प्रधानमन्त्री शाहकाे पदभारलगत्तै मन्त्रिपरिषद् बैठक शुरू

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ बजेर १५ मिनेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर शाहले पदभार ग्रहण गरेका हुन् । साथै नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

प्रधानमन्त्रीकाे पदभार ग्रहणलगत्तै सिंहदरबारमा नवनिर्वाचित सरकारकाे पहिलाे मन्त्रिपरिषद् बैठक शुरू भएकाे छ ।

 

पदबहाली गर्दै सस्मित पोखरेलले भने: शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् । शुक्रवार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

पलबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पाँच वर्षको पार्टीको १०० वटा बाचापत्र सबै मन्त्रीहरुले पूरा गर्नुपर्ने बताए । उनले मतदाताहरुबाट पाएको मतले आफूहरु निकै संवेदनशिल रहेको बताए ।

उनले भने, ‘हामीलाई मतदाताहरुबाट जुन किसिमको मत मिलेको छ त्यसमा निकै संवेदनशिल छौं । जिम्मेवारीबोधको हिसावले लिएका छौं । पाँच वर्षका लागि पार्टीका १०० वटा बाचापत्र छन्, त्यो पूरा गर्नु पर्नेछ ।’ साथै उनले शिक्षा क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि, विद्यालयको पूर्वाधार सुधार, निजी विद्यालयहरुलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य रहेको बताए ।’

उनले भने, ‘शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु, विद्यालयको पूर्वाधार सुधार गर्नुपर्ने कार्यक्रमहरु, निजी विद्यालयहरुलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य छ । शिक्षा क्षेत्रलाई पारदर्शी बनाउने र उच्च विश्वविद्यालयलाई पनि सुधार गर्नुपर्ने छ । विशेषगरी नतिजामा, शिक्षक र क्षमतामा साथै पूर्वाधारमा सुधार गर्नुपर्ने गरी काम गर्नेछौं ।’ बालेन नेतृत्वको सरकारमा शिक्षा र खेलकुदमन्त्री बनेका उनी काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।

सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाण्डाै – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । उनले भने, ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।’

आफू नागरिकलाई परिणाम दिने गरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

‘सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १, २, ३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ’, उनले भने ।

नवयुवाकाे जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उनले सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन नवयुवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न लगाएका थिए ।

 

१५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने अर्थमन्त्री वाग्लेकाे निर्णय

काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आयोगको सिफारिशअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले २०८२ चैत चैत ११ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने र सरकारको चुनावी वाचापत्रलाई कार्यान्वयनमा लैजान १०० दिन, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताए । उनले वाचापत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्ने उल्लेख गरे ।

उनकाअनुसार निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवर्द्धन, ठूला विकास आयोजनाको सहजीकरण र प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक तर्जुमा तथा विद्यमान कानून संशोधनलाई प्राथमिकता दिइनेछ । ‘अब ठूला आयोजना फटाफट अघि बढ्ने वातावरण बनाइनेछ’, उनले भने ।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका समस्यालाई टुक्राटुक्रा रूपमा नभई समग्र रूपमा समाधान गर्ने नीति लिइने बताउँदै तजबिजी अधिकार हटाएर प्रणालीगत सुधार गरिने उल्लेख गरे । उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिश कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र रुपान्तरणकारी बजेट निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिए।

उनले विद्युतीय शासन प्रणालीलाई प्रवर्द्धन गर्दै ‘पेपरलेस’ र ‘क्यासलेस’ प्रणालीतर्फ अघि बढ्ने प्रयासको शुरुआत अर्थ मन्त्रालयबाटै गरिएको पनि बताए । साथै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको समस्यालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दै अन्तर–निकाय समन्वयमार्फत त्यसको प्रभाव व्यवस्थापन गरिने उनको भनाइ छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनअनुसार खारेज प्रक्रिया अघि बढाइने ऐनहरूमा आय टिकट दस्तुर ऐन २०१९, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, निजी वन जङ्गल राष्ट्रियकरण ऐन २०१३, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०१३, क्षतिपूर्ति ऐन २०१९, बिर्ता उन्मूलन ऐन २०१६, बिर्तावालले बिर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन २०१५, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, नेपाल एजेन्सी ऐन २०१४, प्रादेशिक विकास योजना (कार्यान्वयन गर्ने) ऐन २०१३, निकासी–पैठारी (नियन्त्रण) ऐन २०१३, सामाजिक व्यवहार सुधार ऐन २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४ तथा वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले ऐतिहासिक जनादेश प्राप्त वर्तमान सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्दै आर्थिक तथा कानूनी सुधारको व्यापक मार्गचित्र अघि बढाउनेसमेत बताए ।

