हिमशिखर सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न
धनगढी– कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उदघाटनसत्रमा संस्थाका शेयर सदस्य, कर्मचारी, ऋणी तथा सहकारीसँग आबद्ध विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सभाको औपचारिक उद्घाटन गर्दै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले स्थापना कालदेखि हालसम्म हासिल गरेको उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए । अध्यक्ष भण्डारीले सहकारीको दिगो विकास, सदस्यको हित संरक्षण तथा पारदर्शी वित्तीय व्यवस्थापनमा संस्था प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सेवाको दायरा थप विस्तार गरिने बताए ।
त्यसैगरी, संस्थाका व्यवस्थापक महेन्द्र शाहीले संक्षिप्त विवरणसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कुल सम्पत्ति रु. ७५ करोड २८ लाख ५३ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा रु. १३ करोड १८ लाख २६ हजारले वृद्धि भई रु. ८८ करोड ४६ लाख ८० हजार पुगेको जानकारी दिए । कुल सम्पत्तिमा भएको उल्लेखनीय वृद्धिले संस्थाको वित्तीय अवस्था सुदृढ बन्दै गएको स्पष्ट हुने उनले बताए ।
व्यवस्थापक शाहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको शेयर पुँजी रु. ४ करोड २ लाख २१ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि भई रु. ४ करोड ६६ लाख ३४ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर पुँजीमा १५.९५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले सदस्यहरूको सहकारीप्रतिको विश्वास बढ्दै गएको बताए ।
त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको कुल बचत निक्षेप रु. ५० करोड २३ लाख ५९ हजार रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा वृद्धि भई रु. ६१ करोड ९० लाख २५ हजार पुगेको जानकारी पनि प्रतिवेदनमा समेटिएको थियो । बचत संकलनमा भएको यो वृद्धिले संस्थाको वित्तीय स्थायित्व मजबुत बनेको व्यवस्थापक शाहीले बताए । साथै, आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल आम्दानी रु. ३ करोड ९५ लाख ३२ हजार रहेको उल्लेख गर्दै उनले आय–व्यय व्यवस्थापन सन्तुलित रूपमा अघि बढिरहेको बताए ।
आर्थिक वर्ष २०८१/८२ को मसान्तसम्म संस्थाको नगद तथा बैंक मौज्दात रु. १५ करोड ३० लाख २० हजार पुगेको र संस्थामा २४.७२ प्रतिशत तरलता कायम रहेको जानकारी पनि उद्घाटनसत्रमा दिइयो । यो तरलता दरले संस्थाको वित्तीय जोखिम व्यवस्थापन सन्तोषजनक रहेको देखाउने व्यवस्थापक शाहीले बताए ।
कार्यक्रममा लेखा समिति सदस्य खेमराज अवस्थीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदनमार्फत संस्थाको वित्तीय कारोबार, आन्तरिक नियन्त्रण प्रणाली तथा लेखा परीक्षण प्रक्रियाबारे जानकारी गराउँदै आगामी दिनमा थप सुधारका सुझावहरू प्रस्तुत गरेका थिए ।
साधारण सभामा सहकारीले संस्थामा कार्यरत कर्मचारी, शेयरधनी, समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएकोे थियो । साधारणसभाको उद्घाटनसत्रको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए । कार्यक्रममा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी, शेयर सदस्य, ऋणी तथा संस्थासँग आबद्ध विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
