कञ्चनपुरका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दै

द एभरेष्ट पोष्ट
२१ पुष २०८२ १३:३३
कञ्चनपुरका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दै

कञ्चनपुर। कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा बस्ती प्रवेश गरेको एउटा दन्ते हात्तीले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् । जङ्गली हात्तीले बेलडाँडीस्थित झिलमिला, इमिलियालगायत क्षेत्रमा स्थानीय आजित बनेका छन् ।

आइतबार बिहान ४ बजे सो दन्ते हात्तीले बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरी, नेपाली गिरी र बिरजनी गिरीको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याएको छ । रातको समयमा घरमा क्षति पु¥याउँदा परिवारका सदस्य भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

जङ्गली हात्तीले दुईकोठे कच्ची घर भत्काउनुका साथै पाँच कट्ठा जमिनमा लगाइएको उखु, पाँच कट्ठामा लगाइएको गहुँ र तोरी नष्ट गरेको स्थानीय कमल गिरीले बताउनुभयो । जङ्गली हात्तीले घर भत्काएपछि घरमा बस्दै आएका चार सदस्य बिचल्लीमा परेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले जङ्गली हात्तीले स्थानीयको घर भत्काएपछि चिसोमा झनै सास्ती बेहोर्नु परेको बताए ।

यसै गरी जङ्गली हात्तीले स्थानीय नेपाली गिरीको दुईकोठे कच्ची घर भत्काउँदै घरभित्र राखिएको चामल, धान, गहुँ, पिठोसमेत खाएर नष्ट गरेको वडाध्यक्ष खड्काले बताए । अब घरमा खाने अन्नसमेत नभएको स्थानीय गिरीले गुनासो गरे ।

यसै गरी स्थानीय वीरजनी गिरीले जङ्गली हात्ती घरमा पसेर एककोठे कच्ची भान्साघर भत्काई अन्नपात खाएर नष्ट गरेको उनले बताए । जङ्गली हात्तीलाई बस्तीबाट टाढा लान उनले सम्बन्धित निकायलाई आग्रहसमेत गरे । अर्कोतिर ऐलानी जमिनमा बस्दै आएका स्थानीय सरकारले क्षतिपूर्तिसमेत उपलब्ध नगराउँदा आजित बनेका छन् ।

“घरमा भएको सबै खाद्यान्न, अन्नबाली हात्तीले नष्ट गरिदियो,” स्थानीय नेपाली गिरीले भन्नुभयो, “ऐलानी जमिन भएका कारण निकुञ्जले क्षतिपूर्ति दिन मान्दैन ।” हात्तीले १० कट्ठामा लगाएको उखु सात दिनपहिले पूर्ण रूपमा सखाप पारेको बेलडाँडीका स्थानीय शेरबहादुर थापाले दुःखेसो पोखे । हात्तीको बथानबाट छुटेको एक दन्ते हात्तीले बस्तीमा आतङ्क मच्चाउन थालेपछि जनप्रतिनिधि र स्थानीयबिच आइतबार छलफल भएको छ ।

वडाध्यक्ष खड्काले हात्तीबाट बस्ती र बालीनाली जोगाउन स्थानीयबिच छलफल भएको बताउनुभयो । राति पालो लगाएर गस्ती गर्ने सहमति भएको उनले बताए । यसै गरी दन्ते हात्तीलाई बस्तीबाट टाढा लैजान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई पनि आग्रह गरिएको वडाध्यक्ष खत्रीले बताए ।

दन्ते हात्ती बस्तीमा घुमिरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । पुस १६ गते राति अचानक गाउँ छिरेका हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका–१९, बागफाँटाका स्थानीय छक्कु डगौरा घाइते हुनुभएको थियो । टाउको, अनुहार र छातीमा चोट लागी गम्भीर घाइते भएका डगौराको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यसै गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती बस्तीमा प्रवेश गरे नधपाउन र क्षति पुग्न गए विवरणसहित कार्यालयमा पठाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस