घोडाघोडी सिमसारमा जलपन्क्षी गणना शुरु
कैलाली । जैविक विविधताको खानी मानिने नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड स्याङ्क्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा आजदेखि जलपन्क्षी गणना शुरु भएको छ। चरा संरक्षण नेटवर्क कैलालीको टोलीले पुस २१ गतेसम्म चराहरूको अध्ययन, अवलोकन र गणना गर्ने कार्यलाई अगाडि बढाएको छ।
घट्दो सङ्ख्या र चुनौती घोडाघोडी क्षेत्रमा विगतमा करिब २,२०० को हाराहारीमा जलपन्क्षी पाइने गरेकामा गत वर्ष यो सङ्ख्या घटेर १,१०० मा सीमित भएको तथ्याङ्क छ। विशेष गरी घोडाघोडीको सूचक प्रजातिका रूपमा चिनिने ‘हरिहाँस’ को सङ्ख्यामा आएको गिरावटले संरक्षणकर्मीहरूलाई चिन्तित तुल्याएको छ। बासस्थान असुरक्षित हुनु, आहाराको कमी र चोरी सिकारी जस्ता कारणले चराको सङ्ख्या घट्दै गएको नेटवर्कका सचिव राम कुमार र घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए।
संरक्षणको आवश्यकता डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले घोडाघोडीलाई प्राकृतिक सम्पत्तिका रूपमा जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले पनि वर्ड स्याङ्क्चुरीको घोषणालाई कागजमा मात्र सीमित नराखी चराहरूको बासस्थान जोगाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
नेपालकै तराई क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक तालका रूपमा रहेको घोडाघोडी क्षेत्रमा सानो-ठूला गरी २४ वटा तालहरू छन्। यहाँ रैथाने र आगन्तुक गरी कुल ३८१ प्रजातिका चराहरू पाइने गरेका छन्। सन् २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले यसलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो।
