विशेष महाधिवेशन रोकिन्न : थापा–शर्मा पक्ष
काठमाडौं । १५औँ महाधिवेशन वैशाखमा सार्ने कार्यसम्पादन समिति बैठकको निर्णयमा असहमति जनाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुसभित्रै विशेष महाधिवेशन गर्ने अडान र गृहकार्यमा छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमितिले स्वीकार गरेर विशेष महाधिवेशन बोलाउनुपर्ने अन्यथा विधानत: केन्द्रको तर्फबाट आफूहरूले विशेष अधिवेशन आह्वान गर्ने महामन्त्रीद्वयको तयारी छ । स्रोतका अनुसार थापा र शर्माले नेतृत्वलाई दुई दिनको समय दिएका छन् । त्यसबिचमा विशेष महाधिवेशनबारे निर्णय नभए महामन्त्रीले नै विशेष महाधिवेशनको आह्वान गर्ने तयारी छ । त्यस्तो अवस्थामा कार्यविधि विशेष महाधिवेशनले नै बनाउने तथा खाने–बस्ने व्यवस्था आयोजकले व्यहोर्ने गरी तयारी भइरहेको छ ।
थापानिकट केन्द्रीय सदस्य प्रतिमा गौतमले अगाडि बढेको विशेष महाधिवेशन प्रक्रिया नरोकिने बताइन् । ‘विशेष महाधिवेशन अघि बढ्यो, अब यो रोकिन्न । यसलाई केन्द्रीय समितिले स्वीकारेर जान सक्छ । यस्तो अवस्थामा सबैको जित हुन्छ । विधानत: विशेष महाधिवेशन स्विकार्नैपर्छ ।
४० प्रतिशत प्रतिनिधिले विधानको धारा १७ (२) अनुसार लिखित माग गरेपछि इच्छाले स्विकार्ने/नस्विकार्ने भन्ने हुँदैन,’ उनले भनिन् । केन्द्रीय कार्यसमिति र सम्पादन समितिको बहुमतको निर्णय भन्नेहरूले महाधिवेशन प्रतिनिधिको बहुमतको विषय भुल्न नहुने उनले बताइन् । १४औँ महाधिवेशनको प्रतिनिधि नै विशेष महाधिवेशनको प्रतिनिधि हुने भएकाले विशेष महाधिवेशनका लागि धेरै समय नलाग्ने उनको भनाइ छ ।
