हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन्।
प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए। प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उनको भनाइ छ।
“सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ”, मुख्यमन्त्री शाहले भने।
उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे।
उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे। रासस
