‘यो बजेट केही थान नेतालाई मोटाउने दस्तावेज हो, पास हुन दिँदैनौँ’ : खगराज भट्ट
धनगढी : सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले पत्रकार सम्मेलन गरेको छ। दलका नेता खगराज भट्टले बजेटलाई यथास्थितिमा कुनै पनि हालतमा पारित हुन नदिने अडान दोहोर्याएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले, बजेटले वास्तविक नागरिकका आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए। उनका अनुसार बजेट केही सीमित नेता तथा सरकारका आसेपासेलाई लाभ पुग्ने गरी तयार गरिएको छ।
“यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ,” उनले भने, “जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन।”
भट्टले बजेट निर्माण प्रक्रिया नै पारदर्शी नभएको आरोप लगाउँदै नीतिगत आधारभन्दा पनि ‘सुटकेस बुझेर’ र ‘होटेलका कोठामा योजना हालेर’ बजेट बनाइएको दाबी गरे।
बजेटमा सामान्य कमजोरी मात्र नभई संरचनागत समस्या रहेको उनको भनाइ थियो। “केही सानो छेद भए टालटुल गर्न सकिन्थ्यो। यो त टाल्न नसकिने गरी परेको ठूलो भ्वाङ हो। त्यसैले यो बजेटलाई पुनर्लेखन गर्नुपर्छ,” उनले भने।
उनले बजेटप्रति सत्तापक्षभित्रकै धेरै सांसद असन्तुष्ट रहेको समेत उल्लेख गरे। यद्यपि बजेट विवादकै कारण सरकार परिवर्तन हुन सक्ने विषयमा भने उनले स्पष्ट धारणा राखेनन्। कांग्रेस र एमालेका शीर्ष नेताबीच केन्द्रमा विभिन्न विषयमा छलफल भइरहे पनि सरकार परिवर्तन गर्ने विषयमा कुनै औपचारिक छलफल नभएको उनको भनाइ थियो।
भट्टले आफूहरू सरकारमा जाने अवस्था आए पनि अहिले देखिएको जस्तो असन्तुष्टि दोहोरिन नदिने दाबी गरे। साथै, कुर्सीमा टाँसिएर नबस्ने भन्दै उनले मुख्यमन्त्रीतर्फ व्यङ्ग्यसमेत गरे।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते राति आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।
