सुदूरपश्चिममा जेन जी आन्दोलनको गतिविधिमा बहुपक्षीय संलग्नता
धनगढी- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले आफ्नो अध्ययन प्रतिवेदन बुझाए पनि सरकारले अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन। सञ्चारमाध्यममार्फत बाहिरिएको उक्त प्रतिवेदनमा राजधानी काठमाडौँसहित बढी क्षति भएका जिल्लाहरूको स्थलगत अवस्था, सरकारी अधिकारीहरूको बयान तथा सरोकारवालाको धारणा समेटिएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएका जिल्लाको सूचीमा कैलाली र कञ्चनपुर अग्रपंक्तिमा रहेका छन्।
कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिको स्थलगत निरीक्षणपछि आयोगले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको राय समेटेको छ। प्रतिवेदनमा स्थानीय तहका कार्यालय, वडा कार्यालय र सेवा केन्द्रहरूमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, “बिहान करिब ९ बजेदेखि पटक–पटक आएका प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र चोरी–लुटपाट गरेका छन्।” केही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू प्रत्यक्ष रूपमा संलग्न देखिएको उल्लेख छ। साथै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका पालिकाहरूमा बढी क्षति पुर्याइएको प्रतिवेदनमा जनाइएको छ।
यद्यपि, जानकी, टीकापुर र भजनी जस्ता केही पालिकाहरूमा भने ठूलो क्षति नभएको उल्लेख गरिएको छ। प्रतिवेदनले माओवादी केन्द्रका केही कार्यकर्ता पनि आगजनीमा संलग्न रहेको दाबी गरेको छ। आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण स्थानीय प्रशासनमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकिएको जनाइएको छ। प्रहरीबाट मुचुल्का तयार भइसकेको र कतिपय पालिकाहरूले सहरी विकास शाखामार्फत क्षतिको यकिन विवरण संकलन गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ।
घटनाका क्रममा कार्यालयभित्रै कार्यरत कर्मचारीहरू अचानक भएको आगजनीबाट ज्यान जोगाउन कठिन अवस्थामा परेको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ। उता कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोगलाई पठाएको विवरणमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता संलग्न रहेको उल्लेख गरेका छन्। प्रतिवेदनका अनुसार तोडफोड र आगजनीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, विप्लव समूह तथा अन्य दलका भातृ संगठनका युवा–विद्यार्थी कार्यकर्ता सहभागी रहेको देखिएको छ।
यसका साथै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर तथा भिडियोमार्फत घटनामा संलग्न व्यक्तिहरूको पहिचान र विश्लेषण गरिएको पनि जनाइएको छ। प्रतिवेदनले केही गैरराजनीतिक समूहसमेत लुटपाटमा संलग्न रहेको औंल्याएको छ। काम तथा व्यवसायका सिलसिलामा रहेका भारतीय नागरिक, यातायात व्यवसायी, चालक, सहचालक, मेकानिक्स, होटल व्यवसायी तथा होटलमा कार्यरत कर्मचारीहरू समेत धनमाल लुट्ने उद्देश्यले घटनामा संलग्न भएको देखिएको उल्लेख गरिएको छ।
आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिमा बहुपक्षीय संलग्नता देखिएको निष्कर्ष निकाल्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही आवश्यक रहेको औंल्याएको छ।
