खप्तड विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले चन्दलाई अध्यक्ष नियुक्त गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका-१० की उनी एमालेबाट उपप्रमुख उम्मेदवार भइ पराजित भएका थिए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको पदाधिकारी नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जानकारी दिए ।

समितिका सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराको मीनबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले बताए ।

 

बालेन शाहले शुक्रवार दिउँसाे १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीकाे शपथ लिने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।

शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण र त्यही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारमा कार्यभार सम्हाल्ने साइत तय भएको हो । शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम रहेको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डौ महानगरपालिकाको मेयर जितेका शाह चुनावअघि मात्रै प्रधानमन्त्रीको दाबेदारसहित पार्टीको वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।

फागुन २१ गते भएको चुनावमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेको छ । अब रास्वपाले एकल सरकार बनाउँदैछ । चुनावमा रास्वपाको पक्षमा अत्यधिक जनलहर आउनुमा शाहको लोकप्रियतालाई मुख्य मानिएको छ ।

मेयर छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवादमा आइरहने शाहले ओलीकै निर्वाचन क्षेत्र झापा–५ मा उम्मेदवारी दिएर ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

 

प्रधानमन्त्री कप क्रिकेट : मधेससँग सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगन्ज- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य ३३.४ ओभरमा पूरा गर्दै मधेसले जित हात पारेको हो । मधेसको जीतमा अनरिको यादवले अविजित ४६ रन बनाए । ७८ बलको सामना गर्दै अरनिकोले ९ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् ।

मधेशका लागि आदिल अंसारीले ३४ र पवन सर्राफले २१ रन बनाए । ओपनरद्वय कप्तान अनिल साह र मयन यादवलाई १३र१३ रनमै गुमाएपछि दवावमा परेको मधेसलाई आदिल र पवनले सम्हालेका थिए ।

पवन २१ रनको स्थितिमा अशोक धामीको बलमा आउट भएपछि आएका अरनिकोले खेल सम्माले । प्लेयर अफ दि म्याच घोषित अरनिकोले पाँच हजार नगद प्राप्त गरे । सुदूरपश्चिमका लागि अशोक धामीले तीन र शेर मल्लले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले समान २३र२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे । सुदूरका अन्य ब्याटर चल्न सकेनन् ।

मधेसका लागि अरनिको यादवले तीन,प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह,आदिल आलम,पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक/एक विकेट लिए ।

दोहोरो अंकले घट्यो नेप्से

काठ्माण्डौ- बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

मंगलबार १४ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३४५ वटा धितोपत्रको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।

यसदिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा अभियान लघुवित्त रहेको छ।

उक्त कम्पनीको मूल्य ७.७४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक २६० रूपैयाँमा झरेको छ।

यसैगरी, साल्पा विकास बैंकको मूल्य ६.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७१९ रूपैयाँमा सीमित भएको छ।

बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ४८४ रूपैयाँमा ५२ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३५९ रूपैयाँमा ५१ करोड ९६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ।

क्षयरोगबाट बाजुरामा १८ जनाको मृत्यृ

बाजुरा- पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा एक, २०७८/७९ मा तीन, २०७९/८० मा दुई, २०८०/८१ मा छ, २०८१/८२ मा चार जना र ०८२/८३ को फागुन मसान्तसम्म दुई जनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गत आव २०८१/८२ मा जिल्लामा १४१ जनामा क्षयरोग देखिएको छ । हालसम्म क्षयरोगबाट सङ्क्रमित ८१ जनाले नियमित औषधि खाइरहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये बडीमालिका नगरपालिका उच्च क्षयरोगी दर भएको पालिकामा रहेको तथ्याङ्कले देखाएको छ । जहाँ प्रतिलाख २१९ जनामा क्षयरोग देखिएको जनाएको छ ।

क्षयरोग उन्मूलन गर्न तथ्याङ्कभन्दा पनि समुदायस्तरमा क्षयरोग चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नेपाल पत्रकार महासङ्घ बाजुराका पूर्वअध्यक्ष प्रकाश सिंहले जोड दिए । उनले पालिकाका ग्रामीणस्तरमा पुगेर अनुसन्धानमूलक अध्ययन तथा यसको क्षेत्रमा परिमाणमुखी नतिजा देखिने गरी स्वास्थय कार्यालय बाजुराले काम गर्न सुझाव दिए।

जिल्ला अस्पतालका प्रमुखसमेत रहेका डाक्टर चन्द्रशेखर यादवले क्षयरोगलाई दिवसका रूपमा मात्रै नलिई नियमित रूपमा गम्भीर भएर प्रभावकारी रूपमा कार्यक्रम गरेर यसको उन्मूलनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्नसक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो।

क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अङ्गमा पनि असर गर्न सक्दछ।

यो रोग लाग्दा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखापर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख यादवले बताए।

समयमै रोगको पहिचान हुनसकेमा औषधि सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ । बदलिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठुलो चुनौतीको रूपमा देखा परेको छ । यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

नेपालमा क्षयरोगीलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिस क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसले सूचीकृत स्वास्थ्य संस्थाबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। -रासस

बालेन साहको शपथमा १०८ जना बटुकले स्वस्ति वाचन गर्ने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता साहको सपथग्रहणको साइत शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय भएकाे छ ।

सपथग्रहण ७ जना ब्राह्मणले शंखनाद गर्दै १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगल वाचन गराउँदै धार्मिक तथा सांस्कृतिक रूपमा सपथ लिने तयारी गरिएको बताइएको छ।

नेपालका आठ खेलाडीले इयू टी–२० बेल्जियम लिग खेल्ने

काठमाडौं : इयू टी–२० बेल्जियम लिगमा नेपालबाट आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा प्रायः राष्ट्रिय टिमका खेलाडी छन् भने इशान पाण्डे सिनियर राष्ट्रिय टोलीका सदस्य होइनन् ।

नेपालबाट सन्दीप लामिछाने लिएज रेड लायन्समा प्रि अक्सनमा नै अनुबन्ध भइसकेका थिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी पनि यसअघि नै जेबी ब्रुजमा अनुबन्ध भइसकेका छन् । मंगलबार भएको अक्सनबाट नेपालका अन्य ६ खेलाडी विभिन्न टिममा अनुबन्ध भएका हुन् ।

जसमा कप्तान रोहित पौडेल ग्लेन्ट ग्लाडिएटर्समा अनुबन्ध भएका हुन् । नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख आन्थ्रोप एंकर्समा अनुबन्ध भएका हुन् । त्यस्तै, गुल्सन झा, इशान पाण्डे, अनिलकुमार साह र ललितनारायण राजवंशी जेबी ब्रुजमा अनुबन्ध भएका हुन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्ट्सको लगानीकर्ता  ड्रिम्स स्पोट्र्सकै लगानी रहेको टिम हो जेबी ब्रुज । ब्रजले नेपाली खेलाडीलाई बेल्जियमका प्रमुख ५ शहरको नाममा नामाकरण गर्दै ५ टिमले यस लिगमा सहभागिता जनाउने छन् । यो प्रतियोगिता जुन ६ देखि १४ सम्म हुनेछ । यस प्रतियोगिताको लागि नेपालबाट २२ जना खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट आठ जना खेलाडीले लिगमा चार वटा फरक टिमबाट खेल्ने छन् ।

सडकमा बसेर जनताको सरकार चलाउँछौं : कुलमान घिसिङ

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन्। बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कायक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताएका हुन् ।

अब सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई समृद्धितर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्दै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि हारेर पनि जितेको महसुस गरेको बताए।

देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाईको मत दिनु महत्वपूर्ण विषय भएको उनको भनाइ छ ।

तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो सुन

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मङ्गलबार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसयता निरन्तर घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

 

मुलुकलाई समृद्ध बनाउन एकजुट हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन्। निर्वाचन आयोग नेपालले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका छन्।

‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि  एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने।

सो अवसरमा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान पनि गरे।

‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ’, राष्ट्रपति पौडेलले भने।

उनले आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययीता र पारदर्शीता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए।

‘यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको र निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रसंशा बटुल्न सफल भएको मैले महशुस गरेको छु’, उनले भने।

उनले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको भन्दै देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भै शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुभएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद व्यक्त गरे।

कम्बोडियाबाट थप ५१ जना नेपालीलाई स्वदेश फर्काइयो

काठमाण्डौ – कम्बोडियामा अनलाइन ठगी तथा गैरकानुनी काममा लगाइएकासहित थप ५१ जना नेपालीलाई स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडियामा पुगेका, त्यहाँ अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका, गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका ५१ जना नेपालीलाई हिजो स्वदेश पठाइएको हो ।

थाइल्याण्डमा रहेको दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरुको उद्धार गरिएको दूतावासले जनाएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया पुगेकोमा सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा ९ हजार ६७६ जना कम्बोडिया पुगेको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नजान पनि आग्रह गरिएको छ ।

न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले आज बिहान सामाजिक सञ्जालमार्फत घुँडाको शल्यक्रिया सफल भएको जानकारी गराएकी हुन् ।

न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमनसहितको टोलीबाट शल्यक्रिया सफल भएको हो । अब डाक्टरको निगरानीमा पुनर्स्थापना अर्थात् (रिह्याब) प्रक्रिया शुरू हुने साम्बाले बताएकी छिन् । अस्ट्रेलियन ‘ए’ लिगमा न्युजिल्यान्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् ।

उपचारका लागि ठूलो रकम लाग्ने भएपछि साम्बाले सामाजिक सञ्जालमार्फत् सहयोगको अपील गरेकी थिइन् । कतारमा उपचार गर्ने प्रारम्भिक योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले जानकारी दिएकी छिन् ।

गौशाला व्यवस्थापनमा पालिका नै सक्रिय

 कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सडकमा हुने दुर्घटना न्यूनीकरण र किसानको बालीनाली जोगाउन गाउँपालिकाले वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेर छाडा चौपाया व्यवस्थापन गर्दै आएको भए पनि गौशाला सञ्चालक समितिबाट उचित व्यवस्थापन हुन नसकेपछि पालिकाले आफैँले व्यवस्थापन लागेको बताए ।

गाउँपालिकाले प्रदेश सरकारसँगको समन्वयमा गौशालामा तीन वटा ठुला आधुनिक ट्रस, गाईले सहज रूपमा घाँस खानका लागि डुँडहरू निर्माण, मूत्र सङ्कलन र मल भण्डारण कक्ष जस्ता आधुनिक पूर्वाधार निर्माण गरिसकेको छ । खानेपानीका लागि बोरिङ जडान र सुरक्षित घेराबार निर्माण गरिएको छ ।

पूर्वाधार सम्पन्न भए तापनि गौशाला व्यवस्थापन समितिको कार्यशैलीमा देखिएको केही कमजोरी र नियमित अनुगमनमा भएको कमीले गर्दा पशुको संरक्षण र स्याहारसुसारमा केही व्यावहारिक जटिलता उत्पन्न भएको अध्यक्ष कुवँरले स्विकारे । उनले भने, “गौशालालाई अबका दिनमा एउटा जीवन्त र नमुना केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले वर्तमान व्यवस्थापन समिति खारेज गरी आफैँ प्रत्यक्ष सञ्चालन र निगरानी गर्ने निर्णयमा पुगेको छ ।” उनले गौशालाकै प्रयोजनका लागि छुट्टै ट्याक्टर, ट्रली र हैरोको व्यवस्था, समयमै आहार सङ्कलनको व्यवस्था, पशु चिकित्सकद्वारा नियमित स्वास्थ्य परीक्षण, गौशालाको हाताभित्रै उन्नत जातको घाँस खेती गरी वर्षभरि पर्याप्त आहारको सुनिश्चितता गरिने जानकारी दिए।

गौशाला व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्ने भएको छ । साथै आफ्ना पशुलाई बेवारिसे रूपमा सडकमा छाड्ने किसानलाई पहिचान गरी दण्डित गर्ने कडा नीति ल्याउने पनि बताएको छ । हाल गौशालामा २४० गाई रहेका छन् । तिनको रेखदेखमा छ जना कार्यरत छन् । तीमध्ये चार कर्मचारीले गाईलाई जङ्गलमा चराउन लैजाने गर्छन् भने दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्छन् । गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि सो रकम

कर्मचारीको तलबमै धेरै खर्च हुने हुँदा गाईको दानापानी व्यवस्थापनमा अपुग भएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष देव चौधरीले बताए । गौशालाको नाजुक अवस्थाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजसेवी भीम उपाध्यायको पहलमा आर्थिक सहयोग जुटाई अहिले पोसिलो घाँस, पराललगायत खानेपानी भकारो सुधारमा सहयोग प्राप्त भएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनीयताको शपथ लिएका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन्। ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरेको छ। नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्दै छन्।

मतादेशको मर्म : रास्वपालाई सत्ता, अन्यलाई सुध्रिने मौका

महाभारतको लडाईं शुरु हुदै थियो । सारा राजाहरु पाण्डव र कौरवका पक्षमा बाँडिईसकेका थिए । बाँकी थिए, कृष्ण । सहयोगको अपेक्षा गर्दै अर्जुन र दुर्योधन संयोगले एकै समय कृष्णको दरवारमा पुगे । कृष्ण निदाईंरहेका थिए । दुर्योधन कृष्णको सिरानमा बसे । अर्जुन खुट्टातिर ।

कृष्ण निन्द्राबाट जसै ब्यूँझिए । पहिले अर्जुनलाई देखे । पछि दुर्योधन । उनले दुबै जनालाई सोधें– के कति कामले आयौं  ?

दुबैले एकै स्वरमा भने, युद्धमा हामीलाई साथ दिनुप¥यो ।

कृष्णले दुर्योधनलाई प्रश्न गरे,– भन्, नारायणी सेना र ममा कसलाई रोज्छौ ? उत्साही दुर्योधनले बिलम्ब नगरी भने, –नारायणी सेना ।

एकातिर एक्ला कृष्ण । अर्कोतिर १० लाखको संख्यामा रहेको नारायणी सेना । संख्यालाई सबैथोक ठान्ने दुर्योधनले नारायणी सेना रोजे ।

अर्जुनले नमागेरै कृष्ण पाए । उनले जे खोजेका थिए ।

महारथी, युद्ध कौशल, सैन्य संख्या र क्षमताका हिसावले कौरवसंग पाण्डवको तुलना नै हुदैनथ्यो । कहाँ भिष्म पितामह, द्रोर्णाचार्य, कर्ण, अस्वत्थामा, कृपाचार्य, भूरिश्रवा र जयद्रथ । त्यसमाथि पाण्डवका मामा शल्य, जसलाई दुर्योधनले झुक्याएर आफ्नो पक्षमा लड्न बाध्य बनाएका थिए ।

पाण्डवसंग आफ्नै पाँच भाई, छोराहरु अभिमन्यु, घटोत्कच बाहेक धृष्टद्युम्न र शिखण्डी थिए ।

कौरवसंग ११ अक्षौहिणी अर्थात २४ लाख सेना । पाण्डवसंग ७ अक्षौहिणी अर्थात १५ लाख सेना । दुबै पक्षसंग त्यही अनुपातमा घोडा, हात्ती र हतियार ।

अद्भूत सैन्य शक्ति र त्यो युगका सर्वश्रेष्ठ धर्नुधर साथमा हुदा पनि महाभारतमा कौरवले हार बेहो¥यो । पाण्डवले जित ।
महाभारतले दिएको सन्देश हो–युद्ध संख्याले होईन्, नेतृत्वको क्षमता र रणनीतिले जितिन्छ ।

आफ्नै सारथी शल्यले तेजोबध गरेर मानसिक रुपमा कमजोर बनाईदिएका कर्णले युद्ध मैदानमा जे भोगे, यतिबेला गगनले भोग्दैछन् । त्यो युगमा कर्णलाई हराउने क्षमता अर्जुन त के, कसैसंग थिएन् । शल्यलाई सारथी बनाउदाको परिणाम कर्णले भोगे । घर छोडेका युयुत्सुभन्दा शल्यहरु घातक हुन्छन् । शकुनी त त्यसै बद्नाम छन् ।

अर्को सन्देश हो–सत्यका पछाडि भीड नहुन सक्छ । भीडसंग जुध्ने नैतिक बल र त्यसलाई परास्त गर्ने दृढ अठोटले असंभव ठानिएको कुरालाई पनि संभव बनाउछ ।

अव भूमिका नबाँधी मूल विषयमा प्रवेश गर्दैछु । विशेष महाधिवेशनबाट विक्षिप्त देउवा पक्ष प्रतिनिधि सभामा लज्जाजनक हारलाई गगन थापाको पोल्टामा फालेर फेरि नेतृत्व आफ्नै भागमा पर्ने भ्रमले दंग छ ।

विशेष महाधिवेशनभन्दा पहिल्यै कार्यबाहक सभापति तोकेर विश्राम लिईरहेका जेनजी आन्दोलनबाट प्रताडित देउवालाई कसले सक्रिय हुन उक्सायो ? त्यसमा को को संलग्न छन् ? कसको के स्वार्थ छ ? गईसकेका देउवालाई रोकेर आफूलाई ‘सेटल’ गर्ने ध्याउन्नमा सक्रिय सात भाई र देउवा पत्नीको ‘ईमोशनल ब्ल्याकमेल’ को भद्दा बहाना हो,–देउवाको अपमानको रटान ।

यतिबेला काँग्रेसको मात्र होईन्, अन्य परम्परागत दलहरुको अवस्था, कृष्णको द्धारिका जस्तै छ । न ‘म्याजिक’ले काम गर्छ । न ‘म्याजिक नम्बर’ ले । ती कृष्ण, जसको साथले पाण्डवले महाभारत जिते, सामान्य शिकारीको वाण लागेर उनको मृत्यु भयो । कृष्णको मृत्युपछि समुन्द्रमा डुबेको द्वारिकामा के भयो ? यदुवंशी नाश कसरी भयो ? पौराणिक ग्रन्थहरु पढे पुग्छ ।

कमजोर घरमा कलहका लागि विषय चाहिदैन् । अहिले परम्परागत दलहरुभित्र देखिएको कलह त ‘कास्टिङ’ मात्र हो । २०१५ मा साउथ सुडान पुग्दा सुन्थे, पसलबाट सामान लिएर सेनाका मान्छेले मूल्य तिर्दैनन् । पसलले सेनापतिसंग गुनासो गर्ने डर देखाउथे । उसको जवाफ हुन्थ्यो, यहाँको सेनापति म नै हूँ । तिमी कसलाई उजुरी गर्छौ ?

यतिबेला दलहरुमा कार्यकर्ता छैनन् । सबै सेनापति । टीकारामहरुले उल्टै सेनापतिलाई भन्दैछन्, तिमी को हौ ?

बिधि र प्रकृयाबाटै काँग्रेसको नेतृत्वमा आएका थापा र शर्माहरु मूढ बलमा विश्वास गर्दैनन्, उनीहरु जाई लाग्ने कुरालाई ईन्कार गर्छन् । यद्यपि आफ्नै पार्टी सभापतिसंग पाखुरा सुर्किने नेविसंघ र तरुण दल त्यतिबेला कहाँ थिए, जतिबेला तत्कालीन सभापति देउवा घरभित्रै रक्ताम्य पारिएका थिए । संगठनको ध्वाँस लगाउनेहरुको हुती पनि देखियो ? र, साहस त भन्नै परेन । अव यी संगठनको काम आफ्नै कार्यकर्तालाई कुट्ने र पार्टी नेतृत्वको हुर्मत लिने बाहेक केही छैन् । महंगाई, भ्रष्टाचार र बेथितिसंग मितेरी साईनो गासिसकेका यी संगठनलाई विद्यार्थीका मुद्दा, शैक्षिक सुधार र नागरिकका पीडामा बोल्ने फुर्सद कहाँ ?
जसले जन्मायो, तिनै बुवाआमालाई चिन्दैन् भन्नेहरु कपुत हुन् । पुच्छरले शरीरलाई चुनौती दिएको पनि हेर्न मिल्ने रहेछ । बाँच्नु पर्दो रहेछ ।

डाईनोसर लोप भएको ईतिहास पढिरहेको पुस्तालाई काँग्रेसको ईतिहाससंग के को रुचि ? उसको वर्तमान देखिरहेको/भोगिरहेको युवा जेनजी विद्रोहपछि पनि सत्ता, शक्ति र नेतृत्वका लागि छिनाझप्टी गरिरहेको बर्गसंग कसरी आकर्षित र सकारात्मक हुन सक्छ ? पार्टी सम्हाल्छु भन्नेहरुलाई यत्ति त हेक्का छैन् । अनि तिनैले देश बनाउछौ भन्दा पत्याईदिनु पर्ने ? अभिभावकलाई प्रश्न गर्ने युवाका लागि पार्टीका नेता को नै हुन् र ?

शरीर, बजन र आयतनले आयु निर्धारण गर्दैन् । डाईनोसर साक्षी छ । त्यसका लागि प्रतिकूल परिस्थितिलाई आफू अनुकूल बनाउने क्षमता उसभित्र हुन जरुरी छ । ईतिहास, योगदान र सांगठिनक आयतनले पार्टीको अस्तित्व जोगिदैन्, २०८२ को प्रतिनिधि सभाको निर्वाचन त्यसको ताजा उदाहरण हो । फेरि पनि पुराना दलका शीर्ष नेताहरुमा दम्भ के को हो ? भारुण्डो चराको नियति भोग्न आतुर हुन् भने भन्ने एउटै कुरा छ,–राम राम ।

मतादेशले रास्वपालाई सत्ताको बागडोर सुम्पिएको छ । अन्य दलहरुलाई पाँच वर्षमा सुध्रिने मौका । अवका पाँच वर्षमा उनीहरु सुध्रिन्छन् कि, सकिन्छन् ? त्यो उनीहरुको हातमा छ ।

नामका ठूला र आफूलाई लोकतन्त्रको हिमायती बताउने परम्परागत दलका नेताहरुका गतिबिधि, हर्कत र दम्भका कारण ती दल डाईनोसरको नियति भोग्ने दिशामा छन् । साथमा भएको डुंगा डुबाउदै गरेका उनीहरुको भाग्यमा त बदल्नलाई अर्को डुंगा मिल्ने छाट छैन् । बाँच्नु त परको कुरा हो ।

१० वर्षसम्म युद्धको मोर्चामा रहेको तत्कालिन नेकपा माओवादीलाई संवादका माध्यमबाट शान्ति प्रकृयामा ल्याएको भनेर गफ लाईरहने काँग्रेसका नेताहरु आपसमा चाही किन संवाद गर्दैनन् ?

साम्यवाद र समाजवादमा बाँडिने त्यो युगको अन्त्य भईसक्यो । न कसैलाई राजनीति ठेली पढ्ने फुर्सद छ । न त रुचि । त्यो युवा पंक्ति, जसको एउटै गुनासो छ, विकास किन भएन् ? सुशासन किन भएन ? रोजगारीका अवसरहरु कहिले सृजना हुन्छन् ?
आवश्यक शुल्क तिरेर पनि सेवा नपाउने बेथितिका विरुद्ध मतादेश दिएको युवाले न काँग्रेस हेरे, न कम्युनिष्ट । परीक्षण नै नभएको पार्टीलाई युवाले विश्वास गर्नुको पछाडिको कारण परम्परागत दलहरुको प्रतिको बितृष्णा मात्र थिएन, कम्तिमा नयाँ पार्टीले ‘सर्भिस डेलिभरी’मा सम्झौता गर्ने छैनन्, भन्ने भरोसा पनि मत मार्फत ‘व्यालेट’मा खसेको हो ।

काँग्रेस, कम्युनिष्ट, जातीय, धार्मिक र क्षेत्रीय पार्टीका पुराना र पाका नेताहरुले युवाहरुको मनोदशा, आकांक्षा र अपेक्षा बुझ्न सक्दैनन् । बुझ्न चाहदैनन् । त्यो देखिई सक्यो । चुनावमा जे भयो, यो त्यसैको नतिजा हो ।

पुराना दलहरु अव सक्किन बाँकी छ । रुपान्तरण हुने कि सक्किने ? बदलिने कि बद्ला लिने ? विचारमा खुलापन र नेतृत्वमा नयाँपन । यो समयको माग हो । समयको बेग समुन्द्रको छालजस्तै निर्दयी हुन्छ । कसैलाई गहिराईमा समाहित गर्छ । कसैलाई किनारामा उत्तानो पारिदिन्छ । मतादेशको छालले मुच्र्छनामा परेका दलहरुलाई आफू जीवित रहेको थाह पाउन आफैलाई चिमोठ्नु पर्ने अवस्था भाग्यले होईन, कर्मले मिलेको हो ।

कतिपयले भन्छन्, गगनले हतार गरे । गगनहरुले हस्तक्षेप गर्न ढिलो गरेकै कारण काँग्रेसको अवस्था यस्तो भएको हो सत्य स्वीकार्न ढिलो भईसक्यो । उमेर, ईतिहास र योगदान होईन, नयाँ पुस्ताले खोजेको परिणाम हो, त्यो परिणाम दिन सक्ने ल्याकत राख्ने गगनहरुको पुस्ता हो । गगनहरुले स्पेस लिन नसक्दा वा ढिलाई गर्दा उनकै पुस्ताका रवि र बालेनहरुको उदय भएको हो ।
गगन निर्विकल्प छैनन् । तर गगनको बिकल्प खोज्नेहरुले आफ्नो अनुहार ऐनामा हेरुन । के तिनको नेतृत्वले काँग्रेसको डुंगा पार लाग्ला ? गुमाएको जनविश्वास, सेलाएको उर्जा, छिन्नभिन्न भएको संगठन, हतोत्साही कार्यकर्ताको मनोवल फिर्ता आउला ? उनीहरुले आफैले आफैलाई प्रश्न गरुन ।

समन्वय, संवाद, सम्मान र सहअस्तित्व । पार्टी जोगाउन थापा पक्षधरले अंगिकार गर्नु पर्ने अनिवार्य शर्त हुन् । ईतिहास सधै दोहोरिदैन् । कलश रोज्ने दिशामा जादा देउवा पक्षसंग तत्काल केही थान सांसद त होलान्, त्यो बाटो गोरखा परिषदमा टुंगिन्छ । नजिरहरु निर्मम पनि हुन्छन् ।

आगोको अन्तिम अंशमा पनि पोल्ने गुण जीवित रहन्छ । त्यस्तै बरफको अन्तिम अंशमा चिसोपन रहीरहन्छ । काँग्रेसको आकार संसदमा कत्रो छ ? त्यो महत्वपूर्ण होईन, लोकतन्त्रप्रतिको निष्ठा, नागरिकका मौलिक हकप्रतिको अटुट सम्मान र अभिव्यक्ति स्वतन्त्रताप्रति उ अडिग छ कि छैन्, त्यसैले उसलाई शुन्यबाट सय हुने वा डाईनोसर झै सदाका लागि लोप हुने भन्ने कुराको निर्धारण गर्नेछ ।

आफूसंग असमहत हुनेहरुप्रति सहिष्णु हुनु काँग्रेसको लोकतान्त्रिक चरित्र हो । भलै, सत्तामा पुगेपछि काँग्रेस सद्दे रहेको विरलै क्षण छन् । तर फरक मत राख्नेहरुको बाँच्न र निर्भयतापूर्वक बोल्न पाउने अधिकारको रक्षाका निम्ति उभिनु उसको गुण हो । उसले यो गुण कठिन घडिमा जोगाईरहन सक्छ कि सक्दैन् ? काँग्रेस संशय र प्रश्नले घेरिएको छ ।

क्रियाशिल सदस्यको संख्याले काम नगरेको अवस्थामा नेताको संख्याले पार्टी जीवित राख्न सक्ने सोच्नु पाल्नु भ्रम हो । यो भ्रमबाट देउवा पक्ष मुक्त हुन जति ढिलाई गर्नेछन्, उनीहरुको राजनीतिक जीवन र पार्टीको आयुमा त्यति नै बढि क्षति हुने निश्चित छ ।
पतनको श्रृंखला शुरु भईसक्यो । प्रतिनिधि सभाको लज्जाजनक हारपछि काँग्रेस र एमालेको गठबन्धनमा रहेका प्रदेश सरकारहरु अन्तिम भोजमा जुटेका छन् । नियुक्ति, बजेटको दोहन र मनपरी तन्त्रले भन्छ, ‘हम तो सुध्रेंगे नही ।’

लगाम लगाउने केन्द्रीय नेतृत्व अचेत छ । मैमत्त छन्, प्रदेश सरकार । प्रदेशमा चुनावसम्म त आफ्नो साख जोगाउनु नि । त्यो भन्दा पहिले नै सक्किने भए ।

महाभारतको युद्ध सकिएपछि महारथी बर्बरिकलाई अर्जुन सोध्छन्, मैले लडेको कस्तो लाग्यो ?

कृष्णले युद्ध शुरु हुनु अघि छल गरेर शरीरबाट अलग गरेको टाउकोले महाभारत हेरेका बर्बरिक भन्छन्, तिमीले युद्ध लड्यौ र ? मैले त केवल कृष्ण मात्र देखे ।

रास्वपाको अवस्था त्यस्तै छ । युद्ध जितेको आत्मप्रशंसामा रमाईरहेका रविलाई कसैले नभने पनि पक्कै आत्मबोध हुनुपर्छ । मतदाताले चुनावमा केवल बालेन र घण्टी मात्र देखेका थिए ।

बाँकी उम्मेदवार, जसले जिते, तिनमा अभिमान नपलावस । चुनाव तिनको अनुहार र विज्ञताले जितेको होईन् । निर्वाचनमा विरलै यस्तो हुन्छ, जहाँ मतदाताले उम्मेदवार हेर्दैनन्, त्यसको नेतृत्व र चुनाव चिन्हलाई हेर्छन् । पहिले भोट खस्थ्यो । यस पटक मतदाताले खन्याए । मैयादेवीको ईतिहास एकपटक सबैले स्मरण गरुन् ।

यता काँग्रेसमा गगनको हार देखिरहेका उनका विरोधीहरुले टुप्पोमा बसेर फेद काटिरहेका त्यही पार्टीभित्रका कालिदासहरुका कुरा ठूला छन् । तर्कहरु सकिएपछि के हुन्छ ? एमाले हेरे पुग्छ ।

मूर्खहरुको झगडाले विनाश निम्त्याउछ । विद्धानहरु छुट्टिदा पनि राम्रो परिणाम दिन्छ । भनिन्छ, अक्सफोर्ड छोडेर निस्किएका विद्धानहरुले क्याम्ब्रिज जन्माए ।

विश्वकै सबैभन्दा पुरानो ख्यातिप्राप्त अक्सफोर्ड युनिभर्सिटी(सन्,१०९६) जन्मिएको ११३ वर्षपछि क्याम्ब्रिज युनिभर्सिटी(१२०९) स्थापना भयो ।

राष्ट्रको सेवा गर्ने नाममा परिवारिक सदस्य जोडेर खोलिएका एनजिओभन्दा गाउँका क्लवहरु बरु बढि समावेशी र खुला छन् । नेपालका परम्परागत दलहरुको सांगठिनक ढाँचा त क्लव जत्तिको समावेशी छैन् । जसको क्रियाशिल तथा संगठित सदस्यता सबैका लागि कहिल्यै खुला भएन् । सदस्य बन्न ईच्छुकले कहिल्यै सदस्यता पाएन् । बरु त्यो सदस्यता के हो भन्ने थाह नपाएकाहरुको नाम त्यो सूचीमा समावेश गरियो । गाउँ, नगर, जिल्ला, प्रदेश हुदै केन्द्रमा कसलाई जिताउने त्यही उद्देश्यले वितरण गरिएको क्रियाशिल सदस्यको जगमा उभिएको पार्टीको हालत के भयो ? चुनावमा तासको घर झै ढल्दा पनि नचेत्नेहरुबाट के अपेक्षा गरिरहनु ?

त्यस्ता सदस्यताका भरमा पार्टी कब्जा गर्न सकिन्छ । चुनाव जित्न सकिदैन् । प्रष्ट भईसक्यो । क्रियाशिल सदस्य भनेको पार्टीको सेना हो । र, सभापति पार्टीको सेनापति । युद्धमा विपक्षीलाई साथ दिने सेना र चुनावमा विपक्षी उम्मेदवारलाई भोट दिने क्रियाशिल सदस्य उस्तै हुन् । गद्दारहरुको सर्दार बन्नुभन्दा एउटा क्लवको अध्यक्ष हुनुको आत्मगौरव बेग्लै हुन्छ । पार्टीलाई क्लव होईन, एनजिओ बनाए । यतिबेला जे रमिता चलिरहेको छ, यो त हुनु नै थियो ।

पाँच वर्ष लामो उडानमा रहेको जहाजका दुई पाईलट हुन्, बालेन र रवि लामिछाने । त्यो जहाजभित्र देश छ । जनता छन् । र छ, जनताको भाग्य र भविश्य । कथं कदाचित दुई पाईलटबीच मनमुटाव उत्पन्न भएमा उनीहरु दुई जना त जोगिने छैनन् । देश नै दुर्घटनामा पर्नेछ । त्यस्तो मूर्खता उनीहरुले गर्ने छैनन्, अहिलेलाई यत्ति कामना गरौ ।

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

काठमाडौं-रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीनआरोपपत्रहरू संशोधन गरी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटमाथि सोमबारदेखि सुनुवाइ सुरू भएको हो। सोमबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो।

अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन्। उक्त निर्णयपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने  चितवन-२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका  छन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

बझाङको बित्थडचिर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा  ह्युम पाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार निर्माण कार्यका क्रममा फिल्डमा काम नभएको तथा कम काम भएको अवस्थामा पनि बढी काम भएको देखाई झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिने र लिने कार्य गरी भ्रष्टाचार गरिएको हो । यसरी सरकारी रकम गैरकानुनी रूपमा लाभ वा हानि पुर्‍याउने उद्देश्यले भुक्तानी दिएको आयोगको दाबी छ ।

प्रतिवादी बनाइएकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टसहित अन्य कर्मचारी र निर्माणसँग सम्बन्धित पाँच जना रहेका छन् । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) एवं सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ ।

आयोगले उनीबाट आठ लाख ४८ हजार ९६२ रुपियाँ २२ पैसा बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ । साथै उक्त बिगोसमेत असुल उपर गर्न माग गरिएको आयोगले जनाएको छ ।

पीएम कप : गण्डकीमाथि बागमतीको फराकिलो जित

काठमाडौँ- जारी पीएम कप अन्तर्गत बागमती प्रदेशले गण्डकी प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकीलाई १७० रन अन्तरले पराजित गरेको हो ।

बागमतीले दिएको २९५ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३१.५ ओभरमा अल आउट हुदै १२४ रन मात्र बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ७४ रन र सुबाश भण्डारीले २९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै बागमतीका बलर रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले इशान पाण्डेको ७१, आशुतोष घिरोहियाको ५९ र सुभ कंसाकारको ४४ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनाएको थियो ।

अब बागमती प्रदेसले अर्को खेल विहिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने गण्डकीले त्रिभुवन आर्मीसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार २३.८३ अंकले बढेर २९६०.४९ को विन्दुमा कायम भएको हो ।

उक्त दिन विभिन्न ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी हुँदा आठ उपसूचक हरियाली भएको छ ।

उक्त दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमाल दोलखा हाइड्रोपावरको ४५ करोड ७० लाख ७२ हजार रुपैंया, ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख १५ हजार रुपैयाँ, शिभम् सिमेन्टको ३९ करोड १० लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला

बैतडी- यस वर्ष बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिंह कार्कीले बताए।

चालु आर्थिक वर्षमा ५३८ जनामा क्षयरोगको परीक्षण गर्ने लक्ष्य राखिएको थियो। तर, हालसम्म २०३ जनाको मात्रै परीक्षण गरिएको छ, जसमध्ये ८७ जनामा संक्रमण पुष्टि भएको छ। लक्ष्यअनुसार परीक्षण हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको बताए। उनका अनुसार सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालनमा रहेको छ।

नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भेटिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका हुन् ।

‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ,’ सभापति थापाले भने, ‘अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न । निष्कर्ष निकालिनुपर्छ ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए।

देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि आन्दोलनकारीले साङ्घातिक आक्रमण गरेका थिए । आगजनीका क्रममा त्यहाँ पैसा जलेका भिडिया सार्वजनिक भएका थिए।

कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो । र, त्यहाँ पनि पैसा जलेका भिडियो सार्वजनिक भएका थिए।

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए।

जवाफदेहितालाई ध्यानमा राख्दै राजीनामा दिएको थिएँ, दबाब र ग्लानी थिएन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएको प्रष्टीकरण दिए ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर पार्टीको विधानको व्यवस्थाअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ सभापति थापाले भने, ‘सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने विधानमा व्यवस्था छ । यसमाथि छलफल पनि भइसकेको छ ।’

आफ्नो राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको थापाले बताए । थापाले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौँ कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।

‘विशेष महाधिवेशन गरेर कहिँकतै कमजोरी गर्‍यौँ कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ थापाले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’ थापाको सम्बोधन जारी छ ।

रास्वपालाई गगनको सुझाव– नवयुवाहरूको विद्रोहको मर्म अनुसार काम गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपालाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नवयुवाहरूको भावनालाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गरे।

उनले भने, ‘रास्वपाले ५ वर्षको लागि सरकार चलाउने अवसर पाएको छ। पार्टी र व्यक्तिको तर्फबाट बधाई दिन्छु, संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु।’

उनले निर्वाचनले कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको भन्दै नयाँ जिम्मेवारी पाएको बताए।

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख सुरेश पन्थीका अनुसार, नयाँ नियमावली कार्यान्वयनमा आएयता हालसम्म देशभरका विभिन्न जिल्लाबाट २ हजार ९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेको छ।

गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो। यस संशोधनले वर्षौँदेखि नागरिकताबाट वञ्चित भएका नेपाली नागरिकका सन्तानलाई पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिएको छ।

के-के भयो संशोधन ?

नेपाल नागरिकता नियमावली, २०६३ लाई चौथो पटक परिमार्जन गर्दै प्रशासनले केही महत्त्वपूर्ण नियम र अनुसूचीहरूमा हेरफेर गरेको छ:

  • प्रमुख संशोधन: नियम ३, ५, ७, ८ र १४ मा परिमार्जन।
  • नयाँ प्रावधान: नियमावलीमा ‘नियम १६ क’ थप गरिएको छ।
  • अनुसूची परिवर्तन: नागरिकताको आवेदन फारम र स्वघोषणाको ढाँचामा परिवर्तन।

कुन अवस्थामा पाइन्छ आमाको नामबाट नागरिकता ?

संशोधित नियमावलीले विशेषगरी बाबुको ठेगाना नभएका वा बाबुको पहिचान हुन नसकेका व्यक्तिका लागि सहज बाटो खोलेको छ:

  • बाबु अज्ञात भएको अवस्था: नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको अवस्थामा।
  • अभिभावकको मृत्यु: बाबु वा आमामध्ये एकले जन्मका आधारमा नागरिकता पाएको तर अर्को अभिभावकको मृत्यु भइसकेको अवस्थामा।
  • विदेशमा जन्मिएका सन्तान: नेपाली आमाबाट विदेशमा जन्म भई बाबुको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका व्यक्तिले अंगीकृत नागरिकता पाउने।
  • महत्त्वपूर्ण व्यवस्था: नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका साथै सम्बन्धित व्यक्तिको ‘स्वघोषणा’ लाई पनि मुख्य आधार मानिनेछ।

अधिकारको प्रत्यायोजन र स्थानीय भूमिका

यसअघि वैवाहिक अंगीकृत बाहेकका अन्य अंगीकृत नागरिकताका लागि गृह मन्त्रालयको निर्णय कुर्नुपर्ने झन्झटिलो व्यवस्था थियो। तर नयाँ नियमावलीले उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पिएको छ। यसले गर्दा स्थानीय तहमै नागरिकता वितरण प्रक्रिया छिटो र प्रभावकारी बनेको छ।

अन्य नयाँ व्यवस्था

  • नाबालक परिचयपत्र: यसअघि स्पष्ट कानुनी व्यवस्था नभएको नाबालक परिचयपत्र वितरणलाई पनि यस संशोधनले समेटेको छ।
  • विदेशी महिलाको हकमा: नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिनुअघि उनको ‘नेपाल बसाइँ अनुमति’ (भिसा) नियमित हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ।

यो व्यवस्थासँगै वर्षौँदेखि राज्यविहीनताको अवस्थामा रहेका ठुलो सङ्ख्याका युवाले राज्यको मूलधारमा आउने मौका पाएका छन्।

पीएम कप : बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य

काठमाडौं- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत अशुतोष घिरौया र इशान पाण्डेको अर्धशतीय पारीमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको बलियो लक्ष्य दिएको छ ।

तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको हो । बागमतीको लागि इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर ब्याटर अशुतोष घिरौयाले ५९रनको अर्धशतकीय पारी खेले। उनले पहिलो विकेटको लागि शुभ कंसाकरसँग ६४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर शुभले ४४ रन बनाए । वानडाउन आएका शिवम तिवारीले १८ रन बनाए । उत्तम मगरले ३० र विवेक मगरले २७ रन बनाए। कप्तान सन्दीप लामीछाने २६ रनमा अविजित रहे । गण्डकीको लागि कमल परियारले २ विकेट लिए ।

कप्तान विपिन खत्री, अंकित न्यौपाने, सिविन श्रेष्ठ र सुवास भण्डारीले १–१ विकेट लिए । बागमती प्रदेशको यो खेल दोस्रो खेल हो । बागमतीले पहिलो खेल एपीएफसँग हार बेहोरेको थियो । गण्डकी प्रदेशको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो ।

सांसदको शपथका लागि आवश्यक तयारी पूरा

काठमाडौं– संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भीक बैठकका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद सचिवालयले शपथ र सभाका प्रारम्भीक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भीक चरणका बैठकहरू बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगाएतको व्यवस्थापन भइरहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उनले बहुउद्देश्यीय हल नजिकै नयाँ भवनमा नै कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुख बस्ने कोठाको पनि व्यवस्थापन गरिएको उल्लेख गरे। प्रवक्ता गिरीले नयाँ संसद भवनको निर्माणको अवस्था हेर्दा शपथपछि संसदको पहिलो अधिवेशनको सबै बैठकहरू बहुउद्देश्यीय हलमा नै हुने देखिएको बताए।

उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरु देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यहि चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद सचिवालयले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ ।

वडा कार्यालयले आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्न थालेको हो ।

ज्येष्ठ नागरिकमा बढी देखिने उच्च रक्तचाप, मधुमेह, स्वासप्रश्वाससम्बन्धी, ग्यास्ट्रिकलगायत नसर्ने रोगको परीक्षण र उपचार घर नजिकैबाटै हुन थालेपछि उनीहरू लाभान्वित भएका छन् ।

आधारभूत स्वास्थ्य चौकीका प्रमुख हरि नाथका अनुसार वडा कार्यालयले दुई वर्षदेखि निरन्तर बजेट व्यवस्था गरेपछि कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

हाल वडाका चार टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिँदै आएको छ । प्रत्येक महिनाको २१, २२ र २३ गते टोलमै पुगेर नसर्ने रोगको पहिचान, उपचार, औषधि वितरण तथा जटिल प्रकृतिका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गर्नेलगायत काम हुँदै आएको छ ।
स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताए ।

नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उनको भनाइ रहेको छ ।

वडाध्यक्ष चक्रबहादुर खडकाले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

उनका अनुसार वडाबाट बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मी परिचालन गरिएको र हालसम्म २५० भन्दा बढी ज्येष्ठ नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका छन् । घर नजिकै स्वास्थ्य परीक्षण र औषधि सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।

कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६६ पुग्यो

कोलम्बिया : कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ जना सेनाका कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको जानकारी दिएको बीबीसीमा उल्लेख छ।

सेना ढुवानी गर्न प्रयोग गरिएको अमेरिकी निर्मित C-130 हर्कुलस विमान पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो।

उक्त क्षेत्रमा पठाइएका आपतकालीन कर्मचारीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ।

कोलम्बियाली रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिनद्वारा निर्मित हर्कुलस सी-१३० यातायात विमान सुरक्षा बलका सैनिकहरू बोकेर प्योर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको बताए। सान्चेजले विमानमा आगो लागेपछि बोर्डमा बोकेको गोला बारुद विस्फोट भएर थप क्षति भएको हो। सैन्य स्रोतका अनुसार ५८ सैनिकको मृत्यु भएको छ। छ जना वायुसेनाका कर्मचारी र दुई जना प्रहरी अधिकारी पनि छन्।

स्थानीय मिडियाले घटनास्थलबाट धुवाँको मुस्लो निस्किरहेको र सैनिकहरू बोकेका ट्रकहरू त्यस क्षेत्रमा गइरहेको तस्बिर र भिडियो सार्वजनिक गरेका छन्।

खोज्नुहोस