चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त
कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेका छन् । बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाएका छन्। मङ्गलबार बिहान लम्की र सुखडमा रहेको पार्टी कार्यालय पुगेर त्यहाँका उम्मदवार तथा नेतासँग क्षेत्रगत समस्याका बारेमा जानकारी लिएका हो ।
नेता शाहले लम्कीचुहा नगरपालिका भल्कामा रहेको पार्टी कार्यालयमा २ का उम्मेदवार केपी खनाल लगायत रास्वपा नेताहरुसँग केहीबेर त्यहाँको समस्याका बारेमा जानकारी लिएपछि सुखड पुगेका थिए ।
सुखड चोकममा स्वागत र अभिनन्दका लागि रास्वपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको समूह रहे पनि शाह सिधै सुखड बजारमा रहेको पार्टी कार्यालय प्रवेश गरेका थिए । पछिपछि शाहलाई हेर्न र भेट्नका लागि युवाहरुको भिड पार्टी कार्यालय पुगेको थियो ।
सुरक्षाकर्मीको सुरक्षाभित्र केहीबेर शाहले कार्यालयमा क्षेत्र नम्बर ३ का उम्मेदवार जगतप्रसाद जोशीसँग कुराकानी गरे । भेटघाट र कुराकानीका क्रममा क्षेत्र नम्बर ३ को समस्याका बारेमा उम्मेदवार जोशीले जानकारी गराएका थिए । उनले पर्यटन, कृर्षीका लागि सम्भावना बोकेको क्षेत्र भए पनि बाढी, डुबान, कटानको समस्यालगायत विषयमा जानकारी गराएको बताए ।
छोटो समय कुराकानीपछि कार्यालयबाट निस्कनु भएका शाह भिडमा नरोकिकन गाडीमा बसेका थिए । समर्थकले नाराबाजी गर्दै बजार परिक्रमापछि सबैलाई हात हल्याउदै शाह निस्किएका थिए । बिहान ७ बजे राजापुरमा भएको स्वागत कार्यक्रममा उपस्थित भएर कैलाली पुगेका उनको पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढीसम्म भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।
