‘सुदूर सधै दूर’
नयाँमा सरेको पुरानाको रोग
धनगढी, १६ पुस ।
निर्वाचन आयोगमा नयाँ दलले बुझाएको समानुपातिकको बन्द सूचिको पुन्तुरो खुलेपछि जेनजी अगुवा रक्षा बमले त्यसप्रति असहमती जनाउदै लेखिन्, ‘सुदूर सधै दूर’ ।
‘हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौँ । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’ उनी अगाडि लेख्छिन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् ।’
निर्वाचन आयोगमा बुझाईएको प्रतिनिधि सभा तर्फको समानुपातिक बन्द सूचिको पुन्तुरो खुलेपछि नयाँ भनिएका दलभित्रको विवाद सतहमा आएको छ ।
रास्वपाले ‘प्राइमरी’ भोटिङकै धज्जी उडाउँदै समानुपातिक उम्मेदवार छानेको रास्वपा नेतृ तोशिमा कार्कीको आरोप छ । उनले अहिलेका पदाधिकारी निर्वाचित व्यक्ति नभएको र प्रत्यक्षमा लड्न डराएर तिनैले आफ्नो नाम समानुपातिकको सूचिमा राखेको कार्कीको आरोप छ ।
प्राईमरी ईलेक्सनमा अग्रपंक्तिमा रहेका बिजय जैरुले बन्द सूचिमा आफ्नो नाम समावेश नभएपछि सामाजिक सञ्जालमा लेखेका छन्, जब लोकतन्त्र कागजको पानामा मात्र मुस्कुराउछ, तब जमिन रुन थाल्छ, नेपाल को जय होस ।
उनी अर्को स्टाटसमा लेख्छन्, आज मेरो पालो भोलि तपाईंको तयार भएर बस्नु होला ।
हुन्, अन्यत्रका व्यक्तिको नाम थपेर सुदूरपश्चिमको भनेर प्रचार गरिदैछ ।
डडेल्धुराका बिजय जैरुको नाम काटेर टीका संग्रौला उर्फ ज्वालाको नाम सुदूर पश्चिमबाट समावेश गरिनु दुर्भाग्यपूर्ण हो । उनी सुदूरपश्चिमकी बुहारी हुन्, यसमा दुईमत छैन् । तर उनले सुदूरपश्चिम कति बुझेकी छन् ? यो भूगोलमा उनको योगदान कति छ ? त्यो महत्वपूर्ण कुरा हो । जैरुमाथि अन्याय हुदा संग्रौलाले बक्सिस पाउनु कसरी न्यायपूर्ण मान्न सकिन्छ ?
रास्वपामा बिलय भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय सुदूरपश्चिमका हुन्, त्यसमा दुई मत छैन् । जवकी उपाध्याय स्वयमले आफ्नो ठेगाना ललितपुर उल्लेख गरेका छन् । त्यसैले उनले सुदूर पश्चिमको प्रतिनिधित्व गरेको ठहर्दैन् ।
२०७८ को जनगणना अनुसार देशको कुलजनसंख्यामा सुदूरपश्चिमको हिस्सेदारी ९.२४ प्रतिशत छ । जनसंख्याको अनुपातमा ११० जनामा कम्तिमा १० जना समानुपातिकको बन्द सूचिमा समेट्नु पर्ने हो ।
कम्तिमा नयाँ दलहरुले काठमाण्डौंलाई थाँतथलो बनाएकालाई आफ्नो बन्द सूचिमा राख्नै हुदैनथ्यो । सुदूरपश्चिम कहिल्यै नटेकेका र यहाँका समस्याका बारेमा जानकारी नभएकाहरुलाई बन्द सूचिमा राखेर यही भूगोलमा बसेर राजनीति गरिरहेका आफ्ना ईमान्दार कार्यकर्तामाथि मात्र रास्वपाले अन्याय गरेको छैन् । सुदूरपश्चिम प्रति हेर्ने उसको दृष्टिकोण पनि यो बन्द सूचिले उजागर गरिदिएको छ ।
सुदूरपश्चिम काठमाण्डौंको उपनिवेश होईन् । राज्यसत्ता सञ्चालकहरुलाई यहाँको भोट चाहिने ? यहाँका नागरिक नचाहिने ? आखिर कहिलेसम्म ?
सुदूर पश्चिम उपेक्षित भएको न यो पहिलो पटक हो । न यो पहिलो घट्ना हो । सुदूरपश्चिमलाई काठमाण्डौं वेवास्ता गरिरहन्छ । सुदूर पश्चिम मौनताको संस्कृतिमा रमाउछ ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा सुदूरपश्चिमको उपस्थिति शुन्य भयो । हुन त मन्त्रीमण्डलमा भएको कुनै अमूक व्यक्तिलाई देखाएर, तिनलाई सुदूरपश्चिमको प्रतिनिधि दावी गर्नेहरु पनि छन्, होलान् ।
आन्दोलनको बलमा बनेको सरकारमा आन्दोलनकै नेतृत्व गर्नेहरुमध्ये कसैलाई सरकारमा सहभागी गराईनुपथ्र्यो । हुन्, रक्षा बमलाई रोक्न सुधन गुरुङ र हेमराज थापाहरु लागे । सत्तासंग समन्वय गरिरहेका कसैले मामा रोजे । कसैले काका । नतिजा, सुदूरपश्चिम नील भयो । यो निल हुनुको पछाडि स्वयम जेनजी अगुवाहरु पनि जिम्मेवार छन् ।
जेनजीपछि नयाँ दलप्रति जनविश्वास बढेको थियो । पुराना दलहरु प्रति जनताको बितृष्णा छ, ती दलप्रति आशा छैन्, त्यसकारण पुरानाप्रति अव गुनासो छैन् । जेनजी आन्दोलनले सत्ताच्यूत गरेका उनीहरुको व्यवहारले भन्छ, ‘हम तो सुध्रेंगे नही’ ।
दलहरु सच्चिएनन् । सच्चिन तयार भएनन् । जेनजी त्यसैको उपज थियो, जेनजी आन्दोलन । यो दुर्भाग्य हो कि, जेनजी आन्दोलनपछि उदय भएका युवाहरु र नयाँ दलले पनि पुरानै दललाई पछ्यायो ।
विगतमा मोरङको बजेट सुदूर पश्चिमको भन्दा बढि हुन्थ्यो । हिजो काँग्रेस, एमाले, माओवादीले जे गल्ती गरे, त्यही गल्ती नयाँ दलले पनि गर्ने हो भने नयाँ र पुरानाबीच के अन्तर रह्यो ?
समानुपातिक व्यवस्था जुन सोच र अवधारणामा ल्याईयो, त्यसको ठिक विपरित यसको कार्यान्वयन भयो । बिगतमा पनि । अहिले पनि ।
धन हुनेहरु । चन्दा दिनेहरु । पहूँच हुनेहरु । शक्तिकेन्द्रलाई रिझ्याउन सक्नेहरु । र, नेतृत्वकर्ताका आफन्तहरु । समानुपातिक प्रणालीको मापदण्डका आधार यिनै बने । नयाँहरुले पनि त्यही मापदण्ड अनुशरण गरे । बन्द सूचिमा समेटिएका नामहरु त्यसैको उदाहरण हो । कनयाँबाट कम्तिमा यस्तो अपेक्षा गरिएको थिएन् ।
नयाँ दलले समानुपातिक सूचिमा गरेको त्रुटी सच्याउनु पर्छ । यसैमा उसको हीत छ । हिजो परम्परागत दलहरुले सुदूरपश्चिममाथि गरेको व्यवहारलाई नयाँले निरन्तरता दिने हुन्, किन चाहिए नयाँ ?
११० जनामा चितवनबाट २१ मोरङबाट १५ गण्डकीबाट १०, सुनसरीबाट ९ जना समेटिदा सुदूरपश्चिमबाट दुई जनामात्र बन्द सूचिमा परेका छन् ।
सामाजिक सञ्जालमा मनोज बिष्ट लेख्छन्, यो भाग्य होइन, यो बेवास्ताको निरन्तरता हो। अब प्रश्न एउटै छ—हामी अझै कति समय नक्सामा मात्रै नेपाल हुने ?
जनसंख्याको अनुपातमा ११० जनामा सुदूरपश्चिमबाट कम्तिमा १० जना समानुपातिकको बन्द सूचिमा समेट्नु पर्ने होईन, सुशासनबीज्ञ तथा अर्थवीद डा. अंगराज तिमिल्सेना रास्वपालाई प्रश्न गर्छन् ।
