तीन दिनसम्म कहा-कहाँ छ भारी वर्षाको सम्भावना ?

द एभरेष्ट पोष्ट
१६ असार २०८३ १२:२६

काठमाडौं- देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना छ।

महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष चेतावनी तथा परामर्श जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ ।

आजको मौसम

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । यसका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबारको मौसम

बुधबार दिउँसो र राति देशभर मौसम पूर्णतया बदली रहने  महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ ।

बिहीबारको मौसम

बिहीबार दिउँसो र राति देशभर पूर्णतया बदली रहने महाशाखाको अनुमान छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहने महाशाखाले जनाएको छ ।

चेतावनी तथा सुझाव

मौसम पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका भू-भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र तराई क्षेत्रमा डुबानको खतरा औंल्याएको छ ।

नदीनालाहरूमा जलसतह बढ्न सक्ने र यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस