सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव उद्योग मन्त्रालयले हटाउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ । छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख उक्त व्यवस्थाको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ ।

सो व्यवस्थाबारे उद्योग मन्त्रालयमा आवश्यक छलफल गरेर परिमार्जनको प्रक्रियामा रहेको मन्त्रालयका शाखा अधिकृत केशवराज शर्माले बताए । ‘सेयर कारोबारमा एक प्रतिशत शुल्क लगाउने प्रस्तावप्रति धेरै सुझाव आएको छ,’ शर्माले भने, ‘धेरै सुझाव हटाउन भनिएको छ भने केहीलाई परिमार्जन गर्न सुझाइएको छ ।’

सरोकारवालाहरूको सुझाव अनुसार मस्यौदा परिस्कृत हुँदै आएको उनले बताए । सरोकारवालाका सुझाव पनि समेटेपछि मात्रै कानुन मन्त्रालय पठाइने उनको भनाइ छ ।

विद्यमान कम्पनी ऐनअनुसार कम्पनी दर्ता गर्दा, पूँजी वृद्धि गर्दा, नाम परिवर्तन गर्दा र खारेजी गर्दा मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा शुल्क बुझाउनुपर्छ ।

तर, सेयर खरिदबिक्रीमा हस्तान्तरण शुल्क भने लिने व्यवस्था छैन । त्यसमा एउटा अपवादका रुपमा एकल सेयरधनी भएको कुनै कम्पनीको सञ्चालकको मृत्यु भयो भने हकवालालाई सेयर हस्तान्तरण गर्दा कम्पनी दर्तामा लाग्ने शुल्कको ५० प्रतिशत मात्रै लाग्ने व्यवस्था हालको कम्पनी कानुनमा छ ।

अहिले सरकारले धितोपत्र बजारमार्फत हुने कारोबारमा पनि १ प्रतिशतका दरले थप शुल्क लिने प्रस्ताव गरेको हो । प्रस्तावित ऐनको सोही दफाको उपदफा २ मा धितोपत्र विनिमय बजारको प्रणाली मार्फत सेयर खरिद बिक्री भएकोमा त्यस्तो सेयर कारोबार गर्ने धितोपत्र व्यवसायीले सो शुल्क संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

जबकि, धितोपत्र बजारमार्फत हुने सेयर कारोबारमा यसअघि नै हस्तान्तरण शुल्क लिने व्यवस्था धितोपत्र व्यवसाय नियमावलीमा छ ।

यसअघि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पूँजीगत लाभकर बढायो । पुँजीगत लाभकरलाई अन्तिम गराउँछु भन्दै सरकारले झुक्याइसकेको लगानीकर्ता बताउँछन् । आर्थिक ऐनले भने अहिले कायम रहेको अल्पकालीन १० र दीर्घकालीन ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छैन ।

हाल धितोपत्रको कारोबार हुँदा लगानीकर्ताले धितोपत्र बोर्डलाई कारोबार रकमको ०.०१५ र ब्रोकरलाई ०.२४ देखि ०.३६ प्रतिशतसम्म शुल्क तिर्नुपर्छ ।

ब्रोकरको कमिसननबाट नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले २० प्रतिशत र धितोपत्र बोर्डले ०.६ प्रतिशत लिन्छन् । साथै, लगानीकर्ताले सेयर कारोबारमा डिपोजिटरी पार्टिसिपेन्ट शुल्क २५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

नेकपाको केन्द्रीय समिति बैठक अनलाइनमै, नियमावलीदेखि सदस्यता विस्तारसम्मका विषयमा छलफल हुने

नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । अनलाइन मै हुने बैठक आज अपराह्न साढै चार बजेलाई बोलाइएको हो । पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यममार्फत सञ्चालन गरिनेछ।

बैठकमा सहभागी हुन आवश्यक जुम आईडी यसअघि नै पठाइसकिएको जनाउँदै आईडी प्राप्त नगरेका केन्द्रीय सदस्यलाई समेत सहभागी गराउन सम्बन्धित सबै पक्षलाई विशेष अनुरोध गरिएको छ।

कार्यसूचीअनुसार बैठकको सुरुआत शहीदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेर गरिनेछ। त्यसपछि पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल, पार्टी सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी विषयको समीक्षा तथा विविध एजेन्डामा विचार–विमर्श हुने जनाइएको छ।

बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकले समसामयिक राजनीतिक परिस्थिति तथा संगठनात्मक कार्यदिशासम्बन्धी निर्देशन दिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

१६.५४ अंकले घट्यो सेयर बजार

काठमाडौं– सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा अडिएको छ।

३५१  वटा स्क्रिप्सको ७६ लाख ९९ हजार  २२७ कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख  ३२ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर,याम्बलिङ हाइड्रोपावर,स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाो सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा ग्लोबल आइएमइ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ८ करोड ८३ लाख  मूल्य बराबरको सेयर कारोबार गर्यो।
सोपान फर्मास्क्युटिकल्सको ८ करोड ८० लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ८ करोड ७० लाख,रिलायन्स स्पिनिङ्ग मिल्सले ८ करोड १३ लाख र आँखु खोला जलविद्युतले ७ करोड ९९ लाख मूल्य बराबरको कारोबार गरे।

यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्सको सेयर १ प्रतिशत बढीले घट्यो।

जातीय भेदभाव हटाउन सांसदकाे माग

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे।

सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गरे।

सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिए।

विश्वकप २०२६ : ५ पटकको विजेता ब्राजिल र जापान खेल्दै

काठमाण्डाै– फिफा विश्वकप फुटबलको ‘राउन्ड अफ ३२’ मा आज राति ब्राजिल र जापान खेल्दैछन् । यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।

दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन् । ब्राजिल समूह ‘सी’ को विजेता र जापान समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । ब्राजिलले समूह चरणमा स्कटल्यान्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो । जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो ।

विश्वकपमा ब्राजिल र जापानबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई ४–१ ले हराएको थियो ।

ब्राजिल ५ पटकको विश्व विजेता हो । ब्राजिलले पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो । जापान भने अहिलेसम्म प्रिक्वाटरफाइनलबाट अगाडि पुग्न सकेको छैन ।

सन् २०२५ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो । घरेलु मैदानमा भएको खेलमा २ गोलले पछि परेको जापानले उत्कृष्ट पुनरागमन गरेको थियो ।

यो खेलको विजेताले प्रिक्वाटरफाइनलमा आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग खेल्नेछ ।

विश्वकपको ‘राउन्ड अफ ३२’ मा भोलि बिहान सवा २ बजे ४ पटकको विजेता जर्मनी र पाराग्वे खेल्दैछन् । यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा हुनेछ ।

जर्मनी समूह ‘ई’ को विजेता र पाराग्वे तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउटमा पुगेका हुन् ।

विश्वकपमा जर्मनी र पाराग्वेबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २००२ मा भएको विश्वकपमा जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो ।

विश्वकपको ‘राउन्ड अफ ३२’ मा भोलि बिहान पौने ७ बजे नेदरल्यान्ड्स र मोरक्को खेल्दैछन् । यो खेल मेक्सिकोको मोन्टेरी रङ्गशालामा हुनेछ ।

नेदरल्यान्ड्स समूह ‘एफ’ को विजेता र मोरक्को समूह ‘सी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा नेदरल्यान्ड्स र मोरक्कोबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा नेदरल्यान्ड्सले मोरक्कोलाई २–१ ले हराएको थियो ।

 

सांसदका काम जनताले नियालिरहेका हुन्छन्, जिम्मेवार बनौं : सभामुख

काठ्माण्डौ। सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।

‘अहिले प्रतिनिधि सभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु।’

जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत गर्दै सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए।

सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मंगलबार उक्त अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो।

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा

बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित“ भएको बताएकी छन् ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बङ्गलादेश फर्किने बताएकी छन्  ।

मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उनले आफू मृत्युबाट नडराउने बताइन्। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् २०२४ को आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिइन । उनले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्क्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्ने उद्देश्यका लागि भएको दाबी गरिन् ।

हसिनाले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्तमान सरकारसँग आग्रह गरेकी छन् ।

यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । -एजेन्सी

तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मने शिशुलाई सुनको औंठी उपहार दिने

चेन्नाई : भारतको तमिलनाडु सरकारले राज्यका सरकारी अस्पतालहरूमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ (मामाको सुनको औंठी योजना) अन्तर्गत यो लोकप्रिय कार्यक्रम ल्याएको हो।

तमिल संस्कृतिमा नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने ‘थाइमामन सिर’ परम्परा रहेको छ। सोही सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै अब सरकारले नै राज्यका प्रत्येक शिशुको ‘मामा’को भूमिका निभाउँदै सुनको औंठी उपहार दिन लागेको सरकारी विज्ञप्तिमा उल्लेख छ।

यस योजनाका लागि सरकारले वार्षिक ७५५.८३ करोड भारु बजेट छुट्याएको छ।  यो योजना औपचारिक रूपमा आगामी सेप्टेम्बर १५ (पूर्व मुख्यमन्त्री सी.एन. अन्नादुराईको जन्मजयन्ती) का दिन उद्घाटन हुने भए पनि, यसलाई गत जुन २२, २०२६ (मुख्यमन्त्री विजयको जन्मदिन) देखि नै पूर्वप्रभावी हुने गरी लागु गरिएको छ। अर्थात्, जुन २२ यता सरकारी अस्पतालमा जन्मेका सबै शिशुले यो उपहार पाउनेछन्।

यो सुविधा तामिलनाडुका स्थायी बासिन्दाहरूका लागि मात्र उपलब्ध हुनेछ। यसका लागि आमाबाबुले रासन कार्ड, आधार कार्ड वा स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ। शिशु छोरा होस् या छोरी, अथवा परिवारको कतिऔं सन्तान हो, कुनै पनि भेदभाव बिना सरकारी अस्पतालमा जन्मने सबै शिशुलाई यो औंठी प्रदान गरिनेछ।

सरकारका अनुसार यस योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउनु, मातृ तथा शिशु कल्याणलाई प्रवर्द्धन गर्नु र मातृत्वको गौरवलाई उत्सवका रूपमा मनाउनु रहेको छ। तमिलनाडुमा वार्षिक करिब ७.८ लाख सुत्केरी हुने गरेको र त्यसमध्ये ९९.९ प्रतिशत संस्थागत (अस्पतालमा) जन्म हुने गरेको तथ्याङ्क छ।

धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन्।

मन्त्री चौधरीले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै धान नेपालीको धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन्।

उनले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवर्द्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताए।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने यस वर्षको धान दिवसको नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।

मन्त्री चौधरीले चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने बताइन्।

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।

पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

‘होल्डिङ सेन्टर’का सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाण्डौ- राष्ट्रिय सभाको सोमबारको बैठकको  शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरुले  राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए।

सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न  सरकारको ध्यानाकर्षण गराए।

सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए।

सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्ने बताइन्।

सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै  आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे।सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए। बैठकमा सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गरे।

सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डिएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे।

आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान

काठमाडौँ ।  राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यो पर्व नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने एक प्रमुख माध्यमका रूपमा स्थापित भएको छ ।

असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दाहाल बताउँछन् ।  यो खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

अध्यक्ष दाहालका अनुसार नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा मुलुकभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आबद्ध छन् । दुग्ध क्षेत्रले नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै हजारौँलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी प्रदान गरेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

नेपाली समाजमा परम्परागत रूपमा प्रयोग गरिने दही र मोहीको पोषणमूलक महत्त्व रहेको छ ।  दहीमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, र भिटामिन बी–१२ जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछन् ।

मोही नेपाली जीवनशैलीको अर्को एक अमूल्य र स्वास्थ्यबर्धक पेय पदार्थ हो ।  पछिल्लो समय आयातित र कृत्रिम पेय पदार्थको बढ्दो प्रयोगबिच केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा मोही उत्पादन सुरु गर्नुलाई सकारात्मक सङ्केतका रूपमा लिइएको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ६ हजार ३ सय रुपैयाँ घटेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार ३१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँ थियो भने  गत सोमबार ४ हजार ७३० रुपैयाँ थियो ।

कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ

कञ्चनपुर। भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिए।

कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

पछिल्लो समय भारतसितको खुला सीमानाका भएका कारण पनि यहाँ भारतबाट लुकीछिपी विभिन्न किसिमका लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको प्रहरीको बुझाइ छ । पछिल्ला केही वर्षयता यहाँ लागुऔषधमा खैरो हिरोइनको अवैध कारोबार हवात्तै बढेको पाइन्छ । प्रहरीका अनुसार यहाँको कारागारमा ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रहरीले जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध न्यूनीकरणका लागि सक्रिय बनाएको बताए।

“हामीले समाजमा लागुऔषधको नियन्त्रणका लागि संलग्नलाई कारबाही र समाजमा विभिन्न ठाउँमा सचेनताका कक्षा पनि सञ्चालन गरिरहेका छौँ”, उनले भने, “प्रहरी र स्थानीय प्रशासनसँगै यसको नियन्त्रणका लागि स्वयं अभिभावक र स्थानीय पालिकाहरू पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ ।” उनले वडा/टोल तहसम्म लागुऔषध नियन्त्रण र यसको रोकथामका लागि हुने सचेतनामूलक अभियानमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए।

उनले अढाइ महिनामा लागुऔषध मुद्दामा मात्रै पक्राउ सङ्ख्या अत्यधिक रहेको बताए। “खैरोहिरोइन २१५ ग्राम, ६२१ मिलिग्राम बरामद भएको छ”, उनले भने, “चरेस, ट्रामाडोल, फेनारगन र एम्पुललगायत लागुऔषध प्रहरीले बरामद गरेको छ।” रासस

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्।

आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने, ‘कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्छ।’

‘श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ। जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु। यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु’, उनले भने।

धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए। हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उनको भनाइ छ।

‘जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो’, उनले भने।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ यो  दिवस मनाइँदै छ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ। साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ। धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि रहेको राष्ट्रपतिको भनाइ छ।

उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको धानखेती वर्षामा निर्भर छ। वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु।’

हामीले देश बर्बाद पार्‍यौं भन्ने भाष्य गलत हो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए ।

उनले देश विकास कसरी अगाडि बढेको थियो भन्ने कुरा प्यारामिटरमा हेरिनु पर्ने समेत बताएका छन् । अध्यक्ष ओलीले आफूहरुले कसरी विकास, पूर्वाधारका कामहरु गरेको थियो त्यो हेरिनु पर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले गलत काम गरेर, देशद्रोही काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर जनतामा असन्तुष्टि, युवामा असन्तुष्टि बढेको भन्ने कुरा समेत गलत भएको बताए ।

उनले झुटा प्रचार गरेर, आफूहरुले भ्रष्टाचार गरेको भनेर, अफवाह फैलाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने काम गरिएको बताए । उनले कसैको पक्षपोषणमा बोल्यो भने त्यसका विरुद्धमा मनपरी बोलेर हतोत्साहित गर्ने अनि त्यसलाई अल्गोरिदमको स्थितिमा पु¥याउने, मोवाइलको माध्यमबाट चरम बदनाम गर्ने खालका क्रियाकलापहरु भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्याण्ड जाँदै

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन्।

मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने पाँचदिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन्।

मन्त्री चौधरी जुन २९ र ३० मा हुने पेरिस सम्झौता र दिगो विकास २०३० को एजेन्डा तालमेललाई सुदृढ पार्ने सातौं विश्वव्यापी सम्मेलनको उच्चस्तरीय खण्डमा सहभागी हुनेछन्। उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको कार्यान्वयन तथा दिगो विकास लक्ष्य सँगको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ।

यसैगरी जुलाई १ देखि ३ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने मन्त्रीस्तरीय वातावरण तथा विकास समितिको नवौं सत्र कार्यक्रममा पनि  सहभागिता हुने छिन्।

उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकाससँग सम्बन्धित साझा चुनौती तथा समाधानका विषयमा नेपालको तर्फबाट मन्त्री चौधरीले प्रतिनिधित्व गर्नेछिन्।

सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकहरूले भोगिरहेका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास तथा दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे आफ्नो धारणा राख्नेछिन्।

हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे ।

‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’ मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘धुलो टक्टक्याउँदै उठ्छौं । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं ।’

उनले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाए । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै उनले त्यो बेलामा सबै मिल्न नसकेको बताए ।

‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले,’ ओलीले भने, ‘यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो । अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ ।’

लोकतन्त्र सिध्याउने गरी २३ र २४ भदौमा प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भएकव उनको भनाइ छ ।

वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्दै ओलीले २३ र २४ भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताए ।

सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै कार्य संसद्‍ले गर्ने भन्दै अध्यक्ष ओलीले वैधानिक संसद बलजफती भंग गरिएको बताए ।

उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भयो । त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो । यो लोकतन्त्र हुनै सक्दैन ।  लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै संसद्ले गर्ने हो । तर बलजफ्ती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।’

‘अब लो बिडिङले आयोजनाहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुन्छ’

काठमाडौँ । सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबारकाे प्रतिनिधि सभा बैठकबाट पारित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव सदनबाट पारित भएको छ ।

मन्त्री गौतमले पेस गरेपछि भएको सैद्धान्तिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आशिष गजुरेल, विश्वराज पोखरेल र पारशमणि गेलाल, नेपाली कांग्रेसका प्रा.डा. चन्द्र मोहन यादव, तथा नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाल र बलावती शर्माले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विकास निर्माणका कार्यलाई गति दिन र गुणस्तर सुनिश्चित गर्न सरकारले सार्वजनिक खरिद ऐनमा व्यापक सुधार ल्याएको बताइन् ।

अब ‘लो बिडिङ’ (न्यून कबोल) का कारण आयोजनाहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने दाबी पनि मन्त्री गौतमले गरिन् ।

विकास आयोजनाहरूमा समय, लागत र गुणस्तरलाई मुख्य आधार बनाइएको उल्लेख गर्दै नागरिकमा व्याप्त ‘कन्स्ट्रक्सन इरिटेसन’लाई हटाउनु सरकारको प्राथमिकता रहेको बताइन् ।

निर्माण कार्यमा न्यून रकम कबोल गरेर ठेक्का लिने तर समयमा काम नसक्ने प्रवृत्तिका कारण राष्ट्रिय समस्या सिर्जना भएको मन्त्री गौतमको भनाइ थियो । ‘लो बिडिङले गुणस्तरमा क्षयीकरण ल्याएको छ,’ उनले भनिन्, ‘अब औसत अङ्कमा आधारित व्यवस्था गरिएको छ, जसले गर्दा प्राविधिक र आर्थिक दुवै पक्षमा बलियो रहेकाले मात्र ठेक्का पाउनेछन् । यसले निर्माण कार्यको गुणस्तर र समय पालनालाई सुनिश्चित गर्नेछ ।’

ठुला ठेक्कापट्टा र विकास आयोजनाहरू लामो समयसम्म अदालतमा मुद्दा परेर रोकिने समस्या समाधान गर्न सरकारले ‘पूर्वाधार अदालत’ स्थापना गर्ने निर्णय गरेको जानकारी दिँदै मन्त्री गौतमले यससम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको र आगामी साउन महिनाभित्रै संसद्‌मा मा पेस गरिने बताइन् ।

मन्त्री गौतमले निर्माण व्यवसायी र सरकारी अधिकारी दुवैलाई थप जिम्मेवार बनाउन कडा कानुनी व्यवस्था गरिएको बताइन् ।

अबदेखि बजेटको सुनिश्चितता, वातावरणीय अध्ययन प्रतिवेदनको स्वीकृति र मुआब्जा तथा साइट क्लियरेन्स (जग्गा प्राप्ति) जस्ता पूर्व तयारी पूरा नगरी कुनै पनि आयोजनाको ठेक्का आह्वान गर्न नपाइने व्यवस्था गरिएको छ ।

विधेयक अध्यादेशमार्फत ल्याइएको प्रति प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले प्रक्रियाभन्दा नतिजा महत्त्वपूर्ण हुने तर्क गरिन् । ‘नागरिकले सुख पाउँछन् र विकास छिटो हुन्छ भने प्रक्रियालाई केही हदसम्म लचक बनाउनुमा आपत्ति मान्नु हुँदैन,’ उनले भनिन् ।

सहकार्य गर्न जति ढिला गर्‍यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे।

वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। ‘ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु,’ उनले भने।

उनले तत्काल पार्टी एकता नभए पनि सहकार्यका निम्ति जोड दिए। ‘मैले भोलि नै पार्टी एकता गरौं, बेलुका नै पार्टी एकता गरौं भनेको छैन। सहकार्य चाहिँ आजै सकिन्छ भने आजै गरौं भनेको हुँ,’ उनले भने।

उनले संसद, सडक र चुनावमा पनि सहकार्य गर्न आह्वान गरे। ‘अहिले जसरी थुप्रै चिजहरू भएका छन्। ट्रेड युनियनका कुरा, विद्यार्थी संगठनका कुरा चाहे सीमानाका कुरा, गरिब र मजुरका विरुद्ध जुन षड्यन्त्र भएको छ। त्यसका निम्ति मिल्न सक्नेहरू, सहकार्य गर्न सक्नेहरू जति ढिला गर्‍यो, त्यति नै भयानक दुर्घटना हुनेवाला छ,’ उनले भने।

उनले मदन भण्डारीको सम्मानका निम्ति पनि अहिलेको परिस्थितिमा सहकार्यका निम्ति एक हुनुपर्ने बताए। ‘ढिला गर्ने इन्टेशन राख्दा पनि अहिले दुर्भाग्य हुन्छ,’ उनले भने।

नेपालमा कम्युनिस्ट सिध्याउन लागिरहेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा जस्तै नेपालमा पनि कम्युनिस्टलाई सिध्याउन प्रतिक्रियावादी शक्ति लागिरहेको बताएका छन् ।

उनले छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुन ढिला गर्न नहुने बताए । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो भनाइ राखेका हुन् ।

भारतमा जस्तै नेपालमा पनि कम्युनिस्टलाई सिध्याउने प्रयास भएको बताए । “नेपालमा कम्युनिस्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । भारतमा कम्युनिस्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ,” प्रचण्डले भने, “नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रूपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौँ ।”

प्रचण्डले षड्यन्त्रविरुद्ध छिटो वामपन्थी र देशभक्त एक हुनुपर्ने बताए । तर, कम्युनिस्ट एकता आजभोलि नै सम्भव नरहेको भनाइ उनको थियो । “सहकार्य गर्न सकिन्छ भने आजै गरौँ भनेको हो । भरे सकिन्छ भने भरे गरौँ । सदनमा, सडकमा, चुनावमा गरौँ,” उनले भने, “सहकार्य गर्न जति ढिलो गर्‍यो त्यति भयानक दुर्घटना हुनेवाला छ ।”

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा खेल्दै

विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु नेपाली समयअनुसार भोलि बिहानदेखि सुरु हुँदैछन् । आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने ३२ टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल सुरु हुन लागेको हो ।

नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने एक बजे दक्षिण अफ्रिका र क्यानडा खेल्दैछन् । खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ । समूह चरणमा मेक्सिकोसँग २–० गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग १–१ को बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई १–० गोलले हराएर नकआउटमा प्रवेश गरेको हो ।

जारी विश्वकपको सह–आयोजक क्यानडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक–एक गोलको बराबरी खेल्यो । दोस्रो खेलमा कतारलाई ६–० गोलले पराजित गरेको क्यानडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो ।

भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आ–आफ्नो देशको इतिहासमा पहिलोपटक विश्वकप नकआउट खेल खेल्दैछन् । जुन टोलीले जित्छ, उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ ।

लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्कयक : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए।

मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्तविक विशेषतालाई आत्मसात् गरेर अघि बढे कम्युनिस्टहरू एक ठाउँमा उभिनसक्ने बताए ।

‘यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्न सक्ने कुरामा मिल्नुपर्छ । राष्ट्रियतामा ठुलो चुनौती छ’, उनले भने, ‘देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ । विदेशीले हाम्रो देशमा हालीमुहाली गर्नबाट हामी सतर्क हुनुपर्छ ।’

वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्ने बताए ।

‘जनताका समस्या सम्बोधन गर्ने कुरा होस् वा समस्या उजागर गर्ने कुरा होस् त्यो काम हामीले गर्नुपर्छ’, उनले भने । कम्युनिस्ट नेताहरूले आत्म केन्द्रीत चिन्तन परास्त गर्नुपर्नेमा जोड उनले दिए ।

नेता नेपालले त्यसका लागि कम्युनिस्टहरूबिच सहकार्य गर्दै एकता गर्नुपर्नेमा जोड दिए । ‘मिल्ने कुरा मात्र ठुलो होइन, भावनामा मिल्नुपर्छ । विधि पद्धतिमा मिल्नुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्दा मेरो पनि दिमाग खराब भएको छ।’

हामीभित्रै सिङ र जुरो पलाए, अब एक बनौं : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे ।

साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता अपरिहार्य रहेको जिकिर गरे । ‘कतिपयलाई आश्चर्य लागेको हुनसक्छ । अनौठो लागेको हुनसक्छ । वामपन्थी एकता आजमात्रै होइन, अनेकन कालखण्डबाट आवश्यक थियो,’ उनले भनेका छन् ।

तर, बीचको कालखण्डमा आफूहरूमा कहिले सिङ पलाएको र कहिले जुरो पलाएको बताए ।

‘तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । त्यसकारण हामी एक हुन सकेनौं । अब समयले हामीलाई हिर्काउन थालेको छ । बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । यसले गर्दा हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दैछौं,’ उनले भने ।

आजका दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रुपमा अघि बढाउन उनले आग्रह गरे ।

‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रुपमा अगाडि बनाउन थालौं । तबमात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबन्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाईं तबमात्रै गतिशील भएर अघि बढ्न सक्छ,’ खनालले भने ।

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

कैलाली । एचआइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् ।

लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउँछिन् । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ, तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उनी बताउँछिन्।

“श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छु”, उनले भनिन्, “थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।”

टीकापुर अस्पतालमा लम्कीचुहा नगरपालिकाका मात्रै १६२ एचआइभी सङ्क्रमित उपचारका लागि आउने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् ।

अस्पतालबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमितमा २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन् । अघिल्लो वर्षसम्म यो सङ्ख्या नौ सयसम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् ।

सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना छन् भने अरु बिरामी अन्य पालिकाका हुन् । एचआइभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरैले लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल (एएचएफ) नेपालले जनाएको छ ।

टीकापुर अस्पतालमा सेवा लिन आउने एचआइभी सङ्क्रमित पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गेका छन् । टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ। संस्थाले एचआइभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहराले बताए।

“चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यन्त्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छ”, उनले भने, “३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बिमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।”

यसका साथै एचआइभी सङ्क्रमित सबैलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । संस्थाले बिरामीले नियमति औषध सेवन गरे/नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहामा १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडीमा १८, मोहन्यालमा ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक एचआइभी सङ्क्रमितले यहाँबाट सेवा लिने गरेका बोहराले जानकारी दिए।

एचआइभी सङ्क्रमितलाई पोषणको समस्या, नियमित आम्दानीमा समस्या भइरहेको छ । टीकापुर र लम्कीचुहालगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामी बताउँछन् । मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया अर्की महिला श्रीमान् बितेपछि घरमा कमाउने कोही नभएको, जग्गाजमिन पनि नभएकाले आफूलाई दैनिक गुजारा चलाउनै समस्या भएको बताउँछिन्।

“पेट भर्नकै लागि समस्या छ । एउटा छोरी थिइन् विवाह गरेर गइन्”, उनले भनिन्, “मलाई हेर्ने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पुग्दैन, पोषणका लागि पनि मासिक सहयोग पाएको भए हुने थियो।”

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरु एचआइभी सङ्क्रमितको उपचार र हकहितका लागि अस्पतालमा रहेको एआरटी सेन्टरले राम्रो काम गरिरहेको बताउँछन्। “अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिकाले सघाउनुपर्छ”, पनेरुले भने, “उनीहरूका समस्या समाधानका लागि स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवाला सबैको समन्वय र सहयोग आवश्यक छ ।”

हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन्।

प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए। प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उनको भनाइ छ।

“सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ”, मुख्यमन्त्री शाहले भने।

उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे।

उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे। रासस

भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता

भेनेजुएला : भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट लगातार शव निकालिरहेका छन् ।

यसैबीच, देशको उत्तरी तटीय क्षेत्रमा फेरि भूकम्पका धक्का महसुस भएका छन् । रोयटर्सका अनुसार राजधानी कराकास र माराके क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।  सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला गुआइरा राज्यमा स्थानीय बासिन्दाहरू आफ्ना आफन्त र छिमेकीको खोजीमा फावडा, डोरी, भारी उपकरण तथा आफ्नै हात प्रयोग गरेर भग्नावशेष हटाइरहेका छन् । यस विपदमा ३,३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने शनिबार मात्रै करिब २५० जनालाई जीवित उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

आफन्तको खोजीमा आफैं जुटे स्थानीय

राहत तथा उद्धार टोलीको अभावका कारण धेरै नागरिक आफैंले भग्नावशेष हटाएर आफ्ना परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सर्वसाधारणलाई ला गुआइरा राज्यतर्फ अनावश्यक यात्रा नगर्न आग्रह गर्दै अहिलेको मुख्य प्राथमिकता बढीभन्दा बढी मानिसको उद्धार गर्नु रहेको बताइन् । उनले उद्धार कार्य सहज बनाउन सडक खाली राख्न र प्रहरी, नागरिक सुरक्षा तथा दमकल टोलीलाई छिटो प्रभावित क्षेत्रमा पुग्न सहयोग गर्न अपिल गरेकी छन् ।

एक हजारभन्दा बढी संरचनामा क्षति
बीबीसीका अनुसार उत्तरी तटीय क्षेत्र र राजधानी कराकासमा सयौं भवन, अस्पताल तथा सपिङ सेन्टर पूर्ण रूपमा ध्वस्त भएका छन् । साथै, करिब १,००० वटा पूर्वाधार संरचनामा गम्भीर क्षति पुगेको छ । सबैभन्दा ठूलो क्षति कराकासको उत्तरमा रहेको ला गुआइरा क्षेत्रमा भएको छ, जहाँ देशको मुख्य बन्दरगाह र सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित छन् । यस क्षेत्रमा हालसम्म २४३ जनालाई जीवित उद्धार गरिएको छ ।

अन्तर्राष्ट्रिय सहयोग सुरु
विपत्तिपछि विभिन्न देशबाट अन्तर्राष्ट्रिय राहत तथा उद्धार टोलीहरू भेनेजुएला पुग्न थालेका छन् । संयुक्त राष्ट्रसंघ (यूएन) का मानवीय मामिला प्रमुख टम फ्लेचरले व्यापक अन्तर्राष्ट्रिय राहत अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

बेलायत, अमेरिका, नेदरल्यान्ड्स, मेक्सिको र स्विट्जरल्यान्डले खोज तथा उद्धार टोली, तालिमप्राप्त खोजी कुकुर र ड्रोन पठाएका छन् । अमेरिकाले यसका साथै युद्धपोत, सैन्य यातायात विमान तथा १५ करोड अमेरिकी डलर (करिब २० अर्ब नेपाली रुपैयाँ भन्दा बढी) बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

आन्तरिक मामिला मन्त्री डियोसडाडो काबेलोका अनुसार भूकम्पको सबैभन्दा बढी असर कराकासका लोस पालोस ग्रान्डेस र अल्तामिरा क्षेत्रका साथै ला गुआइरा, अरागुआ, काराबोबो र फाल्कोनलगायत उत्तरी तटीय राज्यहरूमा परेको छ ।

खोज्नुहोस