असामान्य स्थितिमा चुनाव गराउने कुरा कम चुनाैतीपूर्ण थिएन : प्रधानमन्त्री कार्की

द एभरेष्ट पोष्ट
११ चैत २०८२ १७:१८
असामान्य स्थितिमा चुनाव गराउने कुरा कम चुनाैतीपूर्ण थिएन : प्रधानमन्त्री कार्की

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

निर्वाचन आयोगले आज काठमाण्डौमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले नवयुवा आन्दोनलपछिको असामान्य स्थितिलाई सामान्यीकरण गर्दै चुनाव गराउन सफल भएको बताइन् । उनकाअनुसार चुनाव गराउने कार्य चुनौतीपूर्ण थियो ।

कार्कीले चुनावले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको उल्लेख गरे । चुनावमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ छ ।

सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै प्रधानमन्त्री कार्कीले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको बताए ।

उनले भने, ‘नवयुवा आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यीकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो । चुनावले देशमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै

लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ । वर्तमान सरकार गठन हुँदा पाएको जिम्मेवारी चुनाव सम्पन्न गराउनु थियो तर हामीले जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो । सुरक्षाकर्मीका हतियार खोसिएका थिए, राजनीतिक दलबीच संवादहीनता थियो ।

समग्रमा एकप्रकारको कानूनी राजनीतिक शून्यता थियो । यी सबै परिदृश्यका बीच ६ महिनाभित्र चुनाव सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याउने प्रतिबद्धताका साथ हामीले जिम्मेवारी लिएका थियौँ, यो सहज कार्य थिएन । तर सरकारले सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्‍यो ।’

प्रधानमन्त्री कार्कीले चुनावका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोगलगायत सबैलाई धन्यावाद दिए । चुनावले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस