रास्वपाको निर्वाचनमा ८९० प्रतिनिधिले भोट हालेनन्
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ । चितवनको भरतपुरमा उपस्थित तीन हजार ८४९ प्रतिनिधिमध्ये दुई हजार ९५९ जनाले मात्र मतदान गरेका रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
९९ केन्द्रीय सदस्य पदका निम्ति बुधबार (असार १०) राति १२ बजेपछि मतदान सुरु गरिएको थियो । उक्त मतदान सम्पन्न भइसकेको छ ।
प्रवासमा रहेका १७० जनाका निम्ति मतदान जारी छ । बिहीबार अपराह्न ४ बजेसम्म उनीहरूलाई मतदानको समय तोकिएको आयोगले जनाएको छ ।
प्रवासका १७० प्रतिनिधिले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारीका निम्ति भने बिहीबारै अपराह्न ४ बजेदेखि मतदान थालिने नेता मनिष झाले जानकारी दिए ।
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
