सुदूरपश्चिममा एमालेभित्र चर्कियो विवाद, संसदीय दलको नेता फेर्ने तयारी

द एभरेष्ट पोष्ट
९ चैत २०८२ १४:२१
सुदूरपश्चिममा एमालेभित्र चर्कियो विवाद, संसदीय दलको नेता फेर्ने तयारी

धनगढीः नेकपा एमालेभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ। राजनीतिक नियुक्तिबाट सुरु भएको असन्तुष्टि अहिले प्रदेश सभामा संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको बताइएको छ।

संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा प्रदेश कमिटी र उनी निकट सांसदहरूबीच दूरी बढेको छ। विशेषगरी विभिन्न सरकारी निकायमा नियुक्ति गर्दा पार्टीसँग समन्वय नगरेको आरोप रावलमाथि लागेको छ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेताहरूले रावलले पार्टीको परामर्शविना आफ्नै ढङ्गले नियुक्ति सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यसलाई संस्थागत निर्णयविपरीत र समानान्तर शक्ति सञ्चालनको प्रयासका रूपमा व्याख्या गरेका छन्।

विवाद अझ चर्किने क्रममा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले संसदीय दलको कार्यालयमा तालाबन्दी गरेको छ। युवाहरूले रावल सम्पर्कविहीन भएको र पार्टीविरोधीलाई नियुक्ति दिएको आरोप लगाएका छन्।

तर रावलले भने सबै आरोप अस्वीकार गर्दै नियुक्तिहरू पार्टीकै सल्लाहमा भएको दाबी गरेका छन्। आफू स्वास्थ्य समस्याका कारण केही समय सम्पर्कमा नरहेको उनको भनाइ छ।

खप्तड पर्यटन विकास समितिको अध्यक्षमा जमुना चन्दलाई सिफारिस गरेपछि विवाद थप उग्र बनेको हो। रावलले महिलालाई नेतृत्वमा ल्याउने प्रयास गरेको बताएका छन् भने पार्टीका अन्य नेताहरूले यसलाई गुटगत राजनीति भनेका छन्।

एमालेका अधिकांश प्रदेश सभा सदस्यहरू अहिले रावलको विकल्प खोज्ने पक्षमा देखिएका छन्। संसदीय दलको नेताका लागि उपनेता सन्तोष कुमारी शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समिति सभापति धर्मराज पाठकको नाम चर्चामा आएको छ।

यद्यपि, पार्टी केन्द्रको निर्देशन नआएसम्म संसदीय दलको नेता परिवर्तन प्रक्रिया अघि नबढ्ने स्रोतले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस