सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो ।
तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।
नेपाली कांग्रेसका सांसद् खड्कबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस् भनेर प्रस्ताव समेत राखेका थिए । यस्तो प्रस्तावलाई सभामुखले सभामा निर्णयार्थ प्रस्तुत गरे । तर स्वीकृत हुन सकेन ।
त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखिन् ।
यसलाई भने सभाले स्वीकृत गरेको छ ।
यो सँगै अब सरकारलाई सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।
