शपथलगत्तै बालेन पुगे सर्वोच्च अदालत

सांसदको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सर्वोच्च अदालत पुगेर तारेख लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद भवनमा शपथ लिएपछि तारेख लिन रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाह सर्वोच्च अदालत पुगेका हुन्।

उनीविरूद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ। त्यसको तारेख जेठ १४ गतेका लागि रहेको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

तारेख लिएसँगै उनी संसदीय दलको नेता चयनका लागि बनस्थलीस्थित रास्वपा पार्टी कार्यालय पुगेका छन्।

उनलाई रास्वपाले संसदीय दलको नेता चयन गरिसकेको छ।

संसदीय दलको नेता बनेपछि बालेनलाई दिए रविले बधाई

२१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाएको छ ।

रास्वपाको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव पारित गरेको हो । बालेनलाई दलकाे नेता बनाउने प्रस्ताव पारित भएपछि सभापति रवि लामिछानेले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

‘संसदीय दलको तर्फबाट हार्दिक बधाई, शुभकामना, सफल कार्यकालको शुभकामना’, संक्षिप्त मन्तव्य राख्दै लामिछानेले भने ।

यसअघिको रास्वपाले बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बालेन दलको नेतामा चयन भएका हुन् । सबैभन्दा ठूलो दलको रुपमा बालेनले शुक्रबार प्रधानमन्त्री पदको शपगग्रहण गर्दैछन् ।

रास्वपा केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठनको प्रस्ताव पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकबाट संसदीय दल गठनको प्रस्ताव पारित भएको छ। वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले संसदीय दल गठनको प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झा बताए।

बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उपस्थित छन्। केन्द्रीय समितिको बैठकपछि संसदीय दलको बैठक बस्ने छ। सोही बैठकले बालेनलाई संसदीय दलको नेता चुन्ने कार्यतालिका छन्।

निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।

रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मत चयन भएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता बनाउन गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा केन्द्रीय समितिको बैठक बसेको थियो।

सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय सदस्यहरूले एकमतले अनुमोदन गरेसँगै अब संसद्‌मा रास्वपाको नेतृत्व शाहले गर्ने पक्का भएको छ।

कार्की आयोगको प्रतिवेदन खेदजनक छ, अस्वीकार्य छ : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खेदजनक रहेको बताएका छन्।

उनले आयोगको प्रतिवेदनलाई मानसिक रूपमा तनाव दिने कुकर्म भएको बताए। ‘आयोगको प्रतिवेदन चरम लापरबाही, चरित्र हत्या गर्ने र घृणाको राजनीति गर्ने खालको छ। यो अत्यन्तै निन्दनीय र खेदजनक छ। अस्वीकार्य छ। प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने? कस्तो स्तरहीन खालको क्रियाकलाप भइरहेको छ?,’ अध्यक्ष ओलीले प्रश्न गरे।

अध्यक्ष ओलीले कार्की आयोगको प्रतिवेदनले एमाले पार्टीमाथि नै प्रहार गरेको बताए। उनले पूर्वाग्रह ढंगले प्रतिवेदन तयार पारिएको बताए। ‘यथार्थ प्रतिवेदन आउँदैन भनेर हामीले भनिसकेका थियौं। एमाले अध्यक्ष र तत्कालीन प्रधानमन्त्री, जसको घटनास्थलमा उपस्थितिc नै छैन अनि तिनकाविरुद्ध फौजदारी अभियोगअन्तर्गत छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरेको छ,’ उनले भने।

उनले मान्छेहरू अहिले पनि मारिने गरेको बताउँदै कति मान्छे मारिए प्रधानमन्त्रीलाई मुद्दा चलाउने भनेर प्रश्न गरे। ‘अहिले पनि मान्छे मारिएका छन्।न त्यसको जिम्मा कसले लिने? कसैको काख त रित्तिएको छ नि। अनि कति जना मारियो भने प्रधानमन्त्री जिम्मेवार हुने र कति मान्छे मारिँदा प्रधानमन्त्री जिम्मेवार नहुने? १९ कि १८?,’ उनले प्रश्न गरे।

न्यायाधीश भइसकेका र प्रहरीका उच्च ओहोदामा बसिसकेका मान्छेहरूले गरेको छानबिन अत्यन्त निराधार रहेको उनको भनाइ छ। उनले आयोगको प्रतिवेदनमा चरम लापरबाही गरिएको बताए।

विषम परिस्थितिमा अत्यन्तै जिम्मेवार भएर प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए। ‘हामी देश र जनताका लागि काम गर्दैछौं। त्यसमा अवश्य सफलता पाउनेछौं,’ उनले भने।

उनले निर्वाचनको समीक्षा गर्ने बेला भइनसकेको बताए। उनले देशमा अस्थिरता चाहनेहरूले घृणाको राजनीति गरेको आरोप लगाए। ‘त्यसका लागि उनीहरूलाई धेरैले सहयोग गरे। लोकतन्त्र र विकासको लहर ल्याएकै कारण उनीहरूले हाम्राविरुद्ध प्रहार गरे,’ उनले भने। विरोधीहरूले भ्रम, अश्लीलजस्ता कूप्रचारसमेत गरेको अध्यक्ष ओलीले आरोप लगाए।

एमाले अध्यक्ष ओलीले अनुशासनमा रहेर पार्टीको विचार र सिद्धान्तअनुरुप चल्न निर्देशन दिए। उनले अरुका गलत प्रवृत्ति र अराजकता नसिक्न आग्रह गरे। ‘हाम्रो जतिको एडभान्स विचार बोक्ने कुनै पार्टी छैन, परिवर्तनकारी र अनुशासित पार्टी हो। यो जतिको अनुशासित पार्टी अरु छैन। त्यसैले साथीहरूले त्यो अनुशासन पालना गर्नुहोला,’ उनले भने।

अध्यक्ष ओलीले दुवै सदनका सांसदहरूलाई जिम्मेवारी तोक्ने बताए। उनले पार्टीले नै संसदीय दलको नेता, प्रमुख सचेत र सचेतक तोक्ने निर्णय गर्ने संकेत गरे। उनले यो पद र त्यो पद दिनुस् भनेर नमाग्न आग्रह गरे। ‘पार्टीले सबैको मूल्यांकन गर्छ। काम र जिम्मेवारीको आधारमा मूल्यांकन गर्छ। यो पद र त्यो पद भनेर हुँदैन,’ उनले भने।

१४ अंकले बढ्यो सेयर बजार

काठमाडौं– आज(बिहीबार) सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न सेक्टरका ३४३ वटा कम्पनीहरुको तीन करोड चार लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १३ अर्ब १६ करोडको सेयर कारोबार भएको छ ।

सेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ । बिहीबार विकास बैंक र लाइफ इन्स्योरेन्स इन्डेक्समा गिरावट आएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

सुदूरपश्चिममा जेन जी आन्दोलनको गतिविधिमा बहुपक्षीय संलग्नता

धनगढी- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले आफ्नो अध्ययन प्रतिवेदन बुझाए पनि सरकारले अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन। सञ्चारमाध्यममार्फत बाहिरिएको उक्त प्रतिवेदनमा राजधानी काठमाडौँसहित बढी क्षति भएका जिल्लाहरूको स्थलगत अवस्था, सरकारी अधिकारीहरूको बयान तथा सरोकारवालाको धारणा समेटिएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएका जिल्लाको सूचीमा कैलाली र कञ्चनपुर अग्रपंक्तिमा रहेका छन्।

कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिको स्थलगत निरीक्षणपछि आयोगले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको राय समेटेको छ। प्रतिवेदनमा स्थानीय तहका कार्यालय, वडा कार्यालय र सेवा केन्द्रहरूमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, “बिहान करिब ९ बजेदेखि पटक–पटक आएका प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र चोरी–लुटपाट गरेका छन्।” केही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू प्रत्यक्ष रूपमा संलग्न देखिएको उल्लेख छ। साथै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका पालिकाहरूमा बढी क्षति पुर्‍याइएको प्रतिवेदनमा जनाइएको छ।

यद्यपि, जानकी, टीकापुर र भजनी जस्ता केही पालिकाहरूमा भने ठूलो क्षति नभएको उल्लेख गरिएको छ। प्रतिवेदनले माओवादी केन्द्रका केही कार्यकर्ता पनि आगजनीमा संलग्न रहेको दाबी गरेको छ। आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण स्थानीय प्रशासनमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकिएको जनाइएको छ। प्रहरीबाट मुचुल्का तयार भइसकेको र कतिपय पालिकाहरूले सहरी विकास शाखामार्फत क्षतिको यकिन विवरण संकलन गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ।

घटनाका क्रममा कार्यालयभित्रै कार्यरत कर्मचारीहरू अचानक भएको आगजनीबाट ज्यान जोगाउन कठिन अवस्थामा परेको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ। उता कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोगलाई पठाएको विवरणमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता संलग्न रहेको उल्लेख गरेका छन्। प्रतिवेदनका अनुसार तोडफोड र आगजनीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, विप्लव समूह तथा अन्य दलका भातृ संगठनका युवा–विद्यार्थी कार्यकर्ता सहभागी रहेको देखिएको छ।

यसका साथै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर तथा भिडियोमार्फत घटनामा संलग्न व्यक्तिहरूको पहिचान र विश्लेषण गरिएको पनि जनाइएको छ। प्रतिवेदनले केही गैरराजनीतिक समूहसमेत लुटपाटमा संलग्न रहेको औंल्याएको छ। काम तथा व्यवसायका सिलसिलामा रहेका भारतीय नागरिक, यातायात व्यवसायी, चालक, सहचालक, मेकानिक्स, होटल व्यवसायी तथा होटलमा कार्यरत कर्मचारीहरू समेत धनमाल लुट्ने उद्देश्यले घटनामा संलग्न भएको देखिएको उल्लेख गरिएको छ।

आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिमा बहुपक्षीय संलग्नता देखिएको निष्कर्ष निकाल्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही आवश्यक रहेको औंल्याएको छ।

४७ सांसदले लिए मातृभाषामा संसदको शपथ

काठमाडौं- नव निर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपाली बाहेक आ–आफ्नो मातृ भाषामा शपथ लिएका छन् ।  नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

भवन नहुँदा सभा सञ्चालनको प्रबन्ध गर्न कठिन भयो : संसद् सचिवालय

काठमाण्डौ- संसद् सचिवालयले आज नवनिर्वाचित सांसद्को शपथ ग्रहण गराएको भवन अल्पकालिन प्रयोग हुने बताएको छ।

जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते ध्वस्त भएपछि नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा बैठक बस्न नसक्ने भएको र सिंहदरबारमा नवनिर्मित संसद् भवन पनि पूर्ण नभइसकेकाले बैठक बस्न नसकेको संघीय संसद्का महासचिव पदम प्रसाद पाण्डेयले बताए।

उनले अन्तर्राष्टिय सम्मेलन केन्द्र ध्वस्त भएको तथा नयाँ संसद् भवन हस्तान्तरण नभएकाले सभा सञ्चालनको प्रबन्ध गर्न निकै कठिन भएको भन्दै विभिन्न विकल्पको खोजीपछि बहुउदेश्य हललाई नै शपथ कार्यक्रम र अल्पकालिन रुपमा प्रयोग गरिएको जानकारी गराए।

हतारमा कार्यक्रम तय गरिएकाले भवनमा थुप्रै कमिकमजोरी हुनसक्ने उनको भनाइ छ।

‘सिलाम साक्मा’ लगाएर आफैं गाडी हाँकेर संसद पुगे बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्।

उनी ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडीमा शपथ ग्रहण गर्न सिंहदरबारको नव निर्मित भवनको सभाहल पुगेका हुन्। उनी आफैं गाडी चलाएर दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। किरात सँस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसले मृत्यु र अपसकुनको बाटो छेक्ने विश्वास गरिन्छ।

बालेन पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा हराउँदै संसद पुगेका हुन्। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। रास्वपाका अन्य सांसदहरु पनि राष्ट्रिय र जातीय पोसाकमा संसद पुगेका छन्। अरु प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम सँस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि शपथ ग्रहणका लागि पुगेका छन् । फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरुलाई संसदका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ खुवाएका छन्।

नवनिर्वाचित सांसदहरूले शपथ लिए

काठमाण्डौ – गएको फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारमा रहेको निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन् ।

हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।

 

शपथ ग्रहणको लागि संसद् भवन पुग्दै सांसदहरु

फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरु शपथ ग्रहणको लागि सिंहदरबार जाने क्रम चलिरहेको छ।

दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम रहेकाले उनीहरु सिंहदरबार जाने क्रम सुरु भएको हो।

प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० जना निर्वाचित भएका हुन् । जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट हिजै (बुधबार) नै प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेका छन् । आज बाँकी सांसदलाई उनले शपथ गराउने छन् ।

संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नै नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सांसदले गर्नुपर्नेछ भन्ने व्यवस्था छ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा साविकको संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आगजनी भएपछि सिंहदरबारमा बन्दै गरेको संसद् भवनमा नयाँ सांसदको शपथको कार्यक्रम हुन लागेको हो ।

बागमतीले पुलिसलाई दियो २६६ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा बागमती प्रदेशले नेपाल पुलिसलाई २६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीको लागि पवन थापा र इशान पाण्डेले सम्हालिएको पारी खेले ।

पहिले ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा अलआउट हुँदै २६५ रन बनायो । बागमतीको लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए । ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमशः २२ र १४ रन बनाए ।

शिवम तिवारीले १२ रन, उत्तम मगरले २१ र कप्तान सन्दीप लामीछानेले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पुलिस क्लबलका लागि बलिङ तर्फ रासिद खान र दिनेश खरेलले ३-३ विकेट लिए । करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए । नेपाल पुलिस र बागमती दुवैको यो तेस्रो खेल हो। दुवै टोलीले १ जित र १ हार बेहोरेका छन् ।

कार्की आयोगको प्रतिवेदन निष्पक्ष छैन: एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा पोखरेलले जेन-जी आन्दोलनका क्रममा गठन भएको कार्की आयोगको प्रतिवेदनले नै निष्पक्ष छानबिन नभएको प्रमाणित गरेको बताएका हुन्।

उनले कार्की आयोग र फागुन २१ मा सम्पन्न आम निर्वाचनको परिणामबीच समानता देखिएको भन्दै अल्गोरिदम प्रयोग गरेर नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास भएको बताएका हुन्।

उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणले नयाँ शक्तिको उदय भएको दाबी गरेका छन्।

अबको बाटो सजिलो भएपनि राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने  समेत बताएका छन् । यस्तो परिस्थितिमा नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवबाट मूल्यांकन गर्न दिनु उचित हुने बताएका छन् ।

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’

कैलाली । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।

उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई करोड २५ लाख बजेट रहेको उनले जानकारी दिए । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने “भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पुर्याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।”

कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ । अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ । -रासस

६३ जना सांसदले मातृभाषामा शपथ लिने

आज ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्।

हालसम्म ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने जानकारी संघीय संसद् सचिवालयमा गराएका हुन्। सचिवालयका अनुसार उनीहरुले इमेल र भौतिक रुपमा उपस्थित भएर यसबारे जानकारी गराएका हुन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ भवनमा हुँदैछ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन्। उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेर हिजै कार्यभार सम्हालेका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्की नेतृत्वको ‘जेन–जी आन्दोलन जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनप्रति असहमति जनाएको छ। आयोगले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालय र कानुन व्यवसायीको मानमर्दन हुने गरी आपत्तिजनक विषयहरू समावेश गरेको भन्दै बारले आजै दिउँसो १:३० बजे सल्लाहकार समितिको बैठक बोलाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार प्रतिवेदनले कानुन व्यवसाय र न्यायालयप्रति समाजमा नकारात्मक भ्रम छर्ने काम गरेको छ। उनले यस विषयमा कानुन व्यवसायीहरूबीच गम्भीर छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने बताए।

आयोगको प्रतिवेदनमा न्याय प्रणालीलाई ‘वकिलको स्वर्ग’ हुनबाट बचाउनुपर्ने र न्याय सुलभ बनाउन वकिलहरूको चर्को ‘फि’ लगायतका विसङ्गतिहरू अन्त्य गर्नुपर्ने उल्लेख छ। प्रतिवेदनको एउटा अंशमा भनिएको छ, “पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ। पक्षको तर्फबाट बहस गर्ने वकिलहरू यति खर्चिला छन् कि साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असुल गर्दछन्।”

यही टिप्पणीले समग्र कानुन व्यवसायीहरूको छविमा आँच पुर्‍याएको बारको ठहर छ। आयोगले आन्दोलनको छानबिन गर्ने मुख्य जिम्मेवारी छाडेर न्यायालयको आन्तरिक र व्यावसायिक पाटोमा अनावश्यक टिप्पणी गरेको भन्दै बारले असन्तुष्टि व्यक्त गरेको हो।

 

नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइको काम पूरा

काठमाण्डौ- जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू गरेको छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले प्रतिनिधिसभा चुनावको मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाएको बताए ।

मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको कामलाई सँगसँगै गरेको केन्द्रले शैक्षिक सत्र २०८३ का लागि  १ हजार २६० अधिकृत बिक्रेता चयन गरेको छ ।

यही चैत १५ गतेदेखि बिक्रीको तयारी गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रलाई तोकिएका कक्षाहरूका लागि झन्डै ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा धेरैजसाे पुस्तक छपाइ भइसकेको छ ।

केन्द्रले यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने ५ लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको छ ।

 

रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा आज सुनुवाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। मंगलबार रिटमाथि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। रिटमा बहस सकिए आजै फैसला आउने सम्भावना।

गतन आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ भइरहेको हो।  यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको  थियो।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएको अभियोग संशोधनको निर्णय गरेकी थिइन्।

अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।  महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

नेपाली कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाण्डौ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ । आउँदो वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ । हरेक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ । केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ । यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ । केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया शुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ ।

कार्यतालिकाअनुसार, आगामी भदौ २ गते सबै वडा समितिको सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ नगरपालिका अधिवेशन गरिनेछ । भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने र महाधिवेशन गरिनेछ । यस्तै, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन गरिनेछ ।

घट्यो सुनचाँदीको मूल्य

काठ्माण्डौ- बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

रास्वपाले आज बालेनलाई दलको नेता छान्दै, भोलि प्रधानमन्त्रीको सपथ लिने

काठमाण्डु – नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले वरिष्ठ नेतन बालेन शाहलाई बिहीबार पार्टीको संसदीय दलको नेता चयन गर्दैछ ।

दलको नेता चयन भएपछि शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् । रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी गरेको हो ।

प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।

अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा भाग लिएको थियो ।

केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाइनेछ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

एक नेताका अनुसार केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिमबारे अन्तिम निर्णय हुनेछ । रास्वपाले केही मन्त्रालयहरूको पुनर्संरचना, मर्ज र संख्या घटाउने विषयमा पनि छलफल गरिरहेको छ । नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा तय गरिएको छ । शुक्रबार दिउँसो १२ : ३४ बजे राष्ट्रपति पौडेलले बालेन्द्रलाई शपथग्रहण गराउनेछन् ।

शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।

१९ दिनदेखि इनिशाको शव अस्पतालमै

सुर्खेत । इनिशा विकको मृत्यु भएको १९ दिन बितिसक्दा पनि उनको शव अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमै छ । कारण एउटै छ– परिवारले न्याय पाएको अनुभूति गर्न सकेको छैन ।

प्रहरीले अनुसन्धान टुंग्याउँदै एक जनालाई मुख्य अभियुक्त र तीन जनालाई सहयोगीका रूपमा किटान गरी मुद्दा अघि बढाए पनि पीडित परिवार भने सन्तुष्ट छैन, न्याय पाउन नसकेको रोदनमा उनीहरू छट्पटाइरहेका छन् । उनीहरूको अडान स्पष्ट छ– ‘छोरीले न्याय नपाएसम्म शव बुझ्दैनौं ।’

विवरणका आधारमा तयार पारिएको मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

अनुसन्धानबाट संकलित प्रमाण र बयानका आधारमा आरोपितमध्ये एक जनालाई अभियुक्त र बाँकीलाई मतियारका रूपमा मुद्दा अघि बढाएको प्रहरी नायब उपरीक्षक मोहन बुढथापाले बताउनुभयो । ‘आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा मिसिल तयार पारी सरकारी वकिल कार्यालयमा बुझाइएको छ’, उहाँले भन्नुभयो– ‘अब सरकारीवकिल कार्यालयमार्फत मुद्दा अघि बढ्छ ।’

फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल ती रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने भएपछि प्रतिवेदन पेस गरिएको डीएसपी बुढथापाले बताउनुभयो । मुद्दा अब न्यायिक प्रक्रियामा गइसकेकाले मिसिलमा समेटिएको थप विषयवस्तुबारे जानकारी दिन नमिल्ने उहाँको भनाइ छ । उक्त प्रकरणले सुरुदेखि नै सार्वजनिक चासो तानेको थियो भने अब अदालतको प्रक्रिया सुरु भएसँगै न्यायिक निरुपणतर्फ अघि बढेको छ ।

प्रहरीले १९ दिन के ग¥यो ?