नवनियुक्त अर्थमन्त्री डा. वाग्ले देशको आर्थिक नीतिगत नेतृत्वमा अनुभवी र अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तिका रूपमा परिचित छन् । नवगठित मन्त्रिपरिषदमा वाग्ले दोस्रो वरीयतामा राखिनुले सरकारको आर्थिक एजेन्डा उच्च प्राथमिकतामा रहेको बुझ्न सकिन्छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित वाग्लेले २०८२ सालको चुनावमा ३८ हजार ४० मत प्राप्त गर्दै प्रभावशाली जीत हासिल गरेका थिए ।

विसं २०३१ जेठ १६ गते गोरखामा जन्मिएका वाग्ले २०४६ सालको जनआन्दोलनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । वाग्लेले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को एशिया–प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

त्यस्तै विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरिसक्नुभएका उहाँले विकासशील राष्ट्रहरूको आर्थिक रूपान्तरणका विविध पक्षमा योगदान दिएका छन् ।

त्यस्तै राष्ट्रिय योजना आयोगमा सदस्य र पछि उपाध्यक्षका रूपमा कार्य गर्दै राष्ट्रिय विकास रणनीति निर्माण, अन्तर–मन्त्रालय समन्वय तथा दीर्घकालीन योजनाको मार्गनिर्देशनजस्ता कार्यमा उनको अनुभव छ ।

एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय व्यापार केन्द्रजस्ता अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाता, काठमाण्डाै विश्वविद्यालयका पूर्वसिनेट सदस्य तथा विश्व बैंकको ‘साउथ एशिया च्याम्पियन्स ग्रुप’ का सदस्यका रूपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

शैक्षिक दृष्टिले पनि वाग्ले अत्यन्त सशक्त पृष्ठभूमि भएका व्यक्ति छन्। उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर तथा अस्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका छन् । लेखन तथा बौद्धिक योगदानका हिसाबले पनि वाग्ले सक्रिय छन् । उनले सहसम्पादन गरेको पुस्तक ‘द ग्रेट अपहेभल’ तथा सहलेखनमा तयार भएको ‘द राइज अफ द साउथ ’जस्ता पुस्तक अन्तर्राष्ट्रिय प्रकाशनबाट प्रकाशित छन् ।

अर्थमन्त्रीका रूपमा वाग्लेको नियुक्ति विशेषगरी नेपालको सुस्त आर्थिक वृद्धि, घट्दो राजस्व सङ्कलन, बढ्दो सार्वजनिक ऋण र विकास खर्चको न्यून कार्यान्वयनजस्ता चुनौतीबीच भएको छ । यस्ता जटिल परिस्थितिमा अन्तर्राष्ट्रिय विकास अनुभव र नीतिनिर्माणको दीर्घ अभ्यास भएका वाग्लेबाट ठोस सुधारको अपेक्षा छ । अबको सन्दर्भमा वाग्लेसमक्ष प्रमुख चुनौती भनेको आर्थिक स्थायित्व कायम गर्दै रोजगारी सिर्जना, लगानी वृद्धि, निजी क्षेत्रको मनोबल पुनर्स्थापना र सङ्घीय संरचनामा वित्तीय अनुशासन सुदृढ गर्नुरहेको देखिन्छ । विगतमा नीति निर्माणमा देखाएको सक्रियता र अन्तर्राष्ट्रिय अनुभवका आधारमा उनले सुधारमुखी एजेन्डा अघि सार्ने अपेक्षा गरिएको भए पनि राजनीतिक दबाव, प्रशासनिक जटिलता र संरचनागत कमजोरीले उनको कार्यक्षमता कतिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने खुला नै छ ।

 

पीएम कप क्रिकेटमा मधेश र सुदूरपश्चिम विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरमा भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले हरायो । मधेशले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाए । मधेशका विशाल पटेलले ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । मधेशका मयन यादवले ३१ रन बनाए । लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३/३ विकेट लिए ।

प्रतियोगितामा मधेशको यो लगातार दोस्रो जीत हो भने लुम्बिनीको यो पहिलो हार हो ।

यस्तै वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका खडक बोहोराले ६६ रन बनाए । कोशीका विपिन महतोले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३ ओभर ४ बलमा १३० रन बनाउँदा सबै विकेट गुमायो । कोशीका शिवाश बजगाईँले २५, सुमन श्रेष्ठले २४ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो भने कोशीको लगातार तेस्रो हार हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार (चैत १३) सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले एकद्वार प्रणालीबाट काम गर्ने उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने पनि बताए । ‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनले सुनाए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनामा विभिन्न व्यक्तिहरूलाई कारबाही सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

कृषिमन्त्री चौधरीले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार (चैत १३) सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालायमा उनले पदबहाली गरेकी हुन् ।

मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ‘ब्रिफिङ’ गरे ।

कृषिप्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ । ५० प्रतिशत जनशक्ति यो क्षेत्रमा संलग्न छन् ।

हाल कुल बजेटको तीन प्रतिशत बजेट यो क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराए ।

त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइन् । रासस

शपथ लगतै बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको वधाइ

काठमाडौं : बालेन (बालेन्द्र) शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले वधाइ तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मार्फत बालेनलाई शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा बालेनको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वासलाई प्रतिबिम्वित गर्ने बताउँदै मोदीले बालेनको कार्यकालमा नेपाल–भारत मित्रता सहकार्य अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनले दुई देशका जनताको पारस्पारिक हितका लागि बालेनसँग नजिकबाट काम गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री बालेनलाई गगन थापाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन् ।

“नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,” थापाले फेसबुकमा लेखेका छन् ।

उनले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने पनि उल्लेख गरेका छन् ।

ओलीले दिए नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेनले प्रधानमन्त्री पदको शपथ गरेसँगै पूर्वप्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई।’  पूर्वप्रधानमन्त्री ओलीले भनेका छन्,‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’

अर्थमन्त्रीको पहिलो निर्णय : आर्थिक स्थितिपत्र तयारदेखि निजी उद्यम-व्यवसायको सुरक्षासम्म

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् ।

सिंहदरबारमा पदभार ग्रहण  लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् ।

निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।

यस्तै, राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय मन्त्री वाग्लेले गरेका छन् ।

यस्तै, निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ ।

यी हुन् प्रधानमन्त्रीसँगै शथप लिने मन्त्रीहरू

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिँदै शक्तिशाली मन्त्रिमण्डल विस्तार गरेका छन्।

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहसँगै नयाँ नियुक्त १४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी भने आफैँसँग राख्ने निर्णय गरेका छन्।

मन्त्रिमण्डलको दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान्ड सम्हाल्ने भएका छन् भने तेस्रो वरीयतामा रहेका सुदन गुरुङलाई गृह मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी, शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र सुनील लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले पाएका छन् भने खड्गराज पौडेल (गनेश) पर्यटन मन्त्री बनेका छन्। सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको दोहोरो जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार निशा मेहताले सम्हाल्नेछिन् भने विक्रम तिम्सिना सञ्चार मन्त्रीका रूपमा चयन भएका छन्।

सोविता गौतमले कानुन मन्त्रालय, प्रतिभा रावलले सामान्य प्रशासन र गीता चौधरीले मन्त्रीको रूपमा शपथ लिएका छन्। त्यस्तै, महोत्तरीका दीपककुमार साहलाई श्रम मन्त्रालय र सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेनलाई पूर्वप्रधानमन्त्री देउवाले दिए बधाई

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।

रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएर शपथ लिइसकेका छन्।

शपथ समारोहमा पूर्वप्रधानमन्त्री देउवा उपस्थित थिएनन्।

देउवा स्वास्थ्य उपचारका क्रममा हङकङमा छन्।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बालेन शाहलाई बधाई दिएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना,’ उनले भनेका छन्।

गृहमन्त्री बने सुदन गुरूङ

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारमा सुदन गुरूङ गृहमन्त्री बनेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा गुरूङ गृहमन्त्री बनेका हुन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  ​​​​​​गुरूङ गोरखा गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

हामी नेपाल नामक संस्थाको अध्यक्षसमेत रहेका उनी जेनजी आन्दोलनका अगुवामध्येका हुन्।

वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनिन् सिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन्।

उनी वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन्। सुर्खेतकी उनी रास्वपाकी समानुपातिक सांसद हुन्।

प्रधानमन्त्री बालेन्द्रको शपथमा सहभागी भएनन् पूर्वप्रधानमन्त्री ओली र देउवा

नेपालको नयाँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शाहको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी छन् ।

शीतल निवासमा आयोजित शपथ समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि शपथ समारोहमा सहभागी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा भएकाले आजको शपथमा सहभागी छैनन ।

पत्रकारिता गर्ने सुदूरपश्चिमकी रावल बनिन् सामान्य प्रशासन मन्त्री

धनगढी । सुदूरपश्चिमकी प्रतिभा रावल मन्त्री बनेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रावललाई ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ को जिम्मेवारी दिइएको छ।

उनीसँग पत्रकारिताको लामो अनुभव छ । ३२ वर्षीया रावलले झण्डै एक दशकसम्म पत्रकारितामा बिताइन्। साउथ एसिया चेक’, ‘रिपब्लिका’ दैनिक हुँदै उनी ‘ग्यालेक्सी फोरके टेलिभिजन’ सम्म पुगिन्। ग्यालेक्सीमा रहँदा उनले सञ्चालन गर्ने ‘लालमोहर’ कार्यक्रम निकै चर्चित थियो।

कार्यक्रमको निर्माताका रूपमा उनले समाजका विभिन्न सरोकारवाला र नीति–निर्माताहरूलाई स्टुडियोमा बोलाएर जनताका समस्यामाथि प्रतिबद्धता गराउने काम गर्थिन्। ती प्रतिबद्धताहरू शब्दमा मात्र सीमित हुने र कार्यान्वयनमा नआउने देखेपछि उनलाई लागेको थियो- परिवर्तनका लागि बाहिर बसेर प्रश्न गरेर मात्र पुग्दैन,नीति निर्माणको थलोमै पुग्नुपर्छ। यही सोच र ग्यालेक्सी टिभीका प्रमुख रवि लामिछानेको प्रेरणाले उनलाई पत्रकारिताको क्यामेरा र माइक छाडेर राजनीतिको मैदानमा पुर्‍यायो। रास्वपा स्थापनाको केही समयमै उनी सक्रिय राजनीतिमा लागेकी थिइन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरमा जन्मिएकी प्रतिभाको बाल्यकाल त्यति सहज थिएन। उनी ५ वर्षकी हुँदा बुबाको मृत्यु भयो।

त्यसपछि उनको र दाइको लालनपालन र शिक्षादीक्षाको सबै भार आमा माया रावलको काँधमा आयो। माया रावलले महेन्द्रनगरमा कहिले पसल थापेर त कहिले शिक्षण पेसा अँगालेर आफ्ना छोराछोरीलाई उचित शिक्षा दिलाइन्। आमाको त्यही सङ्घर्षले प्रतिभालाई बलियो बनायो। महेन्द्रनगरमै एसएलसी उत्तीर्ण गरेकी उनले स्नातक तहसम्मको अध्ययन नेपालमै गरिन् त्यसपछि भारतको चेन्नईबाट पोस्ट ग्राजुएट तहको अध्ययन पूरा गरिन्। आफू याे स्थानमा पुग्नुमा उनी आमाकाे हात रहेको बताउँछिन्।`

आमाको त्याग र शिक्षाप्रतिको मोह म याे स्थानमा छु, म काम गरेर दखाउने छु,` उनलेे भनिन्। प्रतिभा रावलसँगै सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने गीता चौधरी पनि मन्त्री बनेकी छन्। चौधरीलाई ‘कृषि मन्त्रालय’ को जिम्मेवारी सुम्पिएको छ। यी दुवै जना मन्त्रीहरू समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

स्वास्थ्य मन्त्रीमा निशा मेहता नियुक्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छिन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आज उनीसहित १५ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यालयमा सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रीमा नियुक्त मन्त्री मेहताले पनि सपथ लिएकी छन्।

नर्सिङ पेशाबाट राजनीति हुँदै संघीय संसद्सम्म पुगेकी मेहता अब देशको स्वास्थ्य नीतिको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेकी हुन्।

इनरुवाकी मेहता पेशागत रूपमा नर्स हुन्। स्वास्थ्य सेवामा सक्रिय रहँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध थिइन्। अघिल्लो निर्वाचनमा पार्टीले उनलाई समानुपातिक सूचीमा राखे पनि उनी सांसद बन्न सकेकी थिइनन्। यसपटक भने उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेर संघीय संसद्मा पुगेकी हुन्।

२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहताको रुचि राजनीतिमा पहिलेदेखि नै थियो।

भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्। संसदीय यात्रामा लागेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिएकी हुन्। स्वास्थ्य क्षेत्रमा काम गर्दा उनले सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएकी थिइन्।

अर्थमन्त्री बने डा. स्वर्णीम वाग्ले

काठमाडौं : रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन्। आज प्रधानमन्त्री बालेन शाहले शपथग्रहण गरेलगत्तै उनले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।  आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गर्दा वाग्लेलाई अर्थमन्त्रीमा बनाएका हुन्।

उनी तनहुँबाट निर्वाचित बनेका हुन्।

प्रधानमन्त्रीले सिफारिस गरेका सबै मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका छन्। रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो।

बालेन्द्रसँग प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी

काठ्माण्डौ- नवनियुक्त बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीसहित तीन मन्त्रालय आफैँसँग राखेका छन्।

प्रधानमन्त्रीसँगै उनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने भएका हुन्।

शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री बालेनले गरे राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई १२:३४ बजेको शुभ साइतमा शपथ ग्रहण गराएका हुन्।

समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ समारोह सुरू

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू भएको छ।

प्रतिनिधि सभामा बहुमत प्राप्त गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजबाट औपचारिक रूपमा देशको कार्यकारी अधिकार सम्हालेका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

प्रधानमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शाहको नेतृत्वको नयाँ सरकारप्रति आम नागरिकमा विकास, सुशासन र परिवर्तनको ठूलो अपेक्षा रहेको छ।

प्रधानमन्त्रीको शपथ लिन शीतलनिवास पुगे बालेन

काठमाडौं- ४३औँ प्रधानमन्त्रीको शपथ लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शीतलनिवास पुगेका छन् ।

शाहलाई शुक्रबार (चैत १३) बिहान राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

उनको शपथ १२ः३४ मा तय भएको छ ।

आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको फेरियो मुहार

बाजुरा। बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ।

आगलागीपछि कुरूप बनेको बजारमा झण्डै ३६ वटा पसल जलेर नष्ट भएका थिए। त्यसपछि केही महिनासम्म बजार अस्तव्यस्त र जीर्ण अवस्थामा थियो।

पछिल्लो समय बजार व्यवस्थापन समिति तथा अध्यक्ष रामचन्द्र गिरीको सक्रियतामा बजारमा सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माण भएपछि बाम्का बजारले पुनः मुहार फेर्न थालेको हो।

बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजार जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो। साँफे–मार्तडी सडकखण्डअन्तर्गत पर्ने यस बजारमा विभिन्न पालिकाका स्थानीयको दैनिक भीडभाड हुने गर्दछ।

खप्तड छेडेदह, बुढीगङ्गा र त्रिवेणीलगायत क्षेत्रका बासिन्दाले यहीँबाट दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्ने गर्छन्। साथै, यही बजारबाट बडीमालिका, गौमुल, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ तथा छिमेकी जिल्ला मुगु, कालिकोट, हुम्ला र जुम्लातर्फ सवारी सञ्चालन हुने गर्दछ।

२०६३ सालदेखि सञ्चालनमा आएको यस बजारमा लामो समयसम्म शौचालय, प्रतीक्षालय र खानेपानीजस्ता आधारभूत पूर्वाधारको अभाव थियो। यसका कारण ग्राहकहरूले सास्ती भोग्दै आएका थिए।

स्थानीय दानबहादुर विकका अनुसार बाम्का बजार सस्तो र सहज रूपमा सामान पाइने प्रमुख बजारमध्ये एक हो। “यहाँ जस्तो सस्तो मूल्यमा सामान पाइने बजार अन्यत्र कमै छन्,” उनले भने।

गत जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किँदा भीषण आगलागी भई बजारका अधिकांश पसल नष्ट भएका थिए।स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै विभिन्न संघसंस्था र समाजसेवीको आर्थिक सहयोगमा बजार पुनर्निर्माण गरिएको हो।

बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले २०८२ भदौ १ गतेदेखि जिम्मेवारी सम्हालेपछि बजारलाई “समृद्ध र स्वच्छ बाम्का बजार”का रूपमा विकास गरिएको बताए।

उनका अनुसार अहिले बजारमा रातिको उज्यालोका लागि बत्ती, सुरक्षा लागि सिसी क्यामेरा, सार्वजनिक टिकट काउन्टर, फोहर व्यवस्थापनका लागि डस्टबिन तथा फोहर खाल्डो, स्वच्छ खानेपानी र सवारी व्यवस्थापनजस्ता सुविधा थपिएका छन्।
हाल बजारमा पसल संख्या बढेर करिब १२० पुगेको छ। बजार क्षेत्रमा १६८ महिला र ३९४ पुरुष गरी ५९४ जनसंख्या बसोबास रहेको अध्यक्ष गिरीले जानकारी दिए।

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आजदेखि सुरु

टीकापुर। ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सांस्कृतिक नगरी टीकापुरमा महोत्सव सुरु भएको हो ।

चैत १५ गतेसम्म सञ्चालन हुने यस त्रिदिवसीय महोत्सवले भाषा, साहित्य, कला, संस्कृति तथा स्थानीय जनजीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै राष्ट्रिय स्तरको साहित्य तथा सांस्कृतिक उत्सवको रूप लिने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणलाई ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृति र जीवन शैलीलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित महोत्सवको रूपरेखा तयार गरिएको छ ।

हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक तथा बहुसांस्कृतिक सहअस्तित्वको राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने विश्वास लिएका छौँ ।

महोत्सव अवधिभर विभिन्न विषयमा २७ वटा सत्रहरू सञ्चालन गरिनेछन् । यी सत्रहरूमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विमर्श र अन्तर्क्रिया हुनेछन् ।

देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, चिन्तक, पत्रकार, अनुसन्धान्धाता तथा सांस्कृतिक अभियन्ताहरूको सहभागिताले यस महोत्सवलाई गरिमामय र समृद्ध बनाउने अपेक्षा रहेको संस्थापक संयोजक महेशविक्रम शाहले जानकारी दिए ।

तेस्रो संस्करणअन्तर्गत टीकापुर साहित्य महोत्सवको पहिलो शृङ्खलाका रूपमा कर्णाली नदीमा जलविहार र थारू सांस्कृतिक नाचको प्रस्तुति रहेको छ । दोस्रो शृङ्खलाअन्तर्गत सडक नाटक प्रस्तुति, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सवका कार्यहरू रहेका छन् ।

तेस्रो शृङ्खलामा नाटक प्रदर्शन, थारू समुदायको लोकसंस्कृति प्रदर्शन, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, साङ्गीतिक कार्यक्रम तथा सुदूरपश्चिमको देउडा गायन र खेलजस्ता विविध गतिविधि समावेश गरिएको छ ।

सुनको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ ।

सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५० रुपैयाँले घटेर तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

केही मन्त्रीको नाम टुंगो लाग्यो

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ ।

नेताहरुका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जामा विराजभक्त श्रेष्ठ र गृहमा सुधन गुरूङको नाम टुंगो लागेको छ ।

यस्तै सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, उद्योग मन्त्रीमा अमरेश सिंह, कानुन मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला बालबालिका सीता वादी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नाम टुंगिएको हो ।

यस्तै विक्रम तिमिल्सिनालाई सञ्चार तथा सूचना प्रविधि र दीपक साहलाई श्रम मन्त्रीमा नियुक्त गर्ने तयारी छ । अरु नामको विषयमा छलफल भैरहेको नेताहरुले बताएका छन् ।

 

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रधानमन्त्रीमा नियुक्त  गरेका हुन् ।

राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरेका छन्  । बालेनले आजै १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदै छन्  ।

राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच शाहलाई शपथ गराउने कार्यक्रम छ । आजै मन्त्रिपरिषद् विस्तारको समेत तयारी भइरहेको छ ।

खोज्नुहोस