रविमाथिको अभियोग फिर्ता विवाद, आज पनि सुनुवाइ हुँदै

काठमाडौं- रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीनआरोपपत्रहरू संशोधन गरी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटमाथि सोमबारदेखि सुनुवाइ सुरू भएको हो।

अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन्। उक्त निर्णयपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने  चितवन-२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका  छन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित

काठमाण्डौ – मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाले बताएका छन् । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरब क्षेत्र युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ ।

पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताए । उनले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताए । भट्टराईका अनुसार युद्ध लम्बिँदा व्यवसायी समेत समस्यामा पर्दै गएका छन् ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताए । उनले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताए ।

अमेरिकाले अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उनको भनाइ छ । उनले युरोप र अमेरिकाबाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको पनि उल्लेख गरे। पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताए ।

कोरोना महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ ।

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी जटिल शल्यक्रिया सेवा सुरु

बैतडी।जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको खुट्टामा रुख ढलेर चोट लागेपछि घुँडामुनिको दुबै हड्डीमा सानो चिराबाट सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका अनुसार, यसअघि यस्तो सेवा उपलब्ध नभएकाले बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो। यसपटक हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र भण्डारी र जनरल फिजिसियन डा. अरविन्द जोशीसहितको टोलीले अस्पतालमै शल्यक्रिया सम्पन्न गरेको छ।

‘क्लोज रिडक्सन एन्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नेलिङ’ प्रविधिबाट गरिएको यो शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो भएको अस्पताल प्रमुख डा. जोशीले जानकारी दिए। अब सानो चिराबाट जटिल शल्यक्रिया सम्भव भएसँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

यसअघि हाडजोर्नी शल्यक्रियामा रड राखेर मात्र उपचार गरिन्थ्यो भने नयाँ प्रविधिबाट कम खर्चमै उपचार सम्भव भएको छ। बाहिर उपचार गर्दा बढी खर्च लाग्ने भए पनि अस्पतालमै ५० हजार रुपियाँभन्दा कम खर्चमा शल्यक्रिया सम्पन्न भएको डा. जोशीले जानकारी दिए।

प्रदेश सरकार मातहत आएपछि सेवा विस्तार गर्दै आएको अस्पतालमा हाल चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत छन्, सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन भए ५० शैय्याको अस्पतालबाट थप सेवा विस्तार गर्न सकिने अस्पतालको भनाइ छ।

अस्पतालले सेवाग्राहीमैत्री र प्रभावकारी सेवा प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको अस्पताल प्रमुख डा. जोशीले बताए।

सुनको भाउ निरन्तर ओरालो

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो ।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफलमा छिन् । सो छलफलले प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति निश्चित हुने स्रोतको भनाइ छ ।

सरकारका एक उच्च अधिकारीले ‘आज–भोलिमै’ प्रतिवेदन सार्वजनिक हुनसक्ने  बताए । तर प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रतिवेदन सार्वजनिक हुन लागेको भन्नेबारे आफूलाई थाहा नभएको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही दिन आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले  यो प्रतिवेदनले विगतका मल्लिक र रायमाझी आयोगको नियति नभोग्ने बताएका थिए ।

१ चैतमा बसेको मन्त्रिपरिषद बैठकले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिवेदन भोलि आउँछ’ भने पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलन अगुवा र जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले दिनहुँजसो माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । चैत ८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पनि प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो ।

चौतर्फी दबाबका बीच चुनावको जिम्मेवारी पूरा गरेको अन्तरिम सरकारले नयाँ सरकार गठन अघि नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रतिवेदनमा के छ ?

२३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको अनुसन्धान गर्न गठित कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको स्रोत बताउँछ । उनीहरुलाई १०–१० वर्षको कैद सिफारिस सहित प्रतिवेदन तयार भएको सरकारी स्रोतले जानकारी दियो ।

सशस्त्रका आईजी राजु अर्याललाई तीन वर्षको कैद सिफारिस छ । अब उनीहरुमाथि कार्की आयोगको सिफारिस समेतका आधारमा मुद्दा चल्नसक्ने बताइएको छ ।

यसका अलवा तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र नेपाल प्रहरीका सिद्धिविक्रम शाही माथि पनि कारबाही सिफारिस गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही पदाधिकारीहरूलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको स्रोतको भनाइ छ ।

तर कार्की आयोग गठनको पृष्ठभूमि, उत्पन्न विवादहरुसमेतलाई मध्यनजर गरेर सरकार अघि बढ्नसक्ने जानकारहरु बताउँछन् । ‘आयोग गठन नै दोषमुक्त हुन सकेन । त्यसैले यसका निर्णय र सिफारिस समेत दोषमुक्त हुन सक्दैनन्,’ उच्च अधिकारीले  बताए, ‘प्रतिवेदन सार्वजनिक हुनु आफैंमा सकारात्मक कुरा हुनेछ ।’

राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छुट्टै छानबिन समितिले पनि तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिस सहितको प्रतिवेदन तयार पारेको स्रोतले जनाएको छ ।

अर्यालको राष्ट्रिय सभामा नियुक्ति ढिलाइप्रति प्रधानमन्त्री कार्की असन्तुष्ट

काठमाडौं ।  मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्तिमा विलम्ब भएको छ । अर्यालको नियुक्तिमा भएको ढिलाइप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाएकी छिन् ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने रिक्त पदका लागि मन्त्रिपरिषद्ले १ चैतमा अर्यालको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस स्वीकृति नगर्दा नियुक्ति प्रक्रिया लम्बिएको छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले प्रक्रियामै रहेकाले रोकेको भन्न नमिल्ने बताए । तर, उनले मन्त्रिपरिषद्बाट सिफारिस अर्यालको नियुक्ति सहज नरहेको भने स्पष्ट संकेत गरे । ‘नियमित प्रक्रियाबाट प्रवेश भएको छ । राष्ट्रपतिले निकासा दिन बाँकी छ,’ उनले भने, ‘राष्ट्रपतिले अन्तरनिहित अधिकार हेरेर देशको हितमा सोचिरहनुभएको होला ।’

राष्ट्रपतिले सरकार बनेदेखि नै प्रधानमन्त्रीलाई स्वतन्त्रतापूर्वक काम गर्न सहयोग गरेको उनको दलिल छ । ‘यसै पनि राष्ट्रपति कार्यालय सचिवविहीन थियो । सचिव आज मात्रै हाजिर हुनुभएको छ । उहाँले पेस गर्नुहोला,’ उनले भने, ‘ज्येष्ठ सदस्यको शपथपछि अरू कुरा अगाडि बढ्ला ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने अपेक्षा प्रधानमन्त्रीको रहेको बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भई सिफारिस भई गएको छ,’ उनले भने, ‘संवैधानिक मर्यादाबमोजिम राष्ट्रपतिज्यूले त्यो निर्णयको सम्मान गर्नुहुनेछ भन्ने विश्वासमा प्रधानमन्त्री हुनुहुन्छ ।’ गत शनिबार विभिन्न कानुनविद्हरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को सिफारिस रोकेकोमा असन्तुष्टि जनाएकी थिइन् ।

डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु

डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

दुर्घटना राति करिब रााढे  १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

रास्वपा सरकारका चुनौतीहरू

टीका पौडेल ।

नेपालको राजनीतिक इतिहासमा प्रत्येक नयाँ शक्तिको उदय केवल सत्ता परिवर्तनको संकेत मात्र होइन, जनअपेक्षा, निराशा र सम्भावनाको संगम पनि हो। यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ, जसले आफूलाई परम्परागत राजनीतिक अभ्यासको विकल्पका रूपमा स्थापित गर्ने प्रयास गरेको छ। यदि यस पार्टीले आगामी दिनमा सरकार गठन गर्ने अवसर पाउँछ भने त्यो केवल अवसर मात्र नभई कठोर परीक्षण पनि हुनेछ। जनताले यसबाट असाधारण परिवर्तनको अपेक्षा गरेका छन्, तर राज्य सञ्चालनका यथार्थहरू जटिल, बहुआयामिक र कहिलेकाहीँ निराशाजनक पनि हुन सक्छन्।

सुशासनको प्रश्न रास्वपाको मूल राजनीतिक पहिचानसँग जोडिएको छ। नेपालको प्रशासनिक संयन्त्र लामो समयदेखि भ्रष्टाचार, ढिलासुस्ती र अपारदर्शिताको आरोपबाट ग्रस्त छ। भ्रष्ट कर्मचारीतन्त्र केवल केही व्यक्तिको कमजोरी होइन, यो एक संरचनागत समस्या हो जसले नीति निर्माणदेखि सेवा प्रवाहसम्म सबै क्षेत्रमा प्रभाव पार्छ। यस्तो अवस्थामा नयाँ सरकारले तुरुन्तै सुधार ल्याउने अपेक्षा गरिए पनि, यथार्थमा त्यो क्रमिक र संघर्षपूर्ण प्रक्रिया हुन्छ।

प्रशासनिक सुधारका लागि केवल कानूनी व्यवस्था परिवर्तन पर्याप्त हुँदैन, व्यवहार र संस्कृतिमा परिवर्तन आवश्यक हुन्छ। कर्मचारीतन्त्रमा जवाफदेहिता र पारदर्शिता स्थापना गर्न कडा निगरानी, स्वतन्त्र निकायहरूको सुदृढीकरण र प्रविधिको प्रभावकारी प्रयोग आवश्यक हुन्छ। डिजिटल गभर्नेन्सले सेवा प्रवाहलाई सहज बनाउन सक्छ, तर त्यसको कार्यान्वयनमा पूर्वाधार, दक्ष जनशक्ति र राजनीतिक इच्छाशक्ति आवश्यक पर्छ। यदि यी पक्षहरू कमजोर भए भने सुधार केवल कागजमै सीमित हुन सक्छ।

कानूनी उल्झन नेपालको अर्को जटिल समस्या हो। धेरै कानूनहरू पुराना, दोहोरो र अस्पष्ट छन्, जसले गर्दा निर्णय प्रक्रिया ढिलो हुन्छ। यसले विकास आयोजनाहरूमा ढिलाइ मात्र होइन, लगानीकर्तामा अनिश्चितता पनि सिर्जना गर्छ। रा। स्व। पा। सरकारले कानूनी सरलीकरण र पुनरावलोकनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ। तर यस्तो सुधारका लागि संसदमा व्यापक सहमति आवश्यक हुन्छ, जुन राजनीतिक प्रतिस्पर्धाका कारण सजिलो हुँदैन।

परम्परागत कार्यशैलीले पनि सुशासनको मार्गमा अवरोध सिर्जना गर्छ। “यसरी नै चल्दै आएको छ” भन्ने मानसिकता परिवर्तनको सबैभन्दा ठूलो बाधा हो। नयाँ नेतृत्वले नवीन सोच ल्याउन चाहे पनि पुरानो संरचनाभित्र बसेर त्यसलाई कार्यान्वयन गर्न चुनौतीपूर्ण हुन्छ। यसले नेतृत्वको धैर्यता, रणनीति र निरन्तरताको परीक्षा लिन्छ।

पार्टीको आन्तरिक द्वन्द अर्को महत्वपूर्ण चुनौती हो। रवि लामिछाने र बालेन शाह जस्ता फरक व्यक्तित्व र नेतृत्व शैली भएका व्यक्तिहरूबीचको सम्बन्ध पार्टीको भविष्यका लागि निर्णायक हुन सक्छ। रवि लामिछाने जनसम्पर्कमा सक्रिय, बहिर्मुखी र राजनीतिक रूपमा आक्रामक शैलीका रूपमा चिनिन्छन् भने बालेन शाह शान्त, अन्तर्मुखी र नीतिगत सोचमा केन्द्रित छन्। यी दुई शैलीहरूबीच सन्तुलन कायम गर्न सकियो भने पार्टी बलियो बन्न सक्छ, तर असन्तुलन भएमा आन्तरिक द्वन्द्व बढ्न सक्छ।

नयाँ पार्टीहरूमा शक्ति संघर्षको सम्भावना स्वाभाविक हुन्छ। विशेष गरी जब पार्टीले छिटो लोकप्रियता प्राप्त गर्छ, तब नेतृत्वको स्पष्टता र संगठनात्मक संरचना कमजोर भएमा गुटबन्दी बढ्न सक्छ। यदि निर्णय प्रक्रिया पारदर्शी र संस्थागत भएन भने व्यक्तिगत महत्वाकांक्षा हावी हुन सक्छ। यसले सरकार सञ्चालनमा प्रत्यक्ष असर पार्न सक्छ, किनभने आन्तरिक अस्थिरताले नीतिगत अस्थिरता निम्त्याउँछ।

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन अर्को जटिल र संवेदनशील विषय हो। गौरी बहादुर कार्की को नेतृत्वमा तयार भएको प्रतिवेदनले विशेष गरी भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित दोषीहरूमाथि कारबाहीको सिफारिस गरेको छ। यस्ता संवेदनशील विषयहरूमा निर्णय लिनु केवल कानूनी प्रक्रिया मात्र होइन, राजनीतिक साहसको पनि परीक्षा हो।

यस प्रतिवेदन कार्यान्वयनमा प्रमुख चुनौती विपक्षीहरूको अवरोध र असहयोग हुन सक्छ। राजनीतिक दलहरूले आफ्ना स्वार्थका आधारमा समर्थन वा विरोध गर्ने सम्भावना रहन्छ। यदि दोषीहरू कुनै राजनीतिक शक्ति वा प्रभावसँग जोडिएका छन् भने प्रक्रिया झन् जटिल बन्न सक्छ। यस अवस्थामा सरकारलाई पारदर्शी, निष्पक्ष र कानूनी आधारमा निर्णय लिनुपर्ने हुन्छ। यदि प्रक्रिया निष्पक्ष देखिएन भने जनविश्वासमा गम्भीर असर पर्न सक्छ।

भूराजनैतिक अवस्था पनि आजको विश्वमा अत्यन्त जटिल बन्दै गएको छ। इरान सँग सम्बन्धित सम्भावित युद्ध वा तनावले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ। ऊर्जा आपूर्ति, व्यापार मार्ग र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आउन सक्छ, जसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ। इन्धनको मूल्य वृद्धि, आयात लागतमा वृद्धि र महँगी जस्ता समस्याहरू उत्पन्न हुन सक्छन्।

नेपालको वैदेशिक सम्बन्ध विशेष गरी भारत, चीन र संयुक्त राज्य अमेरिका सँगको सन्तुलनमा निर्भर छ। यी तीन शक्तिशाली देशहरूबीचको प्रतिस्पर्धाले नेपाललाई रणनीतिक रूपमा संवेदनशील बनाएको छ। कुनै एक पक्षतर्फ अत्यधिक झुकाव देखिएमा अन्य पक्षसँगको सम्बन्ध बिग्रन सक्छ। त्यसैले सन्तुलित, व्यावहारिक र राष्ट्रिय हितमा आधारित कूटनीति आवश्यक हुन्छ।

रास्वपा सरकारले वैदेशिक नीतिमा सुधार गर्न चाह्यो भने उसले निरन्तरता र परिवर्तनबीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ। कूटनीतिक सम्बन्धहरू दीर्घकालीन विश्वासमा आधारित हुन्छन्, त्यसैले अचानक परिवर्तनले अनिश्चितता सिर्जना गर्न सक्छ। अन्तर्राष्ट्रिय मञ्चमा विश्वसनीयता कायम राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ।

आर्थिक क्षेत्र पनि यी सबै चुनौतीहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ। सुशासन र राजनीतिक स्थिरता बिना आर्थिक विकास सम्भव हुँदैन। लगानीकर्ताहरूलाई आकर्षित गर्न कानूनी स्थिरता, पारदर्शिता र पूर्वानुमेयता आवश्यक हुन्छ। यदि सरकार आन्तरिक द्वन्द्व वा प्रशासनिक समस्यामा अल्झियो भने आर्थिक सुधारको गति सुस्त हुन सक्छ।

सामाजिक रूपमा पनि जनअपेक्षा उच्च छन्। विशेष गरी युवाहरूले परिवर्तनको आशा गरेका छन्। उनीहरूको धैर्य सीमित छ, र उनीहरू छिटो परिणाम चाहन्छन्। यदि सरकारले प्रारम्भिक चरणमै केही ठोस उपलब्धि देखाउन सकेन भने निराशा बढ्न सक्छ। त्यसैले छोटो अवधिमा देखिने उपलब्धि र दीर्घकालीन सुधारबीच सन्तुलन कायम गर्नु आवश्यक हुन्छ।

मिडिया र सामाजिक सञ्जालको प्रभाव पनि उल्लेखनीय छ। रास्वपाको लोकप्रियतामा सामाजिक सञ्जालले ठूलो भूमिका खेलेको थियो। तर सरकारमा पुगेपछि यही माध्यम आलोचना र दबाबको स्रोत पनि बन्न सक्छ। पारदर्शिता, प्रभावकारी सञ्चार र जनसरोकारप्रति संवेदनशीलता बिना जनसमर्थन टिकाउन कठिन हुन्छ।

अन्ततः, रास्वपा सरकारको सफलता उसको उद्देश्यमा होइन, कार्यान्वयन क्षमतामा निर्भर हुनेछ। सुशासनको वाचा गर्नु सजिलो हुन्छ, तर त्यसलाई व्यवहारमा उतार्न संस्थागत सुधार, राजनीतिक इच्छाशक्ति र जनसहभागिता आवश्यक हुन्छ। आन्तरिक एकता, सन्तुलित कूटनीति र प्रभावकारी प्रशासनिक सुधार बिना दीर्घकालीन सफलता सम्भव हुँदैन।

यदि यस पार्टीले यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्यो भने यसले नेपालको राजनीतिक संस्कृतिमा नयाँ अध्याय सुरु गर्न सक्छ। तर यदि यसले आन्तरिक द्वन्द्व, प्रशासनिक अवरोध र कूटनीतिक जटिलतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेन भने जनविश्वास पुनः कमजोर हुन सक्छ। त्यसैले आगामी रा। स्व। पा। सरकारका लागि सबैभन्दा ठूलो प्रश्न केवल सत्तामा पुग्नु होइन, त्यो सत्तालाई कसरी जिम्मेवारीपूर्वक, पारदर्शी रूपमा र दीर्घकालीन दृष्टिकोणका साथ प्रयोग गर्ने भन्नेमा निहित रहनेछ।

अमेरिकाको कोलोराडो निवासी पौडेल ब्लड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष हुन् ।

इरानसँगको सैन्य कारबाही अस्थायी रुपमा स्थगित : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाही अस्थायी रुपमा स्थगित भएको बताएका छन् । अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा अत्यन्त सकारात्मक र उपलब्धिमूलक वार्ता भएको उनले जानकारी दिए।

मध्यपूर्वमा जारी तनाव समाधान गर्ने उद्देश्यले दुवै देशबीच गहन र रचनात्मक संवाद भइरहेको उनले बताए।

ट्रम्पका अनुसार यी वार्ताहरू विस्तृत, गहिरो र सहमतितर्फ उन्मुख रहेका छन् र आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछन्। वार्ताको सकारात्मक वातावरणलाई ध्यानमा राख्दै उनले अमेरिकी रक्षा निकायलाई इरानका ऊर्जा संरचना र विद्युत् केन्द्रहरूमाथि गर्ने भनिएका सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्।

उनले यो निर्णय जारी वार्ता सफल हुने अपेक्षामा आधारित रहेको स्पष्ट पारेका छन्। वार्ताले सकारात्मक नतिजा ल्याए क्षेत्रीय तनाव कम हुने र दीर्घकालीन समाधानको बाटो खुल्ने ट्रम्पकाे विश्वास छ।

मध्यपूर्वमा पछिल्लो समय बढ्दो तनावबीच अमेरिका-इरानबीचको यो संवादलाई अन्तर्राष्ट्रिय समुदायले महत्वपूर्ण रूपमा हेरिरहेको छ।

चुनावमा आर्थिक लेनदेनबारे स्पष्ट पार्न कैलाली काँग्रेसको आग्रह

धनगढी: नेपाली काँग्रेस कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आर्थिक लेनदेनसम्बन्धी आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कैलाली जिल्ला कार्य समितिका सभापति नारायणदत्त भट्टले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा कार्यकर्ताले कैलाली ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारसँग आर्थिक लेनदेन गरेको आरोपमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनका अनुसार निर्वाचन सम्पन्न हुनुअघि नै पार्टीले आफ्ना उम्मेदवारलाई विजयी गराउन तथा समानुपातिक मत वृद्धि गर्न निर्देशन दिएको थियो । निर्वाचन परिणाम सार्वजनिक भएपछि जिल्लाका पाँच वटै उम्मेदवार पराजयकोकारण, अनुभव, सुझाव तथा आगामी रणनीतिसहितको प्रतिवेदन पेश गर्न निर्देशन गरिएको भट्टले बताएका छन् । ५ नम्बर क्षेत्रका उम्मेदवार नरनारायण शाह (मनु) ले कांग्रेसका ५७ जना नेता–कार्यकर्ताले आर्थिक लेनदेनमार्फत मत बदलेको आरोप लगाएको भन्दै भट्टले उक्त विषयमा स्पष्ट पार्न र जिम्मेवारी लिन मनुलाई आग्रह गरेका छन् ।

पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका मनुले कांग्रेसकै ५७ जनाले आलेसंग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका थिए । शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा छन् । यता आलेले भने आफूले सूची नै बुझाएको भन्दै मनुले गलत प्रचार गरेको बताए । उनले सूची नै बुझाएको भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।

 

पिएम कपः सुदूरपश्चिमको विजयी सुरुवात

वीरगञ्ज- हेमन्त धामीले धारिलो बलिङ गरेपछि पुरुष पिएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

वीरगञ्जमा भएको खेलमा कर्णालीले दिएको १२० रनको मध्यम लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा किरण ठगुन्नाले सर्वाधिक २६ र खडक बोहोराले २३ रन बनाए। कर्णालीका बलरले २५ रन अतिरिक्त दिएका थिए।

कर्णालीका लागि अनुज चनारा र दिवान पुनले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन बनाएको थियो। चार ब्याट्सम्यानले खातै खोल्न नपाएको कर्णालीको इनिङ्समा विपिन रावलले ३३ र सुनिल धमलाले २८ रन बनाएका थिए। सुदूरका बलरले २२ रन अतिरिक्त फ्यालेका थिए।

कर्णालीको इनिङ्स ध्वस्त बनाउने क्रममा हेमन्त धामीले ६ विकेट लिए। मात्र ७ ओभर बलिङ गरेका उनले एक मेडन फ्याल्दै १६ रनमात्र खर्चिए। शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान एक विकेट लिए।

पिएम कपः कोशीमाथि लुम्बिनीको जित

काठ्माण्डौ- पुरुष पिएम कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १४८ रनको प्रभावशाली जित निकालेको छ।

जनकपुरमा भएको खेलमा २५० रनको लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमा मात्र १०१ रनमा अलआउट भयो। अंकित सुवेदीले सर्वाधिक ३० रन बनाएको कोशीको इनिङ्समा तीन ब्याट्सम्यान डक आउट भएका थिए। पाँच जनाले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा सन्तोष यादवले ४, राजेन्द्र बमले ३, निर्मल गुरुङले २ र सन्देश थापाले एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९.३ ओभरमा अलआउट हुँदै २४९ रनको योगफल तयार पारेको थियो। क्याप्टेन देव खनालले ९२ रन बनाएको लुम्बिनीको इनिङ्समा सन्तोष यादवले ४८ र रन्जीत खड्काले ३५ रन बनाए।

कोशीका लागि सुजन थपलियाले ४ विकेट लिए।

पहिलो खेलमा अंक बाँडेको लुम्बिनीले पहिलो जितसँगै ३ अंक जोडेको छ। पराजित कोशीको एक अंक छ।

इरानविरुद्ध ट्रम्पको धम्कीपछि एशियाली शेयर बजारमा उच्च गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएसँगै भारतसहित एशिया–प्यासेफिक क्षेत्रका शेयर बजारमा उच्च गिरावट आएको छ भने कच्चा तेलको मूल्य पनि बढेको छ ।

शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग सञ्चालन नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण हुने धम्की दिनुभएको थियो । तर इरानले उल्टै हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने र पश्चिम एशियाका ऊर्जा तथा खानेपानी पूर्वाधारमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

बीबीसी हिन्दीका अनुसार आज बम्बई स्टक एक्सचेञ्जको सेन्सेक्स झन्डै १ हजार ८ सय अङ्कले र नेशनल स्टक एक्सचेञ्जको निफ्टी ५ सय ९० अङ्कसम्म घटेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर बिन्दु, १ डलर बराबर ९३.८४ रुपैयाँमा झरेको छ ।

जापानको निक्केई ४.८ प्रतिशत र दक्षिण कोरियाको कोस्पी साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ । कच्चा तेल आज १ सय ७ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ । हर्मुज जलमार्गमा अवरोध कायमै रहेमा मूल्य २ सय डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । यो मार्गबाट विश्वको कुल तेल खपतको झन्डै २० प्रतिशत आपूर्ति हुन्छ । -एजेन्सी  

 

६ दलका संसदीय कार्यालय तयार

काठ्माण्डौ- संघीय संसद् सिंहदरबारभित्र बाटै सञ्चालन हुने तयारी सँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन्।

दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकता अनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ। यसपटक बहुमत सहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ।

पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ। थोरै नयाँ थपिएका छन्। खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणा अनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेकाे आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन् ।

बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ। यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ। यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ। सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्।

सामान्य अंकले बढ्यो बजार

काठमाडौं- साताको दोस्रो कारोबार दिन (चैत ९) सेयर बजार सामान्य अंकल बढेको छ ।

यस दिन बजार ५.०१ अंकल बढेर २९३६.५६ विन्दु कायम भएको छ ।

३४२ कम्पनीको तीन करोड ८० लाखभन्दा बढी कित्ता एक लाख ५६ हजारपटकमा किनबेच हुँदा १५ अर्ब ७८ करोडको कारोबार भएको छ ।

अघिल्लो दिन २३ अर्ब ५९ करोडको सेयर कारोबार भएको थियो । यो हिजोको तुलनामा सात अर्ब ८१ करोड रुपैयाँले कम हो ।

नेप्सेका अनुसार आज ६ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र होटेल फरेस्ट इन छन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मंगलबार दिनको १ बजे बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने बताइएको छ। आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले फागुन २१ को चुनावी समीक्षा गरेको थियो। त्यस्तै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको थियो।

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प

बझाङ- बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।

कैलालीका इँटा उद्योगमा वर्षाका कारण ७ करोडभन्दा बढी क्षति

धनगढी: कैलालीमा शुक्रबार परेको वर्षाले इँटा उद्योगहरूमा ठूलो क्षति पुर्‍याएको छ। वर्षाका कारण काँचो इँटा पूर्ण रूपमा नष्ट हुँदा जिल्लाभर करिब ७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।

जिल्लामा सञ्चालनमा रहेका ५२ वटा इँटा उद्योगमध्ये प्रत्येक उद्योगमा करिब ५ लाखदेखि ७ लाख रुपैयाँसम्मका काँचो इँटा नष्ट भएका छन्। निर्माण प्रक्रियामा रहेका काँचो इँटा वर्षाले बिगारिदिँदा लगानी गरिएको लागत पूर्ण रूपमा डुबेको छ।

सेती–महाकाली इँटा उद्योग सङ्घका अध्यक्ष विनोदकुमार शाहका अनुसार काँचो इँटा उत्पादनमा लगाइएको पूँजी वर्षाले नष्ट पारेपछि उद्योगीहरू ठूलो आर्थिक संकटमा परेका छन्।

सुदूरपश्चिममा एमालेभित्र चर्कियो विवाद, संसदीय दलको नेता फेर्ने तयारी

धनगढीः नेकपा एमालेभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ। राजनीतिक नियुक्तिबाट सुरु भएको असन्तुष्टि अहिले प्रदेश सभामा संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको बताइएको छ।

संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा प्रदेश कमिटी र उनी निकट सांसदहरूबीच दूरी बढेको छ। विशेषगरी विभिन्न सरकारी निकायमा नियुक्ति गर्दा पार्टीसँग समन्वय नगरेको आरोप रावलमाथि लागेको छ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेताहरूले रावलले पार्टीको परामर्शविना आफ्नै ढङ्गले नियुक्ति सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यसलाई संस्थागत निर्णयविपरीत र समानान्तर शक्ति सञ्चालनको प्रयासका रूपमा व्याख्या गरेका छन्।

विवाद अझ चर्किने क्रममा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले संसदीय दलको कार्यालयमा तालाबन्दी गरेको छ। युवाहरूले रावल सम्पर्कविहीन भएको र पार्टीविरोधीलाई नियुक्ति दिएको आरोप लगाएका छन्।

तर रावलले भने सबै आरोप अस्वीकार गर्दै नियुक्तिहरू पार्टीकै सल्लाहमा भएको दाबी गरेका छन्। आफू स्वास्थ्य समस्याका कारण केही समय सम्पर्कमा नरहेको उनको भनाइ छ।

खप्तड पर्यटन विकास समितिको अध्यक्षमा जमुना चन्दलाई सिफारिस गरेपछि विवाद थप उग्र बनेको हो। रावलले महिलालाई नेतृत्वमा ल्याउने प्रयास गरेको बताएका छन् भने पार्टीका अन्य नेताहरूले यसलाई गुटगत राजनीति भनेका छन्।

एमालेका अधिकांश प्रदेश सभा सदस्यहरू अहिले रावलको विकल्प खोज्ने पक्षमा देखिएका छन्। संसदीय दलको नेताका लागि उपनेता सन्तोष कुमारी शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समिति सभापति धर्मराज पाठकको नाम चर्चामा आएको छ।

यद्यपि, पार्टी केन्द्रको निर्देशन नआएसम्म संसदीय दलको नेता परिवर्तन प्रक्रिया अघि नबढ्ने स्रोतले जनाएको छ।

 

गोदावरी नगरपालिकाका अधिकृत खगेन्द्र चौधरीको निधन

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा आर्थिक प्रशासन शाखामा अधिकृत (छैटौँ तह) का रूपमा कार्यरत खगेन्द्र प्रसाद चौधरीको निधन भएको छ। सोमबार बिहान घरमै एक्कासि बेहोस भएर ढलेका चौधरीलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो, जहाँ उनको निधन भएको पुष्टि भएको हो।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी ५८ वर्षीय चौधरी लामो समयदेखि डायलिसिस गराउँदै आएका थिए। उनका छोरा नवीन चौधरीका अनुसार उनी मधुमेह (सुगर) रोगबाट पनि पीडित थिए।

उनको निधनप्रति गोदावरी नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जारी गरेको सूचनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको उल्लेख छ।

चौधरीको योगदानको सम्मानस्वरूप सोमबार गोदावरी नगरपालिका कार्यालयसहित अन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिइएको जनाइएको छ।

कर्णालीविरुद्ध सुदूरपश्चिमका हेमन्तले लिए ६ विकेट

वीरगन्ज-  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका बलर हेमन्त धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका छन् । वीरगन्जको नारायणी रंगशालामा जारी खेलमा धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका हुन्।

टस हारेर ब्याटिङ गर्न आएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । कर्णालीलाई सामान्य स्कोरमै रोक्ने क्रममा धामीले सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट लिए ।

पहिलो ओभरमै रवीन्द्र शाहीको विकेट लिएर सुखद् सुरुवात दिलाएका धामीले अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी, विपिन रावल, दिवन पुनको विकेट लिएका हुन् । कर्णालीका लागि कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान १–१ विकेट लिए ।

कर्णालीका विपिन रावलले ३३,सुनिल धमलाले २८ र अरविन्द घर्तीले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । निर्धारित ५० ओभरको खेलमा १२० रनको लक्ष्य पाएको सुदूरपश्चिमले अहिले पाँच ओभरमा दुई विकेट गुमाउँदै २६ रन बनाएको छ ।

सुदूरपश्चिमका ओपनर राजु रिजाल ७ रन र अभिषेक पाल ६ रन बनाउँदै मैदानबाट बाहिरिसकेका छन् । कर्णालीका बलर अनुज चनराले तीन ओभर बलिङ गर्दै दुई विकेट लिएका छन् । सुदूरपश्चिमका खडक बोहोरा र नरेन भट्ट ब्याटिङ गरिरहेका छन् ।

पिएसएल खेल्न दीपेन्द्र पाकिस्तान प्रस्थान

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द सिंह ऐरी पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न पाकिस्तान प्रस्थान गरेका छन्।

दीपेन्द सोमबार दिउँसो त्यसतर्फ लागेका हुन्। उनले इस्लामावाद युनाइटेडबाट लिग खेल्दै छन्। दीपेन्दलाई क्लबले ३१ लाख नेपाली रुपैयाँमा किनेको हो।

पिएसएल आउँदो मार्च २६ गते सुरु हुँदैछ। दीपेन्द्रको टोलीले शनिबार मुल्तान सुलान्तस टोलीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नछ।

रविमाथिको मुद्दामा आज सुनुवाइ: इजलास न्यायाधीशद्वय शर्मा र मुसलमानको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा हुनेछ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।

त्यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाएको थियो ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ खुल्यो

काठमाडौं । स्नो रिभर्स कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि छुट्याइएको छ ।

प्रभावित क्षेत्रका रुपमा ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका १ देखि ८ वडासम्म र सिदिङ्वा गाउँपालिका ५, ६ तथा पाथिभरा याङवारक गाउँपालिका ५,६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १ पर्दछन् । प्रभावितले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रभावितले छिटोमा चैत २३ तथा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेकालाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयरमा आवेदन खुलाएको छ । वैदेशिक रोजगारमा रहेकाले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा चैत १२ सम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई बी प्लस रेटिङ दिएको छ । कम्पनीले १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गर्नेछ । जसको प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ।

राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन घट्दै

कञ्चनपुर- सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दै जान थालेको छ। आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उनले बताइन् ।

‘पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो’ उनले भनिन्, ‘घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो।’

परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । ‘टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,’ चन्द्रमती रानाले भनिन् ।

फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ ।

‘राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे’ उनले भनिन्, ‘ती गहना केवल सौन्दर्यका लागि मात्र नभइ सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे।’

उनका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि विस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।

परम्परागत गहना बनाउने कालिगढको सङ्ख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ ।

१६ प्रकारका खनिजजन्य वस्तु उत्खननको अनुमति

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ।

स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो।

विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानी छन्।

खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार उत्खनन अनुमति माग भएका कम्पनीमध्ये खानी प्रस्ताव अध्ययन गरी आवश्यकता अनुसार प्रक्रिया पूरा भएका विभागले निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तरराष्ट्रिय कम्पनीका १६६ संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बाँस्कोटाले बताए।

देशको खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननसमेत गर्दै आएको विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनमा प्रभाव नपर्ने, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन, स्थानीयको लाभ हुने गरी आवश्यक सर्तहरू तोक्ने गरेको जनाइएको छ।

विभागले करिब एक सय चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेको जनाएको छ। भौगोलिक विकटता र यातायातको अभाव लगायत कारणले देशमा खनिज सम्पदाको आवश्यक विकास हुन नसकेको सूचना अधिकारी बाँस्कोटाले बताए। नेपालमा खनिज सम्पदाको विकास हुन नसक्नुका मुख्य कारणहरूमा पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता एवं नीतिगत समस्या पाइएको छ।

पूर्वाधारको कमी, खनिज सम्पदाको विस्तृत अन्वेषण हुन र वातावरणीय जोखिम, खनिज उत्खननका लागि आवश्यक महँगो प्रविधि, उपकरण र ठूलो पुँजीको अभाव, र लगानीमैत्री वातावरण नबन्नाका कारण खनिज उत्खनन चुनौतीपूर्ण बनेको छ। धेरैजसो खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन पनि ढुवानीमा कठिन रहेको जनाइएको छ।

साफ यू-२० च्याम्पियनसिप : नेपालले भुटानको सामना गर्दै

साफ यू-२० पुरुष च्याम्सिपयनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दै छन्।

माल्दिभ्समा हुने सो च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ।

नेपाल भुटानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ। प्रतियोगितामा कूल ७ टोलीले प्रतिस्पर्धा गर्दै छन्, जहाँ यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा नेपालसहित आयोजक राष्ट्र माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ६ हजार ५ सय रुपैयाले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

खोज्नुहोस