इनिशा विक मृत्यु प्रकरणमा १९ दिनसम्म प्रहरीले बहुआयामिक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको भोलिपल्ट नै परिवारले चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि स्थानीय प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धानलाई तीव्रता दिएको थियो । प्रहरीले इनिशाको सम्पूर्ण प्रमाण संकलन गर्नुका साथै आरोपित चारै जनाको प्रमाण सबै नमुना विधिविज्ञान प्रयोगशालामा पठाएर जाँच गरिएको जनाएको छ ।

त्यसै गरी, घटनाको डिजिटल पाटोलाई समेत प्राथमिकतामा राख्दै इनिशासहित आरोपित चार गरी पाँचै जनाको मोबाइल डिजिटल परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सीसीटीभी फुटेज संकलन, मोबाइल डेटा विश्लेषण तथा अन्य भौतिक प्रमाणहरू जुटाउने काम गरिएको छ ।

सबै मोबाइलको डिजिटल रिपोर्ट आइसकेको भए पनि इनिशाको मोबाइल अझै पूर्ण रूपमा विश्लेषण हुन बाँकी रहेको र त्यसलाई विदेश पठाएर परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ, ता कि कुनै पनि महत्वपूर्ण प्रमाण नष्ट नहोस् ।

हालसम्म अधिकांश रिपोर्ट प्राप्त भइसकेका भए पनि महत्वपूर्ण रिपोर्ट फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल रिपोर्ट आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । यिनै प्रमाणका आधारमा चारै जनाविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो ।

ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाण्डौं, १२ चैत ।
भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएको घट्नाको अध्ययनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री  लेखक र प्रहरी महानिरीक्षक  खापुङलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८१ (लापरबाही) र १८२ (हेलचक्र्याइँ) अनुसार अनुसन्धान र अभियोजनका लागि नेपाल सरकारलाई सिफारिस गरेको हो । चार घण्टाभन्दा बढी गोली चलिरहँदा रोक्न कुनै प्रयास नगर्नु नै प्रमुख आधार हो ।

उक्त दफामा ‘कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन’ भन्ने व्यवस्था छ ।

त्यसरी लापरबाहीपूर्ण काम गरी कसैको ज्यान जाने काम गरेमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

सरकारले सार्वजनिक नगर्दै सञ्चारमाध्यममा आएको प्रतिबेदनमा सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि कारबाही सिफारिस गरिएको छ । आयोगले प्रहरी प्रमुख दानबहादुर कार्कीलाई पनि नसियत दिन सिफारिस गरेको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र जिल्ला प्रशासन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

को हुन्, जेनजी आन्दोलनमा भ्रम छर्ने पाँच जना ?

काठमाण्डौं, १२ चैत ।

सरकारले सार्वजनिक नगर्दै सञ्चारमाध्यममा आएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको जेनजी आन्दोलनको प्रतिबेदनमा जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको ठहर गरेको छ ।

भ्रामक सूचना फैलाउने काममा संलग्न रहेका पाँच जनामा मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको प्रतिवेदनमा छ ।

‘भ्रामक प्रचारहरु जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरी यो । त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरी यो । यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेस पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ’ प्रतिवेदनमा छ ।

अर्का एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी ओली भागेर दुवई पुगेको र उनले आफैँ देखेको भ्रामक प्रचार गरेको आयोगले उल्लेख गरेको छ ।

‘हिमालय एयरलाइन्सले यसको खण्डन गरी प्रेस वक्तव्य नै जारी गर्नुपर्यो । त्यस्तै एउटा अर्को मिडियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले घिसारेर पिटिरहेको प्रचार गर्यो, त्यो गलत प्रचार थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीमा भागिरहेका र व्यक्तिहरुले उनलाई पिटिरहेको दृष्य भिडियोमा देखाइएको थियो’ प्रतिवेदनमा छ ।

 

प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६  हजार ५ सय ९३ कायम भएकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फछ्यौट भएको छ।

