१९ दिनदेखि इनिशाको शव अस्पतालमै

द एभरेष्ट पोष्ट
१२ चैत २०८२ ८:१०
१९ दिनदेखि इनिशाको शव अस्पतालमै

सुर्खेत । इनिशा विकको मृत्यु भएको १९ दिन बितिसक्दा पनि उनको शव अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमै छ । कारण एउटै छ– परिवारले न्याय पाएको अनुभूति गर्न सकेको छैन ।

प्रहरीले अनुसन्धान टुंग्याउँदै एक जनालाई मुख्य अभियुक्त र तीन जनालाई सहयोगीका रूपमा किटान गरी मुद्दा अघि बढाए पनि पीडित परिवार भने सन्तुष्ट छैन, न्याय पाउन नसकेको रोदनमा उनीहरू छट्पटाइरहेका छन् । उनीहरूको अडान स्पष्ट छ– ‘छोरीले न्याय नपाएसम्म शव बुझ्दैनौं ।’

विवरणका आधारमा तयार पारिएको मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

अनुसन्धानबाट संकलित प्रमाण र बयानका आधारमा आरोपितमध्ये एक जनालाई अभियुक्त र बाँकीलाई मतियारका रूपमा मुद्दा अघि बढाएको प्रहरी नायब उपरीक्षक मोहन बुढथापाले बताउनुभयो । ‘आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा मिसिल तयार पारी सरकारी वकिल कार्यालयमा बुझाइएको छ’, उहाँले भन्नुभयो– ‘अब सरकारीवकिल कार्यालयमार्फत मुद्दा अघि बढ्छ ।’

फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल ती रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने भएपछि प्रतिवेदन पेस गरिएको डीएसपी बुढथापाले बताउनुभयो । मुद्दा अब न्यायिक प्रक्रियामा गइसकेकाले मिसिलमा समेटिएको थप विषयवस्तुबारे जानकारी दिन नमिल्ने उहाँको भनाइ छ । उक्त प्रकरणले सुरुदेखि नै सार्वजनिक चासो तानेको थियो भने अब अदालतको प्रक्रिया सुरु भएसँगै न्यायिक निरुपणतर्फ अघि बढेको छ ।

प्रहरीले १९ दिन के ग¥यो ?

इनिशा विक मृत्यु प्रकरणमा १९ दिनसम्म प्रहरीले बहुआयामिक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको भोलिपल्ट नै परिवारले चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि स्थानीय प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धानलाई तीव्रता दिएको थियो । प्रहरीले इनिशाको सम्पूर्ण प्रमाण संकलन गर्नुका साथै आरोपित चारै जनाको प्रमाण सबै नमुना विधिविज्ञान प्रयोगशालामा पठाएर जाँच गरिएको जनाएको छ ।

त्यसै गरी, घटनाको डिजिटल पाटोलाई समेत प्राथमिकतामा राख्दै इनिशासहित आरोपित चार गरी पाँचै जनाको मोबाइल डिजिटल परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सीसीटीभी फुटेज संकलन, मोबाइल डेटा विश्लेषण तथा अन्य भौतिक प्रमाणहरू जुटाउने काम गरिएको छ ।

सबै मोबाइलको डिजिटल रिपोर्ट आइसकेको भए पनि इनिशाको मोबाइल अझै पूर्ण रूपमा विश्लेषण हुन बाँकी रहेको र त्यसलाई विदेश पठाएर परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ, ता कि कुनै पनि महत्वपूर्ण प्रमाण नष्ट नहोस् ।

हालसम्म अधिकांश रिपोर्ट प्राप्त भइसकेका भए पनि महत्वपूर्ण रिपोर्ट फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल रिपोर्ट आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । यिनै प्रमाणका आधारमा चारै जनाविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस