भारतले दियो नेपाल, भुटान र बंगलादेशलाई सिधै कोइला किन्ने अनुमति

एजेन्सी । भारत सरकारको स्वामित्वमा रहेको कोल इन्डिया लिमिटेड (सीआईएल) ले शुक्रबार छिमेकी राष्ट्रहरू नेपाल, बंगलादेश र भुटानका खरीदकर्ताहरूले अब भारतीय बिचौलियाहरूलाई पन्छाएर प्रत्यक्ष रूपमा अनलाइन कोइला लिलामीमा सहभागी हुन सक्ने बताएको छ ।

यस कदमले भारतमा अतिरिक्त कोइला स्रोतहरूको राम्रो उपयोग गर्न र पारदर्शिता प्रवर्धन गर्न मद्दत गर्नेछ ।

यसअघि, सीमापारका उपभोक्ताहरूको सीआईएलको सुख्खा इन्धनमा पहुँच स्वदेशी कोइला व्यापारीहरूमार्फत मात्र सम्भव थियो । त्यसलाई कुनै पनि अन्तिम प्रयोग सम्बन्धी प्रतिबन्ध बिना खरिद र बिक्री गर्न अनुमति दिइएको थियो ।

‘पहिलोपटक १ जनवरी २०२६ देखि लागू हुने गरी सीआईएलले भारतबाट कोइला आयात गर्न चाहने बंगलादेश, भुटान र नेपाल जस्ता छिमेकी देशहरूमा रहेका कोइला उपभोक्ताहरूलाई कम्पनीद्वारा सञ्चालित सिंगल विन्डो मोड एग्नोस्टिक लिलामीमा प्रत्यक्ष सहभागी हुन अनुमति दिएको छ,’ सीआईएलले एक विज्ञप्तिमा भनेको छ ।

एसडब्ल्यूएमए लिलामी सन् २०२२ मा सुरु गरिएको एकीकृत र सरलीकृत ई–लिलामी प्रणाली हो । यसले विद्यमान धेरै लिलामी विन्डोहरू (स्पट, विशेष स्पट, फरवार्ड) लाई एउटै प्लेटफर्ममा प्रतिस्थापन गरी सबै खरीदकर्ताहरूका लागि कोइला खरिद प्रक्रियालाई सजिलो, पारदर्शी र बजार–निर्देशित बनाएको छ ।

सीआईएल बोर्डले हालै यस कदमका लागि बाटो प्रशस्त गरेको छ र एसडब्ल्यूएमए लिलामीको योजनाको संयन्त्रमा केही परिमार्जन गरेको छ ।

‘विदेशी खरीदकर्ताहरूका लागि एसडब्ल्यूएमए ई–लिलामी खोल्नुले स्वदेशी कोइला आवश्यकताहरूलाई पूर्ण रूपमा सुरक्षित राख्दै बजार विस्तार गर्ने सीआईएलको सन्तुलित दृष्टिकोणलाई झल्काउँछ । यस कदमले पारदर्शिता, प्रतिस्पर्धा र विश्वव्यापी बजार एकीकरणलाई बढावा दिन्छ,’ कम्पनीका एक वरिष्ठ अधिकारीले भने ।

संशोधित ढाँचा अन्तर्गत अब विदेशी खरीदकर्ताहरूले एसडब्ल्यूएमए लिलामीमा स्वदेशी खरीदकर्ताहरूसँगै सहभागी हुन सक्नेछन् ।

अद्यावधिक गरिएको योजनामा सबै सञ्चालन र प्रक्रियागत मोडालिटीहरू समावेश गरिएको छ । त्यसमा विदेशी खरीदकर्ताहरूका लागि एकपटकको दर्ता, डिजिटल बोलपत्र, अग्रिम इलेक्ट्रोनिक भुक्तानी र अधिसूचित रसद च्यानलहरू मार्फत निर्यात जस्ता मुख्य प्रावधानहरू रहेका छन् ।

विदेशी मुद्रा व्यवस्थापन ऐनको नियम अनुसार भुक्तानी प्रक्रिया पारदर्शी हुनेछ जसमा नेपालका खरीदकर्ताहरूलाई भारतीय रुपैयाँ वा अमेरिकी डलरमा भुक्तानी गर्न अनुमति दिइनेछ । अन्य दुई देशका खरीदकर्ताहरूले भारतीय रुपैयाँमा मूल्यांकन गरिएको अमेरिकी डलरमा भुक्तानी गर्नुपर्नेछ ।

यसअघि, सीआईएलले सहज बनाउने बुँदाहरू तयार पार्न र उनीहरूको आवश्यकताहरू मूल्यांकन गर्न सम्भावित विदेशी कोइला उपभोक्ताहरूसँग छलफल गरेको थियो ।

 

गगन-विश्वले भने- ‘पार्टी विभाजनतिर लाग्दैनौँ’

काठमाडौँ- नेपाली काँग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवा लगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्।

महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले संयुक्त रूपमा भेटेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन्।

उनले भनिन्, ‘हामीले सभापतिलगत्तै महामन्त्रीहरूलाई भेट्यौँ। सहमतिमै पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग कुरा राखेका छौँ। उहाँहरू निकासको लागि सकारात्मक हुनुहुन्छ।’

उनले महामन्त्रीहरूले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै त्यो बाटोमा नलाग्ने सन्देश दिएको सुनाइन्।

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

काठमाडौं ।  भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले बतायो।

भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो। भीड अनियन्त्रित भइसक्दा देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा थिए। सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेको थियो। त्यसक्रममा प्रदर्शनकारीले देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो।

त्यसैगरी प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए। सेनाले उनलाई पनि उद्धार गरेको थियो। दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो।    आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने तयारी गरिरहेको छ। बयानका लागि आयोगले पत्र लेख्ने तयारी छ। ओलीले आफू बयान लिन नआउने बताउँदै आएका छन्।

यसबीचमा आयोगका पदाधिकारी स्वयम् उपस्थित भएर पनि उनको बयान लिनसक्ने स्रोतले बतायो। तर कहिले बयान लिने भन्ने यकिन भने भइसकेको छैन। यसरी आयोगले यस घटनासँग सम्बन्धित एक सय ५० भन्दा बढी मानिसँग बयान र घटना विवरण कागज गराएको छ।

आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो। त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिएको छ।

बैतडीको मेलौली नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्दै

बैतडी: बैतडीको मेलौली नगरपालिकाले वडामा पुगेर योजनाको सम्झौता गर्ने कार्य शुरु गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार नगरपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत गरिने योजनाहहरुको वडामै पुगेर सम्झौता गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताए । गाउँपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेपछि उपभोक्ताहरुलाई पनि सहज भएको छ ।

नगरपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।  पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्ने गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर पालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।

९ वटा वडा रहेको पालिकामा वडा नम्बर ४ बाट योजना सम्झौता गर्ने कार्य शुरु गरिएको मेलौली नगरपालिकाले जनाएको छ । योजनाहरुको सम्झौताका लागि नगरपालिका धाउँदा उपभोक्ताहरुलाई अप्ठ्यारो हुने भएकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए ।

वडामा पुगेर योजनाको सम्झौता गर्नुका साथै उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाका बिषयमा अभिमुखीकरण दिने कार्य समेत भइरहेको छ ।

इरानमा पनि चर्कियो जेन जी विद्रोह, सर्वोच्च नेता खामेनेईविरुद्ध युवा सडकमा

काठमाण्डु – बढ्दो मुद्रास्फीतिविरुद्ध इरानका धेरै सहरहरूमा प्रदर्शन भएको छ । प्रदर्शन पाँचौं दिन शुक्रबार पनि जारी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। लोरेस्तान प्रान्तको कुहदास्ट सहरमा बिहीबार भएको विरोध प्रदर्शनको क्रममा आगजनी भएको छ ।

बीबीसी फारसी सेवाका अनुसार तस्बिरमा कुहदास्ट सहरको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो बालेको देखाइएको छ।

प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।

इरानी मिडियाका अनुसार यी विरोध प्रदर्शनहरूको क्रममा प्रहरी मुख्यालयमा आक्रमण भएको थियो। अहिलेसम्म यस प्रदर्शनमा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।

प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र गोली प्रयोग गरेको हो। जेन जी युवाहरू र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले पनि हडतालमा जोडिएर प्रदर्शनलाई बल पुर्‍याएका छन्।

यी प्रदर्शनहरू इरानमा मृत्युदण्डको प्रयोग ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको एक वर्षपछि भएका हुन्।

सन् २०२५ मा इरानमा १,५०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको छ, जुन सन् १९८९ पछिकै सबैभन्दा उच्च संख्या हो। मानवअधिकार समूहहरूका अनुसार इरानी अधिकारीहरूले जनतामा डर फैलाउन र असहमति दबाउन मृत्युदण्डलाई औजारका रूपमा प्रयोग गरेका छन्।

 

कटानको उच्च जोखिममा बडीमालिकाको बिरेखोला बस्ती

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको बिरेखोला बस्ती बुढीगङ्गाखोला कटानको जोखिममा पर्दै आएको छ।

२०७७ साउन २८ गते बुढीगङ्गाखोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि बिरेखोला बस्ती कटानको जोखिममा रहँदै आएको हो। यहाँ ४० घरपरिवारले विगत लामो समयदेखि बसोवास गर्दै आएका छन्। पहिला यो खोलाले केही कटान नगरेको र अहिले कटान गर्दै आएकाले यहाँका ती घरपरिवार बर्खाको समय सधैँ चिन्तित बन्ने गरेका छन्।

यहाँका ४० घरपरिवार खड्का र साउदको बसोवास छ। तीमध्ये अने साउद, लालसिग साउद, विक्रम साउद, दाने साउद, लालबहादुर खड्का, प्रभते खड्का र बिर्ख खड्काको परिवार उज्च जोखिममा रहेको छ। पहिला यस खोलाले कटान गर्दैनथ्यो। २०७७ मा यस खोलामा आएको बाढीले वारिपारि कटान गरेसँगै अहिले यो बस्ती खोला कटानको जोखिममा पर्दै आएको लालबहादुर खड्काले बताए।

यो बस्ती जोगाउनका लागि १० लाखको ग्याबिन राखे तर २०७७ मा आएको बाढीले त्यो ग्याबिन बगाइदिएपछि अहिले त्यो पूरै बस्ती जोखिममा परेको बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बताए।

निर्वाचन सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ। निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ। सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ। हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ।

ट्रक तथा कन्टेनर भाडामा दिनेले एक करोड र कुरियर सेवाका लागि ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ। कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ। एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ।

सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ।

गायिका सम्झना पाण्डेको ‘तिम्रो बारे’ गीतको म्युजिक भिडियो सार्वजनिक

कोलोराडो, १ जनवरी ।
गायिका सम्झना पाण्डेको ‘तिम्रो बारे’ गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ ।

अमेरिकाको कोलोराडोमा नर्सिङसंगै गायन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो अफिसियल युट्युव मार्फत नयाँ गीतको म्युजिक नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरेकी हुन् । यो गीतमा गायक प्रताप दासले उनलाई साथ दिएका छन् ।

गीतमा एउटा प्रेमिल जोडीको कथा छ । प्रिय मान्छेको साथ जीवनमा कति महत्व राख्छ, गीतमा उसको महत्व बखान गरिएको  छ ।

कसैको अनुपस्थितिमा भीडमा एक्लो लाग्ने अवस्था नै त प्रेम हो । त्यसैले प्रेमी भन्छन्, तिम्रो बारे सोच्छु जब संसार बेग्लै लाग्छ, हुन्नौ जब भीडमै पनि आफू एक्लो लाग्छ ।

प्रेमिका यति भनेपछि मख्ख । प्रेमिका के कम । फुरुङ्ग हुदै भन्छिन्, तिम्रो साथ पाउदा ममा उमंग थपिन्छ, माग्नु पर्ने, पाउनु पर्ने कुरा नै सकिन्छ ।

आफूले रोजेको अनि खोजेको प्रियजन साथमा भए संसार बेग्लै लाग्ने भयो नै । त्यसपछि माग्नु र पाउनु पर्ने कुरा नै बाँकी रहने कुरा नै भएन् । आखिर सर्वस्व साथमा जो छ ।

र, स्वरमा स्वर मिलाएर दुबै भन्छन्, तिमी बिनाको जीतमा पनि हार भेटाउछु ।

गीतकार डीपी खनालको मिठो गीतलाई पाण्डेको सुरिलो स्वरले स्वरले कर्णप्रीय बनाएको छ । प्रतापले जसमा थपेका छन्, सुगन्ध । कल्याण सिंहको मधुर संगीतले संगीतका पारखीहरुलाई गीतको अन्तिमसम्म डो¥याईरहन्छ ।

प्रदीप जोशीको मिक्सिङ/मास्टरिङ अब्बल छ । म्युजिक भिडियोमा प्रियंका कार्की र विकास लामिछानेको अभिनय उत्कृष्ट छ ।
प्रिया कार्कीले श्रृङ्गारमा साथ दिएकी छन् । पोशाकमा आशिम रानाभाटको योगदान छ ।

म्युजिक भिडियोको नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । जसको निर्देशक राजेश पुमा राई हुन् ।

डेढ महिनाको अन्तरालमा मनिषको दोस्रो गीत ‘को हौ तिमी’ बजारमा

कोलोराडो, १ जनवरी ।

डेढ महिनाको अन्तरालमा गायक मनिष विश्वकर्माको दोस्रो गीत बजारमा आएको छ ।

‘बन्दीपुर बजारमा’ बोलको गीत सार्वजनिक गरेको डेढ महिनापछि मनिषले दोस्रो गीत ‘को हौ तिमी’ बुधवार सार्वजनिक गरेका हुन् । उनले आफ्नो अफिसियल युट्युव च्यानलमार्फत यो गीत बुधवार सार्वजनिक गरेका हुन् ।

मनिषको जीवनको सहयात्री रविना घिमिरे विश्वकर्माले म्युजिक भिडियोको निर्माण गरेकी हुन् । मनिषको शब्द, स्वर र लय
रहेको गीतमा संगीतकार राजन भक्त श्रेष्ठले संगीत भरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङको भूमिका पनि श्रेष्ठले निर्वाह गरेका हुन् ।

मनिषको यो दोस्रो गीत पनि मिस्टिक भाइब्स रेकर्डस् थ्रोन्टन कोलोराडोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन गरेका सुमन महराले अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई आरती खड्गीले साथ दिएकी छन् ।

विक्की पटेल सह नृत्य निर्देशक रहेको भिडियोको छायांकन सुरज महर्जनले गरेका हुन् । उनलाई क्यामेरामा रोहित महर्जन र लुजा महर्जनले साथ दिएकी छन् । सुशील उप्रेती म्युजिक भिडियोको परियोजना सुपरिवेक्षक हुन् । जसको रंग संयोजन संजीव रत्न शाक्य र सम्पादन माइन्डस्क्रिन फिल्म्सका सुमन श्रेष्ठले गरेका हुन् ।

मनिषले सुन्दर युवतीको एकोहोरो प्रेममा परेका युवकको कथालाई गीतमा समेटेका छन् । निकै प्रयत्नपछि युवक ती युवतीलाई फकाउन सफल हुन्छन् । गीत युवकको सफल प्रेम कथामा आधारित छ ।

मनिषले गीत तथा म्युजिक भिडियो निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले म्युजिक भिडियो हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह गरे ।

सत्यनारायण साफीलाई एमबीबीएस पढ्न पाँच वर्षसम्म मासिक १० हजार सहयोग

सिरहा : उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारदाले बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीलाई पढाई अवधिभर एमबीबीएस पढ्न मासिक १० हजार दिने भएका छन्।

आज बिहानै साफीको घरमै पत्नी सीमा शारदा र साथीहरूसहित पुगेर सहयोग गर्ने जनाएका थिए। उनले सम्झौतापत्र नै बनाएर हस्तान्तरण गरेका छन्। यसरी उनको पढाइका लागि व्यक्तिगत रूपमा सहयोग गर्नेहरू ठूलो सहयोग हो। पाँच वर्षमा ६ लाख सहयोग पुग्नेछ।

‘आफूहरूले पहिले बहिनीलाई डाक्टर बनाउन पढाउने इच्छा थियो। त्यतिबेला आर्थिक अवस्था कमजोर भएर पढाउन सकिएन,’ अध्यक्ष शारदाले भने, ‘साफीले मधेसी दलित कोटाबाट मजदुरी गरेरै पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि अहिले सहयोग गरेका छौँ।’

यसैगरी जिल्ला उद्योग वाणिज्य संघकै निर्वाचनका लागि उम्मेदवारी दिएका प्रदीप कुमार गुप्ताले आफ्नो प्यानलबाट २५ हजार र वाणिज्य संघकै वरिष्ठ उपाध्यक्ष सत्रुधन चौधरीले २५ हजार सहयोग गरेका छन्।

घरमै अध्ययन गरेर साफीले एमबीबीएस पढ्न नाम निकालेका हुन्। होस्टल, कापी/किताब, पोशाक, परीक्षा शुल्क लगायत खर्चका लागि अहिले चौतर्फी सहयोग जुटिरहेको छ।

पूर्व गृहमन्त्री लेखकमाथिको विदेश भ्रमण र स्थान हद फुकुवा

काठमाडौं- पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो ।

आयाेगले भदाै २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेकाे थियाे ।

उक्त निर्णय उपर लेखककाे बयान सकिएकाले  विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने   निर्णय भएकाे आयाेगले जनाएकाे छ ।

आयाेगले  लेखककाे  भ्रमण र स्थानहद फुकुवा गरेकाे निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा  जानकारी गराएकाे छ । भदाै २३ गतेको घटना हुँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेकाले घटनाकाे छानविन गर्न आयाेगले उनकाे बयान लिएकाे थियाे ।

नयाँ वर्षको स्वागत गर्ने क्रममा क्रान्स मोन्टानामा बारमा आगलागी, लगभग ४० जना को मृत्यु

काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा स्वीस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् ।

दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ ।

प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी शुरू भएको थियो ।

भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।

क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

लाथिओनले भने, “अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नोफ्लाई जोन लागू गरिएको छ ।”

घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् । -एजेन्सी

 

सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

कैलाली- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्।

विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

उनका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२९ मतदाता थिए।

प्रदेशभरी एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले जानकारी दिए।

उनका अनुसार यस प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेका छन्।

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि लागू

काठमाण्डाै- अध्यागमन विभागको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । विभागले गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थितिमा एक कार्यक्रम गरि प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिकलाई अध्यागमन कानून विपरीतका गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको जानकारी गराउनुभयो ।

यसले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विभागको दाबी छ ।

यसबाट नेपाल भित्रिएका विदेशी नागरिक बसेको, उनीहरू कुन ठाउँमा रहेको, भिसा कानून अनुसार भए/नभएको लगायत जानकारी प्रणाालीमा आबद्ध संस्थाले विभागलाई प्रणाालीबाटै दिनुपर्ने छ । यस प्रणालीबाट पर्यटक नफर्केसम्म आवश्यक परेको बेला उनीहरू कहाँ छन् भन्ने जानकारी लिन सकिनेछ ।

विभागका अनुसार पहिलो चरणमा काठमाण्डाै उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनी एक्स्चेन्ज लगायतमा यो प्रणाली लागू भएको छ । दोस्रो चरणमा उपत्यकाबाहिरका होटल, ट्राभल एजेन्सी लगायतमा लागू गर्ने तयारी रहेको विभागले जनाएको छ ।

ओलीलाई बयानका लागि पत्र काट्दैछौं, नआए त्यतिबेलै कुरा हुन्छ : जाँचबुझ आयोग

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

‘ओलीलाई बोलाउने क्रममा छौं,’ कार्कीले भने ।

आयोगले बोलाउदा ओली उपस्थित नभए के गर्नुहुन्छ ? भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए ।

सो क्रममा कार्कीले जवाफमा भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’

उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ । बयान सकिएलगत्तै आयोगले लेखकमाथि लगाएको स्थान हद पनि फुकुवा गर्ने तयारी गरेको छ ।

साथै, कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे ।

‘एक महिनाको म्याद थपिएको छ । त्यही म्यादभित्र हामी प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् ।

उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् ।

प्रसाईं समूहले राखेका मागबारे छप छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।

यसअघि पनि भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि सो समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो ।

एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

काठमाण्डाै- नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२५ र तेस्रो सेट २५–१८ ले जित्यो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले जित्यो ।

पुरुषतर्फकै तेस्रो क्वाटरफाइनलमा आजै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र नेपाल एपीएफ क्लब तथा चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।

प्रतियाेगितामा महिला र पुरुष दुवैतर्फका सेमिफाइनल भोलि तथा फाइनल पर्सि हुनेछ ।

स्थानीय सेवा पहिलो संशोधन विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबल

कैलाली। सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ ।

आज बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरासिंह सार्कीले संशोधन विधेयक टेबुल गरेका  हुन् । गत असारमा मात्रै प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन निर्माण गरेको थियो ।

यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन २०८२ सभाबाट सर्वसम्मतले स्वीकृत गरिएको छ । समितिको सभापति अक्कलबहादुर रावलको प्रस्तावमा प्रतिवेदनलाई सर्वसम्मतले स्वीकृत गरिएको हो ।

प्रदेशसभा बैठकमा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको थियोे । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले दलित समुदायमाथि हुने सबै प्रकारको विभेदको अन्त्यगरी सशक्तीकरण गर्ने उद्देश्यले विधेयक आएको उल्लेख गर्दै चाँडै पारित गर्नका लागि आग्रह गरे ।

त्यस्तै, लक्ष्मी विकले चार वर्ष अगाडि बनेको दलित सशक्तीकरण ऐन कार्यान्वयनमै नआई संशोधन हुन लागेको बताए । उनले संवैधानिक प्रावधानको कार्यान्वयन नहुनेगरी संशोधन विधेयक आएको भन्दै त्यस्ता विषयलाई हटाउनु पर्नेमा जोड दिए ।

छलफलमा उठेको विषयमा सामाजिक विकासमन्त्री मेघराज खड्काले जवाफ दिएका थिए । त्यसक्रममा उनले केही अस्पष्टता र कानुनी समस्या हटाइ छिटो कार्यान्वयनका लागि संशोधन विधेयक ल्याएको बताए ।

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठ्माण्डौ- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ। पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए/नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए। उनले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिए।

आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन्। सूचीअनुसार औसतप्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ। यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ। यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ।

आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएका थिए पनि बन्दसूची पेस गर्ने ६४ दल मात्रै भएका छन्। आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिनेछ। यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए।

आयोगमा यो प्रणालीको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन्।

सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्यान गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त

काठमाण्डाै- सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै ज्यान गएको थियो ।

सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरी/तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाको दाबी छ । तर स्थानीयवासीले भने प्रहरीले रोकेर सोधपुछका क्रममा गोली चलाएको आरोप लगाएका छन् ।

सशस्त्र प्रहरीले शाहको हत्या गरेको भन्दै आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लौकही बजारमा मृतक साहको शव राखेर उनीहरूले सडक अवरुद्ध गरेका छन् ।

स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भीड तितरबितर पार्न हवाई फायर गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयवासीको माग छ ।

 

 राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया आजदेखि सुरु

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आजको कार्यतालिका मतदाता नामावली प्रकाशन गर्नेछ ।

पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

यसरी परेको निवेदन तथा उजुरीमाथी पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ ।

यसपटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

इस्वी संवतको नयाँ वर्ष २०२६ को स्वागतमा देशका विभिन्न ठाउँमा कार्यक्रम

काठमाण्डौ- इस्वी संवतको नयाँ वर्ष सन् २०२६ को स्वागतमा देशका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । प्रमुख पर्यटकीय ठाउँ तथा मुख्य शहरहरुमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ ।

विषेशगरी काठमाण्डौको ठमेल, भक्तपुरको नगरकोट, कास्कीको पोखरा, चितवनको सौराहा, सुनसरीको धरान, मोरङको विराटनगर, कैलालीको धनगढी, तनहुँको बन्दीपुरलगायत शहरहरुमा हर्सोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

घुम्न आएका बाह्य पर्यटक पनि नयाँ वर्षका विभिन्न सांंगीतिक कार्यक्रममा रमाएका छन् । विषेशगरी युवा पुस्तामा यसको प्रभाव बढी देखिन्छ । पर्यटकीय क्षेत्रका शहरहरुका होटल भरिभराउ भएका छन् ।

येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।

१३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

काठमाण्डौ- विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् ।

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्नेछ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् ।  महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ ।

यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । साथै  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा विधेयक टेबुल

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बुधवारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उक्त विधेयक टेबुल गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैठौँ वार्षिक प्रतिवेदन २०८१, सातौँ वार्षिक प्रतिवदेन २०८२, प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन र मुख्य न्यायधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

प्रदेशसभा, सार्वजनिक लेखासमितिका सभापति अक्कलबहादुर रावलले समितिको तेस्रो वार्षिक प्रतिवेदन पेस गरे। बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्तुत महालेखा परीक्षकको पहिलो, छैठौँं र सातौँ प्रतिवेदन उपर अध्ययन एवं छलफलका लागि सार्वजनिक लेखा समितिमा र प्रदेश लोकसेवा आयोगको प्रतिवेदन तथा मुख्य न्यायधिवक्ताको प्रतिवेदन अध्ययनका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइने जानकारी गराए।

यसअघि बैठकको शून्य समयमा भाग लिँदै प्रदेशसभा सदस्यहरू गीतादेवी माल, डम्मरी महरा, मानबहादुर धामी, रामेश्वर चौधरी, लक्ष्मी विक, शिवसिंह ओली र नरेशकुमार शाहीले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका थिए। जेनजी आन्दोलनमा क्षति पुगेको प्रदेशसभा भवनको मर्मत पूरा भएपछि बुधवार बैठक सुचारु भएको हो। प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो।

खोज्नुहोस