसँग जोडिएको छ भने, गोपनीयता सुरक्षाका लागि सुरक्षा कोड पूर्व निर्धारित रूपमा सक्रिय हुनेछ । आवश्यक परे यसलाई पछि परिवर्तन गर्न सकिन्छ ।
युजरनेम सक्रिय गर्दा हालका च्याट वा कुराकानीमा कुनै असर पर्दैन । पहिलेदेखि सम्पर्कमा रहेका व्यक्तिले युजरनेम वा सुरक्षा कोडबिना पनि तपाईंलाई सन्देश पठाउन सक्ने छन् ।
यदि कसैले तपाईंको युजरनेममार्फत सम्पर्क गर्न खोज्दा सुरक्षा कोड नहुँदा सफल भएन भने, त्यसबारे तपाईंलाई कुनै सूचना आउने छैन ।

सरकारले परिणाममुखी कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठ्माण्डौ। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।

उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताए।

‘विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्’, मन्त्री खनालले भने, ‘अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकाङ्क्षा तथा समृद्धिको सेवा गर्नुपर्छ।’

मन्त्रालयद्वारा सोमबार आयोजना गरिएको ‘प्रा यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा उनले विश्वमा प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै आर्थिक साधन, आपूर्ति शृङ्खला तथा महत्त्वपूर्ण पूर्वाधारले अन्तरराष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको बताए।

‘साथै, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अर्थतन्त्रलगायत उदीयमान प्रविधिले शक्ति तथा अवसरको विश्वव्यापी वितरणलाई पुनः परिभाषित गरिरहेका छन्’, उनले भने, ‘नेपालजस्ता देशहरूका लागि यी परिवर्तनहरूले चुनौती र अवसर दुवै प्रस्तुत गरेका छन्।’

लामो समयदेखि महत्त्वपूर्ण सुरक्षा कवच प्रदान गर्दै आएको बहुपक्षीय प्रणाली बढ्दो दबाबको सामना गरिरहेको बताउँदै उनले यसका बाबजुद सहकार्य, सम्पर्क सञ्जाल, प्रविधि तथा आर्थिक साझेदारीका नयाँ सम्भावना पनि उदाइरहेका उल्लेख गरे।

नेपालले यस परिवर्तनशील परिवेशलाई स्पष्टता, आत्मविश्वास तथा विवेकशीलताका साथ सामना गर्नुपर्ने उनको भनाइ छ। ‘हाम्रो परराष्ट्र नीति विकसित हुँदै गएका यथार्थसँग अनुकूलित हुँदै राष्ट्रिय हितमा दृढतापूर्वक आधारित रहनुपर्छ’, उनले भने।

मुलुककको परराष्ट्र नीतिबारे

मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरू, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वप्रति दृढ प्रतिबद्ध रहेको बताए। ‘यी सिद्धान्तहरूले आज पनि हाम्रो बाह्य सम्बन्धको आधार प्रदान गरिरहेका छन्’, उनले भने।

मन्त्री खनालले असंलग्नतालाई निष्क्रियता वा एकान्तताका रूपमा बुझ्न नहुने उल्लेख गर्दै प्रा खनालले तर्क गर्नु भएझैँ, यसका लागि सक्रिय संलग्नता, सुदृढ निर्णय क्षमता तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपालको आफ्नै हितको दृष्टिकोणबाट मूल्याङ्कन गर्ने क्षमता आवश्यक पर्ने बताए। प्रा खनालले राजनीतिक स्थायित्व तथा प्रत्यक्ष आर्थिक प्रगतिबाट कूटनीतिले विश्वसनीयता प्राप्त गर्ने उल्लेख गरेका थिए।

मन्त्री खनालले जनताले थप अवसर, विकास तथा समृद्धिको आकाङ्क्षा राखेका र परराष्ट्र नीतिले बढ्दो रूपमा यी राष्ट्रिय आकाङ्क्षाको सेवा गर्नुपर्नेमा जोड दिए।

यस सन्दर्भमा सरकारले सुशासन तथा तीव्र आर्थिक वृद्धिलाई आफ्ना प्राथमिकताका केन्द्रमा राखेको उहाँले जानकारी दिए। ‘विशेषगरी युवापुस्ताले परिणाम, अवसर तथा जवाफदेही संस्थाहरूको अपेक्षा गरेका छन्’, उनले भने।

‘भूराजनीति स्थायी यथार्थ हो’

भूराजनीति नेपालका लागि स्थायी यथार्थ भएको उल्लेख गर्दै मन्त्री खनालले भने, ‘हामीले प्रत्येक विषयलाई केवल भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बाह्य घटनाक्रमको अत्यधिक सतर्क वा सङ्कीर्ण व्याख्याले कहिलेकाहीँ विकास तथा सहकार्यका वैध अवसरहरूको खोजी गर्ने हाम्रो क्षमतालाई सीमित गर्न सक्छ।’

आपसमा अन्तरसम्बन्धित विश्वमा भूगोललाई केवल सीमितताका रूपमा हेर्नु नहुनेमा जोड दिँदै उनले सही रूपमा बुझ्दा यसले विचार, बजार, जनता तथा अवसरहरूलाई जोड्ने पुलको भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे।

‘हाम्रो भौगोलिक अवस्थिति सम्पर्क सञ्जाल, व्यापार, लगानी तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरूले भरिपूर्ण छ’, उनले भने।

यही दृष्टिकोणले हालका दिनमा छिमेकी मुलुकसँग भएका सरकारका कूटनीतिक संलग्नतालाई मार्गदर्शन गरेको उनले भने। ‘भारत तथा चीनका मेरा हालैका भ्रमणका क्रममा भएका छलफल व्यावहारिक सहकार्य तथा पारस्परिक हितका साझेदारीमा केन्द्रित थिए’, मन्त्री खनालले भने।

नेपाली डायस्पोराका सम्बन्धमा उनले विदेशमा रहेका नेपाली नागरिकको संरक्षण सरकारका प्रमुख जिम्मेवारीमध्ये एक रहँदै आएको अवगत गराए।

‘लाखौँ नेपाली विदेशमा बसोबास तथा रोजगारीमा संलग्न छन्। उनीहरूले आफू कार्यरत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै नेपालको अर्थतन्त्र र समाजलाई पनि सहयोग गरिरहेका छन्’, मन्त्री खनालले भने, ‘उनीहरूको सुरक्षा, सम्मान तथा कल्याण हाम्रो परराष्ट्र नीतिको सर्वोच्च प्राथमिकतामध्ये एक हो।’

नेपालको परराष्ट्र नीतिसम्बन्धी गम्भीर विमर्शका लागि तथा परिवर्तनशील विश्व परिवेशमा मुुलुकले सामना गरिरहेका चुनौती र अवसरहरूबारे सूचित छलफललाई प्रोत्साहन गर्न यो व्याख्यान शृङ्खला स्थापना गरिएको हो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले परिवर्तनशील भूराजनीतिक तथा भूआर्थिक परिदृश्य सम्बन्धमा नेपालको परराष्ट्र नीतिका अवसर तथा सीमितता सम्बन्धमा मुख्य वक्तव्य दिए।

यस वर्षको व्याख्यानको विषय ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ रहेको थियो।

विश्वकप २०२६ : फ्रान्स र स्वीडेन पहिलाे पटक आमनेसामने हुँदै

काठमाण्डाै – फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछैन् । यो खेल राति पौने ११ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ ।

आइभरी कोस्ट समूह ‘ई’ को उपविजेता र नर्वे समूह ‘आई’ को उपविजेता बन्दै नकआउटमा पुगेका हुन् । आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो । फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ३ बजे उपाधि दाबेदार फ्रान्स र स्वीडेन खेल्दैछन् । फ्रान्स समूह ‘आई’ को विजेता र स्वीडेन समूह ‘एफ’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

विश्वकपमा फ्रान्स र स्वीडेनबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस्तै यी दुई देशबीच अहिलेसम्म २३ वटा अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स १२ र स्वीडेन ६ खेलमा विजयी भएका छन् । यस्तै ५ वटा खेल बराबरीमा सकिएका छन् ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ७ बजे मेक्सिको र इक्वेडर खेल्दैछन् । यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ । मेक्सिको समूह ‘ए’ को विजेता र इक्वेडर समूह ‘सी’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

विश्वकपमा मेक्सिको र इक्वेडरबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हाे । सन् २००२ को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई २–१ ले हराएको थियो ।

यस्तै यी दुई देशबीच अहिलेसम्म २७ पटक प्रतिस्पर्धा भएकोमा मेक्सिको १४ र इक्वेडर ५ खेलमा विजयी भएका छन् । यस्तै ८ वटा खेल बराबरीमा सकिएका छन् ।

 

हुलाक सेवा पुनर्जागृत गर्दै सरकारी सेवा घर-घरमै पुर्‍याउने कामको जग बस्यो : सञ्चारमन्त्री

काठ्माण्डौ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताएका छन्। हुलाक सेवालाई प्रविधिमैत्री तथा विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै सरकारले नागरिकको घरसम्मै सेवा पुर्‍याउने अभियान प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उनले बताए।

हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित ‘हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको र त्यसको सकारात्मक परिणाम देखिन थालेको बताएका हुन्। सूचना प्रविधिको तीव्र विस्तारसँगै सेवा प्रणालीमा परिवर्तन आए पनि हुलाक सेवाको आवश्यकता र महत्व अझै उत्तिकै रहेको उनको भनाइ थियो।

‘डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन। बरु बदलिँदो समयअनुसार यसको आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता अझ बढेको छ,’ उनले भने।

सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले मात्रै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे।

हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छवि सुधार गर्न कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको उनले बताए। ‘हुलाकले आफूलाई समयअनुकूल परिवर्तन गरेर फरक ढंगले सेवा दिन सक्नुपर्छ। सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो,’ उनले भने।

राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वाससमेत बढेको बताए। सुरक्षाका दृष्टिले पनि सरकारी हुलाक सेवा विश्वसनीय रहेको उनको भनाइ थियो।

कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता कायमै रहेको बताउँदै विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिइन्। उनका अनुसार राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्‍याउन थालिएको छ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताइन्। उनका अनुसार सरकारी कुरियर सेवा विस्तारसँगै नागरिकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

सरकारले आगामी दिनमा देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्दै परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा विकास गर्ने लक्ष्य लिएको विभागले जनाएको छ।

वर्षाले कैलालीका किसानलाई राहत

धनगढी । खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका कैलालीका किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ । मङ्गलबार बिहानदेखि परेको वर्षाले किसानलाई राहत पुगेको हो । यहाँ बिहान ३ बजेदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ । वर्षाको पानीले खेतमा सिँचाइ भएपछि किसान खुसी भएका छन् । उनीहरूले रोपाइँ गर्न अब सहज हुने बताएका छन् । यसैगरी सुकिरहेको धानबालीलाई पनि फाइदा पुगेको कृषक समीक्षा चौधरीले बताइन् । पानी नपर्दा रोपो सुकेर मर्न थालेको उनले उल्लेख गरे ।

मध्य असारसम्म जिल्लामा करिब ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । जिल्लाभर ६३ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिए।

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सम्पन्न भएको हो। सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ।

यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाएको हो। थप अनुसन्धानका लागि विशेष अदालतले सोमबार तीन दिनको म्याद दिएको थियो। यसअघि अदालतले सात दिनको म्याद दिएको थियो। हाल पौडेल सानेपास्थित प्रहरी हिरासतमा छन्।

विशेष अदालतका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्। विवरणअनुसार उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ।

यसअघि व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा विभागले हिमालयन एसेट म्यानेजमेन्टको कारोबारमाथि पनि प्रश्न उठाएको थियो। कम्पनीको वास्तविक स्वामित्व, लगानीको स्रोत तथा कारोबारबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

अनुसन्धानका क्रममा व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले बयान दिँदै पूर्वअर्थमन्त्री पौडेलकै दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई कम मूल्यमा बिक्री गर्नुपरेको दाबी गरेका थिए। सोही बयानपछि पौडेल अनुसन्धानको दायरामा आएका हुन्।

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची

काठमाडौं – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको अद्यावधिक अन्तिम नामावली सार्वजनिक गर्दै प्राविधिक त्रुटि सच्याएको जनाएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित सूचीमा पूजा बास्तोला र ध्रुवकुमार थापा मगरलाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएको छ। यससँगै सोम शर्मा र कृष्णमान श्रेष्ठ केन्द्रिय सदस्यबाट बाहिरिएका छन्।

त्यस्तै प्रादेशिक ९भूगोल० तर्फ गण्डकी प्रदेशको मतपरिणाममा पनि त्रुटि भएको भन्दै आयोगले स्वीकार गरेको छ। पुनः परीक्षणपछि पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा गल्तीवश सोम शर्मालाई विजयी घोषणा गरिएको देखिएपछि बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

पूजा बास्तोलाले मतगणनामा गडबडी भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन्। आफूभन्दा कम मत प्राप्त उम्मेदवारलाई विजयी घोषणा गरिएको बताएकी थिइन्।

तीन दिनसम्म कहा-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं- देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना छ।

महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष चेतावनी तथा परामर्श जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ ।

आजको मौसम

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । यसका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबारको मौसम

बुधबार दिउँसो र राति देशभर मौसम पूर्णतया बदली रहने  महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ ।

बिहीबारको मौसम

बिहीबार दिउँसो र राति देशभर पूर्णतया बदली रहने महाशाखाको अनुमान छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहने महाशाखाले जनाएको छ ।

चेतावनी तथा सुझाव

मौसम पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका भू-भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र तराई क्षेत्रमा डुबानको खतरा औंल्याएको छ ।

नदीनालाहरूमा जलसतह बढ्न सक्ने र यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ट्राफिक जरिवाना ५० हजार पुर्‍याउने भए नागरिकको आयस्तरलाई पनि ध्यान दिनुपर्छ : बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सरकारले ट्राफिक नियम उल्लङ्घनमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णयमा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले जरिवाना बढाउने विदेशको नक्कल गर्ने हो भने विदेशको जस्तै सडक पूर्वाधार, प्रविधिमा आधारित निगरानी प्रणाली, पारदर्शी कानुन कार्यान्वयन र नागरिकको आयस्तरलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।

बस्नेतले जनताको आर्थिक अवस्था र सरकारले प्रदान गर्ने सेवाको स्तरको मूल्याङ्कन नगरी एकैपटक ५० हजार रुपैयाँसम्मको जरिवाना तोक्नु न्यायोचित नहुने बताएका हुन्।

उनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही आवश्यक भए पनि दण्ड यथार्थपरक, न्यायसंगत र जनताको क्षमताअनुसार हुनुपर्ने बताएका छन्।

साथै प्रभावकारी ट्राफिक व्यवस्थापनको मुलआधार केवल ठूलो जरिवाना नभई राम्रो प्रणाली, सुरक्षित सडक र जवाफदेही राज्य पनि रहेको बताएका छन्।

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला- दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।

गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन् ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।रासस

सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

महेन्द्रनगर । मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण जिल्लामा रोपाइँ कम भएको बताउँदै जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जानकारी दिए ।

जिल्लाभर सिँचाइका सुविधा ३९ हेक्टर क्षेत्रफलमा रहे पनि अधिकांश कृषकले आकाशे पानीको भरमा धानखेती गर्नुपरेको छ । केन्द्रका प्रमुख साउँदले गत वर्षभन्दा यस वर्ष वर्षा कम हुँदा रोपाइँमा ढिलाइ भइरहेको बताउनुभयो । केही दिनयताको गर्मीका कारण किसानले जेनतेन खेतमा लगाएको धान पनि सुक्न थालेको छ ।

केन्द्रका अनुसार यहाँका अधिकांश किसानलाई बोरिङको पानी तान्न पनि समस्या भइरहेको छ । वर्षा नभएकाले जमिनमुनिको पानी पनि सुक्न थालेकाले बोरिङबाट तान्न पनि समस्या भइरहेको साउँदले बताए । “जमिनमुनि पनि पानीको तह घटिरहेको छ”, उनले भने, “सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाइरहेका छैनन् ।” असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको नसकेको ज्ञान केन्द्रको भनाइ छ ।

कञ्चनपुरमा महाकाली सिँचाइ पहिलो र दोस्रो चरणअन्र्तगत भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

त्यसैगरी, महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरका साथै कैलालीको मालाखेती क्षेत्रसम्म ३३ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित राष्ट्रिय गौरवको सिँचाइ आयोजना निमार्णाधीन छ । रासस

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।

विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना जारी गरेको हो । शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो ।

‘सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु,’ त्रिविको सूचनामा भनिएको छ ।

सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट अझै टेबुल भएन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटमाथि छलफल हुनुपर्नेमा सरकारले अझैसम्म बजेट प्रदेश सभामा टेबुल गर्न सकेको छैन ।

बजेटप्रति सत्तापक्षकै व्यापक असन्तुष्टि देखिएपछि प्रदेश सरकारले बजेट प्रस्तुत भएको दुई सातासम्म पनि सभामा टेबुल गर्न नसकेको हो । प्रतिपक्षले सरकारको बजेट नै असफल पार्ने चेतावनी दिइरहेका बेला सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले बजेट संशोधनका लागि प्रदेश सरकारलाई दबाब दिएको छ । बजेट संशोधन नगरिए सो पार्टीले सरकारबाट बाहिरिने यसअघि नै उद्घोष गरिसकेको छ ।

प्रदेश सरकारले असार १ गते मध्यरातमा आगामी आव २०८३/८४ को बजेट सभामा प्रस्तुत गरेको थियो । मध्यराति बजेट प्रस्तुत गरिएका कारण बजेटसँग सम्बन्धित विनियोजन विधेयक र अर्थ विधेयक भने सभामा टेबुल गरिएन । अहिलेसम्म बजेट नै टेबुल नभएकाले बजेटमाथि छलफलका लागि सभाको बैठकको टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

उनले भने, “सभाको बैठकको अझैसम्म टुङ्गो लागिसकेको छैन । सभा सञ्चालनका लागि एकचोटी कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो तर सत्तापक्षबिच नै कुरो नमिलेपछि बैठकको टुङ्गो लाग्न सकेन ।”

प्रदेश सभामा बजेटमाथि छलफलका लागि सरकारले बजेट सभामा टेबुल गर्नु पर्दछ । बजेटको आयव्ययसम्बन्धीको विनियोजन विधेयक र राजस्व सङ्कलनसम्बन्धीको अर्थ विधेयक टेबुल गरिएपछि ७२ घण्टाको संशोधनको समय रहने गर्छ । ७२ घण्टापछि मात्रै बजेटमाथि छलफल सुरु हुने गरेको जनाइएको छ । सरकारले बजेट असफल हुने डरले प्रदेश सभामा टेबुल नगरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले बताए ।

उनले भने, “बजेटमाथि छलफलका लागि बजेट सभामा टेबुल हुनु पर्छ तर बजेट असफल हुने डरका कारण सरकारले बजेट नै सभामा टेबुल गरेको छैन ।” प्रदेश सरकारले आगामी आवका लागि ३७ करोड ७० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।

म विरुद्ध कूप्रचार भयो : झलनाथ खनाल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कूप्रचार भएको बताएका छन्।

सोमबार काठमाडौंमा आफूले लेखेको वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफूविरुद्ध कूप्रचार गरेको बताए।

उनले कूप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए। आफू एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रूपमा नबुझ्न आग्रह गरे। वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभइ नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ।

खनालले अहिले कम्युनिष्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुन बलियो आन्दोलनको रूपमा ल्याएरै छाड्ने उद्‍घोष गरे। उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गरे। कम्युनिष्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए।

खु’कुरी लिएर सिंहदरबार छिर्छु भन्ने सुकुम्बासी पक्राउ

काठ्माण्डौ। प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी डम्बर बहादुर तामाङलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा हिंसात्मक र धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

भोजपुरको अरुण गाउँपालिका घर भएका ३९ वर्षीय तामाङलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

तामाङमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ। तामाङले एक सञ्चारमाध्यमसँगको कुराकानीमा सुकुम्बासी समस्या समाधान नभए खुकुरीले गर्दन रेट्ने र आवश्यक परे सिंहदरबारभित्रै खुकुरी लिएर जाने जस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले सरकारले बस्ती छाड्नका लागि दिन लागेको २५ हजार रुपैयाँको राहत अस्वीकार गर्दै काठमाडौंमै जग्गा, घर र ८ लाख रुपैयाँ नगदको माग गरेका थिए। सो माग पुरा नभए आफूलाई हटाउन आउनेमाथि खुकुरी प्रहार गर्ने उनको चेतावनी थियो।

हाल तामाङलाई प्रहरी हिरासतमा राखिएको छ। यता सुकुम्बासी मोर्चाहरूले भने उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।

खोज्नुहोस