कैलालीमा टीकापुरबाहेक सबै स्थानीय तहले बजेट ल्याए
कैलाली– कैलालीको टीकापुर नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
१३ स्थानीय तह रहेको कैलालीमा १२ वटा स्थानीय तहले नगर/गाउँ सभामा बजेट प्रस्तुत गरेका हुन् । असार १० गतेभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था छ । टीकापुर नगरपालिकामा नगर प्रमुख/उपप्रमुख पदमुक्त रहेको अवस्थामा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद छ । त्यही कारण टीकापुर नगरपालिकाले बजेट ल्याउन नसकेको हो ।
त्यस बाहेक घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले बुधबार सभामा बजेट प्रस्तुत गरे भने धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाले यसअघि नै बजेट ल्याइसकेका हुन् ।
गोदावरी नगरपालिकाले बुधबार बसेको नगरसभामा उपप्रमुख शारदादेवी रोकायाले एक अर्ब ३० करोड ५ लाख ८२ हजारको बजेट प्रस्तुत गरिन् । रोकायाले कुल विनियोजन मध्ये ६७.४ प्रतिशत रकम चालुतर्फ र ३२.६ प्रतिशत पुाजीगत खर्चतर्फ विनियोजन गरिएको उल्लेख गरेकि छिन् । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा अन्य आधारभूत पूर्वाधार विकासका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको उनको भनाइ छ ।
यसैगरी, घोडाघोडी नगरपालिकाले एक अर्ब चार करोड ४७ लाख आठ हजार ८६८ को बजेट प्रस्तुत गर्दै उपप्रमुख गुलियाकुमारी चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी प्रबर्द्धन र उद्यम विकासलाई प्राथमिकतामा राखिएको बताइन् । बर्दगोरिया गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले एक अर्ब ९ करोड २१ लाख १५ हजारको बजेट गाउँसभामा प्रस्तुत गरेका छन् । उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित भएकाले वडाध्यक्ष गौतमले बजेट प्रस्तुत गरेका हुन् । उनले स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाए ।
यसैगरी, चुरे गाउँपालिकाकि उपाध्यक्ष धनादेवी थापाले ५९ करोड ८२ लाख ५९ हजार ८५० को बजेट प्रस्तुत गरिन् । जसअन्तर्गत चालुतर्फ ३९ करोड नौ लाख ६२ हजार ८१० र पुँजीगततर्फ २० करोड ७२ लाख ९७ हजार ४० विनियोजन गरिएको छ ।