एक लाख ४९  हजार ५ सय ६० मुद्दा बाँकी रहेका छन्। जुन गत वर्षको तुलनामा ८ दशमलव ४३ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म १७ हजार ७ सय ५२ थान रहेकोमा उक्त संख्या २७ दशमलव ४४ प्रतिशतले घटी १२ हजार ८ सय ८० बाँकी छ।

सर्वोच्च अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १५ हजार ७ सय २८ र  यस आर्थिक वर्षमा नयाँ दर्ता भएका पन्ध्र हजार तेह्र गरी जम्मा मुद्दाको लगत ४० हजार ७ सय ४१ कायम भएकोमा सोमध्ये १६ हजार ६ सय ३४ अर्थात ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भई २४ हजार एक सय सात मुद्दा बाँकी रहेको छ। जुन गत वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म ११ हजार ९ सय ७७ थान रहेकोमा प्रतिवेदन वर्षमा उक्त संख्या २५ दशमलव २९ प्रतिशतले घटी ८ हजार ९ सय ४७ बाँकी छ।

आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टिम घोषणा

काठमाडौं : आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट संघ क्यानले बुधबार २९ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा युवा खेलाडीसँगै अनुभवी खेलाडी पनि समावेश गरिएको छ । विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सको क्रममा जटिल बनेकी कप्तान इन्दुवरमा पनि यस टोलीमा समावेश भएकी छन् । आइसीसीले उदयमान राष्ट्रहरूको सहभागितालाई लक्षित गरी आइसीसीले नयाँ संरचनाको प्रतियोगिता सुरु गर्न लागेको हो ।

अप्रिलको दोस्रो साताबाट रुवान्डामा हुने यस प्रतियोगिताको आधिकारिक मिति र टिमहरूको जानकारी भने भइसकेको छैन । प्रतियोगितामा एसिया अफ्रिका युरोप अमेरिका र एसिया प्यासिफिक क्षेत्रबाट एक–एक गरी पाँच टोल सहभागी गर्ने आइसीसीको तयारी रहेको छ । आइसीसीको महिला क्रिकेटको संरचनालाई बलियो बनाउने लक्ष्यले आइसीसी वुमेन्स च्यालेन्ज ट्रफी सुरु गरिएको हो । अन्तर्राष्ट्रियस्तरमा उदयमान टोलीहरुलाई अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्ने अवसरको रुपमा रहेको छ ।

नेपालको प्रारम्भिक टोली
इन्दु बर्मा,पूजा महतो,रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, रुबी पोदार, कविता जोशी कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सिमाना केसी, राजमती ऐरी, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविन, खुसी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिसा यादव, त्रिशना बिक, कुसुम गोदार, यशोदा बिष्ट, अन्जि पाठक र रामा बुढाथोकी

null

असामान्य स्थितिमा चुनाव गराउने कुरा कम चुनाैतीपूर्ण थिएन : प्रधानमन्त्री कार्की

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

निर्वाचन आयोगले आज काठमाण्डौमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले नवयुवा आन्दोनलपछिको असामान्य स्थितिलाई सामान्यीकरण गर्दै चुनाव गराउन सफल भएको बताइन् । उनकाअनुसार चुनाव गराउने कार्य चुनौतीपूर्ण थियो ।

कार्कीले चुनावले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको उल्लेख गरे । चुनावमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ छ ।

सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै प्रधानमन्त्री कार्कीले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको बताए ।

उनले भने, ‘नवयुवा आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यीकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो । चुनावले देशमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै

लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ । वर्तमान सरकार गठन हुँदा पाएको जिम्मेवारी चुनाव सम्पन्न गराउनु थियो तर हामीले जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो । सुरक्षाकर्मीका हतियार खोसिएका थिए, राजनीतिक दलबीच संवादहीनता थियो ।

समग्रमा एकप्रकारको कानूनी राजनीतिक शून्यता थियो । यी सबै परिदृश्यका बीच ६ महिनाभित्र चुनाव सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याउने प्रतिबद्धताका साथ हामीले जिम्मेवारी लिएका थियौँ, यो सहज कार्य थिएन । तर सरकारले सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्‍यो ।’

प्रधानमन्त्री कार्कीले चुनावका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोगलगायत सबैलाई धन्यावाद दिए । चुनावले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उनको भनाइ छ ।

खोज्नुहोस