न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

१८३ रनको लक्ष्य न्यूजिल्यान्डले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टिम शेफर्टले विष्फोटक इनिङ खेले । ४२ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्धतमा ६५ रन जोडे । यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाउँदा डेरिल मिचेल २५ तथा मिचेल सान्टनर १४ रनमा नटआउट रहे ।

बलिङतर्फ अफगानिस्तानका मुजीब रहमानले दुई तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईको एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।

उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए । यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए ।

बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।

प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री पठाउने

काठ्माण्डौ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ। आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।

आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे।

यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन्।

त्यस्तै नेपाली कागजको खाम (१० बाइ १५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रूपमा सूचीकृत गरिएको आयोगले जनाएको छ।

वरिष्ठ अभिनेता सुनिल थापाको अन्त्येष्टि

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिअघि वरिष्ठ अभिनेता थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो ।

बोर्डमा पुगेर कलाकार,चलचित्र क्षेत्रका व्यक्ति,शुभेच्छुकलगायतले थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई शनिबार बिहान हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।

वरिष्ठ अभिनेताले सयौं नेपाली चलचित्रमा अभिनय गरेका छन्।

उम्मेदवारी रद्द विवाद : रेशम चौधरीको रिटमा सुनुवाइ जारी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा सुनुवाइ जारी छ। न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाक इजलासमा सुनुवाइ भइरहेको हो। सुनुवाइ सकिए अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय आउनेछ।

यसअघि माघ २२ गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो। सर्वोच्च अदालतले माघ ११ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको उम्मेदवारी रद्द गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोध्दै अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले  सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो।

थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिसांत्मक झडप भएको थियो। सो क्रममा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो। उक्त घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो

पछि,गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी कारागारमुक्त भएका थिए। उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।

`फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ´ निर्णयमा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौँ´ उद्घोषका साथ आ-आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

 

निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य दीपक शर्माले गरे पार्टी परित्याग

काभ्रे : निर्वाचनको सम्मुखमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक जंगम शर्माले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र गुटबन्दी, अपारदर्शी निर्णय प्रक्रिया र विधि–विधान विपरीत गतिविधि बढ्दै गएको भन्दै उनले पार्टीको केन्द्रीय सदस्यसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गरी दिएको पत्रमा शर्माले समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूलाई अन्याय गरिएको उल्लेख गरेका छन्। निर्वाचन आयोगबाट प्रकाशित समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश नहुनु पार्टी केन्द्रको गलत निर्णय भएको उनको आरोप छ।

शर्माले पार्टी जनताको भावना, मूल्य, मान्यता र सिद्धान्तबाट विचलित हुँदै गएको तथा गुट–उपगुटका कारण संगठन कमजोर बन्दै गएको बताएका छन्। पार्टीभित्र रहँदा आत्मसम्मान र राजनीतिक नैतिकता जोगाउन कठिन भएको भन्दै उनले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे।

उनले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौं अन्तर्गत न्याय, कानुन तथा मानवअधिकार विभागमा केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। उक्त पत्र बागमती प्रदेश कमिटी, समानुपातिक उम्मेदवार सिफारिस समिति तथा सम्बन्धित जिल्ला पार्टी कमिटीलाई समेत बोधार्थ पठाइएको जनाइएको छ। शर्मा काभ्रे जिल्लाबाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका थिए ।

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

बैतडी- जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ ।

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको दुरुपयोग हुन सक्ने तथा शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै हतियार संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीको माघ ६ गतेको सूचनाअनुसार इजाजत प्राप्त भरुवा बन्दुकधारीहरूलाई सूचना दिइएको थियो । सोही अनुरूप जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

बैतडीमा हातहतियारका एक हजार ८६ इजाजत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा ४५० जनाले इजाजत नवीकरण गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

जिल्ला भित्र रहेका सबै हातहतियार संकलन नभएकाले माघ मसान्तसम्म म्याद थप गरिएको पनि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बडूले बताए ।

संकलित बन्दुकहरू निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ । शान्ति सुरक्षा कायम राख्न यस्ता गतिविधिलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बैतडीको भनाइ छ।

आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै

काठमाण्डौ- पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि  देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ ।

अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभएको छ । यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।

डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा झन्डै साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य छ । खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।

एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ ।

गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो । अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो । यो भाइरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।

नेपालमा हरेक वर्ष दुई हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

 

सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ- कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।

 

निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्तिको प्रयास

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश र न्यायपरिषद्को प्रयासलाई निर्वाचन आयोगले रोक लगाइदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा न्यायपरिषद्ले ‘न्यायाधीश नियुक्तिको जानकारी’ भनी निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै निर्वाचन आयोगले अहिलेको अवस्थामा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने भनी परिषद्मा जवाफ लेखेको हो ।

निर्वाचन प्रक्रिया शुरु भइसकेपछि न्यायपरिषद्ले नियुक्तिको प्रयास गरेको थाहा पाएपछि सर्वोच्च अदालतकै कतिपय न्यायाधीशहरूले त्यसको विरोध समेत गरेका छन् ।

उनीहरूले ‘अब निर्वाचनबाट आउने ताजा जनादेश र त्यसबाट चयन हुने सरकारको कानुनमन्त्री सम्बद्ध न्यायपरिषद्ले नै नियुक्ति अघि बढाउनु उचित हुने’ भन्दै अहिले हतारो नगर्न सुझाव दिएका थिए ।

न्यायपरिषद् स्रोतबाट प्राप्त कागजात केलाउँदा जिल्ला न्यायाधीश नियुक्तिका लागि निर्वाचन आयोगले दिएको अनुमतिपछि न्यायपरिषद्ले सर्वोच्चदेखि जिल्लातहमा अर्को चरणको न्यायाधीश नियुक्तिको प्रयास गरेको देखिन्छ । लोकसेवाले नै लिएको परीक्षाबाट उत्तिर्णहरूलाई नियुक्ति गर्न अनुमति दिएको आयोगले त्यसपछि अरु प्रक्रियामा भने रोक लगाएको हो ।

न्यायपरिषद्ले शुरुमा १४ माघ, २०७२ मा निर्वाचन आयोगमा पत्र पठाएको थियो । पुसको अन्तिम साता २० जना जिल्ला न्यायाधीशहरू नियुक्त भएको र उनीहरूको पदस्थापना गर्नुपर्ने भन्दै परिषद्ले केही न्यायाधीशहरूको सरुवाका लागि निर्वाचन आयोगसँग अनुमति मागेको थियो ।

उक्त पत्रको जवाफमा निर्वाचन आयोगले जिल्ला न्यायाधीशहरूको सरुवाको अनुमति दिएको थियो भने अनुमति अनुसार सरुवाको निर्णय समेत भइसकेको छ । सर्वोच्च अदालत प्रशासनसम्बद्ध स्रोतका अनुसार, त्यसपछि एकाएक प्रधानन्यायाधीशले फुलकोर्टमा नै सर्वोच्चदेखि जिल्ला न्यायाधीशहरू नियुक्ति प्रक्रिया अघि बढाउने भनी न्यायाधीशहरूलाई सूचित गरेका थिए ।

‘त्यसलगत्तै केही न्यायाधीशज्यूहरूले यो उपयुक्त समय होइन, निर्वाचन अघि बढिसकेको सन्दर्भमा हतारो गर्नु हुँदैन भनेर प्रतिक्रिया दिनुभयो,’ सर्वोच्च प्रशासनसम्बद्ध स्रोतले भन्यो, ‘त्यसलगत्तै न्यायपरिषद्बाट निर्वाचन आयोगमा अर्को पत्र गएको देखियो ।’

दोस्रो पत्रमा न्यायपरिषद्का सचिव जितेन्द्रबाबु थपलियाले न्यायपरिषद् ऐन, २०७३ को दफा ४(१) उद्धृत गरेका छन्, जसमा सर्वोच्च अदालतका न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि अर्को न्यायाधीश सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

त्यो पत्रमा उच्च अदालतको मुख्यन्यायाधीश र न्यायाधीश पनि नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले निर्वाचन आयोगमा पत्र पठाएको हो ।

 

टी–२० विश्व च्याम्पियन इंग्ल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं ।  टी–२० विश्वकपमा नेपालको तेस्रो सहभागिता हुँदै छ । र तेस्रोपटकको यात्राको पहिलो सामना नै दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डसँग गर्दै छ । अझ नेपाल र इंग्ल्यान्डले अहिलेसम्म कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गरेका छैनन् । समूह ‘सी’को यो खेल मुम्बईस्थित वानखेडे रंगशालामा आइतबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुनेछ ।

नेपाल र इंग्ल्यान्डको प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँका रूपमा हेरिएको छ । हाल टी–२० वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा छ । नेपाल १६औँ स्थानमा छ । इंग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो । नेपाल भने समूह चरणबाट माथि बढ्न सकेन । त्यसयता नेपाली टोलीले टी–२० आईमा एकनासको प्रदर्शन गर्दै आएको छ । त्यसैले पनि नेपाली टिमलाई प्रतिद्वन्द्वी इंग्ल्यान्ड सबैभन्दा ठुलो चुनौती हुनेछ । उसले सन् २००७ देखि नै लगातार विश्वकप खेल्दै आएको छ ।

इंग्ल्यान्डका खेलाडीले पछिल्लो समय तीनै फम्र्याटको क्रिकेटमा एकरूपको प्रदर्शन गर्दै आएका छन् । उनीहरूसँग विश्वका चर्चित आइपिएललगायत फ्रेन्चाइज लिग खेलेको अनुभव छ । प्रत्येक खेलाडी व्यक्तिगत रूपमै टोलीलाई जिताउन सक्ने क्षमता राख्छन् । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक नेपालको खेलमा केन्द्रित हुने बताउँछन् । ‘पहिलो खेल नेपालसँग छ । हामी वर्तमानमा रहनेछौँ । जो विपक्षी भए पनि उनीहरूलाई सम्मान गर्दै खेल्नेछौँ,’ उनले भने ।

स्पिनर विल ज्याक्सले नेपालले पछिल्लो समय निकै सफलता हासिल गरेको बताए । उनले नेपालको खेल अनुसन्धान गरेर खेल्ने प्रतिक्रिया दिए । ‘नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । चर्चा धेरै भएको देख्छु,’ उनले भने, ‘नेपालको खेलाडी हाम्रा लागि नयाँ हुनेछन्, उनीहरूबारे अनुसन्धान गरेर खेल्नेछौँ ।’यता, मूलतः घरेलु प्रतियोगितामै सीमित नेपाली टिमका खेलाडीसँग पनि अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव भने नभएको होइन । स्पिनर सन्दीप लामिछानेसँग भारतको आइपिएल र अस्ट्रेलियाको बिगबास लिगसहित विभिन्न फेन्चाइज लिगको अनुभव छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी, तेस्रोपटक विश्वकप खेल्दै गरेका अलराउन्डर सोमपाल कामीलगायतसँग एसोसिएट राष्ट्रकै फ्रेन्चाइज लिगको अनुभव छ ।

कप्तान रोहितकुमार पौडेलसँगै गुल्सन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, ललितनारायण राजवंशी भने घरेलु लिगमै सीमित बन्दै आएका छन् । अझ नेपाली टोलीका पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । यस्तो अवस्थामा प्रशिक्षक स्टुआर्ट ललाई इंग्ल्यान्डविरुद्धको खेल निकै चुनौतीपूर्ण हुनेछ । नेपालका कप्तान रोहितले टेस्ट राष्ट्रविरुद्ध उच्च मनोबलले खेल्ने र सुपर–८ मा पुग्न खेल्ने बताएका छन् ।

यद्यपि, नेपाली क्रिकेटले पछिल्लो समय निकालेको उपलब्धिका कारण इंग्ल्यान्डले केही सतर्क हुने संकेत दिएको छ । वानखेडे रंगशालामा पछिल्लो समय धेरै रन बन्ने अनुमान गरिएको छ । छोटो बाउन्ड्रीका कारण पनि यो खेलमा इंग्ल्यान्डका ब्याटर हाबी हुन सक्छन् । तर, पछिल्लो समय भारत, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध गरेको प्रदर्शनका कारण पनि नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ ।

गत सेप्टेम्बरमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको शृंखलामा नेपाल ऐतिहासिक जित निकाल्न सफल भएको थियो । त्यसअघि दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित भए पनि नेपाली खेलाडीले त्यो खेलबाट निकै पाठ सिकेका छन् । त्यसपछि पाकिस्तान र भारतविरुद्ध पनि नेपाली खेलाडीले स्मरणीय प्रदर्शन गरे । त्यसैले ठुला राष्ट्रसँग खेल्न नेपाली खेलाडीले साहस देखाउँदै आएका छन् । कप्तान रोहितले भने, ‘हामीले पछिल्लो समय टेस्ट राष्ट्रविरुद्ध नियमित रूपमा खेल्दै आएका छौँ । त्यसैले विश्वकपमा टेस्ट राष्ट्रसँग राम्रो प्रतिस्पर्धा गर्ने योजना छ । दुवै टेस्ट राष्ट्रलाई हराउन खेल्छौँ ।’

कैलाली–५ का एमाले उम्मेदवार यज्ञराज ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता

कैलाली- प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

कैलाली क्षेत्र नं. ५ का मतदातामाझ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि सारे।

स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाए।

गेटामा सञ्चालनमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

त्यसैगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, थारु समुदायमा देखिएको सिकलसेल लगायत दीर्घरोग उपचारका लागि विशेष वार्ड सञ्चालन गर्ने योजना रहेको छ।

युवा लक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा “एक युवा, एक रोजगार” अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य ढुङ्गानाले प्रस्तुत गरेका छन्। औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी कार्यान्वयन गरिने उनले बताए।

कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

पूर्वाधारतर्फ सडक, खानेपानी, खेलमैदान तथा सहरी विकासलाई प्राथमिकतामा राख्दै “एक घर, एक धारा” नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताइएको छ।

सामाजिक न्यायअन्तर्गत दलित, महिला, थारु, जनजाति तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, भाषा र संस्कृतिको जगेर्ना, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबै श्रमिकसम्म विस्तार गर्ने योजना रहेको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका नेता तथा क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन मूल समिति संयोजक नारदमुनी रानाले राष्ट्रहीनको लागि एमालेले जित्न आवश्यक रहेको बताएका थिए ।

यस्तो छ नेपालसँग भिड्ने इङ्गल्याण्डको बलियो टोलि

काठमाडौं- टी–२० विश्वकप आजदेखि सुरु भएको छ । आजदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिता जनाउँदैछ।

विश्वकप क्रिकेटअन्तर्गत नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भोलि आइतबार ‘सी’ समूहमा रहेको नेपालले पहिलो खेलको रुपमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

इङ्गल्याण्ड तुलनात्मक रूपमा नेपालभन्दा बलियो टिम रहेको छ। इङ्गल्याण्ड पुरुषहरूको टि–ट्वान्टी विश्व वरियतामा तेस्रो नम्बरमा छ।

नेपाल भने वरियता क्रममा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ। ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्गल्याण्डले भोलि नेपालसँग हुने खेलका लागि आजै बलियो टोलि घोषणा गरेको छ।

टोलिमा कप्तान ब्रुकसहित फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर, आदिल राशिद र ल्यूक वुडलाई उतार्ने भएको हो।

साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा- साबिक विजेता बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले चामत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२-०, भारतलाई २-० र नेपाललाई ४-० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

भारतले भने नेपाललाई १-० र भुटानलाई ८-० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो ।

टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं- टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममापाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे । ११ बल खेलेका उनले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे ।

यस्तै, साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५, सलमान अघाले १२ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रन जोड्दै अलआउट भयो ।

उसका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवार्ड्सले इनिङ सम्हालिरहेका थिए ।

उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुबै विकेट साइम अयुवले लिए ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाण्डौ-  यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे ।

प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो । प्रतियोगिताअन्तर्गत ४२.१९५ किलोमिटर दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किलोमिटर दूरीको हाफ म्याराथन भयो ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश : एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किलाेमिटर दूरीको दौड आयोजना भएको भयो । पाँच किलोमिटर दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भएका थिए ।

सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किलोमिटर दूरीको दौड पूरा गरे । दश किलोमिटर र पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

२०७२ सालदेखि हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा झन्डै ३ हजार ५ सय धावकको सहभागिता थियो । यस वर्ष महाशिवरात्री तथा सेना दिवस आउँदाे फागुन ३ गते परेको छ ।

 

बैतडी बस दुर्घटना: घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा उपचाररत घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। यसैगरी, प्रदेश सरकारले मृतकका परिवारलाई मानवीय सहायतास्वरूप जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।

बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ गइरहेको बस पुर्चौडी नगरपालिका–७, बडगाउँमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा हेलिकोप्टर व्यवस्थापनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।

यसैबिच, मुख्यमन्त्री कमलबहादुर शाहले उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

बैतडी बस दुर्घटना : सात मृतकको एकै आगनबाट उठाइयो शव

धनगढी।  बझाङमा बैतडीको बस दुर्घटनमा मृत्यु भएकाहरूको एक आगनबाट दाहसंस्कारका लागि शव उठाइएको छ ।
एक परिवारका रहेका बझाङको बित्थडचिर–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको शनिबार बिहान एकै ठाउँमा अन्त्येष्टिका लागि शव उठाइएको हो ।
जन्ती सवार बस दुर्घटनामा ज्यान गुमाएका केटा पक्षका सातजनाको अन्त्येष्टिको लागि एकै आँगनबाट पार्थिव शरीर उठाइएको बित्थडचिर–७ वडा अध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।
नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु–भाइ हुन् । दाजु नरेन्द्र बित्थडचिर–७ का वडा सचिव हुन् भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक हुन् । दुर्घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजा हुन् ।
घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन् । घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु–छोरा हुन् ।
केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन् ।
उनीहरू दुवैको डडेलधुरा ल्याउने क्रममा बाटैमा ज्यान गएको थियो ।  उक्त घटनामा निधन भएका सातैजनाको बझाङको कालंगा गाडमा अन्त्येष्टि गरिरहेको बित्थडचिर–७ वडा अध्यक्ष अधिकारीले बताए ।

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाण्डौ- केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्नेतर्फ बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाइने भएको छ ।

त्यस्तै बैठकमा चुनावमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए । हिजो बेलुका भएको बैठकमा चुनाव विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री एवम् दुरूपयोगलाई रोक्नेलगायतका विषयमा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाण्डौ- आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।

मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले योे निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा  छलफल भएको थियो ।

समन्वय बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने,  विभिन्न तह बनाई नियमित जाँच गर्न दुवै पक्षबीच सहमति भएको छ ।

बैठकमा आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा जाँडरक्सी विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयहरूमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ । -रासस

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

एजेन्सी- युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । त्यस्ता डिजाइन परिवर्तन नगरेको खण्डमा ईयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत हुने जरिवानाको जोखिम लिन तयार रहन पनि ईयूले चेतावनी दिएको छ ।

युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको आरोप लगाएको छ ।

लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस पद्धतीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन रहेको बताएका छन ।

यसबाट विशेष गरी जोखिम वर्गको मानसिक स्वास्थ्य र कल्याणको लागि घातक रहेको उनले बताए । टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा ईयूको निष्कर्षलाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

कलाकार सुनिल थापाको निधन

काठमाण्डौ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उनी ‘राते काइला’ को रुपमा पनि चिनिन्छन्।

थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिए ।

थापाको निधनमा कलाकार तथा शुभचिन्तकहरुले नेपाली चलचित्र क्षेत्रले बलियो धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

टी–२० विश्वकप २०२६ : उद्घाटन खेलमा पाकिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने

काठमाडौं । आजबाट सुरु भएको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्याण्ड्स र पाकिस्तान भिड्दै छन् । समूह ‘ए’ अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुँदै छ ।

टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । उद्घाटन खेल भएकाले दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । पाकिस्तानलाई यस प्रतियोगिताको बलियो दाबेदारका रूपमा हेरिएको छ भने नेदरल्याण्ड्स अपसेट गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

समूह चरणको पहिलो खेल भएकाले दुवै टोली जितबाट विश्वकप यात्रा सुरु गर्न चाहन्छन् । क्रिकेट समर्थकहरूका लागि यो खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।

बझाङको लघुणाछा र बैतडीको भौनी गाउँ शोकमा (जन्ती बस दुर्घटना)

बैतडी । बझाङको वित्थडचिर गाउँपालिका–७ लघुणाछा र बैतडीको पुर्चाैडी नगरपालिका–७ को भौनी गाउँ यतिबेला शोकमा डुबेका छन् । जन्ती बोकेको बस दुर्घटना भई १३ जनाको ज्यान गएपछि यी दुई गाउँका बासिन्दा विक्षिप्त भएका छन् ।

दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् ।

जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दीपकराज जोशी र ४५ वर्षीय किसनदत्त जोशी छन् ।

यसैगरी बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशीले दुर्घटनामा ज्यान गुमाएका छन् ।

घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना र डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ५ जनालाई धनगढी रेफर गरिएको छ । ४ जनाको भने बझाङको देउलेख स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा दाजुभाइ, छोरी–ज्वाइँसहित १३ जना

बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिजा र छोरी ज्वाइसहित १३ जनाको मृत्युु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन् । उनीहरू बेहुलाका सहोदर काका हुन् । नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन् ।

यसैगरी, घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठा छोरा हुन् । वसन्तराज गाउँपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए ।

घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन् ।

अन्य मृतक तथा घाइतेहरू पनि बेहुला र बेहुलीका आफन्त र इष्टमित्र नै परेका छन् । यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन् ।

घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन् । ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ ।

घटनामा ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र हुन् ।

 

धमाधम विभिन्न कम्पनीका आइपिओ आउँदै

काठमाडौं । पुँजी बजारमा सार्वजनिक सेयर निष्कासन (आइपिओ) आउनेक्रम बढेको छ । पुसयता मात्रै १० कम्पनीले आइपिओ जारी गरिसकेका छन् भने थप तीन कम्पनीले ४६ करोड ६० लाख रुपैयाँको आइपिओ जारी गर्ने अनुमति पाइसकेका छन् ।

धितोपत्र बोर्डका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ मा १९ कम्पनीले आठ अर्ब सात करोड ३२ लाख ४० हजारबराबरको आइपिओ बिक्री गरेका छन् । यीमध्ये गत आवमै बोर्डबाट अनुमति लिएका दरमखोला जलविद्युत्, माविलुङ जलविद्युत्, स्वस्तिक लघुवित्त, बुंगल हाइड्रो, बन्दीपुर केबलकार, झापा इनर्जी र रिलायन्स स्पिनिङ मिल्सले अहिले आइपिओ जारी गरेका हुन् ।

चालू आर्थिक वर्ष ०८२/८३ मा स्वीकृति लिएकामध्ये १२ ले पनि आइपिओ जारी गरिसकेका छन् । यसमध्ये सुपर खुदी हाइड्रो पावर र रिड्गेलाइन जलविद्युत्ले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मात्रै आइपिओ बिक्री गरेका छन् । सर्वसाधारणका लागि रिड्गेलाइनले २८ माघदेखि र सुपर खुदीले ४ फागुनदेखि बिक्री खुला गर्न अनुमति पाइसकेका छन् । बोर्डमा स्वीकृति लिएर आइपिओ जारी गर्न बाँकी रहेकाहरूमा स्नोब रिभर्स हाइड्रो पावरले १८ करोड ७५ लाख रुपैयाँ, कालिञ्चोक हाइड्रोपावरले १३ करोड ७५ लाख रुपैयाँ र अपोलो हाइड्रोपावरले १४ करोड १० लाख रुपैयाँबराबरको आइपिओ ल्याउँदै छन् ।

धितोपत्र बोर्डको नियामकीय क्षमतामा प्रश्न उठेपछि करिब एक वर्षसम्म आइपिओ स्वीकृति रोकिएको थियो । खासगरी आइपिओ स्वीकृति दिन बोर्डले अतिरिक्त लाभका लागि व्यवसायीलाई दबाब दिएको सार्वजनिक भएपछि छानबिनसमेत अघि बढेको थियो । छानबिन अवधिभर रोकिएको आइपिओ अहिले धमाधम स्वीकृति भइरहेको हो । विगतमा जलविद्युत् कम्पनीकै आइपिओ रोकिएका कारण अहिले बोर्डबाट स्वीकृति लिनेहरूको संख्यामा जलविद्युत् कम्पनी नै बढी छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले आइपिओ निष्कासन प्रक्रिया अझै द्रुत बनाउनुपर्ने बताए । ‘पछिल्लो समय जलविद्युत्लाई आइपिओ निष्कासनको अनुमति दिएको जस्तो देखिन्छ । तर, यो अझै पर्याप्त छैन । बोर्डमै ३४ कम्पनीको प्रस्ताव पाइपलाइनमा छ । योबाहेक कैयौँ कम्पनीको प्रस्ताव पेस गर्न बाँकी छ,’ उनले भने, ‘यो गतिमा स्वीकृति पाउँदा पनि समय लाग्छ । तसर्थ, यसलाई अझै द्रुत गतिमा अघि बढाउन आवश्यक छ ।’

‘विश्व म्याराथन च्यालेञ्ज’ मा दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

मायामी, २४ माघ ।
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।

अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

अत्यन्त चुनौतीपूर्ण मानिने  ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचार र आफू जन्मेको माटो तथा सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी भएको बताए । सात वटै म्याराथनमा उनले अलग अलग दौरा सुरुवाल लगाएका थिए । सबै दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।

कैलाली-१ मा तीन दशकपछि ‘विरासत’ फर्काउने दाउमा कांग्रेस–एमाले

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ‘छिन्नभिन्न’ भएको फाइदा उठाउँदै ३० वर्षपछि कैलाली–१, कांग्रेस–एमाले विरासत फर्काउने कसरतमा छन् ।

टीकापुर क्षेत्रमा ३० वर्षपछि एमाले र २६ वर्षपछि कांग्रेस जित्ने दाउमा लागेका हुन् । यस क्षेत्रमा ०५१ यता एमालेले निर्वाचन जितेको छैन् । ०५१ मा एमालेका हिमाञ्चलराज भट्टराई निर्वाचित भएका थिए । कांग्रेसले ०५६ पछि चुनाव जितेको छैन । ०५६ मा कांग्रेसकी सुशीला स्वाँर बिजयी भएकी थिइन् । त्यसयता दुई दललाई निराशा मात्र हात लागेको छ ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट रुपा चौधरी निर्वाचित भइन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट जनक चौधरी निर्वाचित भए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरीले जितेका थिए । ‘भूमिगत’ अवस्थामै उम्मेदवारी दिएर चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दै विजयी भएका थिए ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा० की रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी थिइन् । थारु समुदायको बाहुल्यता रहेको कैलाली–१ मा श्रेष्ठले ३० हजार ४ सय ४ मत पाएकी थिइन् । उनका प्रतिस्पर्धी सबैको मत जोड्दा ३० हजार ४ सय ७४ थियो । निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका थिए । समानुपातिकतर्फ नाउपाले २७ हजार ४०६ प्राप्त गरेको थियो । कांग्रेसले ११ हजार ३०५ मात्र पाएको थियो ।

यसपटक कांग्रेस–एमालेका उम्मेदवार जित फर्काउने कोसिसमा छन् । बिभिन्न दलबाट थारु समुदायकै धेरै उम्मेदवार रहेकाले मत विभाजन हुने विश्वासमा कांग्रेस–एमाले देखिन्छन् । एमाले नेता मातृकाप्रसाद तिमिल्सिना पार्टीको संगठन कायम रहेको, ०७९ को प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धी रहेको र नागरिक उन्मुक्ति खण्डित भएकाले आफ्नो दलका उम्मेदवारले जित्ने दाबी गर्छन् ।

कैलाली–१ का एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने यसअघि स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको, पार्टी एक ढिक्का रहेको, टीकापुर क्षेक्रको विकासका लागि लामो समयदेखि त्रियाशील परिचित भएकाले आफू निर्वाचित हुने दाबी गर्छन् । ‘थारु समुदायबाट थुप्रै उम्मेदवार छन्,’ न्यौपानेले भने, ‘साथै प्रमुख दलका उम्मेदवार विगतका कुनै न कुनै निर्वाचनमा परीक्षण भइसकेका छन् ।’

०७० मा मधेशी जनअधिकार फोरमबाट निर्वाचित जनक चौधरी यसपाली कांग्रेसबाट उम्मेदवार छन् । टीकापुर क्षेत्रमा कांग्रेस संगठित रहेको, किसान बाहुल्य हुनु, आफूले किसानकै मुद्दालाई पहिलो ऐजेण्डा बनाएको, थारु समुदायको उम्मेदवार भएको, भौगोलिक र सांस्कृतिक पहिचानको महत्व बोकेकाले आफू निर्वाचित हुने उनको चौधरीको भनाई छ । ‘अहिले १८ मध्ये ६ जना मात्र थारु समुदायका उम्मेदवार छन्,’ उनले भने ‘१२ जना त अन्य समुदायकै छन् । थारु–पहाडी भन्दा पनि कुन उम्मेदवार काम गर्न सक्छ भन्ने मुख्य कुरा हो ।’

टीकापुर नगरपालिकामा पूर्वप्रमुख रामलाल डगौरा थारु नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बाट उम्मेदवार छन् । उनी नागरिक उन्मुक्तिबाट नगरप्रमुख निर्वाचित भएका थिए । ‘हामीले जितेकै क्षेत्र हो । अहिले त एकीकृत समाजवादी पनि मिलेर ठूलो पार्टी बनेको छ,’ उनले भने ‘मैले नगरप्रमुख हुँदा गरेका कामका जनतामा छाप छ । थारु समुदायका उम्मेदवार विभाजित भए पनि मतदाता एकजुट छन् ।’ यस क्षेत्रमा नागरिक उन्मुक्ति भाँडिएपछि अन्य दल उत्साहित बनेका हुन् ।

०७९ मा विजयी तत्कालीन नागरिक उन्मुक्ति अध्यक्ष श्रेष्ठले पार्टीलाई नेकपामा बिलय गराइसकेकी छन् । श्रीमान्–श्रीमती कलहका कारण पार्टी जोगाउन सकिनन् । नागरिक उन्मुक्तिका संरक्षक रहेका रेशम चौधरीले बेग्लै पार्टी खोलेका छन् । नागरिक उन्मुक्ति पार्टी नेपाल दल गठन गरेर चौधरी कैलाली–१ मा उम्मेदवार बनेका थिए । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिसकेको छ । विकल्पका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुलाई सहयोग गर्न सक्छन् ।

०७९ मा नागरिक उन्मुक्तिले कैलाली–१, २ र ३ क्षेत्र जितेको थियो । पहिचानको नारा दिएर ०७९ मा स्थानीय, प्रदेशसभा र प्रनिनिधिसभा सदस्य निर्वाचनमा जितेर क्षेत्रीय शक्तिको रुपमा उदाएको नागरिक उन्मुक्ति तीन वर्षमै टुक्रा(टुक्रामा विभाजित भएको छ ।

तत्कालीन पार्टीका नेता यसपटक ६ वटा अलग–अलग दलबाट उम्मेदवार बनेका छन् । टीकापुर नगरपालिकामा पूर्वनगरप्रमुख डगौरा थारु नेकपाबाट उम्मेदवार बनेका छन् । प्रदीप चौधरी उज्यालो नेपाल, सरस्वती चौधरी श्रम संस्कृतिबाट, उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भइसकेको छ । कैलाली–१ मा रास्वपाले साविक नागरिक उन्मुक्तिकै कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ । रुपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छिन् ।

टीकापुर क्षेत्रको सामाजिक छवि लामो समयसम्म पनि लयमा फर्किन सकेको छैन । यस क्षेत्रमा उत्पन्न सामाजिक मतभेद साम्य पारेर एकता कायम गर्न जरुरी रहेको मतदाताको भनाई छ । ‘जुनसुकै दलका उम्मेदवारले जिते पनि विगतको शान्ति र भाइचारामा समृद्ध टीकापुरको सामाजिक र सांस्कृतिक पहिचान पुनःस्थापना हुन सकोस् भन्ने हो,’ टीकापुरका अगुवा टेकराज रेग्मीले भने ।

उम्मेदवारले बैंक खाताको दुरुपयोग गरे कानुनी कारबाही हुने

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको बताएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए। उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने बताए। चुनावका नाममा नियतबस आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको पछि समाधान हुने उनले बताए।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरू जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए। उनले फागुन ४ गतेदेखि प्रचार-प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए-नभएको आयोगले हेर्ने बताए। सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए।

उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको बताए। प्रत्यक्षतर्फको मतपत्र छपाइको कामले गति लिइरहेको र अहिलेसम्म करिब ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको उनले बताए।

खोज्नुहोस