हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

द एभरेष्ट पोष्ट
५ असार २०८३ १७:१४

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए ।

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो ।

बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।

टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस