प्रदीप पौडेलको प्रश्न– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा किन घटेन ?

द एभरेष्ट पोष्ट
११ असार २०८३ १२:१९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतले घट्दा पनि नेपाली उपभोक्ताले महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहेको बताएका छन् ।

ठूलो मात्रामा मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद् रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आयल निगमले प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन भन्ने जस्ता बहाना देखाउने गरेको उनको भनाइ छ । “कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ,” पौडेलले भनेका छन्,  “तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ ।”

मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेको पौडेलले बताएका छन् । यसले सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लंग पारेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस